Live Streaming

अन्नपूर्ण दिनभर : प्रतिनिधिसभाका उम्मेदवारले तीनवटा सम्पर्क कार्यालय खोल्न पाउने,एमसीसीका कारण मुलुक युद्धमा फस्ने स्थिति आयो 

उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्नेबारे आयोगको सात बुँदे निर्देशन

काठमाडौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । निर्देशन अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेटने गरी बढीमा तीनवटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले १ (एक) वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन् । 

प्रतिनिधिसभा  र प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एकवटा सम्पर्क कार्यालय खोल्न सक्ने र माथिका प्रकरण नं १ २ र ३ बमोजिम कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ । 

प्रत्यक्षतर्फ उम्मेदवारी दिई निर्वाचन चिन्ह प्राप्त गरी सकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भएमा त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न नपाउने र प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।

राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन पनि निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो ।

समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फ ६८ जिल्लाका लागि मतपत्र ढुवानी भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार बाँकी नौ जिल्लाको मतपत्र ढुवानी तिहार लगत्तै हुनेछ । हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ३६ जिल्लाको र सोही प्रणालीको प्रदेशसभाका लागि ३३ जिल्लाका मतपत्र छपाइ सम्पन्न भएको छ । दुवैतर्फ गरी आवश्यक पर्ने गरी चार करोड मतपत्रमध्ये कूल दुई करोड ९० हजार पाँच सय मतपत्र छपाइ भएको छ । 

नेपाल मजदुर किसान पार्टीः घोषणापत्र सार्वजनिक

काठमाडौ । नेपाल मजदुर किसान पार्टीले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख  छ।

यस्तै, शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरु नेमकिपाले आफ्नो घोषणापत्रमा समेटेको छ। नेमकिपाले संघीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने जनाएको छ । 

घोषणापत्रको सारसंक्षेप प्रस्तुत गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले समाजवादको विकल्प नभएको ठह¥याउँदै नेमकिपाले वर्तमान राजनीतिक दलहरुको कार्यशैलीको तीव्र आलोचना गर्नुभयो ।

नेमकिपाले भारतसँग भएको असमान सन्धीहरु खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। घोषणपत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन्।
यसैबीच, नेमकिपा अध्यक्ष नारायणमान विजुक्छेले घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै एमसीसी देशको अहितमा रहेको बताउनुभएको छ । अहिले संसारमा दक्षिणपन्थीहरुको प्रभाव बढ्दै गएको उनको भनाइ छ । तेस्रो विश्वयुद्ध एसियामा भयो भने झन गाह्रो हुने उहाँको भनाइ छ । 

एमालेको चुनावी सभा दार्चुलाबाट 

काठमाडौ । नेकपा एमालेले संसदीय चुनावलक्षित चुनावी अभियान सुदूरपश्चिमको दार्चुलाबाट थाल्ने भएको छ। कात्तिक १८ गते दार्चुलाबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रव्यापी चुनावी अभियान शुरु गर्ने एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयो ।

कार्तिक १८ गते दार्चुलाबाट आमसभा उद्घाटन भएपछि क्रमशः अन्य ठाउँमा पनि सभाहरु हुने उहाँले बताउनु भयो । कार्तिक १८ गते नै बैतडी र कञ्चनपुरमा पनि एमालेको चुनावी आमसभा हुने तय भएको छ। सबै ठाउँका आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । एमालेले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको दार्चुलाबाट चुनावी अभियान शुरु गर्न लागेको हो ।

ओली नेतृत्वको सरकारले भारत अतिक्रमित कालापानी क्षेत्र समेटेर नेपालको नक्सा जारी गरेको थियो । ओली चुच्चे नक्सा जारी भएपछि पहिलोपटक दार्चुला जान लाग्नु भएको हो । यसअघि ०७० सालको निर्वाचनमा गोकुलेश्वरमा आयोजना भएको आमसभालाई सम्बोधन गर्न ओली त्यहाँ पुग्नु भएको थियो । 

भरतपुरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा ‘डिस्पोज’

काठमाडौ । भरतपुरको नयाँ मेडिकल कलेज अगाडि भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ । करिब २ बजेर ४० मिनेटतिर देखिएको उक्त शंकास्पद वस्तुलाई सेनाको टोलीले ४ बजेर ४५ मिनेटमा निष्क्रिय पारेको हो । एक जनाले स्कुटरमा आएर छाडेको सो शंकास्पद वस्तुलाई भरतपुर ब्यारेकको सेनाको टोलीले निष्क्रिय पारेको चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभयो । 

सेनाले डिस्पोज गर्दा सो वस्तु बम नभएको पाइएको छ । बमको आशंका गरिएको वस्तु तर्साउने मनसायले राखिएको पाइएको उहाँले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले दुईतर्फी नै सवारी साधन रोकेर सो वस्तु डिस्पोज गर्ने काम थालेको थियो । 

आज गाई तिहार 

काठमाडौ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ ।

गाईलाई सम्मानका साथ नेपालको राष्ट्रिय जनावरका रुपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । 

यसैबीच, हिन्दूधर्म दर्शनले गाईलाई आमाको दर्जामा राख्दै आएको छ । बहुउपयोगी गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

नेवार समुदायको म्हा पूजा 

काठमाडौ । नेवार समुदायले आज म्हपूजा गर्दैछन् । तिहारको चौथो अर्थात् कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् ।भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन मनाइन्छ सोही अनुसार सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलनअनुसार आज म्हपूजा गनुपर्ने तलेजुका मूल आचाजु सिद्धिवीर कर्माचार्यले बताउनुभयो ।

यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ । म्हपूजाको दिन नेवारहरु बिहानै उठेर घरमा सफासुग्घर गरी नुहाइधुवाइ गरी चोखो लुगा लगाएर विभिन्न पकवानहरु पकाएर बेलुका आफ्नो आत्माको प्रतीक मण्डला बनाई पूजा गर्ने गर्दछन् ।

घरका सदस्यहरु क्रमशः घरको मूलीदेखि लस्करै मण्डला अगाडि पारेर बस्छन् । घरको मूलीमाथि गणेश भगवानको मण्डला तयार गरिन्छ । म्हपुजा गर्दा पहिले सुकुन्डा बालेर चामलको पीठोबाट बनाइएको गणेश पूजा गरी सुरु गरिन्छ । यो पूजा घरमूली महिलाले गर्ने परम्परा छ । म्हपूजा आफू र आफ्नो आत्म पहिचान गरी सारा संसारलाई पहिचान गरेर ज्ञानको ज्योति फैलाउने कामनासहित गरिन्छ । यसका साथै शरीरमा लागेको पाप र रोग आदि सबै नाश होस्, आयु लामो होस् भन्ने कामनाका साथ पनि गरिन्छ । 

भिन्तुना र्याली प्रदर्शन
 

काठमाडौ । नेपाल संवतको नयाँ वर्ष ११४३ को अवसरमा आज भक्तपुरमा भिन्तुना र्याली प्रदर्शन गरिएको छ । नेवारी पोसाक लगाएर महिला तथा पुरुषले बाँसुरी बाजा, धिमे बाजालगायत विभिन्न प्रकारका बाजा बजाउँदै विभिन्न सङ्घ सङ्गठनको सहभागितामा नेपाल भाषा साहित्य तःमुंज्याले भक्तपुर नगरपालिकाको च्याम्हासिंहबाट निकालेको र्याली भक्तपुर नगर क्षेत्रका विभिन्न भागको परिक्रमा गरेको थियो ।

च्याम्हासिंहबाट सुरु भएको र्याली सूर्यमढी, दत्तात्रय, गोल्मढी, सुकुलढोका, दरबार स्क्यावर हुँदै खौमा पुगेर जगतसुन्दर मल्लको शालिकमा माल्यार्पण गरी समापन भएको थियो ।

आज खण्डग्रास सूर्य ग्रहण

काठमाडौ । आज ग्रतास्त खण्डग्रास सूर्यग्रहण लागेको छ । अपराह्न ४ बजेर ५२ मिनेटमा सुरु भएर साँझ ५ बजेर २४ मिनेटमा सकिएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार सूर्यास्त ५ बजेर २४ मिनेटमा भएकाले नेपालमा करिब ३२ मिनेट ग्रहण देखिएको छ । तर ग्रहणले भने साँझ ६ बजेर ४५ मिनेटमा मात्रै छाड्नेछ । खगोलविद् डा.जयन्त आचार्यका अनुसार यो ग्रहण नेपालका सबै भूभाग विशेषगरी पूर्वी भागबाट प्रष्ट देखिएको छ । 

आर्थिक खबर
तिहारको बिदामा पनि निगमका डिपोहरुले तेल बेच्ने

काठमाडौ । नेपाल आयल निगमले तिहार बिदामा पनि देशैभर पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने बताएको छ । निगमकाअनुसार सार्वजनिक विदाका दिनमा पनि देशभरका १३ वटा प्रादेशिक तथा डिपो कार्यालयहरुबाट पेट्रोल पम्पहरुलाई इन्धन बिक्रीको व्यवस्था गरिएको छ।

जसअनुसार एक नम्बर प्रादेशिक कार्यालय विराटनगरबाट कात्तिक ८ र ११ गते, मधेश प्रदेश अमलेखगन्जबाट ७ र ११ गते, बागमती प्रादेशिक कार्यालय थानकोट र गण्डकी प्रादेशिक कार्यालय पोखरामा ८, ९ र १२ गते, लुम्बिनी प्रादेशिक कार्यालय भैरहवाबाट ८ र ११ गते, कर्णाली प्रादेशिक डिपो सुर्खेत र सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीबाट ७ र ११ गते इन्धन बिक्रीको व्यवस्स्था मिलाइएको निगमले जनाएको छ ।

विदेशका खबर
४२ वर्षका ऋषि सुनक बने बेलायतको नयाँ प्रधानमन्त्री

काठमाडौ । भारतीय मूलका ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्नु भएको छ । पूर्व मन्त्री पेनी मोर्डन्टले प्रधानमन्त्री पदमा प्रतिस्पर्धा नगरेपछि ४२ वर्षीय सुनक निर्वाचित हुनु भएको हो ।  बेलायतका राजा चार्ल्स तृतीयले सुनकलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चाल्र्स तृतीयले आमन्त्रण गर्नु भएको थियो । नयाँ प्रधानमन्त्रीका रूपमा सुनकले डाउनिङ स्ट्रीटको १० नम्बर बाहिर पहिलो मन्तव्य दिनु भएको थियो । मन्तव्यका क्रममा सुनकले आफू हरेक तहमा इमान्दारिता, व्यावसायिकता र जवाफदेहिता हुने बताउनुभयो ।

उहाँले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताउनु भयो । सुनकले अविश्वसनीय उपलब्धीहरूको लागि बोरिस जोनसनप्रति सधैं कृतज्ञ रहेको र जोनसनको न्यानोपन तथा उदारताको कदर गर्ने बताउनुभयो । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि प्रतिस्पर्धामा रहेका सुनकलाई नेतृत्वमा आउने अवसर जुटेको हो।

ट्रसले राजनीतिक कारण देखाउँदै पदबाट राजीनामा दिनु भएको थियो । बेलायतको इतिहासमा कम समय प्रधानमन्त्री हुनेमा लिज ट्रस पर्नु हुन्छ । सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बन्नु भएको थियो । कोरोना कालमा सुनकले अर्थतन्त्रलाई सुधार गर्न योगदान पुर्याएको भन्दै उहाँको भूमिकाको प्रशंसा गर्ने गरिन्छ। उहाँ सन् २०१५ यता रिचमन्डको नर्थ योर्कशरको निर्वाचन क्षेत्रबाट सांसद बन्नु भएको थियो ।

यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित सुनकलाई बधाई दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत यो महत्वपूर्ण जिम्मेवारीका लागि सुनाकलाई शुभकामना व्यक्त गर्दै बधाई दिनुभएको हो । लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन काम गर्न आफू तत्पर रहेको उहाँले ट्विटरमा उल्लेख गर्नुभएको छ ।


यसैबीच भारतीय मुलका सुनक बेलायतको पधानमन्त्री हुनु नेपालका लागि बिशेष महत्व राख्ने परराष्ट्रविदहरुको भनाइ छ । सुनकको आगमनले अब नेपाललगायतका एशियाली मुलुकहरुसँगको सम्बन्ध प्रगाढ हुने विज्ञहरुको भनाइ छ । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठले सुनक एशिया र अफ्रिका हुँदै बेलायत पुगेकाले परराष्ट्र नीतिमा तेस्रो मुलुकप्रतिको धारणा सकारात्मक हुने बताउनुभएको छ ।