Live Streaming

अन्नपूर्ण दिनभर :  निर्वाचनको अन्तिम परिणाम सार्वजनिक, ४ हजार बढि उम्मेदवारको जमानत जफत 


निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ । प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आज पत्रकार सम्मेलन गरी प्रतिनिधिसभातर्फको चुनावको परिणाम घोषणा गर्नुभएको हो । प्रदेशसभाको मतपरिणाम भने पुस २ गते सार्वजनिक गरिनेछ । त्यहि दिन नतिजाको विवरण प्रदेश प्रमुखलाई हस्तान्तरण गरिने थपलियाले बयताउनुभयो । 

थपलीयाका अनुसार प्रदेश र प्रतिनिधिसभातर्फ कुल ८२५ सिटमध्ये प्रतिनिधिसभातर्फ १८४ पुरुष तथा ९१ महिला निर्वाचित भएका छन् । यस्तै प्रदेशसभातर्फ साते प्रदेशर्मा  ३५० पुरुष तथा २०० महिला निर्वाचित भएका छन् । 

आयोगले भोलि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभातर्फको निर्वाचन परिणामको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको बताएको छ । प्रतिवेदन पठाईसकेपछि सदस्यहरुको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ ।

निर्वाचनमा सात राजनीतिक दलले राष्ट्रिय मान्यता पाएका छन् । संसदमा १२ राजनीतिक दलको प्रतिनिधित्व हुनेछ । संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको छ । यस्तै, नेकपा एमाले संसदमा प्रतिनिधित्व गर्ने दोस्रो ठूलो दल बनेको छ । एमालेले कुल ७८ सिट जितेको छ । 

यस्तै नेकपा माओवादी केन्द्रले ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । जनता समाजवादी पार्टीका १२ जना, यस्तै, जनमत पार्टीका ६ जनाले संसदमा सहभागी जनाउनेछन् । नेकपा एकीकृत समाजवादीका १० जना सांसदले प्रतिनिधित्व गर्नेछन् ।

नागरिक उन्मुक्ति पार्टीका ३ जना, स्वतन्त्र तर्फका ५ जना, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका १÷१ जनाले संसदमा प्रतिनिधित्व गर्नेछन् ।

४२८५ जना उम्मेदवारको जमानत जफत

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभातर्फ ४२८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ ।  

प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभातर्फ १ हजार ९ सय ६१ जना र प्रदेशसभातर्फ २ हजार ३ सय २४ जनाको धरौटी जफत भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ सिटमा ६१ दलका २ हजार ४ सय १२ उम्मेदवार थिए । त्यस्तै प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २ सय २४ जनाले उम्मेदवारी दिएका थिए । 

प्रदेशसभातर्फ प्रदेश नं. १ मा ३०, मधेश प्रदेशमा २६, वाग्मती प्रदेशमा ३३, गण्डकीमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको आयोगले जनाएको छ ।

निर्वाचनमा वदर मत किन बढि?

काठमाडौँ । निर्वाचन आयोगले मतदाता शिक्षाका लागि अर्वौं बजेट खर्च गरेपनि वदर मतको संख्या भने अपेक्षित घटेको छैन । निर्वाचन आयोगको तथ्यांकअनुसार यसपटकको प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ । एक करोड १० लाख ४७ हजार ३४ मतदान भएकोमा करिब ६ लाख मत वदर भएको हो । ५.०९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

प्रदेशसभाको प्रत्यक्षतर्फ एक करोड १० लाख ३४ हजार ५०० मतदान भएकोमा ४.०७ प्रतिशत मत बदर भएको छ ।  प्रत्यक्षको तुलनामा प्रदेशसभाको समानुपातिकतर्फ बढि मत वदर भएको देखिएको छ । प्रदेशमा समानुपातिकतर्फ एक करोड १० लाख २८ हजार ३७६ मतदान भएकोमा ६.५५ प्रतिशत मत बदर भएको छ । 

निर्वाचन आयोगले हरेक निर्वाचनमा मतदाता शिक्षाका लागि अर्बौं रकम खर्च गरेको छ । तरपनि, वदर मतको संख्या बने अपेक्षित रुपमा घटेको छैन ।  निर्वाचन आयोगले २०७४ को प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी मतदाता शिक्षामा खर्च गगरेको थियो ।

तर, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.१८ प्रतिशत र समानुपातिकतर्फ ९.८४ प्रतिशत मत वदर भएको थियो । 

पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले धनुषा क्षेत्र नम्वर ४ मा पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । सो क्षेत्रबाट एमालेका सचिव रघुविर महासेठसंग पराजित यादवले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार रघुवीर महासेठलाई विपक्षी बनाएर निवेदन दायर गर्नुभएको हो ।

सो क्षेत्रमा यादव एमाले उम्मेदवार महासेठसँग मात्र १२४ मतले पराजित हुनुभएको छ ।  यादवले मतगणनाका बेला निर्वाचन अधिकृतले आफुहरुले धेरै मतलाई बदर गरेको अरोप लगाउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै यादवले एमालेको वदर हुने मतलाई पनि सदर गरेको र आफुहरुका सदर भएका ४०० मत बदर गराएको आरोप लगाउनुभयो । अदालतले आफुहरुको निवेदनमा सनुवाई गर्ने र पुनः मतगणना हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

रवि लामिछानेलाई सांसद पदको शपथ नगराउन माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । युवराज सफलका नामले चिनिने युवराज पौडेलले आज रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराउनुभएको हो ।

मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको छ । रिटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पार्टी सभापतिबाट समेत हटाउन माग गरिएको छ । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेलका अनुसार पौडेलको रिट पुस ६ गतेको संवैधानिक इजलासमा पेसीमा राखिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नेपाली नागरिक नरहेको र नेपाली नागरिक नरहेको व्यक्ति नेपालको निर्वाचनमा भाग लिन नपाउने कानुनी व्यवस्था विपरीत उनको उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित समेत गराएको भन्दै लामिछानेविरुद्ध रिट दर्ता भएको हो । 

साढे ७ लाख जरिवाना मिनाहाका लागि मेयर बालेनले दिए निवेदन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले स्थानीय तहको निर्वाचन खर्च पेश नगरेका कारण तोकिएको साढे ७ लाख जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

आयोगले जरिवाना गराउने निर्णय गरेको समयदेखि ६ महिनाभित्र जरिवाना नबुझाए स्थानीय तहमा निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने कानुनी व्यवस्था रहेकाले बालेनले जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका आायोगले जनाएको छ ।

प्रमुख शाहले आफू निर्वाचित भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको निवेदनमा उल्लेख गर्नुभएको छ ।  आयोगले प्रमुख शाहको निवेदनमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ ।

निर्वाचन कानूनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानूनी व्यवस्था नरहेको आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताउनुभएको छ । 

छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्ने बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित महेन्द्र आधारभूत विद्यालयको हिरक जयन्ती महोत्सवलाई आज सम्बोधन गर्दै उहाँले तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेको बताउनुभएको हो । उहाँले आफ्नो पहिलो र दोस्रो प्रधानमन्त्रीत्व कालको समीक्षा पनि सुनाउनुभयो ।

अब केन्द्र र प्रदेशमा सरकार बनाउने प्रक्रिया अघि बढ्ने भन्दै उहाँले दलहरूबीच घनीभूत छलफल हुने उल्लेख गर्नुभयो । प्रचण्डले आफू प्रधानमन्त्री भए भ्रष्टाचार नियन्त्रण गर्ने जिकिर पनि गर्नुभयो । 

बालुवाटारमा देउवा र रामचन्द्र भेट 

काठमाडौँ । भावी प्रधानमन्त्रीका आकांक्षी रामचन्द्र पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँकै निवास बालुवाटारमा भेट गर्नुभएको छ । आज भएको ‘वान टु वान’ वार्तामा पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवासँग आग्रह गर्नुभएको छ । नेताद्धयबीच ४५ मिनेट भएको कुराकानीमा पौडेलले गिरिजाप्रसाद कोइरालाको पालामा उहाँसँग देउवाले संघर्ष गर्दा आफूले साथ दिएको स्मरण गराउनुभएको थियो ।

साथै, यस गठबन्धनको निर्माण गर्न र टिकाउन पनि आफूले भूमिका खेलेको पनि उहाँले बताउनुभएको थियो । आफ्नो भूमिकालाई न्याय गर्दै  संसदीय दलको नेतामा सहयोग गर्न पनि पौडेलले आग्रह गर्नुभयो । आफू प्रधानमन्त्री बन्दा सबैले स्वीकार्ने दावी पनि उहाँको दावी छ । देउवाले पौडेललाई ठोस जवाफ नदिएपनि गठबन्धन टिकाउँदै पार्टी पनि मिलाएर जानुपर्नेमा जोड दिनुभएको थियो । 

लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम प्रारम्भ

काठमाडौँ । लुम्बिनी प्रदेशको स्थायी राजधानीको राप्ती उपत्यका देउखुरीबाट आज औपचारिकरूपमा काम सुरु गरिएको छ । सो प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आज यहाँ उद्घाटन भएको छ ।

आज यहाँ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले विकासको क्षेत्रमा पछि परेको देउखुरी उपत्यका अब आधुनिक सहरका रूपमा विकसित हुने बताउनुभयो ।

उहाँले यस क्षेत्रको स्वास्थ्य र शिक्षाको विकास समयअनुसार अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले देउखुरी क्षेत्रको विकासका लागि आफ्नो प्रयास रहने बताउँदै यसका लागि  यहाँका स्थानीयवासी पनि लाग्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सङ्घीयता कार्यान्वयनमा सफल हुँदै गएको बताउनुभयो ।  

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारुले संवैधानिक व्यवस्था भएकाले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट कसैले पनि अन्यत्र सार्न नसक्ने बताउनुभयो । त्यस अवसरमा नेपाली कला र संस्कृतिमा आधारित झाँकीहरू पनि प्रदर्शन गरिएको थियो ।

रेशमलाई बाहिर लेउ भन्दै माइतीघरमा प्रदर्शन 

काठमाडौँ । टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माईतीघर मण्डलामा धर्ना दिएका छन् ।

थारु कल्याणकारिणी सभा र थारुहट÷थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको धर्नामा थारु समुदायसँग सम्बन्धित पार्टी, संघ, संगठनको अगुवाईमा भएको कार्यक्रममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न ल्याएको अध्यादेश छिटो प्रमाणीकरण गर्न माग गरेका छन्  ।

उनीहरुले अध्यादेश अविलम्व प्रमाणीकरण गरिनुपर्ने र रेशम चौधरी लगायत टीकापुर घटनामा कैदको सजाय भोगिरहेका बन्दीहरुलाई कैदमुक्त गर्नुपर्ने माग गरेका छन् । 

मानवअधिकार आयोग

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अदालतबाट आपराधिक घटनामा दोषी ठहर भइ सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति नदिन भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

आयोगले आज एक विज्ञप्ति जारी गर्दै आपराधिक घटनामा संलग्न भएको अदालतबाट ठहर भई सजाय भोगिरहेकाहरूलाई उन्मुक्ति दिने कानुन नबनाउन र त्यस्ता घटनामा संलग्नलाई राजनीतिक आवरण नदिन सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा भएको विद्यमान प्रावधानमा आपराधिक घटनाका दोषीलाई उन्मुक्ति दिन सहज हुने गरी संशोधन अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । आयोगले अपराधमा संलग्नहरूलाई प्रचलित कानुनअनुसार सजाय हुनुपर्ने भनेको छ । 

दाइजो विरुद्धको कसुरमा पंकज चौधरी पक्राउ

काठमाडौँ । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ पर्नुभएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई हिँजो साँझ पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

नेहाले दिएको दाइजो विरुद्धको जाहेरीका आधारमा उनलाई पक्राउ गरेको डीएसपी पोखरेलले बताउनुभयो । यसअघि गत कार्तिक ४ गते नेहाले घरेलु हिंसा सम्बन्धी उजुरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दर्ता गराएकी थिइन् । त्यस बखत पनि तीन दिन प्रहरीले पंकजलाई थुनेको थियो ।

दाइजो विरुद्धको कसूरमा कारबाही चलाउन पंकजमाथि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । नगद र सुनचाँदी गरी १ करोड २५ लाख रुपैयाँ नेहाको परिवारले खर्च गरेका थिए ।

बिहेको चार महिना पश्चात पंकज र नेहाबीच खटपट सुरु भएको थियो । पंकजले थप दाइजोमा काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई कुटपिट तथा यातना दिइरहेको नेहाको आरोप छ ।

कोरोनाविरुद्ध करिब ५० लाख मात्रा खोप मौज्दात

काठमाडौँ । कोरोना भाइरस विरुद्धको खोप करिब ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो ।  स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाका अनुसार हाल ४९ लाख २१ हजार छ सय ३२ मात्रा खोप मौज्दात छ ।

उहाँले अहिले सङ्क्रमण घटिरहेकोले माग नहुँदा  खोपको मौज्दात रहेको जानकारी दिनुभयो । सबैभन्दा बढी भेरोसेल खोप मौज्दात  छ । भेरोसेल ४३ लाख ६६ हजार एक सय ६६ मात्रा मौज्दात छ भने फाइजर ६० हजार सात सय ५६, र फाइजर (बालबालिका) लाई लगाउने चार लाख ९४ हजार सात सय १० मात्रा मौज्दात छ ।

अहिले दैनिक दशभन्दा कम व्यक्तिमा सङ्क्रमण देखिएको छ । नेपालमा अहिलेसम्म छ करोड ३२ लाख ७६ हजार सात सय १० मात्रा खोप आइसकेकामा  कूल लक्षित जनसङ्ख्यामध्ये ९९ दशमलव पाँच प्रतिशतमा पहिलो मात्रा र ९५ दशमलव सात प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ ।

सुवाल कलेज ठगी प्रकरण : ‘शुल्क फिर्ता देऊ

काठमाडौँ । भक्तपुरको सूर्यविनायक–१,घतालेस्थित सुवाल इन्टरनेशनल कलेजले अवैध रूपमा कलेज सञ्चालन गरी भर्ना शुल्क लिएर

ठगेको पाएपछि त्यहाँका विद्यार्थी सडकमा उत्रिएका छन् । उनीहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । कलेज सञ्चालक प्रकाश सुवाललाई कानुनी कारबाही गर्नुपर्ने र भर्ना शुल्क तत्काल फिर्ता गरिनुपर्ने उनीहरूको माग छ ।

सम्बन्धित निकायबाट सम्बन्धन नलिई शैक्षिक कार्यक्रम सञ्चालन गरेको थाहा पाएपछि उनीहरूले मंसिर १३ गते कलेजका सञ्चालक सुवालविरुद्ध प्रहरीवृत्त जगातीमा उजुरी दिएका थिए ।

उजुरीपछि सोही दिन प्रहरीले सुवाललाई पक्राउ गरेको थियो। अहिले उनलाई ठगी मुद्दामा जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले १३ मंसिरमै सो कलेजमा ताला लगाएको थियो । कलेजको बेवसाइटमा सन् २०१९ बाट कलेज खुलेको उल्लेख छ । 

आर्थिक खबर
सेयर बजार २.६२ अंकले घट्यो

काठमाडौँ । सेयर बजार परीसुचक नेप्से आजपनि ओरालो लागेको छ । हिजो २.५७ अंकले ओरालागेको नेप्से आजपनि २.६२ अंकले घटेर १ हजार ८९७.०८ विन्दुमा आएर रोकिएको छ । आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१२ अंकले घटेर ३७०.१७ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २०६ कम्पनीको कारोबार हुँदा ८१ कम्पनीमा वृद्धि भएको र १०८ कम्पनीमा ओरालो लागेसँगै १७ कम्पनी स्थिर छ । कुल २४६ कम्पनीको कारोबारमा २० लाख ८७ हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । आजको कारोबारमा १३ वटा उपसूचकमध्ये ५ उपसूचक बाहेक सबै उपसूचकमा ओरालो लागेको छ ।

अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढ्यो : अर्थमन्त्री शर्मा  

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न चुनौतीको सामनापछि देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आज भएको साधारणसभालाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

शर्माले देशको अर्थतन्त्र सुधार्न राष्ट्र बैकको नीति र निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै निजी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । साथै उहाँले देशको अर्थतन्त्र सुधारका लागि उत्पादन र निर्यातमुखी निती लिनुपर्ने भनाई राख्नुभयो । सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नीतिमा हस्तक्षेप गर्नुपर्ने माग गरिरहेका निजी क्षेत्रप्रति असन्तुष्टि जनाउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार संघको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले हस्तक्षेपले कतै पनि नपुयाउने बताउनुभयो । बजार र वित्तीय क्षेत्रमा भएको विकृति असहज अवस्थामा सुधार गर्नु हुँदैन भन्दै जाँदा झनै समस्या थपिने उहाँको भनाइ छ । उहाँले राष्ट्र बैंकको हस्तक्षेपकारी भूमिका खोस्दा झन् धेरै समस्या आउने भन्दै त्यसो नगर्न सुझाव दिनुभयो । 

विदेशका खबर
युक्रेनमा इरानी निर्मित ड्रोन आक्रमण

काठमाडौँ । युक्रेनमा आज बिहान १३ वटा इरानी निर्मित ड्रोन खसालिएको राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताउनुभएको छ ।युक्रेनको राजधानी कीभको मध्यभागमा आज बिहानै ड्रोन आक्रमणहरु भएका थिए । रुसले गत अक्टोबरदेखि लगातार युक्रेनी ऊर्जा पूर्वाधारलाई मिसाइल र ड्रोनले निशाना बनाउँदै आएको छ ।

कीभ सहरको सैन्य प्रशासनले ड्रोनको टुक्राले सहरको केन्द्रमा रहेको प्रशासनिक भवन र चारवटा आवासीय भवनमा आक्रमण गरेको जनाएको छ । रुसले युक्रेनविरुद्ध ऊर्जा आतंक जारी राखेको भएपनि हवाई प्रतिरक्षा प्रणालीमा आफुहरु बलियो हुँदै गएको कीभका गभर्नर कुलेबाले बताउनुभएको छ । 

यसैबीच अमेरिकाले उच्च प्रविधियुक्त हवाई सुरक्षा प्रणाली प्याट्रिएट युक्रेनलाई दिने तयारी गरेको छ । रुसी क्षेप्यास्त्र खसाल्नका लागि युक्रेनले बारम्बार माग गर्दै आएको एयर डिफेन्स सिस्टम दिने निर्णयमा अमेरिका पुगेको हो । अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै समाचार एजेन्सी रोयटर्सले प्याट्रिएट युक्रेनलाई उपलब्ध गराउने घोषणा छिट्टै हुने उल्लेख गरेको छ ।

पश्चिमा देशहरुले युक्रेनलाई अहिलेसम्म उपलब्ध गराएका हतियारहरुमा प्याट्रिएट सबै भन्दा प्रविधियुक्त र आधुनिक हुने बताइएको छ । प्याट्रिएट सुरक्षा प्रणालीबाट युक्रेनले अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गर्न सक्ने भन्दै अमेरिकी रक्षा अधिकारीहरुले रुसी चुनौती सामना गर्न सहज हुने दावी गरेका छन् ।

यता, रुसी पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले भने प्याट्रिएट सुरक्षा प्रणाली युक्रेनलाई दिने गल्ती नगर्न नाटोलाई चेतावनी दिनुभएको छ । त्यसो भयो भने युक्रेन युद्ध नसोचेको मोडमा पुग्ने रुसले चेतावनी दिएको छ । अमेरिकाले अहिलेसम्म करिब २० अर्ब डलर बराबरको सैन्य सहयोग युक्रेनलाई गरिसकेको छ।

खेल खबर
विश्व कप 

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । आज हुने दोस्रो सेमिफाइनलमा फ्रान्स र मोरक्कोबिच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र मोरक्कोबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स र मोरक्को जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेका छन् ।

फ्रान्स आज मोरक्कोलाई हराएर लगातार दोस्रो पटक विश्वकपको फाइनल खेल्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउदै सेमिफाइनलमा पुगेको हो भने मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र हो ।

फ्रान्सलाई हराएर मोरक्को फाइनल पुग्दै अर्को इतिहास बनाउन चाहन्छ ।दुई टोलीबीच विश्वकपमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । तर,दुई टोलीबीच अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भएको छ । आजको खेलको विजेताले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ ।

अर्जेन्टिना पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएर फाइनलमा प्रवेश गरिसकेको छ ।

गोल्डेन बुटको दौड

काठमाडौँ । विश्वकप फुटबलमा उपाधि दाबेदारहरुको खेल कडा प्रतिष्पर्धाका बीच अघि बढिरहेका बेला विश्व चर्चित एक दर्जन खेलाडीलाई गोल्डेन बुटको दाबेदारका रुपमा समेत हेरिएको थियो । तर सेमिफाइनल समीकरणमा आइपुग्दा प्रमुख ४ खेलाडी मात्र यसका दाबेदार देखिएका छन् ।