Live Streaming

अन्नपूर्ण दिनभर : प्रधानमन्त्रीको तेस्रो कार्यकाल अवसरसँगै चुनौतीको घेरामा, राजनीतिमा पनि फहल नखेल्न केपी ओलीको सुझाव

 

प्रधानमन्त्री प्रचण्ड पोखरा विमानस्थल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सुरु गर्ने बताउनुभएको छ । आज पोखरा अन्तर्राष्ट्रिय विमानास्थलको उद्घाटन गर्दै उहाँले अब पोखरामा तेस्रो विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै अब निजगढ विमानस्थल बनाउन लाग्ने बताउनुभयो ।

उहाँले चीनसँगका नाका खोल्ने, र रेलवे सञ्चालनको अध्ययन थालनी भएको समेत बताउनुभयो । विमानस्थल सञ्चालनमा आएसँगै पोखरा धेरै देशहरुसँग सम्पर्क स्थापित गर्ने केन्द्रको रुपमा विकसित भएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले  ठूला परियोजनामा सहयोग गर्न चीनसँग आग्रह समेत गर्नुभयो  । 

प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाल सामाजिक न्याय र समृद्धिको अभियानमा लाग्ने समेत बताउनुभयो । पोखरामा विमानस्थल बनेपछि देशको आर्थिक विकासमा फड्को  मार्ने उहाँले बताउनुभयो । 

विसं २०३२ मा विमानस्थलका लागि भनेर पहिलोपटक तीन हजार १०० रोपनी जमिन अधिग्रहण गरिएको थियो । जमिन अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको हो । उडान सुरु गर्न ‘कम्तीमा दुई महिना’ समय लाग्ने देखिएको उनीहरुको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग प्रतिघण्टा झन्डै ६०० यात्रुहरू व्यवस्थापनको क्षमता रहेको जनाइएको छ ।

ओलीको टिप्पणी :  राजनीतिमा फहल खेले रेड कार्ड पाइने टिप्पणी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा फहल खेले रेड कार्ड पाइने टिप्पणी गर्नुभएको छ । आज मदन भण्डारी स्पोर्ट एकेडेमीको १४ औं स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसतर्फ लक्षित गर्दै राजनीतिमा फहल खेल्ने खेलाडी रेड कार्ड पाएर आउट हुने बताउनुभएको हो ।

मेसी, एम्बाप्पे, रोनाल्डोलगायत विश्वविख्यात खेलाडीहरूको उदाहरण दिँदै ओलीले राजनीतिमा पनि फहल खेल्ने खेलाडी उत्कृष्ट खेलाडी हुन नसक्ने बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको र कांग्रेस सत्ताको रिङबाट बाहिर रहेको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले फउल खेले राजनीतिमा पनि रेर्ड कार्ड पाइने उल्लेख गर्नुभयो । 

उहाँले मन्त्रिमण्डल विस्तार गर्न दुई साता  समय लाग्ने समेत बताउनुभयो । अध्यक्ष ओलीले अहिले खेलकुदमन्त्री नभएको प्रशंग निकाल्दै मन्त्रिपरिषद् विस्तार हुन अझै केही समय लाग्ने जानकारी दिनुभयो ।

प्रतिनिधिसभा बैठक 

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले पहिलो बैठकका लागि एजेन्डा तय गर्न २२ गतेका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । संसद्को पहिलो बैठक पुस २५ मा बस्दैछ । २२ गते दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ ।

सरकारको न्युुनतम कार्यक्रमको मस्यौदा लेखन सुरु

काठमाडौँ । सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले आजदेखि प्रारिम्भक मस्यौदा लेखनको काम सुरु गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले सरकारमा सम्मिलित दलका नेताका सुझाव समावेश गर्दै मस्यौदा तयार पार्ने छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् कार्यदल सदस्य मुकुल ढकालले प्रारम्भिक चरणको छलफल सकिएको भन्दै प्रारम्भिक मस्यौदा लेखनको काम सुरु भएको जानकारी दिनुभयो । कुनै पनि दललाई आपत्ती नहुने र गर्न सकिने विषय साझा न्यूनतम कार्यक्रममा समेटिने उहाँको भनाइ छ ।

१४ पुसमा बसेको सत्ता साझेदार दलहरुको बैठकले सरकारको साझा न्यूनतम कार्यक्रम तय बनाउने निर्णय गर्दै त्यसको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई तोकेको थियो । कार्यदललाई ५ दिनभित्र शीर्ष नेताहरुसमक्ष मस्यौदा बुझाइसक्न भनिएको छ । कार्यदलको प्रारम्भिक मस्यौदालाई शीर्ष नेताहरुले अन्तिम रुप दिनेछन् ।

अर्थतन्त्र सुधार, विकास निर्माण, छिटोछरितो सरकारी सेवा, रोजगारी सिर्जना, सर्वसुलभ स्वास्थ्य सेवा, भ्रष्टाचार न्यूनीकरण लगायतका विषयलाई साझा कार्यक्रममा समेटिने नेताहरुको भनाइ छ ।

प्रदेश १ मा मुख्यमन्त्रीको लागि आह्वान

काठमाडौँ । प्रदेश–१ का प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आव्हन गर्नै पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न समय  दिनुभएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख खापुङले आव्हान गर्नुभएको हो ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको हो । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच केन्द्रमा गठबन्धन भएका कारण प्रदेशमा पनि सोही गठबन्धनको सरकार बन्ने लगभग पक्का छ । एमाले र माओवादी दुबैले सरकारको नेतृत्व दाबी गरिरहँदा कसले नेतृत्व गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ । यदि भागबन्डामा प्रदेश एमालेको भागमा परे हिक्मत कार्की मुख्यमन्त्री बन्नुहुनेछ । माओवादीको भागमा परे इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने सम्भावना छ । 

प्रदेश १ सभाका सबैभन्दा ठूलो दल एमालेले शुक्रबारसम्ममा सरकार गठनका लागि दाबी पेस गर्ने जनाएको छ । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलबीच सहमति गरेर आउँदो शुक्रबारसम्ममा प्रदेश प्रमुख समक्ष सरकार गठनका लागि दाबी पेस गर्ने बताउनुुभएको छ ।

उहाँले यस प्रदेशमा एमालेको नै नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो । सरकार गठनका लागि यसअघि भइरहेको अनौपचारिक छलफलले अब औपचारिकता पाएको कार्कीले बताउनुुभयो । संघीय सत्तासमीकरण अनुसार यस प्रदेशमा एमाले, माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी पार्टी सरकारमा जाने देखिएको छ ।

एमालेका ४०, माओवादी केन्द्रका १४, राप्रपाका ६ र जनता समाजवादीको १ जना प्रदेश सांसद रहेको छ । यस प्रदेशमा प्रतिपक्षमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) रहने देखिएको छ । 

प्रदेश १ प्रदेशसभा बैठक

काठमाडौँ । दोस्रोपटक गठन भएको प्रदेश १ प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ को पहिलो संशोधन स्वीकार गरेर जाने प्रस्ताव पास गरेको छ । नेपाली कांग्रेसका प्रदेश सांसद भीम पराजुली प्रस्तावक र एमालेका प्रदेश सांसद लीलावल्लव अधिकारी समर्थकमा प्रस्ताव पास भएको हो ।

नयाँ संसदको काम कारबाहीलाई अगाडि बढाउन सो नियमावली स्वीकार गरेर जाने प्रस्ताव पास गरिएको छ । प्रदेश १ प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गर्नुभएको थियो । 

लुम्बिनीका प्रदेशसभा सदस्यले लिए सपथ

काठमाडौँ । लुम्बिनी प्रदेशसभाका सदस्यहरूले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आज पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । प्रदेशसभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउनुभएको हो । ८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् ।

स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

शपथ ग्रहण र सोमबार बस्ने प्रदेशसभाको पहिलो अधिवेशनको बैठकका लागि प्रदेश सरकारको १० करोड रुपैयाँभन्दा बढी लागतमा देउखुरीमा बनाएको भवनको अधिकांश काम सकिएको छ । लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।

प्रदेशसभामा २९ सिटसहित एमाले पहिलो दल बनेको छ । कांग्रेसले २७ सिट जितेको छ । माओवादी केन्द्रले ९, राप्रपा ४, नागरिक उन्मुक्ती ४, जसपा ३, जनमत ३, लोसपा ३, नेकपा एकीकृत समाजवादी १ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

सुदूरपश्चिममा माघ २ गते सभामुखको निर्वाचन 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा आगामी माघ २ गते सभामुखको निर्वाचन हुने भएको छ । आज बसेको सर्वदलीय बैठकले आगामी माघ २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । सुदूरपश्चिमको प्रदेशसभा बैठक भोलिबाट सुरु हुँदै छ । प्रदेश सभा बैठक सुरु हुनु भन्दा अघिल्लो दिन सर्वदलीय बैठक बसेको हो । आजको बैठकले अध्यक्ष मण्डल तयार गर्ने निर्णय समेत गरेको छ ।

माओवादी सुदुरको संसदीय दलको नेता भट्ट चयन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत चयन हुनुभएको छ । आज बिहान बसेको संसदीय दलको बैठकबाट उनलाई सर्वसम्मत दलको नेता चयन गरिएको हो ।

भट्ट पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य समेत हुन् । उहाँ योपटकको प्रदेशसभा निर्वाचनमा डडेधुराबाट निर्वाचित हुनुभएको थियो । सत्ता गठबन्धनबाट उनलाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको नेता हरिबहादुर चुमानलाई बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी प्रदेश कमिटी बैठकले पार्टीको केन्द्रीय कमिटीको सल्लाहमा चुमानलाई सर्वसम्मत दलको नेता बनाउने निर्णय गरेको हो । 
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी चयन हुनु भएको छ ।

आज बसेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले गिरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । गिरी पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज समेत हुनुहुन्छ । यस्तै, बैठकले संसदीय दलको उपनेतामा चेतनारायण आचार्यलाई चयन गरेको छ ।

आज आंग्रेजी नयाँ वर्ष 

काठमाडौँ । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आजदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को बिदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

इशाइ धर्मका प्रवर्तक यशु ख्रीस्टको मृत्युपछि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । ईसापुर्व २ हजार २२ बर्ष पहिले इराकको मेसोपोटामियाबाट नयाँ बर्ष मनाउने प्रचलन सुरू भएको मानिन्छ ।रोमन भाषाको जेनस शब्दबाट नयाँ बर्षको पहिलो महिना जनवरीको नामाकरण गरेको बताइन्छ ।

नयाँ वर्षको स्वागत सबैभन्दा पहिले न्युजिल्याण्ड र अष्ट्रेलियाबाट सुरू भएको छ भने युरोप र एशियाली देशहरुले पनि स्वागत गरिसकेका छन् । अमेरिकीहरुले पनि स्वागत गर्दैछन् । नयाँ वर्ष सुरू भएलगत्तै विश्वभरका मानिसहरुले हर्षोल्लासका साथ भव्यरुपमा अतिशवाजीसहित यसको स्वागत गरिरहेका छन् । नेपालमा पनि नयाँ वर्षको अघिल्लो साँझ काठमाडौं, पोखरा, सौराहा, नगरकोट, धुलिखेललगायतका स्थानमा विषेश कार्यक्रम भएको थियो ।

राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

काठमाडौँ । आज १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित दिवस मनाइएको हो । आज अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रम समेत गरिएका थिए ।

काठमाडौंका विभिन्न स्थानमा र्यालीसमेत गरिएको छ । कार्यक्रममा सहभागीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउनुपरेको बताएका छन् ।  कार्यक्रममा राष्ट्रिय पोशाक संरक्षण अभियान नेपालका संयोजक राजनन्द माण्डव्यले १० वर्षदेखि राष्ट्रिय पोशाक दिवस र टोपी दिवस मनाउँदै आएको बताउनुभयो ।

विश्वभर रहेका नेपालीहरुलाई पनि स्मरणार्थ यो दिवस मनाउने गरिएको उहाँको भनाइ छ ।  उहाँले  पोशाक दिवसको अभियानको रुपमा नेपालका पोशाकलाई अन्तर्राष्ट्रिय मञ्चमा देखाउन सक्नुपर्नेमा जोड दिनुभयो । 

चिसो बढेपछि बेदकोट नगरपालिकाका विद्यालय बन्द

काठमाडौँ । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले विद्यालयको मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो ।

आगामी तीन दिन अत्यधिक चिसो बढ्ने, सावधानी अपनाउन सुझाव

काठमाडौँ । आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने भन्दै बिहानको समयमा बाहिरी चहलपहल कम गर्न विज्ञहरुले सुझाव दिएका छन् । विज्ञहरुले पश्चिमी वायुको प्रभावका कारण तराई र केही पहाडी क्षेत्रमा मौसम प्रतिकूल देखिएको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लागेका कारण  चिसोको उत्तारचढाव भइरहेको छ । आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा सितलहरको पनि सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ । जलवायु तथा विपद् विज्ञ डा. धर्मराज उप्रेतीले पश्चिमी वायुका कारण चिसो बढिरहेको बताउनुभयो ।

उहाँले आजदेखि तीन दिनसम्म देशको अधिकांश भागमा शितलहरको सम्भावना रहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभएको छ । उहाँले अबका केही दिनमा चिसो अत्यधिक बढ्ने भन्दै बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी, मुटुका रोगीहरुले  बिहानको समयमा घरबाहिर निस्किनु उचित नहुने बताउनुभयो । पश्चिम बंगालमा सिर्जना भएको न्यून चापीय अवस्था र पश्चिमी वायुको प्रभावका कारण तुँवालो लाग्ने, चिसो बढ्ने, हिमपात हुने सम्भावना रहेको उहाँको भनाई छ ।

आर्थिक खबर
सेयर बजार 

 काठमाडौँ । साताको पहिलो कारोबार दिन सेयर बजारमा ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यस दिन २६१ स्टकको ६२ हजार ५५१ पटकको कारोबारमा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रुपैयाँ बराबरको १ करोड ८ लाख ८० हजार कित्ता शेयर खरिदबिक्री भएको छ । नेप्सेको कारोबार रकम पछिल्लो ५ महिना यताकै उच्च हो । यस अघि गत साउन १६ गते, नेप्सेमा ४ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो ।

पछिल्लो समयमा नेप्से परिसूचक उकालो लागेसँगै कारोबार रकममा पनि वृद्धि हुन थालेको छ । आज नेप्से परिसूचक १७ दशमवल २६ अंक बढेर २ हजार ४६ दशमवल २९ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.७२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ ।

यस दिन श्रृजनशील लघुवित्त वित्तीय संस्था, खप्तड लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, अजोड इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.५७ प्रतिशतले गिरावट आएको छ । कारोबार रकमका आधारमा यस दिन नबिल बैंकको सर्वाधिक  २२ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । 

‘फाइभ–जी सेवा’को परिक्षण स्थगित

काठमाडौँ । नेपाल टेलिकमले आजदेखि सुरु गर्ने भनिएको ‘फाइभ–जी सेवा’को परिक्षण स्थगित भएको छ । फाइभजी चल्ने मोबइलको संख्या न्युन् देखिएपछि परिक्षण स्थगित गरिएको हो ।  टेलिकमले फाइभ–जीको परीक्षणको लागि आन्तरिक रुपमा तयारी अन्तिम चरण्मा पुयाएपनि केही प्राविधिक विषयका कारण फाइभ–जीको ट्रायक स्थगन भएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुभयो ।

परीक्षण गर्न लागेको २६ सय मेगाहर्ज ब्यान्डविथको फ्रिक्वेन्सीमा चल्ने मोइबल डिभाइस नै ज्यादै न्युन संख्यामा रहेकोले तत्कालको लागि ‘फाइभ–जी सेवा’ स्थगित गरिएको उहाँको भनाइ छ । टेलिकमले अंग्रेजी नयाँ बर्ष  १ जनवरीबाट फाइभ–जी परीक्षण गर्ने भन्दै तयारी गरेको थियो ।

सामान्य मोबाइल इन्टरनेटभन्दा द्रुत हुने फाइभजी इन्टरनेट औद्योगिक, सेवामूलक, नवप्रवर्तनात्मक र उच्च व्यवसायिक क्षेत्रमा प्रयोग हुने डाटा सुविधा हो । फाइभ–जीको परीक्षणअघि टेलिकमले यसको व्यवसायिक प्रयोगको सम्भावनाबारे पनि थप अध्ययन र छलफल गर्ने जनाएको छ ।

विदेशका खबर
अफगानिस्तान विस्फोट 

काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा सैन्य हवाई अड्डा बाहिर आत्मघाती बम विष्फोट भएको छ । विष्फोट हवाई अड्डाको गेटबाहिर भएको र कैयौं मानिस मारिएको तालिबान गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता अब्दुल नफी तकोरले आत्मघाती विस्फोटमा आफ्ना कैयौं सहयोगीको मृत्यु भएको बताउनुभयो । अगस्ट २०२१ मा अफगानिस्तानको सत्ता सम्हालेको ताबिबानले सुरक्षा अवस्था सुधार गर्दै लिएको दाबी गरेको छ । 

तर हालैका महिनामा अफगानिस्तानमा कैयौं ठूला आक्रमण भएका छन् । स्वघोषित चरमपन्थी संगठन इस्लामिक स्टेटको अफगानिस्तान शाखाले यस्ता कैयौं आक्रमणको जिम्मेवारी लिएको छ ।  पछिल्लो महिना मात्र बन्दुधारीले एक होटलमा आक्रम गरेका थिए। जसमा कम्तिमा पाँच जना चिनियाँ नागरिक घाइते भएका थिए । 

आणविक हतियारको संख्या बढाउने उत्तर कोरियाको घोषण्ण 

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आणविक हतियारको संख्या बढाउने घोषणा गर्नुभएको छ । सत्तारूढ वर्कर्स पार्टीको एक बैठकमा किमले दक्षिण कोरिया र अमेरिका जस्ता मुलुकहरूबाट उत्तरलाई राष्ट्रिय जोखिमबाट प्रतिरक्षा गर्न विशाल सैन्य शक्ति आवश्यक रहेको बताउनुभएको हो ।

दक्षिण कोरियाको भूमिमा अमेरिकाले आणविक हतियार ल्याएर राखेको सन्दर्भमा उहाँले कडा टिप्पणी गर्नुभएको हो । यो परिस्थिति मानव इतिहासकै अभूतपूर्व भएको उहाँको भनाइ छ । उहाँले दक्षिण कोरियालाई आफूहरूको शत्रु भएको बर्णन गर्नुभयो ।दक्षिणले बुद्धिहीन तथा खतरनाक रूपमा हतियार विकसित गरिरहेको किमको आरोप छ ।

नयाँ अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू विकसित गर्नका लागि किमले आह्वान समेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सकेसम्म देशको पहिलो सैन्य भूउपग्रह सञ्चालनमा ल्याउन पनि उहाँले आग्रह गर्नुभयो ।

खेल खबर
नेपाल टी—२० लिग

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टार प्लेअफमा प्रवेश गरेको छ । लिगको सातौं खेलमा लिगको सातौं खेलमा छैटौं जित हात पार्ने क्रममा विराटनगर सुपर किंग्स १२ रनले पराजित भएको हो ।

टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ ओभरमा अलआउट भएर १ सय १० रन जोडेको थियो । विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए ।

लुम्बिनीका लागि श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान २÷२ तथा किशोर महतो,कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान १÷१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन जोडेको थियो ।
आजै भएको पहिलो खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ ।

लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको थियो  ।

काठमाडौंका लागि ओपनर सुनम गौतमले सर्वाधिक ६२ रनको अर्धशतकीय पारी खेले । काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा ९० रन बनाउँदै अल आउट भएको थियो ।

चर्च ब्वाइज सेमिफाइनलमा 

काठमाडौँ । चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा आज भएको खेलमा  मछिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । आशिष चौधरीको नाममा एक गोल रह्यो । मछिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए । चर्च ब्वाइज आफ्नो डेब्यु सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको हो । जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।