Live Streaming

अन्नपूर्ण दिनभर : मन्त्रीमण्डल विस्तारले गठबन्धनमा विभाजनको जोखिम

२९ पुसमा विश्वासको मत लिएपछि मात्रै प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी पुस२९ मा विश्वासको मत लिने गरी तयारी थाल्नुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ गते विश्वासको मत लिनेबारे सामान्य छलफल भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस२५ मा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ । प्रतिनिधिसभाको दोस्रो बैठक पुस२९ मा बोलाउने र त्यही दिन विश्वासको मत लिने प्रचण्डको तयारी छ । त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने गरी प्रधानमन्त्रीको सचिवालय गृहकार्यमा जुटेको बुझिएको छ । 

मन्त्रीपरिषद्मा पनि क्षमताका आधारमा सांसदहरूलाई जिम्मेवारी दिने बिषयमा आजको बैठकमा छलफल भएको छ । एउटा मन्त्रालय सम्हालेको व्यक्तिले तुरुन्त अर्को मन्त्रालय सम्हालेको पछिल्लो परिपेक्षलाई मध्यनजर गर्दै विषयाविज्ञलाई मात्रै मन्त्री बनाउने बिषयमा छलफल भएको उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले बताउनुभयो ।

आजै बसेको बैठकले गठबन्धन सरकारका नीति तथा कार्यक्रम बनाउन एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा समिति बनाउने निर्णय गरेको छ । सत्ता साझेदार दल राप्रपाले नीति तथा कार्यक्रम तयार नभई सरकारमा नजाने अडान राखेपछि पाँच दिनभित्र सरकारको नीति तथा कार्यक्रम तयार गर्न अध्यक्षस्तरीय संयन्त्रलाई जिम्मा दिइएको हो । त्यसका लागि प्रत्येक दलबाट१–१ जना नेताहरूलाई सदस्यको रूपमा जिम्मेवारी दिने गृहमन्त्री लामिछानेले जानकारी दिनुभयो । 

प्रधानमन्त्रीले पाउलान् त विश्वासको मत ?

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभयो । प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने तयारी गर्नुभएको छ । विश्वासको मत लिनु भन्दा अघि नै मन्त्रीमण्डल विस्तार गर्दा गठबन्धनमा विभाजन आउन सक्ने जोखिम हुन्छ । यस्तोमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिन सक्नुहुन्छ । 

प्रचण्डसँग अमेरिकी राजदूतको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ । भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिनुभएको छ । 

भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ । आज आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताउनुभएको हो ।

नेपालमा चुनावपछि बनेको नयाँ सरकार र यहाँको राजनीतिक परिस्थितिका बारेमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासको जवाफ दिँदै बाग्चीले प्रचण्ड प्रधानमन्त्री हुनेबित्तिकै नरेन्द्र मोदीले बधाई दिएको विषयमा जानकारी गराउनुभयो । मोदीले दिएको बधाईको जवाफमा प्रचण्डले पनि दुई देशको बीचमा गहिरो सम्बन्ध बनाउन चाहेको उहाँले जानकारी दिनुभयो । उहाँले भारत नेपालमा गठन भएको नयाँ सरकारसँग काम गर्न उत्सुक रहेको पनि बताउनुभएको छ । 

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन – जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका प्रवक्तासमेत रहनुभएका उपहासचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पार्नुभएको छ ।  एमालेसँग पार्टी एकता हुन लागेको चर्चा चलिरहेका बेला आज एक वक्तव्य जारी गर्दै उहाँले कुनै पनि पार्टीसँग एकता प्रक्रिया अघि नबढेको बताउनुभएको हो ।

पार्टीले सुद्धृढीकरणको योजना बनाइरहेको र पार्टी विस्तारका अभियानहरु  कसरी अगाडि बढाउने भनेर विचार विमर्श चलिरहेको बताएका उहाँले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठकहरु आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि निर्णय भइनसकेको उहाँको भनाई छ ।

यद्यपि पार्टी अध्यक्ष माधवकुमार नेपाल भने सरकारमा जान सकारात्मक देखिनुभएको छ । केही दिनदेखि माओवादीले समाजवादीलाई सरकारमा सहभागि गराउन तथा एमाले नेताहरुले पार्टीमै फर्किन आग्रह गर्दै भेटवार्तालाई तीव्रता दिएका छन् ।

सरकारमा सहभागी हुन राप्रपाको सर्त– उपसभामुख र चार मन्त्री

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुन बिभिन्न सर्त राखेको छ। उसले अभिभावकीय भूमीकामा राजा, जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, पूर्व समानुपातिक प्रणली तथा प्रदेशको खारेजी गरि केन्द्र र बलियो स्थानीय तह हुनुपर्ने माग गरेको छ ।

रेडियो अन्नपूर्ण नेपालको यन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यी मागहरु न्यूनतम साझा कार्यक्रममा समावेश भए मात्रै आफ्नो पार्टी सरकारमा जाने बताउनुभयो । यस्तै ती माग पुरा भएको अवस्थामा सरकारमा सहभागि भएर उपसभामुख र चार मन्त्रीको माग गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार केही दलको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको माग प्रस्तुत गर्नुभएको थियो । श्रेष्ठले पनि सो कुराको पुष्टि गर्नुभयो । यस्तै श्रेष्ठले सरकारले बनाउन लागेको न्युनमत साझा कार्यक्रममा अख्तियार दुरुपयोग नुसन्धान आयोगले मन्त्रीपरिषद्का निर्णयमा पनि छानविन गर्न पाउने, तथा कृषकले हरेक बर्ष मलको मार खेप्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि नेपालमै रासायनिक मलको उत्पादन सुरु हुर्नेपर्ने लगायतका बिषय समेटिनपर्नेमा जोड दिनुभएको छ । 

आफूखुसी नेता र राजदूत नभेट्न सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले आफूखुसी दलका नेता तथा राजदूतहलाई नभेट्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले विभागीय स्वीकृति लिएर मात्रै राजनीतिक नेतृत्व र कुटनीतिक नियोगहरुमा भेटघाट गर्न सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति निकालेर दिएको जानकारी अनुसार विभागीय स्वीकृति बिना नेता र कुटनीतिक नियोगहरुमा भेटघाट गर्ने सुरक्षा पदाधिकारीलाई कारबाही हुने छ ।

प्रभु साहले खोले पार्टी

मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अघि एमाले परित्याग गरेका नेता प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गर्नुभएको छ । आज काठमाडौं कोटेश्वरको एक होटलमा भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो ।

बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ । प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहनुभएको छ ।

त्यस्तै गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका चयन हुनुभएको छ । 

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय सम्मेलन फाुगनमा

स्वतन्त्र उम्मेदवारहरुले आगामी फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भएका छन् ।बिहीबार काठमाडौंमा भएको स्वतन्त्र उम्मेदवार तथा वैकल्पिक राजनीतिक फोरमको बैठकले फागुन ५, ६ र ७ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो ।यो भेलाबाट सशक्त वैकल्पिक राजनीतिक शक्ति घोषणा गर्ने नेताहरुले बताएका छन् । यो सम्मेलन नेपालको राजनीतिक शुद्धीकरणका निम्ति नयाँ शक्ति निर्माण गर्ने सम्मेलन मूल आयोजक समितिका संयोजक नन्द कापडीले बताउनुभयो । 

कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा संस्थापन पक्षबाट २ र संस्थापन इतर पक्षबाट एक जनाको उम्मेदवारी दिएका हुन् ।निर्वाचन समिति संयोजक रमेशजंग रायमाझीका अनुसार दलको नेतामा केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश १ सभापति उद्वव थापा र केदार कार्कीको उम्मेदवारी परेको हो । 

यसैगरी, मधेस प्रदेश नेपाली कांग्रेस संसदीय दलको नेतामा कृष्णा यादव निर्वाचित हनुभएको छ । उहाँले प्रदेशका २२ सांसदमध्ये १८ मत प्राप्त गर्नुभयो । प्रतिस्पर्धी रामसरोज यादवले ४ मत पाएको निर्वाचन समितिले जनाएको छ । 

यस्तै नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन हुनभएको छ । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो । उहाँ चितवन १ को प्रदेश सभा १ बाट निर्वाचित हुनुभएको थियो । 

यस्तै प्रदेश संरचना खारेजीको माग राख्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ । प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएपछि राप्रपाले मुख्यमन्त्री दाबी गरेको हो । प्रदेशमा कुनै पनि दलको प्रस्ट बहुमत नभएकाले तालमेल गरेर सरकार निर्माण गर्नुपर्ने बाध्यता रहेको छ । 

बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ

काठमाडौं । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।  प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले सांसदहरूलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । यस्तै गण्डकी प्रदेश सभाका सदस्यले पनि आजै पद तथा गोपनियताको सपथ लिएका छन् । ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई सपथ खुवाउनुभएको हो ।

मधेश प्रदेशका ज्येष्ठ सदस्य गोविन्द न्यौपानेले आज पद तथा गोपनियताको शपथग्रहण गर्नुभयो । उहाँलाई  प्रदेश प्रमुख हरिशंकर मिश्रले ज्येष्ठ प्रदेश सांसदको रुपमा आज शपथ गराउनुभएको हो । न्यौपानेले भोली १ सय ६ जना प्रदेश सांसदलाई शपथ गराउनुहुने छ ।  

काठमाडौ महानगरः अनधिकृत संरचना हटाउनु गृह मन्त्रालयसँग सहयोग माग

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित वाग्मती किनारका अनधिकृत संरचना हटाउन गृह मन्त्रालयसँग आवश्यक सहयोग मागेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सहयोग नगरेपछि महानगरले गृह मन्त्रालयलाई पत्राचार गरेर बस्ती हटाउन समन्वय गर्न आग्रह गरेको हो ।

वाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउनका लागि आवश्यक सहयोग माग गर्दै महानगरले आज गृह मन्त्रालयलाई पत्राचार गरेको हो । यसअघि मंसिर १२ गते वाग्मती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा महानगरले बस्ती हटाउन खोजेको थियो । बस्ती हटाउनका लागि प्रहरी प्रशासनबाट सहयोग नभएको भन्दै महानगरको नेतृत्व रुष्ट भएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा हस्ताक्षार गरिएको पत्रमा नदी किनारमा रहेको संरचना हटाउन पटक–पटक खोजे पनि अवरोधका कारण सफल नभएको उल्लेख गरेको छ । पत्रमा मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई संरचना हटाउनका लागि आवश्यक निर्देशन एवं समन्वय गरिदिन अुनरोध गरिएको छ ।

सन्दीपको निवेदनमा सुनुवाइ हुन सकेन

काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदन आज पनि हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो । तर हेर्न नभ्याइनेमा परेको छ ।

नाबालिका बलात्कारको आरोपमा लामिछानेलाई जिल्ला अदालत, काठमाडौंले १८ कात्तिकमा पूर्पक्षका लागि थुनामा पठाएको थियो । लामिछानेविरुद्ध २१ भदैमा १७ वर्षीया किशोरीले जाहेरी दिएकी थिइन् । क्यारेबियन प्रिमियर लिग खेल्न जमैका पुगेका उनी एक महिनापछि २० असोजमा नेपाल फर्किएका थिए । विमानस्थलबाटै पक्राउ परेका उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन् ।

बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको प्रहरी स्रोतले बताएको छ ।

केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

 आर्थिक खबर

२ हजारको विन्दुभन्दा माथि लाग्यो सेयर बजार

काठमाडौं । साताको कारोवारको अन्तिम दिन आज सेयर बजारमा उत्साह देखिएको छ । आजसेयर परिसूचक (नेप्से) ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ।भदौ११ मा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले आज ४ महिनापछि पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको हो ।

आज बजारमा ८० लाख २४ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ८६ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भयो । आज कारोबारमा आएका सबै उपसमूह बढेका छन्। बैंकिङ २४, विकास बैंक ११६, फाइनान्स ८७, होटल तथा पर्यटन ७६, जलविद्युत् १०५, जीवन बीमा ३८५, उत्पादन ११२, माइक्रोफाइनान्स ११३, निर्जीवन बीमा ३४८, अन्य ४१ र ब्यापार उपसमूह ४७ अंकले बढे । २०८ कम्पनीको सेयरमूल्य बढ्दा ६ कम्पनीको सेयरमूल्य भने घट्यो। ८ कम्पनीको सेयरमूल्य भने १० प्रतिशतको हाराहारीमा बढेको छ ।

सरकार र निजी क्षेत्र मिलेर जानुपर्छः अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक समृद्धि र उन्नतिका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज गरेको भेटमा अर्थमन्त्री पौडेलले यस्तो भनाइ राख्नु भएको हो ।

उहाँले अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधानका लागि आफूले पहल शुरु गरेको अर्थमन्त्री पौडेलले जानकारी दिनुभयो । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितको टोलीले अर्थमन्त्री पौडेलसँग आर्थिक र वित्तीय अवस्थाबारे छलफल गरेको थियो । अर्थमन्त्री पौडलले चेम्बरले उठाएको माग सम्बन्धमा आफू गम्भीर भएको बताउनुभयो ।

अध्यक्ष राजेन्द्र मल्लले चेम्बरका तर्फबाट बिभिन्न ८ बुँदामा सुझावसमेत दिनुभएको छ । पुँजीगत खर्चमा सुधार, भन्सार सहजीकरण, चालुपुँजी कर्जासम्बन्धी मार्ग निर्देशनको स्थगन लगायतका विषयमा चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो । 

 विदेशका खबर
इजरायली नेता नेतान्याहू अति दक्षिणपन्थी सरकार गठनको पक्षमा

काठमाडौं । इजरायलको इतिहासमा सबैभन्दा दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै बेन्जामिन नेतन्याहू आजदेखि सत्तामा फर्किनुभएको छ । नेतन्याहुको वरिष्ठ सुरक्षा र कानून प्रवर्तन अधिकारीहरू जस्तै प्यालेस्टिनीहरूले पहिले नै यसले तय गर्नसक्ने दिशाका बारेमा चिन्ता व्यक्त गरिसक्नुभएको छ ।

अदालतमा भ्रष्टाचारको आरोप खेपिरहनुभएका ७३ वर्षीय नेतन्याहूले सन् २००९ देखि २०२१ सम्म कीर्तिमानी १२ वर्ष र ९० को दशकको अन्त्यतिर तीन वर्षको कार्यकालसहित इजरायली इतिहासमा अन्य कुनै पनि व्यक्तिभन्दा लामो समयसम्म प्रधानमन्त्रीका रूपमा काम गरिसक्नुभएको छ ।

सन् २०२१ को वसन्त ऋतुमा नफ्ताली बेनेट र पूर्व टिभी समाचार प्रस्तोता याइर लापिडको नेतृत्वमा वामपन्थी, मध्यमार्गी र अरब पार्टीहरूको गठबन्धनले उहाँलाई सत्ताच्यूत गरेको थियो । नोभेम्बर १ मा भएको निर्वाचनपछि नेतन्याहूले अति परम्परावादी र दक्षिणपन्थी पार्टीहरूसँग तत्काल सरकार गठनका लागि वार्ता सुरू गर्नुभएको थियो । उहाँको गठबन्धनमा बेजालेल स्मोटरिचको धार्मिक जियोनिज्म र इटामार बेन जिभरको यहूदी शक्ति पार्टी पनि सामेल रहेका छन् । 

महिलालाई पढ्न नदिने निर्णयको अधिकारकर्मीद्वारा विरोध

काठमाडौं । अफगानिस्तानमा महिलालाई विश्वविद्यालय जान रोक लगाउने तालिवान सरकारको निर्णयको मानव अधिकारकर्मीको संस्था ‘साउथएशियन फर ह्युमन राइट्स (एसएएचआर)’ ले विरोध जनाएको छ।पुसको पहिला साता अफगानिस्तानको उच्च शिक्षा मन्त्रालयले अर्को सूचना जारी नभएसम्म सार्वजनिक तथा निजी विश्वविद्यालयलाई महिला प्रवेशमा रोक लगाउने आदेश जारी गरेको थियो।

मन्त्रालयका तर्फबाट आएको विज्ञप्तिमा उच्च शिक्षामन्त्री शेख नदा महोम्मद नमिदले हस्ताक्षर थियो।एसएएचआरले अफगानस्तिानमा तालिवानले व्यवस्थित रूपमा महिला तथा बालिकाको अधिकार र स्वतन्त्रतालाई वञ्चित गर्दै आएको बताउँदै सरकारको पछिल्लो कदमको विरोध गरेको छ।

अगस्त २०२१ मा तालिवानले अफगानिस्तानमा सरकार सम्हालेपछि महिलाको हिंडडुल र शिक्षाको अधिकार हनन हुँदै आएको जनाइएको छ।विश्वविद्यालयमा उपस्थित हुने नपाउने आदेश दिनु भनेको आधारभूत मानव अधिकारको स्पष्ट उल्लंघन भएको जनाइएको छ ।

खेल खबर 
फार वेस्टलाई पराजित गर्दै जनकपुर दोस्रो स्थानमा 

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई पराजित गर्दै जनकपुर रोयल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जित हात पार्ने क्रममा जनकपुरले फार वेस्टलाई ८ विकेटले पराजित गरेको हो । टियु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

जनकपुरका लागि चाडविक वाल्टनले ४० बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६९ रनको अर्धशतकीय ईनिङ खेले ।जनकपुरका लागि चाडविक वाल्टन र सन्दीप जोराले १ सय ५१ रनको अविजित साझेदारी गरेका थिए । फार वेस्टका लागि करण केसीले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।
त्यसअघि आजै भएको खेलमा विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिग क्रिकेटमा पोखरा एभेन्जर्समाथि ८ विकेटको जित निकालेको थियो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १३६ रनको लक्ष्य विराटनगरले १८.४ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेलको शानदार अर्धशतकमा विराटनगरको जित सम्भव भएको हो । टिमलाई जित दिलाउन तेस्रो नम्बरमा ब्याटिङ गरेका रोहितले ७१ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३५ रनको योगफल खडा गरेको थियो । 

आयोजक सहारालाई हराउँदै धरानको विजयी सुरुआत

काठमाडौं । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपमा धरान फुटबल क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले हराउँदै धरानले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । धरानको जितमा प्रकाश बुढाथोकीले निर्णायक गोल गरे ।

उनले खेलको पाँचौं मिनेटमा फ्रिकिक मार्फत गोल गरेका थिए । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । यस पटक पुरस्कार राशिमा वृद्धि गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।