Live Streaming

अन्नपूर्ण दिनभर : भारतसंग छलफल गरेर नेपाली भुमी फिर्ता ल्याउनुपर्ने देउवाको भनाइ

अन्नपूर्ण भारतसंग छलफल गरेर नेपाली भुमी फिर्ता ल्याउनुपर्ने देउवाको भनाइ,मोरङ ३ को १ मा नयाँ निर्वाचन तालिका सार्वजनिक

भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्छ  देउवा

काठमाडाैँ  । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुरा गर्नुपर्ने बताउनुभएको छ । एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले संसद्ले एकमतले नेपालको नक्सामा राखेको भूमिलाई लिएर राजनीति गर्नुभन्दा पनि भारतसँग वार्ता गरेर फिर्ता ल्याउनुपर्ने बताउनुभएको हो । 

दार्चुलाको गोकुलेश्वरमा आज आयोजित कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले भारतीय नियन्त्रणमा रहेको नेपाली भूमि फिर्ता ल्याउन सबै एकमत रहेको बताउनुभयो ।

कालापानी, लिपुलेक र लिम्पियाधुराबारे एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रम फैलाएको पनि प्रधानमन्त्री देउवाको भनाइ थियो । त्यसकै जवाफमा प्रधानमन्त्री देउवाले नक्सामा राखेको भूमिलाई फिर्ता ल्याउन भारतसँग छलफल गर्नुपर्ने बताउनुभएको हो । 


नेपालको भूमि फिर्ता ल्याउन सबै राजनीतिक दल एकमत रहे पनि एमाले अध्यक्ष ओलीले राजनीति गरिरहेको र आफूले मात्रै नक्सामा भूमि राखेको भनेर भ्रम फैलाएको देउवाको भनाइ थियो । 


त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो भूमि फिर्ता ल्याउन नसक्ने कायर भएको टिप्पणी गर्नुभएको छ । दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले अध्यक्ष ओलीले चुच्चे नक्सा नल्याएको बताउनुभयो ।


ओलीले चुनावको लागि गोहीको आशु झार्दै हिँडेको आरोप लगाउँदै प्रचण्डले ओलीले आफूलाई बहुमत दिनुस् भनेर हिँड्दा आफूलाई लाज लागेको टिप्पणी गर्नुभयो । उहाँले ओलीले कम्युनिष्ट आन्दोलनलाई धराशायी पारेको र ओली दुई पटक आफ्नै प्रस्तावमा प्रधानमन्त्री भएको समेत बताउनुभयो ।


कार्यकर्तालाई ओलीको निर्देशन : गठबन्धन सरकारले दुष्कर्म गर्नसक्छ, 
काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मतको रक्षा गर्न आग्रह गर्नुभएको छ । झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले कानूनविपरीत जस्तो पनि गतिविधि गर्नसक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो । 


मोरङ–३ को नयाँ निर्वाचन तालिका सार्वजनिक, मंसिर ४ मै मतदान

काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनअन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं ३ को (क) मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि आज आयोगले कांग्रेसका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो । 

अब नेपाली कांग्रेसले नयाँ उम्मेदवार खडा गर्नुपर्नेछ । आयोगको निर्णयअनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि असोज २३ देखि निर्वाचन कार्यक्रम सञ्चालन भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान भइसकेको अवस्था रहेको आयोगले जनाएको छ । मनोनयनकै दिनदेखि निमोनियाका कारण बिरामी परेका थापा नोबेल मेडिकल कलेजमा उपचाररत रहनुभएको थियो । उपचारकै क्रममा डेंगु संक्रमण पनि भएपछि उहाँको  आज बिहान १०ः३० बजे निधन भएको हो । 

स्याङ्जा २ को १ का एस उम्मेदवार भट्टराईले गरे उम्मेदवारी निस्क्रिय

काठमाडाैँ । । स्याङ्जाको प्रतिनिधिसभा क्षेत्र नं. २ को १ मा प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादी तर्फका उम्मेदवार रामचन्द्र भट्टराईले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । उम्मेदवारी दर्ताको ठिक एक महिनापछि उहाँले आफनो उम्मेदवारी निस्क्रिय बनाएको घोषणा गर्नुभएको हो ।

नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालको निर्देशन र आफ्ना नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको रायसुझाव बमोजिम आफ्नो उम्मेदवारीलाई निस्क्रिय पारेको आज जारी प्रेसविज्ञप्ति मार्फत् जानकारी गराउनुभएको छ ।  आसन्न निर्वाचनका लागि स्याङ्जा क्षेत्र नम्बर २ (क) मा अब ५ राजनीतिक दलबीच प्रतिस्पर्धा हुने भएको छ । 

यता मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ प्रदेशसभा (२) का समानुपातिकतर्फका उम्मेदवार कुमार बल, रामकुमारी घलान र जानुकी लामाले उम्मेदवारी निष्क्रिय गर्नुभएको छ ।

उहाँहरूले अब गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहनुभएका नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने हुनुभएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बल, घलान र लामाले उम्मेदवारी फिर्ता लिँदै बानियाँलाई समर्थन गरेको बताउनुभयो । 

सत्ता पक्ष र विपक्ष गठबन्धनको दाबी : हामीले नै बहुमत ल्याउँछौ
काठमाडाैँ । निर्वाचनको मिति नजिकिएसंगै अहिले उम्मेदवारहरू मतदाता रिझाउन प्रयाशरत छन् । आसन्न निर्वाचनमा देशभर मुलतः नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको अर्को गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुदैँछ । सत्ता गठबन्धनका दल र उम्मेद्वारले गठबन्धनका कारण आफ्नो जित सुनिश्चित भैसकेको तर्कै गर्दै आएका छन् भने एमालले एक्लै बहुमत ल्याउने दाबी गरेको छ ।  
डोटीमा २०० बढि पराकम्प
काठमाडाैँ । डोटीमा गएरातीको शक्तिशाली भूकम्पपछि सुदूरपश्चिममा २०० वटा परकम्प गएका छन् । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शमाका अनुसार आज दिउँसोेसम्म २०० वटा परकम्प गइसकेका बताउनुभएको हो ।

शर्माका अनुसार गएराति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ र राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ तथा आज बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पछि परकम्प आइरहेकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैसँग आग्रह गरेको छ । गएरातीको भूकम्पले डोटीमा ६ जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेको देखिएको छ । भूगर्वविद्हरुले पनि गोरखादेखि पश्चिममा महाभूकम्पको जोखिम औँल्याएका छन् । 

रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यूअफ द डे मा कुराकानी गर्दै भूगर्वविद् तारानिधि भट्टराईले हिमाली क्षेत्रमा १०० बर्षको अन्तरालमा ८ रेक्टरस्केलभन्दा माथिको भूकम्प आउनुपर्ने भएपनि पश्चिमि क्षेत्रमा १०० बर्षयता त्यसो नभएको बताउनुभएको छ ।

भट्टराईले ८ रेक्टरस्केलभन्दा माथिको भूकम्पका लागि पश्चिम तयार हुनुपर्ने अवस्था आएको पनि बताउनुभयो । अहिलेदेखि नै सरकार र सर्वसाधारणहरुले भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड दिनुपर्ने उहाँको भनाइ छ । 


राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु

काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचारप्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ । निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले निर्वाचन आयोगबाटै पत्र आएपछि त्यसलाई सूचना मानेर थप कागजात मगाएका बताउनुभयो । केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरु नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । 

नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो । आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए । अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारीस्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगवारे समेत निगरानी थालेको दाबी गरेको छ । 

सबै प्रदेशस्तरीय कार्यालयहरुमा उजुरी संकलन र त्यसका आधारमा कागजात मगाएर थप छानबिन गर्न निर्देशन गएको आयोगका एक महाशाखा प्रमुखले बताउनुभयो । राज्यकोषको दुरुपयोगको विषयमा भने निजामती वा सम्बन्धित निकायका कर्मचारीमात्रै छानबिनका दायरामा पर्छन् । 

निर्वाचन वा मनोनयनबाट नियुक्त संघीय तथा प्रदेश तहका जनप्रतिनिधीलाई सरकारी रकम खर्च गर्ने अधिकार हुदैन । सम्बन्धित कार्यालयको लेखा उत्तरदायी अधिकारीहरुले नै यसको जिम्मेवारी लिनुपर्ने नियम छ ।

भूकम्पका दुई जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो,६ जनाको मृत्यु

काठमाडाैँ । भूकम्पमा परि घाईते भएका डोटीका दुई जनालाई हेलिकप्टरमार्फत धनगढी ल्याइएको छ । जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइ्एको हो । पूर्वीचौकी गाउँपालिका–३ की ४० बर्षीया चना बोहरा र ५० वर्षीया बिष्ना बोहरालाई रिफर गरिएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. निराजन श्रेष्ठले जानकारी दिनुभयो । 


भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा घर भत्किँदा पुरिएर उनिहरुको मृत्यु भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान २ बजेर १२ मिनेटमा डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको हो । उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेन्ट समेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको सेनाले जनाएको छ । भूकम्पका कारण ग्रामीण भेगका दर्जनौँ घर भत्किनुका साथै सायल गाउँपालिका क्षेत्रमा ठाउँ–ठाउँमा पहिरो गएको छ । 

त्यस्तै खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर गएराति गएको भूकम्पका कारण बझाङका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ घरमा क्षति पुगेको छ । ३८ घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

यसैबिच, प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएकाका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । गृहमन्त्री बालकृष्ण खाणले पनि भूकम्पमा परी घाइते भएकाहरूको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो । 


विरोध खतिवडालाई झापड हान्ने खड्का रिहा

काठमाडाैँ  । भोट माग्नेक्रममा मकवानपुरको मनहरी पुगेका सत्तागठबन्धनको नेकपा एसका उम्मेदवार विरोध खतिवडालाई झापड हान्ने पुरुषोत्तम खड्का रिहा भएका छन् ।

हिँजो मनहरी गाउँपालिका ४ गोलघरस्थित चुनावी कार्यक्रममा पुगेका नेता खतिवडालाई खड्काले झापड हानेका थिए । बुधबार खतिवडाले खड्कालाई कुनै कारबाही नगरी रिहा गर्न प्रहरीलाई आग्रह गरेसँगै खड्का रिहा भएको जनाइएको छ । खड्कालाई आफन्तको जिम्मा लगाइ छाडिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

स्वतन्त्रता सेनानी सापकोटाको निधन

काठमाडाैँ । नेपाली कांग्रेसका पुराना नेता तिलकप्रसाद सापकोटाको आज भरतपुरस्थित अस्पतालमा ८० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वास समस्याबाट ग्रसित सापकोटालाई हिँजो अपराह्नमात्रै अस्पताल लगिएको थियो ।

राजनीतिक अभियोगमा २०४० सालदेखि रुपन्देही, पाल्पासहितका जेलमा ४ वर्ष बन्दी जीवन बिताएका सापकोटा कांग्रेसमा २०१५ सालदेखि सक्रिय रहनुभएको थियो ।

नेपाली कांग्रेसले सधैं उपेक्षा गरेका स्वतन्त्र सेनानीका रुपमा चिनिने सापकोटाले २०४० सालदेखि निरन्तर लेखिरहेको दैनिकीको संस्मरण कृति ‘यात्रा निरन्तर’ सांग्रीला बुक्सले गत वर्ष प्रकाशित गरेको थियो । 
  

आर्थिक खबर 
सरकारले तोक्यो धानको न्यूनतम समर्थन मूल्य

काठमाडाैँ । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कात्तिक १६ गतेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष  २०७९÷८० को लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ९ सय ६७ रुपैयाँ तोकेको हो । यो मूल्य पोहोरको तुलनामा २१५ रुपैयाँ बढी हो । त्यस्तै मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ तोकिएको छ । यो मूल्य गत वर्षको तुलनामा २२६ रुपैयाँ भन्दा बढी हो । 

सरकारले गत आर्थिक वर्ष २०७८-७९ को लागि मोटा धानको न्यूनतम समर्थन मूल्य २ हजार ७ सय ५२ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ९ सय २ रुपैयाँ तोकेको थियो । कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले न्यूनतम समर्थन मूल्य अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीबाट धान खरिद हुने व्यवस्था रहेको बताउनुभयो । त्यस्तै, न्यूनतम समर्थन मूल्यमा कृषि सहकारीमार्फत् धान खरिद गर्न ३३ करोड रुपैयाँ बजेट व्यवस्था रहेको उहाँको भनाई छ । 

नियमविपरीत ऋणीबाट असुलेका रकम फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन
 

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिएको छ । नियमविपरीत ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकहरूले साधारणसभा गर्न नपाउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले जानकारी दिनुभयो । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने प्रावधानअनुसार यही पुस मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले साधारणसभा गर्नुपर्ने र त्यसका लागि बैंकहरूले आफ्नो वित्तिय विवरणसहित केन्द्रीय बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था छ । 

सोही व्यवस्थाअनुसार बैंकहरूले पठाएको वित्तिय विवरण अध्ययनबाट सबै वाणिज्य बैंकको गरी साढे ३ अर्बभन्दा बढी रकम नियमविपरीत ऋणीबाट असुलेको अनुमान गरिएको प्रवक्ता भट्टले बताउनुभयो । उहाँका अनुसार हालसम्म ११ वटा बैंकले १ अर्ब ८५ करोड रूपैयाँ बढी लिएको देखिएको छ । बैंकहरूको वित्तिय विवरण अध्ययनकै क्रममा रहेकाले नियमविपरीत असुल गरेको रकम अझै बढ्ने डा. भट्टको भनाइ छ ।

सोही रकम फिर्ता गर्न सम्बन्धित बैंकहरूलाई निर्देशन दिएको उहाँले बताउनुभयो । कुनै पनि ऋणीलाई ऋण सम्झौताभन्दा अतिरिक्त किस्ता असुल गर्न नपाइने व्यवस्था छ तर ब्याजको आधारदर परिवर्तन भएको अवस्थामा भने ३ महिनामा १ पटकमात्र ब्याज परिवर्तन गर्न पाइने व्यवस्था भए पनि केही बैंकले ब्याजको आधारदर मात्र नभई किस्ताको दरसमेत बढाएर ब्याज असुल गरेका पाइएको प्रवक्ता भट्टले जानकारी दिनुभयो । 

३९.१५ अंकले घट्यो नेप्से परिसूचक

काठमाडाैँ । गत सोमबारदेखि ओरालो लाग्न थालेको नेप्से परिसूचक आज पनि उच्च अंकले गिरावट भएको छ । आज नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा झरेको हो ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६८ अंकले र सेन्सेटिभ इण्डेक्स २.७९ अंकले घटेको छ । आज कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ९७ हजार कित्ता शेयर १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । 

आज नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये वित्त उपसमूहको परिसूचक ४.७३ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३.१८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन, जलविद्युत,अन्य, लघुवित्त र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडाैँ । सरकारले आउँदो मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेटमा तय गरेको लक्ष्यअनुसार पहिलो चरणमा मंसिर र पुसमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । 

दोस्रो त्रैमासमा (मंसिरमा) आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले बोलकबोल तालिका सार्वजनिक गरेको छ । मंसिर १३ देखि पुस ६ गतेसम्म ३० अर्ब संकलन गरिसक्ने तालिकामा उल्लेख छ ।

जसअनुसार ३६४ दिने ट्रेजरी बिलमार्फत १५ अर्ब र दुई, तीन, चार वर्षे विकास ऋणपत्र मार्फत १५ अर्ब गरी कुल ३० अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरिनेछ । उल्लिखित आन्तरिक ऋणको ब्याजदर बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ । लामो समयदेखि वित्तीय प्रणालीले तरलता अभावको समस्या भोग्दै आएको छ ।

अपेक्षित रुपमा निक्षेप संकलन हुन नसकेपछि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (लोनेवल फण्ड) को अभाव छ । निक्षेपमा कमी आउन थाले पनि बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाएर मुद्दती निक्षेपमा १२.१३३ प्रतिशतसम्म पु¥याएका छन् । यही बेला सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । 
विदेशका खबर 

अमेरिकामा मध्यावधि निर्वाचन 

काठमाडाैँ । । अमेरिकामा मध्यावधि चुनावको मतगणना अधिकांश स्थानमा सकिएको छ । ताजा अवस्थामा माथिल्लो सदनमा एकसय सिटमा डेमोक्रयाटले ४८ र रिपब्लिकनले ४७ स्थानमा जित निकालेका छन् । तल्लो सदनमा ४३५ सिटका लागि भएको निर्वाचनको प्ररम्भिक नतिजा हेर्दा डेमोक्र्याटले १७३ र रिपब्लिकनले १९९ स्थानमा जितेको छ ।

माथिल्लो सदन सिनेट तथा तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभसहित विभिन्न राज्यका गभर्नर, राज्य संसदसहितका लागि अमेरिकी नागरिकले मतदान गरेका हुन् । प्रारम्भिक नतीजालाई हेर्दा पनि तल्लो सदनमा रिपब्लिकन पार्टीले बहुमत हाँसिल गर्ने प्रक्षेपण गरिएको छ ।

तल्लो सदनका  सन् २०२४ मा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीका सम्भावित उम्मेदवारका रूपमा हेरिएका सन डिसान्टस फ्लोरिडाको गभर्नरमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले राष्ट्रपति उम्मेदवार बन्नका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने ठानिएको छ । 

अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी

काठमाडाैँ । अमेरिकी विधानसभा निर्वाचनमा नेपाली मूलका दुई जना विजयी भएका छन् । नेपाली मूलका डा.ह्यारी भण्डारी र सराहना श्रेष्ठले विधानसभा निर्वाचनमा विजय हासिल गर्दै विधानसभा सदस्य बनेका हुन् । श्रेष्ठ न्युयोर्क राज्य विधानसभा सदस्यको उम्मेदवार बन्नुभएको थियो ।  

डेमोक्रयाट उम्मेदवार उहाको विजय भएसँगै उहाँ अमेरिकामा राज्यस्तरीय विधान सभा सदस्य अर्थात् सांसदमा विजयी हुने दोस्रो र महिला तर्फ भने पहिलो नेपाली मुलकी अमेरिकी हुनुभएको छ । उहाँले सम्पन्न मतपरिणाममा  ३५ हजार ४९३ मत प्राप्त गर्र्नुुभएको थियो ।

यस्तै मेरिल्याण्ड राज्य विधानसभामा डा.ह्यारी भण्डारी  विजयी हुनुभएको छ । उहाँले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिनुभएको छ । डा.भण्डारीको निर्वाचन क्षेत्रमा १ लाख २८ हजार भन्दा ज्यादा जनसंख्या रहेको छ भने मतदाता मात्रै १ लाख भन्दा ज्यादा रहेका छन् ।                       

खेल खबर
पाकिस्तान टी–२० विश्वकपको फाइनलमा


काठमाडाँ । न्युजिल्यान्डमाथि शानदार जित हात पार्दै पूर्व विजेता पाकिस्तान जारी टी–२० विश्वकपको फाइनलमा पुगेको छ । अस्ट्रेलियामा आज भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गयो ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डलाई एक सय ५२ रनमा सीमित गर्दै पाकिस्तानले जितको आधार सहज बनाएको थियो । 

त्यसपछि प्रारम्भिक ब्याट्सम्यानद्वय बाबर आजम र मोहम्मद रिजवानले शानदार ब्याटिङ गरे। उनीहरूले पहिलो विकेटका लागि १२.४ ओभरमा १०५ रनको साझेदारी गरेका थिए ।

विकेटकिपरसमेत रहेका रिजवानले ५७ रन बनाउँदा कप्तान आजमले ५३ रन बनाए ।  पछिल्लो समय लयबाहिर देखिएका आजमले शानदार ब्याटिङ गरे ।

४२ बलमा ७ चौका प्रहार गरेका आजमले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३० औँ अर्धशतक बनाएका हुन् । जारी विश्वकपमा उनको यो पहिलो अर्धशतक हो । यस्तै रिजवानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २३ औँ अर्धशतक बनाएका हुन् । 

यस्तै मोहम्मद ह्यारिसले ३० रन बनाए । त्यसअघि न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ५२ रन जोड्यो । न्युजिल्यान्डका लागि डेरी मिचेलले सर्वाधिक ५३ रन बनाए। कप्तान केन विलियमसनले ४६ रन जोडे ।

पाकिस्तान टी–२० विश्वकपमा तेस्रो पटक फाइनल पुगेको हो । यसअघि सन् २००७ मा आयोजना भएको पहिलो संस्करणको उपाधि भिडन्तमा भारतसँग पराजित भएको पाकिस्तान त्यसको दुई वर्षपछि आयोजित दोस्रो संस्करणमा श्रीलङ्कालाई हराएर विश्व च्याम्पियन बनेको थियो ।

अब पाकिस्तानले भारत र इङ्ल्यान्डबीच बिहीबार हुने खेलको विजेतासँग उपाधि भिडन्त गर्ने छ । फाइनल आगामी आइतबार हुने छ ।