Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेस संसदीय दलको नेताका लागि देउवा र थापाबीच प्रतिस्पर्धा, भोलि निर्वाचन हुने 

कांग्रेस संसदीय दल : देउवाबिरुद्ध गगनले उम्मेदवारी दिने, शेखर प्रस्तावक

काठमाडौ । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बस्नभएको छ । त्यस्तै महामन्त्री थापाको उम्मेदवारीमा नेता शेखर कोइराला प्रस्तावक बन्नुभएको छ भने उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलले समर्थन गर्नुभएको छ । 

कांग्रेस संसदीय दलको नेताको लागि भोलि विहान ८ बजेदेखि १० बजेसम्म मतदान हुँदैछ । पार्टीको ईतर पक्षबाट शेखर कोईराला र गगन थापा आकांक्षी रहेकोमा गगनलाई उम्मेदवार बनाउने सहमति भएको थियो । अहिले गगनलाई संसदीय दलको नेतामा साथ दिने र आगामी १५ औं महाधिवेशनमा सभापतिका लागि गगनले कोइरालालाई समर्थन गर्ने सहमति भएको सांसद सुनिल शर्माले जानकारी दिनुभयो ।

कांग्रेसमा एक वर्षअघि भएको महाधिवेशनको समीकरणमा सभापति देउवाको पक्षमा संसदीय दलमा पनि प्रस्ट बहुमत देखिन्छ । देउवाले सांसदको टिकट वितरणमै संस्थापनइतर समूह आफूमाथि हाबी हुन नसक्ने गरी सन्तुलन मिलाइस्क्नुभएको छ । 
प्रारम्भिक अंकगणित हेर्दा कांग्रेसले जितेका ८९ सदस्य मध्ये देउवा पक्षका ५० छन् ।

यस्तै इतर समुहमा ३९ सांसद छन् । जित्नका लागि कुल सदस्यको ५१ प्रतिशत अर्थात ४५ सांसदको मत पाउनुपर्नेछ । देउवालाई प्रष्ट बहुमत देखिएपनि कुष्ण सिटौला पक्षका प्रदिप पौडेल, शशांक निकट दिपक गिरी तथा प्रकाशमान निकट विश्वप्रकाश शर्मालेसमेत समर्थन गर्दा थापालाई केही सहज देखिएको छ । देउवा पक्षका पनि युवा नेताहरुको साथ पाएर संसदीय दलको नेतामा चयन हुने थापाको विश्वास छ । 

संसदीय दलमा सांसदले पार्टी होइन जनमतको प्रतिनिधित्व गर्नुपर्छ : गगन थापा

काठमाडौ । संसदीय दलको नेतामा उम्मेदवारी दिनुभएका कांग्रेस महामन्त्री गगन थापाले ’सांसदहरुले जनमत’को प्रतिनिधित्व गर्नुपर्ने उल्लेख गर्दै आफ्नो पक्षमा उभिन आग्रह गर्नुभएको छ । संसदीय दलको नेतामा उम्मेदवारी दिएपछि थापाले जनमत परिर्वतनको पक्षमा

आएकोले त्यसलाई बुझेर अघि बढ्न अनुरोध गर्नुभएको हो । उहाँले चुनावबाट कांग्रेससँग अपेक्षा जोडिएकोले त्यो सुशासन र सुखद परिणामका लागि जनमतअनुसार सबै अघि बढ्न अनुरोध गर्नुभयो । 

पार्टीका नेता शेखर कोइरालाले मुलुकको स्थायित्वका लागि आफुले गगन थापालाई सहयोग गरेको बताउनुभएको छ । १५ औं महाधिवेशनमा सभापतिमा सर्मथन गर्नेगरि सहमति भएको हो भन्ने पत्रकारहरुको प्रश्नमा कोईरालाले त्यो बिषय समय र परिस्थितीले बताउदै जाने प्रतिक्रिया दिनुभयो । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने भावी प्रधानमन्त्रीको दौडबाट पन्छिनुभएको छ । आमनिर्वाचन सकिएसँगै पौडेलले भावी प्रधानमन्त्रीका लागि तीव्र आकांक्षा प्रकट गर्दै आउनुभएको थियो ।

स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पटक–पटक भेटेर आफ्नो इच्छा व्यक्त गर्नुभएपनि, देउवाले ग्रीन सिग्नल नदिएपछि पौडेल अन्ततः दौडबाट पञ्छिनुभएको हो ।

अन्ततः उहाँ संसदीय दलको नेतामा देउवाको प्रस्तावक बस्नुभएको छ । कतिपयले भने पौडेल अब राष्ट्रपतिको लागि प्रयास गर्ने पनि अनुमान गरिरहेका छन् । अहिलेकै गठबन्धनले निरन्तरता पाए कांग्रेसको भागमा राष्ट्रपति नपर्ने सम्भावना रहेकाले उहाँका लागि त्यो विकल्प पनि सहज भने हुनेछैन ।
 
राजनीति आयुले होइन आवश्यक्ताको सिद्धान्तले चल्छ : प्रवक्ता महत

काठमाडौ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने बताएउनुभएको छ । आज दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाकोसमर्थनमा पुगेका उहाँले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यक्ताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यक्ता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन हुनु रहेको बताउनुभएको हो ।

कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यक्ता रहेको उहाँको भनाइ छ । देशले खोजेको नेतृत्व काँग्रेसले प्रश्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको महतको तर्क छ । उहाँले अन्य दलहरूसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यक्ता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको उल्लेख गर्नुभएको छ । 

एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत

काठमाडौ । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिनुभयो । संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो ।

यसैबीच एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वचनमा सत्तागठबन्धनले धेराबन्दी, धाँधली र बुथ कब्जा गरेको आरोप लगाउनुभएको छ । सत्ता गठबन्धनका यस्ता गतिविधि भएपनि चुनावबाट लोकप्रिय मतमा एमाले पहिलो भएको उल्लेख गर्नुभयो । 
एमालेबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुलाई आज राजधानीमा बधाई र शुभकामना दिँदै ओलीले धाँधलीकाबीच पनि सबै चक्रव्युह तोडेको बताउनुभयो ।

उहाँले चुनवामा आफूहरुलाई धुलो चटाउँछौं भन्नेहरुले अहिले एमाले कहाँ छ भन्ने ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले मुलुक गम्भीर अवस्थामा पुगेको उल्लेख गर्नुभएको छ । ओलीले कम्युनिस्ट आन्दोलनलाई बहुमतमा पु¥याएको तर त्यसमा प्रहार गर्ने काम भएको उल्लेख गर्नुभयो । 

राप्रपा संसदीय दलको नेतामा लिङदेन सर्वसम्मत चयन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चयन हुनुभएको छ । आज बसेको राप्रपा संसदीय दलको वैठकले उहाँलाई सर्वसम्म दलको नेता चयन गरेको हो । राप्रपाले यस निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी १४ सीट संघमा जितेको छ । अघिल्लो चुनावको तुलनामा उल्लेख्य सुधार गरेको श्रेय पाएका लिङदेनले अब पार्टीसँगै संसदीय दलको पनि कमाण्ड सम्हाल्ने हुनुभएको छ ।

शपथपछि मात्रै माओवादी केन्द्रले संसदीय दलको नेता चयन गर्ने

काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले भने प्रतिनिधिसभाका सांसदको शपथ ग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गर्ने भएको छ । नवनिर्वाचित सांसदले शपथ लिएपछि मात्रै दलको नेता चयन र सरकार गठनका बारेमा निर्णय लिइने सांसद एवं माओवादीका युवा नेता माधव सापकोटाले जानकारी दिनुभयो ।

शपथपछि संसदीय दलको बैठक बस्ने उहाँको भनाइ छ । माओवादीको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निर्विकल्प हुनुहुन्छ । प्रतिनिधिसभामा माओवादीको १८ प्रत्यक्ष र १४ समानुपातिक गरी कूल ३२ सांसद् छन् । केही दिनअघि बसेको माओवादीको केन्द्रीय पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अगाडि बढाउँदा सही हुने निष्कर्ष निकालेको थियो । 

प्रचण्ड र सुवास नेम्वाङबिच भेटर्वाता 

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच भेटवार्ता भएको छ । आज बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गर्नुका साथै नयाँ सत्ता समीकरण, सरकार गठन र समसामयिक राजनीतिको विषयमा छलफल भएको जनाइएको छ ।
उपाध्यक्ष नेम्वाङले वामपन्थी दलहरुबीच एकै ठाउँमा आउनुपर्नेमा जोड दिदै प्रचण्डसमक्ष सत्तारुढ गठबन्धन टुटाएर एमाले–

माओवादीको सरकार बनाउनुपर्ने धारणा राख्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पौष १० गतेभित्र नयाँ सरकार गठनको आह्वान गरेसँगै एमालेले शीर्ष नेताहरुसँग छलफल अगाडि बढाएको हो । यस अगाडि माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको थियो ।

ओली–गुरुङबीचको भेटमा सरकार गठन प्रक्रियामा देखिएका भूराजनीतिक छायाँ र तीनका सम्भावित परिणामका बारेमा समेत खुलेर छलफल भएको स्रोतले जनाएको छ । 

पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ खुवाउने

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले नव निर्वाचित सांसदहरुलाई शपथ खुवाउनुहुने भएको छ । निर्वाचित सांसदमध्ये जबरा जेष्ठ सदस्य भएकाले प्रतिनिधिसभाका सांसदहरुलाई शपथ खुवाउने निर्णय भएको संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले अन्नपूर्णलाई जानकारी दिनुभयो । निर्वाचित सांसदमध्येका जेष्ठ सदस्यले शपथ खुवाउने प्रावधान छ । 

जबराले राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि अन्य सांसदहरुलाई शपथ खुवाउनुहुनेछ । पशुपतिशमशेर समानुपातिक सांसद हुनुहुन्छ । यसअघि महिन्द्र यादव, चित्रबहादुर केसी र पशुपति शमशेर जबरामध्ये को ज्येष्ठ सदस्य भन्ने प्रश्न उठेको थियो । त्यसपछि जेष्ठ सदस्यको टुंगो लगाउन सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित सांसदहरुको जन्ममितिसहितको विवरण मागेको थियो । 

सोही विवरणका आधारमा संसद सचिवालयले जेष्ठ सदस्यको टुंगो लगाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते बेलुका ५ बजेभित्र दावी पेश गर्न आह्वान गर्नुभएको छ । सोहीअनुसार पुस ७ गते सांसदहरुको शपथ हुन लागेको हो । 

यौन दुर्व्यवहारको आरोप लागेका माओवादी केन्द्रीय सदस्य निलम्बित

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईंमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पार्टीबाट निलम्वित भएका छन् । उनले माओवादी केन्द्रकै भ्रातृ संगठन अखिल क्रान्तिकारीमा आवद्ध एक किशोरीलाई सामाजिक संजाल फेसबुकमार्फत अश्लील म्यासेज पठाएको खुलेको छ । 

बजगाईंले पटक–पटक ती किशोरीलाई अश्लील शब्द प्रयोग गरी म्यासेज पठाएपछि अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला कमिटीमा समेत रहेकी ती किशोरीले आफूमाथि दुर्व्यवहार भएकोबारे सुरुमा संगठन र माओवादी केन्द्रको तल्ला समितिमा निवेदन दिएकी थिइन् ।

ती किशोरीको निवदेन माओवादी केन्द्रको बागमती प्रदेश समितिसम्म पुगेपछि बागमती प्रदेश समितिकै सिफारिसमा बजगाईंलाई केन्द्रीय समिति सदस्यबाट समेत निलम्बन गरिएको छ । माओवादी केन्द्रको ३ पुसमा बसेको पदाधिकारीको बैठकले उनलाई केन्द्रीय समितिबाट निलम्बन गर्दै छानबिनको जिम्मा केन्द्रीय अनुशासन आयोगलाई दिएको छ ।

बजगाईंमाथि छानबिनको जिम्मेवारी पाएको केन्द्रीय अनुशासन आयोगले काम थालेको छ । अनुशासन समितिले प्रतिवेदन बुझाएपछि उनीमाथि गरिने थप कारबाही तय हुने माओवादी केन्द्रले बताएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिक पनि सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने

काठमाडौ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक वा विदेशमा स्वरोजगारीमा रहेका श्रमिकहरु पनि अब सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पाउने भएका छन् । सरकारले आगामी वैशाखदेखि स्वेच्छिक रुपमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध गर्न सकिने गरी कार्यविधि जारी गरेको छ ।

कोषका प्रवक्ता विवेक पन्थीका अनुसार तोकिएको योगदान रकम श्रमिकले कोषमा जम्मा गरेपछि वैदेशिक रोजगारीमा रहेकाहरुले कार्यविधि बमोजिम तीन किसिमका सुविधा कोषबाट पाउनेछन् । कोषले वैदेशिक रोजगारीमा रहेकाहरुलाई कोषमा आबद्ध भएपछि दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धाअवस्थामा पेन्सन दिने सुविधा दिने गरी कार्यविधि बनाएको प्रबक्ता पन्थीले बताउनुभयो । 

यसअनुसार वैदेशिक रोजगारीमा रहेकाहरुले तोकिए बमोजिमको योगदान रकम नियमित रुपमा कोषमा अनलाइनबाट जम्मा गर्न सक्नेछन् । त्यसका आधारमा कोषले तोकिएका सुविधाहरु दिनेछ । विदेश जाँदा श्रम स्वीकति लिंदा नै श्रमिकले आवश्यक कागजात बुझाएर कोषमा आबद्ध हुने अवसर पाउनेछन् ।

अनलाइनमार्फत नै कोषमा आबद्ध हुन सकिने व्यवस्था पनि गरिएको छ । आबद्धतापछि सरकारले तोकेको मासिक न्यूनतम १५ हजारको २१.३३ प्रतिशत न्यूनतम योगदान रकम नियमित रुपमा कोषमा जम्मा गर्नुपर्नेछ ।

कार्यविधिअनुसार योगदान रकममध्ये दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामा ७.४८ प्रतिशत र वृद्ध अवस्था सुरक्षा योजनामा १३.२५ प्रतिशत रकम खर्च हुनेछ । कोषले देशभित्रै कार्यरत निर्माणलगायतका अनौपचारिक क्षेत्रका श्रमिकले पनि स्वेच्छिक रुपमा कोषमा आबद्ध भएर योगदान गर्न पाउनेछन् ।

सरकारले तोकेको न्यूनतम आधारभूत मासिक पारिश्रमिकको २०.३७ प्रतिशत बराबर रकम योगदान गर्ने अनौपचारिक क्षेत्रमा श्रमिकले दुर्घटना बीमा, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना (पेन्सन)सहित औषधि उपचारको सुविधा पनि पाउनेछन् ।

सार्वजनिक कुलो व्यक्तिको नाममा पास गर्ने १४ विरुद्ध अख्तियारको मुद्दा

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृतहरू ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसमेत १४ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा  विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

रुपन्देही, साबिक दुधराक्ष गाबिस–७ (क) र वडा–२ (क) को जग्गा नापी कार्यालय, रुपन्देहीका कर्मचारी तथा जग्गाधनीसमेत मिली फायल नक्सा तयार गर्दा सार्वजानिक कुलोको जग्गासमेत समावेश गरी नक्सा तयार गरी सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमातो रहेको पाइएको अख्तियारको भनाइ छ । 

तीन देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन देशका राजदूतहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि संयुक्त अरब इमिरेट्सका अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, नेपालका लागि संयुक्त गणतन्त्र ताञ्जानियाका कापुफी एमबेगा र नेपालका लागि सर्बियाका सिनिसा पेभिक रहेका छन् । उनीहरुमध्ये एकजना नेपालका लागि आवासीय र दुई जना गैर आवासी राजदूतहरु हुन् ।

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

काठमाडौ । काठमाडौ उपत्यका भित्रिने मुख्य मार्ग नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । हरेका दिन बिहान ११ बजेदेखि चार घण्टा सडक बन्द रहने नारायणगढ–मुग्लिन–नागढुंगा–मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ । मुग्लिनदेखि पश्चिमका चारवटा पुल बनाउनका लागि करिब एक महिना दैनिक चार घण्टा सडक बन्द हुने आयोजनाका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले बताउनु भयो ।

चिसेन्जी, तुइन खोला, कालिखोला र सिमलतालमा पुल बनाउन पहाड काट्नु पर्ने भएको र पहाड काटेका बेला गाडी चल्दा जोखिम हने भएका कारण सडक बन्द गर्नु परेको उहाँले बताउनु भयो । चार वर्षअघि नारायणगढ–मुग्लिन सडकलाई दुई लेनको फराकिलो बनाउने काम सम्पन्न भएको थियो ।सडक दुई लेनको भएपनि पुल साँघुरा भएपछि सडकजस्तै चौडा पुल बनाउनका लागि ७६ सालको चैत १० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

सम्झौताअनुसार यही पुस ९ मा पुल बनेर सकिनु पर्ने हो । तर कोरोनाका कारण पटक पटक भएको लकडाउनलगायतका समस्याले काम सम्पन्न हुन सकेको छैन ।  

बेलायत, कोरिया, क्यानडामा मौसमी श्रमिक जाने बाटो खुल्ला

काठमाडौ । मौसमी श्रमिक बढी मात्रामा माग हुने गरेपछि सरकारले कार्यविधि नै स्वीकृत गरेर श्रमिक जाने बाटो खुल्ला गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत भएको जानकारी दिनुभयो ।

कार्यविधि स्वीकृतिसँगै ठुलो मात्रामा श्रमिकको माग हुने बेलायत, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा श्रमिक जानका लागि बाटो खुल्ला भएको छ । कार्यविधि स्वीकृति भएसँगै निःशुल्क रूपमा मौसमी श्रमिक जान पाउने भएको हो । 

हालसम्म सरकारले मौसमी श्रमिक भनेरै वैदेशिक रोजगारीमा पठाउने गरेको थिएन । कार्यविधिले न्यूनतम दुई वर्ष करार अवधि तोकेर वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत वैदेशिक रोजगारीमा जानका लागि बाटो खुल्ला गरेको छ । दुई वर्ष करार अवधि तोकिए पनि यस अघि छ महिनाका लागि माग हुने गरेकाले मौसमी श्रमिक जाने गरेको पाइएको थियो ।

तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी श्रमिकका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेका छन् । मौसमी कामका लागि युवाको आकर्षण बढेसँगै ठगीको जोखिम बढ्न थालेपछि सरकार आफैँले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको मन्त्री कुँवरले जानकारी दिनुभयो । 

मापदण्ड विपरीतका साइन बोर्ड हटाउन काठमाण्डौ महानगरको ताकेता

काठमाडौ । काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी (साइन बोर्ड) नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ ।

महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका  क्षेत्रभित्र  व्यापार  गर्ने  सङ्घ,  संस्था,  वित्तीय  संस्था,  सरकारी  तथा  गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको हो । 

राहदानी आवेदनका लागि दिउँसो साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ बुकिङ 

काठमाडौ । राहदानीको आवेदनका लागि ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने समय परिवर्तन भएको छ।राहदानी विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान ११ बजे ‘अपोइन्टमेन्ट डेट’ बुकिङ खोल्ने गरेकामा आजदेखि अपराह्न साढे ३ बजेदेखि मात्रै खुला गर्न लागिएको हो।

प्रायः जिल्ला र इलाका प्रशासन कार्यालयले बिहान ११ बजेकै आसपासमा बुकिङ खोल्ने गरेको पाइएको र सर्भरमा चाप देखिएका भन्दै दिउँसो साढे ३ बजेबाट मात्र अपोइन्टमेन्ट डेट’ बुकिङ खोलिने निर्णय गर्नुपरेको विभागको भनाइ छ।विभागको सोमबार महानिर्देशकस्तरको निर्णयबाट यो व्यवस्था गरिएको सूचनामा उल्लेख छ । 

आर्थिक खबर
                दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौ । सेयर बजार परिसुचक नेप्से दोहोरो अंकको वृद्धि भएको छ । साताको तेस्रो कारोबारको दिन बजार परिसूचक नेप्से १४.२२ अंक (०.७६ प्रतिशत) ले वृद्धि हुँदा १८७३.११ बिन्दुमा पुगेर बन्द भएको छ । आज कुल २५७ धितोपत्रको २३ हजार ३४४ वटा कारोबारबाट ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम ९३ करोड ८ लाख ३९ हजार ९०१ रुपैयाँको भएको छ । 

आज सबै उपसूचकमा हरियाली देखियो । सबैभन्दा धेरै ‘अन्य’ उपसूचकको मूल्य २.३१ प्रतिशतले बढेको छ । आँधीखोला लघुवित्त वित्तीय संस्था र समृद्धि लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लागेको छ । धौलागिरि लघुवित्त वित्तीय संस्थाको मूल्य समेत ९.९९ प्रतिशतले बढ्यो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको ७.६२ र मन्दाकिनी हाइड्रोको मूल्य ४.७१ प्रतिशतले वृद्धि भएको छ । सनराइज ब्लूचिप फन्डको मूल्य सबैभन्दा धेरै ४.६७ प्रतिशतले घट्यो । नेपाल टेलिकम, सिभिल बैंक, हिमालय डिष्ट्रिलरी, नबिल बैंकलगायत कम्पनीको मूल्य धेरैले घटेको छ ।

चीन–रुस एक सप्ताहसम्म युद्ध अभ्यास गर्ने

काठमाडौ । चीन र रुसले नौसेना साझेदारी मजमुत बनाउन भोलीदेखि एकसप्ताहसम्म युद्ध अभ्यास गर्ने भएका छन । पश्चिमी देशहरुको दबाबका बीच पनि रुस र चीनले एकसाता सम्म एकसाथ नौसेना अभ्यासमा भागलिने भएका हुन । रुसी रक्षा मन्त्रालयले मस्को र बेइजिङबीचको “नौसेना सहयोगलाई सुदृढ गर्ने“ उद्देश्यले युद्ध अभ्यास डिसेम्बर २१ देखि २७ सम्म पूर्वी चीन सागरमा हुने जनाएको हो । 

रुसले युक्रेनमा आक्रमण गरेपछि अनधिकृत पश्चिमा विरोधी गठबन्धनले बल पाएको चिनले जनाएको छ । रुसको रक्षा मन्त्रालयले अभ्यासमा भार्याग मिसाइल क्रुजर, मार्शल शापोस्निकोभ डिस्ट्रेयर र रुसको प्यासिफिक फ्लीटका दुई कार्वेट्सको प्रयोग हुने जनाएको छ । चिनियाँ नौसेनाले अभ्यासका लागि धेरै युद्धपोत र पनडुब्बी तैनाथ गर्ने योजना बनाएको मन्त्रालयले जनाएको छ । 

दुवैतर्फका विमान पनि यसमा सहभागी हुनेछन् ।  यो अभ्यास शाङ्घाईको दक्षिणमा रहेको झेजियाङ प्रान्तको तटमा एक साता चल्ने बताइएको छ।  सत्तारुढ कम्युनिष्ट पार्टीको सैन्य शाखा पीपुल्स लिबरेसन आर्मी अन्तर्गत चीनको पूर्वी थिएटर कमाण्डले सामुद्रिक सुरक्षा खतराहरूलाई संयुक्त रूपमा जवाफ दिन र चीन–रूस व्यापक रणनीतिक साझेदारीको नयाँ युगलाई अझ गहिरो बनाउन संयुक्त अभ्यासले बलपुग्ने जनाएको छ।

चीनले संयुक्त राष्ट्र संघमा रुस–युक्रेन युद्धको आलोचना गर्न वा उल्लेख गर्न अस्वीकार गरेको छ। चीनले रुस विरुद्ध पश्चिमी प्रतिबन्धहरूको निन्दा गर्दै आएको छ । अझ अमेरिका र नाटोले भ्लादिमिर पुटिनलाई युद्धका लागि उक्साएको चीनको आरोप छ ।

खेल खबर
नेपाल टी–२० लिग शुक्रबारबाट, विदेशी खेलाडीहरु आउन सुरु

ऐतिहासिक प्रतियोगिताका रुपमा हेरिएको नेपाल टी–२० क्रिकेट लिग शुक्रबारबाट सुरु हुँदैछ । सो प्रतियोगितामा छानिएका अन्तर्राष्ट्रिय क्रिकेटरहरु काठमाडौं आउन थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभन थ्री स्पोर्टससँगको सहकार्यमा आयोजना गर्न लागेको यो नेपालको आधिकारिक व्यवसायिक घरेलु टी–२० प्रतियोगिता हो । 

यसअघि विभिन्न कारणले स्थगित हुँदै आएको प्रतियोगिता अब भने भव्य रुपमा आयोजना गर्न तयारी लगभग पूरा भएको छ । कतारमा आयोजित विश्वकप फुटबलमा झुमेका नेपाली खेलकुदप्रेमीहरु अब नेपाल टी–२० ले रम्नेछन् । यस प्रतियोगितामा विभिन्न ६ फ्रेन्चाइज टोली सहभागी छन् ।

विराटनगर सुपर किङ्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, काठमाडौं नाइट्स, लुम्बिनी अल स्टार्स र पोखरा एभेन्जर्स प्रतियोगितामा सहभागी रहेका छन् । 

प्रत्येक टीमले एकपटकमा ४ जना विदेशी खेलाडीलाई मैदानमा उतार्न सक्छन् । ६ वटै टीमले आफ्नो खेलाडीहरुको नाम फाइनल गरिसकेका छन् । फ्रेन्चाइजहरुलाई टीम छान्न विभिन्न मापदण्डहरु दिइएको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा शु्क्रबार त्रिवि क्रिकेट मैदानमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको फाइनल जनवरी १० तारिखमा हुनेछ ।