Live Streaming

अन्नपूर्ण दिनभर :  दुई साता भित्रै नयाँ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी

 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी 

काठमाडौँ  । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको हो ।

संवैधानिक व्यवस्थाअनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने ब्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संघीय सांसद ३३४ र प्रदेशसभाका ५५० सांसदहरु मतदाता रहने छन् ।

बहुमतीय प्रणालीबाट राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था छ । वर्तमान राष्ट्रपतिको ५ बर्षे कार्यकाल आगामी फागुन २९ गते सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो ।

निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । नयाँ राष्ट्रपति एमालेलाई छोड्न माओवादी तयार देखिएको छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पनि राष्ट्रपति बन्ने सम्भावना रहेको चर्चा गरिएको छ । तर नेपालले भने राष्ट्रपतिको विषयमा बाहिर आएका हल्ला निराधार भएको बताउनुभएको छ । सबै संवैधानिक पद गुमाएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने राष्ट्रपतिको विषयमा मौन छ । 

अढाई घण्टा कुराकानी गरेर बालुवाटारबाट निस्किए ओली

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरुबीच साढे दुई घण्टा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार, सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा कुराकानी केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सहयोगी सूर्य किरणले जानकारी दिनुभयो ।

गठबन्धनका न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार पार्न ५ दिनको म्यान्डेट दिईएको छ । सातदलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँट, प्रदेश सरकारको भागबण्डालगायतका विषयमा प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ । सात दल र तीन स्वतन्त्र सांसदको सहयोगमा प्रधानमन्त्री बन्नुभएका दाहालले विश्वासको मत लिएपछि मात्रै थप मन्त्रिमण्डल विस्तार गर्ने रणनीति लिनुभएको छ । 
यस्तै, आजको छलफलमा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा भित्र्याउनेबारे छलफल भएको छ । छलफलमा प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव ओलीसमक्ष राख्नुभएको थियो । प्रचण्डको प्रस्तावमा ओलीले लचकता देखाएको बालुवाटार स्रोतले जनाएको छ ।

हिजो मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उच्चस्तरीय राजनीतिक नेतृत्वबीच सहमति जुटे प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सकिने बताउनुभएको थियो । नेपालले पार्टीका नेताहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै सरकारमा सहभागी हुने विषयमा आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउनुभएको थियो । 

नयाँ सरकारको चुनौती

काठमाडौँ  । नयाँ सत्ता समिकरणसँगै नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री भएका छन् । राज्यको बागडोर सम्हाल्ने तेस्रो तथा संभावित अन्तिम अवसरमा दाहाल सामू चुनौतीका चाङ छन् । मुलुकको आर्थिक संकट, वैदेशिक सम्बन्धको सुधार, राजनीतिक अस्थिरता, रोजगारी लगायतका सम्पूर्ण क्षेत्र सुधार्ने जिम्मा अब नयाँ सरकारको काँधमा छ ।

सुदूरपश्चिम र मधेश प्रदेशका सांसदले लिए सपथ 

काठमाडौँ  । सुदूरपश्चिम र मधेश प्रदेशका नवनिर्वाचित प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । आज दुवै प्रदेशका सांसदहरुले प्रदेशसभा भवनमा सपथ लिएका हुन् ।

सुदूरपश्चिमको लागि प्रदेशसभा भवनमा अछामबाट निर्वाचित ज्येष्ठ सदस्य मानबहादुर रावलले पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । नागरिक उन्मुक्ति पार्टीका ५ जना र नेपाली कांग्रेसकी समानुपातिका प्रदेशसभा सदस्य गिता चौधरीले मातृभाषामा शपथग्रहण गरेका छन् । प्रदेशसभामा ५३ सदस्य रहेका छन् । 

यसैबीच, मधेश प्रदेशमा १ सय ५ प्रदेश सदस्यहरुले पनि पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराउनुभएको हो ।

तर, समानुपातिक निर्वाचनमा क्लस्टर विवादको कारण महोत्तरीका रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सर्वोच्चले सांसदको काम कारबाहीमा रोक लगाएको थियो ।

यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा आशिषकुमार चौधरीलाई चयन गरेको छ । संसदीय दलको बैठकले रूपन्देही १ ’क’ बाट निर्वाचित चौधरीलाई दलको नेता चयन गरेको लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले जानकारी दिनुभयो । सचेतकमा बाँकेकी मीनाकुमारी श्रेष्ठ चयन हुनुभएको छ ।  

प्रदेश १ कांग्रेस संसदीय दलमा सिटौलानिकटका उद्धव विजयी

काठमाडौँ  । प्रदेश १ नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्वव थापा विजयी हुनुभएको छ । आज भएको निर्वाचनमा थापाले १८ मत पाउदा उहाँका प्रतिस्पर्धी केदार कार्कीले ९ र अमृत अर्यालले २ मत पाउनुभयो । प्रदेशसभामा कांग्रेसका २९ सांसद छन् । पार्टीका प्रदेश कमिटी सभापतिसमेत रहनुभएका निर्वाचित थापा कृष्ण सिटौलानिकट मानिनुहुन्छ । अर्याल सभापति शेरबहादुर देउवानिकट र कार्की शेखर कोइरालानिकट हुनुहुन्छ ।

पछिल्लो समयमा देउवाका विश्वास पात्र मानिने ज्ञानेन्द्रबहादुर कार्कीले अर्याललाई काँध थाप्नुभएपनि लज्जास्पद पराजय भोग्नुपर्यो । 
यस्तै पराजित अमृत अर्यालले संस्थापन पक्षकै नेताहरुले षड्यन्त्र गरेर चुनाव हराएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको इन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै अर्यालले पार्टीका केही नेताहरुले समानुपातिक सांसदहरुलाई कारवाहीको डण्डा देखाएर असहयोग गरेको बताउनुभएको हो । निर्वाचनको यो केही नेताहरुको चाकडीमा बस्नेहरुलाई मात्रै अगाडी बढाउन चाहेको स्पष्ट हुने बताउनुभयो । 

राजदुतले प्रधानमन्त्री प्रचण्डलाई दिए

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाएको बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो । 

भेटमा नेपाल–भारतबीचको सम्वन्धलाई थप मजबुद बनाउने विषयमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री प्रचण्ड र अमेरीकी राजदुत डिन थम्पसनबीच पनि हिजो भेटवार्ता भएको थियो ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई तथा शुभकामना सन्देश पठाउनुभएको छ । प्रधानमन्त्री लीले प्रचण्डलाई लिखित बधाई सन्देश पठाउँदै नेपालको स्थायीत्व, विकासमा चीन सँधै साथमा रहने उल्लेख गर्नुभएको हो । दूतावासका सिडीए वांग सिनले आज प्रधानमन्त्री प्रचण्डलाई सो पत्र हस्तान्तरण गर्नुभएको हो । 

पाँच वर्ष स्थायी सरकारका लागि नयाँ समीकरण स् महासचिव गुरुङ

काठमाडौँ  । नेकपा ९माओवादी केन्द्रका महासचिव देव गुरुङले आगामी पाँच वर्ष स्थायी सरकार कायम राख्नका लागि नया समीकरण निर्माण गर्नुपरेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल भैरहवा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गुरुङले  यसपटक निर्वाचनको परिणमअनुसार कुनै पनि दलको बहुमत नआएले सरकार पाँच वर्ष नटिक्ने र मुलुकले स्थिरता नपाउने देखिएपछि नयाँ सत्ता समीकरण बनेको स्पष्ट पार्नुभयो ।

पुरानो नेतृत्वबाट राष्ट्रिय अस्मिताको रक्षा हुन नसक्ने पार्टीको निचोडपछि वर्तमान समीकरण बनेको गुरुङको जिकीर छ । अब सरकारलाई स्थिरता प्रदान गर्दै जनअपेक्षाअनुसार काम गर्दै लैजानेमा गुरुङले जोड दिनुभयो । अहिले सरकार बनाएका दलहरुबीच गठबन्धन नभई कार्यगत एकता मात्रै भएको उहाँले बताउनुभयो ।

नागरिक उन्मुक्ति पार्टीले प्रमलाई बुझायो स्मरणपत्र

काठमाडौँ  । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्मरण पत्र बुझाएको छ । टीकापुर घटनासम्बन्धी मुद्दा खारेजीलगायत पाँच बुँदे मागसहित नागरिक उन्मुक्ति पार्टीले शुक्रबार प्रधानमन्त्री दाहाललाई सरकारी निवास बालुवाटारमा भेटेर स्मरण पत्र बुझाएको हो । संघीय सरकार गठनमा पार्टीको समर्थन रहे पनि सुदूरपश्चिमको प्रदेश सरकार गठनका लागि आफ्ना माग पूरा नभएसम्म सहभागी नहुने र समर्थन पनि नगर्ने पार्टीका केन्द्रिय प्रवक्ता दामोदर पण्डितले हस्ताक्षर गरेको स्मरण पत्रमा जनाइएको छ । 

झलनाथ र उपेन्द्रबीच भेटवार्ता 

काठमाडौँ  । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा शुक्रबार दुई नेताबीच डेढ घण्टा भएको छलफलमा  पार्टी एकता र वाम धुव्रिकरणका विषयमा कुराकानी भएको हो । यसअघि समेत एउटै गठबन्धनमा भएकाले अबपनि सँगसँगै मिलेर जाने विषयमा छलफल भएको थियो ।

बुस्टर डोज खोप ल्याउने प्रक्रिया सुरु  

काठमाडौँ  । सरकारले छिमेकी देशमा कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले बुस्टर डोजको लागि खोप ल्याउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिकरुपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिनुभयो । 

गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ । खोपबारे जानकारी प्राप्त भइसकेपछि चाँडै नै खोप नेपाल ल्याउने उहाँले जानकारी दिनुभयो । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन थालेको हो । औषधि व्यवस्था विभागले बुस्टर डोजका लागि मात्र प्रयोग गरिने भएकाले ‘आकस्मिक अनुमति प्रयोग’ पत्र दिएपछि खोप शाखाले कोभ्याक्सलाई पत्र पठाएको हो । 
छिमेकी मुलुक भारत र चीनमा वि एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ । यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुनपानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ ।

निर्णय स्थगित

काठमाडौँ  । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस०को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । दूरसन्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताउनुभयो । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको हो । 

गृहमन्त्री लामिछानेको निर्देशन 

काठमाडौँ  । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दलीय आवरणमा हुने जुनसुकै अपराधविरुद्ध निर्मम भएर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिनुभएको छ । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले प्रहरी कर्मचारीलाई विभिन्न राजनीतिक दलका आवरणमा संरक्षित गुण्डागर्दीविरुद्ध निर्मम भएर कारवाही गर्न विशेष निर्देशन दिनुभएको हो ।

सीमाक्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अन्य अनियमितता, लागूऔषध विक्री वितरण र सेवनलाई पूर्णतः निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो । यसअघि आजै मन्त्री लामिछानेले प्रहरीले गर्ने नियमसम्मत काममा कुनै हस्तक्षेप नगर्ने बताउदै प्रहरीको सरुवा, बढुवा कानुन अनुसार हुने भन्दै सरुवा–बढुवाका लागि कुनै मन्त्री वा नेताको दैलोमा नधाउन प्रहरी अधिकारीहरूलाई आग्रह गर्नुभएको थियो । 

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदाय र पुर्खाहरुले आफ्नो वीरतामार्फत् आर्जन गरेको गौरवशाली परम्परालाई सबैले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

 तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् काठमाडौँले आज राजधानीको टुँडिखेलमा आयोजना गरेको ‘तमू ल्होसार, २०७९’ कार्यक्रममा सम्बोधन गर्दै  प्रचण्डले तमु समुदायको आफ्नो मौलिक र ऐतिहासिक पहिचान स्थापित रहेको बताउनुभयो । ल्होसार पर्व तमु समुदाय मात्र नभई सम्पूर्ण नेपालीले गर्व गर्ने पर्वका रुपमा रहेको उहाँको भनाइ छ ।

तमु ल्होसारको सम्मान र सहानुभूतिका निम्ति सरकारले दिने आर्थिक सहयोग रोकिएकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आफूले सरकारी सहयोग विगतमा भन्दा बढाउने उहाँको आश्वासन छ । बाघ वर्गको विदाइ र बिरालो वर्गको स्वागतका रुपमा गुरुङ समुदायले आज देशभर हर्षोल्लासका साथ ल्होसार पर्व मनाएका छन् । टुँडिखेलमा गुरुङ वेशभूषासहित युवायुवतीको बाक्लो उपस्थिति रहेको थियो । 

सुदूरपश्चिममा पुसे पन्ध्रको समझम

काठमाडौँ  । सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ । आज रातभर जाग्राम बसेर पिडालु, तरुल, फर्सी, चामलका रोटी, सेल पुरी, लगायतका खाद्य परिकार पकाई घरमा जम्मा भएकाहरूलाई खुवाउने र बाँड्ने परम्परा छ । बुढापाकाहरूले लोक कथा सुनाउने र परिवारसहित छिमेकका व्यक्तिहरूले आगो ताप्दै यस अवसरमा रातभर जाग्राम बसी कथा सुन्ने गर्दछन् । आजको रातलाई वर्षकै ठूलो रात्रिका रूपमा लिने गरिन्छ ।

यस बेला अनिर्वाय रूपमा जाग्राम बस्नुपर्ने चलन रहेको छ । लोक कथासँगै बुढापाकाहरूले गाउँ खाने कथा भन्दै सुन्नेहरूले त्यसको उत्तर दिने प्रचलन रहेको छ । परम्परागत कालदेखि नै कञ्चनपुर सहित बैतडी, दार्चुला,डोटी, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा र भारतको कुमाँउ गढवाल क्षेत्रमा रात भरी जाग्राम बस्दै आगो तापेर कथा कहानी सुनाएर र गीतहरू गाएर यस पर्वलाई रमाईलो गरी मनाइँदै आएको छ । 

ईपीएस शुल्क बढ्यो 

काठमाडौँ  । कोरियन भाषा परीक्षा ९ईपीएस० प्रणालीमार्फत दक्षिण कोरिया जाने कामदारहरूको भिसा शुल्क बढेको छ । नेपालस्थित कोरियन राजदूतावासले १ जनवरी २०२३ देखि लागू हुने गरी भिसा शुल्क बढाएको हो । दूतावासले साविकको शुल्कमा ६०० रूपैयाँ बृद्धि गरी ७ हजार ८०० पुयाइएको जनाएको छ ।

कम्बोडियाको होटेलमा आगलागी हुँदा झापाका पाण्डेको मृत्यु

काठमाडौँ  । कम्बोडियाको एक क्यासिनोमा भएको भीषण आगलागीमा झापाका निराकर पाण्डेको ज्यान गएको छ । पोइपेट सहरको ग्राण्ड डायमन्ड सिटी होटेल र क्यासिनोमा बुधबार राती आगलागी हुँदा बिर्तामोड नगरपालिका १ का ४० वर्षीय निराकर पाण्डे ज्यान गएको हो ।

पाण्डे बिर्तामोड नगरपालिका–१ का वडा अध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा हुन् । आगलागीमा परि पाण्डेसहित १९ जनाको मृत्यु भएको छ भने ६० बढी घाइते भएका अन्र्तरष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागीको समयमा निराकर त्यही फसेका थिए । होटेलबाट बाहिर निस्किने सबै ढोकाहरू बन्द भएको र अब बाच्ने कुनै सम्भावना नरहेपछि उनले आफूलाई बचाउन होटेलको १२ तलाबाट हाम फालेका हुन् । 

आर्थिक खबर
बैंकहरुविरुद्ध आन्दोलन घोषणा गर्दै उद्योगी व्यवसायीले गरे हस्ताक्षर संकलन

काठमाडौँ  । नेपाल राष्ट्र बैंकको चालू पूँजी मार्गदर्शन तथा बैंकहरुले आफूहरुप्रति गरेको अव्यवहारिक नीतिका विरुद्ध रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले दाङमा गरेको प्रदेशस्तरीय भेलाले गरेको निर्णयअनुसार उनीहरु आन्दोलित भएका हुन् । भेलाले पुस २० गतेसम्मका आन्दोलनका कार्यक्रम तय गरेको छ । 

त्यसवेलासम्म आफूहरुको माग सम्बोधन नभए २२ गते काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरिएको छ । घोषित आन्दोलनका कार्यक्रमअनुसार बुटवलमा क्रियाशील विभिन्न व्यवसायिक संघसंस्थाहरुले हस्ताक्षर संक्रलन सुरु गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजनमा रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही र नेपाल घरबहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा हस्ताक्षर संकलन गरेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले जानकारी दिनुभयो ।

विदेशका खबर
सुकीलाई थप ७ बर्ष जेल सजाय

काठमाडौँ  । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप ७ बर्षको जेल सजाय तोकिएको छ । म्यानमारको सैन्य सरकार समर्थित अदालतले सुकीको जेल सजाय बढाएको हो । यो सँगै ७७ वर्षकी सुकीको जेल सजाय ३३ वर्ष पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गत हप्ता संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सुकीलाई रिहा गर्न आग्रह गरेपछि म्यानमारको अदालतले सुकीलाई लगाइएका अन्तिम पाँच आरोपमाथि सुनुवाइ सुरु गरेको थियो । 

म्यानमारका सहयोगी देशहरु चीन र रुसले समेत भिटो प्रयोग नगरेका कारण सुकीलाई रिहा गर्ने अपेक्षा गरेकोमा थप सात वर्षको सजाय सुनाएको बीबीसीले उल्लेख गरेको छ । चुनाव जितेकी सुकीको सरकारलाई सेनाले २०२१ को फेब्रुअरीमा अपदस्त गरी सैन्य सरकार गठन गरेको थियो । सरकार अपदस्त भएदेखि नै नजरबन्द र जेलमा रहनुभएकी सुकीमाथि सेनाले १९ वटा आरोप लगाएको थियो । 

खेल खबर
लुम्बिनीको लगातार पाचौं जित 

काठमाडौँ  । नेपाल टी-ट्वान्टी लिग अन्र्तगत आजका खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सले जित निकालेका छन् । टियु मैदान किर्तिपुरमा आज भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई ३५ रनले पराजित गर्दै प्लेअफ नजिक पुगेको छ ।

जितको लागि १५१ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन मात्र जोडेको हो । 

काठमाडौंका लागि अजमतुल्लाह उमरजाईले ३८, कमलसिंह ऐरीले अविजित १९, सुनाम गौतमले १८ तथा एलेक्स ब्लेकले ११ रनको योगफल  बनाए । लुम्बिनी ५ खेलमा १० अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । काठमाडौं ४ खेलमा ४ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

उता, पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो । टियु मैदानमा १ सय ८० रनको लक्ष्य पोखराले १९दशमलव ३ ओभरमा ७ विकेट गुमाएर पुरा गरेको हो । पोखरालाई पहिलो जित दिलाउने क्रममा आसिफ शेखले सर्वाधिक ४५ रन बनाए ।

कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रनको योगदान दिए । फार वेस्टका लागि उमेर अलि,करण केसी र प्रकाह जैशीले समान २÷२ विकेट हात पारे । छैटौं खेल खेलेर पहिलो जित हासिल गरेको पोखरा ६ खेलमा २ अंक अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । 

चर्च ब्वाइज क्वाटरफाइनलमा 

काठमाडौँ  । चर्च ब्वाइज युनाईटेडले आहा १ रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा  विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको हो ।

चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरेका छन् । निकै रोमान्चक खेलमा सुरुआती अग्रता पुलिसले बनाएको थियो । २५ औं मिनेटमा रबी पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ७७ औं मिनेटमा अन्जनले गोल गर्दै चर्च ब्वाइजलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिदा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा अनन्तले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । अब चर्च ब्वाइजले क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । २२ औं संस्करणको आहा १ रारा पोखरा गोल्डकपमा १० टोलीको सहभागिता छ ।