Live Streaming

अन्नपूर्ण दिनभर : नयाँ सरकारका लागि बढ्यो दौडधूप, गठबन्धनमा ‘पावर सेयरिङ’ मिलाउन जटील

नयाँ सरकार निर्माणका लागि दलहरुको दौडधूप बढ्यो

काठमाडौं । नयाँ सरकार गठनका लागि सत्तारुढ दलहरुको दौडधूप तीव्र बनेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको समय सकिन अब २ दिन मात्र बाँकी रहदा भेटवार्ता तीव्र बनेको हो । विशेषगरि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्चण्ड बालुवाटार पुग्नुभएको छ । उहाँहरुबीच सत्ता समीकरण र भागवण्डाबारे छलफल हुनेछ । 

त्यसअघि आजै बिहान प्रचण्ड र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको थियो भेटमा सिंहले सरकारको पहिलो नेतृत्व कांग्रेसलाई गर्न दिन र दोस्रो कार्यकाल प्रचण्डलाई सम्हाल्न आग्रह गर्नुभएको थियो तर प्रचण्डले सो प्रस्ताव अस्वीकार गर्नुभयो । पहिलो कार्यकाल आफ्नो नेतृत्वमा हुनुपर्ने प्रचण्डको अडान थियो ।

सिंहलाई प्रचण्डले जसरी पन प्रधानमन्त्री पद चाहिने र नपाए गठबन्धनबाट निस्किने धम्की दिनुभएको थियो । त्यसबारेमा निश्कर्ष निकाल्न देउवालाई १ दिनको अल्टिमेटम दिनुभएका प्रचण्ड स्वयं देउवालाई भेट्ना बालुवाटार पुग्नुभएको हो ।

त्यसअघि आजै प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरबीच पनि भेटवार्ता भएको थियो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।

प्रधानमन्त्री राष्ट्रपति लगायत संवैधानिक पदहरुमा प्याकेजमै सहमति गर्ने तयारी भईरहदा गठबनधनमा सरकारको नेतृत्व कसले पहिले गर्ने भन्नेमा अँझै कुरा मिल्न सकिरहेको छैन । 

प्रचण्डलाई प्रधानमन्त्री नछाड्न देउवालाई कांग्रेस नेताहरूको दबाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता समीकरणबारे आफू पक्षीय नेताहरूसँग छलफल गर्नुभएको छ । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री पदमा दाबी नछाडेपछि पार्टी सभापतिसमेत रहेका देउवाले आज आफूनिकट नेताहरूसँग निचोडमा पुग्न छलफल गर्नुभएको हो । 

उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, क्याबिनेटका मन्त्रीहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, उमाकान्त चौधरी र महिला नेतृ डीला संग्रौलासँगको भेटमा देउवाले प्रचण्डको अडानपछि सुझाव माग्नुभएको थियो ।

सहभागी नेताहरूले कुनै पनि हालतमा प्रधानमन्त्री पद नछाड्न देउलाई सुझाव दिएका छन् । राष्ट्रपति भण्डारीले पुस १० गते ५ बजेसम्मका लागि सरकारको नेतृत्वमा दाबी गर्न समय दिनुभएको छ । 

पोखरेलले देखाए सरकार गठनका तीन विकल्प

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलनको विभिषण भूमिकामा रहेसम्म वाम एकता वा कांग्रेसबाहेकको सरकार बन्ने सम्भावना नरहेको बताउनुभएको छ ।

सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले वाम सरकार ढालेर कांग्रेसलाई सत्ता बुझाएका प्रचण्ड–माधवले आफूलाई नीतिका आधारमा नचलाएसम्म गठबन्धन सरकारको विकल्प दिन नसकिने बताउनुभयो ।

महासचिव पोखरेलले सरकार गठनका सन्दर्भमा अहिले तीन वटा विकल्प देखिए पनि गठबन्धनकै सरकारको सम्भावना बढी रहेको बताउनुभयो ।

उहाँले देशलाई स्थिरता दिनका लागि ठूला पार्टी मिल्ने दोस्रो विकल्प रहे पनि कांग्रेसले सत्ता बाहेक राष्ट्रिय हित नसोचेसम्म त्यो सम्भावना नरहेको बताउनुभयो । पोखरेलले अर्को विकल्पको रुपमा वामपन्थी पार्टी एक ठाउँमा उभिनुलाई औंल्याउनभयो ।

माओवादी केन्द्रका दुई सांसदले लिए शपथ

काठमाडौं । हिजो शपथ लिन छुटेका दुई सांसदले आज पद तथा गोपनियताको शपथ लिएका छन् । संसद् सचिवालयमा नेकपा माओवादी केन्द्रका  रामकुमार राई र महिन्द्र राय यादवले शपथ लिनुभएको हो ।

संसद् सचिवालयका अनुसार सांसदद्वयले संसदका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिएका हुन् । 

सांसद रायले हिन्दी भाषामा शपथ ग्रहण गर्दा सांसद राईले नेपाली भाषामै शपथ लिनुभयो । हिजो ४ जना सांसदले शपथ लिन पाएका थिएनन् । शपथ लिन नपाएकामध्ये दुई सांसदको शपथ अझै बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

शपथ लिन बाँकी नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले पारिवारिक शोकमा र नेपाली कांग्रेसकी माया राई सुत्केरी भई अस्पतालमा हुनुहुन्छ । अब उनीहरूलाई आफ्नो अनुकूलतामा शपथ गराउने सचिवालयले जनाएको छ ।

संसदमा मातृभाषको उपहास

काठमाडौं । निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले शपथ लिने क्रममा मातृभाषाको उपहास भएको छ । संसद् सचिवालयमा मातृभाषामा शपथका लागि दिएको निवेदनमा हुँदै नभएको मधेसी भाषा तथा प्रयोग र प्रचलनमै नरहेको संस्कृत भाषामा शपथ खाएपछि मातृभाषाको उपहास भएको हो ।

प्रतिनिधि सभामा निर्वाचित २७५ जना सांसद्मध्ये २६ जना सांसदले बिहीवार विभिन्न १४ मातृभाषामा शपथ खाएका थिए । संसद् सचिवालयले मातृभाषामा शपथ सम्बन्धमा प्रतिनिधि सभा सदस्य २०७९ सूचीमा उल्लेख भएअनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारू, कोइ÷कोयू, मैथिली, नेपाली खस, मधेसी भाषा, सन्थाली भाषा, नेपाल भाषा, अवधि, नेपाली÷मुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिएका थिए ।

हिजो संसद भवन नयाँ वानेश्वरमा धेरै नयाँ जनप्रतिनिधिले आफ्नो पहिचान झल्किने पोसाकसहित उपस्थित भएका थिए । त्यसले सकारात्मक सन्देश पनि दिएको छ । भने कतिपयले आफ्नो समुदाय र संस्कृति झल्किनेगरि सपथ नलिएको भन्दै सामाजिक सञ्जाल तथा नागरिक समाजमा विरोध समेत भएको थियो ।

नेपाल बहुजाति, बहुभाषिक देश भएकाले सम्बन्धित समुदायका प्रतिनिधिले आआफ्नो भाषा संस्कृतिको सम्मान होस् भन्ने सबै समुदायले चाहेपनि त्यसो नभएको कतिपयको टिप्प्णी छ । 

भाषा आयोगको सूचीमा हुँदै नभएको भाषामा शपथ खाएको भन्दै विरोध भएको छ । नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण पनि सोधेको छ ।

भाषा आयोगबाट प्रकाशित ’सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू– २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।

आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । हिजो जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित विनिता कुमारी सिंह र अनितादेवी साहले मधेशी भाषामा तथा सपथ लिएका थिए । 

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनभएको छ । आज संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाउनुभएको हो । 

कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस कार्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित शाहीलाई शुक्रबार बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो । शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ । 

माओवादी केन्द्रले प्रदेश १ मा पुष ११ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । दल नेतामा ३ जना प्रदेश सांसदले दाबी गरेका छन् । माओवाली केन्द्र प्रदेश १ को संसदीय दलको नेता हुन दुई पोलिटव्युरो सदस्य दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्बो तथा केन्द्रीय सदस्य राजेन्द्र कार्कीले दाबी गर्नुभएको हो ।

चापागाईं तेह्रथुमको प्रदेशसभा (२) र आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । राजेन्द्र कार्की नवीन भने संखुवासभा १ (१) बाट निर्वाचिन हुनुभएको थियो । प्रदेश १ मा माओवादीका १३ सदस्य छन् । तीमध्ये ९ प्रत्यक्ष र ४ जना समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

बागमती कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । निर्वाचन तालिकाअनुसार पुस १३ गते बिहान ८ बजे उम्मेदवारी दर्ता हुनेछ भने सोहि दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ । 

१० वर्ष निष्कासनमा परेका चार्ल्स शोभराजलाई अध्यागमनले त्रिभुवन विमानस्थल पठायो

काठमाडौं ।१० वर्ष निष्कासनमा परेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थल पठाएको छ । केन्द्रीय कारागारले आजै शोभराजलाई कैदमुक्त गरी अध्यागमनको जिम्मा लगाएको थियो ।

हत्या अभियोगमा करिब २ दशकदेखि नेपालको कारागारमा कैद भुक्तान गरिरहेका शोभराजलाई सरकारले १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको हो । शोभराज केहीबेरमा कतार एयरवेजको उडान क्युआर ६४७ मार्फत कतार हुँदै फ्रान्स जानेछन् ।
 
त्रिभुवन विमानस्थल भन्सारबाट १९ केजीभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद भएको छ । प्रहरीका अनुसार १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट आज दिउँसो काठमाडौं आएका सुडानी नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिन सुनसहित पक्राउ परेका हुन् ।

विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए । शंकाका आधारमा चेकजाँच गर्दा उनी सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । विमानस्थलस्थित भन्सार कर्यालयले करिब १८–१९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ ।  

मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनीमा हुने

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ ।

सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन भन्दै सम्मेलन गर्न लागेका हुन् । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । 

प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो । २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाका अनुसार यही पुस १५ गते मुख्यमन्त्री सम्मेलन गर्ने करिब टुंगो लागिसकेको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेसको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुयाएको बताउनुुभएको हो ।

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त राखेका थिए ।

भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ । राष्ट्रपति भण्डारीले आजै मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गर्नुभएको थियो । 

विशेष अदालतले फैसला गरेका चार मुद्दाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै चारवटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।

विशेष अदालतबाट विभिन्न मितिमा  फैसला भएका घुस रिसवत, सार्वजनिक सम्पत्ती हानिनोक्सानी,राजश्व चुहावट र गैरकानुनी लाभ तथा हानि गरी जम्मा चार मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

केदार शर्मा,गोविन्दराज ओझा, डोमा शेर्पा र कृष्णकुमार नेपाललगायत प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त बुझ्दो नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।

सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने कुर्मी पक्राउ

काठमाडौं ।सामाजिक सञ्जालबाट महिलालाई दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ परेका छन् । रुपन्देहीको सिद्धार्थनगरपालिका–११का विश्वनाथ कुर्मीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी रोजगारीका क्रममा दुबई गएको र त्यहाँ सामाजिक सञ्जालबाट महिलासँग अश्लिल संवाद गरी त्यसको रेकर्ड गरी महिलाका साथीलाई पठाउने गरेका थिए ।

उनले लामो समयदेखि यस्तो काम गरिरहेको र पीडित महिलाको उजुरीका आधारमा दुबईबाट नेपाल फर्कनेक्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ । पक्राउ परेका कुर्मीलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।

मानव बेचबिखनमा संलग्न दुईजना चिनियाँ नागरिक जेल चालन

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोग लागेका दुईजना चिनियाँ नागरिक जेल चलान भएका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको हो ।

चिनियाँ नागरिक चेन याङ र रूआन चाओहोङले ३ जना नेपालीलाई फ्रि भिसा र फ्रि टिकटमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने भन्दै लाओस पुयाएका थिए । महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्डहुँदै लाओस पुयाएका थिए ।

त्यहाँ पुयाएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिएको बुझिएको छ ।

लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एकजनालाई काठमाडौंको ठमेल र एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

आर्थिक खबर

विद्युत् प्राधिकरणलाई कारबाही गर्ने दूरसञ्चारको चेतावनी 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युत् प्राधिकरणलाई कारबाहीको चेतावनी दिएको छ । विद्युत् लाइनको आपूर्ति काटेर इन्टरनेट सेवा अवरुद्ध पारेको भन्दै विद्युत् प्राधिकरणलाई दूरसञ्चारले कारबाहीको चेतावनी दिएको हो ।

विद्युत् प्राधिकरणले केही इन्टरनेट सेवा प्रदायकको विद्युत् काटिदिँदा राज्यका धेरै स्थानमा इन्टरनेट सेवा अवरुद्ध हुन पुगी बैंकिङ सेवा, हवाई सेवा लगायतका अत्यावश्यक सेवाहरु अवरुद्ध हुन पुगेको दूरसञ्चारले जनाएको छ ।

हरेक समस्याको समाधान वार्ताबाट मात्र हुन सक्ने भएकाले आपसी छलफलबाट समस्याको समाधान गर्न पनि उसले विद्युत् प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई आग्रह गरेको छ ।

विदेशका खबर
अमेरिकालाई रेड लाइन क्रस नगर्न चीनको चेतावनी

काठमाडौं । चीनले अमेरिकालाई रेड लाइन क्रस नगर्न चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकाले चलाखीपूर्ण रणनीति प्रयोग गर्दै रेड लाइन क्रस गर्न खोजेको भन्दै त्यस्तो नगर्न चेतावनी दिएको अलजजिराले जनाएको छ । उहाँले अमेरिकाले आफ्नो ‘एकतर्फी धम्कीको पुरानो दिनचर्या’ बन्द गर्नसमेत चेतावनी दिएको छ । 

अमेरिकी समकक्षी एन्टोनी ब्लिंकेनलाई टेलिफोन कुराकानीमा वाङले यस्तो चेतावनी दिनुभएको हो । वाङले अमेरिकाले चीनको विकास दबाउन खोजेको भन्दै आरोप पनि लगाउनुभएको छ ।

अमेरिकाले ठूलो परिणाम प्राप्त गर्नका लागि गर्ने साना कदमहरूलाई लक्षित गर्दै चीनले त्यस्तो नगर्न चेतावनी दिएको हो । दुई ठूला देशका प्रमुखहरूले प्रत्यक्ष भेटवार्ता गरेको केही सातामै चीनबाट यस्तो चेतावनी आएको हो ।

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

काठमाडौं । बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको छ । जाडो याममा श्वासप्रश्वास सम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञहरूले बताएका छन् ।

बेइजिङ अस्पतालका श्वासप्रश्वास तथा क्रिटिकल केयर मेडिसिन विभागका प्रमुख ली यानमिङका अनुसार ओमिक्रोन भेरियन्टको सङ्क्रमणपछि केही पाका उमेरका बिरामीमा गम्भीर समस्या देखिएको थियो, तर उनीहरू सबै उपचारपछि सङ्क्रमणबाट निको हुनेछन् । 

बेइजिङ चाओ–याङ अस्पतालका उपाध्यक्ष तोङ झाओहुइका अनुसार अस्पतालमा पछिल्ला दिनमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेका छन् । 

यता भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ । दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको हो ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतमा बिहिबार बसेको उच्च स्तरीय आकस्मिक बैठकले सार्वजनिक स्थानमा मास्क नलगाए जरिवाना समेत गर्ने निर्णय गरेको हो । 

केन्द्र सरकार र राज्य सरकारहरुले सर्वसाधारणलाई सतर्कता अपनाउन समेत आह्वान गरेका छन् । भारत सरकारले गत बुधबारदेखि देशभरका विमानस्थलमा विदेशबाट आउने यात्रुहरूको कोरोना परीक्षण गर्न सुरू गरिसकेको छ । पछिल्लो समय चीन, जापान, दक्षिण कोरिया, अमेरिका र फ्रान्स लगायतका देशमा कोरोन संक्रमण तीव्र रूपमा बढिरहेको छ ।

खेल खबर
नेपाल लगातार दुई खेलमा पराजित

काठमाडौं । काभा यू–२३ भलिबल च्याम्पिनयसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबारदेखि बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग सोझो सेटमा पराजित भयो । ब्लक र रिसिभमा निरीह देखिएको नेपाल क्रमशः २६–२४, २५–१८, २५–१७ को नतिजामा पराजित भयो । पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो ।

पहिलो सेट २६–२४ को पराजय भोगेको नेपाल नेपालले दोस्रो सेटमा २५–२२ मा सीमित भयो । नेपालले अन्तिम सेटमा २५–२१ ले पराजित भएसँगै नेपालले अंक जोड्ने मौका गुमाएको थियो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ गतेसम्म चल्नेछ । 

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार मुलुकको सहभागिता छ । नेपालले लिग चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्ने छ । नेपाल भलिबल संघ (एनभीए)ले खुला छनोटबाट ८० खेलाडी चुनेको थियो । दोस्रो चरणमा ८० बाट २० जनामा घटाइएका खेलाडीबाट १४ जनाको अन्तिम टिम घोषणा भएको थियो ।