Live Streaming

अन्नपूर्ण दिनभर : डडेल्धुरा पुगेर प्रधानमन्त्री देउवाका पुरानै प्रतिवद्धता, भावी प्रधानमन्त्रीबारे सत्ता गठबन्धन मौन


देउवाका पुरानै प्रतिवद्धता

काठमाडौ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहका शिर्ष नेताहरु देश दौडाहमा निस्किन थालेका छन् । निर्वाचन आचारसंहिताअनुसार आजदेखि आमसभा, जुलुस र कोणसभा गर्न पाउने भएपछि दलका प्रमुख नेताहरू चुनावी प्रचारमा निस्केका हुन् ।

त्यसैक्रममा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरा पुग्नुभएको छ । जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको बागबजारमा आयोजित चुनावी सभामा देउवाले पुरानै एजेण्डा दोहो¥याउनुभएको छ । देउवाले १२०० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि सम्झौता भएको बताउदै यो आयोजना निर्माण भए हजारौंले रोजगारी पाउने र सुदूरपश्चिमको विकासका ठुलो टेवा पुग्ने बताउनुभयो । 

देउवाले डडेल्धुरा बजार क्षेत्रको सडक फराकिलो पार्न मुआब्जा पठाइसकेको बताउदै देउवाले मेडिकल कलेज तथा विमानस्थालका लागि समेत पहल भइरहेको बताउनुभयो । यस्तै देउवाले जिल्लाको परशुराम नगरपालिका वडा नं ५ परिगाउ स्थित महाकाली नदीमा पक्की पुल निर्माणका लागि भारत सरकारसँग पहल भइरहेको पनि बताउनुभएको छ । 

गठबन्धनका बिषयमा स्थानीय निर्वाचनका बेला केही समस्या भएपनि अहिले कुनै समस्या नभएकाले गठबन्धनका साझा उम्मेदवारहरुलाई नहिच्किच्याई मतदान गर्न उहाँले आह्वान गर्नुभएको छ । 

यसैगरी एमाले अध्यक्ष केपी ओलीचुनावी सभामा सहभागी हुन भोली सुदुपश्चिम जानु हुने भएको छ । ओलीले भोलि सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले भोली सुदुपश्चिमको दार्चुलाबाट चुनावी प्रचार सुरु गर्दैछ ।

यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित हुनुहुन्छ । प्रचण्ड अझै केही दिन आफू उम्मेदवार रहेको गोरखा क्षेत्र नम्बर २ मै केन्द्रित हुने माओवादी केन्द्रले जनाएको छ । 

निर्वाचन आयोगले नेपाली कांग्रेस र एमालेले निर्वाचनमा हेलिकप्टर प्रयोगका लागि निर्वाचन आयोगसँग अनुमति लिएको छ । एमालेका तर्फबाट अध्यक्ष ओली र नेपाली कांग्रेसबाट शेरबहादुर देउवालाई मुख्य प्रचारकका रुपमा हेलिकप्टर प्रयोग गर्नका लागि आयोगले अनुमति दिएको हो । 

भावी प्रधानमन्त्रीबारे सत्ता गठबन्धन मौन किन? 

काठमाडौ । चुनावी कार्यक्रममा आगामी सरकारआफ्नै हुने दाबी गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरू गठबन्धनबाट आगामी सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा अँझै स्पष्ट हुन सकेका छैनन् । सरकारको नेतृत्वको बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले सरकारको नेतृत्व आफुले गरिरहेकाले भोलिका दिनमा प्रचण्ड वा माधव नेपालले नेतृत्व गर्नसकने बताइसक्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकासको मोडल प्रस्तुत गर्न प्रधानमन्त्री बन्ने भन्दै आकांक्षा देखाउदा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि भावी प्रधानमन्त्री भन्दै प्रचण्डतर्फ इशारा गर्नुभएको छ । तर प्रचण्ड, माधव वा देउवामध्ये भावी प्रधानमन्त्री को हुने भनेर सत्ता गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार अघि सार्न सकिरहेको छैन ।

नेकपा एमालेको केन्द्रिीय कमिटी बैठकले भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सासिरकोको छ । सत्ता गठबन्धनमा रहेका तीन दलका नेतृत्वको आ–आफ्नै सुशुप्त चाहना तथा आलोपालो नेतृत्वको विषयले प्रधानमन्त्रीको बिषयमा गठबन्धनले औपचारिक रुपमा कुनैपनि प्रतिक्रिया जनाएको छैन । 

भावी प्रधानमन्त्रीका बिषयमा गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसभिनै पनि छलफल भएको देखिदैन । कांग्रेसबाटै प्रधानमन्त्रीका लागि देउवा सहित, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा सहितका नेताहरु प्रधानमन्त्री आकांक्षिका रुपमा देखिएका छन् ।  
यता नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले भने निर्वाचनको मतपरिणम आएपछि मात्रै प्रधानमन्त्री को हुने भन्ने बिषय टुंगिने बताउनुभएको छ ।

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै घिमिरेले अहिल्यै प्रधानमन्त्री घोषणा गर्दा गठबन्धनमा समेत खटपट हुनसक्ने भएकाले संयमता अपनाएको बताउनुभयो । उहाँले २०५६ को निर्वाचनमा कृष्णप्रसाद भट्टराई बाहेक कुनैपनि निर्वाचन अगाबै प्रधानमन्त्री घोषणा नगरिएको स्मरण गराउदै हतार गर्नुको आवश्यकता नरहेको बताउनुभयो 

कर्णाली र सुदूरपश्चिमसहित चार प्रदेशको मतपत्र ढुवानी सकियो

काठमाडौ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न गरेको छ । भुगोलको अवस्थाअनुसार सडक र आवश्यकताअनुसार हवाईमार्गसमेत प्रयोग गरी सबैभन्दा दुर्गम रहेका कर्णाली र सुदूरपश्चिमसहित चार वटा प्रदेशको मतपत्र ढुवानी सकिएको आयोगले जनाएको छ । आयोगले आज मात्रै मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी गरेको छ ।

योसँगै कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको छ । भोलिदेखि पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत प्रदेश नं. १ को मतपत्र ढुवानी हुने आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

यसपटक पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताका लागि करिब ८ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार मतपत्र मात्र छपाइ हुन बाँकी छ । आयोगका अनुसार भोलिसम्म सबै मतपत्र छपाइ सम्पन्न हुनेछ । कात्तिक २५ गतेसम्ममा प्रत्येक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पु¥याइसक्ने आयोगले जनाएको छ । 

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरराजनीतिक व्यक्ति राष्ट्रपति

काठमाडौ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो वाचापत्र सार्वजनिक गरेको छ । आगाी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरिएको वाचापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारिएको छ ।

रास्वपाले संघीय सरकार जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रस्ताव अघि सारेको हो । त्यस्तै वडाध्यक्षदेखि संघीय संसद्सम्म सम्मिलित बृहत् निर्वाचन मण्डलबाट राष्ट्रपति चुनिने प्रस्ताव अघि सारेको छ ।

त्यसैगरी राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पूरा भएको वंशज नेपाली नागरिक हुनुपर्ने रास्वपाको एजेन्डा छ ।

त्यस्तै उपराष्ट्रपति राष्ट्रिय सभाका अध्यक्ष हुने व्यवस्था गर्ने पनि उसको एजेन्डामा छ । भारतसहित केही मुलुकमा उपराष्ट्रपति माथिल्लो सभाको अध्यक्ष हुने व्यवस्था छ । त्यस्तै प्रदेशमा पनि जनताद्वारा निर्वाचित मुख्यमन्त्री रहने व्यवस्थाको पक्षमा रास्वपा देखिएको छ । त्यस्तै संवैधानिक परिषद् खारेज गरी प्रतिनिधिसभामा सुनुवाइ गरी संवैधानिक निकायहरूमा नियुक्ति हुने प्रबन्ध मिलाइने पार्टीको वाचापत्रमा उल्लेख गरिएको छ ।

यस्तै, वाचापत्रमा वि.सं. २१ सय १० सम्ममा नेपालबाट गरिबी उन्मूलन गर्ने उल्लेख गरिएको छ । त्यस्तै आगामी २१ सय १० सम्म कुनै पनि नेपाली रोजगारीका लागि विदेश जान नपर्ने पनि रास्वपाले वाचा गरेको छ । नेपालको संविधानमा लिपिबद्ध ’समाजवादप्रति प्रतिबद्धता’ लाई ध्यानमा राखेर २१ सय १० सम्म नेपालमा समाजवादको आधार तय गरिने पनि रास्वपाको प्रतिबद्धता छ ।

त्यस्तै नेपाल विश्वमै न्यून भ्रष्टाचार हुने मुलुकमा पर्ने वाचापत्रमा उल्लेख छ । त्यस्तै खेलकुद क्षेत्रमा पनि नेपालले उक्त अवधिमा महत्त्वपूर्ण उपाधि हासिल गरिसकेको हुने रास्वपाको परिकल्पना छ । त्यस्तै २१ सय १० सम्म नेपाल विश्वकै शान्ति क्षेत्रका रूपमा स्थापित हुने र विश्वकै घुम्नलायक पर्यटकीय गन्तव्यका रूपमा रहने पनि वाचापत्रमा उल्लेख छ ।

ईश्वर पोखरेलको घोषणापत्र– चक्रपथ विस्तारमा जोड 

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । काठमाडौं–५ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका पोखरेलले स्थानीय निर्वाचनमा जारी एमालेको घोषणापत्र र प्रतिबद्धतापत्रको कार्यान्वयन गर्न केन्द्र र प्रदेश सरकारका तर्फबाट स्थानीय तहका जनप्रतिनिधहरूलाई विशेष सहयोग गर्ने बताउनुभयो ।

काठमाडौं ५ मा विद्यमान सामुदायिक तथा गुठी विद्यालयहरूमा पूर्वाधार तथा शौक्षिक गुणस्तर अभिवृद्धि गरी स्थानीय जनताको शैक्षिक आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उहाँले उल्लेख गर्नुुभएको छ । चीन सरकारको सहयोगमा दोस्रो चरणमा निर्माण हुने चक्रपथ विस्तारलाई कलंकीदेखि धोबीखोलासम्म पु¥याउन पहिलादेखि गरिरहेको पहलकदमीलाई तिव्रता दिने पोखरेलले प्रतिबद्धता जनाउनुभएको छ । 

यस्तै, पोखरेलले छिमिकी मुलुक भारतले लगाएको नाकाबन्दी र अतिक्रमित भूमि फिर्ता लिने सन्दर्भमा दृढ अडान राख्ने एमाले मात्रै भएको दाबी गर्नुभएको छ । काठमाडौं ५ बाट आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उहाँले देश र जनताको हितमा काम गर्ने पार्टी एमाले मात्रै भएको जिकीर गर्नुभयो । 

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आजपनि हेर्दाहेर्दैमा परेको छ । काठमाडौं जिल्ला अदालतमा हिँजोदेखि जारी थुनछेक बहस आजपनि नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा आज प्रतिवादी सन्दीपका तर्फबाट चार वरिष्ठ अधिवक्तासहित आठ जनाले बहस गरेको अदालतका सूचना अधिकृत दीपक दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बहस गर्ने कानुन व्यवसायी थपिएकाले आज आदेश आउन नसकेको हो ।

आज वरिष्ठ अधिवक्ताहरू लवकुमार मैनाली, कृष्णप्रसाद सापकोटा, सविता भण्डारी र रमणकुमार श्रेष्ठसहितका कानुन व्यवसायीले बहस गर्नुभएको थियो । बहस गर्ने सुचीमा वरिष्ठ अधिवक्ता शम्भु थापा थपिए पनि उहाँले आज बहस नगरेको दाहालले जानकारी दिनुभयो ।

हिँजो पहिलो दिन सन्दीपका तर्फबाट अधिवक्ताहरू मुरारी सापकोटा र रोशनी पौडेलले बहस गर्नुभएको थियो । अझै वकिलहरु थपिएमा शुक्रबार पनि आदेश आउने संभवाना न्यून रहेको दाहालको भनाई छ । उहाँका अनुसार प्रतिवादीका तर्फबाट बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस पनि गर्न सक्नेछन् । 

‘मृत्युशय्याबाट गिरिजाबाबुले भनेको कुरा कांग्रेसजनले बुझ्नुपर्छ’ 

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले प्रचण्डको महत्व बुझ्नुपर्ने बताउनुभएको छ ।

गठबन्धनका उम्मेदवारहरूको उपस्थितिमा गोरखा–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेको विषयलाई सबैले बुझ्नुपर्ने बताउनुभयो । कांग्रेस कार्यकर्ताप्रति संकेत गर्दै प्रचण्डले आफु र गिरिजाबाबुले शान्ति प्रक्रियालाई सम्झौतामार्फत स्थापित गरेको दाबी गर्नुभयो । 

गोरखा २ बाट उम्मेदवार बन्नुभएका प्रचण्डले कांग्रेस कार्यकर्तालाई विगतका तीतामीठा बिर्सेर ऐतिहासिक भूमिका खेल्न आग्रह पनि गर्नुभएको छ । उहाँले माओवादी जनयुद्धका क्रममा पीडा भोगेका गोरखाका कांग्रेस कार्यकर्ता र तीनका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन आफू तयार रहेको समेत उल्लोख गर्नुभयो । 

संघमा १५ र प्रदेशमा १० भन्दा बढी मन्त्रालय नराख्न संसदीय विशेष समितिको सुझाव

काठमाडौ । राष्ट्रियसभाको एक विशेष संसदीय समितिले संघीयताको दिगो कार्यन्वयन गर्ने हो भने संघ र प्रदेशका मन्त्रालयको संख्या घटाएर मितव्ययी शासन सञ्चालन गर्न सुझाव दिएको छ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिअन्तर्गत संघीयता अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले अध्यक्ष गणेश तिमल्सिनालाई बुझाएको प्रतिवेदनमा संघीय सरकारका १० वटा मन्त्रालय घटाउन सुझाव दिइएको छ ।

प्रतिवेदनमा संघीय सरकारमा बढीमा १५ मन्त्रालय बनाउन र प्रदेशहरूमा ५ देखि १० मन्त्रालयभन्दा नराख्न सुझाव दिएको समितिका संयोजक डा. खिमलाल देवकोटाले बताउनुभयो । प्रतिवेदन बुझाउने क्रममा मुख्य सचिव शंकर वैरागीसहित अधिकांश मन्त्रालयका सचिव र उच्च पदस्थ अधिकारीहरू सहभागी रहेका थिए ।

विराटनगरको रामजानकी शीतभण्डारमा ग्यास लिक हुँदा एक जनाको मृत्यु

काठमाडौ । विराटनगर ४ स्थित रामजानकी शीतभण्डारमा ग्यास लिक हुँदा एक कर्मचारीको मृत्यु भएको छ । शीतभण्डार चिसो पार्ने बन्द भएको एमोनिया ग्यास खुलाउन मर्मत गर्नेक्रममा अचानक ग्यास लिक हुँदा निसासिएर विराटनगर–५ को चाखालका ६० वर्षीय निर्जन चौधरीको मृत्यु भएको हो ।

चौधरीले मृत्यु भएको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो । शीतभण्डारमा ग्यास लिक भएपछि चौधरीले बाहिर नभागेर भित्रैतिर पसेपछि समयमा उद्धार हुन नसक्दा निसासिएर उनको मृत्यु भएको शीतभण्डारका अर्का कर्मचारी हर्कबहादुर सुवेदीले बताउनुभयो ।

चौधरी तीन दिनअघिमात्रै शीतभण्डारमा भर्ना भएका थिए । मोरङ प्रहरी टोलीले अक्सिजन ग्यास प्रयोग गरेर चौधरीलाई उद्धार गरेर विराटनर्सिङ होममा उपचारका लागि लगेपछि चिकित्सकले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले बताउनुभयो ।

३१ लाख ८१ हजार रकमसहित हुन्डी कारोबारी दुई भारतीय र एक नेपाली पक्राउ

काठमाडौ । ३१ लाख ८१ हजार रुपैयाँभन्दा बढी रकमसहित हुन्डी कारोबारमा संलग्न दुई भारतीय नागरिक र १ नेपाली पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हुन्डी कारोबारमा संलग्न भएको आरोपमा भारत नयाँदिल्ली स्थायी ठेगाना भई हाल ठमेल बस्ने ५० वर्षका कमलकान्त कुल्थिया, राजस्थान घर भई ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल र नक्साल बस्दै आएका राजविराज–१ सप्तरीका ६७ वर्षका निर्मलकुमार अग्रवाललाई पक्राउ गरेको हो ।

उनीहरुबाट ३१ लाख ८१ हजार ३ सय ८५ रुपैयाँ नगद, व्यक्ति र संस्थाको नाममा काटिएका केही थान चेकसमेत बरामद भएको छ । उनीहरुलाई बिशालबाजारस्थित अनुज सेन्टर र न्युरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड ईन्टरनेशनलबाट हिँजै पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभएको छ । 

आर्थिक खबर
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । तीन दिन लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव १४ अङ्कले घटेर एक हजार नौ सय २२ दशमलव १६ विन्दुमा सीमित भएको छ । ठूला कम्पनीको कारोबारमापक गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५० अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव ४३ मा सीमित भएको छ । 

कूल दुई सय २० कम्पनीको २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता शेयर रु ८९ करोड ८९ लाख सात हजार आठ सय ३० मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य झिनो अङ्कले उकालो लाग्दा ११ उपसमूहको भने ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख ११ हजार छ सय ८२ पुगेको छ । आज कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ ।

विदेशमा रहेका नेपालीलाई पनि आईपीओ छुट्याइनुपर्ने व्यवस्था लागू

काठमाडौ । अब संगठित संस्थाहरुले विदेशबाट रेमिट्यान्स पठाउनेहरुलाई पनि प्राथमिक सेयर (आईपीओ)मा आरक्षण दिनुपर्ने भएको छ । आजदेखि नै यो व्यवस्था लागू भएको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र निस्कासन तथा बाँडफाँड निर्देशिकालाई संशोधन गरी यस्तो व्यवस्था लागू गरेको हो ।

जसअनुसार अब संस्थाले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्नेछ । यसरी छुट्याइएको आईपीओ भर्नका लागि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा वैदेशिक रोजगारमा गएकाले रेमिट्यान्स बचत खातामार्फत मात्र आईपीओको रकम भुक्तानी गर्नुपर्नेछ ।

त्यस्तै रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ । 

आयल निगम पाक्षिक १८ करोड नाफामा, इन्धनको मूल्य हाललाई यथावत् राख्ने 

काठमाडौ । भारतबाट पछिल्लो समय इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमलाई आगामी पाक्षिक अवधि (१५ दिन)मा १८ करोड नाफा रहने भएको छ । निगमलाई भारतीय आयल कर्पाेरेसन (आईओसी)ले दुई दिनअघि इन्धनको मूल्य बढाएर सूची पठाएको छ ।

जसअनुसार पेट्रोल प्रतिलिटर ६१ पैसा, डिजेल ५ रुपैयाँ ७६ पैसा, मट्टितेल ७ रुपैयाँ १ पैसा र हवाई इन्धन ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई डिजेलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा नोक्सान हुने भएको छ । 

पेट्रोल, हवाई इन्धन र मट्टितेलमा नाफा रहेकाले समग्रमा निगमलाई पाक्षिक १८ करोड नाफा रहने भएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दो क्रममा देखिएको, डलरसँग नेपाली मुद्रा कमजोर भएकाले हाललाई इन्धनको मूल्य घटाउन नसकिने निगमले स्पष्ट पारेको छ ।

हाल पेट्रोल प्रतिलिटर १८१ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७८ रुपैयाँ तोकिएको छ । सरकार र भारतीय आयल कर्पोरेसनलाई २९ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

विदेशका खबर
चिनियाँ कम्पनीसँगको सम्झौता खारेज

काठमाडौ । क्यानडाले चिनियाँ कम्पनीसँग गरेका खनिज सम्झौता खारेज गरेको छ । राष्ट्रिय सुरक्षालाई दृष्टिगत गरी तीन वटा चिनियाँ कम्पनीसँगको सम्झौता कार्यान्वयन नगर्ने क्यानडाले निर्णय गरेको हो । साथै उसले ती कम्पनीलाई सम्झौताबाट बाहिरिन आदेश पनि दिएको छ ।

क्यानडाका विज्ञान एवम् उद्योगमन्त्री फ्रान्कोइस फिलिप स्याम्पेनले खनिज क्षेत्रमा संलग्न देशका कम्पनीको लगानीको समीक्षापछि सरकार सो निर्णयमा पुगेको बताउनुभएको छ । 

मन्त्री स्याम्पेनका अनुसार प्रत्यक्ष वैदेशिक लगानीलाई स्वागत गर्ने देशको नीति भएपनि मुलुकको राष्ट्रिय सुरक्षा तथा महत्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा समस्या हुन नदिन यस्तो निर्णय गरिएको हो ।

चीनले विश्वभरका दुर्लभ खनिज तत्वमाथि आफ्नो प्रभुत्व कायम गरिरहेका बेला क्यानडाको सो निर्णय सार्वजनिक भएको छ । धातु एवम् खनिजमा आत्मनिर्भर बन्ने बेइजिङको प्रयासमा तुषारापात भएको छ । चीनले आफै धेरै खनिज उत्पादन नगरे पनि क्यानडालगायत देशबाट आवश्यक कच्चा पदार्थ प्राप्त गर्न ती मुलुकमा भारी मात्रामा लगानी गरेको छ । 
 

खेल खबर
तेस्रो जितसँगै पुलिस सेमिफाइनलमा

काठमाडौ । पीएम कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार तेस्रो जित निकाल्दै सेमीफाइनल यात्रा तय गरेको छ । कीर्तिपुरस्थित टियु मैदानमा आज लुम्बिनी प्रदेशलाई ६ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायम राखेको हो । यस जितसँगै पुलिस सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

लुम्बिनीले दिएको १ सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा ४ विकेट गुमाएर १ सय ९२ रन जोड्दै पूरा गर्यो । पुलिसको जितमा दीपेन्द्र सिंह ऐरीले अविजित रहदै सर्वाधिक ४३ रन बनाए । आरिफ शेखले ३५ रन बनाए । 

यस्तै सुनिल धमलाले ३६ रन जोड्दा कुशल भुर्तेलले ३२ तथा अमित श्रेष्ठले २८ रन बनाए । लुम्बिनीका अनिल खरेलले २ तथा दुर्गेश गुप्ता र मुहमद हुसेनले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ८८ रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ७४ रनको अर्धशतकीय इनिङ खेले । विशाल बिक्रम केसीले ३० रन जोड्दा प्रज्वल थापाले २३ रन बनाए । जितसँगै पुलिसले ३ खेलमा ६ अंक जोडेको छ । पुलिस समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ । लुम्बिनी २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आजै भएको अर्को खेलमा मधेस प्रदेशले विजयी सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा भएको समूह ‘ए’ को खेलमा मधेसले प्रदेश १ लाई ७२ रनले पराजित गरेको हो । मधेस प्रदेश पहिले ब्याटिङ गर्दै अनिल शाहले बनाएको ६१ रनको मद्दतले ४८.१ ओभरमा अलआउट भएको थियो ।

२ सय १४ रनको लक्ष्य दिएको मधेसका अनिलले ५ चौका र १ छक्का प्रहार गरे । उनलाई २८ रन बनाएका रोशन विक र ३२ रन बनाएका विवेक यादवले बलियो साथ दिए । यस्तै रुपेश सिंहले पनि ३० रनको योगदान दिए । जवाफमा ४३.१ ओभरमात्र टिकेर १ सय ४२ रन बनाउँदै प्रदेश नम्बर १ अलआउट भयो ।

यस इनिङ्समा लुभ कामतको २९ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । जितसँगै मधेस दुई अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ भने प्रदेश नम्बर १ पनि दुई अंक सहित चौथो स्थानमा छ ।