Live Streaming

अन्नपूर्ण दिनभर : स्पष्टीकरणमा सक्रियता देखाएको निर्वाचन आयोगको कारवाही प्रकृया फितलो

आचार संहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई कारवाही गरेको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उजुरीका आधारमा ७१ जनालाई स्पष्टीकरण सोधिएको बताउनुभयो । उहाँले स्पष्टीकरणको आधारमा कारबाही प्रकृया अघि बढेको जानकारी दिनुभयो । 

उहाँले निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन आयोग कटिबद्ध भएर लागेको बताउदै आयोगले निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न सरकारसँग छलफलमा जुटेको पनि जानकारी दिनुभयो । 

निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।असोज२३ गते प्रचण्ड गोरखा क्षेत्र नम्बर २ मा पुग्दा बाजागाजा समेत बजाइएको थियो । यसबारे आयोगले सोधेको स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिनुभएको थियो । तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

आयोगले ताप्लेजुङको प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) का उम्मेदवार उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बिना मगरलाई स्पष्टीकरण सोधेको छ ।उनीहरू दुवै जनालाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले रौतहट पुगेर युवाहरुलाई फ्री भिसा फ्री टिकटमा विदेश पठाउने प्रलोभन दिएको भन्दै कारवाहीका लागि निर्वाचन आयोगले पत्र काटेको २ साता पुग्दा पनि कुनै प्रकृया अघि बढेको छैन ।

निर्वाचन आयोगले जिल्ला प्रहरी कार्यालयलाई कारवाहीका लागि पत्र काटेको बाहिरिएपनि औपचारिक रुपमा चाजकारी नपठाउँदा प्रकृया अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी सुनिल मल्लले रेडियो अन्नपूर्ण नेपाललाई जानकारी दिनुभयो । 

आयोगले कार्तिक ३ गते काटेको पत्रमा आफू चुनाव जिते ‘विनाढेउवा के भिसा मिली, विनाढेउवा के टिकट मिली, विनाढेउवाके काठमाडौंमे रहेका घरके  तालिम मिली’ भन्ने भिडियो माधव नेपालको होईन भन्ने कुनैपनि आधार नदेखिएको उल्लेख गरिएको छ । तर आजसम्म पनि कारवाहीको प्रकृया अघि नबढ्दा आयोगमाथि नै प्रश्न उठेको छ ।

निर्वाचन आचारसंहिताको अनुगमन र स्पष्टीकरणमा सक्रियता देखाएको आयोगको कारवाही प्रकृया भने फितलो पाइएको हो । तर निर्वाचयन आयुक्त तथा केन्द्रीय निर्वाचन आचारसहिता अनुगमन समितिका संयोजक रामप्रसाद भण्डारीले भने सो बिषयम अहिले केहीपनि बोल्न नसकिने प्रतिक्रिया दिनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुरकानी गर्दै भण्डारीलेआयोगले आफ्नो आन्तरिक प्रकृयामार्फत काम गरिरहेको बताउनुभयो ।

चुनावअघि जग्गा वितरण र नापजाँचका काम रोक्न आयोगको निर्देशन

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा जग्गा वितरण र त्यससम्बन्धी सम्पूर्ण काम तत्कालका लागि रोक्न निर्देशन दिएको छ । आयोगले राष्ट्रिय भूमि आयोगलाई पत्राचार गर्दै जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गर्न निर्देशन दिएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा जग्गा वितरणका लागि नापजाँच भइरहेको भन्ने सूचना प्राप्त भएपछि आयोगले सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गरेर तत्काल रोक्न निर्देशन गरेको हो ।जिल्ला निर्वाचन कार्यलयलाई बोधार्थ दिइएको पत्रमा आयोगले दुई दिनभित्र यसबारे निर्णय गरेर जानकारी गराउन पनि निर्देशन दिएको छ । 

ओलीको चेतावनी

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीको एकल बहुमत नआएदेशमा दुर्भाग्य हुने चेतावनी दिनुभएको छ ।

आज काठमाडौं–१ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेकपा एमाले बाहेक अर्को राष्ट्रिय शक्ति हुनै नसक्ने जिकीर गर्नुभयो । आगामी निर्वाचन राष्ट्रले हार्ने कि जित्ने भन्ने महासंग्राम भएको बताउदै ओलीले प्रतिगामीहरूलाई चुनावबाट पराजित गर्न आह्वान गर्नुभयो । 

सर्वोच्च अदालतमा कानूनविद्, वरिष्ठ अधिवक्ताको बहस, तमासा, सर्वोच्चको प्राङ्गणमा कम्फु कराँते, हडताल तथा वकिलले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई छिर्न नदिनेसम्मका क्रियाकलापले अदालतभित्रै अराजकता मौलाएको उहाँको भनाइ छ ।परमादेशमार्फत एमालेको सरकार ढालेपछि देशको बेहाल भएको टिप्पणी गर्नुभयो ।  

कांग्रेस प्रवक्ता महतको दाबी : चुनावपछिको प्रधानमन्त्री पनि देउवा नै हो

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अब चुनापपछि बन्ने सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुने दाबी गर्नुभएको छ । उहाँले सत्ता गठबन्धन दलमा सबैभन्दा ठूलो दल कांग्रेस भएको हिसाबले अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा नै बन्नेमा कसैले रोक्न नसक्ने जिकिर गर्नुभयो । रिपोर्टर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले कांग्रेसभित्र पनि देउवा प्रधानमन्त्री बन्ने कुरामा सर्वसम्मत निर्णय हुने दाबी गर्नुभएको छ । 

नेता महतले अहिलेको निर्वाचनमा लोकतन्त्र एवं संविधान संरक्षण पक्ष र विपक्ष गठबन्धन भएको भन्दै निर्वाचनमा लोकतन्त्र पक्षधरकै जित हुने पनि दाबी गर्नुभयो ।सत्तापक्षीय गठबन्धनमा धेरै दल र धेरै जनमत मात्र नभएर लोकतन्त्र एवं संविधान संरक्षण योजना भएकाले जित सुनिश्चित रहेको उहाँले बताउनुभयो । 

काठमाडौं–३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

काठमाडौ । नेकपा माओवादी केन्द्रले काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ।माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो ।

तर माओवादी केन्द्रको स्थानीय कमिटीले नमानेर उम्मेदवारी कायम राखेको थियो ।काठमाडौं–३ मा माओवादी केन्द्रबाट बद्री बजगाई र प्रदेशसभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिनुभभएको थियो । माओवदीले काठमाडौं–३ (ख) मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयालको उम्मेदवारी कायम राखेको छ ।

संविधानकै कारण राजनीतिक स्थिरता भएन, माओवादीले परिमार्जन गर्छ : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्षपछि बनेको संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको दाबी गर्नुभएको छ ।

माओवादी गोरखा–काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले संविधानमा संरचनागत सुधार गर्नुपर्ने भन्दै संविधान परिमार्जन र रक्षाको सबैभन्दा बढी जिम्मेवारी माओवादीकै भएको उल्लेख गर्नुभयो । 

धनगढी आइपुगे प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा धनगढी पुग्नुभएको छ । डडेल्धुरामा भोलिदेखि हुने पार्टीको कार्यक्रममा सहभागी हुन जानेक्रममा देउवा आज धनगढी पुग्नुभएको हो । उहाँ आज धनगढीस्थित निवासम बस्ने र केही राजनीतिक भेटघाट हुने जनाइएको छ ।

भोलि डडेल्धुरा पुगेपछि देउवा आफ्नो निर्वाचन प्रचार गर्न ४ दिन डडेल्धुरामा बस्ने कार्यतालिका छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।सार्वजनिक तालिकाअनुसार १७ गते अमरगढी बसपार्कमा आयोजित सभालाई देउवाले सम्बोधन गर्नेछन् । १८ गते नवदुर्गा र गन्यापधुरा, १९ गते अजयमेरु र भागेश्वर तथा २० गते आलिताल र परशुराममा देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवा आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार

काठमाडौ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने भएपछि डडेल्धुरा बसपार्कको मर्मत सम्भार गरिएको छ। देउवा आउने भएपछि अमरगढी नगरपालिकाले बसपार्क क्षेत्रमा रहेका खाल्डा पुरेको हो।बसपार्कमा वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गर्ने सभालाई भोलि देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पहाडी जिल्लाको केन्द्रका रूपमा विकसित हुन थालेको डडेल्धुरा सदरमुकाम अव्यवस्थित हुँदै जान थालेपछि सर्वसाधारण र आउने जाने यात्रुले सास्ती भोग्नुपरेको परिरहको छ । 

सडक विभागले भीमदत्त राजमार्ग निर्माणका क्रममा झण्डै दुई दशकअघि सदरमुकाम बागबजारको छेउमा निर्माण गरिदिएको सवारीसाधन विश्रामस्थललाई हाल बसपार्कका रूपमा प्रयोग गरिएको छ।प्रधानमन्त्रीले आफ्नो गृहजिल्लामा बसपार्क नबनाउनु र तिनै देउवा डडेल्धुरा आउँदा बसपार्कमा टालाटुली हालेर जनतामा भ्रम फैलाउने काम भएको स्थानीय सुरत तमोलीले बताउनुभयो । उहाँले देउवाले ३१ वर्षदेखि बसपार्क बनाउन नसक्नु दुखद भएको बताउनुभयो । 

सन्दीपलाई आरोप लगाउने किशोरी बालिग भएको दाबी

काठमाडौ । नेपाली क्रिकेट टोलिका निर्वतमान कप्तान सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग भएको दाबी गरिएको छ । लामिछानेको पक्षबाट बहस गर्ने कानून व्यवसायीले गरेका छन्यस्तो दाबी गरेका हुन् ।

सन्दीपका एक कानून व्यवसायी मुरारी सापकोटाका अनुसार आरोप लगाउने किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको छ ।स्थानीय निकायमा गरिएको जन्मदर्ता २०६१ असोज १८ गते जारी भएको सापकोटाले बताउनुभएको छ ।

तर किशोरीको सो जन्ममिति २०७९ साल असार १४ गते सच्याएर त्यसको भोलिपल्ट नागरिकता बनाएको भेटिएको उहाँको भनाइ छ । किशोरीले प्रहरी र अदालतमा पेश गरेको जन्मदर्ता नागरिकतामा उनको जन्ममिति २०६२ जेठ १८ उल्लेख छ ।

त्यसको आधारमा उनको उमेर १७ वर्ष ४ महिनामात्र हुन्छ ।जन्मदर्ता सच्याएको भन्दा अगाडिको प्रमाणपत्रलाई आधार मानेर सन्दीपका कानून व्यवसायीले आरोप लगाउने किशोरीको उमेर घटना भएको भनिएको दिन १८ वर्ष कटिसकेको तर्क गरेका हुन् ।

१८ वर्षसम्मको किशोरीसँग सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार मानिने र सोभन्दा माथिको उमेरमा भने राजीखुशीको सम्बन्धलाई बलात्कार नमान्ने कानूनी व्यवस्था छ । थुनछेक बहसको पहिलो दिन पीडित भनिएकी किशोरीका तर्फबाट ७ जना र सन्दीपका तर्फबाट दुईजनाले बहस गर्नेछन् ।

पीडित भनिएकी किशोरीका तर्फबाट चारजना सरकारी वकिल र तीनजना निजी वकिलले बहस गरेका छन् । यस्तै सन्दीपका तर्फबाट सापकोटा र रोशनी घिमिरेले बहस गरेका छन् ।

धनगढी मुख्य सडक  आसपासका संरचना हटाउन डोजर चलाइयो

काठमाडौ । धनगढीको मुख्य सडक छेउका संरचना हटाउन उपमहानगरले डोजर चलाएको छ। आजदेखि धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन डोजर चलाएको जनाएको छ ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो।सडकको विस्तृत योजना प्रतिवेदन डिपीआर तयार भइरहेको र सडकको दायाँ बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घरधनीलाई पत्राचार गरेको थियो।तर, उपमहानगरले तोकेको समयमा सडक क्षेत्र खालि नभएपछि डोजर चलाएर संरचना हटाउन थालिएको हो। सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिनुभएको छ । कैलाली पुलदेखि क्याम्पसचोक सम्मको दूरी करिब २ किलोमिटर रहेको छ।

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्दै जर्मनी

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय राज्यमन्त्री वारवेल कोफलरको नेतृत्वमा रहेको टोलीबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा उहाँहरूबीच जर्मनी र नेपालका प्राथमिकताका क्षेत्र तथा सहयोगलाई निरन्तरताका विषयमा केन्द्रित रही दुई देशबीचको सम्बन्ध, आपसी हित र सहयोगका विविध क्षेत्रबारे छलफल भएको जनाइएको छ । 

आर्थिक खबर
तीन दिनमै ८० अंकले बढ्यो नेप्से, कारोबार डेढ अर्ब नजिक

काठमाडौ । एक साताको तिहार र छठ बिदापछि सोमबारदेखि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि बढेको छ । साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से ७.३२ अंक (०.३८ प्रतिशत) ले वृद्धि भएर १९३८.३० अंकमा बन्द भएको छ । पछिल्लो तीन दिनमा नेप्से ७९.८१ अंकले बढेको हो ।

सोमबार १६ अंकले बढेको नेप्से मंगलबार ५६ अंकको उच्च वृद्धि भएको थियो । लगातार दुई दिन बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बुधबार उताचढाव देखिए पनि अन्तिममा नेप्से सँगै कारोबार रकम पनि बढेर बन्द भएको छ ।आज नेप्सेमा ४३ लाख ७६ हजार ७०८ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७९ लाख १५ हजारको कारोबार भएको छ । आज बैंकिङ व्यापार र निर्जीवन बीमा बाहेकका सबै उपसूचक बढेका छन् । 

ब्याज अनुदानका लागि सरकारले खर्चियो १९ अर्ब ३२ करोड रुपैयाँ

काठमाडौ । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रमअन्तर्गत गत भदौसम्म सरकारले १९ अर्ब ३२ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ । यो ऋणीलाई सरकारले ब्याज अनुदान दिएको रकम हो । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिन्छ ।

ती कार्यक्रममा महिला उद्यमीका लागि ६ प्रतिशत र बाँकी ९ प्रकारका कर्जा शिर्षकमा ५ प्रतिशत ब्याज अनुदान पाइन्छ ।यसरी ऋणीलाई ब्याज अनुदान दिएबापत यो कार्यक्रम सुरु भएदेखि गत भदौसम्म करिब १९ अर्ब ३२ करोड रुपैयाँ खर्च भइसकेको राष्ट्र बैंकको तथ्यांक छ ।

यो कार्यक्रम अन्तर्गत गत भदौसम्ममा १ लाख ४७ हजार ९ सय २६ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । सो कर्जा अन्तर्गत २ खर्ब १३ अर्ब २३ करोड रुपैयाँ कर्जा बक्यौता छ । जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३ सय २ ऋणीलाई प्रवाह भएको १ खर्ब ३९ अर्ब ६७ करोड कर्जा लगानीमा छ ।

विदेशका खबर
इरानले ४८ घण्टाभित्र साउदीमा आक्रमण गर्ने– गुप्तचर रिपोर्ट

काठमाडौ । अमेरिकी अधिकारीहरूले इरानले ४८ घण्टाभित्र साउदीमा आक्रमणको तयारी गरिरहेको हुन सक्ने बताएका छन् । साउदी अरेबियाले उपलब्ध गराएको एक गुप्तचर जानकारीलाई उदृत गर्दै तीन अमेरिकी अधिकारीहरुले बताएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले व्यापक विरोधमा क्र्याकडाउन र रुसलाई युक्रेन युद्धमा सहयोग गर्न सयौं ड्रोनहरू पठाएकोमा निन्दा गरिरहेका बेला साउदी अरेबियामा सम्भावित आक्रमणको विषय बाहिरिएको हो ।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदले एक विज्ञप्ति जारी गर्दै आफुहरु खतराजन्य स्थितीको बारेमा चिन्तित रहेको र साउदीका सैन्य र अरु गुप्तचर च्यानलहरू मार्फत निरन्तर सम्पर्कमा रहेको जनाएको छ । विज्ञप्तीमा आफुहरु सो क्षेत्रका हाम्रा हितेसी र साझेदारहरूको रक्षामा काम गर्न नहिच्किचाउने उल्लेख गरिएको छ । 

समाचार एजेन्सी एपी का अनुसार यस बिषयमा साउदी अरेबियाले टिप्पणीको अनुरोधको प्रतिक्रिया नदिएको र संयुक्त राष्ट्र संघको इरान मिसनले पनि प्रतिक्रिया नदिएको उल्लेख गरेको छ ।

गुप्तचर सूचना साझेदारीको पुष्टि गर्ने एक अधिकारीले यसलाई ’चाँडै वा ४८ घण्टा भित्र’ आक्रमणको विश्वसनीय खतराको रूपमा वर्णन गरेको एपी न्युजले उल्लेख गरेको छ । तर यस क्षेत्रको कुनै पनि अमेरिकी दूतावास वा वाणिज्य दूतावासले गुप्तचरको आधारमा साउदी अरेबिया वा मध्य पूर्वका अन्य ठाउँमा रहेका अमेरिकीहरूलाई अलर्ट वा कुनै निर्देशन जारी गरेको छैन । 

खेल खबर
प्रधानमन्त्री कप : लगातारको तेस्रो हारसँग बाहिरियो बागमती

काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमती प्रदेश लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाटै बाहिरिएको छ।टियू मैदान कीर्तिपुरमा आज भएको खेलमा बागमती लुम्बिनी प्रदेशसँग ८ विकेटले पराजित भएको हो । लुम्बिनीले भने प्रतियोगितामा पहिलो जित निकाल्यो।

यसअघि बागमती, प्रदेश १ सँग ६९ रन र नेपाल पुलिससँग १ सय ९२ रनले पराजित भएको थियो।टस जितेर पहिलो ब्याटिङ गरेको बागमती ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५४ रनमा समेटिएको थियो। १५५ रनको लक्ष्य लुम्बिनीले ३५ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

त्यस्तै आजै भएको प्रतियोगितामा गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।टियु क्रिकेट मैदानमा आज कर्णाली प्रदेशलाई ३२ रनले हराउँदै गण्डकीले लगातार दोस्रो जित निकालेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १ सय ७६ रन बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो।जितसँगै समूह ए को गण्डकीले २ खेलमा ४ अंक जोडेको छ ।गण्डकी समूहको दोस्रो स्थानमा रहेको छ ।कर्णालीले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

दीपेन्द्रको वरीयता फेरि घट्यो

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी–ट्वान्टी अलराउन्डर वरीयता खस्किएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान तल झरेको हो ।नयाँ वरीयतामा दीपेन्द्र १३ औं स्थानमा छन् ।

यस अघि उनी १२ औं स्थान रहेका थिए ।ब्याटिङतर्फ कुशल भुर्तेल यस अघिकै ५३ औं स्थानमा यथावत रहेका छन् । दीपेन्द्रको ब्याटिङ वरीयता भने ५८ औं स्थानमा यथावत रहेको छ । बलिङतर्फ सन्दीप लामिछाने भने ७४ औं स्थानमा रहेका छन् ।टी–ट्वान्टी वरीयता नेपाल १६ औं स्थानमा रहेको छ । एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ ।

ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् ।बलिङमा अफगानिस्तानका रशिद खान शीर्ष स्थानमा रहदा अलराउण्डर तर्फ भने शाकिब अल हसन शीर्ष स्थानमा रहेका छन् ।