Live Streaming

अन्नपूर्ण दिनभर : गठबन्धन गरेर मतदाताको स्वतन्त्र विवेकमा अंकुश लगाएको दलहरुमाथि आरोप, माधव नेपाललाइ स्पष्टीकरण


.
मतदातामाथि अंकुश लगाउने काम भयो

काठमाडौँ ।  राजनीतिक दलहरुले चुनाव जितेर सत्ता र शक्तिमा पुग्न जस्तो सुकै हत्कण्डा अपनाउने गरेका छन् । यसैको ज्वलन्त उदाहरण हो, आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्तारुढ दलहरुले गरेको गठबन्धन । यो मामिलामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि चोखो भने छैन ।

एमालेले पनि जनता समाजवादी पार्टी जसपा, राप्रपालगायत पार्टीहरुसँग विभिन्न निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्दै गठबन्धन गरेको छ । तर, एमालेलाई जसरी पनि पराजित गर्ने अभिलाषाका साथ सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले महागठबन्धन गरेर चुनावी मैदानमा होमिएका छन् । 

राजनीतिक दलहरुको स्वार्थ र उद्देश्य जे जस्तो भएपनि चुनाव अघिको यस्तो गठबन्धनले भने मतदाताको स्वतन्त्र विवेकमा अंकुश लगाउने काम भएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले राजनीतिक दलहरुले गठबन्धन गरेर मतदाताको स्वतन्त्र विवेकमा अंकुश लगाएको आरोप लगाउनु भएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टर भ्यू अफ द डेमा कुराकानी गर्दै श्रेष्ठले राजनीतिमा गठबन्धन स्वाभाविक भएपनि मतदानअघिको गठबन्धनले मतदातालाई अफ्ठ्यारोमा पारेको टिप्पणी गर्नुभयो । संसदीय विकासको प्रणालीलाई खलबल्याउनु नहुनेमा उहाँको जोड छ  । 

माधव नेपालको स्पष्टीकरण पार्टी कार्यालय बुझ्न मानेन

काठमाडौँ ।  निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई स्पष्टीकरण दिन पठाएको पत्र पार्टी कार्यालयले बुझ्न अस्वीकार गरेको छ । एकीकृत समाजवादीको पार्टी कार्यालयले आयोगको पत्र नबुझी आयोगमै फिर्ता पठाइदिएको हो ।

आयोगले नेता नेपाललाई सम्बोधन गरेर स्पष्टीकरण मागेको पत्र पार्टी कार्यालयले बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकमार्फत र पार्टीलाई इमेलमार्फत पठाउने तयारी गरिरहेको स्रोतले जानकारी दिएको छ । 

हालै रौतहटमा आयोजित एक कार्यक्रममा मतदातालाई प्रलोभन पार्ने गरी वक्तव्य दिएको भन्दै आज आयोगले अध्यक्ष नेपाललाई स्पष्टीकरण सोधेको हो । स्पष्टीकरणसँगै आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई कारबाही प्रक्रिया अगाडि बढाउनसमेत पत्र लेखिसकेको छ ।

नेपालले फ्री भिसा र फ्री टिकटमा मतदातालाई विदेश पठाउने भनी वक्तव्य दिएको आयोगको पत्रमा उल्लेख छ । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भने पनि रौतहट जिल्ला प्रहरी कार्यालयलाई आजै पत्र लेखेर कारबाही प्रक्रिया अगाडि बढाउन भनेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको वक्तव्य नेपालकै भएको उल्लेख गर्दै आयोगले नेपालविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन पत्र लेखेको हो । 

आयोगले माधवकुमार नेपालबाट निर्वाचन सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनी सार्वजनिक रूपमा प्रलोभन देखाउने कार्य गरेको सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुरोधसहित पत्र लेखेको छ ।

आजदेखि दोस्रो चरणको मतपत्र ढुवानी

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ दोस्रो चरणको मतपत्र ढुवानी शुरु गरेको छ । पहिलो चरणमा प्रदेश १, मधेश र बागमती प्रदेशमा मतपत्र ढुवानी गरेको आयोगले आज कर्णालीलगायत प्रदेशका विभिन्न जिल्लामा मत पत्र पठाउन थालिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ दुई करोड एक लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ। यसबाहेक आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ । 

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ। आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फका लागि पनि हिजोसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न गरिएको जनाएको छ। छापिएका मध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन्।
 
प्रधानमन्त्री देउवाद्वारा पर्वतीय सङ्ग्रहालयको अवलोकन

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आज अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ । पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको प्रधानमन्त्री देउवाले रुचिपूर्वक अवलोकन गर्नुभएको हो । नेपाल पर्वतारोहण सङ्घद्वारा स्थापना गरिको सङ्ग्रहालय भवनभित्र विभिन्न चार वटा कक्षअन्तर्गत १२ उपकक्षमा हिमाल र हिमालीका गतिविधि बारेमा सङ्ग्रह गरी प्रदर्शन गरिएको छ ।

सङ्ग्रहालयमा पर्वतीय मानव कक्ष, हिमालीको सामाजिक, सांस्कृतिक धार्मिक एवं आर्थिक क्रियाकलाप झल्काउने सामग्री, विश्वका पर्वत श्रृङखलाको उत्पत्ति, भौगर्भिक महत्व, वन्यजन्तु, वनस्पति तथा खनिज पदार्थको प्रदर्शन गरिएको छ । उक्त कक्षमा विश्वका पर्वत शृङ्खलामा हुने पर्वतारोहण, पदयात्रा, स्कीइङ, शिकार, अनुसन्धान जस्ता मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी गरिएको छ ।

सङ्ग्रहालयमा यतिखेर स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । विश्वका हिमाल र हिमाली क्षेत्रका बारेमा अनुसन्धान गर्ने अध्येता, अन्वेषकका लागि उपयुक्त थलोको रूपमा लिइएको सङ्ग्रहालय परिसरमा निर्माण बोटानिकल गार्डेन, मनास्लु हिमालको मोडल, ढलोटको याकलगायतका विविध संरचना निर्माण गरिएको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा पोखरा पुग्नु भएका प्रधानमन्त्री देउवाले सङ्ग्रहालयको अध्ययन अवलोकनसँगै संस्थाको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको छ  । 

चीनको विकासबाट पाठ सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले चीनको विकासबाट विश्वले सिक्नुपर्ने बताउनु भएको छ । आज काठमाडाँैमा आयोजित चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर कार्यक्रममा मन्त्री श्रेष्ठले चीनले विश्वका लागि उदाहरणीय काम गरेको भन्दै उसको विकासबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताउनु भयो ।

उहाँले चीनको विकासले नेपाल पनि लाभान्वित हुने भन्दै नेपालको विकासमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको धारणा राख्नुभयो । 

उहाँले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई चीन सरकारले गरेको सहयोगको स्मरण गर्दै कोरोनाकालमा नेपाललाई गरेको सहयोगको प्रशंसा समेत गर्नुभयो ।

नेपाल–चीन बीच कुटनीतिक सम्बन्धसँगै सरकारी स्तरका सम्बन्ध, सांस्कृतिक सम्बन्ध, जनस्तर सम्बन्ध तथा व्यवसायिक सम्बन्ध बिस्तार भएको उल्लेख गर्नुभयो । फोटो प्रदर्शनीमा १० वर्षमा चीनले कसरी विकासमा फड्को मा¥यो भन्ने देखाइएको थियो । 
 
खण्डग्रास सूर्यग्रहण 

काठमाडौँ । आगामी कात्तिक ८ गते मंगलबारको दिन खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । ग्रहणको समयमा नेपालबाट सूर्यको केही भाग काटिएको जस्तो देखिने खगोलविदले जनाएका छन् ।

वाल्मीकि क्याम्पसका बरिष्ट खगोलविद् डा. जयन्त आचार्यका अनुसार नेपालमा सूर्यग्रहण साँझ ४ः५३ बाट मात्र देखिनेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने छ । नेपालबाट करीब ३३ मिनेटमात्र ग्रहण देखिने डा. आचार्यले जानकारी दिनुभयो । 

अमेरिकी खगोल समाजका सदस्य समेत रहनु भएका आचार्यका अनुसार यो खण्डग्रास सूर्य ग्रहणको दृश्य यूरोप, मध्य एसिया, उत्तर अफ्रिका, भारत, मंगोलिया, पाकिस्तान, अफगानिस्तान, इरान, इराक, सिरिया, काजकस्थान, नर्वे लगायत मुलुकहरुबाट पनि देख्न सकिन्छ ।

यसलाई नाङ्गो आँखाले हेर्न हुँदैन । सूर्य ग्रहणलाई सुुरक्षित माध्यमबाट हेर्न चाहनेहरुलाई सामाखुसीस्थित तक्षशिला एष्ट्रनोमी क्लबले निःशुल्क व्यवस्था मिलाएको छ । जोतिष शास्त्र अनुसार मेष, मिथुन, कर्कट, कन्या, तुला, वृश्चिक, कुम्भ तथा मीन राशिले यो ग्रहण हेर्न नहुने र वृष, सिंह, धनु, तथा मकर राशि भएका मानिसहरुले हेर्न हुनेछ । 

डेंगु संक्रमितको संख्या ४२ हजार

काठमाडौँ । कात्तिक २ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ४२ हजार नाघेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ४२ हजार ५ सय ४ पुगेको छ । त्यस्तै डेंगुबाट अहिलेसम्म यो वर्ष ५१ जनाको ज्यान गएको छ ।

यो संख्या सन् २००४ यताकै उच्च रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा जनाएको छ । महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

डेंगु संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकुल वातावरणमा आठ महिनासम्म जीवित रहनसक्ने र फेरि लामखुट्टेको रुपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरुको भनाइ छ ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन 

काठमाडौँ ।  देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले भिटामिन ए र जुकाको औषधि खुवाउन हिजोदेखी सुरु गरेको हो । हिजो खान छुटेकाहरुलाई आज खुवाइएको हो ।  

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइँएको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइँएको महाशाखाले जनाएको छ ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको थियो । 

गोली हानेको आरोपमा चार जना पक्राउ

काठमाडौँ । सर्लाहीमा सहकारी संस्थाका एक कर्मचारीलाई गोली हानेको आरोपमा तीन भारतीयसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत बैशाली जिल्ला सुल्तानपुर बस्ने शौरभ यादव, बिहारकै मोतिहारी जिल्ला सिगारगञ्ज बस्ने गुलसन कुमार सिंह, बिहार राज्य अन्तर्गत शिबहर जिल्ला छपरा निवासी रेहान भनिने आलोक सिंह र सर्लाहीको धनकौल गाउँपालिका १ बस्ने ३२ वर्षीय डिजे भनिने धिरेन्द्र सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ परेकामध्ये धिरेन्द्रको एउटा खुट्टामा गोलीसमेत लागेको छ । हिँजो बिहान ११ः१५ बजे सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी लालबन्दी नगरपालिका २ जुटपानी बस्ने ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको थियो ।

कार्कीको अहिले काठमाडौंमा उपचार भैरहेको छ । आफ्नै कार्यालयमा काम गरिरहेको बेला अपरिचित उनीहरुले कार्कीमाथि ४ राउन्ड गोली प्रहार गरेका थिए । कार्कीको दायाँ पाखुरा, दायाँ–बायाँ कोखा र दायाँ तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

आर्थिक खबर
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ ।  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलब ३८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४४ दशमलब १४ मा सीमित भएको छ ।  यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब शून्य नौ अङ्कले उकालो लागेर तीन सय ६३ दशमलब शून्य पाँचमा पुगेको छ । 

कूल दुई सय २१ कम्पनीको १५ लाख ४६ हजार आठ सय ५७ कित्ता शेयर रु ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ मूल्यमा खरिद बिक्री भए ।  नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा झिनो अङ्कको वृद्धि भएको छ । यस्तै, १० उपसमूहको शेयर मूल्यमा भने गिरावट भएको छ ।

कारोबारका आधारमा अभियान लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको तीन करोड ६९ लाख ५२ हजार नौ सय एक बराबरको कारोबार भयो । 

राष्ट्र बैंकः सुन र चाँदीका सिक्का बिक्री

काठमाडौँ ।  तिहारको धनतेरस अवसर पारेर राष्ट्र बैंकले सुन र चाँदीका सिक्का (असर्फी) बिक्री थालेको छ । काठमाडौं बबरमहलस्थित टक्सार विभागबाट ती सिक्काको बिक्री वितरण थालिएको छ । राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित गरेर आजदेखि बिक्री सुरु गरेको टक्सार विभाग प्रमुख विनोदराज आचार्यले बताउनुभयो । 

धनतेरसमा असर्फीको माग धेरै हुने भएकाले सहज तिरिकाले सुन र चाँदीका सिक्का बिक्री थालिएको आचार्यको भनाइ छ । ‘प्रतिव्यक्ति साढे २ ग्राम, ५ ग्राम र १० ग्रामका एक÷एक थान असर्फी वितरण गर्ने उहाँको भनाइ छ । असर्फी व्यक्ति वा संस्था दुबैले खरिद गर्न सक्ने छन् ।

व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम २ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्नेछ तर, संस्थाको हकमा प्रतिग्राम तीन सय रुपैयाँ थप गरिने राष्ट्र बैंकले जनाएको छ । 

विदेशका खबर

भारतको पटाका गोदाममा विस्फोट

काठमाडौँ ।  भारतको मध्य प्रदेशको मुरैना जिल्लाको एक पटाका गोदाममा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । फ्याक्ट्रीमा उत्पादन भएर बजार पठाउन राखिएको पटाका गोदाममा भएको विस्फोटमा घर नै ध्वस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोटको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेका थिए । घरका भग्नावशेषमा केही मानिस पुरिएको हुन सक्ने प्रहरीको आशंका छ ।
 

बाइडेन घोषणा 
काठमाडौँ ।  अमेरिकाले आफ्नो रणनीतिक भण्डारबाट आगामी डिसेम्बरमा एक करोड ५० लाख ब्यारेल तेल निकाल्ने भएको छ । रुस–युक्रेन युद्धका कारण उर्जा संकट चुलिंदै जाँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले गएराति उक्त घोषणा गर्नुभएको हो ।

कुल एक करोड ८० लाख ब्यारेल तेल रणनीतिक भण्डारबाट निकाल्ने घोषणा बाइडेनले गर्नुभएको छ । तर डिसेम्बरमा एक करोड ५० लाख ब्यारेल मात्रै निकालिने छ ।आफ्नो घोषणाले ओपेकलगायत अन्य तेल उत्पादक देशहरुका कारण उत्पन्न मूल्य वृद्धि रोकिने र इन्धन बजारमा स्थिरता आउने विश्वास बाइडेनको छ ।

अमेरिकाले राष्ट्रिय संकट तथा युद्धकालिन अवस्थामा प्रयोग गर्ने गरी टेक्सस र लुजियानामा बनाएका भूमिगत भण्डारमा अहिले ४० करोड ब्यारेल तेल रहेको अनुमान छ । राष्ट्रपति बाइडेनले तेल उत्पादक कम्पनीहरुले अनावश्यक नाफा लिएको भन्दै कम्पनीहरुको आलोचना पनि गर्नुभएको छ । 

खेल खबर
नवौ खेलकुद आज सकिदै 

काठमाडौँ । गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गर्ने तयारी छ ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको समापान प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा हुनेछ । प्रतियोगिताको समापन कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री देउवा पोखरा पुगिसक्नु भएको छ । 

प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो । समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।यस्तै समापनमा टिम च्याम्पियन बन्ने टोलीलाई ट्रफी प्रदान गरिनेछ ।

पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ । नवौंको समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गर्नेछन् । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिनेछ । यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।  

नवौं राष्ट्रिय खेलकुदमा आर्मी टिम च्याम्पियन 

काठमाडौँ ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाको विभागीय टिम त्रिभुवन आर्मी क्लब टिम च्याम्पियन बनेको छ । आर्मी १ सय ७२ स्वर्ण पदकसहित कुल ३ सय ७१ पदकसहित टिम च्याम्पियन बन्दै ट्रफी उचालेको हो । पहिलो पटक बनेको राष्ट्रिय खेलकुदको रनिङ शिल्ड ट्रफी उचाल्ने क्रममा आर्मीले ११० रजत र ८९ कास्य हात पार्यो । आर्मी आठौं संस्करणको राष्ट्रिय खेलकुदको समेत टिम च्याम्पियन हो । 

नवौंमा पदक तालिकाको दोस्रो स्थानमा विभागीय टोलि एपीएफ क्लब रह्यो । एपीएफले ६५  स्वर्ण, ७३ रजत र ८१ कास्य पदकसहित कुल २ सय १९ पदक जितेको छ । अर्को विभागीय टिम पुलिसले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य सहित कुल १९५ पदक जित्दै तेस्रो स्थान हासिल गर्यो ।

यसैगरी गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित कुल १२० पदक जित्दै चौंथो र बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदक सहित कुल १४५ पदक जितेर पाँचौं स्थानमा रह्यो। छैटौं स्थानमा रहेको प्रदेश १ ले १० स्वर्ण, २३ रजत, ५० कास्य सहित कुल ८३ पदक जित्यो ।

सुदूरपश्चिमले १०  स्वर्ण, १० रजत ४३ कास्य सहित कुल ६३ पदक जितेर सातौं स्थानमा रह्यो । एनआरएनएले १०  स्वर्ण, ९ रजत र ७ कास्य पदक सहित २६ पदक जितेर आठौं, लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य सहित ६८ पदक जितेर नवौं स्थान हासिल गर्यो । त्यसैगरी, दशौँ स्थान हासिल गरेको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य सहित कुल ३९ पदक जित्दा पुछारमा रहेको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत, १२ कास्य पदक सहित कुल १८ पदक हात पार्यो ।

एपीएफले जित्यो नवौं राष्ट्रिय खेलकुदमा फुटबलको स्वर्ण

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलको स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा बिहीबार सम्पन्न सनसनीपूर्ण फाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी शुटआउटमा ६–५ ले हराएर स्वर्ण जितेको हो ।

आठौं राष्ट्रियमा पनि एपीएफले आर्मीसँगै पराजित भएर स्वर्ण पदक गुमाएको थियो । सातौंमा एपीएफले आर्मीमाथि जित रचेको थियो । पेनाल्टी शुटआउटमा एपीएफबाट नवीन लामा, आभाष लामिछाने, सुदीप सिख्राकार, राजु योगी, दिपेश धिमाल, मणि लामाले गोल गरेका थिए । सनिश श्रेष्ठको पेनाल्टी खेर गएको थियो ।

आर्मीका लागि नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की, सीमान्त थापा, विवेक बस्नेत र विकास खवासले गोल गरेका थिए । सेसेहाङ आङदम्बे र सुमन अर्यालको प्रहार विपक्षी गोलकिपर राजु योगीले बचाए । सुरुका ५–५ पेनाल्टी प्रहारमा ४–४ गोल भएपछि खेलको निर्णय सडनडेथमा गएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल हुन सकेको थिएन । 

नवौं राष्ट्रिय : एपीएफलाई महिला फुटबलको स्वर्ण

काठमाडौँ । प्रतियोगिता अन्तर्गतको महिला फुटबलमा विभागिय टोली एपीएफ क्लबले स्वर्ण जितेको छ। आज भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराएर एपीएफले स्वर्ण जितेको हो ।

स्याङ्गजाको वालिङ्गमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले एक सान्त्वना गोल फर्काईन् ।

कास्य पदक भने विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कास्य पदकका लागि भएको खेलमा आर्मी क्लबले प्रदेश एकलाई पराजित गरेको थियो ।