Live Streaming

अन्नपूण दिनभर : संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थामा नेसपाको जोड, कांग्रेसको सङ्कल्प पत्र भोलि सार्वजनिक हुन

नेपाल समाजवादी पार्टीले १० बुँदे चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । 

काठमाडौँ । नेपाल समाजवादी पार्टी नेसपाले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र महिन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले मंसिर ४ मा हुने निर्वाचनका लागि संविधान संशोधन, आर्थिक, सामाजिक, परराष्ट्र, कृषि, रोजगारलगायतका विषय समेटिएको घोषणापत्र ल्याएको हो ।

भट्टराईले सार्वजनिक गरेको घोषणापत्रमा संविधान संशोधनको मूल चुनावी लक्ष्य राखेको छ । संविधान संशोधनमार्फत ‘लोकतन्त्रको लोकतान्त्रीकरण गर्नुपर्ने’ नेसपाको माग छ । 

नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट मुलुकको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ । माओवादी केन्द्रको चुनाव चिह्न ‘हँसिया हथौडा’ लिएर चुनावी मैदानमा उत्रिएको नेसपाले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ ।

त्यसका लागि संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको छ । राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ । 

राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने नेसपाको घोषणापत्रमा उल्लेख छ । भ्रष्टाचार अन्त्य गर्नका लागि जनलोकपालदेखि कर्मचारीतन्त्रको रुपान्तरणसम्मका योजना नेसपाले घोषणापत्रमा राखेको छ ।

नेसपाले छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने, उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्र्याएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ ।

नेसपाले मुलुकको आर्थिक विकासका लागि ‘समतामूलक समृद्धि’को अवधारणा अगाडि सारेको छ । त्यसका लागि तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दीगोपन र मानवीय खुसी हुनुपर्ने उल्लेख छ ।

देउवाले नभ्याएपछि कांग्रेसको सङ्कल्प पत्र भोलिमात्र सार्वजनिक हुने

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा काठमाडौं उपत्यका बाहिर रहेपछि पार्टीको संकल्पपत्र भोलिमात्र सार्वजनिक हुने भएको छ ।

 कांग्रेसले आज साँझ ५ बजे सार्वजनिक गर्ने भनिएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को संकल्प सभापति देउवाले नभ्याएपछि भोलि सोमबार बिहान साढे १० बजेमात्र सार्वजनिक गरिने भएको हो ।   सत्ता गठबन्धनको चुनावी दौडाहाका क्रममा देउवा अहिले सुदूरपश्चिम प्रदेश छन् ।

अमेरिकी राजदूत थम्प्सन र गृहमन्त्री खाँडबीच भेट

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले नेपाललाई गर्दै आएको सहयोगमा निरन्तरता दिने बताउनु भएको छ । गृहमन्त्री बालकृष्ण खाणसँग आज बिहान गृहमन्त्रालयमा भएको भेटघाटमा राजदूत थम्प्सनले यस्तो बताउनुभएको हो ।

गृहमन्त्री खाणले नेपालको विकास र लोकतन्त्रका लागि अमेरिकाले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभएको हो । भेटमा गृहमन्त्री खाणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । 

राजदूत थम्प्सनले मंसिर ४ मा हुनेप्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको बारेमा चासो राख्नुभएको थियो । प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचन हुन लागेको जानकारी गराउँदै खाणले उक्त निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने राजदूत थम्प्सनलाई जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत थम्प्सनले आगामी निर्वाचनले नेपालको लोकतन्त्रलाई थप सवल बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । 

कागको पूजा गरिदै 

काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइएको छ ।सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पंक्षीको रूपमा कागको पूजा गरिन्छ । यो वर्ष यमपञ्चक हिजै सुरु भएपनि काग तिहार भने आज परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कार्तिक कृष्ण त्रयोदशी परेका दिन सुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै सुरु भएको हो । आज २७ घडी १८ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म त्रयोदशी परेको थियो ।

त्यसपछि चतुर्दशी लाग्नेछ । भोलि बिहानसम्मै कार्तिक कृष्ण चतुर्दशी रहेकाले भोलि बिहान कुकुरको पूजा गरिनेछ । काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिकामा १९औं काग सम्मेलनको आयोजना गरिएको थियो ।

आजै आयुर्वेदका प्रवर्तक धनवन्तरिको जन्मजयन्ती पनि मनाइएको छ । उहाँको जन्मदिन पारेर नेपाल र भारतमा यो दिन आरोग्य दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९७४ मा आयुर्वेद चिकित्सा क्याम्पस नरदेवी स्थापना भएदेखि धन्वन्तरि जयन्ती मनाउन थालिएको   हो । 
आयुर्वेद चिकित्सक संघको पहलमा २०५६ सालदेखि धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा पनि मनाउने गरिएको छ। धनवन्तरि दिवसका अवसरमा सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद क्याम्पस, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडलगायतले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

बालेनको योजनामा ठेस, भूमिगत टुकुचा उत्खनन् गर्न नपाइने

काठमाडौँ । काठमाडौंको हात्तीसारमा भेटिएको टुकुचा भत्काउन नपाइने भएको छ। काठमाडौं महानगरपालिकाले भूमिगत संरचना खोतल्ने क्रममा भेटिएको टुकुचा राणाकालीन संरचना भएको पुष्टि भएसँगै टुकुचा थप खोतल्न नपाइने भएको हो । अब महानगरपालिकाले भूमिगत संरचना खोजीका लागि चलाएको डोजर टुकुचामा चलाउन पाउने छैन । 

यसले काठमाडौंका मेयर बालेन्द्र शाहलाई ठेस पुगेको छ। पुरातत्व विभागले टुकुचामा महानगरले डोजर चलाएपछि थप अध्ययन गरेको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरले हात्तीसारमा भेटिएको टुकुचा उत्खनन्को साटो संरक्षण र संवर्द्धन गर्नुपर्ने बताए । ’हामीले गरेको अध्ययनअनुसार यो राणाकालीन संरचना भएको तथ्य भेटियो,’ उनले भने, ’अब यसको संरक्षण र संवर्द्धनको काम गर्नुपर्छ ।’ यसअघि टुकुचाबारे अध्ययन भएको थिएन ।  

उनका अनुसार आगामी दिनमा महानगरपालिकाले भूमिगत संरचना खोजी गर्दा यसलाई क्षति नहुने गरी गर्नुपर्छ।  महानगरपालिकाले खोला खोजी गर्दा उक्त टुकुचा फेला परेको हो । यसमा केही क्षति पुगेको छ। क्षति पुगेको ठाउँमा मर्मत गर्नुपर्ने देखिन्छ । पुरातत्वविद् भाष्कर ज्ञवालीको नेतृत्वमा बनेको समितिले अध्ययन प्रतिवेदन तयार गरेको र यसले टुकुचाका बारेमा तथ्यहरू संकलन गरी संरक्षण गर्नुपर्ने औल्याएको उनले जानकारी दिए ।

नारायाणहिटीभन्दा बाहिरको जयनेपाल हलदेखि काठमाडौं प्लाजाम्म भूमिगत रूपमा बनाइएको सुरुङ सय वर्षभन्दाअघि नै बनेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार इँटा र सुर्की चुना प्रयोग गरेर सुरुङ निर्माण भएको छ। प्रयोग भएको इँटामा श्री–३ वीर लेखिएको छ ।

प्याराग्लाइडिङ उडान आजदेखि खुला 

काठमाडौँ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो ।

प्राधिकरणले तोकेको शर्त पूरा गर्न नेपाल हवाइ खेलकुद संस्था तयार भएपछि प्याराग्लाइडिङ खुला गरिएको फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीले जानकारी दिए ।

प्राधिकरणले तोकेको उडान क्षेत्रमा मात्रै उडान गर्नुपर्ने, प्याराग्लाइडिङ पाइलट १५ दिनभित्र मेडिकल तथा मानसिक अवस्थाको परीक्षण गरी योग्य ठहरिएको हुनुपर्ने, सबै प्याराग्लाइडिङ पाइलटले तोकिएको पोशाक र कम्पनी र पाइलटको नाम स्पष्ट हुनुपर्ने शर्त राखेको छ ।

त्यस्तै, प्राधिकरणले व्यावसायिक उडानमा प्रयोग हुने ग्लाइडरहरूको १५ दिन भित्रमा प्राधिकरणका ‘एयर वर्थिनेस इन्सपेक्टर’ को रोहवरमा परीक्षण गराई योग्य ग्लाइडरहरूलाई मात्र व्यावसायिक उडान अनुमति दिने उल्लेख गरेको छ ।

प्राधिकरणले पाइलटको रिफ्रेसर एडभान्स टेन्डम तथा आपतकालीन अवस्थामा उद्धार गर्न प्रयोगात्मक तालिम वर्षको एकपटक गर्नैपर्ने शर्त राखेको छ । असोज ३० गते नवौं संस्करणको राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ ‘क्रसकन्ट्री’ प्रतियोगिताका क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २५ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

यो दुर्घटनापछि तत्कालै बसेको प्राधिकरणको बैठकले देशैभरि प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि स्थगन गरेको थियो ।
दुर्घटनापछि प्याराग्लाइडिङ उडानलाई नियमित, सुरक्षित र व्यवस्थित बनाउन प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेयको कात्तिक २ गते संयोजकत्वमा कमिटी गठन गरिएको थियो ।

उक्त कमिटीले विभिन्न सर्तसहित प्याराग्लाइडिङ खुला गर्न कात्तिक ४ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा १५ दिनभित्र सर्त कार्यान्वयन गरी आइतबारबाट उडान खुला गरिएको हो ।

अनुसन्धानमा दुइदिन म्याद थप

काठमाडौँ । बलात्कार आरोपमा हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई थप दुई दिन समय दिएको छ ।अघिल्लोपटक थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

अदालतले आज दुई दिनको म्याद थपेको हो ।यसअघि जिल्ला अदालत काठमाडौंले असोज २४ गते २० गतेबाट गणना हुने गरी ७ दिनको म्याद दिएको थियो । त्यसपछि असोज ७ गते दोस्रो पटक पुनः ७ दिन म्याद थप गरेको थियो । कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा प्रहरी वृत्त गौशालामा उजुरी दिएकी थिइन् । 

उनको उजरीमा सन्दीपले आफूलाई भदौ ५ गते गाडीमा राखेर नगरकोट पुर्याएको र सोही दिन राति तिलगंगाको एक होटलमा राखेर बलात्कार गरेको उल्लेख छ । बलात्कारको उजुरी पर्दा सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।लामिछानेले सरकारी वकिलको रोहवरमा प्रहरीसमक्ष इन्कारी बयान दिएका छन् ।

उनले सँगै बसेको तर बलात्कार नगरेको जिकिर गरेका छन् ।लामिछाने २० असोजमा काठमाडौं फर्किएका थिए । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने वित्तिकै उनलाई पक्राउ गरेको थियो । त्यतिबेलादेखि नै सन्दीप प्रहरी वृत्त, गौशालाको हिरासतमा छन् ।


  १५ लाख बढीको प्रतिबन्धित पटाका बरामद

काठमाडौँ । सीमावर्ती नाकाबाट भित्राइएको १५ लाख बढीको प्रतिबन्धित बारुदजन्य पटाका झापा प्रहरीले बरामद गरेको छ। तिहार तथा छठ पर्वलाई लक्षित गरी तस्करीको माध्यमबाट भित्राइएको १५ लाख २७ हजार ८०० रुपैयाँ बराबरको पटाका झापा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको हो। बरामद गरिएको पटाकालाई जिल्ला प्रहरी कार्यालय झापाले आइतबार बिहान पत्रकार सम्मेलन गरी नष्ट गरेको हो । 

अवैध रूपमा ओसारपसार भइरहेकोमा अवस्थामा प्रहरीले विभिन्न प्रकारका पटाका बरामद गरेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो । प्रहरीले पसलमा लुकाइछिपाई बिक्री वितरण गरिरहेको पटाका पनि जफत गरेको उहाँले बताउनुभयो । पटाकाको आयात र प्रयोगमा केही नियन्त्रण गरिए पनि पूर्ण रूपमा निर्मूल पार्न नसकिएको उहाँले बताउनुभयो । 

आर्थिक खबर

रसुवागढी नाकाबाट पाँच अर्ब भन्दाबढीको सामग्री आयात

काठमाडौँ । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात भएका चिनियाँ सामग्रीको भन्सार मूल्याङ्कन छिटोछरितो भइरहेको छ । तिहार लागि आयात भएका स्याउ, ओखर, किभी, स्याउपातीजस्ता फलफूल छिटोभन्दा छिटो बजारमा पुगोस् भन्ने उद्देश्यले  त्यस्ता सामग्री सकभर आयात आएकै दिन जाँचपास  गराउन भन्सार प्रशासन अग्रसर भएको हो । 

प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनबाट आयात भएका सामग्रीे  परीक्षण एवं नियमानुसार भन्सार  शुल्क कायम गराउन पर्याप्त जाँचकी परिचालन गरिएको र  फलफूललगायत  कुहिने चीज राजमार्गमै र अन्य सामग्री खोला बगरमा रहेको आफ्नैे कम्पाउण्डबाट छिटोछरितो परीक्षण भइरहेको छ ।

तिहारलाई  केन्द्रित गरी गत असोज २५ देखि कात्तिक ५ गतेसम्म रसुवागढी नाकाबाट चिनियाँ ठूला टिपरमार्फत दाँतेओखर १९टिप, स्याउ ३० तीस टिप, स्याउपाती एवं किभी चार÷चार टिप आयात भएको सीमा क्षेत्रका सुरक्षाकर्मीले जनाएका छन् ।  

नेपाली बजारको मागका आधारमा व्यापारीले फलफूलका साथै महिला तथा पुरुष एवं बालबालिकाका लागि  विविध तयारी पोसाक  रसुवागढी नाकाबाटै आयात हुने गरेको भन्सार अधिकृत रेशम खड्का बताउनुहुन्छ  ।

चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म रसुवागढी नाकामा हालसम्मको मूल्याङ्कनअनुसार कूल पाँच अर्ब ६६ करोड ३० लाख ८३ हजार बराबरको आयात भएको देखाएको छ । साउनदेखि हालसम्म आठ सय ४८ कन्टेनरबाट विविध सामग्री नेपाल भित्रिएको छ । विगतमा कोरोना सङ्क्रमणका कारण आर्थिक मन्दिमा परेका सबै ट्रक तथा कन्टेनर व्यवसायी अहिले चलायमान भइसकेका छन् ।

विदेशका खबर

खर्सोन शहर खाली गराइँदै 

काठमाडौँ । रुसले खटाएका अधिकारीहरूले युक्रेनको खर्सोन क्षेत्रका बासीन्दालाई तत्काल शहर छाड्न उर्दी जारी गरेका छन् ।युक्रेनी सेनाले उक्त क्षेत्र फिर्ता गर्न प्रतिवाद आक्रमण गर्ने आशंकामा रुसी अधिकारीहरूले उर्दी जारी गरेका हुन् ।

खर्सोन क्षेत्रलाई रुसमा गाभेको घोषणा गरेपछि रुसले त्यहाँ सैन्य शासन लागू गर्दै रुसी अधिकारीहरू खटाएको छ । युक्रेनी सेनाबाट बमबारी र आतंककारी हमला हुनसक्ने भन्दै रुसी अधिकारीहरूले यथाशक्य छिटो शहर छाड्न आग्रह गरेका हुन् । 

खर्सोनमा सैन्य शासन लागू गरे लगत्तै ६० हजार स्थानीयलाई नदी पार गराएर रुस पठाइएको र अरू २५ हजार मानिसहरुले त्यसपछि खर्सोन छाडेको अनुमान गरिएको छ ।

युक्रेनले भने आफ्नो स्थानमा बसेर रुसी सेनाको प्रतिकार गर्न खर्सोनका बासीन्दालाई आग्रह गरेको छ । यसैबीच, युक्रेनका मध्य र पश्चिमी क्षेत्रमा रुसले उर्जा केन्द्रहरूमा आक्रमण तीब्र बनाउँदा लाखौं युक्रेनीहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।रुसले उर्जा केन्द्र तथा संवेदनशील क्षेत्रमा प्रहार गरेका ३३ वटा मिसाइल मध्ये १८ वटा खसालेको दावी समेत गरेको छ ।

खेल खबर 

आयरल्याण्डमाथि श्रीलंकाको सहज जित 

काठमाडौँ । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा श्रीलंका विजयी भएको छ । होवार्टमा आज भएको खेलमा श्रीलंकाले आयरल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । आयरल्याण्डले दिएको १ सय २९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो । श्रीलंकाको जितमा कुशल मेन्डिसले ४३ बलमा अविजित ६८ रनको अर्धशतकिय पारी खेले । 


धनन्जय डि सिल्भा र चरिथा असलंकाले समान ३१÷३१ रन बनाए ।आयरल्याण्डका लागि गारेथ डिलेनीले १ विकेट लिए । पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

आयरल्याण्डका लागि ह्यारी टेक्टरले ४२ बलमा ४५ रन जोडे भने पल स्टर्लिङले २५ बलमा ३४ रन बनाएका थिए ।जर्ज डिकरेलले १४ तथा लुर्कन टुर्करले १० रन बनाएका थिए ।

अन्यले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । श्रीलंकाका लागि महेश तिक्षणा र वानिन्दु हसरंगाले २ २ तथा विनुरा फर्नान्डो, लाहिरु कुमारा, चमिका करुणारत्ने र धनन्जय डि सिल्भाले समान १÷१ विकेट लिए ।

सुपर १२ मा पहिलो जितसँगै श्रीलंका समूह एकको दोस्रो स्थानमा उक्लिएको छ । हार पश्चात आयरल्याण्ड भने समूह एकको पाँचौं स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा भारत विजयी भएको छ । मेलबर्न मैदानमा जारी खेलमा टस हारेर पाकिस्तानले पहिले ब्याटिङ गरिरहेको थियो ।

भारत र पाकिस्तानले खेलेका पछिल्ला पाँच टी–ट्वान्टी खेलमा तीनमा भारत तथा दुईमा पाकिस्तान विजयी भएको छ । यस विश्वकपमा १६ राष्ट्रबीच खेल भईरहेकोमा ४ राष्ट्र पहिलो चरणबाट बाहिरिएका छन् ।

दोस्रो चरण सुपर १२ को समूह एकमा अष्ट्रेलिया, न्युजिल्याण्ड, अफगानस्तान, इंग्ल्याण्ड, पहिलो राउण्ड समूह ए बिजेताको रुपमा श्रीलंका र पहिलो राउण्ड समूह बीको उपबिजेताको रुपमा आयरल्याण्ड रहनेछन् ।

समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, पहिलो राउण्ड समूह बीको बिजेताका रुपमा जिम्बाबे र पहिलो राउण्ड समूह एको उपबिजेताको रुपमा नेदरल्याण्ड्स रहने छन् ।