Live Streaming

अन्नपूर्ण दिनभर : ठूला राजनीतिक दलहरु वैदेशिक शक्तिका अगाडि लम्पसार परेको राप्रपा अध्यक्षको आरोप, आयोगले सोध्यो ८७ जनालाई स्पष्टीकरण

काठमाडौंमा राप्रपाको शक्ति प्रर्दशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गरेको छ । काठमाडौंको वसन्तपुरमा आज आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, नेता बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायतका नेताहरूले सम्बोधन गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा वैदेशिक हस्तक्षेप बढ्दै गएको बताउनुभएको छ । चुनावी सभालाई सम्बोधन गर्दै अभ्यक्ष लिङ्देनले विदेशको आर्शिवादबिना मन्त्री र प्रधानमन्त्री बन्न नसक्ने, बनेपनि अस्थीर बनेको बताउनुभएको छ । देश बनाउँछु भनेर संसद छिरेका केही शिर्ष नेताहरु नै लम्पसारवादमा कम्र्फटेवल सरकार बनाउनतिर लागेको उहाँले बताउनुभयो ।

लिङ्देनले ठूला दलहरुले ३ दशका अर्थतन्त्र र वेरोजगारी र अर्थतन्त्रको अवस्था कहाँ पु¥याए भन्दै प्रश्न गर्नुभयो । हाम्रै जीवनकालमा नेपाल समेद्ध बनेको हर्न चाहनेहरुलाई उहाँले वैकल्पिक राजनीतिका रुपमा उदाएको राप्रपालाई भोट दिन आह्वान गर्नुभयो  । 

उहाँले देशलाई समृद्ध बनाउनका लागि अभिभावकीय संस्थाको रुपमा राजा तथा पूर्ण समानुपातिक सांसद, सांसदले मन्त्री बन्न नपाउने, र प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमी सहितको व्यवस्था आउनुपर्ने बताउनुभयो  । नेपाल पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेकपा माओवादी केन्द्र अबको केही वर्षमा विलय हुने बताउनुभयो । केही समयपछि तीन ठुला पार्टी एमाले, कांग्रेस र राप्रपा मात्रै बाँकी रहने उहाँको भनाइ छ । 

मिश्रले यो देशको धर्म, संस्कृति र स्वाभिमान जोगाउने पार्टी राप्रपा मात्रै भएको दाबी पनि गर्नुभयो । उनले देश रूपान्तरणका लागि स्वतन्त्रहरूले केही गर्न नसक्ने बताउदै मत परिवर्तन गर्दा स्वतन्त्रलाई नभएर राप्रपालाई मत दिन आग्रह गर्नुभयो । 

कार्यक्रममा बलिउड अभिनेत्री मनिषा कोइराला समेत सहभागी हुनुहुन्थ्यो । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक बीपी कोइरालाकी नातिनी समेत रहनुभएकी कोइरालाले कांग्रेस लगायत सबैले बीपीलाई बिर्सिएपनि राजेन्द्र लिङ्देन र राप्रपाले नर्बिर्सिएको बताउनुभयो । राप्रपा बीपीले नै देखाएको राष्ट्रिय मेलमिलाप तथा बहुदलीय व्यवस्थाको नीतिमा अडिग रहेको पनि बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधभन गर्दै नेता प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरुले दुरुपयोग गरेको आरोप लगाउनुभयो । जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरुपयोग गरेर जनताविरुद्ध नै प्रयोग गरेको उहाँको आरोप छ । यदी कसैले दुरुपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उहाँको भनाइ छ । 

विदेशीका लागि ‘कम्फटेबल’ सरकार बनाउन हिँडे 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादी केन्द्रसँग एकता गरे पनि सफल हुन नसकेको बताउनुभएको छ ।

धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै विदेशीका लागि कम्फटेबल सरकार बनाउन र एमाले सिध्याउन खेल गरेको आरोप लगाउनुभयो । एमाले सिध्याउन आफूमाथि अनेक खालको आरोपपत्र लगाएको उहाँले टिपप्णी गर्नुभयो । 
प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताउनुभएको छ । आज गोरखाको सिरानचोक–८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताउनुभएको हो । 

गोरखा–२ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताउनुभयो । द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उहाँले बताउनुभयो । 

प्रचण्डले राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह गर्नुभएको छ । आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी भएको उहाँले बताउनुभयो ।

८७ जनालाई स्पष्टीकरण 

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित काम गरेका ८७ जनालाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेविपरितका गतिविधि गरेको उजुरीका आधारमा उनीहरुलाई स्पष्टीकरण सोधिएको हो । जसमध्ये १२ जनाले बुझाएको स्पष्टीकरण चित्ता बुझ्दो नरहेको जनाएको छ ।

हालसम्म आचारसंहिता उल्लंघन गरेका एक जनालाई मात्रै कारबाही भएका निर्वाचन आयोगको कानुन शाखाले जनाएको छ । सूचीमा आचारसंहिता उल्लंघन गरेको उजुरीका आधारमा स्पष्टीकरणको पत्र काटेकोमा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांगे्रस महामन्त्री गगन थापा, नेकपा एमाले सचिव योगेश भट्टराईदेखि अन्य दलका शीर्ष नेता, सरकारी कर्मचारी, सरकारी कार्यालयसम्म रहेका छन् ।

आयोगले हिजो मात्रै अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र उद्योगमन्त्री दिलेन्द्र प्रसाद बडुलगायतलाई स्पष्टीकरण सोधेको छ ।सरकारी लाभको पदमा बसेर कांग्रेसका उम्मेदवार एवं उद्योगी विनोद चौधरीका लागि भोट मागेको भन्दै आयोगले केसीलाई स्पष्टीकरण सोधेको हो । यसैगरी, मन्त्री बडुलाई चुनावी प्रचार प्रसारमा विद्यालयको प्रयोग गरेको उजुरीका आधारमा १४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनिएको छ । 

चितवनमा सत्ता गठबन्धनले शनिबार चुनावी सभा गर्ने

काठमाडौं । सत्ता गठबन्धनले भोलि चितवनमा चुनावी सभा गर्ने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले आसन्न निर्वाचन लक्षित संयुक्त आमसभा गर्न लागेको हो ।भरतपुरमा हुने सभालाई सम्बोधन गर्न कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू भोलि नै चितवन जाने कार्यक्रम छ । चितवनका तीन वटै निर्वाचन क्षेत्रलाई लक्षित गरेर आयोजना हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो । 

गठबन्धनबाट चितवन–१ मा कांग्रेसका विश्वराज पौडेल चितवन–२ मा कांग्रेसबाटै उमेश श्रेष्ठ र चितवन–३ मा माओवादी केन्द्रबाट भोजराज अधिकारी उम्मेदवार छन् । यहाँ ठूला दलहरूलाई पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी चुनौती बनेको छ ।

लामिछाने आफैं चितवन–२ मा उम्मेदवार बनेका छन् भने त्यसको प्रभाव आसपासमा समेत परेको छ ।
यहाँ नेकपा एमालेबाट क्षेत्र नं. १ मा सुरेन्द्र पाण्डे, क्षेत्र नं. २ मा कृष्णभक्त पोखरेल उम्मेदवार छन् । क्षेत्र नं. ३ मा भने एमालेका उम्मेदवार छैनन् । कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टी छोडेर स्वतन्त्र उम्मेदवार बनेका छन् । राप्रपाका विक्रम पाण्डे पनि यही क्षेत्रबाट उम्मेदवार छन् ।

प्रकाशमानलाई समर्थन गर्दै लिम्बूले गरे आफ्नो उम्मेदवारी निष्क्रिय

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रकाशमान सिंहलाई स्वतन्त्र उम्मेदवार दुर्गाप्रसाद लिम्बूले समर्थन गर्नुभएको छ । उहाँले आज एक कार्यक्रमका बीच प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय गरेको बताउनुभयो । उहाँले प्रकाशमानले अघि सारेको ‘केन्द्रमा प्रभाव, क्षेत्रमा विकास’ भन्ने चुनावी नारा आफूलाई मन परेको पनि बताउनुभएको छ ।

काठमाडौंका १० वटा निर्वाचन क्षेत्रहरुमध्ये सबैभन्दा धेरै विकास क्षेत्र नम्बर १ मा भएको र त्यो प्रकाशमानकै कारण भएको जिकिर गर्नुभयो । यसअघि लोसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाश नायजु र प्रतिनिधिसभा सदस्य उम्मेदवार रणवीर सिंहले पनि प्रकाशमानलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसक्नुभएको छ । 

डोटी भूकम्पः मृतकका परिवारलाई जनही एक लाख २० हजार दिने निर्णय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले डोटीका भूकम्पपीडितहरुका लागि राहत दिने निर्णय गरेको छ ।भूकम्पका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक लाख २० हजार, घर पूर्ण क्षति भएका परिवालाई ५० हजार र घर पुनर्निर्माणका लागि जनही २५ हजार रुपैयाँ दिने निर्णय गरिएको जनाइएको छ ।

गएको बुधबार बिहान डोटी केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिममा जनधनको क्षति भएको छ ।प्रदेश सरकारबाट पीडित परिवारलाई तत्काल केही राहत दिने निर्णय भएको मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो । बुधबार गएको ६.६ म्याग्निच्युडको भूकम्पका कारण घर भत्कँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँमा छ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते छन् ।

पल शाहको पुनरावेदन

काठमाडौं । पल शाहले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गरेका छन् । शाहका तर्फबाट उनका कानुन व्यवसायीले आज पुनरावेदन दर्ता गरेको उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिनुभयो । शाहविरुद्ध बलात्कारको अभियोगमा मुद्धा दर्ता गरेकामा नवलपुर जिल्ला अदालतले उनलाई बाल यौन दुर्व्यवहार कसूरमा साढे २ वर्ष कैद सजाय सुनाएको छ ।

तनहुँ जिल्ला अदालतमा शाहविरुद्ध दर्ता भएको बलात्कार सम्बन्धीकै मुद्दाको भने फैसला हुन बाँकी छ । दुवै ठाउँमा एकै व्यक्तिले शाहविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् ।

पोलियोविरुद्ध खोप लगाउने समय तालिका परिवर्तन

काठमाडौं । सरकारले बालबालिकालाई दिइने पलियोविरुद्धको एफआईपी खोप लगाउने समय तालिका परिमार्जन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इनएक्टिभेटेड पोलियो भ्याक्सिन लगाउने तालिका परिवर्तन गरेको हो ।सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै खोप तालिका परिवर्तन गर्ने निर्णय गरेको मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

महाशाखाका अनुसार हाल प्रभावकारिताका लागि पोलियो विरुद्धको खोपको समय तालिका परिवर्तन गरिएको महाशाखाका जनस्वास्थ्य अधिकृतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि प्रत्येक बालबालिकालाई ६ र १४ हप्तामा गरी २ मात्रा र सोही उमेर समूहमा छुट भएका ५ वर्ष भित्रका बालबालिकालाई ८ हप्ताको फरकमा खोप दिँदै आइएको थियो ।विश्व स्वास्थ्य संगठनको सुझावका आधारमा खोप सल्लाहकार समितिले एफआईपिभी नियमित खोप प्रत्येक बालबालिकालाई पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा ९ महिनामा दिन भनेको छ ।
 
काठमाण्डौ महानगरद्वारा खुला रुपमा आगो बाल्न र फोहर जलाउन रोक

काठमाडौं । काठमाण्डौ महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो नबाल्न आग्रह गरेको हो । खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ । केही दिनयता काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण बढ्न थालेको छ । 

आर्थिक खबर

पिपुल्स हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)को बिक्री खुला गरेको हो।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर रु एक सय अङ्कित दरमा निष्काशन गर्न लागेको हो।

सार्वजनिक आह्वान पत्रानुसार निष्कासित शेयरमध्ये एक लाख ६८ हजार एक सय ९० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारी र दुई लाख ८० हजार तीन सय २० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ५१ लाख ५७ हजार आठ सय ८० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने उल्लेख छ।

सर्वसाधारणलाई बिक्री गरिने शेयरमा लगानीकर्ताले यही कात्तिक २९ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी मङ्सिर ९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाइने छ।
विदेशका खबर 

नोभेम्बर १५ मा पृथ्वीको जनसंख्या ८ अर्ब पुग्नेछ

काठमाडौं । आगामी नोभेम्बर १५ मा पृथ्वीको जनसंख्या ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । मानिसको संख्या बढ्ने दरमा पछिल्लो केही दशकदेखि गिरावट आइरहेपनि २०३७ सम्म विश्वको जनसंख्या ९ अर्ब र सन् २०५८ सम्ममा १० अर्ब पुग्ने प्रक्षेपण गरिएको हो । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ ।

संयुक्त राष्ट्रसंघ जनसंख्या कोषकी प्रमुख नतालिया कानेमका अनुसार अब आमा र बच्चाको मृत्यु कम हुने भएकाले यो घटना मानव इतिहासमा कोशेढुंगा साबित हुन गइरहेको बताउनभयो । 

आफूलाई मानिसको बढ्दो जनसंख्याप्रति कुनै डर नरहेको तर साधन श्रोतको खपत तीव्र रुपमा बढ्ने कुराको चाहिँ डर रहेको नतालिया बताउनुहुन्छ । श्रोत साधनको उपयोगका विषयमा विश्वका सबै देशले ध्यान दिनुपर्ने र प्रजनन दर उच्च भएका देशहरु अझै सचेत बन्नुपर्ने उहाँको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी रिपोर्ट अनुसार बढ्दो जनसंख्याको मुख्य कारण नै हरितगृह ग्याँसको उत्सर्जनको बढ्नु भएको उल्लेख गरिएको छ ।  संयुक्त राष्ट्रसंघको रिपोर्ट अनुसार सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रुपमा जनसंख्या वृद्धि हुनेछ । त्यसमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् । 

खेल खबर 

साफ यू–१५ महिला च्याम्पियनसिपको उपाधि नेपाललाई

काठमाडौं । नेपाल साफ यू–१५ महिला फुटबलको च्याम्पियन बनेको छ । ढाकामा आज डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता भने नेपालले बनाएको थियो ।

खेलको १४ औं मिनेटमा सुशिला केसीले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर, खेलको ५४ औं मिनेटमा रुमाले गोल गर्दै बंगलादेशलाई १–१ गोलको बराबरीमा ल्याईन् । त्यसपछि खेलको ८९ औं मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । तर, बंगलादेशकी बीबी रिताको पेनाल्टी नेपाली गोलकिपर सुजाता तामाङले उत्कृष्ट बचाउ गरिन् ।

सुजाताको उत्कृष्ट बचाउँसँगै बराबरीमा खेल सकाएको नेपालले उपाधि उचालेको हो । ४ खेलमा अपराजित रहदै १० अंक जोडेको नेपाल शीर्ष स्थानमा रहदै उपाधि हात पारेको हो । बंगलादेश ४ खेलमा ७ अंक जोडेर उपविजेता बन्यो ।

नेपालले बंगलादेशसँग खेल्दै 

काठमाडौं । साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा अहिले नेपालले घरेलु टोली बंगलादेशसँग खेलिरहेको छ । नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज बंगलादेशसँग खेलिरहेको हो । ढाकामा जारी खेलको दोस्रो हाफ चलिरहँदा दुवै टिमले १–१ गोल गरेका छन् । नेपाल र बंगलादेशबीचको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ । नेपाल आज बंगलादेशलाई हराएर उपाधि उचाल्न चाहन्छ ।

तर, नेपाललाई बलियो बंगलादेशविरुद्ध जित निकाल्न सहज हुने छैन । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ ।

यस अघिको भेटमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७–० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १–० को जित निकालेको थियो ।बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८–०  र दोस्रो भेटमा ९–० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।

त्रिभुवन आर्मी फाइनल प्रवेश

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिसलाई पराजित गर्दै फाइनल पुगेको आर्मीले एपीएफसँगको भिडन्त पक्का गरेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमान्चक खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २ विकेटले पराजित ग¥यो । पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर ३ सय ९ रन जोड्दै पूरा गर्यो । आर्मीको जितमा रोहित पौडेलले ८९ रनको अर्धशतकीय इनिङ खेले । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । 

पहिलो सेमिफाइनलमा मधेश प्रदेशलाई हराएर एपीएफ फाइनलमा प्रवेश गरिसकेको छ। फाइनल खेल भोलि हुनेछ । प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने छ ।