Live Streaming

अन्नपूर्ण दिनभर : विश्वको कुल जनसंख्या ८ अर्ब, गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त

गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

काठमाडौ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का बर्खास्त गरिएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले आज बर्खास्त गर्नुभएको हो ।

२०७८ साउन ८ मा मन्त्रीमा नियुक्त हुनुभएका खड्का कास्की क्षेत्र नं. २ को (२) बाट उम्मेदवार बन्ने रेसमा रहनुभएका मन्त्री खड्का आफु उम्मेदवार बन्न नपाएपछि निष्क्रिय रहनुभएको थियो । 

खड्का यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद बन्नुभएको थियो । टिकट नपाएकै कारण आफ्नै पार्टी र गठबन्धनसँग रुष्ट भएका खड्काले थापालाई पराजित गर्न भूमिका खेलेको चर्चा हुँदै आइरहेको थियो । आफ्नै पार्टीका उम्मेदवारलाई निर्वाचनमा असहयोग गरेकै कारण मुख्यमन्त्री पोखरेलले खड्कालाई बर्खास्त गरेको अनुमान गरिएको छ ।

यसअघि गत कार्तिक २२ गते पनि मुख्यमन्त्री पोखरेलले प्रदेशका ऊर्जा, जलश्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यलाई बर्खास्त गर्नुभएको थियो । आचार्यले गठबन्धनलाई असहयोग गर्नुका साथै एमालेलाई सहयोग गरेका कारण बर्खास्त गरिएको दावी गरिएको थियो ।

मुख्यमन्त्री पोखरेलले शीर्ष नेताहरूको सहमति लिएर आचार्यलाई बर्खास्त गरेको ठिक एक हप्तामा नै अर्का मन्त्री खड्कालाई पदच्युत गर्नुभएको हो । यो संगै दुबै मन्त्रालयको नेतृत्व मुख्यमन्त्री पोखरेलले नै सम्हाल्नुभएको छ । 

निर्वाचन बहिस्कार गर्ने नेकपा मशालका कार्यकर्ता पक्राउ

काठमाडौ । मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर बनेको ’नेकपा मशाल’का कार्यकर्ता बागलुङमा पक्राउ परेका छन् । निर्वाचन बहिस्कार गर्न हिँडेका मशालका पोलिटब्युरो सदस्य कृष्णराज पौडेलसहित १२ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

 जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानीधि ज्ञवालीले निर्वाचन विरोधी गतिविधि गर्नेहरू पक्राउ परेको जानकारी दिनुभयो । सिंह नेतृत्वको मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा हो । राजमो अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार हुनुहुन्छ । उहाँ सत्ता गठबन्धनका साझा उमेदवारसमेत हुनुहुन्छ ।

पक्राउ पर्नेमा पौडेलसहित अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, नेकपा मशाल बागलुङका सचिव नारायण सापकोटा, पवक्ता रेशम गिरि, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिक, सूर्य थापा, बिक्रम थापा, सागर कुँवर, आकास गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र यमप्रसाद शर्मा रहनुभएको छ ।

बागलुङको कुश्मीसेरामा पौडेलले मन्तव्य राख्दै बहिस्कार गर्न आह्वान गरिरहेको बेला पक्राउ गरेर कुश्मीसेरा प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गरेका समूहमाथि सरकारले उच्च निगरानी थालेको छ । देशका विभिन्न ठाउँबाट चुनाव बिथोल्ने गतिविधि गर्ने तयारीमा रहेका समूहका १ सय १५ जना पक्राउ परेका नेपाल प्रहरीको तथ्याङ्क छ । तीमध्ये ११ जनाविरुद्ध मुद्दा दर्ता गर्ने तयारी छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार चुनाव बहिष्कार गर्ने समूहमाथि उच्च निगरानी थालिएको छ । नेत्रविक्रम चन्द विप्लवसहित केही दल तथा समूह चुनाव बहिष्कार गर्ने घोषणा गरी विरोधी गतिविधिमा संलग्न छन् । २० भन्दा धेरै समूह सक्रिय रहेकाले सुरक्षा चुनौती बढेको गृह मन्त्रालयको निष्कर्ष छ ।  

मतदान केन्द्रमा क्यामेरा वा मोबाइल लगे तत्काल जफत गरिने

काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिन नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिले फोटो खिच्ने क्यामेरा, मोबाइल, सलाई, लाइटर तथा अन्य निषेधित वस्तु लिन नपाउने व्यवस्था गरिएको छ ।

आयोगका सहायक प्रवक्ता गुरुराज वाग्लेका अनुसार मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा निषेधित वस्तु लिई गएको पाइएमा प्रचलित कानूनबमोजिम तत्काल कारबाही गरिनेछ । त्यस्तै सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दु तथा उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिइने निर्णय भएको छ । कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो साथमा लगे तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने आयोगले स्पष्ट पारेको छ । 

मंसिर ४ र ५ गते सार्वजनिक बिदा 

काठमाडौ । सरकारले आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । मतदानस्थल रहेका शिक्षण संस्थाहरु भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् । गृहमन्त्रालयले आज सार्वजनिक सूचना जारी गरी बिदा सम्बन्धी जानकारी दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु ४ र ५ गते तथा मतदानस्थल रहेका शिक्षण संस्थाहरु २ गतेदेखि ५ गतेसम्म बन्द हुने उल्लेख छ । आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा शिक्षक तथा कर्मचारीहरुलाई पनि खटाइएको छ ।

चुनावको दिन आन्तरिक उडान बन्द

काठमाडौ । आगामी मंसिर ४ गते आन्तरिक उडान बन्द हुने भएको छ । प्रतिनिधितथा प्रदेशसभा निर्वाचनका लागि उडान बन्द गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले विमानस्थल रहेपनि आन्तरिक उडान बन्द हुने जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय उडान भने नरोकिने प्राधिकरणले जनाएको छ ।

 निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट कुनै पनि गतिविधि गर्न नपाइने 

काठमाडौ । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ । आजसञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान अघिका ४८ घण्टामा निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि कार्यक्रम गर्न नपाउने बताउनुभयो ।

उहाँले विगतमा आयोगले मौन अवधि तोक्ने गरेको तर यस वर्ष भने मौन अवधि नरहेकाले र यस समयलाई स्थिर समयको रुपमा प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी मंसिरको १ गते राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध हुने बताउनुभयो । उहाँले कुनै पनि प्रकारको निर्वाचन सम्बन्धी प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनअनुसार कारबाही गर्ने चेतावनी पनि दिनुभयो । 

गठबन्धनले जिते ५ वर्ष संसद भंग हुँदैनः देउवा

काठमाडौ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले जिते ५ वर्ष संसद भंग नगर्ने बताउनुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनले आज नवलपरासीको चौपातामा गरेको आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री देउवाले आफूहरुले ५ वर्ष नै संसद चलाउने बताउनुभएको हो ।

आफूहरुको बीचमा असहमति पैदा गरी गठबन्धन फुटाउन एकथरी तत्व लागेको आरोप लगाउँदै उहाँले गठबन्धनका बारेमा कसैले चिन्ता गर्न नपर्ने बताउनुभयो । समावेशी संविधान बचाउन गठबन्धन भएको बताउँदै देउवाले पाँच दलीय गठबन्धन चुनावपछि पनि कायम रहने देउवाले बताउनुभयो । चुनावी सभामा भाग लिन देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै नवलपरासी पुग्नुभएको हो ।

यस्तै देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको बताउनुभएको छ । सुर्खेतको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको र यो दीर्घकालसम्म रहने बताउनुभयो । देउवाले पाँच दलीय गठबन्धन संविधानको पूर्ण पालना गर्दै स्थिर सरकार निर्माण, शान्ति प्रक्रियाका बाँकी कामहरुको पूर्णता र तीव्र आर्थिक विकासमा केन्द्रित हुने पनि दावी गर्नुभयो ।

यस्तै प्रधानमन्त्री देउवा भोलि गृहजिल्ला जानुहुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको प्रचारप्रसारका लागि देउवा आफ्नो निर्वाचन क्षेत्र जान लाग्नुभएको हो । देउवा भोलि बिहान गृहजिल्ला आइपुग्ने नेपाली कांग्रेस डडेल्धुराका सचिव हेमराज चटौतले जानकारी दिनुभयो ।

देउवाले भोलि बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) डडेल्धुराका संयोजक उमेशप्रसाद भट्ट ‘विकास’ले बताउनभयो  । देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला पुग्नुभएको थियो ।

ओलीलाई कौरवको संज्ञा दिँदै प्रचण्डले भने– मंसिर ४ मा महाभारत हुँदैछ

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली प्रवृत्तिमाथि जनताको विजय भएको उद्घोष गर्नुभएको छ । आज नपलपरासी क्षेत्र नम्बर १ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले केपी शर्मा ओली नेतृत्वको गठबन्धनलाई महाभारको कौरव पक्षको संज्ञा दिनुभएको हो । उहाँले संविधानको रक्षा, स्थिरता, विकास र समृद्धिमार्फत मात्रै राजनीति स्थायित्व हुनेमा जोड दिनुभयो ।

यो निर्वाचन महाभारतजस्तो र जनमत संग्रह जस्तो भएको प्रचण्डले ठोकुवा गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले ओलीको गठबन्धन संविधान उल्टाउने खोज्ने, राजतन्त्र हटाउन चाहेको आरोप लगाउनुभएको छ । ओलीले लोकतन्त्र मास्ने, महिला, आदिवासी–जनजातिको अधिकार मास्ने काम गरेको भन्दै त्यसलाई कायम राख्न मंसिर ४ गते सत्ता गठबन्धनलाई भोट दिन आग्रह गर्नुभयो । 

बागीलाई मत मागेपछि माओवादीका प्रदेश उपाध्यक्ष पदमुक्त

सत्तारुढ गठबन्धनको बागी उम्मेदवारलाई मत मागेको भन्दै नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश उपाध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गरेको छ । माओवादीको लुम्बिनी प्रदेश समितिले खत्रीलाई जिम्मेवारीबाट हटाएको हो ।

रोल्पाको गंगादेव गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका खत्रीमाथि रोल्पाको प्रदेशसभा–२ मा गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुभएका दीपेन्द्र पुनका लागि मत मागेको आरोप छ । रोल्पामा सत्तारुढ गठबन्धनबीच प्रतिनिधिसभामा माओवादी केन्द्रका र प्रदेशसभाको दुई क्षेत्रमध्ये एउटामा कांग्रेस र एउटामा माओवादीका उम्मेदवार रहने गरी सिट बाँडफाँट भएको थियो ।

तर कांग्रेसको भागमा परेको प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादीका पोलिट्ब्यूरो सदस्य दीपेन्द्रले उम्मेदवारी दिनुभएको छ । गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै उहाँलाई माओवादी केन्द्रले यसअघि नै कारबाही गरिसकेको छ ।

मिटरब्याज पीडितद्वारा मतदान बहिस्कार, गाउँमा राखे कालो झण्डा

काठमाडौ । नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतापपुरका मिटरब्याज पीडितले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान बहिस्कार भन्दै कालो झण्डा गाडेका छन् । पटक–पटक आन्दोलन गर्दै आएका मिटरब्याज पीडित किसानले कुनै पनि दल र उम्मेदवारले आफूहरुको समस्यालाई चुनावी अजेण्डा नबनाएको भन्दै मतदान बहिस्कार गर्ने मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका सदस्य निर्ग नविनले जानकारी दिनुभयो । त्यहाँका उम्मेदवारहरुले पीडितको भन्दा सुदखोरको बचाउ गरेको उनले गुनासो गरेका छन् ।

पीडितलाई झुटा आश्वासन बाँड्दै गाउँ–गाउँ पसेकाले चुनाव बहिस्कार गरेको उहाँले बताउनुभयो । उनीहरुले मिटरब्याजबाट पीडित भएकाहरुको घरमा चुनाव बहिस्कार लेखेर कालो झण्डा गाडेका हुन् । गठबन्धनका तर्फबाट यहाँ प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा अर्बपति विनोद चौधरी र एमालेसहितको गठबन्धनका तर्फबाट जनता प्रगतिशील पार्टी(जप्रपा)का अध्यक्ष हृदयेश त्रिपाठी उम्मेदवार रहेका छन् । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २ देखि क्यालिब्रेसन उडान हुँदै

काठमाडौ । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग सम्बन्धित प्राविधि जाँच गर्न मंसिर २ गतेदेखि क्यालिब्रेसन उडान हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाइल्यान्डको एरोनटिकल रेडियो अफ थाइल्यान्ड लिमिटेडको विमानलाई मंसिर २ देखि १२ गतेसम्म उक्त विमानस्थलको क्यालिब्रेसन उडान अनुमति दिएको छ । 

उक्त विमानले ११ दिनमध्ये ७ दिन पोखराको आकाशमा उडेर त्यहा जडान भएका उडान सम्बन्धी उपकरण तथा प्रविधिहरुको जाँच गर्ने प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो । उहाँका अनुसार क्यालिब्रेसन उडानमा एरोथाईका पाइलट, रेडियो, एरोनटिकल, इलेक्ट्रोनिकल इन्जिनियर तथा प्राविधिहरु हुने छन् ।

देशभरका विमानस्थलको हरेक वर्ष गर्नुपर्ने नियमित क्यालिब्रेसन उडानका लागि आउदै गरेको एरोथाईलाई प्राधिकरणले पोखराको पनि जिम्मा दिएको हो ।

मंगलबार बैंककबाट ढाका हुँदै नेपाल आउने एरोथाईको विमान २४ दिन नेपाल रहेर मंसिर १९ गते मात्रै स्वदेश फर्किने छ । यसअघि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान पनि यसै कम्पनीको विमानले गरेको थियो ।

 आर्थिक खबर
नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज छ दशमलब ५९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ९७ दशमलब ८६ विन्दुमा सीमित भएको छ । त्यस्तै, ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ३३ अङ्कले ओरालो लागेर तीन सय ७३ दशमलब ७१ मा ओर्लिएको छ ।

कूल दुई सय २९ कम्पनीको २७ लाख ४५ हजार एक सय नौ कित्ता शेयर रु एक अर्ब दुई करोड ३६ लाख नौ हजार नौ सय ६० मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । आजको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब २९ अर्ब ८४ करोड पाँच लाख ५४ हजार चार सय ९१ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । 

मंसिरको ब्याज नघटाउने बैंकर्स संघको निर्णय

काठमाडौ । आगामी मंसिर महिनाका लागि बैंकिङ ब्याजदर नघट्ने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले मंसिर महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । अझै आर्थिक सूचकहरूको स्थिति सकारात्मक नभएको र तरलतासमेत सहज हुन नसकेको निष्कर्ष निकाल्दै संघले मंसिर महिनाका लागि ब्याजदर यथावत राख्ने निर्णय गरेको संघका उपाध्यक्ष समेत रहनुभएका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिनुभयो ।

अघिल्लो महिना भद्र सहमतिलाई भंग गर्दै बैंकर्स संघले ब्याजदर निर्धारणको अधिकार बैंकहरुलाई नै दिएको थियो । योसँगै वाणिज्य बैंकहरुले आफू खुशी निक्षेपमा १० प्रतिशतसम्मले ब्याजदर वृद्धि गरेका थिए । व्यक्तिगत मुद्दति बचतको ब्याजदर ११ दशमलव ३ प्रतिशत कायम भएको छ । रेमिट्यान्स खातामा बैंकहरुले १२ दशमलव ३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । निक्षेपको ब्याजदर बढेसँगै यता कर्जाको ब्याजदर बढेर १८ प्रतिशत माथि पुगेको छ ।

राष्ट्र बैंकले पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौ । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सनको ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । यसका लागि बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी मंसिर १ गतेभित्र प्रस्ताव गर्न सूचना जारी गरेको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, राष्ट्रियस्तरको विकास बैंकमा ६ करोड रुपैयाँ र राष्ट्रियस्तरको फाइनान्स कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ । ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा भएको, न्यूनतम पुँजीकोष कायम भएको, अघिल्लो आर्थिक वर्षमा नाफा कमाएको र रियलस्टेट क्षेत्रमा तोकिएभन्दा बढी कर्जा लगानी नगरेका लगायत शर्त पुरा भएका बैंक तथा वित्तीय संस्थाले यस्तो रकम पाउने केन्द्रीय बैंकले जनाएको छ ।

विदेशका खबर
विश्वको जनसंख्या ८ अर्ब पुग्यो

काठमाडौ । विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको थियो । सन् १९९० भन्दा यता औसत आयुमा करिब ९ वर्ष बढेको छ ।

सन् २०५० मा यो बढेर अनुमानित ७७.२ वर्ष पुग्ने बताइएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसले उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासले मानिसको आयुलाई बढाएको र मातृ तथा बाल मृत्युदरलाई घटाएको बताउनुभएको छ । राष्ट्रसंघले ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको जनाएको छ । बीसौं शताब्दीको उत्तरार्द्धमा विश्वको जनसंख्यामा ठूलो वृद्धि देखिएको थियो । राष्ट्र संघले विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अब १५ वर्ष लाग्ने जनाएको छ । यसैगरी १० अर्ब जनसंख्या सन् २०८० मात्रै पुग्ने जनाएको छ ।

खेल खबर

तीन वर्षपछि मैदान फर्किएको पाकिस्तानलाई हराउने नेपालको लक्ष्य

काठमाडौ । करिब तीन वर्षपछि मैदान फर्किएको पाकिस्तान फुटबल टिमलाई घरेलु मैदानमा नेपालले हराउने लक्ष्य राखेको छ । पाकिस्तानविरुद्धको खेलअघि आज आयोजित प्रि–म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक प्रवेश कटुवालले घरेलु मैदानमा जित निकाल्न टिमको मनोबल उच्च रहेको बताए । नेपाली राष्ट्रिय फुटबल टिमले भोलि पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टिमबीचको खेल साँझ साढे ५ बजे सुरु हुनेछ । पाकिस्तानविरुद्धको खेल दशरथ रंगशालामा नेपालको लागि ५० औं खेल हुनेछ । फिफाको निलम्बनबाट फुकुवापछि पाकिस्तानले पहिलो अन्तराष्ट्रिय खेल खेल्न नेपाल आएको हो । नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । 

साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।  मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुत राम्रो टिम बनाएको बताए । त्यस्तै नेपाली टिमका कप्तान रोहित चन्दले पाकिस्तान प्रतिद्वन्द्वीका रूपमा जहिले पनि कठिन रहेको बताएका छन् । उनी पहिलोपल्ट नेपाली टिमको कप्तानी गर्दैछन् । 

एन्फाले विश्वकपको २९० वटा टिकट बेच्ने

काठमाडौ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विश्वकपको २९० वटा टिकट बिक्री गर्ने भएको छ । आज दशरथ रंगाशालामा सम्पन्न एन्फा कार्यसमिति बैठकले विश्वकपका २९० वटा टिकट एन्फा कार्यसमिति, एन्फा सदस्य संस्थाहरु तथा फुटबल स्पोन्सर र शुभचिन्तकहरुलाई बिक्री गर्ने निर्णय गरेको हो । सो बैठकले सहिद स्मारक ‘ए’ डिभिजन लिग डबल राउन्ड रोबिन पद्धतीमा सञ्चालन गर्ने निर्णयलाई पनि पारित गरेको छ । 

यू–२० टीमका खेलाडी राकेश विश्वकर्माको उपचारको सम्पूर्ण खर्च पनि एन्फाले नै व्यहोर्ने भएको छ । राकेशको एसीएल इन्जुरी भएको थियो । यस्तै, ब्लड क्यान्सरसँग लडिरहेका यू–२३ का खेलाडी प्रिजेन तामाङको उपचारका लागि एन्फाले तीन लाख उपलब्ध गराउने भएको छ ।