Live Streaming

अन्नपूर्ण दिनभर :  लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक, प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी निर्वाचनमा कुनै पनि पार्टीको एकल बहुमत नआउने भएकाले गठबन्धन गर्नु परेको बताउनु भएको छ । वाम लोकतान्त्रिक गठबन्धनले काँडाघारीमा गरेको काठमाडौँ – २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उहाँले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार ओनसरी घर्तीले तत्कालीन समयमा सभामुखको जिम्मेवारी अत्यन्तै सुव्यवस्थित हिसाबले चलाउन सफल भएको भन्दै प्रशंसा गर्नुभयो । घर्ती पार्टीभन्दा राष्ट्रको हित हेर्ने व्यक्ति भएको उहाँले बताउनुभयो । देउवाले घर्तीले सभामुख हुँदा पार्टीको नेताका रुपमा नभई निष्पक्ष भूमिका निर्वाह गरेको बताउनुभयो ।     

यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै पहिले नै हसिया हथौडा र रुखलाई एक बनाएको दाबी गर्नुभयो । उहाँले २०४६ सालको आन्दोलन संयुक्त रुपमा गरेर त्यतिबेला देखिनै हसिया हथौडा र रुख एक ठाउँमा भएको बताउनुभयो । 

सोही कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सत्ता गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनुभयो । उहाँले प्रतिगमनविरुद्ध गठबन्धन एक भएर लागेपछि मुलुक सही ढंगले अगाडि बढेको तर्क गर्नुभयो । 

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संकेत गर्दै बानी बिग्रेपछि सच्चिन गाह्रो हुने बताउनुभयो ।  उहाँ देउवा र प्रचण्डलाई देखाउँदै विकास निर्माणमा कानुनी समस्या आउन सक्ने तर, त्यसलाई हल गर्न वर्तमान प्रधानमन्त्री र भविष्यका प्रधानमन्त्रीहरु सँगै कार्यक्रममा भएको बताउनुभयो ।

जोशीलाई ‘राष्ट्रिय सम्मान’

काठमाडौ । स्वर्गिय वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिएको छ । जोशीको पार्थिव शरीर ललितपुर महानगरपालिका परिसरमा राखेर नेपाल प्रहरीको एक टुकडीले शोक सलामी दिएको हो ।

त्यसअघि जोशीको पार्थिव शरीरमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय झन्डा ओढाएर श्रद्धाञ्जलि दिनुभएको थियो । प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि जोशीलाई श्रद्धाञ्जलि दिनुभयो । अन्तिम श्रद्धाञ्जलिका लागि जोशीको शव अपराह्न ४ बजेसम्म महानगरमा राखेर किस्ट अस्पताललाई बुझाइएको छ । 

शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको हो । आज बिहान ७ बजेर ९ मिनेटमा उपचारकै क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई गत असोज ७ गते अस्पताल भर्ना गरिएको थियो ।

नेपाली इतिहास, संस्कृती, नेपाली वाङ्गमयमा महत्पूर्ण योगदान पु¥याउनु भएका जोशीको निधनले मुलुकले एक अभिभावक गुमाएको विश्लेषण गरिएको छ । 

प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ

काठमाडौ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित प्रणाली (प्रत्यक्ष) तर्फ हालसम्म ४४ लाख २१ हजार मतपत्रको छपाइ सकेको छ ।

छपाइ भएकामध्ये प्रदेशसभा सदस्य निर्वाचनका लागि २१ लाख ३८ हजार र प्रतिनिधिसभा सदस्य निवाचनका लागि २२ लाख ५६ हजार मतपत्र रहेका छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ यसअघि नै सकिएको छ । हाल जिल्ला जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइरहेको छ ।आजसम्म ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, सिन्धुलीसहित २८ जिल्लामा समानुपातिकतर्फको मतपत्र ढुवानी भइसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेशसभातर्फ दुई करोड एक लाख ८४ हजार तथा प्रतिनिधिसभातर्फ दुई करोड चार लाख मतपत्र छापिएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा उच्च सुरक्षासहित मतपत्र छपाइ भइरहेको छ ।

मेटमणि चौधरीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टिकरण

काठमाडौ । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले आज मन्त्री चौधरीलाई स्पष्टिकरण सोधेको आयोगले जनाएको छ । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सहरी विकासमन्त्री चौधरीले राहत सामाग्री वितरण गरेपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार चौधरीले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गर्नुभएको थियो । चौधरीले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल बाँड्नु भएको थियो । आयोगले आज सो कार्य आचारसंहिताबिपरीत भएको ठहरसहित २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

रुपन्देही–२ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले गुरुङको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । त्यस्तै सर्वोच्चले निर्वाचन आयोगलगायतका विपक्षीसँग गुरुङको उम्मेदवारी खारेज गर्नुको कारणसमेत माग गरेको छ ।

निर्वाचन अधिकृत उदवीर नेपालीले २६ असोजमा बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै गुरुङको उम्मेदवारी खारेज गरिदिएको थियो । गुरुङले निर्वाचन अधिकृतलाई उम्मेदवारी खारेज गर्ने अधिकार नभएको भन्दै सर्वोच्च अदालतमा रिट दिनुभएको थियो ।

 गच्छादारसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै दायर रिट खारेज

काठमाडौ । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका ९ जना उम्मेदवारविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले रिट खारेज गरेको हो । अधिवक्ता अनिल आचार्यले ९ जना उम्मेदवारको उम्मेदवारी खारेज गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका विजयकुमार गच्छादारसहित प्रभु साह, गोविन्दराज जोशी, सरिता गिरी, विक्रम पाण्डे, टेकबहादुर गुरुङ, लक्ष्मी महतो, युद्धविक्रम तामाङ र रेवतराज पुरीको उम्मेदवारी खारेज गर्न बिहीबार रिट दायर भएको थियो ।

देशभर प्याराग्लाइडिङ बन्द गर्न सरकारको निर्देशन

काठमाडौ । नागरिक उड्डयन प्राधिकरणले देशभर सञ्चालनमा रहेका प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ । प्राधिकरणबाट अर्को सूचना जारी नभएसम्म आजैका मितिदेखि प्याराग्लाइडिङ देशैभर बन्द गराउन निर्देशन दिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।

हवाई क्षेत्रसँग सम्बन्धित यो खेललाई थप व्यवस्थित बनाउनका लागि तत्काल बन्द गर्ने निर्णय भएको प्रवक्ता निरौलाको भनाई छ । पोखरास्थित नवौँ राष्ट्रिय खेलका क्रममा प्याराग्लाइइडिङ गर्नेक्रममा एकजना सहभागीको मृत्यु भएपछि प्राधिकरणले यस्तो निर्देशन दिइएको हो । खेलका क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ अन्तर्गत टेक अफको क्रममा खस्दा थापाको मृत्यु हो । प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ सराङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट जमिनमा खसेको थियो । थापालाई मेट्रोसिटी अस्पताल पठाएकोमा चिकित्शकले मृत घोषित गरेका थिए । खेलका क्रममा भएको दुर्घटनामा खेलाडीको मृत्यु भएपछि नवौं राष्ट्रिय खेलकुदको प्याराग्लाइडिङ प्रतियोगिता पनि स्थगित भएको छ ।

राष्ट्रिय खेलकुद परिषदको निर्देशन अनुसार प्याराग्लाइडिङ अनिश्चितकालका लागि स्थगित गरिएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्ग ग्लाइडिङ संघका शैलेन्द्र राउतले जानकारी दिनुभयो ।।

दाङमा खाल्डोमा पुरिएको अवस्थामा किशोर–किशोरीको शव भेटियो

काठमाडौ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर–किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका– १३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका उनीहरुको शव आज जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । घटना शंकास्पद भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 
 
चिकित्सा शिक्षा आयोगमा हस्तक्षेप रोक्न शिक्षा मन्त्रालयलाई डा. केसीको अल्टिमेटम

काठमाडौ । प्राध्यापक डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप रोक्न शिक्षा मन्त्रालयलाई सातदिने अल्टिमेटम दिनुभएको छ । शिक्षा मन्त्रालयले आयोगसँगको परामर्श र समन्वयबिनै कर्मचारीको खटनपटन गर्दै आएको छ । पछिल्लोपटक सहसचिवको सरुवामा आयोगका पदाधिकारी असन्तुष्ट छन् ।

सदस्यसचिव भोजराज काफ्लेलाई सरुवा गरेर शिक्षा मन्त्रालयले शिवकुमार सापकोटालाई आयोगमा पठाएको थियो । आयोगका पदाधिकारीले समन्वय र परामर्शबिनै सरुवा गरिएका कर्मचारीलाई हाजिर पनि नगराउने र रमना पनि नदिने अडान लिएका थिए ।

यद्यपि काफ्ले रमना लिएर बिदामा बस्नुभएको छ भने सापकोटा जबरजस्ती हाजिर भएको आयोगका एक कर्मचारीले बताएका छन् ।डा. केसी र सरकारबीच असोज ८ गते भएको सम्झौता असोज २८ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको छ । सम्झौतामा पनि आयोगमाथिको हस्तक्षेप रोक्ने उल्लेख छ ।

तर शिक्षा सचिव रामकृष्ण सुवेदीले केही निजी मेडिकल कलेज सञ्चालकको प्रभावमा सापकोटालाई नै जबरजस्ती हाजिर गराउन दबाब दिएको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ । डा. केसीले भने आज विज्ञप्तिमार्फत यस्तो अवस्था स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । 

डेंगुबाट थप एकजनाको मृत्यु,४० हजारभन्दा बढीमा संक्रमण

काठमाडौ । डेंगु संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या जम्मा ४८ जना पुगेको छ । गत साउनदेखि हालसम्म ४० हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७ वटै प्रदेशको ७७ वटै जिल्ला यो संक्रमण फैलिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

बर्दियामा डुंगा पल्टियो, १३ यात्रुको सकुशल उद्धार

काठमाडौ । बर्दियाको मधुवन नगरपालिका र बारबर्दिया जोड्ने कुम्भ्राघाटमा आज दिउँसो डुंगा पल्टिएको छ । १३ जना यात्रु चढेको सानो डुंगा बबई नदी पार गर्नेक्रममा पल्टिएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले बताउनुभयो । उहाँका अनुसार डुंगामा सवार सबै यात्रुलाई सकुशल उद्धार गरिएको छ ।

डुंगामा क्षमताभन्दा बढी यात्रु र मोटरसाइकल राख्दा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । डुबेका मोटरसाइकल र स्कुटीको खोजी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक बुढामगरले बताउनुभयो ।  
 
राप्ती नदीको तटबन्धन भत्कियो, स्थानीय त्रसित

काठमाडौ । राप्ती नदीको कटान रोक्न बनाइएको तटबन्धन भत्किन थालेपछि बाँकेको राप्ती सोनारी र नरैनापुरवासी त्रसित बनेका छन् । राप्ती सोनारी गाउँपालिका–७ मा निर्माण गरिएको तटबन्धन भत्किन थालेपछि फत्तेपुर क्षेत्रका बासिन्दा राप्ती नदीको डुबान र कटानको जोखिममा परेका छन् ।

बर्सेनि बाढी र डुबानको त्रासमा पर्दै आएका फत्तेपुरवासी नदीमा लगाइएको तटबन्धसमेत भत्किन थालेपछि थप जोखिम बढेको राप्तीसोनारी गाउँपालिका–७ का दुर्गाप्रसाद पाण्डेले बताउनुभयो ।

उहाँका अनुसार, बस्ती जोगाउन राप्ती नदीमा गरिएको तटबन्धनको केही भाग बाढीले भत्काएर क्षति पु¥याएको छ । तटबन्धनमा पुगेको क्षतिलाई तत्काल मर्मत गरिनुपर्ने र अस्थायी तटबन्धन निर्माण गरिनुपर्ने माग गरिएपनि निर्माण हुनसकेको छैन ।

विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको राप्ती नदीको पुरानो तटबन्धन भत्किएका कारण राप्ती नदी बस्तीमा पस्ने खतरा रहेको छ । नदी बस्तीमा पस्नासाथ नरैनापुरमा बनेको बाँध भत्किने र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायतका गाउँ अति प्रभावित हुने भएकाले स्थानीयवासी त्रसित रहेका छन् ।

१६ दिनको अन्तरमा २ पाटे बाघ मृत फेला, संरक्षणकर्मी चिन्तित

काठमाडौ । पर्सा र बारामा गरी १६ दिन भित्रमा दुईटा पाटेबाघ मृत फेला परेका छन् । आज बिहान पर्साको पटेर्वासुगौली गाउँपालिका–४, बगडाडोबमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय पर्साका प्रवक्ता फरमान मियाले करीब ३÷४ दिनअघि नै बाघ त्यहाँ मरेको अनुमान गर्नुभयो ।

हाल सब–डिभिजन कार्यालय वसन्तपुरमा राखिएको बाघको शव परीक्षण गर्न चितवन राष्ट्रिय निकुन्जबाट विज्ञ चिकित्सकहरुको टोलीलाई बोलाइएको उहाँले जानकारी दिनुभयो । मृत बाघ फेलापरेको स्थान राष्ट्रिय वनबाट करीब ३ सय मिटर दक्षिण भलुवाही खोलामा पर्छ । राष्ट्रिय वन पर्सा राष्ट्रिय निकुन्जसँग जोडिएको छ । 

यसअघि असोज १५ गते बाराको निजगढनजिक पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ–काठमाडौं द्रुतमार्गको जिरो माइलमा एउटा पाटे बाघ मृत भेटिएको थियो । शव परीक्षणपछि १४ वर्षको उक्त बाघ भोक र प्यासले मरेको ठहर चिकित्सक टोलीले गरेको थियो । करीब १५÷२० दिन देखि उक्त बाघ भोको रहेको अनुमान गरिएको थियो । १६ दिनको अन्तरमा यसरी २ वटा पाटे बाघ मृत फेला पर्नुले आफूहरुको चिन्ता बढेको पर्सा निकुन्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक रामले बताउनुभयो । 

बेलायतमा नर्स पठाउन ‘प्रोटोकल’ बन्दै

काठमाडौ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी प्रोटोकल (मापदण्ड)को मस्यौदा तयार गरेको छ । सो मस्यौदा प्रोटकलमा बेलायतसँग सहमति गरेर मन्त्रिपरिषद्बाट परित गरिनेछ ।नेपाल र बेलायतबीच परीक्षणको रुपमा प्रथम चरणमा नेपाली नर्सहरुलाई बेलायतमा पदस्थापना गर्ने कार्यलाई ‘इम्प्लिमेन्टेसन प्रोटोकल’बारे स्पष्ट व्यवस्था गर्ने सहमित भएको थियो ।

मन्त्रालयले आगामी पुस–माघसम्म्म बेलायतमा पठाइने नर्सका लागि आवेदन माग गर्नेछ । प्रोटोकलले तोक्ने व्यवस्था अनुरुप योग्य ठहरिएका नर्सले बेलायतमा रोजगारीका लागि आवसर पाउने मन्त्रालयका एक अधिकारीले बताउनुभयो ।गतभदौ ६ मा नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा नेपाली नर्सलाइ रोजगारी दिने सम्बन्धी श्रम सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौताको कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम नेपाली नर्सले बेलायतमा अवसर पाउने सहमति भएको छ।

आर्थिक खबर 
आयात रोकिएका वस्तुको एलसी नखोल्न राष्ट्र बैंकको निर्देशन

काठमाडौ । सरकारले आयात रोक लगाएका वस्तुहरुको प्रतितपत्र (एलसी) नखोल्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । आज एकीकृत परिपत्र ०७८ संशोधन गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

विदेशी मुद्रा सञ्चितिमा अपेक्षित सुधार नभएको भन्दै सरकारले सबै प्रकारका निजी गाडी, १५० सीसीमाथिका मोटरसाइकल, सबै तयारी मदिरा र ३ सय डलरमाथिका स्मार्टफोन आयातमा रोक लगाउँदै आएको छ । पछिल्लो समय गत शुक्रबार ती वस्तुको आयात थप २ महिनाका लागि रोक्का गर्ने निर्णय सरकारले गरेको छ । सोही निर्णयका आधारमा ती वस्तु आयातका लागि एलसी नखोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

उल्लिखित वस्तुको आयातमा प्रतिबन्ध खुलाउन उद्योगी व्यवसायीले निरन्तर दबाब दिए पनि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले थप दुई महिनाका लागि प्रतिबन्ध यथावत् राख्ने निर्णय गरेको छ । 
विदेशका खबर

चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता

काठमाडौ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का महासचिव एवम् राष्ट्रपति सी चिनफिङले सुधारसहित एक देश, दुई प्रणालीको नीतिलाई कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको आज बेइजिङमा सुरू भएको बीसौँ महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले “एक देश, दुई प्रणालीको नीति चिनियाँ विशेषतासहितको समाजवादको ठूलो आविष्कार भएको र हङकङ र मकाउमा दिगो समृद्धि र स्थायित्व सुनिश्चित गर्न यो प्रणाली सबैभन्दा राम्रो संस्थागत व्यवस्था साबित भएको बताउनुभयोे । 

सो नीतिलाई दीर्घकालीन रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै त्यसलाई पूर्णरूपले इमानदारी एवम् दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

हङकङ र मकाउमा कानुनमा आधारित शासन सुनिश्चित गर्न एक देश, दुई प्रणालीअन्तर्गत हङकङका जनताले हङकङको प्रशासन गर्ने र मकाओका जनताले मकाउको शासन गर्ने बताउँदै उहाँले दुवैलाई उच्च स्तरको स्वायत्तताका लागि सिपिसी प्रतिबद्ध रहने स्पष्ट गर्नुभयो । महासचिव सीले दुवै क्षेत्र देशभक्तहरूद्वारा प्रशासित भएको सुनिश्चित गर्न केन्द्र सरकारले समग्र अधिकार उपभोग गर्न दिने स्पष्ट गर्नुभयो ।  

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रकै क्रममा राष्ट्रपति सीले चीन कहिल्यै प्रभुत्व खोज्ने वा विस्तारवादमा संलग्न नहुने स्पष्ट गर्नुभयो । 

चीन सबै प्रकारका आधिपत्यवाद र शक्ति राजनीति, शीतयुद्धको मानसिकता, अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप र दोहोरो मापदण्डको विरुद्धमा दृढतापूर्वक उभिएको र भविष्यमा पनि उक्त नीतिमा अडिग रहने उहाँले बताउनुभयो ।

चीन विश्वशान्तिका निम्ति स्वतन्त्र विदेश नीति अवलम्बन गर्न दृढ रहेको, गुण र दोषका आधारमा वैश्विक विषयहरूमा आफ्नो अडान र नीति निर्धारण गरेको दोहोयाउँदै महासचिव सीले चिनियाँ विदेश नीतिबाट देशको अन्तर्राष्ट्रिय सम्बन्धलाई नियन्त्रित गर्ने आधारभूत मान्यतालाई कायम राख्न तथा अन्तर्राष्ट्रिय निष्पक्षता एवम् न्यायको रक्षा गर्न मद्दत पुग्ने बताउनुभयो ।
 
इबोलाको प्रकोप बढेपछि युगान्डाका दुई जिल्लामा लकडाउन

काठमाडौ । इबोलाको प्रकोपपछि युगान्डाका दुई जिल्लामा तीन साता लामो लकडाउन लागू गरिएको छ । मुबेन्डे र छिमेकी कासान्डामा बार, नाइटक्लब, प्रार्थना स्थल र मनोरञ्जनका स्थलहरु बन्द गरिनेछन् भने कर्फ्यू समेत लागू गरिने बताइएको छ ।

युगान्डाका राष्ट्रपति युवेरी मुसेभेनीले यसअघि लकडाउन लागू नगरिने बताउँदै आउनु भए पनि आफ्नो निर्णयबाट पछि हट्नुभएको छ । पछिल्लो प्रकोपमा ५८ जना सङ्क्रमित हुनुका साथै १९ जनाको मृत्यु भइसकेको छ । यो सङ्ख्या अझै धेरै हुनसक्ने बताइएको छ । 
पछिल्लो पटकको प्रकोप सबैभन्दा पहिले राजधानी काम्पालाबाट ८० किलोमिटर टाढा रहेको मुबेन्डेमा देखिएको थियो ।

सोही क्षेत्र यतिबेला प्रकोपको केन्द्रबिन्दु बनेको छ ।यसको नियन्त्रणका लागि राष्ट्रपति मुसेभेनीलेसबैलाई सहयोग गर्न अपिल गर्नुभएको छ । भाइरसको सङ्क्रमणको आशङ्का भएर पनि आइसोलेसनमा नबस्नेहरूलाई पक्राउ गर्न प्रहरीले निर्देशन दिइएको छ ।

खेल खबर

नवौँ राष्ट्रिय खेलकुद ः एथ्लेटिक्समा आर्मीका दुई कीर्तिमान

काठमाडौ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लबले आज दुई नयाँ कीर्तिमान कायम गरेको छ। पोखरा रङ्गशालाको ट्र्याकमा बिहान भएको चार सय मिटर महिला हडल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छिन् ।

जयरानीले निर्धारित दुरी एक मिनेट चार दशमलव १३ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी हुन्। यसअघि उनले ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा एक मिनेट सात दशमलव दुई सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

महिला हडल्मा यस स्पर्धामा एपिएफकी भागीरथी थारुले एक मिनेट छ दशमलव छ सेकेन्डमा पूरा गर्दै रजत जितिन् भने  एपीएफकै कल्पना श्रेष्ठले एक मिनेट ६ दशमलव ५१ सेकेन्डमा उक्त दुरी पार गरिन् ।

यस्तै एथलेटिक्स पुरुषतर्फ १० हजार मिटरमा आर्मीकै दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते। दीपकले ३० मिनेट १० दशमलव ३० सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जितेका हुन् । दीपकले एपीएफका गोपीचन्द्र पार्कीको कीर्तिमान तोड्दै आफ्नो नामका नयाँ कीर्तिमान खडा गरेका हुन्।

गोपीको नाममा ३० मिनेट ३० दशमलव ९९ सेकेन्डको कीर्तिमान थियो। गोपीले भने रजतमा चित्त बुझाए। उनले उक्त दुरी ३० मिनेट ३८ दशमलव ३० सेकेन्डमा पूरा गरे। आर्मीकै गजेन्द्र राईले कांस्य पदक जिते। उनले निर्धारित दुरी ३० मिनेट ४९ दशमलव ५० सेकेन्डमा पूरा गरेका थिए । 

महिला बास्केटबलमा बागमतीको जित

काठमाडौ । तनहुँमा जारी महिला बास्केटबल प्रतियोगितामा बागमती प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ। आज भएको खेलमा बागमतीले गण्डकीलाई ६७–४३ अङ्कको अन्तरमा पराजित गरेको हो। लिग चरणमा खेलाइएको प्रतियोगिताको पहिलो चरणमा बागमतीले २५–५ को फराकिलो अन्तर बनाएको थियो। यस्तै, बागमतीले दोस्रो चरणमा १३–८, तेस्रो चरणमा २०–१४ को अन्तर कायम गयो ।

चौथो चरणमा गण्डकीले १६–९ को अन्तर बनायो।खेलमा गण्डकीकी सीमा गर्वुजाले सर्वाधिक १६ अङ्क जोडेकी थिइन्। यसअघिको खेलमा बागमतीले प्रदेश–१ लाई ७५–२४ को अन्तरमा जित हासिल गरेको थियो ।

खोखोमा आर्मीको ‘फ्लोअन’ जित

काठमाडौ । खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुवात गरेको छ । पोखरा रङ्गशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२–११ ले अङ्कले हराएको हो।चार इनिङ्समा खेलाइएको खेलमा आर्मीले लगातार तीन इनिङ्समा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो। प्रत्येक इनिङ नौ मिनेट खेलिने भए पनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए ।

यूएईमाथि नेदरल्यान्ड्सको रोमाञ्चक जित

काठमाडौ । ट्वान्टी–२० विश्वकपमा नेदरल्यान्ड्सले यूएईमाथि ३ विकेटको रोमाञ्चक जित निकालेको छ । १ सय १२ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १९.५ ओभरमा ७ विकेट गुमाएर विजयी रन बनाएको हो । यसका लागि म्याक्स ओ डोडले बनाएको २३ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

प्रारम्भिक ब्याट्सम्यान डोडले १८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । प्रतियोगिताको प्रारम्भिक चरणको समूह ’ए’ मा प्राप्त यस जितपछि नेदरल्यान्ड्सको सुपर ट्वेल्भ्समा प्रवेशको सम्भावना जीवन्त बनेको छ । त्यस अगाडि पहिले ब्याटिङ गरेको यूएईले ८ विकेटमा १ सय ११ रन बनाएको थियो । यसै समूहको पहिलो खेलमा नामिबियासँग श्रीलंका पराजित भएको थियो । नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको हो । 

नामिबियाले दिएको एक सय ६४ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभरमा अलआउट हुँदै एक सय आठ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६३ रन बनाएको थियो । उद्घाटन खेलमा श्रीलङ्कालाई हराउँदै नामिबियाले महत्त्वपूर्ण दुई अङ्क प्राप्त गरेको छ । प्रारम्भिक छनोटको समूह बी मा भोली वेस्ट इन्डिजले स्कटल्यान्ड तथा जिम्बावेले आयरल्यान्डको सामना गर्नेछ । प्रत्येक समूहको शीर्ष दुई स्थानमा रहने टिमले सुपर ट्वेल्समा प्रवेश गर्नेछन् ।