Live Streaming

अन्नपूर्ण दिनभर : प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्था माओवादीको एजेन्डा,लामिछाने विरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर

माओवादीले स्थायित्वका लागि संविधान संशोधन गर्ने 

काठमाडौ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज एकैदिन आ–आफ्नो चुनावी घोषणपत्र सार्वजनिक गरेका छन् । माओवादी केन्द्रले राजनीतिक स्थिरता, सरकारको आवधिक स्थायित्व, शान्ति र समृद्धिको यात्रा पूरा गर्न संविधान संशोधनलाई प्राथमिकताका साथ अघि सारेको छ ।  

माओवादी केन्द्रले विद्यमान शासकीय स्वरूप र पद्धतिमा परिवर्तन गर्न आवश्यक भएको कुरालाई ध्यानमा राखेर संविधान संशोधनमा जोड दिएको हो। संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने उल्लेख छ ।

संसद मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने भनिएको छ। चुनावी प्रतिवद्धतापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा माओवादीले संविधानसभाबाट संविधान जारी हुँदै गर्दा आवाज उठाए पनि त्यस बेला कार्यान्वयन हुन नसकेकोले भविष्यमा यस विषयलाई अगाडि बढाउने भनेर थाति राखेकाले यसपटकको घोषणपत्रमा समेटिएको बताउनुभयो ।

यस्तै, माओवादीको प्रतिवद्धतापत्रमा प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने उल्लेख छ ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनका सम्पूर्ण सिद्धान्त अनुशरण गरी डिजिटाइज्ड सरकारी कार्यालयमार्फत भ्रष्टाचारमुक्त र मितव्ययी रूपमा सेवा प्रवाह हुने प्रशासन प्रणाली अवलम्बन गरिने प्रतिवद्धतापत्रमा भनिएको छ। संघीयतालाई प्रभावकारी र राजनीतिलाई जनताको सेवक बनाइने प्रतिवद्धतापत्रमा उल्लेख छ।

यस्तै, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवद्धता पत्र कार्यान्वयन हुने बताउनु भएको छ । उहाँले संविधानको रक्षाका लागि गठबन्धन बनेको उल्लेख गर्दैै गठबन्धन दलहरुले एकता नगरेको बताउनुभयो ।

राप्रपाको घोषणापत्र सार्बजनिक

काठमाडौ । कार्यकारी प्रधानमन्त्री र प्रदेशको खारेजीको विषयलाई प्राथमिकता दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी अधयक्ष राजेन्द्र लिङ्देनले आज सार्वजनिक गर्नुभएको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ । राप्रपाले पूर्ण समानुपातिक संसद हुनुपर्ने प्रस्ताव पनि अघि सारेको छ । 

यस्तै, प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने उल्लेख छ । यसैगरी एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धतासमेत जनाएको छ । 

नेकपा एकीकृत समाजवादीले पूर्व पश्चिम मेघा नहर निर्माण गर्ने

काठमाडौ । नेकपा एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गर्दै पूर्व पश्चिम मेघा नहर निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । मंसिरमा हुने निर्वाचनलाई लक्षित गरेर सो पार्टीले यस्तो योजना अघि सारेको हो ।

‘नेपालको पानी नेपालमै’ भन्ने अवधारणालाई सार्थकता दिन नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदिलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाई सिँचाइ, खानेपानी तथा जलमार्गको विकास गर्ने दिर्घकालीन सोँचका साथ राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गरिने घोषणापत्रमा उल्लेख छ ।  यो योजनामार्फत सो पार्टीले आधुनिक सिञ्चाइ प्रणाली लागू गरी सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा सिँचाइको व्यवस्था गर्न सकिने जनाएको छ ।  

‘तराई मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरङ, सुनकोसी, कमला र सुनकोसी–मरिन–वाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी– बबई, पश्चिम सेती–कैलाली–पाण्डुन, शारदा नदी लगायतका डाइभर्सन योजना अगाडि बढाइने घोषणमा उल्लेख छ।

त्यस्तै, चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछा पालन कार्यक्रम लाग गर्न पहल गर्ने र आकासे पानी सङ्कलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लास्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन जोड गरिने उल्लेख  छ ।

सरकारी खर्च धान्न नेकपा एकीकृत समाजवादीले करको दायरा बढाउने भएको छ। आन्तरिक राजस्वबाट सरकारी खर्चको ८० प्रतिशतभन्दा बढी हिस्सा व्यहोर्नसक्ने गरी दायरा बढाउने , कर तिर्ने बानी बसाल्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै कर नतिर्ने, कर छल्ने तथा अधिविजकीकरण र न्यून बीजकीकरण गर्नेमाथि कडा कानुनी कारबाही गरिने प्रतिबद्धता जनाएको छ।  सरकारी फजुल खर्च नियन्त्रण गरी प्रशासनिक खर्च कटाउन, साधारण खर्च कम गर्ने र विकास खर्च बढाउन पहल गरिने घोषणा गरेको छ।

एमालेको चुनावी घोषणापत्र भोली सार्वजनिक हुने 

काठमाडौ । नेकपा एमालेले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि  एमालेले भोली घोषणापत्र सार्वजनिक गर्न लागेको हो । घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी कार्यक्रममा सहभागी हुने तयारी गर्नुभएको छ ।

विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा उनी सहभागी हुने तयारी गर्नुभएको हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपासहित अधिकांश राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।        

आचारसंहिता उल्लंघनकर्ता विवरण सार्वजनिक गरिने 

काठमाडौ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने व्यक्ति तथा संस्थाको सम्पूर्ण विवरण सार्वजनिक गर्ने भएको छ । आचारसंहिता पालनामा कडाई गर्दै उल्लंघन गर्नेहरुमाथि धमाधम स्पष्टीरकण सोधिरहेको आयोगले अब व्यक्तिको विवरण पनि सार्वजनिक रूपमा बाहिर ल्याउने नीति लिएको हो ।

मंसिर ३ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आयोगले गत असोज १२ देखि निर्वाचन आचारसंहिता, २०७९ लागू गरेको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना बढिरहेका बेला आयोगले उल्लंघनकर्ताको नाम सार्वजनिक गर्ने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता कमल भट्टराईले आचारसंहिताबमोजिम अनुगमन गर्दा वा गराउँदा कसैले उल्लंघन गरेको पाइएमा आयोगले उल्लंघनकर्ताको नाम–नामेसीसहितको विवरण सार्वजनिक गर्ने बताउनु भयो । 

यात्रु उडाउन नसकेपछि निगमले माग्यो माफी

काठमाडौ । नेपाल वायु सेवा निगमले हिजो भएको उडान रद्दका सम्बन्धमा माफी मागेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको उडान स्वीकृतिविना नै निगमले आइतबार आरए २१७ २१८ उडानको तयारी गरेको थियो। जबकी हिउँदकालीन तालिकामा आइतबारको उक्त उडान कटौति गरिएको थियो ।

निगमले उडान कटौतिको जानकारी पाएपछि पनि सम्बन्धित यात्रुलाई जानकारी गराएको थिएन। काठमाडौं–दिल्ली–काठमाडौंको उडान आरए २१७-२१८ र सोमबारको आरए २०५-२०६ उडान विशेष कारणवश रद्द भएको जारी विज्ञप्तिमा उल्लेख छ। यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति निगमले दुःख व्यक्त गर्दै यस्तो घटना नदोहोरिन सचेत रहने समेत प्रतिवद्धता व्यक्त गरेको छ ।

उडान रद्द भएको कारणबाट गन्तव्यमा पुग्न नसकेको यात्रुहरूलाई वैकल्पिक व्यवस्थाहरूबाट उडान व्यवस्थापन गरिने भएको छ । निगमद्वारा विज्ञप्तिमा विशेष कारणवश भनिएपनि नियामक निकाय प्राधिकरणको निर्णय नमान्दा यात्रुहरूले दुख पाएका हुन् । 

हिउँदयामका लागि हप्ताको १० उडानको स्वीकृति पाएकामा निगमले भने साविकका १४ उडानको नै प्रस्ताव दिएको थियो । प्राधिकरणले पहिला हिउँदयामका लागि उडान स्वीकृति प्रस्ताव गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने गरी पेश गर्न भनेको थियो ।  

तर, निगमले तत्काल गौतमबुद्धमा उडान गर्न नसक्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्रै उडान गर्ने गरी स्वीकृति मागेको थियो। निगमले भनेअनुसार नगरेपछि प्राधिकरणले ४ उडान कटौति गरेको थियाे । 

यसैबीच, यस घटनाबारे आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, वाणिज्य विभागका निर्देशक जनकराज कालाखेती, यात्रु सेवा विभागका निर्देशक टंकनिधि दाहाललगायतलाई मन्त्रालयमा बोलाएको थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित पर्यटनसचिव सुरेश अधिकारी र मन्त्रालयका सहसचिवहरू सम्मिलित बैठकमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई राजीनामा दिन भन्नु भएको थियो ।
पर्यटनमन्त्री श्रेष्ठले यस घटनामा संलग्न वाणिज्य विभागलगायत ककसको कमजोरीले भएको हो छानबिन गरी तत्काल कारबाही गर्न निर्देशन दिएको बताए ।

बैठकमा सहभागी नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले आफू आइतबार बाहिर रहेको बताउँदै यदि काठमाडौंमै भइदिएको भए निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई प्रहरी लगाएर पक्राउ गर्नुपर्ने घटना भएको बैठकमा बताएका थिए ।

१६१ आरोहीद्वारा मनास्लु हिमाल आरोहण

काठमाडौ । यस वर्षको शरद ऋतु( असोज, कात्तिक) मा १६१ आरोहीले मनास्लु हिमाल आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार ७७ विदेशी र ८४ नेपाली आरोही मनास्लुको चुचुरोमा पुगेका हुन् ।

विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाले यो मौसमको मनास्लु आरोहणका लागि चार सय ४ विदेशीले अनुमति लिएकामा ७७ ले आरोहण गरेको जानकारी दिनुभयो । विदेशी आरोहीका साथमा नेपाली शेर्पा सहयोगी पनि मनास्लुको चुचुरोमा पुगेका छन् । उहाँले यो मौसमको मनास्लु आरोहण सकिएको तथा अन्य हिमाल तथा चुलीको आरोहण जारी रहेको बताउनुभयो ।

अघिल्लो वर्षभन्दा केही कम सङ्ख्यामा आरोही मनास्लुको चुचुरोमा पुगेको जनाइएको छ । यो पटक मनास्लु आरोहण सुरु हुनैलाग्दा मनास्लु आधारशिविर माथितिर हिमपहिरोको घटना भएको थियो ।  

मनास्लु हिमालमा गत असोज १० गते हिमपहिरो खस्दा एक जनाको मृत्यु भएको थियो भने केही आरोही घाइते भएका थिए । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकास्थित मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । 
 
लामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।

उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ । प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।

प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले भदौ २१ मा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीपले असोज २० मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।


सन्दीप बिरुद्ध नाबालिकाको जाहेरी

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिने नाबालिकाले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएकी छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ‘ढाडमा जोडले हानेको’ बताएकी छन ।

होटल काठमाडौं इनको कोठा नम्बर ३०५ मा बसेका बेला निकै थाकेकाले कुर्सीमा नै आफू अर्धनिन्द्रामा परेको उनको बयान छ । आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ । उनले अर्का क्रिकेटर देव खनालले पठाएको स्न्यापमा सन्दीपलाई दुईपटक देखेपछि साथी बन्न प्रस्ताव पठाएको बयान दिएकी छन ।

छठ समापन 

काठमाडौ । मिथिला क्षेत्रको लोक आस्थाको पर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिएको छ । पञ्चमी तिथिका दिन मंगलबार राति ‘खरना’ विधि गरेदेखि निराहार व्रत बसेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै सम्पन्न गरेका हुन् ।

आज  बिहान मिथिला क्षेत्रमा ६ बजेर १४ मिनेटमा सूर्योदय भएको छ । मिथिलामा सूर्योदयको टुंगो मिथिला पञ्चांग र विद्यापति पञ्चांगका आधारमा गरिन्छ। यद्यपि आज मिथिला क्षेत्रमा मौसम सफा भएकाले व्रतालुले झलमल्ल पारिला घाम झुल्केको देखेपछि अर्घ्य दिएर छठ पर्व सम्पन्न गरेका हुन् ।

यसअघि व्रतालु सूर्योदय हुनु एक घडीपूर्वदेखि नै कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गर्ने परम्परा छ । काठमाडौंका नदीकिनारमा व्रत गरेका श्रद्धालुले पनि उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न गरेका छन् ।

 यसैबीच मधेश प्रदेश सरकारले छठको अन्तिम दिन आजपनि सार्वजनिक बिदा दिएको छ। संघीय सरकारले छठका लागि हिजो एक मात्र बिदा दिएपनि प्रदेश सरकारले ‘पारन दिन’ भनिने कार्तिक शुक्ल सप्तमीका लागि बिदा दिने निर्णय गरेको हो । मधेश क्षेत्रमा छठका लागि दुई दिन बिदा दिनुपर्ने माग उठ्ने गरेको छ।

छठ हेर्न पुगेका एक बालकको हत्या

काठमाडौ । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठ हेर्न पुगेका एक बालकको हत्या भएको छ। मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या गरिएको हो।

छुरा प्रहार गरेर दियुसको हत्या गरिएको प्रहरीले जनाएको छ। बायाँ कोखादेखि तलको भागमा छुरा प्रहार भएको एसपी कोइरालाले बताउनुभयो । छठ पर्व हेर्न मावा खोलामा पुगेका दियुसमाथि गएराति करिब साढे १० बजे छुरा प्रहार भएको थियो । घाइते बालकलाई उद्धार गरेर उपचारका लागि उर्लाबारीको गोदावरी अस्पताल पुयाएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो ।

बालककलाई गोदावारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । उपचारका क्रममा आज बिहान ४ः५० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उर्लाबारीकै हाटखोला बस्ने तत्काल नाम, थर र वतन नखुलेका च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ। एसपी कोइरालाले घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जानकारी दिनुभयो । 

आर्थिक खबर

नयाँ स्टकको लाइसेन्सकालागि निवेदन दिने मंगलबार

काठमाडौ । नयाँ स्टकको लाइसेन्सकालागि निवेदन दिने भोलि अन्तिम दिन रहेको छ । आज बिहानसम्म नयाँ स्टकको लाइसेन्सका लागि कुनै पनि कम्पनीले निवेदन दिएका छैनन् । सोमबार बिहानसम्म कुनै पनि कम्पनीको आवेदन नपरेको बोर्डका उच्च अधिकारीले जनाएका छन् ।

अदालतको आदेशका कारण निवेदन नपरेको ती अधिकारीको अनुमान छ । यता निवेदन दिन ठिक्क परेकाहरूसमेत अन्योलमा छन् । खासगरि सर्वोच्च अदालतले धितोपत्र बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासले उक्त आदेश जारी गरेको हो। सोही कारण निवेदकहरू अन्योलमा परेका हुन् ।  

 आयात निर्यात दुवै घट्यो 

काठमाडौ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यात दुवै घटेको छ । आयात निर्यात घटेसँगै व्यापार घाटा घटे पनि राजस्व सङ्कलनमा प्रतिकूल प्रभाव परेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९ ८० को साउनदेखि असोज मसान्तसम्म आयात निर्यात दुवै घटेको हो ।

सरकारले विदेशी मुुद्रा सञ्चिति बढाउन केही वस्तुुको आयातमा कडाइ गरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चार खर्ब ९९ करोड ८३ लाख रुपियाँको आयात भएको छ । 

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ दशमलव २० प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा चार खर्ब ७८ अर्ब ५२ करोड ३२ लाख २० हजार रुपियाँको आयात भएको थियो ।

अघिल्लो वर्षको साउनदेखि असोजसम्मको निर्यातको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यात ३५ दशमलव ७१ प्रतिशतले कमी आएको छ ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ अर्ब ८२ करोड एक लाख ९३ हजार रुपियाँ बराबरको निर्यात भएको विभागको तथ्याङ्क छ । अघिल्लो वर्षको सोही अवधिमा ६५ अर्ब ५२ करोड आठ लाख ३४ हजार रुपियाँको बराबरको निर्यात भएको थियो । 

विदेशका खबर
                                    श्रीलंकामा औषधी अभाव

काठमाडौ । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा पेट्रोल डीजल र खाद्य सामग्री पश्चात अब औषधि अभाव शुरु भएको  छ। श्रीलंकाको मेडिकल एसोसिएसनले औषधि संकटप्रति चिन्ता व्यक्त गर्दै समाधानकालागि सरकारसँग आग्रह गरेको छ । आवश्यक औषधीको अभाव भएपछि बिरामीहरु चिन्तामा रहेका छन। यस्तै अस्पतालमा आवश्यक औषधी र मेडिकल सामग्री अभावमा सर्जरी समेत रोकिएको छ ।

अस्पतालमा भएका विरामीहरुलाई अति आवश्यक औषधी समेत उपलब्ध नभएपछि औधषीको हाहाकार भएको अन्तराष्ट्रिय सन्चारमाध्महरुले जनाएका छन । गम्भीर स्वास्थ्य संकटका बिच स्वास्थ्य मन्त्री केहेलिया रामबुकवीलाले समिक्षा बैठक बोलाएर सरोकारवाला अधिकारीहरुलाई समस्याको दैनिक समीक्षा र जानकारीका लागि आग्रह गर्नुभएको छ ।

करीव सभा दुई करोड  जनसंख्या भएको श्रीलंकामा बिदेशी मुद्रा पहिलेदेखिनै कमजोर रहेको छ भने खाद्य संकटको अवस्था समेत निकै कमजोर रहेको छ । 

खेल खबर

पीएम कप : पुलिसको लगातार दोस्रो जित

काठमाडौ । विभागीय टिम नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लगातार दोस्रो जित निकाल्दा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।

समूह ‘बी’ मा रहेको पुलिसले आज प्रदेश १ लाई सात विकेटले पराजित गरेको हो । १०३ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको पुलिसले १४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

पुलिसको जितमा कुशल भुर्तेलले २८ बलमा ४२, शंकर रानाले २९, राशिद खानले अविजित १६ र कप्तान दीपेन्द्रसिंह ऐरीले १४ रन बनाएका थिए । बलिङतर्फ प्रदेश १ का फिर्दोश अन्सारी र कप्तान सिद्धान्त लोहनीले समान १–१ विकेट लिएका हुन ।यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३५.१ ओभरमा सबै विकेटको क्षतिमा १०२ रन मात्रै बनाएको थियो ।

 राम्रो सुरुआत गरे पनि प्रदेश १ ले पुलिसविरुद्ध ठूलो स्कोर बनाउन सकेन ।प्रदेश १ ले पहिलो विकेटको लागि ५६ रन बनाएको थियो । पुलिसका ललितनारायण राजवंशीले पाँच विकेट लिए । उनले १० ओभरमा मात्र २६ रन खर्चिँदै पाँच विकेट लिएका हुन् । त्यस्तै, सागर ढकाल र कप्तान दीपेन्द्रले समान २–२ विकेट लिए ।

पुलिसको यो लगातार दोस्रो जित हो । यसअघि आइतबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । गण्डकी प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले सुखद सुरुआत गरेको हो ।

गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो। सुदुरपश्चिमका मिलन बोहराले ५१ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै गजेन्द्र बोहराले ३५ रन जोडे । बसन्त कार्की १० रनमा आउट भए । गण्डकीका विपिन कार्कीले ४ विकेट लिए । 

सुवास भण्डारी र अभिषेक बस्नेतले २-२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो । गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले । समिर कँडेलले २६ रन जोड्दा विधान श्रेष्ठ र अविशेक बस्नेतले समान २५-२५ रन बनाए ।

सन्दीप क्षेत्री १९ र विपिन खत्रीले १३ रन बनाए । कमल परियार १३ रनमा अविजित रहे । सुदूरपश्चिमका नारायण जोशी, कैलाश एयर र शेर मल्लले २-२ विकेट लिए । जितसँगै गण्डकीले पहिलो खेलमै २ अंक जोडेको छ ।

गण्डकी समूह ’ए’ को शीर्ष स्थानमा रहेको छ । सुदुरपश्चिमले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउनेछन् । उपविजेता टीमले ५ लाख नगद प्राप्त गर्नेछन् । 
             

   यू–१५ महिला साफ च्याम्पियनसिप भोलिबाट ढाकामा सुरु हुँदै

काठमाडौ । बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिप भोलि मंगलबारबाट ढाकामा सुरु हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ ।प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली ढाका पुगिसकेका छन् ।

उपाधि उचाल्ने योजनामा रहेको नेपाली टोलीले बिहीबार भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगिताको पुर्वसन्ध्यामा आज आयोजित प्रि–म्याच कन्फरेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले उपाधिका लागि तयार भएको प्रतिक्रिया दिएकी छिन् ।

यस्तै नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५,  भुटानसँग फेरि नोभेम्बर ९ र नोभेम्बर ११ मा पुनः बंगलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

अष्ट्रेलियाः आईसीसी टी–२० विश्वकपमा दोस्रो जित 

काठमाडौ । आयोजक अष्ट्रेलियाले आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा दोस्रो जित निकालेको छ । ब्रिसबेनमा आज भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई ४२ रनले हराएको हो । जितका लागि अष्ट्रेलियाले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १८.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३७ रनमा समेटिएको थियो ।

आयरल्यान्डका लागि लोर्कान टुकरले अविजित ७१ रन बनाएका थिए । ग्यारेथ डेलानीले १४ तथा पाउल स्ट्रर्लिङ र मार्क एडीएरले ११÷११ रन जोडेका थिए । बलिङमा अष्ट्रेलियाका प्याट कमिन्स, ग्लेन म्याक्स्वेल, मिचेल स्टार्क र एडम जाम्पाले दुई दुई विकेट लिएकाथिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७९ रन बनाएको थियो ।अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ६३ रन बनाएका हुन । मार्कुस स्टोइनिसले ३५, मिचेल मार्शले २८, टिम डेभिडले अविजित १५ र ग्लेन म्याक्सवेलले १३ रन बनाएका थिए । बलिङमा आयरल्यान्डका बारी म्याककार्थीले तीन तथा जोश लिटलले दुई विकेट लिएका थिए । जितसँगै समूह ‘ए’ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ ।

अष्ट्रेलियाले चार खेलबाट पाँच अंक बनाएको छ । रन रेटका आधारमा शीर्षस्थानमा हरेको न्युजिल्यान्डको पनि समान पाँच अंक नै छ । पराजित आयरल्यान्ड तीन अंकसहित चौथो स्थानमा छ । तीन अंक बनाएको इङ्ल्यान्ड तेस्रो तथा दुई दुई अंक बनाएका श्रीलंका र अफगानिस्तान क्रमशः पाँचौं र छैटौं स्थानमा छन् ।