Live Streaming

अन्नपूर्ण दिनभर : नेपालको एक इन्च पनि भूमि अर्कालाई नछाड्ने ओलीको अठोट, डडेल्धुरामा कर्ण मल्ल्लाई एमालेको फेरि सर्मथन

दार्चुलाबाट ओलीको उद्घोष : हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अतिक्रमित भूमि फिर्ता लिएरै छाड्ने दृढता व्यक्त गर्नु भएको छ । दार्चुलाबाट आजदेखि सुरु भएको एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले मुलुकको एक इन्च पनि जमिन अरुलाई नछाड्ने बताउनुभएको हो । उहाँले दार्चुलाको समस्या आफूले बुझेको पनि बताउनुभयो । भारतलेसानो खोल्सालाई महाकाली नदी भनेर ६० बर्षदेखि नेपालीलाई झुक्याइरहेको बताउँदै अब त्यस्तो नहुने ओलीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गदेखि महाकाली करिडोसम्म सबै योजना एमालेको पालामा सुरु भएको बताउँदै ओलीले दार्चुलामा पनि सीमासम्म बाटो पु¥याउने अठोट व्यक्त गर्नुभयो । भारतले नेपालको भूमिबाट बाटो लौजान हुने तर नेपालले आफ्नै सीमा क्षेत्रबाट बाटो बनाउँदा भारतको चित्त किन दुखेको ? भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले चुनावपछि दार्चुला र धार्चुला जोड्ने पक्की पुल बनाउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

एमालेको सुरुवाती चुनावी सभा उत्साहजनक भएको बताउँदै ओलीले पाँच दलीय गठबन्धनलाई आफ्नो चुनावी भेलामा दार्चुलाको आधा जनसंख्या मात्रै उपस्थित गराएर देखाउन चुनौती दिनुभयो ।

अध्यक्ष ओलीले डडेलधुरामा कर्ण मल्ललाई नै समर्थन हुने बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजित चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताउनुभएको हो । जिल्ला कमिटीबाटै कसैले सर्मथन नरहने विज्ञप्ती निकालेको आफुले थाहा पाएको बताउदै ओलीले त्यस्तो अधिकार अरुलाई नभएको पनि बताउनुभएको थियो । 

निर्वाचन घोषणापत्रमा प्रमुख राजनीतिक दलहरुले नेपाली भूमी कालापानी, लिपुलेक र लिम्पियाधुुरा फिर्ता गराउने विषयलाई प्राथमिकतामा राखेका छन् । तर दलहरुको सो चुनावी वाचा पूरा हुनेमा भने शंका कायमै छ ।

आफ्नो सरकारका पालामा भारतलाई कुटनीतिक नोट पठाउन तथा पुस्तकमा चुच्चे नक्सा छाप्न ढिलाई गर्नु भएका ओली र भारतीय प्रधानमन्त्रीसँगको भेटमा पनि लिपुलेक तथा लिम्पियाधुराको विषय नउठाउने शेरबहादुर देउवाका वाचामा मतदाता ढुक्क हुने अवस्था देखिँदैन ।

राजनीतिक विश्लेषक तथा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीराष्ट्रियताको विषयमा दलहरु विभाजित भएकोमा दुःख व्यक्त गर्नुहुन्छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै भण्डारीले राष्ट्रियताको मुद्दा उठाएर एमालेले सुरु गरेको चुनावीसभाको भने प्रशंसा गर्नुभएको छ । 

मंसिर ४ को चुनाव संविधान च्यात्नेविरुद्ध

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमात्र नभई संविधान च्यात्न चाहने शक्तिविरुद्धको लडाइँ पनि भएको बताउनु भएको छ । ठूलो मूल्य चुकाएर आएको संविधान च्यात्ने प्रयत्न रोक्नुपर्ने भएकोले गठबन्धनलाई मत दिन उहाँले आग्रह गर्नुभयो । आफ्नो गृहपालिका गन्यापधुराको बडालमा चुनावीसभालाई आज सम्बोधन गर्दै देउवाले संविधान च्यात्ने काममा ओलीको भूमिका ठूलो रहेको आरोप लगाउनुभयो ।

विद्युत् आयोजनाहरु निर्माणले मात्र देशमा ठूलो रोजगारी सिर्जना हुने भएकोले गठबन्धनले पहिलो प्राथमिकतामा जलविद्युत् विकासलाई राखेको प्रधानमन्त्री देउवाले सुनाउनु भयो । डडेलधुरामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनु भएका प्रधानमन्त्री देउवा हिजोदेखि गृहजिल्लामा चुनावीसभा र भेटघाटमा व्यस्त हुनुहुन्छ । 

चुनावपछि सुरेन्द्रजी मुख्यमन्त्री र म प्रधानमन्त्री बन्ने सम्भावना छः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।  आज गोरखा नगरपालिका–१४ स्थित  याङकोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाबाट निर्वाचनमा होमिएका उम्मेदवारहरुलाई अत्याधिक बहुमतले विजयी गराउन अपिल गर्नुभएको हो ।

गठबन्धनलाई विजयी गराए सुरेन्द्र पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्री र आफू प्रधानमन्त्री बन्ने ठोकुवा गर्नुभयो । साथै उहाँले गोरखाको विकास र समृद्धिको यात्रा तिव्र र द्रूत गतिमा  अगाडि बड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले सबैले बिना हिचकिचाहट रुख र हसियाँ अथौडामा मतदान गर्नुपर्ने बताउनुभयो । 

निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न

काठमाडौ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ ।

यस निर्वाचनका लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगि कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० रहेको छ ।आयोगले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतपत्र ढुवानी सम्पन्न गरिसकेको छ । हाल पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतका मतपत्र प्रत्येक निर्वाचन क्षेत्रका लागि धमाधम मतपत्र ढुवानी गरिरहेको छ ।

यसअन्तर्गत आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, मोरङ र सुनसरीको मतपत्र ढुवानी गरिएको छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मतपत्र यसअघि नै ढुवानी भइसकेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज मतपत्र छपाइ सकिएको र मधेस तथा वाग्मती प्रदेशमा मात्र ढुवानी बाँकी रहेको जानकारी दिनुभयो ।निर्वाचन सामग्री पनि मतदानस्थलमा पु¥याइसकिएको छ ।आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरेको थियो ।

अन्नपूर्ण मिडिया नेटवर्कद्धारा स्वतन्त्र उम्मेदवारहरूसँग बहस 
 

काठमाडौ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा अन्नपूर्ण मिडिया नेटवर्कले स्वतन्त्र उम्मेदवारको चुनावी योजनामाथि बहस गरेको छ । 

अन्नपूर्णको केन्द्रीय कार्यालय तिनकुनेमा आयोजित एक कार्यक्रमका बिच काठमाडौं क्षेत्र –५  ’क’ का प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार सस्मित पोख्रेल, काठमाडौं ५ ’ख’ का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछाने, काठमाडौं क्षेत्र नम्बर १ ’ख’ का स्वतन्त्र उम्मेदवार सुरज राज पाण्डे तथा ललितपुर क्षेत्र नम्बर ३ ’क’ का स्वतन्त्र प्रदेशसभा  सदस्य उम्मेदवार सविता महर्जन सँग बहस गरेको हो । कार्यक्रममा काठमाडौं–५ ’ख’ का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले संघिय संरचनापछि बनेको प्रदेश सरकार कार्यकर्ता भर्ती केन्द्र बनेको बताउनुभयो । 

त्यस्तै, काठमाडौं क्षेत्र नम्बर १ ’ख’ का प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार सुरज राज पाण्डेलेतीनै तहको सरकारका लागिसंविधानले निति बनाइदिएको भएपनि यसअनुसार कार्यान्वयन नभएको बताउनुभयो ।
त्यस्तै, काठमाडौं क्षेत्र –५  ’क’ का प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार सस्मित पोख्रेलले नेपालको परिप्रेक्षमा व्यवस्था परिवर्तन नभएसम्म देशमा कुनै पनि परिवर्तन नआउने बताउनुभयो ।

त्यस्तै, ललितपुर क्षेत्र नम्बर ३ ’क’ का स्वतन्त्र प्रदेश सभा सदस्य उम्मेदवार सविता महर्जनले देशमा तीन तह भएतापनि कुनैपनि परिवर्तन नआएकाले अबस्वतन्त्रहरूकोे पालो आएको बताउनुभयो । प्रदेशसभा उम्मेदवारहरूले निर्वाचनमा आफुहरू निर्वाचित भएर आएमा प्रादेशिक विश्वविद्यालय खोल्ने र स्वास्थ्यको क्षेत्रमा परिवर्तन ल्याउने बताएका छन् । 

सन्दीप लामिछाने प्रकरण

काठमाडौ । जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ ।

मुद्दाको मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको बताउनुभएको थियो । उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए । 

तर जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ जेठ १८ गते छ । लामिछाने पक्षका वकिलले बलात्कार आरोपको प्रतिवाद गर्नुभन्दा बढी जाहेरीकर्ताको उमेरमाथि बहस गरेका थिए ।

थुनछेक बहसपछि आज न्यायाधीश माधवप्रसाद घिमिरेले ‘लामिछाने निर्दोष रहेछन् भनी मान्न मिलेन’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिनुभएको छ । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।

निहारिका राजपुतका छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

काठमाडौ । ‘कुमारी आमा’का रुपमा चर्चामा आउनु भएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ ।खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मिलेको उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले बताउनुभयो । उच्च अदालत, जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न भदौ८ मा आदेश दिएको थियो ।

राजपुतले २०७९ साउन २७ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गर्नु भएको थियो । त्यसपछि प्रहरीले राजपुतलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि राजपुत अनशन बस्नु भएको थियो ।

पछि भदौ ५ मा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि अनशन तोडिएको थियो । सहमतिमा उहाँको माग बमोजिम आरोपी श्रेष्ठसँग बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । राजपुतको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी ६ दिने आइसल्याण्ड भ्रमणमा जाने

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको औपचारिक भ्रमणमा जानुहुने भएको छ । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल) कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा  जान लागेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणको तयारीबारे आज परराष्ट्र मन्त्रालयमा भएको छलफलमा मन्त्रालयका सचिव भरतराज पौड्यालले राष्ट्रपतिको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । राष्ट्रपति भण्डारी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइसल्याण्ड भ्रमणमा जानेकार्यतालिका रहेको सचिव पौड्यालले बताउनुभयो । भण्डारी कात्तिक २६ गते बिहान साढे ७ बजे स्वदेश फर्किने कार्यतालिका छ ।  
 बैंक तथा वित्तीय संस्थाविरुद्ध माइतीघरमा व्यवसायीको प्रदर्शन

काठमाडौ । बैंक तथा वित्तिय संस्थाले ब्याजदर चर्को बढाएको भन्दै उद्योगी–व्यवसायीहरूले माइतीघरमा  प्रदर्शन गरेका छन्।बैंक तथा वितिय समस्या समाधानका लागि उद्योग वाणिज्य महासंघ काठमाडौं, भक्तपुर, ललितपुर काभ्रे,सिन्धुपाल्चोकका व्यापारिक संघ सस्थाहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन्। व्याजदर घटाउनुपर्ने र साँवा–ब्याज तिर्ने समय सार्नुपर्ने उनीहरुले माग गरेका छन् । 

आज हरिबोधनी एकादशी 

काठमाडौ । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी, घर घरमा तुलसीको विवाह गरी मनाइएको छ ।असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने धार्मिक चलन रहेको छ ।हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको पूजा अर्चनासहित तुलसी विवाह गर्ने गरिन्छ । हरिबोधनी एकादशीलाई वर्षभरिका एकादशीहरूमा सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्ने गर्दछन् ।हरिशयनी एकादशीका दिन छिरसागरमा शयन गरेका भगवान विष्णु आज उठ्ने धार्मिक विश्वास पनि छ । आज काठमाडौं उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंको शेषनारायण र इचँगुनारायणमा विशेष मेला लाग्ने गरेको छ । 

कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

काठमाडौ । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।  साँझ ५ बजेर ११ मिनेट चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ  ।

ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्ग’ मा उल्लेख छ । साँझ ५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्टरुपमा देखिने छ । साँझ ५ बजेर २७मिनेटमा ग्रहणको उन्मीलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । साँझ ६ बजेर ३४ मिनेटमा ग्रहण सकिन्छ ।

एक घण्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यसअघि कात्तिक ८ गते कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । 

आर्थिक खबर
दस महिनामा भित्रिए चार लाख ७३ हजार ५६३ पर्यटक

काठमाडौ । पछिल्लो दस महिनाको अवधिमा झण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म चार लाख ७३ हजार पाँच सय ६३ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । अक्टोबरमा मात्रै ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल आएका छन् । पर्यटक आगमन दर यो वर्षको हालसम्मकै बढी सङ्ख्या हो ।

यसअघि अप्रिलमा सबैभन्दा बढी ६१ हजार पाँच सय ८९ पर्यटक नेपाल भित्रिएका थिए । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव ४ प्रतिशतले कमी हो ।

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

काठमाडौ । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताउनुभयो ।

धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाउनुपरेको बताए । गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो ।

बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भएको स्थानीयवासी खगेन्द्र खत्रीले जानकारी दिनुभयो । धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन  भएको त्यहाँका किसानको गुनासो थियो । जेठको पहिलो साता खेतमा मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

विदेशका खबर
भारतमा वायूप्रदूषण उच्च

काठमाडौ । दिपावलीपछि भारतको राजधानी दिल्लीमा वायूप्रदूषणको स्तर बढ्दै गएको छ । यस्तै मंसिरको सुरुदेखि नै बाक्लो कुहिरो लाग्दा मानिसहरुलाई स्वास फेर्न समेत समस्या भइरहेको छ । आज बिहान दिल्लीको एअर क्वालिटी इन्डेक्स एक्यूआई ४७२ पुगेको थियो ।

एक्यूआई ४५० भन्दा बढि पुगे त्यसलाई गम्भीर मान्ने गरिन्छ । बढ्दो प्रदूषणका कारण नोएडा प्रशासनले आजदेखि कक्षा ८ सम्मका वालवालिकाका लागि अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । यस्तै भोलिदेखि दिल्लीका पनि प्राथमिक विद्यालयहरु बन्द रहनेछन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीमा ५ नोभेम्बरदेखि प्राथमिक विद्यालय बन्द हुने घोषणा गर्नुभएको छ । यसबाहेक कक्षा ५ भन्दा माथिको कक्षाका लागि बाहिरी क्रियाकलापमा पनि प्रतिबन्ध लाग्नेछ । यस अन्तर्गत एयर क्वालिटी म्यानेजमेन्ट कमिसनले दिल्ली–एनसीआरमा डिजेलबाट चल्ने सवारीसाधनमाथि प्रतिबन्ध लगाएको छ।

मुख्यमन्त्री केजरीवालले पनि दिल्लीमा यातायातमा जोर विजोर प्रणाली लागू गर्नेबारे पनि विचार गरिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलन कार्यक्रममा केजरीवालले पञ्जाब र दिल्लीमा बढेको प्रदुषणबारे बोल्दै प्रदुषित हावा एउटा राज्यमा मात्रै नभई हरेक राज्यमा जाने भएकाले राजनीति रुपमा पनि सबै एक भएर लाग्नुपर्ने बताउनुभएको छ । यस्तै प्रदूषणका विषयमा सर्वोच्च अदालतमा निवेदन परेको छ । यस विषयमा नोभेम्बर १० मा सुनुवाइ हुनेछ ।  

खेल खबर
आर्मीको पहिलो जित

काठमाडौ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज सुदुरपश्चिम प्रदेशलाई १६९ रनले हराउँदै आर्मीले पहिलो जित निकालेको हो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनायो । 

सुदुरपश्चिमका लागि बसन्त खत्रीले सर्वाधिक २५ रन जोडे । आर्मीका लागि जितेन्द्र मुखियाले ३ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो ।

जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा आर्मीलाई एपीएफ क्लबले हराएको थियो । आर्मी तेस्रो स्थानमा रहेको छ । लगातार तेस्रो हार व्यहोरेको सुदुरपश्चिम पुछारमा रहेको छ । सुदुरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ ।

यस्तै आजै भएको अर्को खेलमा विभागीय टोली एपीएफ र गण्डकी प्रदेशबीचको खेल बराबरीमा सकिएको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन बनाएपछि खेल बराबरीमा सकिएको हो ।

यो संगै एपीएफ र गण्डकीले एक–एक अंक बाडेका छन् । यस खेलपछि समूह ए मा रहेको एपीएफले ३ खेलमा ५ अंक जोड्दै शीर्ष स्थानमा छ । गण्डकी ३ खेलमा ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

अफगानिस्तानमाथि अष्ट्रेलियाको रोमान्चक जित

काठमाडौ । आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा घरेलु टोली अष्ट्रेलियाले जित निकालेको छ ।एडिलेटमा आजभएको रोमान्चक खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ४ रनले हराएको हो ।अष्ट्रेलियाले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन मात्र बनाउन सक्यो ।अफगानिस्तानका लागि राशिद खानले अविजित रहदै ४८ रन बनाए ।अष्ट्रेलियाका जोश हाजलउड र एडम जाम्पाले २÷२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोडेको थियो ।जितसँगै अष्ट्रेलियाले सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।तर, अष्ट्रेलियाको सेमिफाइनल यात्रा श्रीलंका र इंग्ल्यान्डबीचको खेलले निर्धारण गर्नेछ ।समूह १ मा रहेको अष्ट्रेलियाले ५ खेलमा ७ अंक जोडेको छ ।अष्ट्रेलिया समूहको दोस्रो स्थानमा उक्लिएको छ ।अफगानिस्तान ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।

यसअघि आजै भएको खेलमा न्युजिल्याण्डले तेस्रो जित निकालेको थियो । आयरल्याण्डलाई ३५ रनले हराउँदै न्युजिल्याण्डले तेस्रो जित निकालेको हो । न्युजिल्याण्डले दिएको १ सय ८६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो ।यस जितसँगै न्युजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ । न्युजिल्याण्डले ५ खेलबाट ७ अंक जोडेको छ ।न्युजिल्याण्ड समूह १ को शीर्ष स्थानमा रहेको छ ।आयरल्याण्ड ५ खेलमा ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।