Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेस सभापतिमा छैटौँ पटक देउवा, कांग्रेसले पुस्तान्तरण नचाहेको विश्लेषकहरुको टिप्पणी

देउवालाई छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुला

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चौथो पटक पार्टीको संसदीय दलको नेता बन्नुभएको छ । हाल पाँचौँ पटक प्रधानमन्त्री रहेका देउवा संसदीय दलको नेतामा निर्वाचित भएसँगै अब छैटौँ पटक प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । प्रतिनिधिसभामा ठूलो दलका रूपमा रहेको कांग्रेसका सभापति देउवा अब वर्तमान सत्ता गठबन्धनमा बहुमतको गणित पु¥याएर प्रधानमन्त्री बन्ने दाउमा रहनुभएको छ । 

आज भएको निर्वाचनमा देउवाले ६४ मत ल्याएर निर्वाचित हुँदा अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मत पाउनुभयो । २०५१ सालम दलको नेता बनेपछि ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बन्नुभका देउवा त्यसयता ५ पटक प्रधानमन्त्री भइसक्नुभएको छ । यसपटक संसदीय दलको निर्वाचनमा देउवालाई ३० वर्ष कान्छा महामन्त्री थापाले चुनौती दिनुभएको थियो ।

देउवाविरुद्ध नेता शेखर कोइराला, पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता प्रदीप पौडेललगायतको मोर्चाबन्दी थियो । 

सभापति देउवा संसदीय दलको नेतामा निर्वाचित भएपछि अब उहाँको नेतृत्वमा सत्ता गठबन्धनको सरकार गठनकालागि बाटो खुला भएको छ । देउवाले गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलहरुलाई संसदीय दलको नेता चयन भइसकेपछि शक्ति बाँडफाँट गर्ने आश्वासन दिदै आउनुभएको थियो । 

संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले आगामी दिनमा पार्टीलाई राम्रोसँग अघि बढाएर लैजाने कुरामा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । 

यता  संसदीय दलको नेतामा पराजित भएपछि महामन्त्री गगन थापाले सरकार निर्माण र राष्ट्रपतिबारे पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले बन्दकोठामा सहमति गरे त्यसलाई कांग्रेसले नबोक्ने चेतावनी दिनुभएको छ । माओवादीसँग आलोपालो प्रधानमन्त्री र राष्ट्रपतिबारे भागबन्डाको तयारी भइरहेका बेला थापाले यी विषयमा संस्थागत निर्णय हुनुपर्ने उल्लेख गर्नुभएको छ । 

गगन हार्नुको शन्देश के?

काठमाडौँ ।  उम्मेदवारी मनोनयनपछि हिजो रातीसम्म गगन थापाको कोर टीमले आफ्नो पक्षमा ३४ सांसद भएको निश्कर्ष निकालेको थियो । युवाप्रतिको आर्कषण बढ्दो भएकाले देउवा पक्षकै युवा सांसदहरुको सर्मथन पनि आफुहरुले पाउनेमा गगन विश्वस्त हुनुहुन्थ्यो । तर, निर्वाचनसम्म आईपुग्दा सो अंकगणितले फेल खायो । गगनले पुस्तान्तरणको एजेण्डा लिएर चुनाव जित्न चाहनुभएपनि पुस्तान्तरण गर्ने भनि तम्सिएको पुस्ताकै मत पाउनुभएन । 

मतदानको समयमा गगन पक्षकै सांसदहरुले मतदान गरेको फोटे खिचेर प्रधानमन्त्री पत्नी आर्जु राण देउवालाई पठाएपछि गगनले आफ्नो पक्षमा नतिजा नआउने संकेत गरिसक्नुभएको थियो । तर यस बिषयमा सो पक्षमा छलफल हुन भने बाँकी छ । गगन पक्षले संसदीय दलको निर्वाचनमा शेखर–धनराजबाट धोका भएको प्रारम्भिक समीक्षा गरेको छ भने धनराज पक्षले भने गगन समूहबाट घण्टीका कार्यकर्तामार्फत सांसदको हुर्मत लिएर सिनियर नेताहरूको मानमर्दन भएको आरोप लगाएको छ । 

यता विश्लेषकहरुले कांग्रेस संसदीय दलको निर्वाचनले कांग्रेसले पुस्तान्तरण र नेतृत्व हस्तान्तरण नरुचाएको संकेत गर्ने बताएका छन् । विश्लेषक सुर्दशन आचार्यले यो पार्टीको आन्तरिक लोकतन्त्रका लागि समेत खतरा भएको बताउदै हरेक पार्टीमा पुस्तान्तरणको आवश्यकता औंल्याउनुभयो । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै आचार्यले संस्थापन पक्षमै देखिएको

बेमेलले आगामी दिनमा पार्टीको आन्तरिक लोकतन्त्रको संस्थागत विकासमै असर पु¥याउने आशंका जन्माएको बताउनुभयो । सत्ताको भागबण्डामा माओवादीकै कारण अबको ५ बर्ष झन अस्थीर बन्न सक्ने उहाँको भनाई छ । 

गठबन्धन जोगाउन यसपटक प्रचण्डलाई प्रधानमन्त्री बनाऔं

काठमाडौँ ।  प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । संसदीय दलको नेतामा चयन भएलगत्तै देउवालाई बधाइ दिन बालुवाटार पुगेका अर्थमन्त्री शर्माले सत्ता समीकरणका विषयमा पनि छलफल गरेको जनाइएको छ । 

यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाव दिनुभएको थियो । त्यसका लागि उहाँले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने आग्रह गर्नुभयो । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिकरूपमै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले दूतका रूपमा शर्मालाई बालुवाटार पठाउनुभएको हो । 

प्रचण्डले देउवाको राय बुझ्न दूत पठाएको माओवादी नेताहरूको ठम्याइ छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङले हिँजो खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएको थियो । माओवादी अध्यक्ष प्रचण्डले पनि प्रधानमन्त्री बन्ने ठूलो आकांक्षा राख्नुभएको छ । उहाँले सार्वजनिक कार्यक्रमहरूमा पनि आफू देशको प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आउनुभएको छ । 

सांसदहरूको शपथअघि सर्वदलीय बैठक

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण अघि संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय बैठक बोलाइएको छ । भोलि दिउँसो १ बजे शपथका लागि प्रतिनिधिसभाको बैठक बोलाइएको छ । त्यसअघि १२ बजे संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको हो । संसद् सचिवालय स्रोतका अनुसार १२ राजनीतिक दलबाट १–१ जना र ५ स्वतन्त्र सांसदहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ । 

बैठकमा शपथसम्बन्धी कार्यक्रमको ब्रिफिङ हुनेछ । शपथ कसरी लिने, सांसदहरूलाई दिइने सुविधा लगायत विषयमा महासचिव र कार्यव्यवस्था महाशाखाका अधिकारीले ब्रिफिङ गर्ने कार्यक्रम रहेको छ । बैठकमा सांसदहरूलाई सकेसम्म राष्ट्रिय पोसाकमा आउन या आफ्नो मौलिक संस्कृति झल्किने पोसाक लगाएर उपस्थित हुन आग्रह गरिने पनि बताइएको छ । 

यसैबीच प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँलाई आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । प्रतिनिधिसभा सदस्यलाई ज्येष्ठ सदस्यले शपथ ग्रहण गराउने र त्यसअघि ज्येष्ठ सदस्यले राष्ट्रपति कार्यालबाट शपथ लिनुपर्ने प्रावधान छ । मंसिर ४ को चुनावबाट निर्वाचित प्रतिनिधिसभाका सदस्यले भोलि दिउँसो १ बजे शपथ लिनेछन् । 

सात दलले टुंग्याए संसदीय दलको नेता, जसपामा सकस

काठमाडौँ । संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले संसदीय दलको नेता टुंग्याएका छन् । अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजबादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले संसदीय दलको नेता टुंगो लगाएका हुन् । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । नेकपा एमालेको संसदीय दलको नेतामा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । ओली सर्वसम्मतबाट संसदीय दलको नेता बन्नुभएको हो । 

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधव कुमार नेपाल चयन हुुनुभएको छ । प्रमुख सचेतकमा भने राजेन्द्र पाण्डे र सचेतकमा प्रकाश ज्वाला सर्वसम्मत चयन हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन चुनिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा भने पार्टी सभापति रवि लामिछाने सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै जनमत पार्टीको संसदीय दलको नेतामा पार्टी अध्यक्ष सीके राउत र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको नेतामा महन्थ ठाकुर चयन हुनुभएको छ । 

नेकपा माआवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संसदीय दलको नेता बन्ने निश्चित छ । त्यसका लागि संसदीय दलको बैठक भोलि डाकिएको छ । त्यस्तै नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चुनिने निश्चित छ ।

सर्वोच्चले दिएन अन्तरिम आदेश, रवि लामिछानेलाई सांसदको शपथ खाने बाटो खुला

काठमाडौँ ।  सर्वोच्च अदालतले चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिने नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको छ । लामिछाने सांसद बन्न अयोग्य भएको भन्दै शपथमा रोक लगाउन माग गर्दै परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले दुवै पक्षलाई झिकाउने फैसला गरेको हो ।

सर्वोच्चले अन्तरिम आदेश जारी नगरेकाले लामिछानेलाई भोलि सांसदका रूपमा शपथ खाने बाटो खुलेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेको नागरिकता विवाद टुंगो नलागेसम्म सांसद पद खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । 

मुद्दाको किनारा नलाग्दासम्म लामिछानेलाई प्रतिनिधिसभा प्रवेशमा पनि रोक लगाउन रिटमा माग गरिएको थियो । लामिछानेका तर्फबाट बहस गरेका अधिवक्ता सुनील पोखरेलले सर्वोच्चको आदेशबारे जानकारी दिँदै सार्वेच्चले अन्तरिम आदेश दिने÷नदिने भन्नेबारे निर्णय गर्न दुवै पक्षलाई बोलाएको बताउनुभयो ।

कायममुकायम प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहनुभएको थियो ।

माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

काठमाडौँ ।  अस्पतालमा रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेट्नु भएको छ । उहाँहरु अस्पतालमै पुगेर आज दिउँसो नेपाललाई भेट्नु भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष नेपाललाई भेट्न दिउँसो दुवै जना एकसाथ अस्पताल पुग्नुभएको थियो । दुवैजनाले अध्यक्ष नेपालको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । सरकार गठनको प्रक्रिया सुरु भइसक्दा माधव नेपाल बिरामी परेपछि गठबन्धनका बैठकसमेत प्रभावित हुने देखिएको छ ।

आगामी बजेट निर्माणको चरण सुरु

काठमाडौँ ।  राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहसँग समपुरक तथा विशेष अनुदान अन्र्तगत आगामी आर्थिक वर्ष कार्यान्वनयनमा जाने योजना तथा कार्यक्रमको लिस्ट मागेको छ । स्थानीय तहले आयोगलाई पुष मसान्तभित्र सो विवरण बुझाइ सक्नुपर्नेछ ।

आगामी आर्थिक वर्ष (२०८०÷८१) कार्यान्वयनमा जाने समपुरक र विशेष अनुदान अन्र्तगतको आयोजना तथा कार्याक्रमको प्रस्ताव सहित विवरण तयार गरेर आयोगको अनलाइन प्रणालीमार्फत पठाउन आयोगले सुचना जारी गरेको छ । 

आयोजनाको प्रस्ताव पेश गर्दा प्रदेशको मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलबाट र स्थानीय तहको हकमा भने पालिकाबाट पेश गर्नुपर्नेछ । यस्तो खालको आयोजना प्रस्तावको लागि प्रदेश र स्थानीय तहलाई लगइनको विवरण आयोगले यसअघि नै दिइसकेको जनाएको छ ।

समपुरक अनुदान सम्बन्धी कार्यविधिमा स्थानीय तहले अन्य स्रोतमा सञ्चालन हुने र हाल सञ्चालन भइरहेको आयोजना कार्यक्रमको दोहोरो नपर्ने गरी पुस मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्ने प्रावधान छ । 

मेयर हर्क साम्पाङको अभिव्यक्तिविरुद्ध दलित समुदाय आन्दोलित

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दलित समुदायको प्रतिष्ठामा आँच आउने गरी फेसबुक पेजमा स्ट्याटस लेखेको तथा अभिव्यक्ति दिएको विरोधमा आज माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

दलित आत्मरक्षा अभियान, चमार कल्याण समाज नेपाल, राष्ट्रिय दलित महिला फाउन्डेसन, संयुक्त ललित संघर्ष पुनर्जागरण पार्टी, राष्ट्रिय नागरिक पार्टी दलित जागरण अभियान लगायत दलित अधिकारसम्बन्धी संघसंस्थाले ‘जातीय विरोध सभा’ आयोजना गरेका हुन् । 
प्रदर्शनकारीहरूले मेयर साम्पाङको अभिव्यक्तिविरुद्ध भत्सर्ना गरेका छन् ।

समाजशास्त्री एवं विरोध सभाका अध्यक्ष मित्र परियारले सभालाई सम्बोधन गर्दै राज्यको नेतृत्वमा रहेको व्यक्तिबाटै दलित समुदायलाई होच्याउने प्रवृत्ति स्वीकार्य नभएको बताउनुभयो । 

रेशम चौधरीको रिहाइ माग गर्दै नागरिक उन्मुक्तिका सांसदहरू धर्नामा

काठमाडौँ ।  नागरिक उन्मुक्ति पार्टीका निर्वाचित सांसदहरू धर्नामा बसेका छन् । पार्टीका संरक्षक रेशम चौधरीको रिहाइ माग गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका १६ जना सांसदहरू आज माइतीघरमा मण्डलामा धर्ना दिएका हुन् । उनीहरूले रेशम चौधरीसहित निर्दोष थारूहरूको रिहाइ हुनुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र सरकारले ल्याएको अध्यादेश प्रमाणीकरण हुनुपर्ने प्लेकार्डसहित धर्नामा बसेका हुन् । 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म धर्ना जारी राख्ने बताइन् । उनले माइतीघरमा नवौं दिन र देशभरि नै थारूहरू स्वतस्फुर्तरूपमा धर्ना बसिरहेका बताउनुभयो । उहाँले निर्दोष थारूहरूलाई झुठा मुद्दा लगाएर राजबन्दी बनाइएको भन्दै उनीहरूको यथाशिघ्र रिहाइ हुनुपर्ने बताउनुभयो । 

रुद्रमती किनारका अतिक्रमित संरचना हटाउन सुरु 

काठमाडौँ ।  काठमाडौँ महानगरपालिका–१० रुद्रमती किनारस्थित देवीनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर र टहरा हटाउन थालिएको छ ।

महानगरपालिका नगर प्रहरीले आजदेखि अतिक्रमित संरचना हटाउन थालेको वडा नं १० का वडा सदस्य नरोज अर्यालले जानकारी दिए । रुद्रमती किनारमा रहेको करिब १६ रोपनी सार्वजनिक जग्गा सुकुम्वासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमणकारीले यस क्षेत्रमा करिब पाँच दर्जन संरचना निर्माण गरेका छन् ।

राजधानीको सभ्यताको स्रोतका रुपमा रहेका नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध संरचना निर्माण गर्दा प्रदूषण बढ्ने गरेको छ । 

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पनि काठमाडौँ उपत्यकाका नदी किनारमा अतिक्रमण भएको सार्वजनिक जग्गा खाली नभएसम्म नदी सफाइमा काम गर्न असहज हुने बताउँदै आएको छ । महानगरपालिकाले यसअघि वाग्मती नदी किनारलगायत अवैध संरचना पनि हटाउन सुरु गरिसकेको छ । नक्सापास नभई बनेका अन्य संरचना पनि महानगरपालिकाले हटाएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । 

निजी विद्यालयले १० प्रतिशत विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने

काठमाडौँ ।  निजी लगानीमा सञ्चालित विद्यालयले न्यूनतम् १० प्रतिशत विद्यार्थीहरूलाई पूर्ण रूपमा निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने कानुन बन्ने भएको छ । विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदामा यो अनिवार्य लागू गर्नुपर्ने उल्लेख छ । स्थानीय सरकारले यसका लागि आफ्नो क्षेत्रभित्रका गरिब, विपन्न, दलित, अपाङ्गता भएका, छात्राहरूको पहिचान गर्नुपर्ने छ ।

त्यस्तै, निःशुल्क तथा अनिवार्य शिक्षाका लागि संघ, प्रदेश र स्थानीय तहले क्रमशः ७०, १५ र १५ प्रतिशत आर्थिक बहन गर्नुपर्ने र आर्थिक अवस्थाका कारण बहन गर्न नसक्ने स्थानीय तहलाई संघले सहायता उपलब्ध गराउनुपर्ने छ ।

आधारभूत शिक्षा अनिवार्य र निःशुल्क प्रदान गर्न वित्तीय व्यवस्था संघ, प्रदेश र स्थानीय सरकारका साझेदारीमा र व्यवस्थापनीय जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने पनि मस्यौदामा उल्लेख छ । साथै अभिभावकहरूले शिक्षाका लागि आफ्ना छोराछोरीहरूलाई अनिवार्य विद्यालयमा भर्ना गर्नुपर्ने र ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई विद्यालय भर्ना नगराएमा कानुनबमोजिम दण्डनीय हुने पनि उल्लेख  छ । 

आर्थिक खबर
नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम ८६ करोड ३८ लाख

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज एकल अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन आज बजार परिसूचक नेप्से ५.८९ अंकले गिरावट भएर १८६७.२२ अंकमा बन्द भएको छ ।

बुधबार बजारलाई लिड गर्ने बैंकिङ उपसूचक वृद्धि भएपनि त्यसबाहेकका सबै उपसूचकमा गिरावट हुँदा नेप्से सामान्य घटेको छ । बैंकिङ उपसूचक ०.२७ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक भने सर्वाधिक १.५ प्रतिशतले गिरावट भएको छ । 

यस्तै अन्य उपसूचक १.३९ प्रतिशतले गिरावट हुँदा अरु सबै उपसूचक १ प्रतिशत भन्दा कमले गिरावट भएको छ । सोमबार र मंगलबार लगातार दुई दिन बढेको नेप्से आज भने घटेको हो । नेप्सेमा गिरावट हुँदा कारोबार रकममा पनि उत्साह भने छैन ।

आज नेप्सेमा २४ लाख ४० हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा कारोबार रकम ८६ करोड ३८ लाख १७ हजार पुग्यो । जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ११ करोड ८२ लाख ४६ हजारको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९५ लाख ९ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको ३ करोड ८५ लाख ७७ हजारको कारोबार भएको छ

विदेशका खबर
जेलेन्स्की अमेरिकी भ्रमणमा जाँदै

काठमाडौँ ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी भ्रमणमा निस्कनुभएको छ । जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आफु अमेरीका भ्रमणमा जाँदै गरेको जानकारी दिनुभएको छ । युक्रेनको रक्षा क्षमता बलीयो बनाउने उद्देश्यका लागि अमेरिका गइरहेको उहाँले उल्लेख गर्नुभएको छ । यस भ्रमणको क्रममा अमेरिकाले युक्रेनका लागि १.८ बिलियन डलरको सैन्य सहायता प्याकेज घोषणा गर्ने तयारी गरेको छ । 

अमेरिकाले पहिलो पटक युक्रेनलाई शक्तिशाली प्याट्रियट मिसाइल ब्याट्री लगायतका सैन्य उपकरण प्रदान गर्ने घोषणा गरेको छ । भ्रमणको क्रममा वासिङटन पुगेपश्चात जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसका लागि अमेरिकी सभामुख न्यान्सी पेलोसीले अमेरिकी कांग्रेसका सदस्यहरुलाई उपस्थिति जनाउन अपील गर्नुभएको छ । 

भ्रमणकै क्रममा उहाँले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेट्न सक्ने सम्भावना रहेको बताइएको छ । रुससँग युद्ध सुरु भएयता जेलेन्स्कीको यो पहिलो विदेश भ्रमण हुने भएको छ । यसअघि जेलेन्स्कीले युक्रेनको राजधानी कीभमै बसेर विदेशी नेताहरुसँग प्रत्यक्ष, टेलिफोन र अन्य भर्चुएल माध्यमबाट संवाद गर्दै आउनुभएको थियो । 

युक्रेनलाई थप हतियार उपलब्ध गराए द्वन्द्व चर्किने क्रेमलिनले आज चेतवानी दिएको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणका क्रममा वासिङ्टनले कीभका लागि नयाँ हतियार प्याकेज घोषणा गर्ने अपेक्षाबीच क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनलाई सहयोगी राष्ट्रले थप हतियार उपलब्ध गराउँदा द्वन्द्व चर्किने चेतावनी दिनुभएको हो । 

खेल खबर
राखेपद्धारा तेक्वान्दो सहित तीनवटा संघ पुर्नगठन

काठमाडौँ ।  राष्ट्रिय खेलकुद परिषद् राखेपले तेक्वान्दो सहित तीन वटा संघ पुर्नगठन गरेको छ ।राष्ट्रिय खेलकुद विकास ऐनको कार्यान्वयनका लागि भन्दै राखेपले तेक्वान्दो सहित उसु र बडिबिल्डिङ संघलाई पुर्नगठन गरेको हो ।

राखेप सदस्य सचिव टंकलाल घिसिङले अस्तित्वमा रहेका दुई वटै तेक्वान्दो संघलाई बिगठन गर्दै प्रदीप जोशीको संयोजकत्वमा तदर्थ कमिटी बनाउनुभएको छ भने विवादीत नेपाल उसु महासंघमा जनक बर्तौलाको नेतृत्वमा तदर्थ कमिटी गठन गरिएको छ ।

यस्तै दुई वटा संघको रुपमा अस्तित्वमा रहेको बडिबिल्डिङमा सहमतीका आधारमा राजुबाबु श्रेष्ठको संयोजकत्वमा तदर्थ कमिटी गठन गरिएको हो । नयाँ बनेका तदर्थ कमिटिलाई तीन महिनामित्र निर्वाचन गर्न निर्देशन दिईएको छ ।राष्ट्रिय खेलकुद विकास ऐनले एक खेलको लागि एउटा मात्र खेल संघ गठन भएको हुनुपर्ने व्यवस्था गरेको छ ।