Live Streaming

अन्नपूर्ण दिनभर : नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे पदभार ग्रहण, प्रदेशमा पनि नवनिर्वाचित सांसदलाई शपथको चटारो 

प्रचण्डले बनाए ८ सदसीय मन्त्रीमण्डल, रवी बने गृहमन्त्री

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेश्रो पटक प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिनुभएको छ । आज राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा आयोजित समारोहमा प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

यस्तै प्रचण्डले ८ सदसीय मन्त्रीमण्डल पनि बिस्तार गर्नुभएको छ । उनीहरुले पनि आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।  आजै मन्त्रालय पाएका सबै मन्त्रीहरुले मन्त्रालय समेत सम्हालेका छन् । प्रचण्डले तीनजना उपप्रधानमन्त्री सहित ८ सदसीय मन्त्रीमण्डल गठन गर्नुभएको हो ।

बिष्णु पौडेल उप–प्रधानमन्त्री सहित अर्थ, माओवादीका नरायणकाजी श्रेष्ठ उप–प्रधानमन्त्री सहित भौतिक पूर्वाधार र स्वतन्त्र पार्टीका रवी लामिछाने उप–प्रधान सहित गृहमन्त्री बन्नुभएको छ । यस्तै एमालेका ज्वाला कमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई तथा जनमत पार्टीका अब्दुल खान पनि मन्त्री बन्नुभएको छ । तर उनीहरुको मन्त्रालय भने तोकिएको छैन । 

कार्यविभाजनमा प्रधानमन्त्री प्रचण्डले १७ मन्त्रालय आफैसंग राख्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले रक्षा, परराष्ट्र, कानून, संघीय मामिला, उद्योग, उर्जा, कृषि, भूमी व्यवस्था, महिला तथा वालवालिका, खानेपानी, शिक्षा विज्ञान, वन, युवा तथा खेलकूद, सञ्चार तथा सूचना प्रविधि, श्रम रोजगार, शहरी विकास, संस्कृति पर्यटन मन्त्रालय आफैसंग राख्नुभएको हो । 

उत्कृष्ट प्रतिपक्षी भूमिका निर्वाह गछौँ : महामन्त्री थापा

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले सङ्घीय संसद् र प्रदेशसभामा उत्कृष्ट प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पोखरामा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टीलाई विधानसम्मत ढङ्गबाट सञ्चालन गर्न प्रयास गर्ने र पार्टीको शुद्धीकरण र सुदृढीकरणमा लाग्ने बताउनुभएको हो ।

महामन्त्री थापाले निर्वाचनअघि तालमेल गरेपछि तालमेल गर्ने दलहरूले पाँच वर्ष अन्य पार्टीसँग मिलेर सरकार बनाउने कुरा जाहेज नभएको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले सरकार गठनका लागि भएको गठबन्धनका बैठकहरूमा पार्टीका महामन्त्रीहरूको सहभागिता अनिवार्य हुने भए पनि आफूहरूलाई समावेश र बोलावट नगरिएको पनि बताउनुभएको छ ।

प्रचण्डको सत्तारोहण अपेक्षित थिएन : शेखर कोइराला

काठमाडौ । कांग्रेस नेता शेखर कोइरालाले संसद्बाट नयाँ सरकारको नेतृत्वमा पुष्पकमल दाहालको सत्तारोहण अपेक्षित नभएको बताउनुभएको छ । नेपालको पछिल्लो परिवर्तित राजनीतिप्रति दृष्टिकोण सार्वजनिक गर्दै नेता कोइरालाले संसदीय व्यवस्थामा यस्ता घटना असम्भव नभए पनि सामान्यतया अराजनीतिक र अराजकताको पराकाष्ठा मानिने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहाललाई बधाई दिँदै कोइरालाले नेता कोइरालाले कांग्रेस नेतृत्वको गठबन्धनको साझेदार नेकपा माओवादी केन्द्रको अस्थिर राजनीतिक चरित्र फेरि उदांगिएको तर्क गर्नुभएको छ । 

संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिन्छ : अर्थमन्त्री पौडेल

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताउनुभएको छ । तेश्रोपटक अर्थमन्त्रीका रुपमा आज सिंहदरबारमा पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरु पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने बताउनुभयो ।

उहाले अर्थतन्त्रमा देखिएका चुनौती काबुबाहिर नभएको समेत बताउनुभयो । संकटको डिलमा रहेको अर्थतन्त्रलाई सुरक्षित ठाउँमा फर्काउनका लागि धेरै ठूलो मेहनत गर्नुपर्ने र आफ्नै र दुनियाँका अनुभवबाट पाठ सिकेर काम गर्ने उहाँको भनाई छ । पदभार सम्हाल्दै अर्थमन्त्री पौडेलले अर्थमन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णयमा हस्ताक्षर गर्नुभएको छ । 

रविको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

काठमाडौ । नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गर्नुभएको छ । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उहाँले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यस्तै लामिछानेले गृह मन्त्रालय सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ भएकोले रोजेको बताउनुभएको छ । गृह मन्त्रालयका बारेमा जनगुनासो बढी आउने गरेकाले पनि आफूले सो मन्त्रालय रोजेको बताउनुभयो । यद्यपी राश्वपा सरकारमा जाँदा पार्टीमा भने असन्तुष्टी देखिएको छ । 

राप्रपा र नागरिक उन्मुक्ती पार्टी सरकारमा सहभागी नहुने

संघीय संसद्को पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी नहुने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको सत्ता गठबन्धनको बैठकबाट बाहिरिँदै अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताउनुभएको हो ।

रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा नजाने भएको छ । डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।

सरकारमा सहभागी हुन पार्टीले तीन सर्त अघि सारेको छ । पहिलो सर्तमा रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने, टीकापुर घटनापछि गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, र झूटा मुद्दाहरू खारेजको माग पार्टीले अघि सारेको छ । 

प्रदेश १ का सांसदले लिए शपथ

काठमाडौ । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज विराटनगरस्थित प्रदेशसभा हलमा ९२ जना सांसदको शपथग्रहण सम्पन्न भएको हो । उनीहरुलाई ज्येष्ठ प्रदेशसभा सदस्य गयानन्द मण्डलले शपथग्रहण गराउनभयो ।

त्यसअघि मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिनुभएको थियो । प्रदेश १ मा ९३ जना सांसद रहेका छन् । तीमध्ये मण्डलले सुरुमा प्रदेश प्रमुखबाट शपथ लिनुभएको हो । त्यसपछि उहाँले ९२ जनालाई प्रदेशसभा हलमा शपथ खुवाएउनुभयो । 

प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व लिन पाउनुपर्ने दाबी गरेको छ । प्रदेशसभामा शपथग्रहणपछि आज माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकमा दलहरूको गठबन्धन रहेकाले प्रदेश सरकारको नेतृत्व माओवादीले लिन पाउनुपर्ने बताउनुभयो । अहिलेको गठबन्धनमा माओवादीले प्रदेश सरकारको नेतृत्वका लागि सशक्त दाबी गरिरहेको उहाँल बताउनुभयो । 

पाँचथरको ‘ख’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका आङ्बोले पूर्वमुख्यमन्त्री शेरधन राई र हालका मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा एउटै मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । उहाँले अब आफू मन्त्री नबन्ने पनि प्रष्ट पार्नुभयो ।

पार्टीले सरकारको नेतृत्व गर्न पाउँदा मुख्यमन्त्री बन्ने उहाँको चाहना छ ।  यद्यपि माओवादीले प्रदेशमा संसदीय दलको नेता चयन गरिसकेको छैन । माओवादी नेताहरुका अनुसार पछिल्लो समय पार्टीको हितभन्दा पनि स्वार्थपूर्ण हिसाबले अघि बढ्न खोजेका कारण आङ्बोप्रति पार्टीभित्र तीव्र रूपमा असन्तुष्टि बढेको छ । 

कर्णाली प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण गर्नुअघि शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाउनुभएको थियो । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १\१ जना  र स्वतन्त्र १ गरी ४० जना सांसद रहेका छन् । 

मधेश प्रदेशमा नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथग्रहण पुस १५ गते हुने तय भएको छ । आज आह्वान गरिएको सर्वदलीय बैठकमा मधेश प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले बैठकमा यस्तो सहमति भएको प्रदेशसभाका सचिवालय सचिव रञ्जित यादवले बताउनुभयो । सोही दिन सुदूरपश्चिम प्रदेशमा पनि सांसदहरुलाई शपथग्रहणको तयारी गरिएको छ । 

बेल्ट एण्ड रोड सहकार्य र रणनीतिक साझेदारी गर्न तयार छौँ : चिनियाँ विदेश मन्त्रालय

काठमाडौ । चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ । नियमित प्रेसमिटलाई सम्बोधन गर्ने क्रममा सञ्चारकर्मीहरू जिज्ञासालाई सम्बोधन गर्दै चिनियाँ विदेश मन्त्रालयले सो धारणा सार्वजनिक गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मन्त्रालयकी प्रवक्ता माओ निङले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकोमा बधाई दिँदै नेपालको सामाजिक र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले परम्परागत मित्र र छिमेकी भएको नाताले चीनले सँधै नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिइरहेको उल्लेख गर्नुएभएको छ ।

साथै, चीनले नेपाल सरकारसँगको मैत्रीपूर्ण सहयोग आदानप्रदानलाई विस्तार गर्दै सम्बन्धलाई थप मजबुत बनाउन चाहेको पनि बताउनुभएको छ । उहाँले विकास र समृद्धिका लागि उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउने र रणनीतिक साझेदारीमा सहकार्य गर्न चीन सँधै तयार रहनेसमेत बताउनुभयो ।

त्रुटि नसच्याई जनगणनाको प्रतिवेदन सार्वजनिक गरिए कडा आन्दोलन गर्छौं : यायोक्खा

काठमाडौ । किरात राई यायोक्खा र यसका भ्रातृ संगठनहरूले जनगणनामा भएको त्रुटि सच्याएर मात्रै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । यायोक्खा र जातिगत संस्थाहरूले सोमबार राष्ट्रिय तथ्यांक कार्यालयमै गएर सच्याउन ध्यानाकर्षण गराएका हुन् ।

उनीहरूले ‘किरात राई जातिको इतिहास, संस्कृति र भाषाको अध्ययन गरी सही तथ्यांक सार्वजनिक गर’ लगायत प्लाकार्ड लिएर तथ्यांक कार्यालयमा धर्नासमेत दिएका थिए । यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले सुझावसहितको ज्ञापनपत्र तथ्यांक कार्यालयका महानिर्देशक नेविनलाल श्रेष्ठलाई बुझाउनुभयो ।

अध्यक्ष राईले जनगणनामा भएको गल्ती सच्याउन पटक–पटक ध्यानाकर्षण गर्दा पनि माग सुनुवाइ नभएको बताउनुभयो । कार्यालयका महानिर्देशक श्रेष्ठले भएका गल्तीलाई विज्ञहरूको सल्लाह सुझावमा सच्याउने प्रतिबद्धता जनाउनुभएको छ ।

तथ्यांक कार्यालयले आगामी बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गर्ने भनेको कार्यक्रम सरकार परिवर्तन भएका कारण स्थगित गरेको छ । कार्यालयले यसअघि राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदन भने सार्वजनिक गरिसकेको छ ।

सीआईबीले डीएसपी ठगबहादुरलाई रुपन्देही प्रहरीको जिम्मा लगायो

काठमाडौ । अवैध सुन र घुसकाण्डमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ । केन्द्रीय अनुसन्धान व्युरोको टोलीले हिजो साँझ उनलाई बुटवलस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।

केन्द्रीय अनुसन्धान व्युरोका प्रवक्ता एसपी कमल थापाले सीआईबीको टोली केसीलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएर फर्किएको बताउनुभयो । डीएसपी केसीले बुटवलका एक व्यापारीसँग ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि अनुसन्धानको लागि सीआईबीको टोली खटिएको थियो ।

उनको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक र ३५ तोला सुन बरामद गरिएको थियो ।केही दिनअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका उनी सोमबार रमाना लिएर जाँदै थिए । तर, रमाना लिनुअघि नै उनी अनुसन्धान टोलीको नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रवीन्द्र रेग्मीले डीएसपी केसी नियन्त्रणमा रहेको जानकारी दिनुभयो । 

वन कार्यालयको भवन भत्काउन धरानका मेयर हर्कले टाँसे सूचना

काठमाडौ । धरान उपमहानगरपालिकाले धरानमा निर्माणाधीन प्रदेश बन निर्देशनालयको भवन भत्काउने चेतावनीसहितको सूचना जारी गरेको । धरान उपमहानगरपालिका १५ तीनकुनेमा नक्सा पास नगरी र स्वीकृती नलिई भवन निर्माण गरेको भन्दै मेयर हर्कराज सम्पाङले निर्माण रोक्ने चेतावनीसहित सुचना जारी गर्नुभएको हो ।

प्रदेश बन निर्देशनालयका ४ वटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । तर भवन निर्माण सकेर सर्ने तयारीमा रहे पनि भवन निर्माणको नक्सा पास गरिएको छैन । अहिले निर्देशनालय धरान १३ मा भाडाको घरमा छ । 

पल शाह प्रकरण : नवलपुर फैसलाको सक्कल प्रमाण पेस गर्न तनहुँ अदालतको आदेश

काठमाडौ । तनहुँ जिल्ला अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर भएका अभिनेता पल शाहको मुद्दाको फैसलाको सक्कल प्रमाण नवलपुर अदालतबाट झिकाउन आदेश दिएको छ ।

आज तनहुँ अदालतमा भएको सुनुवाइमा अदालतले एकै प्रकृतिको मुद्दा भएकाले नवलपुरको फैसलाको सक्कल प्रमाण पेस गर्न आदेश दिएको शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।

नवलपुर अदालतले शाहलाई नाबालिगमाथि बलात्कारको मुद्दामा सफाइ दिए पनि बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र १० लाख रुपैयाँ पीडितलाई क्षतिपूर्तिको फैसला सुनाएको थियो ।तनहुँ जिल्ला अदालतमा सोही प्रकृतिको मुद्दाको फैसला हुन बाँकी छ । शाहले नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन समेत गरेका छन् ।

भारतले बथनाह–कटहरी रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने   

काठमाडौ । भारत सरकारले बथनाह–कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार बिन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण हुन लागेको रेल विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो ।

कटहरीसम्म कुल १३ किलोमिटर निर्माण गर्न बाँकी रहेकोमा पाँच दशमलव छ किमी रेलमार्ग निर्माण अघि बढाइएको प्रवक्ता चित्रकारले बताउनुभयो । सन् २०१० मा राष्ट्रपति रामवरण यादव भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि बथनाह–कटहरी र जयनगर–कुर्था अन्तर्गत रेलमार्ग निर्माण भएको थियो । जयनगर–कुर्था खण्डमा रेल सञ्चालन भइसकेको छ ।

आर्थिक खबर
नयाँ सरकार बनेसँगै नेप्से परिसूचक ५६.८६ अंकले बढ्यो

काठमाडौ । देशमा नयाँ राजनीतिक परिवर्तनसँगै नयाँ सरकार बन्दा नेपाली शेयर बजारमा उत्साह छाएको छ । अर्थमन्त्री नयाँ आउने भएसँगै शेयर लगानीकर्तामा उत्साह देखिएको हो । पछिल्लो समय निरन्तर रुपमा उतारचढाव भइरहेको नेप्से आज एकाएक ५६.८६ अंक बढेर १९२४.०७ बिन्दुमा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.३८ अंकले, फ्लोट इण्डेक्स ४.५४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९७ अंकले बढेको छ । आज कारोबारमा आएका २५० कम्पनीको ५६ लाख ५३ हजार कित्ता शेयर २ अर्ब ९ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्सेसँगै कारोबार रकममा पनि सुधार भएको छ । नेप्सेका १३ उपसमूह मध्ये अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये फाइनान्स उपसमूहको परिसूचक ६.५२ प्रतिशत बढेको छ । त्यसैगरी, जलविद्युत उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र लगानी उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

अन्य उपसमूहको परिसूचकभने २.२९ प्रतिशत घटेको छ । आज आधा दर्जनभन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 

जाँदाजाँदै अर्थमन्त्रीको दावी : अर्थतन्त्र सुधारोन्मुख छ

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको दाबी गर्नुभएको छ । आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै यस्तो बताउनुभएको हो । यसबीचमा रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप परेकाले नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको बताउनुभयो ।

आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने चाप रहेको स्वीकार्नुभयो । वित्त र मौद्रीक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको उहाँको भनाइ छ । 

विदेशका खबर
बेलायतले कोरोनाको तथ्यांक प्रकाशन बन्द गर्ने

काठमाडौ । बेलायतले नयाँबर्ष अर्थात आगामी जनवरी १ देखि कोभिड १९ संक्रमणको तथ्यांक प्रकाशन बन्द गर्ने घोषणा गरेको छ । खोप र औषधिको सहयोगमा देश अहिले कोभिडसँग बाँच्न सिक्ने चरणमा पुगेको भन्दै बेलायतले यसको प्रकाशन अनावश्यक भएको बताएको हो ।

युके हेल्थ सेक्युरिटी एजेन्सीले मौसमी रुघाखोकी र खोकी जस्ता अन्य भाइरल रोगहरू जस्तै कोविडलाई पनि निगरानी गर्ने बताएको छ। यस वर्षको अप्रिलदेखि हालसम्म प्रत्येक पन्ध्र दिनमा कोरोना भाइरस संक्रमितको गति देखाउने दरको तथ्याङ्क सार्वजनिक हुँदै आएको छ । 

एजेन्सीको एपिडेमियोलोजी मोडलिङ रिभ्यु ग्रुपका प्रमुख डा निक वाटकिन्सले अब खोप र थेराप्युटिक्सको सहयोगले कोभिड–१९ सँग बाँच्न सिकेको चरणमा पुगेको बताउनुभयो । सोही कारण अब कोभिड १९ को तथ्याङ्कहरू सार्वजनिक गर्न आवश्यक नरहेको उहाँको भनाइ छ। अब नयाँ बर्षदेखि कोभिड १९ को लक्षणहरू देखिएमा सेल्फ–आइसोलेसन बस्नै पर्ने कानुनी दायित्व समेत हटाइएको छ ।

ऐतिहासिक रूसलाई एकीकृत गर्न युक्रेनमा आक्रमण गरेको पुटिनको तर्क

काठमाडौ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले ऐतिहासिक रुसलाई एकीकृत गर्नका लागि युक्रेनमा आक्रमण गरेको तर्क गर्नुभएको छ । रुसी राष्ट्रवादी टेलिभिजन रोसिया वानलाई दिएको एक अन्तर्वार्ताका क्रममा पुटिनले विदेशीहरुले विभाजन गरिदिएका रुसी जनतालाई एकीकृत गर्न युक्रेनमा हमला गरेको बताउनुभएको हो ।

रुसका भू–राजनीतिक दुश्मनहरुले रुस र रुसी जनतालाई विभाजित गर्न चाहेको भन्दै उहाँले आफूले ऐतिहासिक रुसलाई एकीकृत गर्न चाहेको बताउनुभयो ।रुसका दुश्मनहरु सँधै विभाजन गरेर विजयी बन्ने भन्ने रणनीतिमा रहेको र अहिले पनि उनीहरुले त्यही गर्न खोजिरहेको पुटिनको दावी छ ।

अन्तर्वार्ताका क्रममा पुटिनले बारम्बार रुस वार्ताबाट समाधान खोज्न तयार रहेको बताउनुभयो । तर युक्रेनका पश्चिमा सहयात्रीले त्यसलाई अस्वीकार गर्दै आएको दावी समेत उहाँले गर्नुभएको छ ।यसैबीच, आइतबार रुसी सेनाले गरेको आक्रमणबाट युक्रेनको दक्षिणी शहर खेर्सनमा १६ जनाको मृत्यु भएको र ६४ जना घाइते भएको युक्रेनी सैन्य अधिकारीहरुले बताएका छन् ।

खेल खबर
नेपाल टी–२० : विराटनगरमाथि जनकपुरको रोमाञ्चक जित

काठमाडौ । चादविक वाल्टनको उतकृष्ट ब्याटिङमा विराटनगरलाई ५ विकेटले हराउँदै जनकपुरले जारी नेपाल टी–२० लिगमा रोमाञ्चक जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न दोस्रो खेलमा विराटनगरले दिएको १४१ रनको लक्ष्य जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

१४ ओभरको समाप्तिमा ७०÷४ को अवस्थामा रहेको जनकपुरको इनिङ उकासेका वाल्टनले सानदार जित दिलाए । उनले ५५ बलमा ५ चौका र ६ छक्कासहित अविजित ६९ रनको इनिङ खेले । कप्तान ट्रेभोन ग्रिफ्तले २१ बलमा ३ चौका र १ छक्कासहित २५ रन, सरार्फुदिन असरर्फ २३ रन जोडे ।

विराटनगरको बलिङमा हुसेन टलत, नन्दन यादव, रजिन ढकालले समान एक विकेट लिए । यसअघि, टस जितेर ब्याटिङ थालेको विराटनगर एक बल बाँकी रहँदा अलआउट हुँदै १४० रनको योगफल तयार गरेको थियो । बिराटनगरको ब्याटिङमा ओपनर अर्जुन साउद १८ रन जोडेर पभेलियन फर्कँदा अर्का ओपनर गौरान्सु शर्मा गोल्डेन डक आउट भएका थिए ।

पहिलो खेलमा बिराटनगर लुम्बिनी अलस्टार्ससँग २ रनले पराजित भएको थियो । भने जनकपुरले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गरेको थियो । जनकपुरले अर्को खेलमा मंगलबार काडमाडौं नाइट्ससँग खेल्नेछ । भने, विराटनगरले बुधबार पोखरासँग खेल्नेछ ।

यसअघि आजै भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ । पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो । ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए । काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १\१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो ।काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए । फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २र२ तथा शेर मल्लले १ विकेट लिए ।