Live Streaming

अन्नपूर्ण दिनभर : समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक,आज गोवद्धन पूजा गरीदैँ

समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक 

काठमाडौ । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक  गरेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेस गरेका बन्दसूचीको जाँचबुझ गरी आज सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका,२०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गरिएको आयोगले जनाएको छ। प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए । जसमा प्रदेश एकमा ३७, मधेश प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।

निर्वाचन आयोगः कल सेन्टरबाट जिज्ञासा समाधान

काठमाडौ । निर्वाचन आयोगले विभिन्न कल सेन्टरबाट प्राप्त जिज्ञासामध्ये एक हजार २५ वटाको समाधान गरेको जनाएको छ । आयोगले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि सञ्चालनमा ल्याएको पैसा नलाग्ने कल सेन्टर ११०२ मा आएका अधिकांश गुनासा र जिज्ञासाको सम्बोधन भएको जनाएको छ ।

गत २८ असोजदेखि सञ्चालनमा आएको सो कल सेन्टर सेवामा ७ कात्तिकसम्म आएका कुल एक हजार पाँच सय दुई कलमध्ये एक हजार एक सय ९७ वटा कल रिसिभ भई एक हजार २५ वटा कलबाट आएका जिज्ञासालाई समाधान गरिएको उसले जनाएको छ । आयोगका अनुसार सो अवधिमा १७२ वटा कल मिस्ड भएका थिए भने ३०५ वटा भ्वाइस मेल आएका थिए ।

रुपन्देही २ मा जनमुक्तिका केशवबहादुर थापालाई सत्ता गठबन्धनको समर्थन


काठमाडौ । सत्ता गठबन्धनले रुपन्देही २ मा जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेको छ। रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीका उम्मेदवार थापालाई गठबन्धनले साझा उम्मेदवारका रूपमा समर्थन गर्ने निर्णय गरेको हो। रुपन्देही २ का गठबन्धनतर्फका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो। यो क्षेत्रमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल चुनावी प्रतिस्पर्धामा छन्।

लगातार तीन पटक फराकिलो मतान्तरले चुनाव जितेका पौडेलको अब प्रमुख प्रतिस्पर्धी थापा हुनुहुनेछ । रुपन्देही २ मा बुटवल उपमहानगरपालिकाका १ देखि १३, तिलोत्तमा नगरपालिकाका १ देखि ६ र सैनामैना नगरपालिकाका १ देखि ४ नम्बर वडा पर्छन् । यस क्षेत्रमा १ लाख २६ हजार ८०७ मतदाता रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस प्रमुखको नाम समानुपातिक सूचीबाट हट्यो

काठमाडौ । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक उम्मेदवार हुन अयोग्य ५५० जनाको नाम हटाउँदा प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारको नाम पनि परेको छ । परियार लाभको पदमा रहेको भन्दै आयोगले बन्द सूचीबाट नाम हटाएको हो ।

उम्मेदवार हुन अयोग्य हुनेमा धेरैजसो यसअघिको स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका तर खर्च विवरण नबुझाएका कारण आयोगका जरिवानामा परेकाहरु छन् ।जरिवानाका कारण बन्दसूचीबाट नाम हट्नेमा नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका संसदमा प्रतिनिधित्व गरिसकेका दलका उम्मेदवारहरु पनि रहेका छन् ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार रहेका तर खर्च विवरण नबुझाएका कारण जरिवाना तिर्नुपर्ने ३६९ जनाको नाम बन्दसूचीबाट हटेको छ । उमेर नपुगेका र प्रतिनिधिसभाका २३ र प्रदेशसभामा २९ जनाको नाम हटेको आयोगले जनाएको छ । दोहोरो उम्मेदवारी परेकाले ६६ जनाको नाम हटेको छ । महिला पुरूषको विवरण फरक परेका ३७ व्यक्तिको नाम हटेको छ । मतदाता नामावलीमा नाम नै नभएका कारण ६ जनाको बन्दसूचीबाट नाम हटेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा हुने छ : प्रधानमन्त्री 

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भयरहित वातावरणमा हुने बताउनु भएको छ ।

भक्तपुरमा आज आयोजित नेपाल सम्वत ११४३ को अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण समारोहलाई सम्बोधनगर्दै उहाँले यस्तो बताउनु भयो । कार्यक्रममा उहाँले निर्वाचनलाई सरकारले निष्पक्ष, स्वतन्त्रपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न सबै प्रबन्ध मिलाइसकेको दाबी गर्नुभयो । 

साथै प्रधानमन्त्री देउवाले नेपालमा अझै पनि गरिबीको रेखामुनि रहेका आर्थिक विपन्नता भएका नागरिकहरुको ठूलो संख्या रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले नेपाल सम्वत धर्म संस्कृति, इतिहास परम्परासँग अभिन्नरुपमा जोडिएकाले यसको जगेर्ना गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले नेपाल सम्वतको प्रयोगलाई आगामी दिनमा बढाउँदै जानुपर्ने र नेपाल सम्वतको संस्कृति र महत्वलाई नागरिकमाझ थप उजागर गर्न आवश्यक रहेको बताउनु भयो । प्रधानमन्त्री देउवाले व्यक्ति भन्दा सामाजिक भुमिका र राष्ट्रिय हितलाई आत्मसाथ गरी अघि बढ्न सक्नुपर्ने बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री देउवाले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो । 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले राष्ट्रिय विभूति शंखधर साख्वाको नाममा हरेक वर्ष तीन जनालाई पुरस्कृत गर्ने बताउनु भएको छ ।

शंखधर साख्वाको योगदानलाई चीर बनाउनेहरूलाई कदर स्वरुप हरेक वर्ष तीन जनालाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताउनु भयो । उहाँले शंखधर साख्वाको योगदानलाई जनस्तरमा बुझाउन सके दुःखमा परेका मानवलाई सेवा गर्न प्रेरित हुने विशवास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले नेपाल संवत्लाई व्यवहारमा उतार्न सक्नुपर्ने समेत बताउनु भएको छ । 

गोवद्र्धन, बलि, गोरु र हलि पूजा गरियो

काठमाडौ । तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवम् कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिएको छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो । 

कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले बताउनुभयो  । भगवान् विष्णुको आज्ञाअनुसार कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मत्र्यलोकको शासन गर्ने अधिकार बलिराजाले पाएको पौराणिक मान्यता छ । दानमा कहलिएका राजा बलिले नै भलो होस् भनेर भैलो र देउ शिर देउ शिरे भनी देउसी खेल्ने परम्पराको सुरुवात् गरेको विश्वास छ । यसै आधारमा आज बलिको पनि पूजा आराधना गरिएको छ ।

प्राचीनकालदेखि नै गोरुले कृषिकर्मका लागि खेत, बारी जोतेर महत्वपूर्ण योगदान गर्दै आएको छ । महादेवको वाहनको रुपसमेतमा पूजिने गोरु (साँढे)लाई आज पूजा गरी मीठा मीठा खानेकुरा दिए वर्षभर खुसी भएर कृषि कर्ममा सहयोग गर्ने विश्वास छ । यसैगरी गोरु जोत्ने हलिलाई पनि आज घरमा बोलाएर टीका दक्षिणासहित मीठा कुरा खान दिइन्छ । यसैले आजको दिनलाई हली तिहारसमेत भनिन्छ । 
वर्षभर कृषि कर्म गर्ने कृषकलाई पनि आज पूजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । तिहारमा काग, कुकुर, गाई, गोरु, हलि, कृषकलाई पूजा गर्नुले कामका आधारमा कसैलाई भेदभाव नगरी सबैको महत्व रहेको सांस्कृतिकरुपमा अर्थ दिने धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ ।

तिहारको मुख्य दिन भोलिभाइटीका मनाइँदैछ । भोलि बिहान ११ बजेर ३७ मिनेटमा टीकाको उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यद्यपि, समितिकाअनुसार भोलि दिनभरी नै टीका लगाउन सकिने छ ।
यसैबीच, प्रत्येक वर्ष भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर भोलि बिहानैदेखि खुल्ने भएको छ ।  

भाइटीकाका अवसरमा भोलि बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् । 

आजबाट नेपाल सम्वत प्रारम्भ

काठमाडौ । नेपाल संवतअनुसार नयाँ वर्ष शुरु भएको छ। आजको सूर्योदयसँगै नेपाल सम्वत ११४३ सुरु भएको हो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिबहरूको ऋणमोचन गरी नेपाल संवत् सुरु गरेको बताइन्छ।त्यतिखेर लिच्छविकालका राजा राघवदेवको शासन रहेको थियो ।

नेपाल सम्वत नेपालको मौलिक संवत् पनि हो । नेपाल संवत् नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रूपमा मनाइन्छ। कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौंमा छ ।

२०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गर्नुभएको थियो । त्यसको ९ वर्षपछि २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवतलाई राष्ट्रिय सम्वतका रुपमा घोषणा गर्नुभएको हो । नेवारी समुदायमा यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।

मधेसमा छठ पर्वको  तयारी

काठमाडौ । तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल सुरु भएको छ। कार्तिक महिनाको शूक्ल पक्षको चौथी तिथीका दिनबाट विधिवत रुपमा सुरु हुने छठ पर्व सप्तमी तिथीका दिन बिहानसम्म गरि चार दिन मनाइन्छ। तराई मधेसमा बस्ने भोजपुरी र मैथिली भाषि हिन्दूको प्रमुख पर्व नै छठ पूजा हो।

यसपालि छठ पूजा कात्तिक १३ गते परेको छ। तर विधिवित रुपमा भने शुक्रबारदेखि नै छठ पर्व सुरु हुनेछ। दिपावली सकिएसँगै तराई मधेसमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामाग्री, भाडाँवर्तन कपडाको किनमेल शुरु भइसकेको छ। यस्तै नदी , तलाउ , पोखरी लगायतका जलाशय छेउमा छठी माताको मुख्य पूजा आराधना गरिने भएकाले ती स्थानहरुको सरसफाइ र सजावटको काम पनि अहिले जोडतोडका साथ भइरहेको छ।

दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री, बस्त्र, फलफुल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भिडभाड देखिएको छ। छठपूजामा छठी मातालाई चढाइने मुख्य प्रसाद ठेकुवा हो। जुन गहुको शुद्ध पिठोमा गुण (भेली) र चिनी मिसाएर घीउ वा तोरीको तेलमा पकाइन्छ।

उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

काठमाडौ । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।  

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् । उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने ठूलो छ ।

 तीनवटा गाउँपालिका रहेको यस उच्च हिमाले क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ । त्यसैले तीन वटै खाद्यान्न पु¥याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ । कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्र समेत राखेको छ । मोटर गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरिने शे–फोक्सुण्डो गाउँपालिकाकी प्रेम गुरुङले बताउनुभयो ।

यस क्षेत्रमा चिनियाँ भू–भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुन समेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो । यो वर्ष पनि सदरमुकाम बाहिरका बिक्री केन्द्रमा हवाइमार्गमार्फत् आयोडिनयुक्त नुन ढुवानीका लागि भदौ ५ गते बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म नुन पुग्न सकेको छैन ।

नेपालगञ्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल, सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने भनि कोटा निर्धारण गरिएको थियो । पाँच वर्षअघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमनका क्रममा तेन्जे नाकामा जथाभावी फालिएको अवस्थामा फेला परेको थियो । 

नुन र खाद्यान्न ढुवानीका लागि कुनै पनि चासो नलिएको भन्दै जनप्रतिनिधि र सरकारी निकायप्रति उपल्लो डोल्पाबासी सवर्बसाधारणले गुनासो गरिरहेको डोल्पोबुद्ध गाउँपालिका– ३ का पुटी गुरुङको भनाइ छ । सरकारले सहुलियतमा उपलब्ध गराउने नुन र चामल आपूर्ति नहुँदा नागरिकहरुले सदुरमुकाम दुनै बजारबाट महंगोमा खरिद गर्न बाध्य भएका छन् ।

आर्थिक खबर

१७ लाख माला भारतबाट आयात

काठमाडौ । यो तिहारमा साढे २४ लाख माला खपत भएको छ ।देशभित्र उत्पादन भएको १७ लाख सयपत्री माला तथा मखमली, गोदावरी र भारतबाट आयात भएको सयपत्री गरी साढे २४ लाख माला खपत भएको र झण्डै १३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

भोलि मुख्य दिन भाइटीकासम्म नै कारोबार हुने भएकाले फूलको खपत र कारोबारको वास्तविक तथ्याङ्क भने तिहारपछि मात्रै आउने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । तिहारमा प्रयोग हुने माला र फूलका लागि नेपाल भित्रकै उत्पादनले लगभग धान्न सक्ने अवस्था छ ।

तर, व्यवसायीले बढी नाफा कमाउन भारतबाट आयात गर्ने गरेका छन् । सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ । यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान भन्दा धेरै आयात भएको छ ।

यसअघि तीन लाख सयपत्री माला आयात हुने अनुमान गरिएकोमा तिहारका पाँच दिनमा साढे चार लाख माला आयात भएको फ्लोरिकल्चर एशोसिएसन नेपालका महासचिव विश्वमणी पोखरेलले बताउनुभयो । भारतबाट फूल ल्याउन प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

४७ वटा बैक मर्जरमा सामेल 

हालसम्म दुई सय ४७ वटा बैंक तथा फाईनान्स कम्पनीहरु मर्जरमा सामेल भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् चालु आर्थिक बर्षको भदौ मसान्तसम्मममा कुुल दुई सय ४७ वटा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स कम्पनी र लघुवित्त वित्तीय संस्थाहरु मर्जर तथा प्राप्ती प्रकृयामा सामेल भएका हुन् । यसरी सामेल भएकाहरु मध्ये एक सय ७९ वटा संस्थाहरुको इजाजत खारेज हुन गई ६८ संस्था कायम भएको राष्ट्र बैंकको भनाइ छ । 

सो अनुसार हाल २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंकसमेत गरी कुल एक सय २५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् ।राष्ट्र बैंकका अनुसार सात वटा प्रदेश अन्र्तगतका ७७ वटा जिल्लामा रहेका कुल सात सय ५३ स्थानीय तहमध्ये चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा सात सय ५२ स्थाननीयतहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएका छन् । २०७८ भदौसम्म सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको थियो ।
 

विदेशका खबर
बंगलादेशः  आँधीबाट २४ जनाको मृत्यु

काठमाडौ । बंगलादेशमा आएको सितरंग नामक आँधीबाट २४ जनाको मृत्यु भएको छ । बंगालको खाडीमा उत्पन्न सितरंग आँधीले तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा गराएपछि उनीहरुको मृत्यु भएको हो ।आँधीका कारण ८० लाख मानिसहरुमाझ विद्युतको आपूर्ति ठप्प भएको छ । बंगलादेश सरकारका अनुसार आँधीले १० हजार घरमा क्षति पुगेको छ भने ६ हजार हेक्टरमा लगाइएका अन्नबाली पनि नष्ट भएको छ ।

आँधीले बंगलादेशको दक्षिणी एवम् दक्षिण–पश्चिमी क्षेत्रलाई प्रभावित बनाएको जनाइएको छ । बंगलादेशको युनाइटेड न्युज अफ बंगलादेश नामक समाचार संस्थाका अनुसार आँधीबाट आएका बाढीका कारण मुलुकको दक्षिणी भोला जिल्लामा २० हजार मानिसहरु फँसेका छन् ।अधिकारीहरुले आँधीबाट जोगाउन लाखौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।
        

चीनमा कोरोना संक्रमण बढ्दै, अनलाइन पठनपाठन शुरु

काठमाडौ । चीनमा पछिल्लो १२ दिनमा १४ सय ७ नयाँ कोरोना संक्रमित थपिएसँगै सार्वजनीक पार्क र विद्यालय बन्द गरिएको छ । संक्रमण बढेका जिल्लाहरुमा भिडभाड हुने पार्क, विद्यालय जस्ता मुख्य स्थानहरु बन्द गरिएको छ । १२ दिनमा १४ सय ७ संक्रमित पछिल्लो समयको अधिक आँकडा रहेको भन्दै सरकारले नियन्त्रणको प्रयासमा कडाइ गरेको हो ।

विश्वभर कोरोनाभाइरसको संक्रमण पश्चात जनजीवन सहज भइसकेको भएपनि चीनमा अझै पनि १ सय ५२ सहरमा लकडाउन रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् । चीनमा तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिएका सी जिनपिङले पनि शून्य कोरोनाभाइरस नभएसम्म कुनै नीतिमा परिवर्तन नल्याउने घोषणासमेत गर्नुभएको छ  । बिबिसीका अनुसार चीनका १ सय ५२ सहरमा आंशिक तथा पूर्ण लकडाउन रहेको छ ।

यसका कारण २८ करोडभन्दा धेरै मानिस प्रभावित भएको पनि बिबिसीले जनाएको छ । बिबिसीका अनुसार चीनको बेइजिङकै कतिपय ठाउँमा पनि अहिले पनि लकडाउन जारी छ । 
खेल खबर
पिएम कप 

काठमाडौ । पीएम कप पुरुष क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशले टोली घोषणा गरेको छ ।बागमतीले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।मुख्य प्रशिक्षक सामसन जंग थापाले घोषणा गरेको टोलीमा ४ खेलाडीलाई बैकल्पिकको रुपमा राखिएको छ ।

कात्तिक १३ देखि २६ गतेसम्म त्रिवि र मुलपानी क्रिकेट मैदानमा हुने पिएम कप प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदानमा हुनेछ ।पहिलो दिन नै मुलपानी मैदानमा पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

काठमाडौ । आईसीसी टी–ट्वान्टी विश्वकपमा आयरल्याण्डले इंग्ल्यान्डलाई हराएको छ । मेलबर्न क्रिकेट ग्राउण्डमा आज आयरल्याण्डले इंग्ल्यान्डमाथि डीएल पद्दतिको आधारमा ५ रनको जित निकालेको हो ।आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्यसहित इंग्ल्यान्डले जवाफी ब्याटिङ गरिरहदा खेल वर्षाले प्रभावित गरेको थियो । वर्षाले खेल रोकिनु अघि इंग्ल्यान्डले १४ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय ५ रन जोडेको थियो ।इंग्ल्यान्डका लागि डेविड मालनले ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाए । ह्यारी ब्रुक्स १८ रनमा आउट भए ।

आयरल्याण्डका जोस लिटलले २ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्याण्डले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ५७ रन जोडेको थियो ।आयरल्याण्डका कप्तान एन्डी बलब्रिनीले ६२ रनको अर्धशतकीय इनीङ खेले । लोर्कन टुकरले ३४ रन बनाए ।इंग्ल्यान्डका आदील राशिद र मार्क उडले ३÷३ विकेट लिए ।यस जितसँगै आयरल्याण्डले २ खेलमा २ अंक जोडेको छ । आयरल्याण्ड समूह ए को तेस्रो स्थानमा रहँदा इंग्ल्यान्ड २ अंक जोडेर चौंथो स्थानमा छ ।

यस्तै, टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत न्युजिल्याण्ड र अफगानिस्तानबीचको खेल रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा भारी वर्षाको कारण खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् । समूह १ मा रहेको न्युजिल्याण्ड २ खेलमा ३ अंक जोडेर शीर्ष स्थानमा छ । अफगानिस्तान भने १ अंक जोडेर पुछारमा छ ।