Live Streaming

अन्नपूर्ण दिनभर : भावी प्रधानमन्त्रीमा माधव नेपालको दावी, लाईभ डिवेटबाट गठबन्धनका नेताहरु भागेको ओलीको टिप्प्णी



मतदानलाई समावेशी, लैंगिक र अपांगमैत्री बनाउन निर्वाचन आयोगको निर्देशन

काठमाडौ । निवार्चन आयोगले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मतदानलाई समावेशी, लैंगिक र अपांगतामैत्री बनाउन निर्देशन दिएको छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचत अधिकृत र निर्वाचत अधिकृतमार्फत मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई आयोगले यस्तो निर्देशन दिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपाङ्गता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताको लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताको लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्न निदेशनमा उल्लेख गरिएको छ । 

मोरङ–३ को १ मा कांग्रेसबाट मानबहादुर लिम्बूको उम्मेदवारी दर्ता

काठमाडौ । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट बाट मानबहादुर लिम्बूले मनोनयन दर्ता गराउनुभएको छ । पार्टीले टिकट दिएपछि लिम्बूले बेलबारीस्थित निर्वाचन कार्यालयमा पुगेर आज मनोनयन दर्ता गराउनुभएको छ ।

केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्वसभापतिसमेत रहनुभएका लिम्बू बेलबारी–८ का बासिन्दा हुनुहुन्छ । सो क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको हिँजो निधन भएपछि त्यहाँ कांग्रेसले नयाँ उम्मेदवार चयन गरेको हो ।

तर सो क्षेत्रमा लिम्बूलाई उम्मेदवार बनाएपछि केही नेता–कार्यकर्तामा असन्तुष्टी देखिएको छ । शेखरचन्द्रकी पत्नी लक्ष्मीलाई उम्मेदवार बनाउन माग गर्दै आयोग कार्यालयअगाडि कांग्रेस पथरी नगर कमिटीका नेताहरूले विरोध जनाएका थिए । असन्तुष्ट कार्यकर्ताहरूले थापाप्रति अन्याय भएको गुनासो गरेका छन् ।

निर्वाचन आयोगले कांग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि नयाँ कार्यतालिका प्रकाशन गरेको थियो । यहाँ एमालेले दीलिप राईलाई अघि सारेको छ ।

नो नट अगेनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौ । सर्वोच्च अदालतले सामाजिक सञ्जालमा सञ्चालित नो नट अगेन अभियानलाई कारबाही अघि नबढाउन यसअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । आज न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघि कात्तिक २० मा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । 

उम्मेदवारहरुविरुद्ध लाञ्छनायुक्त अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्राचार गरी नो नट अगेन पेजमार्फत दलका नेताविरुद्ध हुने अभिव्यक्ति र आक्रोशजन्य सामग्रीको अनुगमन गर्न आग्रह गरेको थियो ।

र नो नट अगेन पेजलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्नसमेत आयोगले आग्रह गरेको थियो । निर्वाचन आयोगले नो नट अगेन अभियान विरुद्ध जारी गरेको आदेश र निर्देशनले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै वरिष्ठ अधिवक्ता  दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

कात्तिक २० मा न्यायाधीश फुयालको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिँदै आज लागि दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

गठबन्धन दललाई ओलीको प्रश्न : चुनावपछि कसको घोषणापत्र कार्यान्वयन गर्छौ ?

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि गठबन्धन दललाई कुन घोषणापत्र कार्यान्वयन गर्ने भनेर प्रश्न गर्नुभएको छ । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमाले मात्रै एउटा कार्यक्रम लिएर देश बनाउने नीतिका साथ अगाडि बढेको बताउनुभयो ।

उहाँले आगामी चुनावपछि फुटेको हाँडीजस्तो चारतिर फर्केका मुुखहरु लिएर अब सरकार नबनाउने पनि बताउनुभयो । एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने ओलीको जिकीर छ । 

यस्तै, ओलीले आफूले सार्वजनिक बहस (लाइभ डिबेट) गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको टिप्पणी गर्नुभएको हो । गठबन्धनका नेताहरूसँग बहस गर्ने अजेन्डा नभएकाले भागेको ओलीले आरोप लगाउनुभयो । 

एमालेले देशमा विकासको लहर ल्याएको बताउदै ओलीले आफ्नो सरकारले गरेका अपूरा काम पूरा गर्न पनि एमाले सरकारमा आउनै पर्ने बताउनुभयो । ओलीले चुनावपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी पनि गर्नुभयो । 

आर्थिक क्रान्ति गर्न गोरखा उपयुक्त ठानेको छु : प्रचण्ड

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताउनुभएको छ ।

आज जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनको तयारी गोरखाको भूगोलबाट गरेको बताउनुभयो ।

उहाँले विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरी दिने बताउनुभयो । आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँको भनाइ छ । 

भावी प्रधानमन्त्रीमा नेपालको दाबी

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भावी प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको कार्यक्रम द न्यूज मेकरमा बोल्दै उहाँले आफु विगतमा असल प्रधानमन्त्री भइसकेको र आगामी दिनमा समेत त्यसको प्रबल सम्भावना रहेको दावी गर्नुभयो । 

रौतहट १ बाट प्रतिनिधिसभा उम्मेदवार रहनुभएका नेपालले अहिलेको गठबन्धनले जिते मात्र देशले निकास पाउने बताउनुभयो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र सिध्याउने खेलमा लागेर राजावादीहरु सँग साँठगाँठ गरेको उहाँको आरोप छ । 

काठमाडौं १ मा के छ अवस्था?

काठमाडौ । देशको सुुगम निर्वाचन क्षेत्र समेत भनेर चिनिने काठमाडौं–१ मा यसपटक नयाँदेखि पुराना उम्मेदावारहरुबीच व्यवस्था बदल्नेदेखि राख्नेसम्मको वहशका वीच चुनावी प्रतिस्पर्धा भइरहेको छ । २०५१ सादेलखि देखि निरन्तर चुनाव लड्दै आउनुुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अहिलेपनि चुनावी प्रतिस्र्धामा हुनुहुन्छ ।

उहाँलाई पूर्व प्रतिस्पर्धी रवीन्द्र मिश्रले यसपटक पनि चुनौती दिइरहदा अन्य स्वतन्त्र तथा नयाँ अनुहारहरले समेत चनौती दिएका छन् । सो क्षेत्रमा कस्को अवस्था के छ त? 

दाङमा प्रतिनिधिसभाका दुई उम्मेदवार एमाले प्रवेश

काठमाडौ । दाङको क्षेत्र नं २ र ३ मा प्रतिनिधिसभाका दुई जना उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । मौलिक जरोकिलो पार्टीबाट क्षेत्र नं २ का उम्मेदवार रामचन्द्र खड्का र नेपाली जनमुक्ति पार्टीबाट क्षेत्र नं ३ का उम्मेदवार कृष्णवीर नेपाली एमाले प्रवेश गर्नुभएको हो ।

दुवै जनाले आज विज्ञप्ति जारी गरेर एमाले उम्मेदवार शंकर पोखरेल र कोमल वलीलाई समर्थन गर्ने घोषणा गर्नुभएको छ । खड्का र नेपालीलाई आजै एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गर्नुभएको छ ।

दुवै जनाले एमालेका उम्मेदवारलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन सवै मतदातामा अपीलसमेत गर्नुभएको छ । दाङ क्षेत्र नं २ मा एमालेका महासचिव पोखरेल र क्षेत्र नं ३ मा केन्द्रीय सदस्य कोमल वली उम्मेदवार रहनुभएको छ । 

नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा छ : राष्ट्रपति भण्डारी

ठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताउनुभएको छ । आइसल्याण्ड भ्रमणमा रहनुभएकी राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरूलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको पनि बताउनुभएको छ ।

आइसल्यान्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरूको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै उहाँले नेपालले संघीय र प्रादेशिक विधायिकाहरूमा एक तिहाई महिलाहरूको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको स्मरण गराउनुभयो । 

समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छ : कार्यवाहक राष्ट्रपति पुन

काठमाडौ । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधरणसभालाई आज सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभएको हो । उहाँले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भई निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताउनुभयो । 

अख्तियारले न्यायिक स्वतन्त्रतामा आघात पु¥याएको बारको ठहर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पु¥याएको भन्दै नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ । आयोगले आज पत्रकार सम्मेलन गरेर अख्तियारले आफू अनुकुलको फैसला गर्न दबाव दिएको भन्दै आपत्ति जनाएको हो ।

अख्तियारले २२ गते पत्रकार सम्मेलन गरेर विशेष अदालतबाट भएका फैसलाप्रति असन्तुष्टि जनाएको थियो । बारका कार्यबाहक अध्यक्ष हर्कबहादुर रावलले आफ्नो क्षेत्रधिकारको समेत ख्याल नगरी ‘अदालतबाट न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुयाउने कार्य गरेको बताउनुभयो ।

न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषा शैलीको प्रस्तुति उचित नभएको भन्दै बारले विधिको शासनको पालना गर्न ध्यानाकर्षण समेत गराएको छ ।

भ्रष्टाचारको आरोपमा मुद्दा दायर

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी होमनाथ खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोही लगत कट्टा गर्नका लागि सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा खतिवडा पक्राउ परेका खतिवडाविरुद्ध भ्रष्टाचार सम्वन्धि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

घुसवापतको रकम रु पाँच हजार मात्रै भए पनि खानतलासी गर्दा उनको साथमा तीन लाख १८ हजार छ सय रुपैयाँ भेटिएको थियो । पक्राउका क्रममा बरामद भएको रकममध्ये दुई लाख ६१ हजार रुपैयाँको स्रोत नखुलेको पाइएपछि सोही बमोजिमको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

यस्तै आयोगले माछापोखरी ठेक्का, शैक्षिक सामग्री हस्तान्तरण, मोटरसाइकल खरिदलगायतका विषयमा अनियमितता गरेको अभियोगमा रुपन्देही ओमसतिया गाँउपालिकाका तत्कालीन अध्यक्षसहित सात जनाविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

डेंगुबाट थप दुईजनाको मृत्यु

काठमाडौ । नेपालमा डेंगु संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार नेपालमा थप २ जनाको डेंगुबाट मृत्यु भएको हो । योसँगै गत साउनयता नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ । यस्तै हालसम्म नेपालमा यो वर्ष डेंगुबाट संक्रमित हुनेको संख्या ५१ हजार १७७ जना पुगेको छ ।

डेंगु संक्रमण साउनदेखि अहिलेसम्म सातैवटा प्रदेशका ७७ वटा जिल्लामा पुगिसकेको छ । साउनको पहिलो हप्ता ललितपुरबाट फैलिएको डेंगुबाट यो वर्ष काठमाडौं उपत्यकामा सबै भन्दा धेरै बिरामी देखिएका थिए ।
सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

काठमाडौ । संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

२३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ । भौतिक क्षतिको विवरण आइसकेको छैन । 

सेयर बजारमा २३.५३ अंकको गिरावट

काठमाडौ । सोमबारदेखि लगातार घट्दो क्रममा रहेको सेयर कारोवार मापक नेप्से परिसूचक आज पनि घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २३.५३ अंकले गिरावट हुँदा १ हजार ९९३.७० अंकमा पुगेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन २ प्रतिशत भन्दा माथिको वृद्धि भएको नेप्से सोमबार र मंगलबार एकल अंकको सामान्य गिरावट भएको थियो । 

हिजो २ प्रतिशतले गिरावट आएको नेप्सेको घट्दो ग्राफ आजपनि कायम रह्यो । नेप्सेसँगै सबै उपसूचका गिरावट हुँदा कारोबार रकम १ अर्बमा सीमित भएको छ । बिहीबार नेप्सेमा ३१ लाख १४ हजार ६८९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ११ करोड ९४ लाख ६१ हजारको कारोबार भएको छ ।

जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १० करोड २२ लाख ३५ हजारको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ५८ लाख २६ हजार र युनाइटेड मोदी हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजारको कारोबार भएको छ । 

ब्याजदर बढाएपछि जनकपुरका व्यवसायी आन्दोलित

काठमाडौ । अर्थतन्त्र मन्दीमा गइरहेका बेला बैंकहरुले नीतिगत दरमार्फत ब्याजदर बढाएको भन्दै जनकपुरधामका व्यवसायी  आन्दोलित भएका छन् । आज जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा बैंक तथा वित्तीय समस्या समाधानार्थ व्यवसायीहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् । वर्ष दिनमै ब्याजदर दोब्बरले उक्लिएपछि धान्नै नसक्ने अवस्था आएकोले आन्दोलित हुनुपरेको जकपुरधाम उद्योग वाणिज्य संघका महासचिव मनोज साहले बताउनुभयो । उनीहरुले ब्याजसँगै चालु पुँजी कर्जा नीतिको पनि चर्को विरोध गरेका छन् । 

विदेशका खबर
अमेरिकी मध्यावधि चुनाव
 

काठमाडौ । अमेरिकामा मध्यावधि चुनावको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । अमेरिकी संसद अर्थात् कांग्रेसमा प्रभुत्व जमाउन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र वर्तमान राष्ट्रपति जो बाइडेनका दलहरूबीच कडा प्रतिस्पर्धा भइरहेको छ । मतगणना जारी रहँदा रिपब्लिकन पार्टीले हाउस अफ रिप्रिजेन्टेटिभमा बहुमत हासिल गरेको छ तर सिनेटका लागि भने संघर्ष जारी छ ।

डेमोक्र्याटहरूले सिनेट, पेन्सिल्भेनियामा एक प्रमुख सीट जितेका छन्, तर बाँकी दुई सीटहरूको लागि प्रतिस्पर्धा एकदमै नजिक छ र एउटा सिटको लागि चुनाव अर्को महिनासम्म तानिन सक्ने बताइएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई फाइदा हुने अपेक्षा गरिए पनि नतिजामा पार्टीको ‘लहर’ भने देखिँदैन । यी चुनावहरूले जो बाइडेनको भविष्य निर्धारण नगरेपनि उहाँको सरकारका एजेन्डाको दिशा निर्धारण भने गर्नेछ । 

रुसले खेरसनलाई ‘मृत्युको सहर’ बनाउन चाहन्छ : युक्रेन

काठमाडौ । युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीका सल्लाहका मिखाइलो पोडोल्याकले रुसले खेर्सनलाई “मृत्युको शहर“ मा परिणत गर्न चाहेको आरोप लगाउनुभएको छ । रूसले हिँजो खेर्सनबाट पछि हट्ने घोषणा गरेपछि पोडोल्याकले मस्कोलाई अपार्टमेन्टहरू लुट्ने र डेनीपर नदीको अर्को किनारबाट शहरमा आक्रमण गर्ने योजना बनाएको आरोप लगाउनुभएको हो ।  

राष्ट्रपतिका सल्लाहकार पोडोल्याकले रुसले गर्न सक्ने सबै चीजहरू गर्ने भन्दै निपर नदीको बायाँ किनारमा रहेको आर्टिलरीले शहरलाई भग्नावशेषमा परिणत गर्ने योजना बनाएको दाबी गर्नुभएको छ । यसअघि हिँजो मात्रै रुसले युक्रेनको खेर्सन शहरमा रहेका आफ्ना सेनालाई फिर्ता हुन आदेश दिएको थियो ।

युक्रेनी सेना खेर्सनतर्फ अघि बढिरहेका बेला रुसी जनरल सर्गेई सुरोभिकिनले टेलिभिजन सम्बोधन मार्फत तत्कालको सुरक्षा अवस्थालाई हेर्दै खेर्सनबाट बाहिर निस्कन आदेश दिनुभएको थियो । खेर्सन रुसले कब्जा गरेको एक मात्र क्षेत्रीय राजधानी हो । खेर्सन शहरबाट बाहिर निस्केर डेनिपर नदीको बायाँ किनारमा सुरक्षित अवस्थामा रहन सेनालाई जनरल सुरोभिकिनले आदेश दिनुभएको हो ।

खेल खबर
टी–२० विश्वकप : भारतलाई १० विकेटले हराउँदै इंग्लयाण्ड फाइनलमा

काठमाडौ । भारतविरुद्ध सानदार जित निकाल्दै इंग्लयाण्ड अष्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज एडिलेडमा भएको अन्तिम सेमिफाइनलमा इंग्लयाण्डले भारतलाई १० विकेटले पराजित गरेको हो । भारतले दिएको १६९ रनको लक्ष्य इंग्लयाण्डले १६ ओभरमा बिनाक्षति पूरा गरेको हो । इंग्लयाण्डका ओपनर ब्याट्सम्यान एलेक्स हल्सले ८६ र जोस बट्लरले ८० रनको सानदार पारी खेले । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । 

भारतका लागि विराट कोहलीले ४० बलमा ५० रनको योगदान गरे भने हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रन बनाए । ओपनिङमा आएका कप्तान रोहित शर्माले २७ र के एल राहुलले ५ रन जोडे। सूर्यकुमार यादवले १४ रन बनाए । रिषभ पन्त ६ रन बनाएर आउट भए भने रविचन्द्रन अश्विन रनमा अविजित रहे । 

इंग्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिँदा क्रिस वोक्स र आदिल राशिदले १÷१ विकेट लिए । इंग्ल्याण्डले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । फाइनल आगामी आइतबार मेलबर्न क्रिकेट मैदानमा हुनेछ । पाकिस्तान न्युजिल्यान्डलाई पराजित गर्दै फाइनल पुगेको हो ।

पीएम कप : मधेशलाई हराउँदै एपीएफ तेस्रो पटक फाइनलमा

काठमाडौ । विभागीय टोली एपीएफ क्लब पीएम कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा लोकेश बमले अविजित रहदै सर्वाधिक ३५ रन बनाए । मधेशका रुपेश सिंहले २ तथा राजेश यादवले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मधेशले ३१ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो ।

अब एपीएफले उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । पुलिस र आर्मीबीचको दोस्रो सेमिफाइनल खेल भोलि  हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २६ गते शनिबार हुनेछ ।