Live Streaming

 अन्नपूर्ण दिनभर : बन्दुक लिएर सीमामा लड्न जान एमाले अध्यक्ष ओलीलाई देउवाको चुनौती, निर्वाचनमा नेपाल भारत सीमा बन्द हुने

ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान देउवाको चुनौती  

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले दार्चुलामा भाषण गरेर गुमेको भूभाग फिर्ता हुन नसक्ने भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती दिनुभएको छ ।

शुक्रबार प्रतिपक्षी दलका नेता ओलीले दार्चुलामा चुनावी सभालाई सम्बोधन गर्दै गुमेको भूभाग एक इन्च पनि नछोडी फिर्ता ल्याउने बताउनुभएको थियो । आज प्रधानमन्त्री देउवाले डडेलधुराको भद्रपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै ओलीलाई जवाफ फर्काउनुभएको हो । 

देउवाले कूटनैतिक माध्यमवाट मात्र नेपालले गुमेको भूभाग फिर्ता ल्याउनुबाहेक अर्को विकल्प नभएको पनि बताउनुभएको छ । प्रतिपक्षी दलका नेता ओलीले आफ्नो पहिलो चुनावीसभामा लिपुलेकको मुद्दालाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताउनुभएको थियो ।

ओलीले एमालेले सरकार बनाएर गुमेको भूमि फिर्ता ल्याउने आश्वासन पनि दार्चुलावासीलाई दिनुभएको थियो । ओलीले राष्ट्रियताका मामिला गठबन्धन दलहरु अनुत्तरदायी भएको आरोप पनि लगाउनुभएको थियो । 
 
देशलाई बर्बादीबाट रोक्न एमाले नै आउनुपर्छ : केपी ओली

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन र भिजन नभएको दाबी गर्नुभएको छ ।

अध्यक्ष ओलीले स्वार्थहरुको गठजोठबाट बनेको वर्तमान सरकारसँग देश बनाउने कुनै पनि किसिमको मिसन, भिजन र गन्तव्य नभएको भन्दै आगामी निर्वाचनपछि यस्तो सरकार बन्न दिन नहुने बताउनुयो । 

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै ओलीले देशलाई बर्बादी हुन नदिन पनि आगामी निर्वाचनमा नेपाली जनताले सरकारको विकल्प खोज्नुपर्ने बताउनुभयो ।

साथै ओलीले एमालेले एक्लै बहुमतको सरकार बनाउन सक्ने दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै मोलतोल गरेर सरकार बनाउने दाउ गरेको भन्दै कटाक्ष गर्नुभयो । 

यस्तै, अध्यक्ष ओलीले नेता भीम रावललाई नैतिकता प्रदर्शन गर्न आग्रह गर्नुभएको छ । रावलतर्फ संकेत गर्दै पार्टीभित्रका असन्तुष्टिलाई संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता रहेको भन्दै यस्तो आग्रह गर्नुभएको हो । उहाँले रावलको नाम नलिई एमालेका नेताहरूका व्यवहार अनुशरणीय हुनुपर्ने बताउनुभयो । प्रतिनिधिसभाको टिकट नपाएपछि असन्तुष्ट बन्नुभएका रावलले निरन्तर पार्टी नेतृत्वको विरोध गर्दै आउनुभएको छ । 
  
जसपाको प्रतिबद्धतापत्र : कार्यकारी राष्ट्रपति, संविधानको पुनर्लेखन 

काठमाडौ । जनता समाजवादी पार्टी जसपा नेपाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता रहेको औँल्याएको छ ।

पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जिकिर गरिएको छ ।

पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद् बनाउने उल्लेख गरेको छ ।

प्रतिबद्धता पत्रको प्रस्तावनामा नै काँग्रेसलाई सर्वसत्तावादीको आरोप लगाउँदै जसपाले नवउदारवादी पुँजीवादी व्यवस्थाको रक्षालाई नै आफ्नो ध्येय ठान्ने काँग्रेसको राजनीतिक चरित्र सत्ता प्राप्ति रहेको ठहर गरेको छ । 

जसपाले कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थिर पुँजीको रूपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर दुई अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रति व्यक्ति आय पाँच वर्षमा हजार डलर पुयाउने तथा पाँच वर्षभित्र निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमै सीमित गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । 

त्यस्तै, पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी जलविद्युतलाई निर्यातको मुख्य उत्पादन बनाई आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने जसपाले जनाएको छ ।

वर्तमान पूर्व पश्चिम लोकमार्गलाई स्तरोन्नति, चीनसँग जोडिएको केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग तथा देशको पश्चिमी भेगमा भारत–चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने जसपाले जनाएको छ । प्रत्येक पालिका तहमा वरिष्ठ फिजिसियनसहितको चिकित्सकीय दरबन्दी कायम गरी २५ शय्याको सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्ने जसपाले जनाएको छ ।

यसैबीच चुनावी घोषणापत्रमा मधेशको मुख्य समस्याको रुपमा रहेको नागरिकता विधेयकको बारे मौन रहेको जसपाले नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रपतिले रोक्नु राम्रो नभएको बताएको छ । एक सरकारले ल्याएको विधेयक अर्को पार्टीले रोक्ने प्रवृत्तिले सिस्टम नै कोल्याप्स हुने समस्या आउने जसपाको भनाई छ ।

चुनावी घोषणापत्रमा नागरिकता विधेयकको बारेमा जसपा किन मौन भन्ने प्रश्नमा अध्यक्ष उपेन्द्र यादवले पार्टी नागरिकता विधेयकमा मौन नरहेको बताउनुभयो । 

मंसिर १ गते रातिदेखि ४ गतेसम्म नेपाल भारत सीमा बन्द हुने

काठमाडौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज भैरहवामा भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट नाका बन्द (सिल) गर्ने निर्णय गरेको हो ।

विगतका आम चुनावमा जस्तै यसपटक पनि ७२ घण्टा नाका सिल गर्ने निर्णय भएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिनुभयो । बैठकले सीमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने, सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा निर्णय गरेको अर्यालले बताउनुभयो । बैठकमा रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारतको सिद्धार्थनगर, महाराजगञ्जका सुरक्षा अधिकारीहरु सहभागी थिए ।

बालेन साह र कोमल वलीलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौ । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेकपा (एमाले) दाङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वलीलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरा’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा प्रमुख बालेन शाहकोसमेत समर्थन रहेको भन्ने जानकारी पाएपछि आयोगले उहाँलाई स्पष्टीकरण सोधेको हो ।

वलीलाई भने विद्यार्थीसँग भोट मागेको विषयलाई लिएर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ । उम्मेदवार वलीले शुक्रवार दाङको बबई गाउँपालिका १ स्थित सरस्वती जनता माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थीसँग भोट माग्नुभएको आयोगले जनाएको छ । 

गृह मन्त्रालयको निष्कर्ष : निर्वाचन बिथोल्न देशभर २३ समूह सक्रिय

काठमाडौ । मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन बिथोल्नका लागि देशभर २३ वटा समूह सक्रिय रहेको गृह मन्त्रालयले निष्कर्ष निकालेको छ । विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सो जानकारी दिनुभएको हो ।

निर्वाचन विरोधी गतिविधि गर्ने समूहलाई नियन्त्रणमा लिएर उनीहरुका गतिविधि रोक्न जिल्ला तहका सुरक्षा निकायले ध्यान दिने उहाँको भनाई छ । पोखरेलले निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गर्न विशेष सुरक्षा योजना बनाएर लागू गरिएकोबताउनुभयो ।

निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवार, मतदाता, निर्वाचन सामग्री सबैको सुरक्षा सरकारको प्राथमिकतामा परेको उहाँको भनाई छ । मतदानका दिन ३ घेराको सुरक्षा प्रबन्ध गरिने उहाँले जानकारी दिनुभयो । पहिलो घेरामा नेपाल तथा म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने छ ।

निर्वाचन सुरक्षाका लागि म्यादीसहित २ लाख ९८ हजार ५ सय ८९ जना सुरक्षाकर्मी परिचालन हुने उहाँले बताउनुभयो । प्रदेशस्तरीय गोष्ठीको उदघाटन गर्दै प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रदेशको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार गम्भीर रहेको बताउनुभयो । 

डडेल्धुरामा देउवाविरुद्ध एमालेले पुनः गर्यो कर्ण मल्ललाई समर्थन

काठमाडौ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नेकपा एमालेले कर्ण मल्ललाई सघाउने भएको छ । हिजो साँझ डडेल्धुरा जिल्ला कमिटीका पदाधिकारीहरूलाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तर्फ कांग्रेस बिपीका कर्ण मल्ललाई सघाउन निर्देशन दिनुभएको थियो । यस अघि एमाले केन्द्रले प्रधान्मन्त्री तथा कांग्रेस सभापति देउवाविरुद्ध मल्ललाई सघाउने निर्णय गरेको थियो ।

तर मल्लले प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशीलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेले मल्लसँगको तालमेल भङ्ग भएको जनाएको थियो । तर, एमाले अध्यक्ष ओलीले मल्ललाई नै सहयोग गर्न निर्देशन दिएपछि पूर्ववत् समझदारी कायम हुने भएको हो ।  प्रदेश सभाका दुवै तर्फ भने एमालेका उम्मेदवार कायम रहने छन् ।

प्रतिनिधिसभा तर्फ देउवालाई हराउन मल्ललाई सहयोग गर्न र दुबै प्रदेश सभातर्फ एमालेका उम्मेदवार विजयी गराउन तीव्र रुपमा लाग्न ओलीले निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिएका छन् । त्यसअघि ओलीले शुक्रबार महेन्द्रनगरको चुनावी सभामा पनि डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिनुभएको थियो ।

यता एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउदले पनि प्रतिनिधि सभा तर्फ मल्ललाई जिताउने पक्षमा पार्टी रहेको बताउनुभएको छ ।  

दक्ष नागरिक, समृद्ध नेपालको नारासहित दुई दलको संयुक्त भाकल–पत्र सार्वजनिक

काठमाडौ । पुनर्जागरण पार्टी र राष्ट्रिय नागरिक पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि संयुक्त भाकल–पत्र सार्वजनिक गरेका छन् ।‘दक्ष नागरिक, समृद्ध नेपाल’ को मूल नारासहित शनिबार काठमाडौंमा जारी गरिएको भाकल–पत्रमा आदर्श, मूल्य र मान्यताको राजनीतिलाई बढावा दिने उल्लेख गरिएको छ ।

पुनर्जागरण पार्टीका अध्यक्ष तथा काठमाडौं–४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्यामबाबु गौतमले घोषणापत्रमा जेल भत्काएर श्रम शिविर बनाउने, स्वास्थ्य क्षेत्रमा भएको माफियाकरण ध्वस्त पार्नेजस्ता एजेन्डा अघि सारिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय नागरिक पार्टीका महामन्त्री बिबी थापाले युवाहरुले अब राजनीतिमा सशक्त हस्तक्षेप गर्नुपर्ने भन्दै हर्क र बालेन शाहहरुले स्वतन्त्रबाट जितेर नयाँ काम गरेको स्मरण गराउनुभयो ।

बँदेल मार्न थापेको विद्युतीय पासोमा परि दाङका रोशनी र शरदको मृत्यु भएको खुलासा

काठमाडौ । दाङका रोशनी महतरा र शरद आचार्यको मृत्यु बँदेल मार्न थापेको विद्युतिय पासोमा परी भएकाृ खुलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँकी १५ वर्षीया रोशनी महतरा र जिल्लाकै दंगीशरण गाउँपालिका वडा नं. ६ थापागाउँका १४ वर्षीय शरद आचार्यको शब स्थानीय जंगलको चिरोमा एकै ठाएँमा गागिएको अवस्थामा गत असोज ३० फेला परेको थियो ।घटनामा संलग्न चार जना दमारगाउँका व्यक्तिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गाउँकै चार जना ब्यक्तिले बँदेल मार्नलाई भनेर रोशनीको घर नजिककैको कुखुरा फार्मबाट बिजुली बत्तिको तार तानेर करेन्टको धराप बिच्छाएका थिए ।सोही धरापमा परि रोशनी र शरदको मृत्यु भएको थियो । पक्राउ परेकाहरुले करेन्टबाट उनीहरुको मृत्यु भइसकेपछि घटना लुकाउन शबको व्यवस्थापन गरेको स्वीकार गरि सकेका छन् । घटनामा संलग्नलाई सार्वजनिक गरिएको छैन  । 

धनगढीको लक्ष्मीनारायण मन्दिरका संरचनामा चल्यो डोजर

काठमाडौ । धनगढी उपमहानगरपालिकाले लक्ष्मी नारायण मन्दिरका संरचनामाथि पनि डोजर चलाएको छ । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार सडकको क्षेत्राधिकार भित्र पर्ने लक्ष्मी नारायण मन्दिरका संरचना उपमहानगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको हो ।

आज बिहानैदेखि उपमहानगरपालिकाले दुई वटा डोजर प्रयोग गरेर ती संरचना भत्काएको हो ।उपमहानगरपालिकाले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडकलाई केन्द्रले दायाँबायाँ १५–१५ मिटर फराकिलो बनाउन सडक क्षेत्रमा बनेका संरचना भत्काएको हो ।

सेती प्रादेशिक अस्पतालका संरचनामा डोजर चलाएर हटाउने अभियान थालेको उपमहानगरले क्रमशः निजी संरचना पनि भत्काइने जनाएको छ ।गत १३ भदौमा उपमहानगरपालिकाले असोज मसान्तसम्म सडक क्षेत्रमा पर्ने संरचना भत्काउन सूचना जारी गरेको थियो ।

तर व्यवसायीहरुले दशैं, तिहार र छठ पर्वसम्म पर्खिदिन आग्रह गरेपछि उपमहानगरपालिकाले थप छठसम्मको समय दिएको थियो ।सम्बन्धित घरधनीलाई आफै संरचना भत्काउन समय दिएको उपमहानगरले अटेरी गरेमा डोजर चलाउने जनाएको छ ।

समाचकेवाको रौनक 

काठमाडौ । छठ पर्वपछि मनाइँने समाचकेवाको रौतहट सहित तराई मधेशका जिल्लाहरुमा अहिले रौनकता छाएको छ।तराई मधेसका जिल्लाहरुमा प्रत्येक वर्ष कार्तिक षष्ठी तिथि अर्थात् पारनको दिनदेखि कार्तिक पूर्णिमाको मध्य रातिसम्म नाच गान गर्दै महिलाहरुले यो पर्व मनाउने गर्दछन् ।

यो पर्वमा माटोबाट बनाइएको सामा र चकेवाका साथै विभिन्न चराको मुर्ति, दियो, झारु आदि एउटा सानो बासको छैटीमा राखेर टाउको माथि राखेर दिदीबहिनीहरु विशेषगरी रातको समयमा गीत गाउने गर्दछन् । भाइ–बहिनीबीचको अगाध प्रेमलाई दर्शाउने पर्वको रूपमा मनाइने समाचकेवा पर्व सहरी क्षेत्रमा लोप हुन थाले पनि ग्रामीण क्षेत्रमा भने अझै रौनकता बाँकी छ।

विगतमा हर्षोल्लास पूर्वक मनाइने यो पर्व वर्तमान समयमा सहरी क्षेत्रमा विधि पु¥याउन मात्र मनाउने गरिन्छ। दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकका रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानव लगायतका मुर्ति बनाएर पूजापाठ गरी मनाइने परम्परा रहेको छ।
 

आर्थिक खबर 
भारतले भन्सार शुल्क हटाउने
 

काठमाडौ । भारतले नेपाल पठाउने धानमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क हटाउने भएको छ । भारतको राजस्व विभागले नेपालमा निर्यात हुने ६ लाख टन धानमा छुट दिने जनाएको हो । यसले नेपाललाई केही हदसम्म राहत पुग्ने भन्सार विभागले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा भारतले भन्सार छुट दिने निर्णय गरेको हो । ६ लाख टनभन्दा बढी धान ल्याउँदा भने २० प्रतिशत नै शुल्क लाग्नेछ। यस्तै भारतले कनिका, गहुँमा लगाइएको प्रतिबन्ध कायमै राखेको छ । 

भारतले नेपालमा निकासी गर्ने परिमाणात्मक बन्देज लगाएर गरेको भन्सार छुट दिएपछि नेपालमा चामल केही सस्तो हुने भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बताउनु भयो । भारतको निकासीमा कडाइ र नेपालको भन्सारमा कृषिसुधार शुल्क तथा अग्रिम आयकर शुल्क तिर्नुपर्दा चामलको मूल्य महँगो परिरहेको थियो ।

गत आर्थिक वर्षमा बेमौसमी वर्षाले क्षति पु¥याएकाले धान उत्पादनमा कमी आउँदा बढी आयात गर्नु परेको कृषि मन्त्रालयका प्रवक्ता डा.प्रकाशकुमार सञ्जेलले बताउनु भएको छ । यसपटक त्यस्तो ह्रास नभएकाले आन्तरिक उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । 

विदेशका खबर
युक्रेनलाई सहयोग गर्न जी–७ समन्वय संयन्त्र स्थापना

काठमाडौ । रुस–युक्रेन युद्धका कारण युक्रेनमा देखिएको ऊर्जा र पानीको सङ्कट समाधान गर्ने उद्देश्यले जी–७ राष्ट्रहरूले  संयन्त्र बनाउने भएका छन् । अत्यन्त विकसित र औद्योगिक राष्ट्रहरूको समूहले युक्रेनमा देखिएको सङ्कट समाधान गर्न नयाँ तत्परता देखाएका छन् ।

‘आज हामी युक्रेनमा देखिएको चरम ऊर्जा, पानी र पूर्वाधारको मर्मत, पुनःस्थापना र रक्षा गर्न जी–७ समन्वय संयन्त्र स्थापना गर्दैछौँ’ जी–७ विदेश मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  

यसैबीच जारी रुस–युक्रेनयुद्धमा मस्कोसँग इरानको गहिरो सैन्य पङ्क्तिबद्धता देखिएको र चीनको बढ्दो दृढ समर्थन आदिका बारेमा छलफल गर्न जर्मनीले पश्चिमी जर्मन शहर मुएन्स्टरमा दुई दिने बैठक आयोजना गरेको छ।जी–७ राष्ट्रहरूले  रुसलाई तत्काल युद्ध रोक्न र सैन्य आक्रमण र सैन्य सामग्री फिर्ता लिन आग्रह पनि गरेका छन् ।

उनीहरूले रुसले पछिल्ला दिनहरूमा ऊर्जा क्षेत्रलाई लक्ष्यित गरेर इरानमा निर्मित ड्रोन र अन्य मिसाइल हतियार प्रयोग गरेर गरेको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् । 

रुसको पछिल्लो आक्रमणबाट करिब ४० प्रतिशत ऊर्जा क्षेत्र तहसनहस भएको र जनता लामो समयसम्म अन्धकारमा बस्नुपर्ने बाध्यता आएको छ ।यसैबीच, युक्रेन र यसका पश्चिमी सहयोगीहरूले इरानले रसियामा कामिकाजे ड्रोन, वा मानवरहित हवाई सवारी पठाएको आरोप लगाएका छन् ।

जी–७ राष्ट्रहरू शान्ति र स्थिरताको पक्षमा रहेको सबै विषय र क्षेत्रमा देखिएको विवादको शान्तिपूर्ण समाधानको पक्षमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

खेल खबर

वर्षाको गोलमा नेपालको लगातार दोस्रो जित

काठमाडौ । बंगलादेशमा जारी साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा आज भएको खेलमा घरेलु टोली बंगलादेशलाई १–० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा ८७ औं मिनेटमा वर्षा ओलीले निर्णायक गोल गरिन् । यस जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । 


नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७–० गोल अन्तरले हराएको थियो । बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८–० गोल अन्तरले हराएको थियो । अब नेपालले आगामी बुधबार भुटान र शुक्रबार पुनः बंगलादेशसँग खेल्नेछ ।च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ । 

पीएम कप

काठमाडौ । विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा आज कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै एपीएफले अन्तिम चारको यात्रा तय गरेको हो ।एपीएफले दिएको २ सय ३५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले ४८ ओभर १ बलमा अलआउट हुँदै ९० रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा अलआउट हुँदै २ सय ३४ रन बनाएको थियो। यस जितसँगै एपीएफले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान पक्का गरेको हो ।एपीएफले ४ खेलमा ७ अंक जोडेको छ ।एपीएफ शीर्ष स्थानमा रहेको छ ।कर्णालीको यो लगातार दोस्रो हार हो ।

यस्तै, आजै भएको अर्को खेलमा मधेश प्रदेशले दोस्रो जित निकालेको छ ।मुलपानी क्रिकेट मैदानमा शनिबार लुम्बिनी प्रदेशलाई ९२ रनले हराउँदै मधेशले दोस्रो जित निकालेको हो ।मधेशले दिएको २ सय ६० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभर १ बलमा अलआउट हुँदै १ सय ६७ रन मात्र बनाउन सक्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ४८  ओभर ४ बलमा अलआउट हुँदै २ सय ५९ रन बनायो ।जितसँगै मधेशले ३ खेलमा ४ अंक जोडेको छ ।समूह बी को मधेश दोस्रो स्थानमा रहेको छ ।लुम्बिनीको यो दोस्रो हार हो ।लुम्बिनी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।

इंग्ल्यान्ड सेमिफाइनलमा, अष्ट्रेलिया बाहिरियो

काठमाडौ । श्रीलंकालाई पराजित गर्दै इंग्ल्यान्ड आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।सिड्नीमा आज भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।

श्रीलंकाले दिएको १ सय ४२ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर १ सय ४४ रन जोडेर पूरा गर्यो ।त्यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।यस जितसँगै इंग्ल्यान्डले समूह १ बाट दोस्रो स्थानमा रहदै सेमिफाइनलमा स्थान बनाएको हो ।

इंग्ल्यान्डले ५ खेलमा ७ अंक जोड्यो । यस समूहबाट न्युजिल्याण्ड ७ अंक जोडेर शीर्ष स्थानमा रहदै अन्तिम चारमा पुगेको छ ।इंग्ल्यान्डको जितसँगै साविक विजेता अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।

श्रीलंकाले जितेको खण्डमा अष्ट्रेलिया अन्तिम चारमा पुग्ने थियो ।अष्ट्रेलिया ७ अंक जोडेपनि नेट रन रेटमा पछि पर्दा समूहको तेस्रो स्थानमा रह्यो ।यस समूहबाट श्रीलंका, आयरल्याण्ड र अफगानिस्तान समेत बाहिरिएको छ । श्रीलंकाले ४ अंक जोड्दा आयरल्याण्डले ३ र अफगानिस्तानले २ अंक जोड्यो ।