Live Streaming

अन्नपूर्ण दिनभर : नवनिर्वाचित सांसदहरुको शपथ बिहीबार, संसदीय दलको नेता चुन्न दलहरु व्यस्त, सरकार बनाउन पनि दौडधूप 

सत्ता गठबन्धनमा दौडधुप शुरू

काठमाडौ । नयाँ सरकार निर्माणका लागि वर्तमान सत्ता गठबन्धनमा दौडधुप शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दलहरुलाई सात दिनको समयसीमा दिएपछि दौड धुपसुरु भएको हो । सत्ता साझेदार दलभित्र प्रधानमन्त्रीको विषयमा औपचारिक निर्णय भइसकेको छैन ।

यद्यपी नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि तयारी अघि बढाएको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक रुपमा प्रस्ताव गरिसक्नु भएको छ । सत्ता गठबनधनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले शनिबार प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटर प्रधानमन्त्रीमा आफूलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

गठबन्धनकै सरकार बनाउने र पहिलोपटक आफू प्रधानमन्त्री हुने दौडमा लागनु भएका प्रचण्डलाई देउवाले कांग्रेस संसदीय दलको निर्वाचनपछि मात्रै यस विषयमा सल्लाह गर्ने भन्दै टार्नुभएको छ । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था छ ।देउवा आफैं पनि प्रधानमन्त्री हुने दाउमा दलका नेता बन्ने दौडधुपमा हुनुहुन्छ । उता नेकपा एमाले भने गठबन्धनको रणनिति हेरेर मात्रै अघि बढ्ने तयारी छ । यद्यपी एमालेका दोस्रो तहका नेताहरु भने वाम सरकार गठनको पहलमा माओवादी केन्द्रसहित कम्युनिष्ट घटकसँग अनौपचारिक छलफल रहेका छन् । 

 कांग्रेसबाहेकको समीकरण ?

काठमाडौ । सत्ता गठबन्धनभित्रै कांग्रेसबाहेकको सत्ता समीकरणबारे छलफल सुरु भएको छ । आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच पनि सत्ता समीकणबारे छलफल भएको छ ।  नेपाललाई भेट्न प्रचण्ड आज दिउँसो नेपाल निवास कोटेश्वर जानुभएको थियो ।

दुई नेताबीचको भेटमा कांग्रेस बाहेकको सत्ता समीकरण बनाउने बारे पनि छलफल भएको बुझिएको छ । गत शनिबार प्रचण्डले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्रीमा आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीसमेत सशंकीत बन्नुभएको छ । 

नेपाली कांग्रेसको हिँजाको पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ । यद्यपी प्रचण्डले आफू प्रधानमन्त्री बन्ने प्रयासमा गृहकार्य गरीरहुनभएको छ । उहाँले सत्ता साझेदार कांग्रेस बाहेकका राजनीतिक शक्तिहरूसँग मिलेर सरकार गठनको प्रयास गरिरहनुभएको छ ।

प्रचण्डले हिँजोनै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँग सत्ता गठबन्धन जोगाउने हो भने आफूलाई प्रधानमन्त्री बनाउनुपर्ने अडान राख्नुभएको थियो । वर्तमान सत्ता गठबन्धले यही गठबन्धनलाई निरन्तरता दिने समझदारीसहित समीकरण मिलाउने गृहकार्य गरिरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले फरक रुपले भेटलाई जोड दिनुभएको छ ।

यता विभिन्न सार्वजनिक कार्यक्रममा भने प्रचण्डले आफू प्रधानमन्त्री बन्ने होडमा नरहेको बताउँदै जिम्मेवारी आए पछि नहट्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । 

सांसदहरूको शपथ पुस ७ गते १ बजे हुने

काठमाडौ । प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको शपथ पुस ७ गते १ बजे गर्ने तयारी संघीय संसद् सचिवालयले गरेको छ । मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५ सांसदको शपथको तयारी गरिरहेको संघीय संसद् सचिवालयले पुस ७ गते शपथ गर्ने तयारी गरिरहेको हो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार नयाँ सांसदहरूको शपथका लागि सचिवालयले तयारी अन्तिम चरणमा पु¥याएको छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएपछि अरु सांसदहरूलाई ती ज्येष्ठ सदस्यले शपथ गराउनेछन् । यद्यपी ज्येष्ठ सदस्य भने सचिवालयले टुंगो लगाएको छैन ।

महन्थ ठाकुर, चित्रबहादुर केसी र पशुपतिशमशेर जबरा सबैभन्दा बढी उमेरका सांसद हुनुहन्छ । मातृभाषामा सपथग्रहण गर्न चाहने सांसदले तीन दिनअघि नै संसद सचिवालयमा जानकारी गराउनुपर्ने महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

कांग्रेस संसदीय दलको नेता छान्न बुधबार निर्वाचन हुने

काठमाडौ । नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न बुधबार निर्वाचन हुने भएको छ । कांग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न हिजो भीष्मराज आङ्दम्बेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो सोहि समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

मतदाता नामावली प्रकाशनसँगै आज दिउँसो २ बजेबाट निर्वाचन प्रक्रिया सुरू गरिएको छ । संसदीय दलको नेता निर्वाचनसम्बन्धी सार्वजनिक कार्यक्रममा दलको नेताका लागि उम्मेदवारी दिन ५१ हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने  प्रावधान तोकिएको छ । 

निर्वाचन कार्यक्रमअनुसार भोलि दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दिन सकिनेछ । ५ गते उम्मेदवारको प्रथम नामावली प्रकाशन गरिनेछ, सोहि दिन उम्ेदवारमाथि दावी विरोधको समय तथा नाम फिर्ता लिनका लागि समय तोकिएको छ । सोहि दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । ६ गते बिहान ८ बजेदेखि १० बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान सकिएलगत्तै मतगणना सुरु हुनेछ । संसदीय दलको नेतामा यसपटक त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्री गगन थापाको उम्मेदवारी रहने सम्भावना छ । 

संसदीय दलको साझा उम्मेदवार बनाउन शेखर–गगन पक्ष छलफलमा

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको नेतामा एक जना उम्मेदवार खडा गर्न संस्थापन इतर पक्ष छलफलमा जुटेको छ । नेता शेखर कोइराला र महामन्त्री गगन थापालाई मिलाएर एक जना संसदीय दलको नेताको उम्मेदवार तय गर्न इतर पक्षका शीर्ष नेताबीच छलफल भइरहेको हो ।

नेता बलबहादुर केसीका अनुसार संसदीय दलमा कोइराला र थापा मध्ये एक जनाका नाममा सहमति जुटाउन आज बिहानैदेखि छलफल भइरहेको छ । अहिलेसम्म सहमति भने भइनसकेको उहाँको भनाइ छ ।

कांग्रेसको संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा दलको नेताको उम्मेदवार बन्ने निश्चित जस्तै छ । त्यस अवस्थामा देउवाविरुद्ध कोइराला कि थापालाई अगाडि बढाउने भन्नेमा इतर पक्षमा सहमतिको खोजी भइरहेको छ ।

सबैजसो दलहरुमा सर्वसम्मत भए नेता

काठमाडौ । सबैजसो दलहरुले संसदीय दलको नेत सर्वसम्मत चयन गरेका छन् । नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ । संसदीय दलको सोमवार बसेको बैठकले उहाँलाई सर्वसम्मत चयन गरेको हो । उपनेतामा राजेन्द्र पाण्डे चयन हुनुभएको छ ।

यसतै प्रमुख सचेतकमा प्रकाश ज्वाला चयन हुनुभएको छ । समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेतामा सभापति रवी लामिछाने चयन हुनुभएको छ । पार्टीले प्रत्यक्षमा ७ सहित २० सिट जितेको छ । यस्तै जनमत पार्टीको संसदीय दलको नेतामा पनि अध्यक्ष डा. सीके राउत चयन भइसक्नुभएको छ ।

पार्टीको संसदीय दलको उपनेतामा अब्दुल खान  र प्रमुख सचेतकमा अनिता देवी साह चयन हुनुभएको छ । पार्टीले प्रत्यक्षमा १ सहित ६ सिट जितेको छ । अन्य पार्टीहरुको नेता चुन्न भने बाँकी छ । नेकपा माओवादी केन्द्रले भने सांसदहरुको शपथपछि मात्रै सरकार निर्माणबारे छलफल गर्ने निर्णय गरिसकेको छ । 

प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भइसकेको छः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री आलोपालो गर्ने सहमति भइरहेको बताउनुभएको छ । आज बिहान चितवन पुग्नुभएका अध्यक्ष प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री मानेर गठबन्धन गर्दा प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति भइसकेको बताउनुभएको हो । यो समझदारी अहिले पनि कायमै रहेकोहाँको दावी छ । 

प्रचण्डले  एमालेसँग मिलेर सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताउनुभयो छ । उमनलेसंग कांग्रेस पनि छलफलमा रहेको बताउदै उहाँले सामान्य भेटघाटलाई नै टुंगो भएको रुपमा बुझ्न नहुने बताउनुुभयो । 

माधव नेपालको घोषणा : वामपन्थीको सरकार बन्दैन, यो अलमल्याउने कुरामात्रै हो

काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी शक्ति मिलेर सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्र हुने बताउनुभएको छ । आज पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले भएको गठबन्धन छोडेर नभएको गठबन्धनमा विश्वास गर्दा घरको न घाटको हुन सक्ने टिप्पणी गर्नुभयो । 

उहाँले अहिले नै नेकपा एमालेसँग मेलमिलाप हुन सक्ने सम्भावना नभएको पनि संकेत गर्नुभयो । २०७४ को चुनावमा आएको जनादेशबाट राम्रो शिक्षा लिएर अगाडि बढेको भए अहिले बेग्लै नतिजा आउने भन्दै उहाँले तर सबै कुरा आफूहरुको हातमा नभएको पनि बताउनुभयो । अध्यक्ष नेपालले अहिलेकै गठबन्धन कायम राख्ने भनेर संयुक्त वक्तव्य जारी गरिसकेको भन्दै गठबन्धनकै सरकार बन्ने पनि बताउनुभएको छ । 

सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द गरेको छैन रवी लामिछाने 

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सरकारमा जाने विषयमा पार्टीले ढोका बन्द नगरेको बताउनभएको छ । आज संसदीय दलको नेतामा सर्वसम्मत चयन भएपछि पत्रकारहरुसँग सक्षिप्त प्रतिक्रिया दिदै लामिछानेले आफ्नो पार्टी अनिर्णयको बन्दी बनेर नबस्ने पनि स्पष्ट पार्नुभयो ।

सरकारमा जानु मात्रै ठूलो कुरा नभएको भन्दै कस्को नेतृत्वमा कस्ता एजेन्डाहरु लिएर जाने कुरा महत्वपूर्ण हुने बताउनुभयो । उनले संसदमा आफ्नो पार्टीले चुनावअघि उठाएका जनजिविका तथा राष्ट्रियताका मुद्दाहरुलाई उठाउने पनि बताउनुभएको छ । 

राप्रपालाई सरकारमा जान हतारो छैन : अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ । आज पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो ।

आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने लिङ्देनको भनाइ छ । उहाँले आफूहरु मन्त्री खानका लागि कसैको घर नधाउने स्पष्ट पार्नुभयो ।

अध्यक्ष लिङदेनले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित उल्लेख गर्ने बताउनुभएको छ । उहाँले निर्वाचनको परिणामबाट आफु सन्तुष्ट नभएको पनि बताउनुभयो ।  

अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा सुरु भएको भन्दै आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताउनुभएको छ । अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरूलाई विदेशी दूतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमतिबिना नजान निर्देशन दिनुभएको छ । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उहाँले अनुशासन र मर्यादामा बस्न आग्रह गर्नुभयो । 

सीके राउत 

जनमत पार्टीका अध्यक्ष सीके राउतले सत्ता गठबन्धनलाई नपुग सीट पु¥याउन आफ्नो पार्टी तयार रहेको बताउनुभएको छ । तर गठबन्धनबाट प्रधानमन्त्री को बन्ने भनेर काठमाडौ । आफूले नरोज्ने उहाँले प्रष्ट पार्नुभयो ।

निर्वाचन आयोगको जलपान समारोहमा सहभागी भएका राउतले मधेस प्रदेशको मुख्यमन्त्रीमा आफने पार्टीले दाबी गरेको बताउनुभयो ।  यद्यपी आफुहरु अरु विकल्पहरुमा पनि खुलला रहेको भन्दै बार्गेनिङको रणनीति लिन सक्ने संकेत गर्नुभयो । सञ्चारकर्मीहरुसँग कुरा गर्दै राउतले गठवन्धनसँग आफ्नो पार्टी घनिभूत छलफलमा रहेको तर, निष्कर्षमा नपुगेको बताउनुभयो । 

चुनाव सकिएको खुशीमा निर्वाचन आयोगको जलपान कार्यक्रम 

काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा निर्वाचन आयोगले जलपान कार्यक्रम आयोजना गरेको छ । प्रतिनिधिसभाका २७५ जना र प्रदेशसभाका ५५० सांसदहरु टुंगो लगाएसँगै आयोगले आज जलपान आयोजना गरेको हो ।

आयोग परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष, राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुख, कूटनीतिक क्षेत्रका प्रतिनिधिलगायत सहभागी थिए । आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइसकेको छ ।

राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्दै दुई वा दुईभन्दा धेरै दललाई बहुमतसहित प्रधानमन्त्री दाबीका लागि गर्न ७ दिनको म्यादसहित आव्हान गर्नुभएको थियो । 

बागमती प्रदेश : पुस ८ गतेका लागि सर्वदलीय बैठक आह्वान

काठमाडौ । बागमती प्रदेशसभा सचिवालयले सांसदहरुको शपथ ग्रहणको तयारीलाई तीव्रता दिएको छ । निर्वाचन आयोगले बागमती प्रदेशसभाका लागि निर्वाचित सांसदहरुको अन्तिम मत परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेस गरेसँगै सचिवालय सांसदहरुको शपथमा जुटेको हो ।

आयोगले गत शनिबार निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुझाएसँगै सचिवालय सांसदहरुको सपथ ग्रहण तथा प्रदेशसभा सञ्चालनको तयारीमा जुटेको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा सञ्चालनका लागि आवश्यक प्रक्रियालाई तीव्रता दिएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बास्कोटाले बताउनुभयो । सभामुख र उपसभामुख निर्वाचित नभएको खण्डमा प्रदेशसभाको अध्यक्षता जेष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार प्रक्रिया अघि बढाइएको उनले बताए ।

सो विषयमा छलफलका लागि आगामी पुस ८ गते सर्वदलिय बैठकसमेत आह्वान गरिएको सूचना अधिकारी बास्कोटाले बताउनुभयो । सो बैठकमा छलफल पछि जेष्ठ सदस्य छनौटको अन्तिम निर्णय र सार्वजनिक गरिने उहाँको भनाई छ । सो सर्वदलीय बैठकमा जेष्ठ सदस्यको सपथ र सभाका अन्य सदस्यहरुको शपथका विषयहरुमा छलफल गरिनेछ । 

मन्त्रिपरिषदको निर्णय

काठमाडौ ।सरकारले बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर काकीर्ले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय भएको जानकारी दिनुभो ।

यस्तै बैठकले खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने निर्णय गरेको छ भने निलगिरी खोला १ र २ जलविद्युत आयोजनाको २२० केभि प्रसारणलाइन निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, माथिल्लो फावाखोला जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने, संरक्षण क्षेत्र भित्रका जलविधुत आयोजनाका लागि थप शर्त समावेश गर्ने र मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै मन्त्रीपरिषद्ले कालीगण्डकी नदी क्षेत्रबाट दुई थान शिला जनकपुरधामस्थीत जानकी मन्दिरलाई उपलब्ध गराउन स्वीकृति दिने निर्णय पनि गरेको छ । 

स्थानीय तहलाई आत्मनिर्भर संस्थाको रूपमा विकास गर्नुपर्छ  : प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।

आज काठमाडौंमा नेपाल नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमशः आत्म निर्भर संस्थाको रूपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिनुभएको हो ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरी स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जबाफदेहितालाई प्रभावकारी रूपमा पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चुस्त पारदर्शी र प्रविधिमैत्री बनाउँदै जनतालाई सहज रूपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने समेत बताउनुभएको छ । 

कैलाली गोली काण्ड : सुरक्षाको माग गर्दै सुनचाँदी व्यवसायीले बन्द गरे पसल

काठमाडौ । कैलालीको अत्तरियामा आज सुनचाँदी व्यवसायीहरूले पसल बन्द गरेका छन् । दिनदहाडै गोली प्रहार गरी व्यवसायीमाथि लुटपाट भएको भन्दै सुरक्षा र आक्रमणकारीलाई पक्राउको माग गर्दै पसल बन्द गरेका हुन् ।

व्यवसायीहरूमा त्रास बढेको र सुरक्षाको अनुभूति नभएको भन्दै व्यवसाय बन्द गर्नुपरेको सुनचाँदी व्यवसायी सङ्घ कैलालीका अध्यक्ष कमलप्रसाद लामिछानेले बताउनुभयो । उहाँले व्यवसायीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्नसमेत प्रहरीसँग माग गर्नुभएको हो ।

हिजो साँझ गोदावरी नगरपालिका १ धनगढी रोडमा रहेको न्यु घोडाघोडी सुनचाँदी पसलका सञ्चालक ३१ वर्षीय विकास गौतममाथि मोटरसाइकलमा आएका दुई जनाको समूहले गोली प्रहार गरेको थियो ।

सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर उनीसँग रहेको करिब ३३ तोला सुन लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । अहिले  सीसी क्यामेराको भिडियोका आधारमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । 

भन्सार छलीमा मुछिएका सत्ति भन्सार प्रमुख सम्पर्कविहीन

काठमाडौ । भन्सार छलीमा आफै मुछिएपछि कैलालीको सत्ति भन्सार कार्यालय खक्रौलाका कार्यालय प्रमुख सम्पर्कविहीन भएका छन् । भारतीय बजारबाट शुक्रबार पुस १ गते साँझ आफ्नै सरकारी गाडीमा भन्सार छली (अवैध) एसी ल्याएको अवस्थामा कार्यालय प्रमुख विमल कुमार साह फेला परेका थिए ।

कार्यालय प्रमुख साहको सो कुकृत्य बाहिरिएपछि उनी हाल कार्यालयको कार्यवाहकको जिम्मेवारी अन्य कर्मचारीलाई दिएर सम्पर्कविहीन बनेका हुन् । उनी बिदाको दिन (शनिवार) कार्यालयमा कार्यरत नायब सुब्बा तुलसीराम थारुलाई निमित्त प्रमुखको जिम्मेवारी सुम्पिएर कार्यालय छोडेको बुझिएको छ ।

निमित्तको जिम्मेवारी पाएका नासु थारुले आफूलाई विना जानकारी निमित्तको जिम्मेवारीसहितको पत्र छोडेर गएको बताए । भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी पुन्य विक्रम खड्काले घटनाबारे सत्यतथ्य बुझ्न सम्बन्धित शाखालाई निर्देशन दिइसकेको बताउनभएको छ ।

आर्थिक खबर
सामान्य अंकले बढ्यो सेयर बजार

काठमाडौ । समेयर बजार मापक नेप्से परिसूचक आज झिनो अंकले बढेको छ । कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक ३.८३ अंकले बढेर १८५८.८९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स पनि १.१५ प्रतिशतले बढेर ३६३.९७ विन्दुमा अडिएको छ । नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने हिँजोको तुलनामा घटेको छ ।

आज ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँ बराबरको सेयर कारोबार भयो । हिँजो १ अर्ब १५ करोड  ७१ लाख बराबरको सेयर कारोबार भएको थियो । आज २५१ कम्पनीको  २६ लाख ९९ हजार ३३१ कित्ता सेयर ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबारमा आएका १३ समूहमध्ये ९ समूहको सूचक बढ्दा ४ को घट्यो । डेभलपमेन्ट बैंक, फाइनान्स, होटल्स एन्ड टुरिजम, इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स, मनु एन्ड प्रो, म्चुअल फन्ड, नन लाइफ इन्स्योरेन्स र अदर्शको सूचक सकारात्मक देखिएको हो । यस्तै बैंकिङ, हाइड्रोपावर, माइक्रो फाइनान्स र ट्रेडिङ समूह सूचक भने ओरालो लागेको छ ।

आर्थिक खबर
 मुम्बईमा नेपाललाई १० स्वर्ण, नानुलाई एमएमए बेल्ट

काठमाडौ । भारतको मुम्बईमा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले १० स्वर्ण र २ रजत पदक प्राप्त गरेको छ । प्रतियोगिताका रेफ्री एवं नरहरीपुर डोजो, मच्छेगाउँका प्रशिक्षक रविन्द्र मानन्धरका अनुसार मिक्स मार्सल आर्ट फेडरेशन इन्डियाको आयोजनामा सम्पन्न च्याम्पियनसिपमा नेपालकी नानु शाक्यले वेष्ट अफ द वेष्ट फिमेल फाइटको उपाधी सहित मिक्स मार्सल आर्टको एमएमए बेल्ट प्राप्त गर्न सफल भइन् ।

नेपालले राजकुमार श्रेष्ठ, अमृत थोकर र मनिष कार्की सम्मिलित पुरुष टिम काता तर्फ स्वर्ण जित्न सफल भएको हो । पुरुष तर्फ टिममा स्वर्ण जित्न सफल अमृत थोकरले ५५ केजी कुमिते र मनिष कार्कीले जुनियर ब्यक्तिगत कातामा स्वर्ण जित्न सफल भएका थिए । यसैगरी श्रीजना महतारा, नानु शाक्य र सञ्जु देसार सम्मिलित टोलीले नेपालका लागि महिला टिममा पनि स्वर्ण जिते ।

श्रद्धा थापाले सिनियर काता तथा ६१ केजी कुमितेतर्फ स्वर्ण जितिन् । श्रीजना महताराले क्याडेट ब्यक्तिगत कातामा स्वर्ण तथा ५५ केजी कुमिते तर्फ रजत जोडिन् । नानु शाक्यले ५० केजी कुमितेमा स्वर्ण र जुनियर ब्यक्तिगत कातामा रजत प्राप्त गरिन् । नेपालका लागि स्वर्ण जोड्ने क्रममा टिममा स्वर्ण प्राप्त गरेकी सञ्जु देसारले जुयिनर ब्यक्तिगत काता र ४५ केजी कुमितेमा पनि स्वर्ण जित्न सफल भइन् ।

नेपालको टिम प्रशिक्षकमा राकेश श्रेष्ठ र व्यवस्थापकमा सानुभाइ थापा मगर रहेका थिए । च्याम्पियनसिपमा नेपाल, भारत र रसियाका गरि ४२५ खेलाडीहरूको सहभागिता रहेको थियो । 

खेल खबर
चीनमा अर्को वर्ष १० लाख बढीको मृत्यु हुने प्रक्षेपण

काठमाडौ । चीनले कोरोना महामारीसँग सम्बन्धित प्रतिबन्धलाई हटाउँदै गएसँगै पुनः कोरोना केसहरु बढेको देखिएको छ । हिँजा मात्रै चीनमा २ हजार कोरोना संक्रमित थपिएको अन्तर्राष्टिय संचार माध्यमहरुले जनाएका छन् । यो संख्या अझै बढ्न सक्ने विज्ञहरुको दाबी रहेको छ ।

इपिडिमियोलजिस्ट वु जुन्युलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार चीनमा कोरोनाको अझै २ वटा लहर आउन सक्ने प्रबल सम्भावना रहेको छ । जुन्युका अनुसार आगामी जनवरीमा चीनमा कोरोनाको अर्को लहर सुरु हुने छ भने फेब्रुअरीदेखि मार्चको बीचमा पनि चीनमा कोरोना महामारीको दोस्रो लहर सुरु हुने सम्भावना रहेको छ ।

अमेरिकाको ‘इन्स्टिच्युट अफ हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसन’ले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार सन् २०२३ मा चीनमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १० लाख भन्दा माथि पुग्न सक्ने अनुमान गरेको छ । ‘इन्स्टिच्युट अफ हेल्थ म्याट्रिक्स एण्ड इभ्यालुएसन’ का निर्देशक क्रिस्टोफर मुरेका अनुसार आगामी अप्रिल सम्म कुल जनसंख्याको एक तिहाइ जनसंख्या कोरोना संक्रमित हुने छन् ।