Live Streaming

अन्नपूर्ण दिनभर : बिदाको दिन पनि जरिवाना नबुझाए समानुपातिकको बन्द सूचीबाट नाम हटाइने, विश्वप्रकाश शर्मालाई स्पष्टीकरण

बिदाको दिन पनि जरिवाना नबुझाए समानुपातिकको बन्द सूचीबाट नाम हटाइने

काठमाडौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका समानुपातिकको बन्द सूचीमा रहेका उम्मेदवारहरूले शनिवार पनि जरिवाना नतिरे बन्दसुचीबाट नाम हटाउने चेतावनी दिएको छ ।

आज साँझ विज्ञप्ति जारी गर्दै आयोगले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनावी खर्च नबुझाएका तर मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको समानुपातिकको बन्द सूचीमा परेको उम्मेदवारले भोलि शनिवार पनि खर्च विवरण बुझाउन सक्ने जनाएको छ ।

आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार भोली साँझ ५ बजेसम्म जरिवाना बुझाएर आफ्नो उम्मेदवारी कायम गर्न निर्देशन दिएको छ । भोलि पनि खर्च विवरण नबुझाएमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट नाम हटाउने आयोगले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

राजु गुरुङको मुद्दा खारेज, रुपन्देही २ मा उम्मेदवार हुने नपाउने

काठमाडौ । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको आजको फैसला अनुसार गुरङको उम्मेदवारी खदारेज भएको हो ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उहाँको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सर्वोच्चले उहाँको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

सो मुद्दामा न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो । 

प्रधानमन्त्री देउवाले भने– गठबन्धनमा कसैले समस्या नल्याऔं

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेकोले गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

गठबन्धनले सातै प्रदेशमा आज थालेको प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्वोधन गर्दै देउवाले विगतका कुरा सम्झिएर काम नभएको भन्दै राजनीतिमा कुनै पनि ठाउँमा समझदारी गर्नुपर्ने हुन सक्ने औंल्याउनुभयो ।

आफु प्रचण्ड माधव नेपाल लगायतको सहयोगले प्रधानमन्त्री बनेको भन्दै यो गठबन्धन बचाउनु आवश्यक रहेको भनाई राख्नु भयो । साथै अहिलेको गठबन्धन संविधान रक्षाका लागि पनि भएको भन्दै यसलाई बचाउनु अति आश्यक रहेको उहाँको भनाई थियो । 

केन्द्रमा गठबन्धनका शीर्ष नेताहरूको सम्बन्धजत्तिकै तलसम्म बनाउन कार्यकर्तालाई देउवाले निर्देशन दिनुभएको छ । टिकट नपाएकोमा कोही रिसाएको भए मिलाइने उहाँको भनाई छ ।

सोही कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीले ‘गोरुगाढा सिद्धान्त’ अपनाउन लागेपछि गठबन्धन बनेको भन्दै कटाक्ष गर्नुभएको छ दाहालले पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा हिँडेको बताउनुभयो ।

प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ । आजै लुम्बिनीको बुटबलमा भएको कार्यक्रममा ‘प्रचण्ड’ ले गठबन्धनमा बसेर चुनाव चिह्नमा विभेद गर्न नपाइने चेतावनी पनि दिनुभयो ।

प्रचण्डले गणतन्त्र र लोकतन्त्रविरूद्व भएको षड्यन्त्र प्रयासलाई पराजित गर्न पनि गठबन्धनको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । गठबन्धनले आज पहिलो दिन गण्डकीको पोखरा र लुम्विनीको बुटवलमा सभा गरेको हो । भोलि प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा चुनावी सभा राखिएको छ । कात्तिक ६ गते सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा तथा ७ गते काठमाडौंमा चुनावी सभाको आयोजना गरिएको छ ।
 
हामीले तीन वर्षमै तुइन विस्थापित गर्यौँ, हजारौँ किलोमिटर पक्की सडक बनायौँ : ओली 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यकालमा विकासको लहर ल्याएको दावी गर्नुभएको छ । सोही अवस्था कायम गर्न फेरि पनि एमालेले सरकार बनाउने गरी बहुमत दिन पनि उहाले जनतालाई अपिल गर्नुभएको छ ।

एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएका दाबी गर्नुभएको छ । आज राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमाले सरकारले हजारौँ किलोमिटर पक्की सडक बनाएको दाबी गर्नुभएको हो । देश यातायात र सामाजिक सञ्जालले जोडेको समेत उहाँको भनाई छ । 

ओलीले आज नागरिकसँग फोनमार्फत संवाद गर्नुभएको छ । अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग बुधबार र बिहीबार नाम नम्बर टिपाउन आव्हान गर्नुभएको थियो ।

दुई दिनमा करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए।ओलीले गोलाप्रथा प्रणालीबाट छान्दै सम्पर्क गर्नुभएको छ । पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज दिउँसो १ बजेदेखि ओलीले नागरिकका प्रश्नको जवाफ दिन सुरु गर्नुभएको हो । आसन्न निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष ओलीले नागरिकसँग संवाद गर्नुभएको हो । 

मदिरा आयात खोल्न प्रस्ताव गर्ने पर्यटनमन्त्रीविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठलाई कारबाही माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । व्यापारीबाट प्रभावित भएर मन्त्री श्रेष्ठले प्रतिबन्धित मदिराको आयात निर्वाचन अघि नै खुलाउन लागि परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोगमा उजुरी दर्ता गराएको हो ।

निर्वाचनको संघारमा आफैं उम्मेदवार र मन्त्री जस्तो पदमा रहेको व्यक्तिले व्यापारीलाई लाभ पुग्नेगरी मदिराको आयात खोल्न लाग्नु निर्वाचन कसुर ऐनको बर्खिलाप भएको मञ्चले दिएको उजुरीमा उल्लेख छ ।

प्रतिबन्धित वस्तुको आयात निर्यातको अनुमति र निर्णय गर्ने निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रहेको भन्दै मन्त्री श्रेष्ठले नेपाल सरकार कार्यविभाजन नियमावली विपरीत काम गरेको पनि मञ्चको आरोप छ ।

आयोगले सोध्यो विश्वप्रकाश शर्मालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले आज महामन्त्री शर्मालाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको उजुरी परेपछि २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

महामन्त्री शर्माविरुद्ध आगलागी पीडितलाई पैसा वितरण गरेको आरोपमा उजुरी परेकाले स्पष्टीकरण सोधेको उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिनुभयो । शर्मा झापा क्षेत्र नम्बर १ का उम्मेदवार हुनुहुन्छ । 

कात्तिकभित्रै मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

काठमाडौ । दसैमा आउने भनिएको मेलम्चीको पानी तिहारमा पनि नआउने भएको छ ।मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्ने आयोजनाले जनाएको छ । 

आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने भएको छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । 

तर यस वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिने प्रवक्ता पन्तको भनाई छ । वर्षा सकिएकाले अस्थायी रुपमा पानी ल्याउन मुहानसम्म जाने सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष मुहान क्षेत्रको डाइभर्सन सुरुङ र अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरिएको थियो । त्यसैले सुरुङमा समस्या नभएको 

मेलम्ची खानेपानी विकास समितिले अनुमान गरेको छ । 

काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने समितिले जनाएको छ ।

कर्णाली राजमार्गको पहिरो पन्छाउन सेनाले थाल्यो ब्लास्टिङ

काठमाडौ । कर्णाली राजमार्गमा पहिरो जाँदा खसेको ठूला ढुंगा पन्छाउन नेपाली सेनाले ‘ब्लास्टिङ’ थालेको छ । कालीकोटको नाग्मदेखि राचुली खण्डमा खसेको ठूला ढुंगा फुटाउन दुई दिनदेखि ब्लास्टिङ भइरहेको नेपाली सेनाको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिनुभयो ।

गणका उपसेनानी (.क्याप्टेन) सन्तोष केसीको नेतृत्वमा ५० जना सैनिक टोली सो क्षेत्रमा खटिएको गणपति थापाले जानकारी दिनुभयो । पहिरो खसेर सडकमा थुप्रिएको ठूलो ढुंगा स्काभेटरले उठाउन नसक्ने भएकाले ब्लास्टिङ गरेर फुटाउनुपरेको हो । डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार पहिरो हटाएपछि भत्किएको सडकको छेउतर्फ पर्खाल लगाउने र जाली भरिनेछ ।

कर्णाली राजमार्गको भत्किएको खण्डमध्ये सबैभन्दा अफ्ठ्यारो खण्ड राचुलीदेखि नाग्मसम्मको हो । यो खण्डको पहिरो हटाएर मर्मत सम्भार गरेपछि एक हप्तामा राजमार्ग सञ्चालनमा आउने श्रेष्ठले बताउनुभयो । गत असोजको तेस्रो हप्ता आएको वर्षापछि पहिरो खसेर कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लामा दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थ अभाव हुन थालेको छ ।

इन्टरभ्यू अफ द डे

काठमाडौ । कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ परेको घटना पछि हास्य–व्यंग्य कलाकारहरु झस्किएका छन् । यस घटनाक्रमले कलाकारीता क्षेत्रमा तरंग ल्याएको छ । युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका सिंहले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रशारण गरेको भन्दै उजुरी परेपछि प्रहरीले सिंहलाई हिरासतमा लिएको थियो ।

दशैँ अघिनै १० दिन हिरासतमा विताउनुभएका सिंहलाई विरामीसंगै हिरासतमा लिएको विषयलाई लिएर आलोचना भएपछि प्रहरीले साधारण तारेखमा छोडेको थियो । मुद्दा टुंग्याउने सोँचमा गएको सोमबार प्रहरी कार्यालय पुगेका सिंहलाई फेरी हिरासतमा लिइएको थियो । बिहीबार न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सिंह धरौटीमा छुट्नुभएको छ ।

तर यस घटनाक्रमले पश्चात स्टेन्डअप कमेडियन मात्र नभएर समग्र कलाकारीता क्षेत्रमा तरंग ल्याएको छ । हास्य कलाकार हरिवंश आचार्यले गल्ती स्वीकार्दै माफी मागिसकेपछि नेवार समुदायले उनलाइ माफी दिनुपर्ने बताउँदै आउनुभएको छ ।

तर, आगामी दिनमा राजनीतिक दलका नेताहरुमाथि व्यंङ्य गर्दा समेत कार्वाहीमा परिने त्रास बढेको कलाकारहरु बताउँछन्। अर्का स्टेन्डप कमेडियन प्रभात लामाले अब हरेकपटक शब्द शब्दमा डराउँदै हसाँउनुपर्ने अवस्था सृजना भएको बताउनुभएको छ । 

९ बजेपछि देउसी–भैलो खेल्न नदिन

काठमाडौ । तिहारमा काठमाडौं उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले शुक्रवार सो निर्णय गरेका हुन् । साँझ ९ बजेभन्दा पछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।  यस्तै, उपत्यकामा पटाका लगायतका प्रज्वलनशील बस्तु पड्काउन निषेध गरिएको छ ।

आतिसबाजी गर्न र पटाका नपड्काउन सवैमा जानकारी गराउने र सूचना अवज्ञा गरेमा कडा कारबाही गरिने बताइएको छ । स्थानीय प्रशासनले दियो र मैनबत्ती बाल्दा सचेतना अपनाउन आग्रह गरेको छ । गत वर्ष ललितपुरमा म्ह पुजामा बालेको दीयोबाट आगो सल्किएर ग्यास सिलिन्डर विष्फोट भएको सो । सो दुर्घटनामा परेर एकै परिवारका ४ जनाले ज्यान गुमाएका थिए । विद्युतीय माध्यमबाट पनि आगजनी हुन सक्ने हुनाले सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

आर्थिक खबर
अर्थतन्त्रका अधिकांश सूचक निराशाजनक, रेमिट्यान्समा भने सुधार

काठमाडौ । अर्थतन्त्रका अधिकांश सूचक दबाबमा रहेको सरकारी प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले विदेशी मुद्रा सञ्चिति बढ्न नसकेको, महंगी बढेको, चालू खाता र शोधानान्तर स्थिति घाटामा रहेको देखाएको छ ।

अर्थतन्त्रको अर्को महत्वपूर्ण सूचक रेमिट्यान्समा भने सुधार देखिएको छ । भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिति ८.६४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ३.४९ प्रतिशत रहेको थियो । साउनमा ८.२६ प्रतिशत मूल्यवृद्धि थियो ।

भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फिति ८.१७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.०२ प्रतिशत रहेको छ । त्यस्तै भदौ महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढेको छ । दुई महिनामा १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । 

असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११ खर्ब ८९ अर्ब १६ करोड कायम भएको छ । तर, गत साउनको तुलनामा भदौमा भने ८ अर्ब ६९ करोडले विदेशी मुद्राको सञ्चिति घटेको देखिन्छ ।

भदौमा चालू खाता ३७ अर्ब १८ करोडले घाटामा रहेको छ । साउनमा चालू खाता १६ अर्ब २६ करोडले घाटामा रहेको थियो । त्यस्तै भदौमा शोधनान्तर स्थिति पनि २३ अर्ब ६८ करोडले घाटामा छ । साउनमा यस्तो घाटा २२ अर्ब ६३ करोड थियो ।

विदेशका खबर

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान चुनाव लड्न अयोग्य

काठमाडौ । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न अयोग्य रहेको घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा पाएको रकमको जानकारी नगराएको भन्दै अयोग्य घोषणा गरेको हो । प्रधानमन्त्री शेहबाज सरिफले आफूअघि शासनमा रहेका खानले सरकारको १४ करोड पाकिस्तानी रुपैयाँ बराबरको उपहार दुबईमा बेचेको बताउनुभएको थियो । 

यस्तो उपहार खानले सरकार प्रमुखको रुपमा विदेशी राष्ट्रहरूबाट प्राप्त गर्नुभएको थियो । खानले आफ्नो वार्षिक सम्पत्ति आयोगमा बुझाउँदा आम्दानीको मुख्य स्रोत नखुलाएको बताइएको छ । पाकिस्तानी कानुन अनुसार सांसदहरूले प्रत्येक वर्ष निर्वाचन आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्छ ।

२०२२ अगस्टमा संसद्का सभामुख राज पेरभाइज असरफले निर्वाचन आयोग समक्ष उपहार मामिलामा खानलाई आयोग्य घोषणा गर्न माग गरेका थिए । त्यसपछि आयोगले आज सर्वसम्मत रुपमा खानलाई अयोग्य भएको घोषणा गर्ने फैसला गरेको हो । 

खेल खबर

नवौं राष्ट्रिय खेलकुद : खेलाडीको स्वास्थ्यमा बेवास्ता गरिएको भन्दै अख्तियारमा उजुरी

काठमाडौ । नवौं राष्ट्रिय खेलकुदमा खेलाडीको स्वास्थ्य उपचारमा बेवास्ता गरिएको भन्दै नागरिक समाज कास्कीले अख्तियार कार्यालय पोखरामा उजुरी गरेको छ । राष्ट्रिय प्रतियोगिताको समयमा विभिन्न विधाका घाइते खेलाडीहरूको स्वास्थ्य उपचारमा वेवास्ता गरिएको भन्दै छानविनका लागि उजुरी परेको हो । 

उजुरीमा घाइते खेलाडीलाई उपचार सुविधा समेत उपलब्ध नगराइएको तर उद्घाटन र समापन समारोहमा कानुन विपरीत आतसबाजी गरेर लाखौं रकम हिनामिना गरिएको भन्दै छानबिनको माग गर्दै अख्तियार कार्यालयमा  निवेदन दिएको नागरिक समाज कास्कीका पूर्व संयोजक रामबहादुर गुरुले बताउनुभयो ।

३९ वर्षपछि गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद असोज २८ गते उपराष्ट्रपति नन्दकिशो पुनेले औपचारिक रूपमा सुरु गरेको खेल बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्नुभएको थियो ।

जिम्बावे र आयरल्याण्ड पुग्यो सुपर–१२ मा

काठमाडौ । टी–२० विश्वकप अन्तरगत जिम्बावे र आयरल्याण्ड सुपर–१२ मा प्रवेस गरेका छन् । प्रारम्भिक चरणको समूह ‘बी’ को खेलमा स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै जिम्बावे सुपर–१२ मा पुगेको हो । जितका लागि १ सय ३३ रनको लक्ष पछ्याएको जिम्बावेले नौ बलको खेल बाँकी छँदा पाँच विकेट गुमाएर विजयी रन बनायो । यस जितसँगै जिम्बावे आफ्नो समूहको विजेता पनि बनेको छ । 

त्यसअघि आजै भएको खेलमा आयरल्यान्डले दुई पटकको च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले पराजित गर्दै टी–२० विश्वकपको सुपर–१२ चरणमा प्रवेश गरेका छ । यो हारसँगे वेस्ट इन्डिज भने प्रतियोगिताबाटै बाहिरिएको छ । अब भोलिदेखि सुपर–१२ चरणका खेल सुरु हुनेछन् । प्रारम्भिक चरणबाट जिम्बावे रआयरल्यान्डसँगै श्रीलंका र नेदरल्यान्ड्स सुपर–१२ पुग्न सफल रहेका छन् ।