Live Streaming

अन्नपूण दिनभर : प्रधानमन्त्री बन्न प्रचण्डले खोजे देउवाको साथ, कांग्रेसकै नेतृत्वमा सरकार बनाउन देउवालाई दवाव


छैटौंपटक प्रधानमन्त्री बन्न देउवाले थाले औपचारिक पहल

काठमाडौँ । नयाँ सरकार निर्माणका लागि काउन्टडाउन सुरु भएसंगै प्रमुख दलहरु त्यसको औपचारिक प्रकृयामा लागेका छन् । आफु प्रधानमन्त्री बन्न तथा आफ्नो नेतृत्व स्वीकार गर्ने समीकरण बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले छलफल र भेटघाटलाई समेत बाक्लो बताएका छन् ।

आजमात्रै नेकपा माओवादी कन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा सहयोग गर्न कांग्रेस सभापति तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवासंग आग्रह गर्नुभएको छ । आज बिहान बालुवाटारमा आफैँ प्रधानमन्त्री बन्ने तयारीमा रहनुभएका देउवालाई भेटेर प्रचण्डले प्रधानमन्त्रीमा आफ्नो दाबी रहेको औपचारिक जानकारी गराउनुभएको हो ।

देउवा निकट श्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्डलाई कुनै जवाफ दिनुभएन । देउवाले प्रचण्डलाई आफूले पार्टीमा कुरा राख्ने मात्र बताएको एक नेताले बताएका छन् । 

त्यसअघि आजै माओवादी अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको थियो । आज बिहान खुमलटारस्थित प्रचण्डनिवासमा भएको भेटमा माओवादी केन्द्रलाई लाभ हुने गरी सत्ता समीकरण निर्माण गर्नुपर्ने विषयले प्रवेश पाएको छ ।

भेटमा माओवादी केन्द्रले सत्ता समीकरणको विषयमा एमाले र कांग्रेस दुवै पार्टीसँग छलफल गरेर साथ लिनुपर्नेमा जोड रहेको छ । तर, सरकार निर्माणका बिषयमा गठबनधनले बहुमत जुटाएकाले एमाले ‘पर्ख र हेर’को अवस्थामा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौँ पटक प्रधानमन्त्री बन्न औपचारिक पहल थाल्नुभएको छ । कांग्रेसबाट निर्वाचित सांसदहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री बन्न पहल थाल्नुभएको हो ।

देउवाले बोलाएको सांसदहरूको भेलापछि कांग्रेस संसदीय दलमा को लड्ने भन्ने नितान्त कांग्रेस भित्रको कुरा भएको नेता डा शेखर कोइरालाले बताउनुभयो । उहाँले पनि आन्तरिक रूपमा दलको नेताको निर्वाचनको तयारी थाल्नुभएको छ । देउवा निकट सांसद एनपी साउदले पनि कांग्रेस नेतृत्वमा सरकार अहिलेको जनादेश भएको बताउनुुभएको छ । 

कांग्रेसका नवनिर्वाचित सांसदहरूले कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने बताइरहँदा कांग्रेस सांसदहरूले निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले पहिले सरकारको नेतृत्व गर्न पाउनुपर्ने उनीहरुको अडान छ ।

प्रवक्ता प्रकाशशरण महतले पनि स्वभाविक रूपमा कांग्रेस ठूलो दल बनेकाले कांग्रेसबाटै प्रधानमन्त्री बन्ने दाबी गनुभयो । 

यस्तै संसदीय दलको नेताका लागि इतर समूहबाट महामन्त्री गगन थापाले आक्रामक रूपमा तयारी थाल्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि खुलैरै संसदीय दलको नेताका लागि प्रयासरत हुनुहुन्छ ।

संसदीय दलको नेता छान्न कांग्रेसले कार्यसम्पाद समितिको बैठक भोलि बोलाएको छ । बैठक भोलि दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

विजय गच्छदार र रेशम चौधरीबीच भेटवार्ता, सत्ता समीकरणबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । डिल्लीबजार कारागारमा आज उनीहरूबीच करिब एक घन्टा छलफल भएको हो । मंसिर ४ गतेको निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएपछि रेशमलाई बधाइ दिन गच्छदार जेल पुग्नुभएको हो ।

भेटमा उहाँले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको बताउनुभएको थियो । चौधरीले पनि थारू छोरालाई जेलमा कोचेको भन्दै सरकारसँग आपत्तिजनाउदै अध्यादेश प्रमाणीकरण गरेर पीडित थारूहरूको रिहाइ गर्नुपर्ने बताएका थिए ।

नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा एक स्वतन्त्रसहित चार, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनीमा ४ र मधेस प्रदेशमा एक सिट जितेको छ । 

निर्वाचन प्रतिवेदन बुझाएसँगै सातै प्रदेशमा नयाँ सरकार गठनको ढोका खुल्यो

काठमाडौँ । मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम निर्वाचन आयोगले बुझाएसँगै सरकार गठन प्रक्रिया अघि बढेको छ ।

आयोगले निर्वाचन प्रतिवेदन सातै प्रदेशका प्रमुखलाई बुझाएपछि प्रदेश सरकार गठन प्रक्रिया अघि बढेको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया प्रदेश १, आयुक्त सगुन शमशेर जबरा र सचिव गोकर्णमणि दुवाडी बागमती, आयुक्त ईश्वरीप्रसाद पौडेल गण्डकी, आयुक्त रामप्रसाद भण्डारी लुम्बिनी, सहसचिव यज्ञप्रसाद भट्टराई कर्णाली र आयुक्त जानकीकुमारी तुलाधरले सुदूरपश्चिममा पुगेर निर्वाचन प्रतिवेदन बुझाएका छन्।प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना निर्वाचित भएका छन्।प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ मा आयोगले प्रदेश सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने व्यवस्था छ।

आयोगले अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको ढोका खुल्ने बागमती प्रदेशका कानूनमन्त्री कृष्णप्रसाद खनालले बतनाउनुभयो । उहाँले सबै प्रदेश गठबन्धनको सरकार बन्ने समेत दाबी गर्नुभएको छ ।गठबन्धनमा माओवादीलाई सुदूरपश्चिम र बागमती, कांग्रेसलाई गण्डकी, कर्णाली र लुम्बिनी पाउने गरी शीर्ष तहमा समझदारीको प्रयास भइरहेको छ ।

तर, गठबन्धनमा आबद्ध रहेको नेकपा एसले पनि एउटा प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । प्रदेश १ र मधेस प्रदेशमा गठबन्धनको बहुमत नपुग्ने भएकाले त्यहाँ टुंग्याउन सकेको छैन ।

प्रदेश १ मा सत्तागठबन्धनभन्दा पनि एमाले गठबन्धनको सरकार बन्ने सम्भावना छ भने मधेस प्रदेशमा सीके राउत नेतृत्वको जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । आयोगले यसअघि नै प्रतिनिधिसभातर्फको निर्वाचन प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको थियो। अहिले संघमा पनि सरकार गठनको लागि दलहरूबीच रस्साकस्सी चलिरहेको छ।

गण्डकीमा सत्ता समीकरणको जोड–घटाउ सुरु, को–को छन् मुख्यमन्त्रीका दाबेदार?

काठमाडौँ । गण्डकी प्रदेशमा सरकार निर्माणको समीकरणका लागि दलहरूले आन्तरिक तयारी सुरु गरेका छन्।निर्वाचन आयोगले परिणाम सहितको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई बुझाएसँगै अबको सत्ता समीकरण के हुने भन्ने विषयको चर्चा चुलिएको हो।

६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पु¥याउन ३१ सदस्य आवश्यक भएपनि कुनै पनि दलसँग बहुमत सङ्ख्या नपुग्दा  दलहरू बीचको सम्भाव्य समीकरणलाई महत्वका साथ हेरिएको छ । मुख्यमन्त्रीभन्दा पहिले दलहरू पार्टीभित्र संसदीय दलको नेता चयन गर्ने तयारीमा जुटेका छन्।

जसमा पहिलो सम्भावनाका रुपमा निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको सरकार बन्ने अनुमान गरिएको छ। कांग्रेसका २७ र माओवादीका आठ र एकीकृत समाजवादीको एक गर्दा ३६ जना हुने भएकाले स्पष्ट बहुमत पुग्ने देखिन्छ। यसका लागि गठबन्धनमा रहेका दलको केन्द्रमा हुने समीकरण यतिखेर पर्खाइमा छ।

कांग्रेसबाट संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे, महेन्द्रध्वज जिसी, विन्दुकुमार थापा, भोजराज अर्याल लगायतको चर्चा छ। एमालेबाट खगराज अधिकारी र माओवादी केन्द्रमा हरिबहादुर चुमानको नाम नै मुख्य रुपमा अघि आएको छ ।

आगामी निर्वाचनमा ‘नो भोट’ र ‘रिकल’ को व्यवस्था 

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचनमा मतदाताको माग बमोजिम ‘नो भोट’, ‘रिकल’ र विदेशमा बस्ने मतदातालाई मतदानको व्यवस्था गर्ने कानुन बन्ने विश्वास व्यक्त गर्नुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

पुनः मतदान वा पुनः मतगणनाको माग भइरहेकोप्रति जवाफ दिँदै उहाँले आयोगले अन्तिम निर्णय गरिसकेकोले अब अदालतले निर्णय गरे बाहेक त्यस्तो नहुने पनि स्पष्ट पार्नुभयो । आयुक्त थपलियाले निर्वाचनमा २ प्रतिशतभन्दा बढी मत बदर भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदेशसभा तर्फको समानुपातिक मत सबैभन्दा धेरै बदर भएको बताउँदै उहाँले दलहरू मिलेर निर्वाचनमा गएको र सबैले आफूलाई मत मागेका कारण मतदाताले दुवैतर्फ मतदान गर्दा बदर मत बढी देखिएको उहाँको आशङ्का छ । 

ओलीको टिप्पणी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको भन्दै यसले अस्थिरता उत्पन्न गरेको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई सही दिशामा डो¥याउन नसक्दा चुनावले गलत नतिजा दिएको बताउनुभयो ।

उहाँले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको पनि बताउनुभएको छ । सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट नभएको ओलीको भनाई छ । 

एमाले प्रतिपक्षमा बस्छ : पौडेल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले नेकपा (एमाले) अहिले सरकारमा नजाने बरु प्रतिपक्षमा बसेर काम गर्ने बताउनुभएको हो । उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताउनुभयो । उहाँले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गर्नुभयो ।

न्यायालयबाटै राष्ट्रपति बनाउने भारतको षड्यन्त्र : बिजुक्छे

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषद्को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न तयार रहनसमेत आह्वान गर्नुभयो ।

भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर आज आयोजित एक कार्यक्रममा उहाँले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताउनुभयो ।

बिजुक्छेले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकिरसमेत गर्नुभयो । त्यस्तै उहाँले खिलराज रेग्मीलाई लक्षित गर्दै न्याय प्रशासनका व्यक्तिलाई प्रधानमन्त्री बनाए जस्तै अहिले राष्ट्रपति बनाउने कुरा धेरै जटिल विषय भएको उल्लेख गर्नुभयो । 

स्थानीय तह विकास निर्माणको आधार स्तम्भ बन्नुपर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह विकास निर्माणको आधार स्तम्भ बन्नुपर्ने बताउनुभएको  छ । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्थानीय तहले जनताको मन छुनुपर्ने बताउनुभएको हो ।

देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताउनुभयो । नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधार स्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको देउवाको भनाइ छ। 

‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको इआइए स्वीकृत

काठमाडौँ । ‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत् आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ ।

मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३ हेक्टर जमिन आवश्यक पर्ने देखिएको छ । गत जेठमा आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विद्युत् विकास विभागले अध्ययन सकेर वन तथा वातावरण मन्त्रालयमा प्रतिवेदन पेस गरेको थियो ।

आयोजना क्षेत्रअन्तर्गत सिन्धुपाल्चोेकको तीन गाउँपालिका र दुई नगरपालिका, काभ्रेपलाञ्चोकको तीन गाउँपालिका र दुई नगर, रामेछापको दुई गाउँपालिका र सिन्धुलीको एक गाउँपालिकाका करिब १६ सय परिवार विस्थापित हुने अध्ययनले देखाएको छ । विभागले गरेको सम्भाव्यता अध्ययनअनुसार उक्त जलाशययुक्त आयोजना निर्माण सम्पन्न गर्न रु एक खर्ब ६० अर्ब लाग्ने अनुमान गरिएको छ । 

नेपालको विकासमा अमेरिकी सहयोग निरन्तर रहने 

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले नेपालको आर्थिक समृद्धिका लागि अमेरिकी सरकारले विशेष सहयोग गर्दै आएको बताउनुभएको छ । उहाँले नेपालको समग्र विकासका लागि विभिन्न क्षेत्रअन्तर्गत परियोजनामार्फत विशेषगरी शिक्षा, स्वास्थ्य, कृषि, विपत्, वातावरणलगायत क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको बताउनुभयो ।

पश्चिम नेपालको भ्रमणका क्रममा नेपालगञ्ज आइपुग्नुभएका राजदूत थमसनले नेपालमा सूचना, प्रविधि र अङ्ग्रेजी भाषाका विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।

नेपालमा सञ्चालित विभिन्न कार्यक्रमले समुदायस्तरका नागरिकमा राम्रो परिवर्तन ल्याएको उदाहरण भ्रमणका क्रममा भेटिएको भन्दै राजदूत थमसनले समावेशिताको कुरामा सुधार भएको र सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदायलाई पनि थप सहयोग पुगेको बताउनुभयोे ।

आर्थिक खबर
साढे पाँच हजार उद्योगमा विदेशी लगानी स्वीकृत

काठमाडौँ । नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ ।

उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ ।

यी उद्योगमा हालसम्म कूल रु चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले रु तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो । यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ ।

गत असार मसान्तसम्ममा मात्र आठ हजार सात सय ६४ उद्योगका लागि कूल रु २६ खर्ब २७ अर्ब बराबरको लगानी प्रस्ताव भएको देखिन्छ । तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो ।लगानी स्वीकृत भएकामध्ये सेवामूलक र पर्यटनका क्षेत्रका उद्योग बढी छन् ।

गत कात्तिक मसान्तसम्ममा सेवामूलक क्षेत्रमा एक हजार आठ सय ६७ र पर्यटन क्षेत्रमा एक हजार आठ सय ५५ प्रस्ताव स्वीकृत भइसकेको विभागले जनाएको छ । त्यस्तै, हालसम्म प्रस्ताव स्वीकृत भएका उत्पादनमूलक उद्योग एक हजार दुई सय ६९, ऊर्जामूलक उद्योग ९१, कृषिमूलक दुई सय ९५, खनिजमूलक ७२,  पूर्वाधार उद्योग ५५ र सूचना प्रविधि उद्योग एक सय २४ छन् ।

विदेशका खबर
पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध भारतमा देशव्यापी प्रदर्शन

काठमाडौँ । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । जर्दारीले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै भारतीय जनता पार्टी (भाजपा)ले आज देशव्यापी प्रदर्शन गरेको छ ।

आज महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौँ भाजपा कार्यकर्ता र नेताहरू प्रमुख स्थानमा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै नाराबाजीसमेत गरेका थिए । भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गर्नुभएको थियो ।

उता मुम्बईका विभिन्न भागमा पनि भाजपा कार्यकर्ता र नेताले  प्रदर्शन गरेका थिए । गत बुधबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा बोल्दै भारतका विदेशमन्त्री एस जयशङ्करले  कश्मीर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गर्नुभएको थियो ।

भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री जर्दारीले मोदीलाई गुजरातको कसाँई भएको अभिव्यक्ती दिनुभएको थियो  । 

 खेल खबर
कतार विश्वकप : मोरक्को र क्रोएसिया भिड्दै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ ।तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८ः४५ बजे सुरु हुनेछ ।प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ ।

फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २–० ले पराजित भएको थियो ।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३–० ले हराएको थियो ।मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । 

कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट भएको फिफाको प्रतिक्रिया

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ कतारमा जारी छ । बिगतमा कतारमाथि मानवअधिकार उल्लंघन गरेको र आयोजना अधिकारमा आर्थिक अनियमितता भएको आरोप लाग्दै आएकोमा फिफाले भने विश्वकप फुटबल २०२२ अहिलेसम्मकै उत्कृष्ट भएको र विश्व कप आयोजना गरेकोमा कतार सरकारको प्रशंसा गरेको छ ।कतारको यो सफलतालाई अहिले कतारी उत्सव मात्र नभइ अरबकै सफलताको रुपमा विश्लेषण भइरहेको छ ।