Live Streaming

अन्नपूर्ण दिनभर : निर्वाचनको प्रचारप्रसारका लागि अब ५ दिन मात्रै बाँकी, टोलटोलमा चुनावी चर्चा

निर्वाचन प्रचारप्रसार अब पाँच दिन बाँकी 

काठमाडौ । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार गर्न अब पाँच दिनमात्रै बाँकी रहेको छ ।

निर्वाचन आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्थाअन्तर्गत यही कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि निर्धारण गरिएको छ ।

मङ्सिर १ गते रातिदेखि प्रचारप्रसार निषेधको शान्त (मौन) अवधि भएकाले उक्त अवधिमा प्रचारप्रसार स्थिर हुने कानुनी व्यवस्था रहेको छ । आयोगले आचारसंहिताको परिपालना भइरहेको र उल्लङ्घनका घटनामा कारवाहीको क्रम जारी रहेको जनाएको छ ।

निर्वाचनमा ७५३ स्थानीय तहका संरचना उपयोग गरिने

काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरी आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि भवन, परिसर र भौतिक संरचना उपलब्ध गराउन अनुरोध गरेको छ ।

मन्त्रालयले शुक्रबार र्नै सबै स्थानीय तहलाई परिपत्र गरेर चुनावका लागि आवश्यक भवन, परिसर र भौतिक संरचनाको व्यवस्था गर्न भनेको मन्त्रालयका शाखा अधिकृत चिरञ्जीवी नेपालले जानकारी दिनुुभयो ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहको भवन, परिसर र भौतिक संरचना आवश्यक भएकाले व्यवस्था गरिदिन निर्वाचन आयोगले मन्त्रालयलाई पत्राचार गरेको थियो ।

मन्त्रालयले परिपत्रसाथ आवश्यक कारबाही गर्न पनि सबै स्थानीय तहलाई आग्रह गरेको छ । आयोगले प्रत्येक निर्वाचनमा स्थानीय तहसँगको समन्वयमा भवन, परिसर र भौतिक संरचनाको व्यवस्थापन गर्दै आएको छ ।

निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

काठमाडौ । निर्वाचन प्रचारप्रसारको क्रममा स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड–१९ सँगै अन्य सङ्क्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन् ।

कोरोनाको सङ्क्रमणदर घटे पनि जोखिम कायमै रहेको भन्दै लापर्बाही नगर्न चिकित्सकले सुझाव दिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले सभासम्मेलन समारोह बन्द कोठामा आयोजना नगर्न सुझाव दिनुभयो ।

कोभिड– १९ को सङ्क्रमण शून्यमा झरिनसकेको र मौसमी रुघाखोकी, स्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निरन्तर बढीरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले जानकारी दिनुभयो । उहाँले सभासम्मेलन र भेलामा सहभागिले खानपानमा समेत विशेष सजग हुनपर्ने बताउनुभयो ।

चीनसँगको यातायात र पारवहन सम्झौताले नाकाबन्दी लाग्नै नसक्ने अवस्था : ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध विरोधीहरूले गलत प्रचार गरेको टिप्पणी गर्नुभएको छ । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गर्नुभएको हो । ओलीले आगामी निर्वाचनले देशलाई कता लाने भन्ने फैसला गर्ने बताउनुभएको छ ।

फुटेको हाँडीजस्तो जोडेर सत्ता गठबन्धनले कठपुतलीजस्तो सरकार बनाएको ओलीको टिप्पणी छ । उहाँले वृद्धभत्ताले गरिबी र अप्ठ्यारो ठाउँमा ठूलो राहत मिलेको उल्लेख गर्दै एमालेले सडकमा फालिएका बालबालिकाकोसमेतसंरक्षण गरेको दाबी गर्नुभयो । पूर्व–पश्चिम राजमार्ग र रेल निर्माण सुरू गरेको उहाँले उल्लेख गर्नुभयो । ओलीले आफूले सार्वभौम सत्ता बराबरी हुने भएकाले कसैसँग पनि शिर नझुकाइ काम गरेको बताउनुभयो ।

साथै ओलीले प्रतिधिनिसभा विघटनको प्रतिरक्षा गर्नुभएको छ । ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावको विषयमा गरेको प्रतिबद्धताअनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गरेको दाबी गर्नुभयो । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना गर्दै अध्यक्ष ओलीले दुवै प्रतिगमनकारी भएको बताउनुभयो । 

यस्तै, चुनावी सभाका क्रममा सुर्खेतको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डको उद्देश्य कांग्रेस बोक्नुबाहेक अरु कुनै नभएको टिप्पणी गर्नुभएको छ । उहाँले  सकिने अवस्थामा रहेका प्रचण्डलाई आफूले साथमा लिएर ३६ सीट जिताइदिएको उल्लेख गर्नुभयो । उहाँले मंसिर ४ गते माओवादी झोलमा डुब्ने पनि टिप्पणी गर्नुभयो ।

माधव नेपालको पार्टीको आयु मंसिर ४ गतेसम्म मात्रै भएको बताउँदै ओलीले पार्टी छाडेर भ्रममा परेर अल्झिएकाहरुलाई चुनावअघि नै फर्किन आग्रहसमेत गर्नुभयो ।

राजेन्द्र र नन्दजीलाई मन्त्री बनाउने प्रस्ताव लान्छु : प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाबाट मुलुकको कायापलट हुने जिकिर गर्नुभएको छ । गोरखा चुमनुब्री गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेपछि नहुने केही नभएको बताउनुभयो ।

उहाँले देउवासँग मिलेपछि आफूले भनेको हुने भएकाले गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईं र प्रदेशसभा उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई मन्त्री बनाएर गोरखाको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले संविधान पक्षधर र संविधान विरोधीहरुको लडाइँ भएकाले सचेत भएर मतदान गर्न आग्रह गर्नुभयो । 

सञ्चारमन्त्री कार्कीविरूद्ध आयोगमा उजुरी

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेको छ । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार रहेका कार्कीले सरकारी सेवासुविधाको दुरुपयोग गरेको भन्दै उजुरी परेको हो ।

नेकपा एमाले निर्वाचन परिचाल कमिटीका संयोजक सरोज पोखरेलले निर्वाचन आचारसंहिताको उलंघन गरी स्थानीय प्रशासन र सुरक्षा निकायको गलत प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी समक्ष उजुरी दिनुभएको छ । 

उहाँले दिएको उजुरीमा कार्कीले कार्तिक १७ गतेदेखि दैनिक रूपमा सयौँ सुरक्षाकर्मीलाई साथमा राखेर वडा टोल तहमा मानिसहरूसँग भेट्न जाने ३० देखि ४० वटासम्म चार चक्के सवारी साधन र सयौँ मोटरसाइकलहरुको लावा लस्कर सहितको ¥याली लैजाने गरेको उल्लेख छ ।

यस्तै उजुरीमा भोजभतेर गर्ने, आचारसंहिता विपरीत राष्ट्रिय झण्डाको प्रयोग गरेको उल्लेख छ । उजुरीमा मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरुपयोग गरेको उल्लेख छ ।

दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप

काठमाडौ । दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । आज दिउँसो झडप हुँदा गठबन्धनका जयभान सिंह धामी सख्त घाइते हुनुभएको छ । आज नौगाड गाउँपालिकामा धामीमाथि एमालेका कार्यकर्ताबाट सामूहिक आक्रमण भएको बताइएको छ ।

सामूहिक आक्रमणमा परेका धामीको अझै होस नआएको दार्चुला प्रहरीले बताएको छ । जिल्लामा उपचार हुन नसकेपछि धामीलाई धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।

आक्रमणमा परेका धामी नेकपा (माओवादी केन्द्र) दार्चुला–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष रहेको जनाइएको छ । धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको माओवादी केन्द्रका नेता तारादत्त भट्टले जानकारी दिनुभयो । 

रवि लामिछानेको घरदैलोमा रहेको गाडी तोडफोड

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आज घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ । 

विश्वकप फुटबलको सुनुवाइ सरेको स¥यै, प्रत्यक्ष प्रसारणको सम्भावना कम

काठमाडौ । विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणका सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि सुनुवाइ हुन नसक्दा नेपाली दर्शकले विश्वकप हेर्ने सम्भावना कमजोर हुँदै गएको छ । विश्वकप प्रसारण गर्न नेपालका लागि अधिकार पाएको मिडिया हबले ‘प्याकेज भ्यू’ मोडलमा विश्वकप प्रसारणको तयारी गरिरहेका बेला प्रसारण रोक्न माग गर्दै अदालतमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार राउतको एकल इजलासले गत कात्तिक २२ गते प्रसारण रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । आदेश संशोधनको माग गर्दै मिडिया हवले निवेदन दिएपछि गत शुक्रबार विश्वकपसम्बन्धी मुद्दाको पेशी तोकेको थियो । 

तर, अन्तिममा समयमा हेर्न नभ्याइने भन्दै पेशीबाट यो मुद्दालाई हटाइयो । आजपनि विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा परेको यो मुद्दा हेर्न नभ्याइने भन्दै हटाइएको छ ।

सुनुवाइमा ढिलाइ हुँदा विश्वकप प्रसारणको सबै खाले तयारी रोकिएको मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले गुनासो गर्नुभएको छ । यसपटक अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले नेपालका लागि टेरिटोरी लक मोडलमा प्रसारण अधिकार बिक्री गरेको हुँदा मिडिया हवबाहेक अन्य कुनै माध्यमबाट नेपाली दर्शकले विश्वकप प्रसारण हेर्न नसक्ने धितालको भनाई छ । 

डेंगु संक्रमणबाट पर्साका एकजनाको मृत्यु

काठमाडौ । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । हेल्थ केयरमा उपचारको क्रममा उहाँलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कात्तिक २३ गते काठमाण्डौं रिफर गरेका थियो । कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा गएराति थारुको मृत्यु भएको हो । 

वर्षा र हिमपातको सम्भावना

काठमाडौ । पश्चिमी वायुको असरले अबको दुई÷तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले  पश्चिमी वायुको असरले केही दिन वर्षा र हिमपातको  सम्भावना रहेको जानकारी दिनुभयो ।

आज साँझदेखि मौसममा केही असर पर्ने तर बढी असर भने पश्चिमी क्षेत्रमा पर्ने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा वर्षा र हिमपातको बढी सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा हल्का वर्षा हुनाका साथै ती प्रदेशका उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविद् भट्टराईले बताउनुभयो ।  

घरटहरामा डोजर लाउने सूचना सुनेपछि आक्रोशित बने सुकुम्बासी

काठमाडौ । सरकारले वागमती नदी करिडोर क्षेत्रका घरटहरा भत्काउने अल्टिमेटम दिएपछि करिडोर त्यस क्षेत्रमा बसोबास गर्नेहरु आक्रोसित बनेका छन् । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार एक सूचना जारी गर्दै १० दिनभित्र वागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घरटहरा भत्काउन अल्टिमेटम दिएको थियो ।

तर सरकारले सुकुम्वासीहरुको समस्या समाधान नगरी घरटहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सरकारको कदमलाई उनीहरुले आफूमाथि सरकारले अन्याय गरेको बताएका हुन् । सरकारले सुकुम्वासी बस्तीमा रहेका वास्तविक सुकुम्वासीहरुको पहिचान गर्नुपर्ने र भूमिहीनहरुलाई बासस्थानको ग्यारेन्टी गर्नुपर्ने उनिहरुको उनिहरुको माग छ । 

आर्थिक खबर
साताको पहिलो दिन नेप्से परिसूचकमा पहिरो

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज १० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार आठ सय ८३ दशमलव १६ विन्दुमा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ७० दशमलव ५३ मा सीमित भएको छ ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहको शेयर उकालो लाग्दा १२ उपसमूहको शेयर ओरालो लागेको छ । 

कूल दुई सय २५ कम्पनीको २० लाख २८ हजार तीन सय ४८ कित्ता शेयर रु ७७ करोड ४९ लाख ११ हजार सात सय छ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पुँजीकरण रु २७ खर्ब आठ अर्ब ७० करोड १२ लाख ८२ हजार चार सय ३१ बराबर रहेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड ३९ लाख ९६ हजार बराबरको कारोबार भएको छ । 

विदेशका खबर
अमेरिकी मध्यावधि निर्वाचनःसिनेटमा डेमोक्र्याट, सदनमा अनिर्णित

काठमाडौ । अमेरिकी सिनेटमा डेमोक्र्याटिक पार्टीले झिनो बहुमत प्राप्त गरेको छ । योसँगै सो दलले आगामी दुई वर्षसम्म सिनेटमा नियन्त्रण कायम गर्नेछ । नेभाडामा र एरिजोनामा भएको अति कठिन प्रतिस्पर्धामा डेमोक्र्याटिक पार्टीले जित हात पारेको केबल न्युज नेटवर्कले जनाएको छ ।

सिनेटमा अब डेमोक्र्याटसँग ५० सिनेटर भएका छन् भने रिपब्लिकनका ४९ जनामात्रै छन् । प्रतिनिधिसभामा भने रिपब्लिकन पार्टी बहुमत नजिक पुगेको । यो दलले २१८ स्थान हासिल गर्ने देखिएको छ । पछिल्लो मतपरिणामअनुसार रिपब्लिकन पार्टीले दुई सय ११ स्थान जितेको छ भने डेमोक्र्याटिक पार्टी दुई सय चार सिटमा विजयी भएको छ ।  

इजरायली राष्ट्रपतिद्वारा नेतन्याहूलाई सरकार गठनका लागि निर्देशन

काठमाडौ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नेता बेन्जामिन नेतन्याहूलाई नोभेम्बर १ मा भएको निर्वाचनपछि नयाँ सरकार गठनका लागि अनुमति प्रदान गर्नुभएको छ ।

राष्ट्रपति हर्जोगले गत वर्ष सत्ताच्युत हुनुअघिसम्म इजरायलका सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका नेतन्याहूलाई आज रुसेलममा आयोजित एक समारोहमा आफूले सरकार गठनको जिम्मेवारी दिएको बताउनुभएको हो ।

हर्जोगले पार्टीका नेताहरूसँगको परामर्शपछि परिणाम स्पष्ट भएको र सरकार गठनको जिम्मेवारी बेन्जामिन नेतन्याहूलाई दिएको उल्लेख गर्नुभयो । हर्जोगले भ्रष्टाचारको आरोपमा उदारबादी नेता नेतन्याहूमाथि चलिरहेको मुद्दाबारे पनि चर्चा गर्दै यो अनुसन्धानको क्रममा रहेको बताउनुभयो ।

इजरायलका उदारबादी नेता नेतन्याहुले आफुमाथि लाग्दै आएको भ्रष्टाचार आरोपलाई अस्वीकार गर्दै आउनुभएको छ । तर उहाँले आरोपको प्रतिवाद गर्दा नेतन्याहूले प्रधानमन्त्रीको रूपमा काम गर्न सक्ने कुरा हालैको नजिरले स्पष्ट पारेको छ । 

खेल खबर

यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने

काठमाडौ । नेपालले पहिलो पटक महिला क्रिकेटतर्फ विश्वकप आयोजना गर्ने भएको छ। सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्न लागेका हो । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय भएको जनाएको छ ।

बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकलाई अनुमोदन गरेको आईसीसीले जनाएको छ । यस्तै २०२५ को यू–१९ महिला विश्वकप मलेसिया र थाइल्याण्डमा संयुक्त आयोजना हुनेछ । त्यस्तै २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले संयुक्त रुपमा आयोजनाको जिम्मा पाएको छ ।

नेपालले पहिलो पटक कुनै पनि विश्वकप आयोजना गर्ने मौका पाएको हो। गत जेठमा आइसिसी यू–१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू–१९ महिला टी–२० विश्वकप आयोजना हुदैछ । 

नेपालसँग खेल्ने पाकिस्तानको टिम घोषणा

काठमाडौ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानले टिम घोषणा गरेको छ । पाकिस्तान फुटबल फेडेरेसनले हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो । नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेल कात्तिक ३० गते दशरथ रंगशालामा हुनेछ । मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिआइपीतर्फ १ हजारको टिकट दर निर्धारण गरिएको जनाएको छ । एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।

नेपालले कप्तान तथा गोलकिपर किरण चेम्जोङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा टिम घोषणा गरिसकेको छ ।

अफगानिस्तानलाई हराउँदै इंग्ल्यान्ड च्याम्पियन

काठमाडौ । इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आज भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । पाकिस्तानले दिएको १ सय ३८ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाएर १ सय ३८ रन बनाएर पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्स नायक बने ।

उनले अविजित रहदै सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । लियाम लिभिङस्टोन १ रनमा अविजित रहे । कप्तान जोस बट्लर २६ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए । मोइन अली १९ रन, फिल साल्ट १० रनमा आउट भए भने एलेक्स हेल्स १ रनमा आउट भए । पाकिस्तानका हरिस राउफले २ तथा शादब खान, मोहमद वासिम र शाहिन शाह अफ्रिदीले १÷१ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय  ३७ रन बनाएको थियो । पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन जोडे । कप्तान बाबर आजमले ३२ रन जोड्दा मोहमद रिजवानले १५ रन बनाए । इंग्ल्यान्डले दोस्रो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको हो । यस अघि इंग्ल्यान्डले २०१० मा पहिलो पटक उपाधि जितेको थियो ।