Live Streaming

अन्नपूर्ण दिनभर : संयुक्त निर्वाचन सञ्चालन केन्द्र आजदेखि सञ्चालन, नो नट अगेन भन्न पाइने तर सभ्य भाषा प्रयोग गर्नुपर्ने

नो नट अगेन भन्न पाउनुहुन्छ तर सभ्य भाषामा भनिदिनुस् : प्रमुख आयुक्त थपलिया

काठमाडौ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिनुभएको छ । आज कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’ बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्या लगायत दुष्परिणामयुक्त शब्दहरू प्रयोग गर्न नहुनेप्रति सचेत गराउनुभएको हो ।

उहाँले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने भनाई राख्नुभएको । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिनुभयो । 

यसैबीच, निर्वाचन आयोगले चुनावलाई निष्पक्ष र उल्लासमय बनाउने कार्यमा सघाउन कलाकारलाई आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफल बनाउन कलाकारलाई साथ दिन आग्रह गर्नुभयो ।

कलाकारले साथ दिएमा साँच्चिकै निर्वाचनको माहौल बन्ने भन्दै थपलियाले निर्वाचनले सिर्जना गर्ने आपसी द्वन्द्व, मनमुटाव, द्वेष, इर्ष्या आदिलाई निस्तेज पारेर शान्ति, मित्रता र सहअस्तित्वतर्फ उन्मुख गराउन सिर्जनात्मक शक्ति कलाकारसँग हुने बताउनुभयो ।

आयोगको अन्तरक्रियामा हरिहर शर्मा, कृष्ण मल्ल, सन्तोष पन्त, राजेश हमाल, मनोज गजुरेल, दीपाश्री निरौला, आनी छोइङ डोल्मा, रमेश बुढाथोकी, राजेन्द्र शलभ, शैलेन्द्र सिंखडा, दिनेश डीसी, सत्यराज आचार्य, जितु नेपाल, प्रकाश सपुत, मिलन नेवार, रिनेशा राई, सुनिता दुलाल, दीपक आचार्य काकु लगायतको सहभागिता थियो ।

प्रमुख निर्वाचन आयुक्तले कलाकारलाई आ–आफ्नो तर्फबाट निर्वाचनबारे मतदाता शिक्षा, चुनावको महत्व लगायतबारे प्रकाश पार्नुभएको थियो । 

निर्वाचन सुरक्षाका लागि काठमाडौंबाट जिल्ला जाँदै १२ हजार प्रहरी

काठमाडौ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि भोलिदेखि काठमाडौं उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्लामा परिचालन हुने भएका छन् ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा थप मदतका लागि ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन हुने जानकारी दिनुभएको छ । मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापन सुरु गरेको हो । 

काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेश प्रदेशमा थप मदतका लागि जाँदैछन् । निर्वाचन सुरक्षाका लागि यसअघि नै एक लाख म्यादी प्रहरीहरू परिचालन भइसकेका छन् । मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुनेछन् ।

त्यसभन्दा बाहिर राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल आर्मी परिचालन हुने छ । सुरक्षा जोखिम र चुनौतीका आधारमा गृह मन्त्रालयले मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तिन भागमा बाँडेको छ । देशभरका करिब २२ हजार मतदान केन्द्रमध्ये ३ हजार ६५ वटालाई अति संवेदनशील र ४ हजार ४ सय ७८ वटालाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ । बाँकीलाई सुरक्षा जोखिमका हिसाबले सामान्य मतदान केन्द्र मानिएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता राईले विगतको निर्वाचनका अनुभव र भएका घटनालाई विश्लेषण गरेर सुरक्षा चुनौती आङ्कलन गरिएको र त्यसै आधारमा मतदान केन्द्रहरूको विश्लेषण गरिएको बताउनुभएको छ ।

प्रहरीले निर्वाचन अवज्ञा गरेका विप्लव नेतृत्वका पार्टीसहितका दलहरू, भौगोलिक विकटता, अन्तर पार्टी विवाद, उम्मेदवारको पृष्ठभूमि, नेताहरूका ‘हेट स्पीच’ र सामाजिक सञ्जालको दुरुपयोगलाई सुरक्षा चुनौतीका रूपमा लिइएको छ । यस्तै खुला सिमानाबाट हुने सक्ने आपराधिक गतिविधिलाई पनि ध्यानमा राखेको प्रवक्ता राईले बताउनुभयो ।

चीनसँगको सीमा क्षेत्रमा सत्तागठबन्धनले हेलिकप्टर लगेर प्रचार गरेको एमालेको आरोप

काठमाडौ । सत्तागठबन्धनले निर्वाचन आचरसंहिताविपरीत चीनसँगको सीमा क्षेत्रमा हेलिकप्टरबाट चुनावी प्रचार गरेको भन्दै एमालेले विरोध गरेको छ । संखुवासभामा एमालेबाट राजेन्द्र गौतम र सत्तागठबन्धनको तर्फबाट दीपक खड्का चुनावी प्रतिस्पर्धामा रहनुभएको छ ।

बिरामी छिरिङ्ग भोटेका नाममा श्री हेली एभरेष्ट प्रालिको हेलिकप्टर चार्टर गरिएको थियो । गृहमन्त्रालयले हिँजोका लागि संखुवासभाको खाँदबारी, किमाथांका र हटियामा उडान भर्न ‘निषेधित क्षेत्रमा उडान अनुमति’ दिएको थियो ।

सीमा क्षेत्रमा हेलिकप्टर उडान भर्न संवेदनशील भएपनि सत्ता र शक्तिको आडमा हेलिकप्टर चार्टर गरेर चुनाव प्रचार गरिएको एमाले संखुवासभाले विज्ञप्तिमा जनाएको छ ।

जिल्ला सचिव खड्ग राईद्वारा जारी विज्ञप्तिमा मौखिक रूपमा पटक–पटक भन्दा पनि मुख्य निर्वाचन अघिकृतको कार्यालय र निर्वाचन कार्यालय मुकदर्शक बनेको आरोप लगाइएको छ ।

कांग्रेसका नेतृत्वको व्यवस्थापनमा २०७९ कात्तिक २० र २१ गते बिरामी ओसारपसार गर्ने बहाना गरेर निषेधित क्षेत्र र अनुमति नलिएका स्थानमा अनाधिकृत व्यक्तिहरूले निजी हेलिकप्टर उडान गरी चुनावी प्रचार कार्य गरिनु आचारसंहिताविरुद्ध भएको भन्दै एमालेले स्थानीय प्रशासन प्रहरी, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अनुगमन अधिकृतको कार्यालयसँग कारबाहिको माग गरेको छ ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी वीरन्द्र यादवले घटनाको छानबिन थालिएको बताउनुभएको छ । उहाँले सीमा क्षेत्रमा बिरामी र बिरामीको कुरा अनुमति लिएर जान पाउने भएपनि अरु व्यक्ति जान नपाउने बताउनुभयो । 
 
गठबन्धनले सर्भेका नाममा एमाले कांग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलायो : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गर्नुभएको छ । विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको उहाँको दाबी छ ।कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने भविष्यवाणी गर्नुभयो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाप्रचण्डको संगतले बन्दुकको भाषण गर्दै हिँड्न थालेको भन्दै कटाक्ष गर्नुभएको छ । देउवालेबन्दुक लिएर सीमामा लड्न जान दिएको चुनौतीको जवाफ दिँदै ओलीले बन्दुकले मात्र सबै समस्या समाधान नहुने भन्दै तर्क, तथ्यले नेपाली भूमि फिर्ता ल्याउने देउवालाई जवाफ फर्काउनु भएको हो ।

प्रधानमन्त्री देउवाले केही दिनअघि गृहजिल्ला डडेल्धुराबाट केपी ओलीलाई दार्चुला पुगेर भाषणा गर्दैमा नेपाली भुमी फिर्ता नहुने भन्दै बन्दुक लिएर सीमामालड्न जान चुनौती दिनुभएको थियो । 

जुम्लामा एकीकृत समाजवादीका नेता एमालेमा समाहित

काठमाडौ । नेकपा एकीकृत समाजवादी पार्टीको जुम्ला जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपानेसहित सिंगो जिल्ला कमिटी नेकपा एमालेमा समाहित भएको छ । एमाले जुम्ला जिल्ला कमिटी अध्यक्ष शान्तिलाल महत र एकीकृत समाजवादी जिल्ला अध्यक्ष न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै सिंगो जिल्ला कमिटी नै एमालेमा समाहित भएको घोषणा गर्नु भएको हो । न्यौपाने एमाले प्रवेश गरेपछि एकीकृत समाजवादी जुम्लामा हंगामा मच्चिएको छ ।

उहाँको प्रवेशले तीन हजार बढी मत एमालेमा बढ्ने एमाले जुम्ला इन्चार्ज रतननाथ योगीको दाबी छ । जुम्लामा एकीकृत समाजवादीले गठबन्धनका तर्फबाट प्रदेशसभा १ मा पदमबहादुर रोकाय उम्मेदवार हुनुहुन्छ । निर्वाचनको मुखैमा सिंगै जिल्ला कमिटी एमालेमा समाहित भएपछि रोकायलाई अफ्ठ्यारो पर्ने देखिएको छ । 

यसैबीच, पार्टी विरोधी शक्तिहरुसँग अनुचित गतिविधि गरेको भन्दै एकीकृत समाजवादीले न्यौपानेसहित पाँच नेतालाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव बेदुराम भुसालले आज विज्ञप्ति जारी गर्दै नेताहरूमा देवीलाल थापा, आदिप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई कारबाही गरिएको जानकारी दिनु भएको हो । 

एकीकृत समाजवादी परित्याग गरि एमालेमा समाहित हुनु भएको आदीप्रसाद न्यौपानेले नेपालको लोकतान्त्रिक व्यवस्थाको रक्षा र स्वस्थ प्रतिस्पर्धाबाट निर्वाचित व्यक्तिबाटै शासन व्यवस्था सञ्चालन हुनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पुरानै घर एमालेमा फर्किएको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै न्यौपानेले अपवित्र र राष्ट्रघाती गठबन्धनले एमालेलाई कमजोर पार्न लागि परेकाले पनि पुरानै घरमा फर्किने अवस्था बनेको स्पष्ट पार्नुभयो । 

विष्णु पौडेललाई वामदेवको नेकपा राष्ट्रिय एकता अभियानको समर्थन

काठमाडौ । नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही क्षेत्र नम्बर–२ मा एमाले उम्मेदवार विष्णु पौडेललाई समर्थन जनाउने भएको छ । एमाले उपाध्यक्ष पौडेललाई आगामी मंसिर ४ को निर्वाचनमा मतदान गर्न एकता अभियानले आह्वान गरेको छ ।

पौडेललाई समर्थन गरेको जानकारी गराउन आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएका कारण हामीले समर्थन जनाएको बताउनुभएको छ ।

यहाँका उद्योगीहरूको लगानी, युवाहरूको रोजगारी लगायतका कुराहरूको ग्यारेन्टीका लागि पनि पौडेललाई जिताउन आवश्यक रहेको उहाँले बताउनुभयो । बामदेव गौतम नेतृत्वको एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूहरूको २५ सय बढी मतदाता रहेको दाबी गर्नुभयो । 

उम्मेदवारलाई कबुलियतनामा गराउँदै बाढीपीडित

काठमाडौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ का बाढी पिडितले मत माग्न घर दैलोमा पुग्ने उम्मेदवारलाई कबुलियतनामा गराउने भएका छन् ।वनहरा– दोदा नदीको बाढीबाट बर्सेनि पीडित हुदै आएका परिवाले सङ्घर्ष समिति गठन गरी नदी नियन्त्रणका लागि कार्य गर्न प्रतिबद्धता जनाउनका लागि उम्मेदवारका लागि आठ बुँदे कबुलियतनामा तयार गरेका हुन् । 

कबुलियतनामामा हस्ताक्षर गरी नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न चासो दिने उम्मेदवारलाई मतदान गर्ने उनिहरुको निर्णय छ । पिडितहरुले उम्मेदवारले कबुलियतनामा प्रति सकारात्मक भई हस्ताक्षर गरेमा मात्रै मत दिन र उम्मेदवारले यसमा उदासिनता देखाए मत नहाल्ने बताएका छन् ।

कबुलियतनामामा दोदा नदीको तटीय क्षेत्रमा अवस्थित बस्ती नदीको कटानबाट जोगाउन महाकाली नदीको जस्तै गुरुयोजना बनाइ क्रमागत योजनाअन्तर्गत बलियो ढुङ्गाको तटबन्ध बनाउन माग गरिएको छ । साथै बाढी पीडित क्षेत्रलाई मन्त्रिपरिषदबाट बाढीजन्य विपद् सङ्कट क्षेत्र घोषणा गराउनका लागि उम्मेदवारका  लागि तयार गरिएको कबुलियतनामामा उल्लेख गरिएको छ । 

ब्याजदर एकल अंकमा नझारे आन्दोलन गर्ने यातायात व्यवसायीको चेतावनी

काठमाडौ । यातायात व्यवसायीहरुले एकल अंकमा ऋणको ब्याजदर कायम गर्न माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै ‘चालु पूँजी कर्जा मार्गदर्शन २०७९’ संशोधन गर्न पनि माग गरेका छन् ।

नेपालको सार्वजनिक तथा मालवाहक यातायात र ढुवानी व्यवसायमा सक्रिय रहेका तीनवटै महासंघहरुले नेपालको अर्थतन्त्रमा आन्तरिक र बाहय कारणले बहुआयामिक प्रभाव परिरहेको तथ्यलाई मनन गर्दै तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैकले विशेष पहल गर्नुपर्ने माग गरेका छन् ।   

डेंगुबाट एकजनाको मृत्यु, मृतक संख्या पुग्यो ५५

काठमाडौ । देशभर पछिल्लो समय डेंगु रोग संक्रमणबाट एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुबाट आज एकजनाको मृत्यु भएसँगै मृतक संख्या ५५ जना पुगेको छ । साउनदेखि हालसम्म ४६ हजारभन्दा बढीमा डेंगु संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ७ वटै प्रदेशका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ । 

आर्थिक खबर
६.४३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौ । साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । हिँजो उच्च अंकले वृद्धी भएको नेप्से परिसूचक आज ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ । नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ ।

जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ भने विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । 

पहिलो त्रैमाससम्म आन्तरिक राजस्व संकलन लक्ष्यको ९१ प्रतिशतमात्र

काठमाडौ । सरकारले आयात प्रतिस्थापन गर्न विलासिताका वस्तुमा प्रतिबन्ध लगाउँदा भन्सार राजस्व घटेको छ । तर, चालु आर्थिक वर्ष (आव) २०७९÷८० मा आन्तरिक राजस्वले समेत साथ दिन नसक्दा सरकार दबावमा छ ।आन्तरिक राजस्व विभागका अनुसार आवको पहिलो तीन महिना (साउन–असोज) मा विभागले लक्ष्यको ९१ प्रतिशत मात्र राजस्व उठाउन सकेको छ ।

असोज महिनासम्म विभागले १ खर्ब ५ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । संकलन भने ९५ अर्ब ७१ करोड रुपैयाँ भएको छ । यो लक्ष्यको ९१ प्रतिशत रहेको विभागले जनाएको छ ।विभागका अनुसार तीन महिनामा विभागले आयकरतर्फ लक्ष्यको ७८.८९ प्रतिशत मात्र संकलन गर्न सकेको छ ।

पहिलो त्रैमासमा ३९ अर्ब ९ करोडको लक्ष्य राखिएकोमा संकलन ३० अर्ब ८४ करोड रुपैयाँ मात्र भएको छ । घर बहाल कर ५९.८९ प्रतिशत मात्र संकलन भएको छ । यस अवधिमा ८६ करोड २२ लाख रुपैयाँ घर बहाल कर संकलन गर्ने लक्ष्य राखिएकोमा संकलन ५१ करोड ६४ लाख रुपैयाँ मात्र भएको छ ।

ब्याज असुली ८३.९८ प्रतिशत भएको छ । १० अर्ब २७ करोड रुपैयाँ ब्याज असुलीको लक्ष्य रहेकोमा ८ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको विभागले जनाएको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ८६.७६ प्रतिशत संकलन भएको छ । ३१ अर्ब १४ करोड रुपैयाँ भ्याट संकलनको लक्ष्य राखिएकोमा प्राप्ति भने २७ अर्ब रुपैयाँ भएको छ ।

अन्तःशुल्क भने लक्ष्य भन्दा बढी ११६.४२ प्रतिशत उठेको छ । २२ अर्ब ५१ करोड रुपैयाँ अन्तःशुल्क संकलनको लक्ष्य रहेकोमा संकलन भने २६ अर्ब २१ करोड रुपैयाँ भएको छ । स्वास्थ्य सेवा शुल्क दोब्बरले बढेको छ ।

विदेशका खबर
अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको चेतावनी

काठमाडौ । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको हो ।

उत्तर कोरियाली जनसेनाको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै शत्रुको सबै विरोधी युद्ध अभ्यासहरूको जवाफ दिने उल्लेख गरेको छ । विज्ञप्तिमा उत्तर कोरियाको हालैको ब्यालिस्टिक मिसाइल परीक्षणलाई अमेरिका–दक्षिण कोरिया संयुक्त अभ्यासको ‘स्पष्ट जवाफ’ भनी चित्रण गरिनुका साथै शत्रुहरूको उत्तेजक सैन्य चालहरू जति निरन्तर रूपमा जारी रहन्छ त्यतिनै उनीहरूका लागि घातक हुने जनाएको छ । गत हप्ता अमेरिका र दक्षिण कोरियाले बी–१ बी को साथ सयौं लडाकु विमानहरूले भारी बम वर्षाका साथै अभ्यास गरेका थिए । 

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

काठमाडौ । सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को निर्णय गर्दै आएका एलन मस्कले नक्कली ट्वीटर अकाउन्टहरु बन्द गर्ने घोषणा गर्नुभएको छ । लगातार ३ वटा ट्वीट गर्दै उनले बारम्बार अकाउन्टको नाम फेर्न, अर्काको फोटो राख्ने र प्यारोडी अकाउन्ट चलाउनेहरुका अकाउन्ट बन्द गर्ने घोषणा गर्नुभएको हो ।

मस्कले ट्वीटर ह्याण्डल गर्ने सबै जनालाई यस अघि नै यो खालको सन्देश र चेतावनी दिईसकेको भन्दै अब बिना सूचना अकाउन्ट बन्द गरिदिने समेत बताउनुभएको छ । उहाँले शुल्क तिरेर निलो टिकको अकाउन्ट चलाउनेहरुले नाम फेरेमा निलो टिक स्थगित गरिदिने चेतावनी समेत दिनुभएको छ । मस्कको यो घोषणासँगै ट्वीटरले एलन मस्ककै नाम र फोटो प्रयोग गरेर सञ्चालन भइरहेका अकाउन्टहरु बन्द गरिदिएको छ ।

खेल खबर
पीएम कप : मधेश प्रदेश सेमिफाइनलमा

काठमाडौ । मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा बागमती प्रदेशसँगको ‘म्याच टाइ’ भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९ ओभर २ बलमा अलआउट हुँदै १९० रन जोडेको थियो ।

अन्तिम ओभरमा एक रन जोड्न नसक्दा बागमती जितबिहिन हुँदै बाहिरिएको छ । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो । मधेशका लागि रोहन बिकले ६३ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सन्तोष कार्कीले २३ रन बनाउँदा कप्तान हरिशंकर कार्कीले १३ रनको योगदान गरे ।

बागमतीका नन्दन यादव र सुर्य तामाङले तीन÷तीन विकेट लिए । अब मधेशले अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । मधेस ५ अंक जोडेर दोस्रो स्थानमा छ ।

त्यस्तै आजै भएको अर्को खेलमा सुदुरपश्चिम प्रदेशले पहिलो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा आज कर्णाली प्रदेशलाई ५ विकेटले हराउँदै सुदुरपश्चिमले पहिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय ५१ रनको लक्ष्य सुदुरपश्चिमले २९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३८ ओभर १ बलमा अलआउट हुँदै १ सय ५० रन बनाएको थियो । प्रतियोगिताबाट बाहिरिसकेको सुदुरपश्चिमको यो सान्त्वना जित हो । समूह १ को सुदुरपश्चिमले ४ खेलमा २ अंक जोडेको छ । कर्णालीको यो लगातार तेस्रो हार हो । कर्णाली ३ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।