Live Streaming

अन्नपूर्ण खबर : पुस २५ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान, सेयर बजारमा उत्साह

पुस २५ गते संघीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद् अधिवेशन आह्वान गर्नुभएको छ । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद् भवनमा संघीय संसद्को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले २५ गते अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्ने भएको छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समीक्षासँगै जनमतबाट पहिलो दल बनेको कांग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था आएपछि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

बैठक आगामी पुस २२ गते शुक्रबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । बैठकमा पहिलो दल बनेर पनि सरकारबाट बाहिरिनुपर्ने परिस्थिति सिर्जना हुनुको कारणबारे समीक्षा हुनेछ ।

गठबन्धन बनाएर निर्वाचनमा होमिएको कांग्रेसले गठबन्धनको निरन्तरता रहने र आफ्नै नेतृत्वमा सरकार बनाउने दावी गर्दै आएको थियो । तर गठबन्धनका साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ गठबन्धनसहित सरकारको नेतृत्व गर्न पुगेपछि अहिले कांग्रेसमा नेतृत्वको आलोचना भइरहेको छ ।

कतिपय नेताहरुले भने देउवाकै कारण पार्टीले यो अवस्था बेहोर्नुपरेकाले पार्टीको सभापति तथा संसदीय दलको नेताबाट नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । कांग्रेसमा अब संगठन सुदृढीकरणको विषयलाई प्राथमिकतामा राख्नुपर्ने आवाज उठ्न थालेको छ ।


माधव नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुहरुलाई सबैतिरबाट राजनीतिक धोका भएको बताउनुभएको छ । सुदूरपश्चिमबाट निर्वाचित नेकपा एसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको स्वागतमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओलीबाट पीडित भएकाहरुलाई कांग्रेसले पनि पीडा बाहेक अरु केही पनि नदिएको बताउनुभएको हो ।

नेपाली कांग्रेसले स्थानीय चुनावदेखि नै धोका दिएको टिप्पणी गर्दै नेपालले त्यो श्रंखला अहिलेसम्म पनि कायम रहेको बताउनुभयो । 
यस्तै नेपालले एमाले अध्यक्ष केपी ओलीले शेरवहादुर देउवालाई झुक्याएर गठबन्धनबाट प्रचण्डलाई खोसेको टिप्पणी गर्नभयो । प्रचण्ड हिँडेपछि पनि आफूले गठबन्धनकै सरकार बनाउन भनेर रवि लामिछानेलाई खबर गर्दा उहाँले आफू त बालकोट पुगिसकेको बताएपछि कुरा बित्याँस भएछ भन्ने लागेको सुनाउनुभयो ।

पार्टीलाई सहि ढंगले अघि बढाउनका लागि जनताहरुमाझ आफुहरुको अस्तित्व बताउन सके एकदिन पक्कै सफल भईने समेत विश्वास व्यक्त गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका नेता रामनारायण विडारीले अहिलेको सरकार चुनौतीको बीचमा बनेकाले त्यसको निकाश पनि प्रधानमन्त्री प्रचण्डले मात्रै गर्नसक्ने बताउनुभयो । बढ्दो भ्रष्टाचार तथा वेरोजगारी नियनत्रण तथा खस्किदो अर्थतन्त्र चलायमान बनाउन अहिलेको सरकारका मुख्य चुनौती भएको उहाँको भनाई छ ।

विडारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई संविधानसम्मत रुपमा प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्नुले नै प्रतिगत परास्त भएको संकेत गर्ने पनि बताउनुभयो । 

एकिकृत समाजवादीले के गर्छ ?

काठमाडौं । तत्कालिन पाँच दलीय गठबन्धनको भविष्य टुंगिएसंगै नेकपा एकिकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने बहस सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डले एकाएक गठबन्धन तोडेर एमाले लगायतका दलसंग तालमेल गर्दै प्रधानमन्त्री बनेपछिसमाजवादी के गर्ने भन्ने अन्योलमा छ । यस्तोमा समाजवादीले सरकारमा जान एमालेको गठबन्धनसंग संवाद गर्छ या प्रतिपक्षमा बस्छ ? सबैको चासोको विषय बनेको छ । 

भ्रष्टाचार मुद्दा खेपिरहेका टेकबहादुर गुरुङको सांसद पद निलम्बन

काठमाडौं । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा सरकारी सम्पत्ति हिनामिना अभियोगको मुद्दा खेपिरहेका कांग्रेस सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ । संघीय संसद् सचिवालयले आज सूचना जारी गर्दै अदालतमा विचाराधिन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वतः निलम्बनमा परेको जनाएको हो ।

नेपाली कांग्रेस उम्मेदवार बन्नुभएका गुरुङ मनाङबाट निर्वाचित सांसद हुनुहुन्छ । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका व्यक्ति भए पनि त्यसविपरीत बिहीबार सांसद पदको शपथमा सहभागी भएका थिए ।

गुरुङमाथि भ्रष्टाचार अभियोगमा मुद्दा चलिरहेकोले उनको सांसद पद निलम्बनमा राख्न यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयलाई पत्राचार गरेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा श्रम तथा रोजगार राज्यमन्त्री भएका उनले काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ ।

अख्तियारले उनीसहित १६ जनाविरुद्ध माघ २०७५ मा विशेष अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । गुरुङलाई मात्रै ३१ करोडको बिगो तोकिएको छ । 

अर्थतन्त्रको समस्या नियन्त्रण बाहिर छैन, उच्च मनोबलका साथ काम गर्नुस् : अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका समस्या नियन्त्रणभन्दा बाहिर गएको अवस्था नभएकाले सही मार्गमा ल्याउन विभिन्न प्रयास र प्रयत्न थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग भएको आजको भेटमा उहाँले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेको निजी क्षेत्रले भोगेको समस्याप्रति सरकार संवदेनशील रहेको बताउनुभयो ।

निजी क्षेत्रका मागप्रति सरकार कति गम्भीर छ भन्ने कुरालाई निजी क्षेत्रको छाता सङ्गठनसँगको भेटलाई दिएको प्राथमिकताले पनि स्पष्ट पार्ने उहाँको भनाइ छ। पौडेलले निजी क्षेत्रलाई उच्च मनोबल बनाएर काम गर्न आग्रह गर्दै सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्ने बताउनुभएको थियो । अर्थतन्त्रलाई चलायमान गर्न तत्काल विशेष कदम चाल्न सुझाव दिँदै उहाँले ब्याजदरलाई घटाएर स्थायित्व दिनुपर्ने, तरलताको समस्या समाधान गर्नुपर्ने, लगानी घट्दै गएको अवस्थामा सुधार ल्याउन आग्रह गर्नुभयो ।

अर्थतन्त्रलाई सही मार्गमा ल्याउन राज्यका विभिन्न निकायको ध्यानाकर्षण गराएको भएपनि सुनुवाइ नभएको उहाँको भनाइ छ । भेटमा निजी क्षेत्रका प्रतिनिधिले सिमेन्ट, छड र फलामको बिक्री ह्वात्तै घटेको, दैनिक उपभोग्य वस्तुको खपत पनि घटेको, विद्युतीय उपकरणको बिक्रीमा सङ्कुचनका साथै पुँजी बजारमा समग्रमा ३८ प्रतिशतले गिरावट आएको बताएका थिए । 

प्रदेश १ को प्रथम अधिवेशन आह्वान

काठमाडौं । प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गरिएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गर्नुभएको हो । नवनिर्वाचित प्रदेशसभा सदस्य (प्रदेश सांसद)ले हिजो शपथग्रहण गरिसकेका छन् । नयाँ सांसदले शपथग्रहण गरेलगत्तै प्रदेश सरकारले हिजो नै प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो ।  

त्यही सिफारिसका आधारमा प्रदेश प्रमुख खापुङले पहिलो संसद अधिवेशन आह्वान गर्नुभएको हो । संविधानको धारा  १८३ को उपधारा १ बमोजिम नयाँ संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ । 

यस्तै प्रदेशमा सहमतिको प्रयास असफल भएपछि नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न निर्वाचन हुने भएको छ । दलको नेताका चार जना आकाक्षीले दाबी नछाडेपछि शुक्रबार निर्वाचन गरेर दलको नेता छान्ने भएको हो ।

कांग्रेस संसदीय दलको नेतामाकेन्द्रीय सदस्य अमृत अर्याल, भीम पराजुलीसँगै प्रदेश १ सभापति उद्धव थापा र प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की दाबेदार हुनुहुन्छ । हिजो भएको छलफलमा कसैले दाबी नछाडेपछि पुस १५ गतेका लागि निर्वाचन तोकिएको हो ।

निर्वाचनका लागि राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता तथा कांग्रेस १ नम्बर प्रदेश समितिका उपसभापति रमेशजंग रायमाझीको संयोजकत्वमा निर्वाचन समिति गठन भएको छ । 

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ जना सांसद छन् ।

कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीफिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधि विपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको हो ।विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ तर सत्ता र शक्ति रहेकाले पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् ।

सन्दीप लामिछाने प्रकरण 

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न उनको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो । लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार तीनवटा आदेश गरेको छ । 

अदालतको आदेशमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश गरेको हो । किशोरीको जन्म हुँदा उनीहरू वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दावी गरिएको छ ।

सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीप पक्षका वकिलले दावी गरेका छन् । आजकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ ।

जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ । त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ । अधिवक्ता घिमिरेका अनुसार आजको सुनुवाइपछि यी तीन वटा विषयमा बुझ्ने आदेश भएको हो ।

गृहमन्त्री लामिछानेको संसद् सदस्य योग्यताबारे पुस २२ गते सर्वोच्चमा सुनुवाइ हुने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । अधिवक्ता रविराज बसौलालगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा पुस ६ गते नै सुनुवाइ भए पनि मंगलबार मत्र आदेशको प्रमाणित कपी आएको हो ।

कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहनुभएको छ ।  पुस २२ मा लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।

त्यसपछि अदालतले के हुने भन्ने आदेश दिनेछ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।

चीनले ३१ महिनापछि नेपाली वस्तु निर्यातका लागि खोल्यो रसुवागढी नाका

काठमाडौं । चीनले कोभिड–१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ ।३१ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो । नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताउनुभयो । 

काठमाडौँमा यो वर्षकै बढी चिसो

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । हिँजो उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो ।

मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उहाँले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताउनुभयो । 

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्नसक्ने हुँदा आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री र अधिकमत तापक्रम १८ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।

आर्थिक खबर
सेयर बजारमा उत्साह कायमै 

काठमाडौं । नयाँ सरकार गठनसंगै उकालो लागेको नेप्सेको यात्रा आजपनि कायमै छ। अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन आजपनि सेयर बजारमा उत्साह देखिएको हो ।  कारोबार रकम र परिसूचक दुवैले छलाङ मारेको छ । परिसूचक नेप्से ५९.८७ अंकले बढ्यो ।

सो अंकको वृद्धिपछि नेप्से १९८३ अंकमा कायम भएको छ । यसअघि सोमबार नेप्से ५६ अंकले बढेको थियो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर भएको छ । सोमबार २ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८८ करोडको धितोपत्र किनबेच भयो ।

२०२ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रहृयो । सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंक बढे । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।

काठमाडौंको दोस्रो जित,जनकपुरको पहिलो हार

काठमाडौं । राजधानीमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले दोस्रो जित हात पारेको छ । टियु मैदानमा भएको खेलमा दोस्रो जित निकाल्ने क्रममा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले पराजित गरेको छ ।

काठमाडौंले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा अलआउट हुदै १ सय ५५ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि समिउल्लाह सिनवारीले सर्वाधिक २९ रन बनाए । सन्दीप जोरा २६ रन तथा पवन सराफ २४ रनमा आउट भए । त्यसअघि पहिले ब्यटिङ रोजेको काठमाडौंले एलेक्स ब्लेकको सानदार ब्याटिङको सहयोगमा २० ओभरमा ६ विकेट गुमाएर २ सय ८ रन बनायो ।

काठमाडौंका लागि ब्लेकले ४३ बलको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४ चौका र ७ छक्का प्रहार गरे । हारसँगै जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको  स्थानमा रहेको छ । जित पछि काठमाडौंको ३ खेलमा ४ अंक भएको छ ।

 यसअघि आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले लगातार तेस्रो हार व्यहोरेको छ । टियु क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनी अल स्टारसँग ३ विकेटले पराजित हुँदै पोखराले तेस्रो हार व्यहोरेको हो । लुम्बिनीको भने यो लगातार तेस्रो जित हो  ।

पोखराले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको लुम्बिनीले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।

लगातार तेस्रो जित हात पारेको लुम्बिनी ३ खेलमा ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायम रहेको छ । पोखरा ३ खेलमा अंक विहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ ।