Live Streaming

अन्नपूर्ण दिनभर : हालसम्म ६० जिल्लामा मतपत्र ढुवानी,यमपन्चकको पहिलो दिन आज यमदीप दान गरिँद


६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि ६० जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भएको छ ।

निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म ६० जिल्लामा मतपत्र पुगेको हो।  तिहारअघि थप छ वटा जिल्लाको मतपत्र ढुवानी गरिने छ । बाँकी रहेका मनाङ, मुस्ताङ, अछाम, बाजुरा, कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पा जिल्लाको मतपत्र भने तिहारपछि मात्र ढुवानी हुनेछ । 

पछिल्लो विवण अनुसार हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । जसमध्ये प्रदेश सभाका लागि ७५ लाख २५ हजार र प्रतिनिधि सभातर्फ ७५ लाख ९९ हजार मतपत्र रहेका छन् ।

हालसम्म प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा, अछाम, कैलाली, कञ्चनपुर, रोप्पा, प्यूठान, दाङ, रुकुम पूर्व, अर्घाखाँची, गुल्मी, बर्दिया र नवलपरासी पश्चिमलगायतका जिल्लाहरूको मतपत्र छपाइ सम्पन्न भएको छ । 

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रंग सेतो रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणका लागि कालो रंग प्रयोग भएको छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिह्न र अन्य विवरणको रंग रातो मसिको रहेको छ ।

निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार

काठमाडौ । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई आयोगले पुरस्कृत गर्ने भएको हो । निर्वाचन प्रचारप्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि १ मिनेटसम्मको भिडियो बनाएर आयोगको इमेल ठेगानामा पठाउनु पर्ने छ । आयोगले प्राप्तमध्ये उत्कृष्ट पाँचवटा भिडियोलाई जनही ५० हजार रुपैयाँ पुरस्कार तथा प्रशंसा पत्र प्रदान गर्ने छ । यसका लागि प्रतियोगीहरूले आयोगले निर्धारण गरेका शर्तहरु पालना गर्नुपर्ने छ ।

गठबन्धन दलले देश बेच्ने खतरा छ : केपी शर्मा ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरू देशपनि बेच्न तयार रहेको बताउनु भएको छ । आज नेकपा एमाले ललितपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको भन्दै सत्ता स्वार्थका लागि देशपनि बेच्न तयार रहेको आरोप लगाउनु भएको हो । उहाँले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएको बताए ।

जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षड्यन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षड्यन्त्रलाई बिफल बनाउनुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाउनुभयो । अहिले लाखौ रुपैयाँ लिएर भुटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उहाँले बताउनुभयो । ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायालय सेटिङको अखडामा परिणत भएको उल्लेख गर्दै प्रधानन्यायाधीशलाई न्यायालय प्रवेश गर्न नदिने न्यायाधीशहरूले हडताल गर्ने लगायतका तमासा देखिनु दुर्भाग्य भएको बताउनुभयो । 

ओलीले अब एमालेभित्र कुनैपनि प्रकारको गुटबन्दी हुन नदिने बताउनुभयो । पार्टीमा योगदान नै नभएकाहरूले पद नपाएकै कारण एमाले छाडेर विरोधमा उत्रिएको देखिएको उहाँको भनाइ छ। उहाँले अहिले देश बनाउने संकल्पका साथ एमाले अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाको अपिल

काठमाडौ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्तालाई गठबन्धनका सहयात्री दलहरू माओवादी केन्द्रको चुनाव चिह्न ‘हँसिया हथौडा’ र एकीकृत समाजवादीको चुनाव चिह्न ‘कलम’मा भोट हाल्न किन लाज मान्ने भनेर प्रश्न गर्नु भएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा आज आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा प्रधानमन्त्री देउवाले गणतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि गठबन्धन भएकोले यसमा कुनै शंका र उपशंका नगर्न आग्रह गर्नु भएको हो । 

देश बचाउनु पनि छ र गठबन्धन जोगाउनु पनि छ, भन्दै देउवाले ‘संविधानको रक्षा, समावेशी, संघीयता, गणतन्त्रको रक्षा र संविधान जोगाउनका लागि गठबन्धन आवश्यक छ’ भन्नुभयो ।

गठबन्धनको सरकार बनेपछि धेरै अवसर सृजना हुने र ती ठाउँमा अहिले अवसर नपाएकाको माग सम्बोधन गरिने उहाँको भनाइ थियो । उहाँले टिकट र अवसरको आस राखेर पनि नपाएका नेताहरूलाई गठबन्धनका उम्मेदवार जिताउनतिर लाग्न अपील गर्नु भयो । 

प्रचण्डका कुरा

काठमाडौ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा आर्थिक विकासका लागि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन बनेको बताउनु भएको छ । उहाँले मुलुकमा प्राप्त राजनीतिक परिवर्तन रक्षा गर्न र संविधान कार्यान्वयन गर्न पनि गठबन्धन बनेको भन्दै दलका नेताहरूबीचका विमती थाती राखेर अघि बढ्न आग्रह गर्नुभयो ।  

लोकतान्त्रिक–वाम गठबन्धनले विराटनगरमा आज आयोजना गरेको प्रदेशस्तरीय सत्तारुढ गठबन्धन दलका नेता तथा कार्यकर्ताको भेलामा प्रचण्डले विशिष्ट परिस्थितिमा राजनीतिक दलहरू एक ठाउँमा आउनुपरेको बताउनुभयो । प्रचण्डले एमाले अध्यक्ष ओलीलाई लक्षित गरी मंसिर ४ गतेको निर्वाचन सामान्य नभई गोरुगाडावालाको प्रतिगमन र गठबन्धन दलको अग्रगमनबीचको संग्राम भएको बताउनुभयो ।

एमालेमाथि माधव नेपालको आरोप

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको भन्दै एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गर्नु भएको छ । पाँच दलीय गठबन्धनका कार्यकर्ताको भेलालाई आज जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली मुलुकको लागि अझै खतरनाक व्यक्ति भएकाले ओलीलाई परास्त नगरेसम्म गठबन्धन कमजोर नहुने बताउनुभयो ।

लिङ्देनको दाबी : अघिल्लो चुनावमा राप्रपाले कांग्रेसको झोला बोक्दा रवीन्द्र मिश्र हार्नुभयो 

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो चुनावमा राप्रपाले कांग्रेसलाई समर्थन गरेका कारण काठमाडौं १ मा रवीन्द्र मिश्र प्राविधिक रूपले पराजित भए पनि यस पटक सानदार जित निस्कने बताउनु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर १ मा तिहारका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष लिङ्देनले ५ वर्षअघिको यो क्षेत्रका जनताको चाहना पूरा होस् भनेर रवीन्द्र मिश्रलाई राप्रपाले पुनः उम्मेदवार बनाएको बताउनुभयो । उहाँले यसअघि मिश्रलाई मत दिने जनताले आफ्नो मत यथावत् राख्नुपर्ने बताउनुभयो ।

तिहार आज शनिवारदेखि प्रारम्भ

काठमाडौ । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । तर काग तिहार भने भोलि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेको दिन यमदीपदान शुरु हुन्छ । भोली बेलुकी ५ बजेर ४ मिनेटसम्म त्रयोदशी तिथि छ । 

त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बेलुकी ५ बजेर ४ मिनेटपछि चतुर्दशी तिथि लाग्छ । यसैले आजै देखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको छ ।

सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएकोप्राध्यापक अधिकारीले बताउनु भयो । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि रहेको छ । यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धनत्रयोदशी अर्थात धनतेरस पर्व पनि आजै परेको छ भने धनवन्तरी जयन्ती भोली परेको छ । 

इन्टरभ्यु अफ द डे

काठमाडौ । मूल्यबृद्धि, कालोबजारी र मिसावट गर्नेलाई कुनै पनि शर्तमा नछाडने सरोकारवालाहरुको घोषणा शब्दमै सिमित भएको छ । यतिबेला गाउँ गाउँमा र चोक चोकमा खुलेयाम व्यापारीहरुले मनोमानी मूल्य निर्धारण गर्दा अनुगमन को अनुभूती शुन्य देखिन्छ । अझ तिहारमा अत्याधिक प्रयोग भइरहेका भाइ मसला देखि मिस्ठान्न सम्म गुणस्तरहीन र अखाद्य वस्तु भएको गुनासो सर्बत्र छ । 

सरकारी संयन्त्र कमजोर भएपछि जनता जागरुक हुनुपर्नेमा अब त झन गुणस्तरहीन र अखाद्य वस्तुलाइ सामाजले स्वाकार गर्दै गएको देखिन्छ  । यदा कदा दोषीमाथि केही कारवाही र मद्दा सम्म नभएका होइनन तर कारवाही लचिलो र मुद्दा फितलो बनिदिँदा पुन त्यसको प्रत्यक्ष मार जनताले नै खेप्नुपरेको छ । 
 
दुई किशोरी डुबेर बेपत्ता

काठमाडौ । बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज शनिबार दिउँसो बबईमा नुहाउन गएका थिए। तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने उक्त नदीमा तीन किशोरी सङ्गै गएका थिए । 
दङ्गीशरण–२ की १३ वर्षीया निरुता बस्नेत भने नदी छेउमै बसेकी थिइन् ।

दुवैजना बेपत्ता भएपछि उनले स्थानीयवासीलाई खबर गरेको केसीले बताउनुभयो । स्थानीयले खबर गरेपछि तत्काल प्रहरी टोली घटनास्थलमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयले दुवैजनाको खोजी गरिरहेको छ।

आर्थिक खबर
प्रतिबन्धका बाबजुद कारोबार 

काठमाडौ । सरकारले प्लाष्टिकका फूल र मालाको कारोबारमा रोक लगाए पनि बजारमा किनबेच भैरहेको छ ।तिहारमा घरकोठा सजाउनको लागि प्लाष्टिकका फूलमालाको माग धेरै हुने भएकाले व्यापारीले पहिलेजस्तै निर्वाध बेचिरहेका छन् । वातावरण विभागले तिहार र छठ पर्वमा प्लाष्टिकका फूल, गुच्छा तथा मालाको कारोबार हुने गरेको भन्दै त्यस्ता प्लाष्टिकजन्य फूलमाला तथा सामग्रीको प्रयोग नगर्न यसअघि नै सचेत गराइसकेको छ ।   

गएको साउन १२ गतेदेखि नै प्लाष्टिकजन्य फूल, माला, तथा गुच्छाको उत्पादन, आयात र बिक्री वा भण्डारण गर्न पूर्ण रुपमा रोक लगाइएको विभागले स्मरण गराएको छ । विभागले नियम विपरीत कसैले यस्ता फूलमालाको प्रयोग गरेको वा बिक्री गरेको पाइए १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना हुने जनाएको छ ।

विदेशका खबर
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन सम्पन्न

काठमाडौ । राष्ट्रपति सी चिनफिङलाई तेस्रो कार्यकालको नेतृत्वमा अनुमोदन गर्दै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २० औं महाधिवेशन बेइजिङमा सम्पन्न भएको छ । महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दा शक्तिशाली पोलिटब्युरो स्ट्यान्डिङ कमिटीका सदस्यहरु प्रधानमन्त्री ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेनलाई बिदा दिएको छ ।

वाङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुन् भने हान उपप्रधानमन्त्री हुन् । ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन् । पार्टीभित्र तेस्रो वरियतामा रहेका लीले भदौको अन्तिम साता नेपालको भ्रमण गरेका थिए । प्रधानमन्त्री ली दोस्रो वरियतामा रहेका थिए।६९ वर्ष भइसक्दा पनि स्टेट काउन्सिल तथा विदेशमन्त्री वाङ यी भने केन्द्रीय कमिटीमा परेका छन् । सामान्यतया चीनमा ६८ वर्षभन्दा बढी भएका नेताहरुलाई जिम्मेवारीबाट अवकास दिने गरिएको छ । 

२ सय ५ सदस्यीय केन्द्रीय कमिटी ११ जना मात्रै महिला रहेका छन् ।केन्द्रीय कमिटीले पोलिटब्युरो र स्ट्यान्डिङ कमिटीको गठन गर्ने छ । केन्द्रीय कमिटीको पहिलो बैठक आइतबार बस्ने छ ।एक साता चलेको महाधिवेशनले पाँच वर्षअघि अपनाएको सी विचारधारा झनै सशक्त बनाउने प्रस्ताव पारित गरेको छ ।

चिनियाँ विशेषताअनुसारको चिनियाँ समाजवादसम्बन्धी सी विचारधारालाई पार्टीको विचारको सार रूपमा अघि बढाउने निर्णय गरेको छ । त्यसैअनुरूप हुने गरी पार्टीको विधानलाई पनि संशोधन गरिएको छ । पाँच वर्षअघि भएको पार्टीको १९ औं महाधिवेशनले सी विचारधारालाई अपनाउने निर्णय गरेको थियो ।

ट्रम्पलाई संसदीय समितिले पठायो समन पत्र

काठमाडौ । अमेरिकी संसद भवनमा गएको वर्ष जनवरी ६ मा भएको आक्रमणमाथि छानबिन गरिरहेको समितिले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई बयानका लागि उपस्थित हुन आदेश दिएको छ ।समितिले ट्रम्पलाई बयानका लागि सांसद समक्ष उपस्थित हुन कानूनी आदेश जारी गरेको हो । निर्वाचनको नतिजा उल्ट्याउनका लागि भएको हिंशात्मक प्रयासको केन्द्रमा ट्रम्प रहेको आरोप छ । 

ट्रम्पलाई समितिले पठाएको समन पत्रमा अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा उल्ट्याउन भएको प्रयासबारे स्पष्टीकरण मागिएको छ । ट्रम्पका वकिलले छानबिन समितिमा रहेका सांसदहरुले नियमको उल्लंघन गरेको आरोप लगाएका छन् । आदेश अस्वीकार गरेमा ट्रम्प कानूनी समस्यामा पर्ने छन् ।

खेल खबर
टी ट्वान्टी विश्वकपः अष्ट्रेलिया ८९ रनले पराजित

काठमाडौ । अष्ट्रेलियामा जारी रहेको आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा घरेलु टोलीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । आयोजक तथा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया प्रतियोगितामा न्युजिल्याण्डसँग ८९ रनले पराजित भएको हो ।

सिड्नी क्रिकेट मैदानमा २ सय १ को लक्ष्य पछ्याएको अष्ट्रेलिया १७ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ११ रनमै  सिमित भएको थियो । अष्ट्रेलियाका लागि ग्लेन म्याक्स वेलले २० बलमा २८ रन तथा प्याट कमिन्सले १८ बलमा २१ रन बनाएका थिए । मिचेल मार्शले १२ बलमा १६ रन बनाएका थिए । 

अष्ट्रेलियालाई कम रनमा रोक्न न्युजिल्याण्डका मिचेल स्यान्टेनरले ४ ओभरमा ३१ रन खर्चिएर ३ विकेट लिएका थिए । टिम साउथीले ३ विकेट र ट्रेन्ट बोल्डले २ विकेट लिएका थिए । लक्कि फगुर्सन र ईश सोधीले समान १–१ विकेट लिएका थिए ।त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय रन बनाएको थियो ।

न्युजिल्याण्डका लागि ओपनर डेबिड कन्वेले ५८ बलमा ७ चौका र २ छक्काको मद्दतले अविजित ९२ रनको अर्धशतकिय ईनिङ खेलेका छन । अर्का ओपनर फिना एलेनले ४२ रन जेम्स निशमले २६ रन तथा कप्तान केन विलियम्सले २३ रन बनाएका थिए । अष्ट्रेलियाका लागि जोस हेजलउडले २ विकेट, एडम जाम्पाले १ विकेट लिएका थिए ।

यो जितसँगै न्युजिल्याण्डले सुपर– टुवेल्भ को पहिलो खेलमा जित हात पारेर समूह एकको शीर्ष स्थानमा रहेको छ । आज दोस्रो खेल अन्तर्गत समूह एकको खेलमा इंग्ल्याण्ड तथा अफगानस्तान खेल्दैछन् ।