Live Streaming

अन्नपूर्ण दिनभर : सरकार गठनका लागि ७ दिनभित्र दाबी पेस गर्न आव्हान, विश्वकप फुटबलको फाइनल भिडान्त आज 

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा ७ दिनभित्र दाबी पेस गर्न आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । आज समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र बुझेसँगै निर्वाचनको सबै प्रक्रिया पुरा भएपछि राष्ट्रपति भण्डारीले सरकार गठनको लागि प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको हो ।

संविधानको धारा–७६ को उपधारा–१ अनुसार कुनै दलको बहुमत नपुगेपछि राष्ट्रपति भण्डारीले उपधारा–२ अनुसार प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आव्हान गर्नुभएको छ । त्यसकालागि पुस १० गते साँझ ५ बजेसम्मको म्याद दिइएको छ । 

निर्वाचन आयोगले आजमात्रै निर्वाचनको सबै प्रक्रिया पुरा गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आजबाट प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व निर्वाचन आयोगले पुरा गरेकाले अब संसद्को अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भएको बताउनुभएको थियो ।

समानुपातिकतर्फ निर्वाचितहरुलाई आज प्रमाणपत्र वितरण गरेपछी प्रमुख आयुक्त थपलियाले अब आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद्हरु सुचारु भएपछि त्यसको प्राविधिक तयारी गर्ने जानकारी दिनुभयो ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका लागि बन्ने निर्वाचकमण्डलमा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसद हुन्छन् । उनीहरुको मतको आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुनिन्छन् । फागुन दोस्रोसातासम्म हालका राष्ट्रपतिको कार्यकाल रहेकाले त्यही मिति आगाडि आयोगले सबै काम पुरा गर्ने गरी अघि बढ्ने उहाँले जानकारी दिनुभयो । 

आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौ । नेपाली कांग्रेसले औपचारिक रुपमा नयाँ सरकारको नेतृत्वमा दाबी गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको हो ।

प्रवक्ता डा. प्रकाशशरण महतले बैठकबारे जानकारी दिँदै गठबन्धनको सरकारलाई निरन्तरता दिने आफुहरुको लक्ष्य अनुसार कांग्रेस नेतृत्वमा सरकार गठनका लागि गठबन्धनका अन्य दलसँग छलफल हुने बताउनुभयो । 

गठबन्धनको अर्को घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्नुभएको छ । प्रचण्डले पहिलो पालोमा प्रधानमन्त्री हुने इच्छा राख्नु अनुचित नभएको कांग्रेसले बताएको छ ।

तर ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने भन्दै कांग्रेस प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने विषयमा गठबन्धनभित्र र अन्य दलहरुसँग पनि छलफल गर्ने जानकारी दिनुभयो । आजको बैठकले दलको नेता चयनका लागि सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा निर्वाचन समिति बनाएको छ ।

दलको चुनाव मंगलबार वा बुधबार हुनेछ । आफूहरुको प्रयास पार्टी सभापतिकै नाममा सहमति जुटाउने भएको भन्दै कांग्रेस प्रवक्ता डा. महतले सर्वसम्मत नभए लोकतान्त्रिक प्रक्रियाबाट दलको नेता छान्ने बताउनुभयो । 

त्यस्तै कांग्रेसले प्रदेश सरकारका विषयमा आवश्यक रणनीति बनाउन तथा अन्य दलहरूसँग वार्ता गर्न प्रदेश समितिलाई अधिकार दिएको छ । प्रवक्ता डा. महतले प्रदेश संसदीय दल र प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा अन्य दलहरूसँग छलफल गर्न निर्देशन दिएको बताउनुभयो ।

केन्द्रको यो निर्णयसँगै अब कांग्रेस प्रदेश कार्यसमितिहरूले आ आफ्नो प्रदेशमा संसदीय दलको नेता चयन र सरकार बनाउनका लागि अन्य दलहरूसँग छलफल गर्नेछन् ।

माओवादी पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ : राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्छन्

काठमाडौ । सत्ता गठबन्धनमा आबद्ध दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको सपथग्रहण गरेरमात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

पदाधिकारी बैठकका निर्णयबारे जानकारी दिँदै अध्यक्ष प्रचण्डले पहिले सांसदहरुको सपथग्रहण हुनुपर्ने र त्यसपछि अरु विषयमा छलफल गर्ने निष्कर्ष पार्टीको रहेको बताउनुभयो । त्यस्तै प्रचण्डले बैठकमा नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने बताउनुभएको छ ।

आज बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै प्रचण्डले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताउनुभएको हो । त्यस्तै उहाँले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै प्रचण्डले अहिले नै त्यसको ठोस खाका बन्न नसकेको उल्लेख गर्नुभयो । 

सत्ता गठबन्धन जोगाउन माओवादीलाई प्रधानमन्त्री दिनुपर्ने प्रचण्डको अडान

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ । कांग्रेसको पदाधिकारी बैठक अघि उपसभापति खडकाले प्रचण्डलाई भेट गरेको स्रोतले जनाएको छ । प्रचण्ड भेट्न खड्का आज खुमलटार पुग्नुभएको थियो ।

भेटमा खड्काले कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र त्यसका लागि सहयोग गर्न प्रचण्डलाई आग्रह गर्नुभएको थियो । यसअघि प्रचण्डले हिँजो प्रधानमन्त्री देउवालाई भेटी आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री देउवाले प्रचण्डसँग कुरा गर्न खड्कालाई खुमलटार पठाएको बालुवाटार स्रोत जनाएको छ ।

उपसभापति खड्काले दोस्रो चरणमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन कांग्रेसले सहयोग गर्ने बताउनुभएको थियो । जवाफमा प्रचण्डले वर्तमान सत्ता गठबन्धन जोगाउन कांग्रेसले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ । प्रचण्डले पनि दोस्रो चरणमा माओवादी केन्द्रले कांग्रेसलाई प्रधानमन्त्रीमा सघाउने जवाफ खड्कालाई दिनुभएको छ । 

वामपन्थी नेतृत्वको सरकार गठनका लागि शीर्ष नेता भेटेर महेश बस्नेतले गरे आग्रह

काठमाडौ । गठबन्धनको सरकारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पहिलो चरणको प्रधानमन्त्री स्वीकार गर्न कांग्रेसभित्र समस्या देखिएपछि वाम सरकारको पहल पनि सुरू भएको छ ।

कांग्रेसले राष्ट्रपति पनि कम्युनिष्टलाई दिन अनिच्छा देखाइरहेका बेला एमाले र माओवादीलाई फेरि मिलाउन दोस्रो तहका नेताहरू सक्रिय भएका छन् । यसैक्रममा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई समेत भेटेर कोर्स करेक्सन गर्न आग्रह गर्नुभएको छ । 

एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झासहित शीर्ष नेताहरूलाई भेटेका बस्नेतले वाम सरकार गठनको पहल गर्न सुझाव दिनुभएको हो । बस्नेत प्रतिनिधिसभामा झिनो मतले पराजित हुनुभएको थियो । अध्यक्ष केपी शर्मा ओलीनिकट नेता बस्नेतले प्रचण्ड र माधव नेपाललाई भेट गरेका कारण नेतृत्वको अनुमति लिएरै छलफल भएको स्रोतको दाबी छ ।

देशलाई अस्थिरता र विदेशी चलखेलबाट जोगाउन वाम नेतृत्वको सरकार गठन होस् भनेर आफूले आफ्नो ठाउँबाट सामान्य पहल गरेको बस्नेतले बताउनुभएको छ । बस्नेतले शीर्ष नेताहरूलाई भेटेपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले एमाले अध्यक्ष ओलीलाई भेट गर्नुभएको थियो ।

माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने र राष्ट्रपति, सभामुखजस्ता मुख्य पदहरू एमालेले लिएर राज्यसत्तामा विदेशी चलखेल रोक्न दुवै पार्टीभित्र पहल भइरहेको नेताहरूको दाबी छ ।  

वामको नाममा स्वाधीनताको हितविपरीत लाग्नेसँग सरकार बनाउन लाग्दैन : विष्ट

काठमाडौ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले निर्वाचन परिणामबाट एमाले दोस्रो ठूलो दल बनेकाले प्रतिपक्षमै रहेर जनताका मुद्दालाई उठाउनुपर्ने बताउनुभएको छ । आज बुटवलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले सबैभन्दा ठूलो दल कांग्रेसले सरकार गठन गर्न नसकेमात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको विष्टको भनाइ छ । यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उहाँले बताउनुभयो । एमालेलाई कमजोर बनाउन चौतर्फी घेराबन्दी भए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको भन्दै उहाँले मतदातालाई धन्यवाद दिनुभयो ।

वाम पार्टीको नामबाट राष्ट्रिय स्वाधीनताको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने उहाँको भनाई छ । 

संघीय संसदका महासचिव गौतमले सर्वोच्चलाई पठाए लिखित जवाफ

काठमाडौ । संघीय संसद सचिवालयका महासिचव डा. भरतराज गौतमले सर्वोच्च अदालतलाई लिखित जवाफ पेस गर्नुभएको छ । गौतमले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चलाई लिखित जवाफ पेस गर्नुभएको हो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गरेका गौतमले प्रतिनिधि सभाको कार्यकाल सकिएपछि अन्य बिजनेससँगै महाभियोग प्रस्ताव पनि निष्प्रभावी हुने दावी गर्नुभएको छ । विधेयक नै निष्क्रिय हुने भएकाले प्रतिनिधि सभाका अरु बिजनेस महाभियोगको प्रस्ताव पनि अर्को प्रतिनिधि सभामा नजाने दावीसहितको जवाफ गौतमको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि विवादमा तानिएका गौतमलाई सर्वोच्च अदालतको फुल कोर्ट र संवैधानिक इजलासले निलम्बन फुकुवाको पत्र दिनुको कारणबारे जवाफ मागेको थियो । मंसिर २६ गते गौतमलाई जवाफ माग्दै पत्र लेखेको थियो । 

नगर प्रहरीले पार्किङबाट मोटरसाइकल उठाएपछि अनामनगरमा तनाव

काठमाडौ । ज्यादती गरेको भन्दै अनामनगरमा सर्वसाधारणले काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा लिएका छन् । आज काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै विरोध भएको हो । सडक पेटीमा ट्राफिक प्रहरीले एकलाइन पार्किङ गर्न दिए पनि महानगर प्रहरीले बल प्रयोग गरेर सवारी उठाएको उनीहरुको गुनासो छ ।

सो क्षेत्रका व्यवसायीले एकलाइन पार्किङ सडक र सडक पेटी दुवै क्षेत्रलाई असर नगरेको भन्दै महानगरले अनावश्यक रुपमा ज्यादती गरिरहेको बताएका छन् ।पैदल हिंड्ने फुटपाथमा पार्किङ गरेर राखिएको ९ वटा मोटरसाइकल उठाएको काठमाडौं महानगर प्रहरीले जनाएको छ । 

पश्चिम तराईका जिल्लामा चिसो बढ्यो, बालबालिकामा निमोनिया संक्रमण

काठमाडौ । बर्दियालगायत पश्चिम तराईका जिल्लामा शीतलहर बढेको छ । बाक्लो हुस्सु लाग्न थालेपछि अत्यधिक चिसो बढेको छ भने शीतलहरले गर्दा जनजीवन निकै प्रभावित भएको छ ।

शीतलहरसँगै जाडोका कारण जनजीवन प्रभावित बनेका छन् । शीतलहरका कारण वृद्धवृद्धा र केटाकेटी सबैभन्दा बढी प्रभावित भएका छन् । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि बालबालिकामा निमोनिया र श्वासप्रश्वासको सङ्क्रमण बढेको छ । चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो बालेर ताप्ने गरेका छन् ।

दिउँसो अलि–अलि घाम लागे पनि बिहान–बेलुका भने चिसोले काम गर्नसमेत समस्या पारेको बर्दिया मधुवनका यामप्रसाद शर्माले बताउनुभयो । शीतलहरका कारण तरकारी बालीसमेत प्रभावित भएको छ । शीतलहरले आलु, गोलभेँडा र अन्य सागपातमा समेत असर पु¥याएको छ । 

वीर अस्पतालका १२ स्वास्थ्यकर्मी सम्पर्कविहीन, ३० दिनभित्र नआए कारवाही गर्ने

काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् ।

लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका चिकित्सक, नर्स र अनमीको खोजी सुरु गरेको हो । अस्पतालले न्याम्स अन्तर्गत एक जना चिकित्सक र पाँच जना स्टाफ नर्स गरी कुल छ जनाको नाममा तीस दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ । 

कोसी अस्पतालका कर्मचारी आन्दोलित

काठमाडौ । नियमित काम गर्दापनि समयमा तलब नपाएको भन्दै विराटनगरको कोसी अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी आन्दोलित बनेका छन् । अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १ सय २१ जना चिकित्सक र कर्मचारीले कात्तिक र मंसिर महिनाको तलब नपाएपछि आन्दोलनमा उत्रिएका हुन् ।

नियमित काम गर्दापनि तलब नपाएको भन्दै उनीहरूले आज बिहान १ घण्टा अस्पताल प्रशासनअगाडि धर्ना दिएका छन् । आन्दोलनका कारण बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालको ओपीडी सेवा बन्द भएको थियो । करार अवधि थप नहुँदासमेत अस्पतालमा उपस्थित भएर उनीहरूले नियमित काम गरिरहेका छन् ।

विकास समितिले चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अनमी, फार्मेसी सहायक, ल्याब टेक्निसियन, खरिदार, मुखिया, चालक, कार्यालय सहयोगीसहित गरेर १ सय २१ जनालाई करारमा नियुक्त गरेको थियो । समितिको नियमित बैठक बस्न नसक्दा उनीहरूको करार अवधि पनि थप हुन सकेको छैन ।

करार अवधि थप नहुँदासमेत अस्पतालमा उपस्थित भएर उनीहरूले नियमित काम गरिरहेका छन् । कोसी अस्पताल विकास समितिको बैठक २ महिनादेखि बस्न नसक्दा करारमा नियुक्त भएकाको म्याद थप हुन नसकेको हो।

प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालमा चिकित्सक र कर्मचारी गरेर ६ सय १ जना कार्यरत छन्। तीमध्ये तलब नपाएका १ सय २१ जना विकास समितिले करारमा नियुक्त गरेको हो ।

बजेट नल्याएका आठ स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौ । चालु आर्थिक वर्ष २०७९÷८० को पाँच महिना बितिसक्दा पनि बजेट नल्याएका आठ स्थानीय तहलाई चाँडो बजेट ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको छ ।

सिराहाको औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, धनुषाको नगराइन नगरपालिका र कमला नगरपालिका, सर्लाहीको विष्णु गाउँपालिका र बौधीमाई नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका र बाँकेको डुडुवा गाउँपालिकालाई मन्त्रालयले पत्र पठाउँदै बजेटबारे जानकारी गराउन भनेको हो ।

गत मङ्सिर २८ गतेको सचिवस्तरीय निर्णयबाट ती पालिकालाई बजेटबारे परिपत्र गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । बजेट नल्याउने पालिकाबारे विभिन्न निकायबाट चासो भई आएको पनि परिपत्रमा उल्लेख छ ।

बजेट नल्याएका पालिकाबारे अख्तियारलगायत निकायमा उजुरी परेका कारण त्यसबारे ती निकायबाट सोधखोज भएको मन्त्रालयले जनाएको छ । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । 

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस 

काठमाडौ । आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा पारित गरेको प्रस्ताव नम्बर ५५ र ९३ लाई पारित गर्दै संसारभर ठूलो सङ्ख्यामा रहेका आप्रवासीको सरोकारको दस्ताबेज पारित भएको दिन १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रूपमा मनाउने गरिएको छ ।दिवसको अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ मुल समारोह समितिले डिसेम्बर १६ अर्थात गत बिहीबारदेखि सुरु गरेको सप्ताहव्यापी अभियान डिसेम्बर २२ मा सकिदैछ । यस वर्ष नेपालमा ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पुँजी र ज्ञानः उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मुल नारा तय गरिएको छ ।

आर्थिक खबर
 औद्योगिक क्षेत्रको भाडावृद्धि कार्यान्वयन नगर्न उद्योगीको माग

काठमाडौ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ । आज नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले भाडावृद्धि खारेज नगरे सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने चुनौती दिएको छ ।

महासंघले भाडावृद्धि औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली २०७१ विपरीत भएको दावी पनि गरेको छ । भाडावृद्धि फिर्ता नभए उद्योगहरुले औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई तिर्ने कुनै शुल्क नतिर्ने पनि महासंघले जनाएको छ । 

नेप्सेमा २७.५४ अंकको गिरावट, १ अर्ब १५ करोडको कारोबार

काठमाडौ । सेयर बजार परिसूचक नेप्से आज २७.५४ अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज बजार परिसूचक नेप्से २७.५४ अंकले गिरावट हुँदा १८५५.०६ अंकमा बन्द भएको छ । सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि करिब डेढ प्रतिशतले घटेको हो ।

आज वित्त कम्पनी उपसूचक सर्वाधिक २.८८ प्रतिशतले गिरावट हुँदा विकास बैंक, हाइड्रोपावर र अन्य उपसूचकमा पनि २ प्रतिशत भन्दा माथिको गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.५२ प्रतिशतले गिरावट भएको छ । धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन ।

आइतबार नेप्सेमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १५ करोड ७१ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये कृषि विकास बैंकको सर्वाधिक ६ करोड २५ लाख ११ हजारको कारोबार हुँदा रिडी पावर कम्पनीको ५ करोड ४३ लाख १३ हजार र नबिल बैंकको ५ करोड ४१ लाख १३ हजारको कारोबार भएको छ । 

विदेशका खबर
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार

काठमाडौ । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको पूर्वी तटको केही दूरीमा रहेको समुद्री इलाकामा दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । जापानका उपविदेश मन्त्री तोशिरो इनोले उत्तर कोरियाले प्रहार गरेको मिसाइल जापानको विशेष आर्थिक क्षेत्र भन्दा बाहिर रहेको हुनसक्ने बताउनु भएको छ ।  

जापानी रक्षा मन्त्रालयका अनुसार यी मिसाइलले ५०० किलोमिटरको उचाईसम्म उडान भरेको र २५० किलोमिटरको दूरी तय गरेका छन् । उपरक्षामन्त्रीले अहिलेसम्म कुनै प्रकारको क्षतिबारे खबर नआएको बताउनु भएको छ । उत्तर कोरियाले बिहीबार हाइ थ्रस्ट सोलिङ फ्यूल इन्जिनको पनि परीक्षण गरेको थियो ।

जानकारका अनुसार यसबाट मिसाइललाई तीव्र गतिमा लञ्च गर्न सहयोग पुग्छ । उत्तर कोरियाले यसै वर्ष कैयौं मिसाइल परीक्षण गरेको छ । जसमा एक अन्तरमहाद्विपीय ब्यालेस्टिक मिसाइल पनि रहेको छ । यस मिसाइलमा अमेरिकी जमिनसम्म पुग्ने क्षमता रहेको बताइएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद पनि उत्तर कोरियाले आणविक परीक्षण जारी राखेको छ ।

खेल खबर
कतारमा जारी फिफा विश्वकप

काठमाडौ । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज हुँदैछ । लुसेल स्टेडियममा नेपाली समय अनुसार राति पौने ९ बजे हुने फाइनल खेलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ । अर्जेन्टिना र फ्रान्सले सेमिफाइनलमा सहज जित समेत निकालेको थिए ।

पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो । दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक सन् २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गरेको थियो ।