Live Streaming

सुरक्षा निकायका प्रमुखको बैठक सुरु

 

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको भर्चुअल उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको बैठक सुरु भएको छ । गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनुहुने जनाइएको छ । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उहाँले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँले निर्मला पन्त हत्या प्रकरणलाई तथ्यका आधारमा अनुसन्धान अघि बढाउन निर्देशन दिएलगत्तै प्रहरीले नायब महानिरीक्षक दुर्गा सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन पनि भइसकेको छ । यस्तै गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसक्नुभएको छ । आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने (सुरक्षा ब्रिफिङ) कार्यक्रम तय भएको छ ।

यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिनुहुने गृहमन्त्रालयले जनाएको छ ।

गृहमन्त्री लामिछानेले अधिकांश नागरिक गृह प्रशासनसँग ठोकिने र जनताका गुनासा पनि बढी गृहअन्तर्गतका निकायमा रहने भएकाले आफुले गृहमन्त्रालय रोजेको यसअघि नै सार्वजनिक गरिसक्नुभएको छ । मुख्यतः आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ । ।