Live Streaming

अन्नपूर्ण खबर : प्रधानमन्त्रीमा दाबी पेशको समय २ दिन बाँकि, पहिले सरकारको नेतृत्व गर्न प्रचण्ड र देउवाको हानथाप

नयाँ सरकार निर्माणका लागि दलहरुको दौडधूप बढ्यो

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिन २ दिन मात्रै बाँकी छ । योसंगै दलहरुको दौडधूप पनि बढेको छ । सत्ता गठबनधनमा रहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आ–आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि भेटवार्ता तीव्र पारेका छन् । नेताहरुको बालुवाटार दैड तीव्र बनेको छ । 

आज मात्रै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रचण्ड पहिलो चरणमा सरकारको नेतृत्व आफुले गर्न पाउनुपर्ने मागसहित एमालेसंग मिल्ने धम्की दिइरहदा कांग्रेसमाथि एकातर्फ दवाव बढेको छ भने, अर्कोतिर प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु निरन्तर सम्वादमा रहनु र देउवाले प्रधानमन्त्री नछाड्दा प्रचण्डसामू बलियो विकल्प नहुनुले पनि देउवा ढुक्क देखिनुभएको छ । आज भएको भेटवार्तामा पनि सोहीबारे कुरा भएको बुझिएको छ । तर, आजको बैठकले पनि निर्णयमा पुगिनेमा भने कांग्रेसका नेताहरु विश्वस्त छैनन् । 

यसअघि आज बिहान प्रचण्ड र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको थियो । भेटमा प्रचण्डले पहिलोपटक प्रधामन्त्री बन्ने अडान दोहो¥याउदा सिंहले भने पहिलो नेतृत्व कांग्रेस र दोश्रो पटकको नेतृत्व माओवादीले गर्नुपर्ने बताउनुभएको थियो । सोही सन्देश बोकेर सिंह बालुवाटार पुगेलगत्तै प्रचण्ड पनि बालुवाटार पुग्नुभएको हो ।

आजै प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसंग भेट गर्नुभएको थियो । संसदमा चार सिट रहेको लोसपाका अध्यक्ष ठाकुरलाई प्रधानमन्त्री देउवाले सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ । लोसपाका नेताहरु जसको नेतृत्वमा गठबन्धन निर्वाचनमा सहभागि भयो उसकै नेतृत्वमा सरकार बन्नुपर्ने पक्षमा रहेको श्रोतले जनाएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो अडान कायमै राख्दा सरकार गठन पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री राष्ट्रपति लगायत संवैधानिक पदहरुमा प्याकेजमै सहमति गर्ने तयारी भईरहदा गठबनधनमा सरकारको नेतृत्व कसले पहिले गर्ने भन्नेमा अँझै कुरा मिल्न सकिरहेको छैन । 

प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत नपुगेपछि दुई वा दुईभन्दा बढी दलको समर्थन जुटाएर सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले गत पौष ३ गते ७ दिनको समयसीमा दिनु भएको थियो । नेपालको संविधानको धारा ७६ को उपधारा १ मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र उनको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुने व्यवस्था छ ।

तर अहिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेकाले उपधारा २ अनुसार राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभाको सदस्यका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो । 

उम्मेदवार र दललाई निर्वाचन खर्च विवरण पेश गर्न आयोगको ताकेता

काठमाडौं । निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएको ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्न ताकेता गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले तोकिएको समयमा खर्चको विवरण पेश नगर्ने विजयी र पराजित दुवै उम्मेदवार तथा राजनीतिक दललाई कानूनबमोजिम कारवाही र जरिवाना हुने बताउनुभयो । आयोगले तोकिएको निर्वाचन खर्चको अधिकतम् हदलाई निश्चित ढाँचामा विवरण पेश गर्न गत मङ्सिर १२ गते निर्देशन दिएको थियो ।

आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या र भूगोलका आधारमा प्रतिनिधिसभाको प्रत्यक्षका लागि २५ लाख देखि ३३ लाखसम्म र प्रदेशसभाको प्रत्यक्षतर्फ १५ लाखदेखि २३ लाखसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा तोकिएको समयमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार छ सय २४ उम्मेदवारलाई जनही सात लाखसम्म जरिवाना तोकेको थियो । निर्वाचनमा जरिवाना तोकिएर समयमा नबुझाउनेलाई प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार हुन अयोग्य तुल्याइएको थियो । 

संसदमा मातृभाषको उपहास

काठमाडौं । निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूले शपथ लिने क्रममा मातृभाषाको उपहास भएको छ । संसद् सचिवालयमा मातृभाषामा शपथका लागि दिएको निवेदनमा हुँदै नभएको मधेसी भाषा तथा प्रयोग र प्रचलनमै नरहेको संस्कृत भाषामा शपथ खाएपछि मातृभाषाको उपहास भएको हो ।

प्रतिनिधि सभामा निर्वाचित २७५ जना सांसद्मध्ये २६ जना सांसदले बिहीवार विभिन्न १४ मातृभाषामा शपथ खाएका थिए । संसद् सचिवालयले मातृभाषामा शपथ सम्बन्धमा प्रतिनिधि सभा सदस्य २०७९ सूचीमा उल्लेख भएअनुसार सांसदहरूले उर्दु, तामाङ, भोजपुरी, थारू, कोइकोयू, मैथिली, नेपाली खस, मधेसी भाषा, सन्थाली भाषा, नेपाल भाषा, अवधि, नेपाली÷मुस्लिम, हिन्दी र संस्कृत भाषामा शपथ लिएका थिए ।

हिजो संसद भवन नयाँ वानेश्वरमा धेरै नयाँ जनप्रतिनिधिले आफ्नो पहिचान झल्किने पोसाकसहित उपस्थित भएका थिए । त्यसले सकारात्मक सन्देश पनि दिएको छ । भने कतिपयले आफ्नो समुदाय र संस्कृति झल्किनेगरि सपथ नलिएको भन्दै सामाजिक सञ्जाल तथा नागरिक समाजमा विरोध समेत भएको थियो । 

यता भाषा आयोगको सूचीमा हुँदै नभएको भाषामा शपथ खाएको भन्दै विरोध भएको छ । नवनिर्वाचित सांसदहरुले मधेशी भाषामा शपथ लिएकोबारे मधेशी आयोगले संघीय संसद् सचिवालयलाई स्पष्टीकरण पनि सोधेको छ ।

भाषा आयोगबाट प्रकाशित ’सरकारी कामकाजका भाषासम्बन्धी सिफारिसहरू– २०७८’ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत नरहेकाले उक्त भाषामा प्रतिनिधि सभाका सदस्यले शपथ लिने विषय गम्भीर भएको समेत उल्लेख गरेको छ ।

आयोगले सांसदरुहलाई कुन आधारमा मधेशी भाषामा शपथ दिएको भनी स्पष्ट पार्न संसद् सचिवालयलाई निर्देशन दिएको छ । हिजो जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित विनिता कुमारी सिंह र अनितादेवी साहले मधेशी भाषामा तथा सपथ लिएका थिए । 

बागमतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले राजीनामा दिनभएको छ । हिजो संघिय सांसदको शपथ लिएका पाण्डेले आज हेटौँडा आइपुगेर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा पत्र बुझाउनुभएको हो । 

कांग्रेस कर्णाली प्रदेश संसदीय दलको नेतामा शाही सर्वसम्मत

काठमाडौं । नेपाली कांग्रेस कार्णाली प्रदेश संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । हुम्ला प्रदेशसभा (२) बाट निर्वाचित शाहीलाई शुक्रबार बसेको प्रदेशसभा सदस्यहरुको बैठकले सर्वसम्मत दलको नेता चयन गरेको हो ।शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत हुनुहुन्छ । 

प्रदेश १ का कुरा

काठमाडौं । माओवादी केन्द्रले प्रदेश १ मा पुष ११ गते संसदीय दलको नेता चयन गर्ने भएको छ । दल नेतामा ३ जना प्रदेश सांसदले दाबी गरेका छन् ।माओवाली केन्द्र प्रदेश १ को संसदीय दलको नेता हुन दुई पोलिटव्युरो सदस्य दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्बो तथा केन्द्रीय सदस्य राजेन्द्र कार्कीले दाबी गर्नुभएको हो ।

चापागाईं तेह्रथुमको प्रदेशसभा (२) र आङ्बो पाँचथर प्रदेशसभा (२) बाट निर्वाचित सांसद हुनुहुन्छ । राजेन्द्र कार्की नवीन भने संखुवासभा १ (१) बाट निर्वाचिन हुनुभएको थियो । प्रदेश १ मा माओवादीका १३ सदस्य छन् । तीमध्ये ९ प्रत्यक्ष र ४ जना समानुपातिकतर्फबाट निर्वाचित भएका हुन् ।

बागमती कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । १३ पुसमा हुने निर्वाचनको तालिकासमेत सार्वजनिक भएको छ । हेटौंडामा हुने निर्वाचनको लागि प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । निर्वाचन तालिकाअनुसार पुस १३ गते बिहान ८ बजे उम्मेदवारी दर्ता हुनेछ भने सोहि दिन दिउँसो २ बजेदेखि ३ बजेसम्म निर्वाचन हुनेछ । 

चार्ल्स शोभराजलाई ’डिपोर्ट’ गरियो, १० वर्ष नेपाल प्रवेश गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि १९ वर्षको जेल जीवनबाट रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आज फ्रान्स निष्कासित भएका छन् । आज साँझ साढे ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई फ्रान्सका लागि ’डिपोर्ट’ गरिएको हो ।

आजै केन्द्रीय कारागारबाट छुटेका शोभराजलाई नेपाल सरकारले ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरेको हो । केन्द्रीय कारागार सुन्धाराबाट छुटेपछि शोभराजलाई कारागार कार्यालयले आजै अध्यागमन विभागको जिम्मा लगाएको थियो । 

दुई विदेशी नागरिकको हत्या अभियोगमा दोषी ठहर भइ १९ वर्षभन्दा लामो समय काठमाडौंस्थित कारागारमा थुनिएका शोभराजलाई बुधबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

साथै फैसलामा उनलाई १५ दिनभित्रै फ्रान्स फिर्ता पठाउन पनि अदालतले आदेश दिएको थियो । अरु अदालतमा समेत शोभराज विरुद्ध मुद्दा भए नभएको बुझ्ने क्रममा ढिला भएपछि बिहीबार कारागारबाट रिहाइको प्रक्रिया लम्बिएको थियो ।

पछिल्लो पटक उनका तर्फबाट परेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले १५ दिनभित्र आफ्नो देश फर्कने व्यवस्था मिलाउन सरकारका नाममा आदेश दिएको थियो ।

२०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चिच र क्यानडेली नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदालतले शोभराजलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनाएको थियो ।

शोभराजलाई कम्तीमा १० वर्षसम्म नेपाल फर्कन नपाउने भन्दै प्रतिबन्ध पनि लगाइएको छ । आज कतार एयरवेजको उडानबाट उनी कतार हुँदै फ्रान्सका लागि प्रस्थान गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सारबाट १९ केजीभन्दा बढी सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणाममा सुन बरामद भएको छ। प्रहरीका अनुसार १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् ।फ्लाई दुबईको ५१९ नम्बरको उडानबाट आज दिउँसो काठमाडौं आएका सुडानी नागरिक मोहम्मद अहमेदले डफला साराफेल्दिन सुनसहित पक्राउ परेका हुन्।

विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्रमा चेकजाँचका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो।उनले प्लास्टिकमा बेरिएको अर्धतरल (सेमिलिक्विड) सुन कम्मरमा बाँधेर ल्याएका थिए।

शंकाका आधारमा चेकजाँच गर्दा उनी सुनसहित पक्राउ परेको विमानस्थल प्रहरीले जानकारी दिएको छ । विमानस्थलस्थित भन्सार कर्यालयले करिब १८–१९ किलो सुन बरामद भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ । 

ओमिक्रोनको उपप्रजाति ‘बीएफ.७’को उच्च जोखिममा नेपाल

काठमाडौं । चीनमा ओमिक्रोनको सब भेरियन्ट (उपप्रजाति) बीएफ.७ फैलिएसँगै नेपालमा पनि संक्रमण बढ्ने  जोखिम उच्च रहेको भन्दै सरकारले सीमा नाकामा स्वास्थ्य सतर्कतामा कडाइ गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार पछिल्लो समय ओमिक्रोनको उपप्रजाति बीएफ.७ का संक्रमित छिमेकी देशमा बढ्न थालेसँगै हवाइ तथा स्थलगत सीमानाकाका सबै हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभयो ।

हाललाई जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्ने सीमानाकामा कडाइ गर्दै लैजाने भए पनि भारत तथा अन्य देशमा हुने संक्रमण दर हेरी थप सतर्कताको निर्णय गरिने समेत डा. अधिकारीले बताउनुभयो । कोरोनाको नयाँ भेरियन्टको रोकथामका लागि सरकारी तयारी के छ त? 

भारतीय नागरिकको गोली हानी हत्या

काठमाडौं । बारामा अज्ञात समूहको गोली प्रहारबाट गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका–२ भुतही पुल नजिकै होटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय यादवमाथि गोली प्रहार ह’ँदा गम्भिर घाइते भएका थिए । जिल्लाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार मोटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गोली प्रहार गरी फरार भएका थिए । घटनाबारे अनुसन्धानसहित गोली हानी फरार भएकाहरुको तीव्र खोजी भइरहेको छ ।

घटनापछि त्यस क्षेत्र र सीमा नाकामा व्यापक प्रहरी परिचालन गरिएको छ । कलैया–बरियारपुर सडक खण्डको श्री स्वस्तानी पेट्रोल पम्प नजिक रहेको बाबानायक नामका व्यक्तिको होटेलमा घटना भएको हो । घाइते यादव महागढीमाई नगरपालिकाकै बरियारपुरमा मामा पर्ने एक आफन्त कहाँ ५ -६ महिनादेखि बस्दै आएका थिए । 

मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनीमा हुने

काठमाडौं । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ । सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन भन्दै सम्मेलन गर्न लागेका हुन् ।लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा हुने सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ । 

प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरुको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी दिनुभयो । २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो ।

त्यसको करिब २६ महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता तथा सचिव नरेन्द्रकुमार रानाका अनुसार यही पुस १५ गते मुख्यमन्त्री सम्मेलन गर्ने करिब टुंगो लागिसकेको छ ।

लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेसको महत्वपूर्ण भूमिकाः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको साधारणसभा उद्घाटनमा बोल्दै राष्ट्रपति भण्डारीले मुलुकको व्यवस्था परिवर्तनका विभिन्न आन्दोलनमा पत्रकारिता जगतले महत्वपूर्ण योगदान पुयाएको बताउनुुभएको हो ।

प्रेस जगतलाई राज्यले अङ्कुश लगाउन नहुनेमा राष्ट्रपति भण्डारीले जोड दिनुभयो । उहाँले पत्रकारितालाई मर्यादित बनाउन आग्रह गर्दै महासंघको साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

साधारणसभामा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी पत्रकार सङ्गठनका केन्द्रीय अध्यक्षहरु शिव लम्साल, गणेश बस्नेत, विष्णुप्रसाद सापकोटा र विश्वमणि सुवेदीले साधारणसभा सफलताको शुभकामना व्यक्त राखेका थिए ।

भोलिसम्म सञ्चालन हुने साधारणसभामा सात सय ५० राष्ट्रिय परिषद् सदस्यहरुको सहभागिता छ । राष्ट्रपति भण्डारीले आजै मध्यपश्चिम विश्वविद्यालयको नवनिर्मित केन्द्रीय कार्यालय समेत उद्घाटन गर्नुभएको थियो । 

विशेष अदालतले फैसला गरेका चार मुद्दाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका फैसलामाथि चित्त नबुझेको भन्दै चारवटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।विशेष अदालतबाट विभिन्न मितिमा  फैसला भएका घुसरिसवत,सार्वजनिक सम्पत्ती हानिनोक्सानी,राजश्व चुहावट र गैरकानुनी लाभ तथा हानि गरी जम्मा चार मुद्दा सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

केदार शर्मा,गोविन्दराज ओझा, डोमा शेर्पा र कृष्णकुमार नेपाललगायत प्रतिवादी रहेका मुद्दामा विशेष अदालतले गरेको फैसलाउपर चित्त बुझ्दो नभएको भन्दै आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो।

मानव बेचबिखनमा संलग्न दुईजना चिनियाँ नागरिक जेल चालन

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोग लागेका दुईजना चिनियाँ नागरिक जेल चलान भएका छन्। उनीहरूलाई काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा राख्न कारगार कार्यालय जगन्नाथदेवल सुनधारा चलान गरिएको हो ।

चिनियाँ नागरिक चेन याङ र रूआन चाओहोङले ३ जना नेपालीलाई फ्रि भिसा र फ्रि टिकटमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने भन्दै लाओस पुयाएका थिए।महिनामा १ हजारदेखि १५ सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ गते काठमाडौंबाट भारत, थाइल्याण्डहुँदै लाओस पु¥याएका थिए ।

त्यहाँ पु¥याएपछि बिट क्वाईनमा ईन्भेष्ट गराउने लगायतका गैरकानुनी काम लगाउनुको साथै २ महिना काम लगाई पीडितहरूबाट उल्टै ३ लाख ९० हजार रकम समेत लिएको बुझिएको छ ।

लाओसमा मानसिक यातना दिएको अवस्थामा आफन्तको सहयोगमा गत कात्तिक २५ गते उनीहरू नेपाल फर्किएका थिए । उक्त कार्यमा संलग्नमध्ये एकजनालाई काठमाडौंको ठमेल र एकजनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । 

आर्थिक खबर
२५ बैंकहरुले गरे नियम विपरीत लिएको ब्याज फिर्ता

काठमाडौं । अनाधिकृत रुपमा प्रिमियम बढाएर असुल गरेको करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज बैंकहरुले फिर्ता गरेका छन् । २५ वटा वाणिज्य बैंकहरुले न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा प्रिमियम बढाएर अनाधिकृत रुपमा असुलेको ब्याज फिर्ता गर्न २५ वटा बैंकहरुलाई निर्देशन दिइएको थियो । बैंकहरुलाई आर्थिक वर्ष २०७८-७९ को वित्तीय विवरणको प्रारम्भिक स्वीकृत पाएका २५ वटा बैंकहरुले मात्रै ४ अर्ब ६६ करोड रुपैयाँ अनधिकृत रुपमा प्रिमियम बढाएर ब्याज असुल गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ ।

सो रकम फिर्ता गर्ने शर्तमा वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएको र अधिकांश बैंकहरुले रकम फिर्ता गर्ने अथवा असुल गर्नुपर्ने ब्याजमा मिलान गरिरहेको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् ।

विदेशका खबर
इस्लामावाद आत्मघाती आक्रमण : २ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । पाकिस्तानको ईस्लामावादमा भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रवक्ता खालिद मसूदका अनुसार  सबै घाइतेहरूलाई त्यस  इन्स्टिच्युटमा सारिएको  र घाइतेहरूमा चार प्रहरी र चार सर्वसाधारण रहेका छन् ।

इस्लामावाद प्रहरी स्रोतका अनुसार अधिकारीहरूले तेहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) द्वारा राजधानीको परिसरमा बम विस्फोटको खतरा चेतावनी जारी गरेपछि राजधानीमा सुरक्षा उच्च सतर्कता अपनाइएको थियो । योसँगै बढ्दो आतङ्कवादी  गतिविधिलाई ध्यानमा राख्दै राजधानीमा थप सतर्कता अपनाउँदै इस्लामावाद प्रवेश गर्ने सबै सवारी साधनहरूको जाँच गरिरहेको छ ।

राजधानीको भीडभाड भएको थोक तरकारी तथा फलफूल बजार जहाँ हजारौं क्रेता बिक्रेताहरू हरेक दिन आउने गर्दछन् । इस्लामावाद  प्रहरीले सूचना जारी गर्दै सो क्षेत्रमा नियमित जाँचको क्रममा एउटा कारलाई रोकिएको र कारबाहीबाट बच्नका लागि हमलाकारीले आत्मघाती विस्फोट गराएको बुझिएको छ । 

भारतीय सेनाको ट्रक दुर्घटना, १६ सैनिकको मृत्यु

काठमाडौं । भारतको सिक्किममा सेनाको ट्रक दुर्घटना हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ । भारतीय सेना सवार उक्त ट्रक जेमा भन्ने स्थानबाट सडकबाट भीरमा खसेको हो । दुर्घटनामा चार सैनिक घाइते भएका छन् । भारतीय सेनाका अनुसार ट्रक घुम्तीमा सडकबाट चिप्लिएर खसेको हो ।

चटनबाट थंगुतर्फ जाँदै गर्दा सो दुर्घटना भएको बताइएको छ । सेनाको रेस्क्यु टिमले घाइते चार जवानलाई उद्धार गरेको र शव निकाल्ने काम भइरहेको जनाइएको छ । भारतकी राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले मृत्यु भएका सैनिकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई–दुई लाख रुपैयाँ र घाइतेलाई ५०–५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

रुसी सैन्य समूहलाई उत्तर कोरियाले हतियार दिएको अमेरिकाको दाबी

काठमाडौं । उत्तर कोरियाले युक्रेनमा प्रयोग गर्न रुसको मर्सिनरी समूह वाग्नरलाई हतियार तथा मिसाइलहरु उपलब्ध गराएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले ती हतियारहरु समुद्र मार्ग हुँदै पठाइएको र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को कानुन उल्लंघन गरेको दाबी गर्दै वाग्नर समूहलाई थप प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 

अमेरिकी दाबीलाई उत्तर कोरिया र वाग्नर समूहले इन्कार गरेका छन् । युक्रेनमा सो समूहका लडाकुहरूको संख्या १ हजारदेखि २० हजारसम्म पुगेको बेलायत सरकारले जनाएको छ ।

यो समूहलाई सिरिया र अफ्रिकी मुलुकहरुमा पनि सक्रिय रहेको जनाउँदै युद्ध अपराध तथा मानवअधिकार उल्लंघनका घटनाहरुमा संलग्न भएको आरोप छ ।

वाग्नर समूहले युक्रेनमा आफ्नो सैन्य गतिविधि सञ्चालन गर्नका लागि हातहतियार आपूर्तिकर्ता खोजी गरिरहेको र उत्तर कोरियाले पहिलो चरणको हतियार उपल्बध गराइसकेर भुक्तानी पनि लिइसकेको ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा मामिलाका प्रवक्ता जोन क्रिर्बीले सञ्चारकर्मीहरुलाई बताउनुभयो । 

बेलायतका विदेश मन्त्रालयका सचिव जेम्स क्लेभर्लीले पनि अमेरिकी दाबीलाई समर्थन गरेको बीबीसीले जनाएको छ । तर वाग्नरका मालिक एभगेनी प्रिगोझिनले अमेरिकी दाबीलाई अस्वीकार गर्दै ’फन्डा र अनुमान’ बताएको बीबीसीले जनाएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले पनि अमेरिकी दाबीलाई निराधार भनेको छ । वाग्नर समूह रुसले क्रिमियालाई आफ्नो भूभागमा गाभेसँगै सक्रिय भएको बताइएको छ ।

खेल खबर
नेपाल लगातार दुई खेलमा पराजित

काठमाडौं । काभा यू–२३ भलिबल च्याम्पिनयसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । हिजोदेखि बंगलादेशको ढाकामा सुरु भएको च्याम्पियनसिपमा नेपाल आज श्रीलंकासँग सोझो सेटमा पराजित भयो।ब्लक र रिसिभमा निरीह देखिएको नेपाल क्रमशः २६–२४, २५–१८, २५–१७ को नतिजामा पराजित भयो । पहिलो खेलमा नेपाल घरेलु टिम बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो । 

पहिलो सेट २६–२४ को पराजय भोगेको नेपाल नेपालले दोस्रो सेटमा २५–२२ मा सीमित भयो । नेपालले अन्तिम सेटमा २५–२१ ले पराजित भएसँगै नेपालले अंक जोड्ने मौका गुमाएको थियो । बिहीबारदेखि सुरु भएको च्याम्पियनसिप ११ गतेसम्म चल्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार मुलुकको सहभागिता छ । नेपालले लिग चरणको अन्तिम खेल भोलि किर्गिस्तानसँग खेल्ने छ । नेपाल भलिबल संघ (एनभीए)ले खुला छनोटबाट ८० खेलाडी चुनेको थियो । दोस्रो चरणमा ८० बाट २० जनामा घटाइएका खेलाडीबाट १४ जनाको अन्तिम टिम घोषणा भएको थियो ।