Live Streaming

अन्नपूर्ण दिनभर :  प्रधानमन्त्रीबारे टुंगो नलागेको प्रचण्डको भनाइ, एमालेलाई सघाएपछि गण्डकीका मन्त्री आचार्य बर्खास्त

 

कर्णाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ७ घाइते

काठमाडौँ । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफा–५ खल्लागाड नजिकै यात्रुवाहक जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ७ जना घाइते छन् ।

मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे १ च ४४१२ नम्बरको यात्रुवाहक जिप आज बिहान पौने १२ बजे कर्णाली राजमार्गको खल्लागाड पुल नजिकै दुर्घटनाग्रस्त हुँदा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुर्दशन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले बताउनुभयो ।

उहाँका अनुसार ७ जना घाइतेको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । अक्कलको घटनास्थलमै मृत्यु भएको हो भने अन्य दुई जनालाई उपचारका लागि जुम्ला लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण यकिन हुन नसके पनि तीव्र गतिका कारण गाडी अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

निर्वाचन सन्देश प्रवाह गरिदिन व्यवसायीलाई आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ ।

आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचनको सन्दर्भमा ’निजी क्षेत्रसँग अन्तरक्रिया’मा आयोगले व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देशहरू प्रवाह गरिदिन आग्रह गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको समाजिक सञ्जालमा आबद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू आफ्नो सांगठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिदिएर सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।

व्यवसायीहरूको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गर्दै उनले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गनुभयो । उहाँले देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहोलमा परिवर्तन आउने विश्वास व्यक्त गरेका आयोगले इलेक्सन बुलेटिनमा जनाएको छ । 

प्रमुख आयुक्त थपलियाले संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्दै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीहरुलाई पनि सम्झिएकामा खुसी प्रकट गर्नुभयो । उहाँले आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ विस्तृत शान्ति सम्झौताको अर्थ कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा छाप लगाउनु भएको बताउनुभएको छ । वाम–लोकतान्त्रिक गठबन्धनले जुम्लामा आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले जय नेपाल र लाल सलामको मित्रता लामो भएको बताउनुभयो ।

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नुको अर्थ गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसबाट हँसिया हथौडामा र आफूले माओवादीको तर्फबाट रुखमा छाप लगाउनुभएको भएको उल्लेख गर्दै उनले सोही कारणले नेपालमा युगान्तकारी युगको सुरुवात भएको बताउनुभयो । विस्तृत शान्ति सम्झौता र संविधानमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र र शान्तिको महान् युग सुरु भएको दृष्टान्तलाई ख्यालमा राख्दै आगामी निर्वाचनमा रुख, हँसिया हथौडा र कलममा भोट हाल्न कुनै दुबिधामा नपर्न आग्रह गर्नुभयो । 

त्यस्तै प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि प्रधानमन्त्री को बन्ने भन्नेबारे टुंगो लागिनसकेको बताउनुभएको छ । गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण आनज सल्यानमा आकस्मिक अवतरण गर्नुभएका प्रचण्डले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को बन्ने भन्नेमा टुंगो नलागेको बताउनुभयो । त्यस्तै उनले आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पनि नेकपा माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दावी नगरेको बताउनुभएको छ । आज प्रेस युनियन मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 
गण्डकीमा बाबुरामनिकट मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको छ । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई बर्खास्त गर्नुभएको हो । एमालेबाट गोरखा २ (ख)मा राजु राना उम्मेदवार हुनुहुन्छ ।

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई हिजो दिउँसो पठाउनुभएको थियो । उहाँ आफैँले ऊर्जामन्त्रालय सम्हाल्नुभएको छ । उहाँले हिजो आवश्यकता हुँदा राखेको र अहिले नहुँदा हटाएर आफ्नो अधिकार प्रयोग गरेको प्रतिक्रिया दिनुभएको छ । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गर्नुभएको छ । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएउनुभएको थियो । 

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित आचार्य नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश हुनुहुन्थ्यो । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर, डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो । गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ ।

चुनावी सभामा जाँदा विरोध खतिवडामाथि कुटपिट

काठमाडौँ । मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको हो ।

एक प्रत्यक्षदर्शीका अनुसार सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेका थिए । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेको पाइएको र पुरानो रिसइबी समेत रहेको उहाँले बताउनुभयो ।  

डडेलधुरामा सागर ढकाललाई भएको के हो ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका सागर ढकालले डडेल्धुरा प्रशासनले आफूलाई प्रचारप्रसारमा रोक लगाएको बताएसँगै यस विषयमा पक्ष र विपक्षमा चर्चा हुन थालेको छ ।

उहाँले हिजो (सोमबार) सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा रोक लगाइएको र जनता गुहार्नुबाहेक आफूसँग कुनैपनि विकल्प बाँकी नरहेको बताउनु भएको थियो । 

ढकालले आफूलाई प्रचारमा रोक लगाइएको आरोप लगाएपछि प्रशासनको सर्वत्र विरोधसमेत भएको थियो । तर, स्थानीय प्रशासनले भने ढकालले प्रशासनको अनुमति नलिई चुनावी कार्यक्रम गरेकाले प्रहरी परिचालन गरी सम्झाउने काम गरेको दाबी गरेको छ । सोमबार साँझ अनुमति नलिई कार्यक्रम गर्न थालेको र केही उमेदवारविरुद्ध गालीगलौज गरेको गुनासोपछि प्रहरी टोली तुफानडाँडा पुगेको थियो । 

तर, त्यस क्रममा ढकालको टोलीले उल्टै प्रहरीसँग बहस गरेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । तर प्रचारप्रसारमा रोक नलगाएको उहाँले बताउनुभयो । यसअघि भागेश्वर गाउँपालिकामा पनि ढकालले निर्वाचन आचारसंहिताविपरीत माइकिङ गरेको मौखिक उजुरीपछि निर्वाचन कार्यालय र प्रशासनको टोलीले सचेत गराएको थियो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार ढकालले अहिलेसम्म कुनै कार्यक्रम गर्दा प्रशासनको अनुमति लिनुभएको छैन । निर्वाचन आचारसंहितामा उम्मेदवारले जुलुस, आमसभा र प्रचारप्रसार गर्दा स्थानीय प्रशासनको अनुमति लिनुपर्ने व्यवस्था छ ।

ढकालले भने प्रशासनमाथिको पुरानै आरोप दोहो¥याउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै ढकालले माईकिङ नै नगरी कसरी प्रचारप्रसार गर्ने भन्दै प्रश्न गर्नुभयो । आफूहरुले पैसा खर्च नगर्ने उद्देश्यका साथ चुनावी सभा नगर्ने योजना बनाएको तर प्रशासनले आफूसँग अनावश्यक निहुँ खोजेको आरोप लगाउनुभयो । ढकालले आफू भारी मतान्तरले जित्ने दावी पनि दोहो¥याउनु भयो । 

अन्तरिम आदेश दिने न्यायाधीशले अब अन्तिम सुनुवाइ पनि गर्न पाउने

काठमाडौँ । अल्पकालीन तथा अन्तरिम आदेश जारी गर्ने न्यायाधीशले त्यस मुद्दाको अन्तिम सुनुवाइ पनि गर्न पाउने भएका छन् । मुद्दा व्यवस्थापन समितिको सिफारिस बमोजिम सर्वोच्च अदालतको कात्तिक १६ गते बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

त्यसका लागि अल्पकालीन तथा अन्तरिम आदेश जारी गर्दा स्पष्ट राय व्यक्त नभएको हुनुपर्ने र भएको भए उनीहरूका हकमा लागू नहुने सर्वोच्च अदालतले जनाएको छ । यस्तै सर्वोच्च अदालतमा विचाराधीन रहेका ५० प्रतिशतभन्दा बढी कैद सजाय बसिसकेका कैदीका मुद्दाको सुनुवाइका लागि साताको निश्चित दिन छुट्टै पेशी चढाइने व्यवस्था गर्ने पनि निर्णय भएको छ । त्यस्ता पेशीहरू स्थगित गर्न नपाइने पनि पूर्ण बैठकले निर्णय गरेको छ । 

विश्वकप हेर्ने दर्शकबाट ५ सय रूपैयाँ असुल्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

काठमाडौँ । सर्वाेच्च अदालतले विश्वकप फुटबल हेर्नका लागि नेपाली दर्शकबाट प्रतिग्राहक ५ सय रूपैयाँ असूल्ने निर्णय तत्काल कार्यन्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । उपभोक्ताहरुको तर्फबाट अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ग्राहकमाथि अपूरणीय क्षति हुनसक्ने भन्दै अतिरिक्त शुल्क लिने निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

अदालतले यसबारेमा अन्तरिम आदेश दिनु पर्ने वा नपर्नेबारेमा छलफल गर्न दुवै पक्षलाई कात्तिक २७ गते बोलाएको छ । रिट निवेदकले सञ्चारमन्त्रालयसहित विश्वकपको प्रत्यक्ष प्रसारणको अनुमति लिएको मिडिया होम तथा टेलिभिजन सेवा प्रदायकसमेतलाई विपक्षी बनाउनुभएको थियो ।

मंसिर ४ गतेबाट सुरु हुन लागेको कतारमा हुने विश्वकप फुटबलको एकाधिकार पाएको मिडिया होमले हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ । विश्वकप हेर्नका लागि नेपाली ग्राहकले हिमालय टेलिभिजनलाई आफूले ग्राहक बनेको सेवा प्रदायकमार्फत मासिक शुल्कबाहेक थप ५ सय रुपैया तिरेपछिमात्र हेर्न पाउने जनाएको थियो ।

मासिक शुल्क तिरेर ग्राहक बनेपछि टेलिभिजनमा आउने सबै कार्यक्रम हेर्न पाउनुपर्नेमा विश्वकपको मौकामा पैसा असुल्ने उद्देश्यले गरिएको व्यापारमा सञ्चार मन्त्रायलयले समेत साथ दिएको भन्दै रिट निवेदकले सो निर्णय कार्यन्वयन नगर्न नगराउन आदेश मागेका छन् ।
विशेष अदालतसँग अख्तियार असन्तुष्ट

काठमाडौँ । विशेष अदालतबाट सफाइ दिने क्रम बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ । मुद्दाको सुनुवाइमा विशेष अदालत संवेदनशील नभएको, दोषी उम्किनेक्रम बढेको भन्दै लापरबाही देखिएको अख्तियारको गुनासो छ । अख्तियारले पत्रकार सम्मेलनमार्फत गत साउनयता फैसला भएका १६४ मुद्दामध्ये १४३ वटामा सफाइ दिइएको तथ्यांक प्रस्तुत गरेको छ । सफाइ दिएकामध्ये १२२ वटामा विशेष अदालतविरुद्ध सर्वोच्चमा पुनरावेदन गरिएको छ । 

पुनरावेदन गरिएका मुद्दामा सामाजिक सुरक्षा भत्ता हिनामिना, घुस÷रिसवत, गैरकानूनी सम्पत्ति आर्जन, राजस्व चुहावट, गुणस्तरहीन सामान खरिदलगायतका छन् । ती मुद्दाका प्रतिवादी संख्या २५१ छन् भने ४२ करोड १६ लाख २६ हजार ४६२ रूपैयाँ बिगो छ । अख्तियारले बिगो तथा सजाय मागदाबीसहित मुद्दा दायर गरेकोमा सजाय माग नपुगेको, अनुसन्धान फितलो भएकोलगायतका कारण देखाउँदै विशेष अदालतले सफाइ दिएको बताएको छ ।

पर्सा–४ का उम्मेदवार रिजाललाई आयोगको स्पष्टिकरण

काठमाडौँ । निर्वाचन आयोगले पर्सा– ४ मा प्रतिनिधि सभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाललाई स्ष्टीकरण सोधेको छ । उहाँले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहनुभएका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएको विषयमा आयोगले २४ घण्टाभित्र प्रष्टीकरण दिन भनेको छ ।

आचारसंहिता विपरीतका निर्वाचन प्रचारप्रसार सामग्री हटाएको विषयलाई लिएर उम्मेदवार रिजालले कार्कीलाई धम्की दिएको भनी आयोगमा उजुरी परेको थियो । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) को खण्ड (घ) मा निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन नहुने उल्लेख छ । यस्तो कसूर गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।

बिरामीको मृत्यु भएपछि प्रदर्शनले मेडिकल कलेज जोरपाटीमा तनाव

काठमाडौँ । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त बनेको छ । उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आफन्तले आरोप लगाएका छन् । अस्पतालको मूलगेटमा प्रदर्शन गर्दै उनीहरूले घटनाको छानबिन, उपचपारमा संलग्न चिकित्सकमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । नाराजुलुशसहित प्रदर्शन हुन थालेपछि मेडिकल कलेजमा प्रहरी परिचालन गरिएको छ ।

अपराह्न ५ः११ देखि खग्रास चन्द्रग्रहण

काठमाडौँ । अहिले ग्रस्तोदित खग्रास चन्द्रग्रहण लागि रहेको छ । कार्तिक शुक्ल पूर्णिमामा आज साँझ ०५ बजेर ११ मिनेटमा चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गमा’ मा उल्लेख छ । बेलुकी ०५ बजेर १३ मिनेटमा सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिएको छ ।

बेलुकी ०५ बजेर २७ मिनेटमा ग्रहणको उन्मीलन भएको छ ।  बेलुकी ०६ बजेर ३४ मिनेटमा ग्रहण सकिने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुभयो । ग्रहणको सुतक बार्नेले आज बिहान ०८ ः ११ बजेदेखि भोजन गरेका छैनन् ।

शास्त्रीय रुपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६ ः ३४ मिनेटमा ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उहाँले बताउनुभयो । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।

आर्थिक खबर 
सेयर कारोबार रकम आधा घट्यो, नेप्से १९५६ अंकमा 

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर कारोबार रकम आधाले घटेको छ । हिँजो २ अर्ब १० करोड रुपैयाँको कारोबार भएकोमा आज १ अर्ब ५ करोडमा खुम्चिएको छ । नेप्से परिसूचक पनि २.५ अंक घटेर १९५६ मा कायम भएको छ । ५८ कम्पनीको मूल्य बढ्दा ११४ को घट्यो भने १२ को स्थिर रह्यो । बैंकिङ ३, विकास बैंक ७, होटल ३, जलविद्युत् १२, उत्पादन ३६, माइक्रोफाइनान्स २७ अंक घटे ।

निर्जीवन बीमा २३, अन्य १४, फाइनान्स ४ र जीवन बीमा उपसमूह ९३ अंक बढे । लाइफ इन्स्योरेन्स कर्पोरेसन र गुराँस लघुवित्तको मूल्य ४ प्रतिशत बढ्यो । कालिका लघुवित्तको ५.७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सिटिजन्स बैंक, जल्पा लघुवित्त, रिडी पावर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे । 

५७ मेगावाटको म्याग्दी खोला आयोजना बनाउन ४ बैंक र सञ्चय कोषले ऋण दिने

काठमाडौँ । म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणको लागि कर्मचारी सञ्चय कोष र ४ वाणिज्य बैंकले करिब ८ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच हाइड्रो भिलेजले निर्माण गर्न लागेको ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजना निर्माणको लागि ८ अर्ब ऋण लगानीबारे सम्झौता भएको हो । कुल १० अर्ब ७४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नेपाल बैंकको अगुवाईमा मेगा बैंक, कृषि विकास बैंक, कर्मचारी सञ्चय कोष र नेपाल एसबीआई बैंकले लगानी गर्ने सहमति भएको हो ।

आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको १२.५० घनमिटर प्रति सेकेण्ड बहाव प्रयोग गरी ५७.३ मेगावाट क्षमतामा विद्युत् उत्पादन गर्ने कम्पनीले जनाएको छ । म्याग्दी खोला जलविद्युत् आयोजनामा आगामी सुक्खायामदेखि मुख्य सिभिल संरचनाको निर्माण थालनी गरिने कम्पनीले जनाएको छ । आयोजना निर्माण थालनी भएको ४० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 
 

विदेशका खबर 
अमेरिकामा आज संसदीय निर्वाचन हुँदै

काठमाडौँ । अमेरिकामा आज संसदीय निर्वाचन हुँदैछ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्य मध्ये ३५ जना चुनिनेछन् ।निर्वाचनबाट विपक्षी रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।

सिनेट भने कसको कब्जामा पुग्छ भन्ने बारेमा पूर्व आंकलन गर्न सकिने अवस्था नरहेको जनाइएको छ । मतदानकै दिनसम्म राष्ट्रपति जो बाइडेनसहित पूर्व राष्ट्रपति बाराक ओबामा सत्तारुढ डेमोक्रेट पार्टीको प्रचारमा जुटेका छन् भने रिपब्लिकनका चुनावी ¥यालीहरुको अगुवाइ पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले गर्नुभएको छ ।

अमेरिकामा राष्ट्रपतिकार्यकालको पहिलो वर्षको अन्तिमतिर मध्यवर्ती निर्वाचन हुने भएकाले यो निर्वाचनलाई राष्ट्रपतिको लोकप्रियता मापन गर्ने माध्यमका रुपमा पनि लिने गरिएको छ ।डेमोक्रेट पार्टीले चुनाव हार्ने प्रक्षेपण भईरहेका बेला राष्ट्रपति बाइडेनले भने आवधिक चुनाव जनमत संग्रह हुन नसक्ने भन्दै जनतालाई विकल्प छान्ने अवसरको रुपमा मात्रै लिनुपर्ने बताउनुभएको छ ।
 

खेल खबर
कर्णालीमाथि आर्मीको जित, प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पूरा

काठमाडौँ । निर्णायक कर्णाली प्रदेशलाई १४० रनले पराजित गरी विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट एपीएफ यसअघि नै समूह विजेताका रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ । आज कर्णालीलाई हराएपछि आर्मीले ३ खेलबाट ६ अंक जोडेर समूह उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको हो । 

यो खेलमा कर्णाली विजयी भएको अवस्थामा गण्डकीले ऐतिहासिक सेमिफाइनल यात्रा तय गर्ने थियो । योसँगै प्रधानमन्त्री कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेता एपीएफ र ‘बी’को उपविजेता मधेश प्रदेश तथा समूह ‘बी’को विजेता नेपाल पुलिस र ‘ए’को उपविजेता आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल खेलहरु बिहीबार हुनेछन् । 

एपीएफ र मधेशले त्रिवि मैदान र पुलिस र आर्मीले मूलपानी मैदानमा खेल्ने तालिका छ । मूलपानी मैदानमा २५५ रनको लक्ष्य पछ्याएको कर्णली प्रदेश २८.३ ओभरमा ११४ रनमै समेटियो । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रनको योगफल खडा गरेको थियो । 

त्यस्तै नेपाल पुलिसले मधेश प्रदेशमाथि १९१ रनको फराकिलो जित निकाल्दैसमुह विजेता बनेको छ । यसअघि नै सेमिफाइनलमा पुगेका दुई टिमबीच समूहको विजेताका लागि प्रतिस्पर्धा भएको थियो । यो नतिजासँगै पुलिस समूह ‘बी’को विजेता बनेको छ । त्रिबि क्रिकेट मैदानमा २७४ रनको लक्ष्य पछ्याएको मधेश २८.३ ओभरमा ८२ रनमा अलआउट भयो । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले मध्यक्रमका चार ब्याटरको अर्धशतक सहयोगमा २७३ रनको योगफल खडा गरेको थियो । पुलिस टिम ४९.१ ओभरमा अलआउट भएको हो ।