Live Streaming

अन्नपूर्ण दिनभर : हत्या र भष्टाचार अभियोगी सांसदले पनि निर्वाध लिए सपथ, दलहरुलाई तीन दिनमा सरकार गठन गर्न दवाव 

नवनिर्वाचित सांसदहरूले लिए सपथ

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद्हरूले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । संङ्घीय संसद् सचिवालयका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमासांसद्हरूले प्रतिनिधिसभाका जेष्ठ सांसद् पशुपतिशमशेर जबराद्वारा शपथग्रहण गरेका हुन्।शपथसँगै सङ्घीय संसद् सचिवालयले सांसदको लोगो पनि वितरण गरेको छ ।सांसदहरुले नेपालीसंगै १४ मातृभाषमा सपथ लिएका थिए । यस्तै ४ जना सांसद सपथ ग्रहण समारोहमा अनुपस्थित भएका थिए ।

अनुपस्थित भएका सांसदहरुले पछि सपथ लिनेछन् । सांसदहरू आ–आफ्नो जातीय पहिचान झल्किने पोसाक लगाएर संसद् भवनमा पुगपछि केही समय त्यहाको दृष्य निकै रोचक देखिएको थियो । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १२ दलबाट प्रत्यक्षतर्फ एक सय ६५ र समानुपातिक प्रणालीबाट एक सय १० गरि कुल २७५ सांसद निर्वाचित भएका थिए ।

हत्या र भष्टाचार अभियोगीले लिए सपथ

काठमाडौँ । भ्रष्टाचार र हत्या अभियोगमा मुद्दा खेपिरहेका २ जना सांसदहरुले पनि पद तथा गोपनियताको सपथ लिएका छन् ।  भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्धा खेपिरहेका मनाङबाट निर्वाचित कांग्रेसका टेक बहादुर गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका महोत्तरी १ बाट निर्वाचित एमाले सांसद लक्ष्मी महतो कोईरीले पनि पद तथा गोपनियतको सपथ लिएका हुन् । कानूनअनुसार

कांग्रेसका गुरुङ स्वतः निलम्बित सांसद हुन् । तरपनि उनले सपथ लिए । शशस्त्र प्रहरीका असई थमन वि.क हत्याको अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले पनि सपथ लिएका हुन् ।  

गगनको प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै विषयमा पार्टीले ह्वीप लगाउनु नपर्ने बताउनुभएको छ । आज शपथग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै थापाले अहिलेसम्म संसदमा ह्वीपको लगत अभ्यास हुँदै आएको उल्लेख गर्दैसांसदहरू विधायकको रूपमा काम गर्नबाट चुकेको बताउनुभयो । संसदमा क्रस पार्टी काम गर्ने अभ्यासको सुरवात गर्दै नयाँ सांसदहरूसँग मिलेर गर्नुपर्ने धेरै कामहरू रहेको उहाँको भनाई छ । 

उहाँले सरकारलाई सदनसँग डर र भर हुने अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गर्दैसार्वभौम थलो सदनले उठाएका प्रश्नमा सरकार जवाफदेही नहुने अभ्यासको अन्त्य गर्नुपर्ने बताउनुभयो ।संसदबाट पास भएको विधेयक राष्ट्रपतिले आफूलाई ठीक वा बेठिक लागेको आधारमा रोक्न थाल्ने हो भने संसदको सार्वभौमसत्ता खोसिने बताउदै थापाले राष्ट्रपतिको भूमिकाबारे पनि नयाँ संसदमा छलफल हुनुपर्ने बताउनुभयो ।

 यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले आफुहरु मन्त्रालयका लागि नभई एजेण्डामा सहमति गरेर मात्रै सरकारमा जाने–नजाने निर्णय गर्ने बताउनुभएको छ । भ्रष्टाचार अन्त्य तथा शुशासनका मुद्धाको प्रत्याभूति गराउने एजेण्डा मिले सरकारमा सहभागि हुनसक्ने उहाँको भनाई छ । नेकपा एमालेका सांसद सूर्य थापाले गठबन्धन गरेर चुनावमा गएका दलहरुले सरकार बनाउने बिषयलाई एमालेले नियालिरहेको बताउनुभयो । 

तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई दवाव

काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा सकिन अब ३ दिन मात्रै बाँकी छ । यो समयमा संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढि दलको सरकार बनाउनुपर्ने बाध्यता छ। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोश्रो स्थानमा रहेको नेकपा एमाले सरकार बनाउने बिषयमा पर्ख र हेरको अवस्थामा रहदा वर्तमान सत्ता गठबन्धनका नेताहरु सरकार गठनका लागि पहलमा जुटेका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि पुष १० गते साँझ ५ बजेसम्मको समय दिनुभएको छ । तर, सरकार बनाउने हैसियतमा पुगेको सत्तारुढ गठबन्धनमा भने अँझै अलमल नै देखिन्छ । प्रधानमन्त्री, राष्ट्रपतिसहितका संवैधानिक पदमा शक्ति बाँटफँटको कुरा टंगोमा पुग्न नसक्दा नयाँ सरकार गठन अलमलमा परेको हो। अहिले गठनबन्धनका शिर्ष नेताहरुबीच शाक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको छ । 

यहिबीचमा प्रधानमन्त्री तथा कांग्रेस संसदीय दलको नेता शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् दलका नेता पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता भएको छ। भेटमा प्रचण्डले प्रधानमन्त्रीका लागि औपचारिक दावी गरिएको बुझिएको छ। गठबन्धनको दलबीच सरकार बनाउने सहमति बनेपनि नेतृत्व कसले गर्ने भन्ने टुंगिन सकेको छैन ।

देउवाले आफैं नेतृत्वमा सरकार गठन गर्ने पक्षमा उभिएपनि प्रचण्डले आलोपालो सहमतिको अनुसार अडान नछाड्ने पक्षमा छन्। गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, मुख्यमन्त्रीसहित मुख्य संवैधानिक पदमा प्याकेजमा भागवण्डा मिलाउने प्रयास भइरहेको छ। नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिइसकेका छन् भने सबै दलहरुले संसदीय दलको नेता समेत चयन गरिसकेका छन्।

यता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनकै सरकार बन्ने बताउनुभयो । संसद भवनबाहिर सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै प्रचण्डले प्रधानमन्त्रीका बिषयमा भने छलफल भईरहेको बताउनुभयो । 

यतानेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको बताउनुुभएको छ । संसद भवनमा पत्रकारहरुसंग कुराकानी गर्दै नेपालले  दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताएका हुन् । उहाँले छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने जानकारी दिएनुभयो । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिनुभएको छ । प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उहाँले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न सकिने बताउनुभयो । 

माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत

काठमाडौँ । नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सर्वसम्मत चयन हुनुभएको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन हुनुभएको हो । दलको प्रमुख सचेतकमा हितराज पाण्डे चयन हुनुभएको छ ।

यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन हुनुभएको छ । माओवादी केन्द्रमा ३२ सांसद छन् । संसदीय दलको बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो । बैठकमा सत्तासमीकरण, आगामी रणनीतिलगायत विषयमा छलफल भएको थियो ।

चार्ल्स शोभराजलाई रिहा गर्न काठमाडौं अदालतको पनि अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले हत्या अभियोगमा केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतको हिजोको आदेशबमोजिम काठमाडौं जिल्ला अदालतले पनि शोभराजलाई रिहा गर्न केन्द्रीय कारागार सुन्धारालाई निर्देशन दिएको हो । सर्वोच्चले भक्तपुर अदालतबाट चलेको मुद्दामा उनलाई तत्काल रिहा गरी १५ दिनभित्र स्वदेश फर्काउन आदेश दिएको थियो । 

त्यसबाहेक पनि शोभराजविरुद्ध काठमाडौं जिल्ला अदालतमा थप दुईवटा जाली राहदानी र ज्यान मार्ने उद्योगका मुद्दा भेटिएपछि के गर्ने भन्ने विषयमा कारागार व्यवस्थापन विभाग काठमाडौं अदालत पुगेको थियो । आज साँझ काठमाडौं अदालतले दुई मुद्दाको हकमा समेत बुधबार सर्वोच्चबाट भएको आदेशबमोजिम नै शोभराजलाई रिहा गर्न अनुमति दिएको हो । यस सँगै विभाग अहिले उनलाई रिहा गरेर अध्यागमन विभागमा जिम्मा लगाउने तयारीमा छ । 

स्थानीय तहको अधिकार कुण्ठित हुने कानुन खारेजी गर्न माग

काठमाडौँ । नेपाल नगरपालिका सङ्घले संवैधानिक व्यवस्थाबमोजिम स्थानीय तहको अधिकार कुण्ठित हुने सबै कानुन स्वतः खारेजी गर्न माग गरेको छ ।संघको आठौं राष्ट्रिय अधिवेशनले २५ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । स्थानीय तहको २२ वटा एकल अधिकार सूची उपभोग सुनिश्चित गर्न संघ र प्रदेश सरकारसँग माग गरिएको छ ।

संविधानअनुकूल संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकारिता र सहअस्तित्वको मूल मर्मअनुसार कार्यगत स्वायत्तताको सम्मान हुनुपर्ने घोषणापत्रमा उल्लेख छ । काठमाडौंमा भएको आठौँ महाधिवेशनले अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिका मेयर भिम ढुङ्गानाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष भिम ढुङ्गानाले संघीयताको मर्मविपरीत एकाइ कार्यालय, डिभिजन कार्यालय, ज्ञान केन्द्रजस्ता इकाइ खोलीएको भन्दै यसलाई खारेज गरिनुपर्ने बताउनुभएको छ । उहाँले कर्मचारी सरुवाले कामकाज प्रभावित गरेको भन्दै प्रस्ट कानुनी प्रबन्ध र मापदण्डबिना निश्चित अवधि पूरा नगरी स्थानीय तहको कुनै पनि कर्मचारीको सरुवा गर्न नहुने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुरा गर्दै उहाँले स्थानीय सरकारको अधिकार कुण्ठित गरेर केन्द्र सरकारले आफ्नो नियन्त्रण कायमै राख्ने नियत देखिएको बताउनुभयो । 

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सजग हुन आग्रह गरेको छ । मन्त्रालयलका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा पछिल्लो समय संक्रमण तीव्र बनिरहेको अवस्थामा नेपालमा पनि नयाँ भेरियन्ट पुष्टि भएको भन्दै सचेत हुन आग्रह गर्नुभएको हो ।

यद्यपी, छिमेकी मुलुकहरुमा पुष्टि भएका बीएफ ७ भेरियन्ट हालसम्म नेपालमा पुष्टि नभएको विज्ञप्तिमा भनिएको छ । कोभिड १९ को जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले मास्क लगाउन, भौतिक दूरी कायम राख्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सबैमा अनुरोध गरेको छ ।

बैतडी घटनाः श्रीमतीलाई अँगालोमा देखेपछि शिक्षकको हत्या

काठमाडौँ । बैतडीको कृष्ण माध्यमिक विद्यालयका शिक्षक धनबहादुर विष्टको हतयामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गरेको छ । हत्यामा आफू संलग्न रहेको स्वीकार गरेपछि आज जिल्ला प्रहरी कार्यालय बैतडीले पुर्चौंडी नगरपालिका –३ न्वादेउका प्रजा बोहरा र बोहरा र उनकी पत्नी विमला बोहरालाई सार्वजनिक गरेको हो ।

बोहराले विष्टको अँगालोमा अँगालोमा आफ्नो श्रीमती देखेपछि हत्या गरेको वयान दिएका छन् । पुस १ गते राति विमला बोहरा शौचालय जान्छु भनि बाहिर निस्किएकी थिइन् ।उनी घर आउन ढिलो गरेपछि श्रीमान् खोज्न पुगेका थिए । 

त्यो बेला आफ्नो श्रीमती शिक्षक विष्टको अँगालोमा देखेपछि उनले कुटपिट गरि हत्या गरेको बैतडीका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेम शाहीले बताउनुभयो । सामान्य कुटपिटबाट घाइते भएका शिक्षकलाई उनले एउटा हातले मुख थुनेर अर्को हातले कडा बस्तुले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ।विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिनुभयो । विमानका पाइलट प्रमोदराज गौतमले प्राविधिकरूपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको बताउनुभयो । विमानस्थल आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको छ। विमानस्थलमा बुध्द एयरले पनि दिउँसो ३ः६ बजे विमानस्थलमा अवतरण गरेको छ।  

आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहर व्यवस्थापनको काम प्रभावित हुने भएको छ। यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भएको हो । 

सहरी विकास मन्त्रालयले फोहरका गाडी आवतजावत् गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहरका गाडी नपठाउन गरेको आग्रहअनुसार व्यवस्थापन कार्य रोक्न लागिएको हो । भोलिदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिने कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो ।

महानगरपालिकाले आज एक सूचना जारी गर्दै सोही अवधिमा आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ।  

आर्थिक खबर
पाँच महिनामा व्यापार घाटा करिब ६ खर्ब

काठमाडौँ । चालु आर्थिक वर्षको ५ महिनामा व्यापार घाटा करिब ६ खर्ब रुपैयाँ पुगेको छ । यो समयमा मुलुकमा ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको मालवस्तु भित्रिएका छन् भने निर्यात भने ६७ अर्ब रुपैयाँको मात्र भएको छ । यो सँगै नेपालको वैदेशिक व्यापार ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ घाटामा पुगेको भन्सार विभागले जनाएको छ ।

आयात अघिल्लो वर्षको यसै अवधिको तुलनामा २०.७१ प्रतिशतले घटेको छ भने निर्यात ३४.६१ प्रतिशतले घटेको छ । चीनबाट ९४ अर्ब ५८ करोड रुपैयाँको आयात हुदा भारतबाट सबैभन्दा धेरै ४ खर्ब बढीको आयात भएको छ । मंसिर महिनामा मात्र आयातका नाममा मुलुकबाट १ खर्ब ३२ अर्ब ५ करोड ५० लाख रुपैयाँ बाहिरिएको छ ।

सरकारले आयात प्रतिबन्ध लगाए पनि नेपालबाट आयातका नाममा खर्बौ रुपैयाँ बाहिरिएको छ । यद्यपि पुस १ गतेबाट प्रतिबन्धित सबै आयात खुलिसकेको छ ।

नेप्सेमा झिनो अंकको गिरावट, १ अर्बमाथिको सेयर कारोबार

काठमाडौँ । सातामा सेयर कारोबारको अन्तिम दिन आज सेयर बजार झिनो अंकले घटेको छ। नेप्से परिसूचक ०.०१ अंकले घटेर १८६१.२१ विन्दुमा अडिएको छ ।

नेप्से घटेपनि सेयर कारोबार अघिल्लो कारोबार दिन बुधबारभन्दा बढेको छ । आज १ अर्बमाथिको सेयर कारोबार भएको छ। हिजो ८६ करोड बराबरको सेयर खरिदबिक्री भएको थियो। २४७ कम्पनीको ३१ लाख ११ हजार ८३३ कित्ता सेयर १ अर्ब ११ करोड ९७ लाख ७ हजार ९२१ रुपैयाँको सेयर कारोबार भयो।दुई कम्पनीको  सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लाग्यो । 

सिर्जनशील लघुवित्त वित्तीय र धवलागिरि लघुवित्त वित्तीयको सेयर मूल्य १०  प्रतिशतले बढेको हो।आज ११ समूहको सूचक नकारात्मक देखिएका छन्। होटल्स् एन्ड टुरिजम समूहको सूचक सर्वाधिक २.२८ प्रतिशतले घटेको हो।बैंकिङ, म्युचुअल र अदर्श समूहको सूचक भने उकालो लागेको छ । 

विदेशका खबर
कोरोना संक्रमितले भरिँदै चिनियाँ अस्पताल

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि चीनका अस्पतालमा बिरामी भरिन थालेको बताएको छ । डब्लूएचओको आपत्कालीन विभागका प्रमुख डाक्टर माइकल ¥यानले पछिल्लो समय चिनियाँ अस्पतालका सघन उपचार कक्ष(आईसीयू) भरिन थालेको बताएका छन् । पछिल्लो समय राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना संक्रमण बढेको छ ।

सन् २०२० देखि ’शून्य कोभिड नीति’ जस्तो कडा स्वास्थ्य मापदण्ड अपनाएको चीनमा पछिल्ला केही दिनयता संक्रमण ह्वात्तै बढेको हो ।
राष्ट्रपति सी चिनफिङको ’शून्य कोभिड नीति’ विरुद्ध नागरिक सडकमै प्रदर्शनमा उत्रिएपछि सरकार उक्त नीति फिर्ता लिन बाध्य भएको थियो । संक्रमणदर बढे पनि मृत्युदर भने नबढेको अधिकारीहरूले बताएका छन् ।

जेनेभामा साप्ताहिक प्रेस कन्फरेन्सका क्रममा डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले चीनमा बढिरहेको संक्रमण ’चिन्ताजनक’ भएको बताउनभएको छ । उहाँले चीनलाई संक्रमणको गम्भीरता, अस्पताल भर्ना र आईसीयू आवश्यकताबारे सटिक तथ्यांक उपलब्ध गराउन आग्रह गर्नुभएको छ । 

चीनमा कोरोनाको भयावह स्थिती बन्दै गएपछि विभिन्न देशहरुले विश्वव्यापी महामारीको खतराका रुपमा पूर्व तयारी शुरु गरेका छन । चीन, जापान र दक्षिण कोरियामा कोरोनाको नयाँ लहर देखिएपछि भारतले पनि सतर्कता अपनाउन थालेको छ ।

भारतले बुधबारदेखि देशका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण सुरु गरेको छ भने सबै राज्य सरकारहरूलाई कोरोनाको अवस्थाबारे समीक्षा गर्न आह्वान गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सबै राज्य सरकारहरूलाई उच्च सतर्कता अपनाउन र संक्रमणको सम्भावित अर्को लहरका लागि तयार रहन निर्देशन दिएको छ ।

 खेल खबर
फिफा वरीयतामा नेपाल यथावत्

काठमाडौँ । विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५ औँ स्थानमा यथावत् रहेको हो । नयाँ वरीयताअनुसार दक्षिण एसियामा भारत एक सय छ औँ स्थानमा रहँदै पहिलो स्थानमा छ । यस्तै माल्दिभ्स एक सय ५६ औँ, भुटान एक ८५ औँ, बङ्गलादेश एक सय ९२ औँ, पाकिस्तान एक सय ९५ औँ र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।

यस्तै कतार विश्व कप जितेको अर्जेन्टिना एक स्थान माथि उक्लिएर दोस्रो स्थानमा आइपुगेको छ । विश्व कपको क्वार्टर–फाइनलमा क्रोएसियासँग पराजित ब्राजिल शीर्ष स्थानमा यथावत् छ । यस्तै विश्व कप उपविजेता फ्रान्स तेस्रो स्थानमा उक्लिएको छ । बेल्जियम चौथो स्थानमा झर्दा इङ्ग्ल्यान्ड पाँचौँ स्थानमा रहेको छ । यस्तै नेदरल्यान्ड्स, क्रोएसिया, इटली, पोर्चुगल र स्पेन शीर्ष १० मा रहेका छन् ।

नेपाल टी–२० लिग फेरि सर्यो, शनिवारदेखि सुरु हुने

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गर्ने नेपाल टी–२० क्रिकेट लिग प्रतियोगिता फेरि सरेको छ । यसअघि दुई पटकसम्म सरेको लिग भोलिदेखि सुरु गर्ने तयारी थियो । तर, विदेशी खेलाडीको श्रम स्वीकृति प्रकृयामा ढिलाई भएका कारण प्रतियोगिता सारिएको क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बताउनुभयो ।  

अब शनिवारदेखि प्रतियोगिता सुरु हुने क्यानले जनाएको छ । केही विदेशी खेलाडी भने नेपाल आइसकेका छन् । प्रतियोगिताका लागि क्यानले सेभेन थ्री स्पोर्ट्स कम्पनीसँग सम्झौता गरेको थियो । क्यानले आठ वर्षका लागि नेपाल प्रिमियर लिगको आयोजना अधिकार सेभेन थ्री स्पोर्टस् कम्पनीलाई दिएर ३३ करोड रुपैयाँ लिने सम्झौता गरेको थियो ।

प्रतियोगितामा काठमाण्डौ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किङ्ग्स र लुम्बिनी अल स्टार गरी छ टिमले खेल्नेछन् । क्यानले घोषणा गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग नै लथालिङ्ग भएपछि खेलाडी र समर्थक निराश भएका छन् भने क्यानमाथि प्रश्न उठेको छ ।

नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो । नेपालले अब आफ्नो दोस्रो खेल भोलि श्रीलङ्कासँग खेल्नेछ ।