Live Streaming

अन्नपूर्ण दिनभर : गठबनधन भत्किएपछि कांग्रेसमा दोहोरी !


मुख्यमन्त्रीको भागवण्डा कस्तो होला

काठमाडौँ । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् । एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ ।

माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताएका छन् । मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ ।

सत्ता साझेदार दलको बैठक भोलि, एजेण्डा तय

काठमाडौँ । सत्ता साझेदार दलको बैठक भोलि बालुवाटारमा बस्ने भएको छ ।खुमलटारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलले भोलि बालुवाटारमा बैठक बस्ने निष्कर्ष निकालेको हो ।सत्तासमीकरणबारे छलफल गर्न ओली प्रचण्ड भेट्न खुमलटार पुग्नुभएको थियो ।

छलफलमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय र सरकारका नीति कार्यक्रम तथा प्राथमिकता तय गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार भोलिको बैठकमा सरकारका नीति कार्यक्रम तथा प्राथमिकता लगायत विषयमा छलफल हुनेछ ।

यस्तै मन्त्री बन्ने आकांक्षीहरुको लर्को व्यवस्थापन गर्नका लागि मन्त्री चयनको मापदण्ड नै बनाउने पनि तयारी भएको छ । विगतमा अवसर नपाएका, युवा र सकेसम्म प्रत्यक्ष निर्वाचितलाई मन्त्री बनाउने गरी मापदण्ड तयार गर्ने दलहरूको योजना छ ।

नेकपा एमालेले मन्त्री छनोट गर्दा सकेसम्म समानुपातिकलाई मन्त्री नबनाउने नीति लिदा माओवादीले भौगोलिक, जातीय र उमेर समूहको सन्तुलन मिल्ने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएको छ । संविधानअनुसार केन्द्रिय मन्त्रीमण्डल २५ सदस्सीय हुनेछ । 

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी निवास बालुवाटारमा सर्नुभएको छ । प्रधानमन्त्रीमा शपथ लिएको तेस्रो दिन आज साँझ दाहाल ज्योतिषले निकालेको साइतअनुसार पूजापाठसमेत गरेर बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गर्नुभएको हो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहानमात्रै बालुवाटार छोड्नुभएको थियो । डेढ वर्षअघि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री बनेका देउवा अहिले फेरि प्रधानमन्त्री बन्नेमा आशावादी रहनुभएको थियो । यही बीचमा उहाँको बुढानिलकण्ठस्थित निजी निवास मर्मत सम्भारको काम प्रारम्भ भएको थियो । तर, अचानक बालुवाटार छोड्नुपर्ने भएपछि उेउवा धुम्बाराहीमा घर खोजेर डेरा सर्नुभएको हो । 

शेखर–गगन समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन ईतर पक्षले पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाएको छ । डा.शेखर कोइराला समूहको आज बिहान बसेको बैठकमा नेताहरुले पार्टी सभापति देउवाले निर्णय प्रक्रियामा सल्लाह नै नगरी एकलौटी ढंगले अघि बढ्दा गठबन्धन तोडिएको बताएका हुन् ।

पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा केन्द्रीय कार्यसमिति बैठकमा नै कुरा राख्ने र देउवासँग फेस गर्ने बिषयमा आज छलफल भएको छ । पार्टी सभापति देउवाले यहि पौष २२ गते बस्नेगरि केन्द्रीय समिति बैठक बोलाउनुभएको छ । त्यसअघि नै आफ्नो समूहको भेला बोलाउने पनि शेखर पक्षको तयारी छ । सो समूहले पार्टीको बिशेष महाधिवेशनको माग गर्दै देउवाको राजीनामा माग्नेसम्मको तयारी पनि गरेको छ । 

यता संस्थापन पक्षले भने सत्ता हातबाट फुत्किनुको जिम्म सबै पदाधिकारीहरुले लिनुपर्ने बताएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुरकानी गर्दै पार्टीका नेता मीन बहादुर विश्वकर्माले बढि जिम्मेवार सभापति भएका कारण देउवाको भएपनि सबै पदाधिकारी उत्तिकै जिम्मेवार भएकाले केन्द्रिय कार्यसमितिलाई जवाफ दिनुपर्ने बताउनुभयो ।

कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने यसअघिको कार्यसम्पादन समितको निर्णय विपरित गएको नभई निर्णय कार्यान्वयन गर्ने कोसिस गर्दा यो अवस्था आएको उहाँको भनाई छ । 

सत्ता गठबन्धनलाई सघाउन माधव नेपाल सकारात्मक

काठमाडौँ ।  नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा ल्याउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पहल सुरु गरेका छन् । अहिले माधव नेपाललाई सरकारमा जोडेर पुष्पकमल दाहाल सरकार झन मजबुत बनाउने दाउमा हुँदा एमाले भने नेपाललाई एमालेमा फर्काएर संसदमा पहिलो दल बन्ने दाउमा रहेको छ ।

आज मात्रै नेपाललाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले भेट्नुभएको छ । दाहालले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गर्नुभएको थियो । त्यही गुनासोलाई सम्बोधन गर्दै दाहालले आज वामदलहरूको नेतृत्वमा सरकार बनेकाले सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको हो ।

सो प्रस्तावमा माधव नेपाल पनि सकारात्मक देखिनुभएको छ । नेपाललाई मनाउनका लागि एमालेका नेताहरु पनि सक्रिय भएका छन् । उपप्रधानमन्त्री विष्णु पौडेलले पनि नेपालसँग सहकार्य गर्न सकिनेबारे कुरा गर्नुभएको छ ।

 अध्यक्ष नेपाललाई मिलेर जानका लागि एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उहाँलाई दुईपटक भेटिसक्नुभएको छ । आज एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष नेपाललाई उहाँकै निवासमा पुगेर भेट्नुभएको थियो । 

न्युनतम साझा कार्यक्रममा आफ्ना एजेन्डा समेटिए सरकारमा जाने राप्रपाको निर्णय

काठमाडौँ ।  राप्रपाले प्रचण्ड नेतृत्वको सरकारमा सहभागीताका लागि शर्त अघि सारेको छ । आफ्नो पार्टीका मुख्य पाँच शीर्षकका एजेन्डा सरकारका न्युनतम साझा कार्यक्रममा समावेश गरिए सरकारमा जाने निर्णय राप्रपाले गरेको हो ।

आज बसेको पार्टीको पार्टीको कार्यसम्पादन समितिको बैठकमा बहुसंख्यक नेताहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने धारणा राखेका थिए । त्यसपछि आफ्ना एजेन्डा समेटिए सरकारमा जाने राप्रपाको निर्णय भएको हो । 

माओवादीमा प्रवेश गर्ने प्रभु साहको तयारी, मन्त्री बनाउनुपर्ने शर्त

काठमाडौँ ।  रौतहटको क्षेत्र ३ बाट स्वतन्त्र निर्वाचित प्रभु साह माओवादी केन्द्रमा प्रवेश गरेर मन्त्री बन्न लागि लबिङमा लाग्नुभएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई प्रधानमन्त्रीमा समर्थन गरेका नेता साह मन्त्री बन्ने दौडमा रहनुभएको छ ।

माओवादीका एक पोलिटव्युरो सदस्यका अनुसार नेता साह कुन मन्त्रालय लिने भन्नेबारे उच्चस्तरीय बैठकमा छलफल भइरहेको छ । डेढ वर्ष अगाडि माओवादी छाडेर नेता साह एमाले प्रवेश गर्नुभएको थियो ।

गएको निर्वाचनमा आफु निकट सबै आकांक्षीलाई एमालेले टिकट नदिएपछि शाहले रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी हुनुभएको थियो ।  

सुदूरपश्चिममा गठबन्धनको सरकार बनाउन सकस

काठमाडौँ ।  केन्द्रीय सरकार बनेसँगै प्रदेश सरकार गठनको बाटो खुला भएको छ । गठबन्धनमा आबद्ध दलहरूले प्रदेशमा पनि सरकार गठनका लागि आन्तरिक छलफल गरिरहेका छन् । सातवटै प्रदेशमा गठबन्धनको स्पष्ट बहुमत भएपछि सरकार गठनका विषयमा तीव्र छलफल भइरहेको छ ।

यसैबीच स्पष्ट बहुमतका बावजुद सुदूरपश्चिम प्रदेश सरकार गठनमा असहज देखिएको छ। ७ सिट रहेको नागरिक उन्मुक्तिले पार्टी संरक्षक रेशम चौधरीको रिहाइ नभएसम्म सरकारलाई समर्थन नगर्ने भएको छ। ५३ सदस्सीय सुदूरपश्चिम प्रदेशमा माओवादीको ११, एमालेको १०, नागरिक उन्मुक्तिको ७ र राप्रपाको १ सिट रहेको छ ।

नागरिक उन्मुक्तिले समर्थन नजनाउँदा गठबन्धको सरकार बन्ने अनिश्चित देखिएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा १९ सिटसहित नेपाली कांग्रेस पहिलो दल हो भने नेकपा एकीकृत समाजवादीसँग ४ सिट रहेको छ।एकीकृत समाजवादी पार्टी सरकारमा आबद्ध हुँदा समेत गठबन्धनसँग २६ सिटमात्र पुग्छ। सरकार बनाउनका लागि २७ सिट आवश्यक रहेको छ । 

प्रदेशहरुमा सांसदको सपथ

काठमाडौँ ।  मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले पद तथा गोपनियताको सपथ लिनुहुने भएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई भोलि  दिउँसो २ बजे सपथ खुवाउन लाग्नुभएको हो । प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले सपथ गराउनुहुनेछ । 

यस्तै बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पनि पद तथा गोपनियताको शपथ लिनुभएको छ । ज्येष्ठ सदस्यका आधारमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउनु भएको हो ।बाँकी सांसदहरुलाई ढुंगानाले भोलि दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ । 

यस्तै लुम्बिनी प्रदेश सभाका नवनिर्वाचित सांसदहरुको शपथग्रहण कार्यक्रम पुस १६ गते हुने भएको छ । प्रदेश सभा सदस्यको सपथग्रहण र बैठक लुम्बिनीको नयाँ राजधानी देउखुरीमा नै हुनेछ । 

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर लामा विजयी हुनुभएको छ । इन्द्र बहादुर बानियाँलाई ५ मत पराजित गर्दै लामा संसदीय दलको नेतामा विजयी हुनुभएको हो । वागमती प्रदेशमा नेपाली कांग्रेसका ३७ जना सांसदहरु रहेका छन् ।

उता नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली इन्चार्ज यामलाल कँडेल कर्णाली प्रदेश सभा संसदीय दलको नेतामा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संसदीय दलको आजको बैठकले प्रदेश कमिटी अध्यक्ष बिनोद कुमार शाहको प्रस्तावमा कँडेल नेता चयन हुनभएको हो । एमालेका सिनियर नेता भएका कारण यसपटक प्रदेशको भागबण्डामा कर्णाली एमालेले लिने निश्चित रहेको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले संसदीय दलको नेतामा राजकुमार शर्मालाई चयान गरेको छ । 

गृहमन्त्री लामिछाने अनुगमन गर्न पुगे राहदानी विभाग

काठमाडौँ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनुगमन गर्नुभएको छ । राहदानी लिन लामो लाइन बस्नुपरेको गुनासो आएपछि गृहमन्त्री त्रिपुरेश्वर पुगेर अनुगमन गर्नुभएको हो । उहाँले सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुसँग राहदानी लिँदा भोग्नुपरेको समस्याको बारेमा जानकारी लिनुभएको थियो । नयाँ सरकारको गठन लगतै बसेको पहिलो मन्त्रिपरिषद्ले पनि राहदानी विभागमा लाइन बस्नुपर्ने बाध्यता हटाउने निर्णय गरेको थियो । केही समय यता राहदानी विभाग राहदानी बनाउनेहरुको भीड थामिनसक्नु भएको छ ।

कर छुटका लागि पुस मसान्तभित्र निवेदन दिन आन्तरिक राजस्वको आह्वान

काठमाडौँ ।  आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको बजेटमा घोषणा भएका कर छुटको सुविधा लिन पुस मसान्तभित्र निवेदन दिनुपर्ने बताएको छ । आर्थिक ऐन, २०७९ ले ल्याएका छुट तथा सुविधा पाउन पुष मसान्तभित्रै निवेदन दिनुपर्नेछ । सहुलियत तथा सुविधासम्बन्धि जानकारी सम्बन्धित राजस्व कार्यालय र करदातासेवा कार्यालयबाट लिन सकिने छ ।

आर्थिक ऐनको दफा २५ ले करयोग्य कारोवार गरिरहेका र हालसम्म करको दायरामा नआएका व्यक्तिले स्थायी लेखा नम्वर लिएर विगत तीन वर्षको आय विवरण र कर २०७९ पौष मसान्तसम्म बुझाएमा त्यस अघिको कर, शुल्क र व्याज मिन्हा पाउने सुविधा दिएको छ

प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ।कोटहीमाइ गाउँपालिका, गाउँपालिका कार्यालय मझगाँवा रुपन्देहीका तत्कालीन प्रशासकीय अधिकृत तथा बोलपत्र मूल्यांकन समितिका नेत्रप्रसाद घिमिरे, इन्जिनियर,निर्माण सेवाका प्रोप्राइटरसमेत ७ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रवक्ता भण्डारीका अनुसार अनुसन्धानका क्रममा उनीहरुले ४३ लाख ७० हजार राजश्व चुहावट गरी भ्रष्टाचार गरेको पाइएको हो। उनीहरुविरुद्ध राजश्व चुहावट रकम (४३ लाख ७० हजार) को दोब्बर ( ८७ लाख ४० हजार) को जरिमाना माग दावी गरिएको  छ।

रुपन्देहीको कोहीमाइ गाउँपालिका वडा नम्बर १ स्थित दानव नदीको सिपवा नाकाबाट नदीजन्य पदार्थ उत्खनन गर्न २०७६/०७७ को टेण्डर प्रक्रियामा रकम बाँडेर टेण्डरको मूल्य घटाइ आर्थिक लाभ लिएको पाइएको अख्तियारको ठहर छ। 

पोखराको फोहोर उठेन

काठमाडौँ ।  फाल्ने ठाउँको टुंगो नलाग्दा पोखरा महानगरपालिकाले फोहोर उठाउनै छाडेको छ । यसअघि फोहोर फाल्दै आएको पोखरा महानगरपालिका–१४, बच्छेबडुँवास्थित ल्यान्डफिल साइटमा फोहोर फाल्न बन्द भएसँगै महानगरले फोहोर उठाउन छाडेको हो ।पोखरा विमानस्थलको दुई किलोमिटर टाढा रहेको सो ल्याण्डफिल साइटमा आउने चराका कारण दुर्घटना हुन सक्ने भन्दै फोहोर फाल्न बन्द गरिएको हो ।

तर महानगरले वैकल्पिक ठाउँ फेला पार्न नसक्दा फोहोरहरु घर र सडकमै थुप्रिएका हुन् ।पोखरा विमानस्थलमा १ जनवरी (१७ पुस) देखि व्यवसायिक उडान सञ्चालन गर्ने तयारी छ । 

महानगरका अनुसार फोहोर फाल्ने नयाँ ठाउँको खोजी भइरहेको छ । ३ दिनदेखि सडकमै फोहोर थुप्रिँदा पर्यटकीय शहर पोखराको सौन्दर्यमा प्रश्न उठेको छ भने कुहिले फोहोरहरुका कारण दुर्गन्धसमेत बढेको छ । विकल्प नभेटिँदासम्म विभिन्न ६ ठाउँमा अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने महानगरपालिकाको तयारी थियो । तर, ती ठाउँ वरपरका वासिन्दाले अवरोध गरेपछि महानगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

काठमाडौँ ।  काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ ।

सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।बुद्ध एयरले सो विमानस्थलमा २३ जनवरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् ।

आर्थिक खबर

निरन्तर तीन दिनको वृद्धिपछि नेप्सेमा करेक्सन, कारोबार २ अर्बमा झर्यो

काठमाडौँ । साताको पहिलो कारोबार दिनदेखि लगातार उकालो लागेको सेयर बजारमा आज करेक्सन देखिएको छ । सोमबार र मंगलबार लगातार बढेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आएको हो । नेप्से परिसूचक ११.८१ अंकले घटेर १९२७.१५ विन्दुमा अडिएको छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ ।

आज २ अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार भयो।यसअघि सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४ विन्दुमा पुगेको थियो। सो दिन २ अर्ब ९ करोड बराबरको सेयर कारोबार भएको थियो ।

कारोबारको तेस्रोदिन मंगलबार नेप्से ५९.८७ अंकले बढेर १९८३.९५ विन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८८करोड ४३ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज २५७ कम्पनीको ६५ लाख ३० हजार ४१५ कित्ता सेयर २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २०७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

विदेशका खबर
सुडानमा जातीय द्वन्द्व हुँदा ५६ जनाको मृत्यु

काठमाडौँ ।  दक्षिणी सुडानमा विगत चार दिनदेखि जारी जातीय दंगामा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मारिनेमा ५१ जना नुयर र पाँच जना अन्य समुदायका रहेका छन् । सुडानको पूर्वी जोङलेई राज्यमा नुयर समुदायका युवाले अर्को जातीय समूहमाथि आक्रमण गर्दा भड्किएको हिंसामा ५६ जनाको मृत्यु भएको हो ।

सन् २०११ मा सुडानबाट स्वतन्त्र भएको दक्षिणी सुडानको भू –भागमा दशकौंदेखि गाईवस्तु र जमिनको विषयलाई लिएर जातीय द्वन्द्व हुने गरेको छ । द्धन्द्धका कारण हजारौं नागरिक बिस्थापित भइससकेका छन् ।

महिलालाई शिक्षाबाट वञ्चित नगर्न राष्ट्रसङ्घको आग्रह

काठमाडौँ ।  तालिबान सरकारले महिला तथा किशोरीहरुलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयमा विश्वव्यापी रुपमा नै विरोध भइरहेका बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले पनि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।    

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदले अफगानिस्तानको तालिबान सरकारको गरेको यो निर्णय तुरुन्त सच्च्याउनुपर्ने र उसका कारणले महिलाले अधिकार नपाउन अवस्थाको तत्कालै अन्त्य हुनुपर्ने बताएको छ ।

शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्ने भन्दै परिषदले विज्ञप्ति प्रकाशन गरेर तालिबान सरकारले गरेका ती सबै निर्णयहरु फिर्ता गर्न भनेको छ ।दुई हप्ता मात्र अघि तालिबान सरकारका शिक्षा मन्त्रीले तालिबान सरकारले सो निर्णय गरेको बताउनुभएको थियो । 

उहाँले अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जान नपाउने निर्णय सरकारले गरेको जानकारी दिनुभएको थियो ।सुरक्षा परिषद्को विज्ञप्तिमा यस्तो निर्णय अफगानिस्तान देशको हितमा पनि नभएको र अहिलेको युगमा पनि महिलाले विश्वविद्यालय गएर अध्ययन गर्न नपाउनु भनेको निकै नै दुःखद भएकोले ती निर्णय सच्याएर यहाँ नारी अधिकारको सम्मानको अवस्था बनाउन आग्रह गरिएको छ ।

खेल खबर
नेपाल टी–२० : पोखराको लगातार चौथो हार विराटनगरको पहिलो जित

काठमाडौँ ।  हुसेन टलतको अर्धसतकमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर सुपर किङसले जारी नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।

पोखरा भने लगातार चौँथो खेलमा पराजित भएको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १ सय ४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।

विराटनगरको जितमा हुुसेन तलतले अविजित अर्धसतकिय इनिङ खेले । उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५० रन बनाए । यसअघि, टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पारेको थियो । पोखराको ब्याटिङमा कुशल मल्लले सबैभन्दा धेरै ३७ रनको योगदान गरे ।

पहिलो खेलमा जनकपुर रोयल्ससँग ५ विकेटले पराजित भएको विराटनगर दोस्रो खेलमा लुम्बिनी अलस्टार्ससँग दुई रनले पराजित भएको थियो ।

यसअघि आजै भएको पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई सुपर ओभरमा पराजित गर्दै लुम्बिनी अलस्टार्सले लगातार चौथो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित एक ओभरमा १९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको फारवेस्टले १० रन मात्रै बनायो ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदैै १ सय ३७ रनको योगफल तयार गरेको थियो ।