Live Streaming

अन्नपूर्ण दिनभर : सरकार निर्माणको विषय निष्कर्ष बिहीन, गठबन्धन टुटे सरकारमा जान एमाले प्रतिक्षा

‘निर्णायक’ भनिएको गठबन्धन बैठक निष्कर्षविहीन

काठमाडौ । नयाँ सरकार गठनका लागि पावर सेयरिङ गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निस्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठक आगामी सरकार गठन गबन्धनभित्रका दलहरूमध्येबाट कसले पहिला बनाउने भन्ने निस्कर्ष बिना नै सकिएको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले प्रकट गरेको अभिमतलाई सम्मान गर्दै अघि बढ्ने कुरामा सहमति भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री को पहिला बन्ने भन्नेबारेमा भने आइतबार बैठक बसेर टुंगो लगाउने गरी सहमति भएको जानकारी दिनुभयो । अर्को बैठक भोलि बिहान बस्ने कार्कीको भनाई छ । 

त्यसअघि आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रेसबाट हटाउन कांग्रेसका नेताहरुले भरपुर प्रयास गरेका थिए । प्रचण्डलाई मनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति पूर्णबहादुर खड्का सक्रिय भएर लाग्नुभएको थियो । 

तर, प्रचण्डले आफ्नो अडान कायम राख्नुभएको थियो । चुनावी सरकारको नेतृत्व देउवाले गरेकाले अहिले आफूले पाउनुपर्ने प्रचण्डको अडान छ । आफू प्रधानमन्त्री र रामचन्द्र पौडेल राष्ट्रपति बन्दा उचित हुने प्रचण्डकोे भनाइ छ ।

आफ्नै नेतृत्वमा सरकार गठनका लागि कांग्रेस र माओवादी दुवै दलले हस्ताक्षर संकलनसमेत सुरू गरिसकेका छन् । नेता पौडेल र खड्काले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेर गठबन्धन जोगाउन आग्रह गर्नुभएको छ । तर, प्रचण्डले कांग्रेसले प्रधानमन्त्री नदिए एमालेसँग मिल्ने सन्देश प्रष्ट पारिसक्नुभएको छ । 

यस्तै कांग्रेस सांसदहरुले भने पहिलो दलको हैसियले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दबाब दिएका छन् । देउवाले आज नवनिर्वाचित सांदहरुलाई बालुवाटार बोलाउनुभएको थियो । त्यसक्रममा सांसदहरुले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने सुझाव दिएको सांसद चन्दा चौधरीले बताउनुभयो । 

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले भोलि साँझ ५ बजेसम्मको समय दिनुभएको छ । तर दलहरुमा भने नयाँ सरकार गठनको स्पष्ट मार्गचित्र भने देखिसकेको छैन । यदि तोकिएको समयमा सरकार गठनका लागि बहुमतको हस्ताक्षर सहित दावी पेश नभए संविधानको धारा ७६ (३) अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यद्यपी गठबन्धनमा आवद्ध दलहरले भने सहमति नजुटेकाले राष्ट्रपतिलाई समय थप गर्न आह्वान गर्नेसम्मको तयारी गरेको बुझिएको छ । 


प्रचण्डलाई प्रधानमन्त्री दिईनुपर्छ

काठमाडौ । राजनीतिक विश्लेषक लोककृष्ण भट्टराईले भने राजनीतिक नैतिकताका आधारमा देउवाले पहिले प्रधानमन्त्रीको नेतृत्व प्रचण्डलाई छाड्नुपर्ने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डेमा कुराकानी गर्दै भट्टराईले प्रचण्डले एमालेसंग मिलेर सरकार बनाउने बिषयलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, नभए गठबन्धनमै पहिलो नेतृत्व लिनुपर्ने बताउनुभयो । यसअघि २१ सिट जितेका देउवालाई प्रचण्डले प्रधानमन्त्री बनाउन लगाएको गुन देउवाले बिर्सन नहुने उहाँको भनाई छ । गठबन्धनमा भोलि धोक हुनसक्ने भयका कारण प्याकेजमै सहमति खोजिएको हुनसक्ने भट्टराईको तर्क छ । 

देश मध्यावधितिर जान सक्छः ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश मध्यावधितिर जान संक्ने संकेत गर्नुभएको छ एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चले पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकार गठनमा देखिएको अल्झनले यो संकेत गरेको बताउनुभयो । ओलीले एमाले बाहेकका दललाई देशको अवस्थाका बारेमा नभई सरकार गठनको कर्मकाण्डमा के पद खान पाउँछु भन्ने मात्रै चिन्ता रहेको आरोप लगाउनुभयो । 

स्थिरता, स्थायित्व, देशको अवस्थामा सुधार, समाजलाई अनुशासनमा फर्काउने चाहना र राष्ट्रियताका सवालमा एमालेको धारणामा सहमत हुने दललाई समर्थन र सहकार्य हुनसक्ने ओलीको भनाइ छ । कार्यक्रममा ओलीले पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभयो । फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिनुभएको हो । 

गठबन्धन राष्ट्रहितमा छैन, भत्किनुपर्छ : पोखरेल

काठमाडौ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने बताउनुभएको छ । तर, अहिलेको गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी नहुने पोख्रेलको भनाइ छ ।

प्रेस चौतारी नेपाल धनकुटाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले एमाले सरकार बनाउने खेलमा नरहेको बताउनभयो ।

भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताउनुभयो । तर, गठबन्धन तोडेर कांग्रेस वा माओवादी केन्द्र आए छलफल गर्न सकिने उहाँको तर्क छ । 

प्रदेशमा पनि सरकार गठन प्रक्रिया

काठमाडौ । संघमा सरकार गठनको लागि रस्साकस्सी चलीरहेका बेला प्रदेशमा पनि सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेशहरुमा सरकार गठनका लागि नवनिर्वाचत प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाउने मिति तय गरिएको छ भने दलहरुले संसदीय दलको नेता चयन गरीरहेका छन् । तर सरकार गठनका बिषयमा भने केन्द्रको निर्णय कुर्नुपर्ने अवस्था छ । 

सत्ता गठबन्धनमा प्रधानमन्त्रीसहित कुन प्रदेशमा कस्को नेतृत्वमा सरकार बनाउने भन्ने बिषय अर्निणित हुँदा प्रदेशमा सरकार गठनको प्रकृयामा ढिलाई हुने देखिएको हो । निर्वाचन आयोगले सातै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेशसभा चुनावको परिणाम बुझाइसकेको छ । प्रदेश कानूनअनुसार निर्वाचन परिणाम प्राप्त भएको २० दिनभित्र पहिलो अधिवेशन बोलाउनुपर्नेहुन्छ ।

यो हिसाबले पुसको २० गतेभित्रै प्रदेशसभाको बैठक आह्वान हुनेछ । तर केही प्रदेशमा सपथको तयारी गरिएको छ त केहिमा छैन । बागमतीमा नवनिर्वाचित सदस्यहरुले पुस १३ गते सपथ लिने भएका छन् । यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले जानकारी दिनुभएको छ ।

कांग्रेसले भने संसदीय दलको नेता चुन्नका लागि सोहि दिन निर्वाचन गर्नेगरि कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ । उता गण्डकी प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १४ गते हुने भएको छ । त्यस्तै प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरुलाई आगामी सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गराइदैँ छ । 

यस्तै त्यस्तै सुदुरपश्चिम प्रदेशमा नव निर्वाचित सांसदहरुले यही पुस १५ गते पद तथा गोपनियताको सपथ लिने भएका छन् । प्रदेश प्रमुख देवराज जोशीको परामर्शमा ज्योतिषीसँग साइत जुराएर १५ गतेका लागि शपथ गराउने दिन तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अब १५ गते सुरुमा प्रदेश प्रमुख जोशीबाट नवनिर्वाचित प्रदेश सांसद मानबहादुर रावलले शपथ लिनेछन् । सोही दिन अन्य अन्य ५२ जना प्रदेश सांसदहरुलाई रावलले शपथ गराउने प्रदेशसभा सचिवालयले बताएको छ ।

लुम्विनी र मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन । सरकार गठनका लागि केन्द्रको समीकरण पर्खँदा नयाँ सरकार गठन प्रक्रिया सुरु हुन नसकेको हो । यी दुबै प्रदेशमा दलहरुले संसदीय दलको नेता चयन गर्न त सकेका छैनन् नै नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथका लागि मिती समेत तय हुन सकेको छैन । कर्णालीमा पनि कहिले सपथ गराउने टुंगो लागेको छैन । 

स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ।त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै सङ्कायका डीन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरि त्रिवि अगाडि बढेको बताउनुभयो ।

स्ववियु निर्वाचनको मिति प्रस्ताव गर्नका लागि यही पुस ११ गते विद्यार्थी सङ्गठनका अध्यक्षको बैठक बोलाइएको छ।निर्देशनालयका निर्देशक अधिकारीले उक्त मितिका लागि त्रिवि पूर्ण तयार भइसकेकोले विद्यार्थी सङ्गठनसँग छलफल गरिने बताउनुभयो । त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन।

विद्यार्थी सङ्गठनले फागुन २८ गते सहमति गरे भने विद्यार्थी कल्याण परिषद् बैठकले मिति तोक्नका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गर्नेछ। त्यसपछि त्रिविको कार्यकारी परिषद्को बैठकले स्ववियु निर्वाचनको मिति घोषणा र स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति बनाउने उहाँले जानकारी दिनुभयो । 

म्यानमारका नागरिकले नेपाली नागरिकता लिएको खुलासा

काठमाडौ । एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ । म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा नागरिकता लिएका ३९ वर्षीय मोहमद नुर आलमलाई काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको उहाँले बताउनुभयो ।

सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौँबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ । झुट्टा विवरण पेस गरी नागरिकता र राहदानी लिएर सरकारी लिखत दुरुपयोग गरेको अभियोगमा आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको कोइरालाले बताउनुभयो ।

नुन–चामल डिपो माग्दै हस्ताक्षर संकलन

काठमाडौ । लामो समयदेखि नुन र चामलको अभाव खेपिरहेका जुम्लाको पातारासी क्षेत्रका स्थानीय बासिन्दा तथा अगुवाहरूले नुन र चामलको डिपो गाउँपालिका केन्द्रमै राखिनुपर्ने माग गरेका छन् । लामो समयदेखि माग गर्दा समेत नुन र चामलको डिपो पाउन नसकेको भन्दै घरदैलोमा पुगेर हस्ताक्षर संकलन अभियान चलाइएको छ ।

पाँच केजी नुन र २५ केजी चामलका लागि सदरमुकाम खलंगा आउनुपर्ने झन्झट हटाउन डिपो स्थापना गर्नुपर्ने माग राखेर हस्तक्षर अभियान चलाइएको स्थानीय भक्तबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँगाउँमा पुगेर नुन चामलको वितरण केन्द्र राखिनु पर्ने विषयमा दबाब दिन हस्ताक्षर संकलन भइरहेको छ । 

यसका लागि अहिलेसम्म १ हजार ५ सय ७५ जनाले एकमुष्ट हस्ताक्षर गरिसकेका छन् । भक्तबहादुरको अगुवाइमा हस्ताक्षर संकलन अभियान चलिरहेको हो । स्थानीयहरूले संकलन गरेको हस्ताक्षर स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय हुँदै साल्ट ट्रेडिङ कर्पोरेसनको केन्द्रीय कार्यालय र खाद्य तथा ब्यापार कम्पनी लिमिटेडमा पठाइनेछ ।

पातारासीमा ७ वडा छन् । तर चामलका लागि यहाँका बासिन्दालाई सदरमुकाम खलंगा धाउनुको विकल्प छैन । पातारासी ३ हुरीमहरी गढीगाउँबाट सदरमुकाम खलंगा पुग्न दुई दिन लाग्ने भएपछि पालिकाको केन्द्रमा रहेको लासी बजारमा डिपो चाहिने भन्दै स्थानीयहरूले दबाब दिन थालेको बुढाको भनाइ छ । 

कोभिडको नयाँ भेरियन्ट नेपालमा पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै खुला सीमाका कारण संक्रमणको जोखिम रहेकाले सचेत हुन आग्रह गरेको हो ।

 छिमेकी मुलुकहरुमा फैलिएको नयाँ भेरिएन्ट ‘बिएफ–७’ नेपालमा हालसम्म पुष्टि नभएको उल्लेख गर्दै विज्ञप्तीमा खुला सीमाना एवं मानिसहरूको आवतजावतका कारणले नेपालमा पनि यस संक्रमणको जोखिम रहेकाले सजग रहन आग्रह गरिएको छ । मन्त्रालयका अनुसार कोभिडको यो नयाँ भेरियन्टले छोटो समयमा धेरै व्यक्तिहरुलाई संक्रमण गर्ने देखिएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।

क्रिसमश तथा अंग्रेजी नयाँ वर्ष २०२३ नजिकिँदै गरेको अवस्थामा कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन जनस्वास्थ्यका मापदण्डहरू नियमित पालना गर्न गराउन तथा कोमिडविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

जाजरकोटका एक शिक्षकलाई विप्लव नेतृत्वको नेकपाले दल्यो कालोमोसो

काठमाडौ । जाजरकोटमा एक जना शिक्षकलाई नेकपा विप्लव निकट यूवा संगठनले कालोमोसो दलेको छ । जिल्लाको कुशे गाउँपालिका–४ को हिमालय आधारभुत विद्यालयका प्रधानध्यापक र बहादुर शाहीलाई आज कालोमोसो दलेको हो ।  

शाही शिक्षण पेसामा आवद्ध हुँदा पनि सोही पालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिकोअध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ । 

साथै शिक्षक शाहीले बैकल्पिक उर्जाको कामलाई समेत अलपत्र पारेको जनाएको छ । यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ ।

साथै शिक्षक शाहीले आफ्नो शिक्षण पेशालाई राजिनामा नदिइ नेपाली काङ्ग्रेस कुशे गाउँपालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तब्यस्त बनाएको  निष्कर्श निकालेको छ ।

यता जिल्ला प्रहरी कार्यलय जाजरकोटका प्रहरी नायव उपरिक्षक सन्तोस निरौलाले यस घटनाबारे कार्यलयमा हालसम्म कुनै जानकारी नआएको बताउनुभएको छ ।

लगानीअनुसारको प्रतिफल नपाएको पेट्रोलियम व्यवसायीको गुनासो

काठमाडौ । पेट्रोलियम व्यवसायीले आफ्नो व्यवसायमा लगानीअनुसारको प्रतिफल नभएको गुनासो गरेका छन् ।  व्यवसायीको सञ्चित मुनाफा र व्यवसायीको ग्यारेन्टीको पनि सुनिश्चितता हुनुपर्नेमा त्यस्तो नभएको उनीहरुको भनाइ छ ।

पेट्रोलियम पदार्थ बिक्रेता व्यवसायीले सरकार र नेपाल आयल निगमले आफूहरूका मागलाई सधैँ बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव हिमाल गैरेले रुपन्देहीको भैरहवामा आज आयोजित पश्चिमाञ्चल पेट्रोलियम डिलर्स सङ्घको १७औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनमा विभिन्न क्षेत्रमा अनुदानको व्यवस्था गरे पनि यस क्षेत्रमा नगरेको बताउनुभयो ।

 नेपाल आयल निगमले घाटा पूर्ति गर्नका लागि बढी रकममा पेट्रोलियम पदार्थ बेचीरहँदा पनि निगमलाई जोगाउन एसोसिएसनले सहयोग गरिरहेको उहाँले बताउनुभयो ।

निगमलाई सहयोग गरिरहे पनि निगमको व्यवसायीलाई हेर्ने नजर भने सहयोगी नरहेको उहाँनको आरोप छ । नेपाल र भारतको सीमावर्ती क्षेत्र भएका कारण यसको प्रत्यक्ष मारमा पेट्रोलियम व्यवसायी पर्ने गरेका छन् । 

भेरी करिडोरअन्तर्गत रुकुम पश्चिमको चिसापानी खण्डमा आवागमन रोकिने

काठमाडौ । भेरी करिडोरअन्तर्गत जाजरकोटको रिम्नादेखि रुकुम पश्चिमको चिसापानी खण्ड बन्द हुने भएको छ । निर्माणको काम चलिरहेकाले यही पुस १० देखि ३० गतेसम्म दिनमा एक घण्टामात्र र बेलुकी ६ बजेपछि सडक सञ्चालन हुनेछ ।

दैनिक बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म सडक अवरुद्ध रहने निर्माण कम्पनी यती बिल्डर्सका अध्यक्ष भीमराज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दैनिक मध्याह्न १२ देखि १ बजेसम्म एक घण्टा भने सडक खुल्नेछ । दैनिक बेलुका ६ देखि बिहान ६ बजेसम्म पनि सडक खुला रहने उहाँले बताउनुभयो ।

यस अवधिमा एम्बुलेन्स, बिरामी बोकेका साधन र सुरक्षाकर्मीका सवारीसाधन भने सञ्चालन हुने सूचनामा उल्लेख छ । 

आर्थिक खबर

पौष १५ पछि मोबाइल दर्ता नहुने 

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले आगामी पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान गरेको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणको रूपमा एमडीएमएस लागू गरेको थियो । 

विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडीएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौभन्दा अगाडि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापन पत्र लिइ प्रणालीमा अद्यावधिक गर्न भनिएको छ ।

नियमानुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट आउँदो पौष १५ गतेदेखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू एमडीएमएसमा गइ दर्ता गर्न प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताउनुभयो । 


खेल खबर
नेपाल टी–२० लिग

काठमाडौ । नेपाल टी–२० लिगमा काठमाण्डौ नाइटस् र लुम्बिनी अल स्टार्सले जियी सुरुवात गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले पराजित गरेको हो । जितका लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको फार वेस्टले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८५ रनमात्र जोड्यो ।

फार वेस्टका लागि कप्तान हसमातुल्लाह साहिदीले सर्वाधिक ३५ रनको जोडे । लुम्बिनीका दिपेन्द्र सिंह ऐरी ३ र सागर ढकालले २ विकेट हात पारे ।   यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५२ रन बनाएको थियो ।

त्यसअघि आजै भएको खेलमा पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गर्दै काठमाण्डौ नाइट्ले विजयी सुरुआत गरेको थियो । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्रै बनायो । पोखराका ओपनर उपुल थरंगाले सर्वाधिक ४४ रन बनाए ।

आरिफ शेखले २० तथा अमिर हम्जा र अभिमन्यु मिथुनले समान १८ रन बनाए । काठमाण्डौको बलिङमा अविनास बोहराले ३ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाण्डौले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १ सय ६२ रनको योगफल तयार गरेको थियो ।