Live Streaming

अन्नपूर्ण दिनभर : म्याच फिक्सिङ्को प्रस्ताव आएपछि नेपाल टी–२० लिग विवादमा, वाम एकताकै प्रयासमा समाजवादी

सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागिताबारे नेकपा एसको बैठक निष्कर्षविहीन बनेको छ । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको नेताहरुले बताएका छन् ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भएकाले सरकारको नीति र कार्यक्रम हेरेर समर्थन गर्ने वा नगर्ने जिम्मा सचिवालयलाई दिईएका बताउनुभयो । उहाँले सरकारमा सहभागिताका लागि अहिलेसम्म कुनै औपचारिक प्रस्ताव नआएको दोहोयाउनुभयो ।

एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा सहभागी हुनेबारे नेताहरू दुई धारमा बाँडिएका छन् । शनिबार र आइतबारको स्थायी कमिटीको बैठकले सरकारबारे निर्णय गर्न नसकेपछि सोमबार र मंगलबार पोलिटब्युरो बैठक बसेको थियो ।
यस्तै पार्टीले वामपन्थी एकताको पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रवक्ता खतिवडाले वामपन्थीहरुको बीचमा एकता र सहकार्य केन्द्र भागमा रहेर काम गर्ने निर्णय गरेको बताउनुभयो । जसपासहित सबै वामपन्थी शक्तिलाई एकजुट बनाउन पहल गर्ने उहाँको भनाई छ 

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ । आज सकिएको राजनीतिक समितिको बैठकमा सरकारमा जाने नजानेबारे मत बाँझिएको थियो ।

बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने निर्णय भएको हो । नभए पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बाहिरबाट समर्थन गर्ने पार्टीको निर्णय छ । 

बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ । चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।

विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो ।

सचिवहरुलाई नीतिगत सुधारका प्रस्ताव ल्याउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ । आज सिंहदरबारमा भएको छलफलपछि सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले धेरै क्षेत्रमा विकृति र समस्या रहेको उल्लेख गर्दै नीतिगत सुधारका प्रस्तावहरू ल्याउन निर्देशन दिनुभएको हो ।

जनताले दैनिक सेवा प्रवाहमा सास्ती खेपिरहेको फेहरिस्त पेस गर्दै दाहालले अब एकले अर्कोलाई कमजोरी देखाएर उम्किन नपाउने उल्लेख गर्नुभएको छ । डिजिटल सेवा, फेसलेस सेवा, विचौलिया हटाउने, गुनासो सुन्ने र फट व्यवस्था, जनताको बढी भीड हुने मालपोत, लाइसेन्स, जस्ता निकायहरुमा क्षतिपूर्तिसहितको नागरिक बडापत्र राख्न उहाँको निर्देशन छ ।

यस्तै प्रचण्डले भ्रष्टाचार हुने सम्भावित निकायहरुमा निगरानी राख्न मातहत कार्यालयलाई निर्देशन दिनुभएको छ । राजस्व सङ्कलनमा उल्लेख्य प्रगति हुन नसकेकोमाएकातर्फ लक्ष्यअनुसार राजस्व नउठ्ने, पूँजीगत खर्च नहुने, अर्कोतर्फ भएको खर्च पनि बेरूजु पर्ने र फछ्र्यौट नहुने भनेको वित्तीय प्रशासनको पूरा चक्र नै समस्याग्रस्त रहेको भन्दै संवेदनशील हुन भन्नुभएको छ ।

विकास खर्च आर्थिक वर्षको आधाआधी भइसक्दा जम्मा ११ प्रतिशत मात्र भएकोमा प्रश्न गर्दै उहाँले विकास खर्चमा नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउन निर्देशन दिनुभयो ।

सरकारी अस्पताल र सामुदायिक विद्यालयमा शिक्षाको स्तर खस्किएको, किसानले कर्जामा सहज पहँच नपाउन मिटरब्याजीको जालोमा फस्नुपरेको प्रदेश तथा स्थानीय तहहरूमा एकतीहाई दरवन्दी रिक्त रहदा सेवप्रवाहमा समस्या रहेको लगायतका बिषय प्रस्तुत गर्दै तीनको व्यवस्थापनका लागि निर्देशन दिनुभयो । छलफलमा प्रधानमन्त्री प्रचण्डले सबै मित्रराष्ट्रहरूसँग असंलग्नताको सिद्धान्तमा रहेर सन्तुलित र सुमधुर सम्बन्ध राख्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सरकार बनाउन केन्द्रकै भर, अलमलमा दलहरू

काठमाडौँ । केन्द्रमा सरकार निर्माण भएसंगै प्रदेशहरुमा पनि सभामुख–उपसभामुख निर्वाचन तथा तथा सरकार निर्माणको प्रकृया सुरु भईसकेको छ । मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेस अहिले कुनैपनि प्रदेशमा सरकार गठन गर्नसक्ने अवस्थामा छैन ।

नेकपा माओवादी केन्द्रले कांग्रेससंगको गठबन्धन तोडेर एमालेसंग नयाँ समीकरण बनाएसंगै सबै संवैधानिक पदहरुमा समीकरण उल्टिएको छ ।

वर्तमान गठबन्धनले प्रदेशदेखि केन्द्रसम्म प्याकेजमै सहमति गर्नेगरि तयारी गरिरहदा कुन प्रदेशमा कस्ले नेतृत्व गर्ने भन्ने बिषय अन्योलमा छ । कतिपय प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान समेत भईसकेको छ । तर केन्द्रीय भागवण्डाले प्रदेशमा दलहरु अन्यौलमा परेका छन् । 

प्रदेश १ मा पनि केन्द्रकै निर्णय कुर्दा प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसिमा घर्किदै गएको छ । तर सरकार गठनको सुरसार खासै देखिएको छैन । सरकार गठनका लागि प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी पुस २४ गते आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिनुभएको छ ।

जसका कारण सरकार गठनको विषय पाँच दिन भित्र टुंग्याउनु पर्ने दबाबममा दलहरु छन् । तर, केन्द्रमा शक्ति बाँडफाँटको विषय टुंगो लाग्न ढिलाइ भएपछि दलहरु अलमलिएका हुन् । केन्द्रले मुख्यमन्त्रीको टुंगो नलगाएको अवस्थामा भने प्रदेशमा एमाले र माओवादी दुवैले मुख्यमन्त्री आफूहरुले पाउनु पर्ने दाबी गरेका छन् । 

उता सुदूरपश्चिम प्रदेशमा पनि नागरिक उन्मुक्ति पार्टी अर्निणित रहदा कुनैपनि गठबन्धनको सरकार बन्न सक्ने अवस्था छैन । प्रदेशको सभामुखका लागि यहि पुष  २८ गते निर्वाचन तोकिएको छ । नागरिक उन्मुक्ति भने पार्टीका संरक्षक रेशम चौधरी लगायतका कैदीहरुको रीहाई भए मात्रै सरकारमा जाने अडान लिईरहेको छ ।

केन्द्रमा पनि एमाले नेतृत्वको गठबनधनलाई सर्मथन गरि बाहिरै बसेको सो पार्टीले सुदूरपश्चिममा कस्तो भूमिका निर्वाह गर्छ यसै भन्न सकिने अवस्था छैन । प्रदेसभाको पहिलो बैठकमै माघ १ गतेसम्म चौधरी लगायतका नेता÷ कार्यकर्ताहरुको रिहाई नभए प्रदेशसभा चल्न नदिनेसम्मको चेतावनी समेत दिईएको छ ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीक प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले कुन गठबन्धनलाई सर्मथन गर्ने भन्ने बिषयमा अध्ययनमै रहेको बताउनुभयो । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै चौधरीले स्वभाविक रुपमै सत्तामा रहेको गठबन्धनसंग झुकाव बढि हुने पनि बताउनुभएको छ । 

मुख्यमन्त्री बनेर संघीयता खारेजी अभियान चलाउँछु 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले संघीयता, धर्मनिरिपेक्षता र गणतन्त्र खारेज गर्नुपर्ने बताउनुभएको छ । हेटौँडामा पत्रकारहरुसँग कुरा गर्दै थापाले अहिलेको राज्य संरचनाले देशलाई फाइदा नहुने भन्दै संघीयता खारेजीसहित पुनः राजतन्त्र स्थापनाको आफूहरुको अभियान जारी रहने बताउनुभयो ।

राप्रपाले उठाएका मागमा धेरै जनताको साथ रहेको र पार्टी मुख्यमन्त्रीको लागि निर्णयक मानिएको शक्ति रहेको देखाउन आफूहरुले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको उहाँको भनाई छ । मुख्यमन्त्री भएपछि आफ्नौ पहिलो प्राथमिकता नै प्रदेश खारेजी रहेको पनि थापाको भनाई छ ।

कार्यदलले बुझायो मिटरब्याजी समस्या समाधानसम्बन्धी सुझाव समेटिएको प्रतिवेदन

काठमाडौँ । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी कार्यविधिगत तथा सरकारबाट जारी हुनसक्ने विशेष आदेशसमेतको व्यवस्था सिफारिस गर्न गठित कार्यदलले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ ।

मिटरब्याजबाट पीडित भएकाहरूको समस्या समाधान गर्न केही कानुन संशोधन र थप गर्नुपर्ने आवश्यकतासहित सुझाव समेटेर प्रतिवेदन बुझाइएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । प्रतिवेदनमा यसअघि २०७९ भदौ २७ मा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले दिएको प्रतिवेदनको कार्यान्वयनका लागि भएका प्रयास, २०७९ असोज १ गते मिटरब्याजी तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिसँग भएको सहमतिमा उल्लेखित विषय कार्यान्वयनका लागि आवश्यक कानुन संशोधन, नयाँ कानुन निर्माण तथा कार्यविधिगत् सुधारको आवश्यकता औँल्याइएको छ।

कानुन अभावमा मिटरब्याजबाट पीडित भएकाको समस्या समाधान गर्न जटिल रहेकाले अहिले विद्यमान कानुनअन्तर्गत मुलुकी अपराधसंहिता २०७४ मा मिटर ब्याज असूली गरी ठगी गर्न नहुने भन्ने दफा थप गर्न समितिले सुझाव दिएको छ। सहसचिव डा भीष्मकुमार भुसाल नेतृत्वको कार्यदलमा ६ सदसीय समिति गठन गरिएको थियो । 

गृहमन्त्री रविका चुनौती

काठमाडौँ । गृह मन्त्रालयको नेतृत्व गर्दै रवि लामिछानेसरकारमा सहभागी हुनुभएको छ। छोटो समयको राजनीतिक यात्राबाट गृहमन्त्री बन्नु भएका रवि लमिछानेले गृहमन्त्री नियुक्त भएलगत्तै आफ्नो प्रशासन सुधारका केही विषयमा घोषणा गर्नुभयो । तर पहिलो पटक संसद् र सरकारको अनुभव लिँदै गृहमन्त्री बन्दा लामिछानेकासामु चुनौतीका चाङ छन ्। 

एक महिनाभित्र सडकका खाल्डा पुर्न उपप्रधानमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सडकको खाल्डोहरु पुर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित सडक विभागको ब्रिफिङ्ग कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाभित्र १५ दिन र उपत्यका बाहिरको १ महिना भित्र सडकका खाल्डो पुर्न निर्देशन दिनुभएको हो । झण्डै ४ घण्टा लामो ब्रिफिंगमा सडक बिभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको ब्रिफिंग गरिएको थियो ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको उपप्रधानमन्त्री श्रेष्ठको स्वकीय सचिव विजय गौतमले बताउनुभयो ।  

राहदानी विभागको सिस्टममा समस्या

काठमाडौँ । राहदानी विभागको सिस्टममा खराबी आउँदा आवेदकको स्टाटस हेर्ने र वितरण कार्य स्थगित भएको छ। विभागका प्रवक्ता दुरपदा सापकोटाले विज्ञप्ति जारी गर्दै अर्को सूचना नआएसम्म दुवै सेवा स्थगित गरिएको जनाएका छन्।

नियमितरूपमा राहदानी आवेदनका लागि समय लिएका सेवाग्राहीहरू सोही मितिमा बायोमेट्रिकको लागि विभागमा उपस्थित हुन विभागले अनुरोध गरेको छ।

पछिल्लो समय राहदानीका लागि फारम बुजाउने र राहदानी लिनका लागि विभागमा मानिसहरूको भीड अत्यधिक बढिरहँदा विभागको सिस्टममा समस्या देखिएको हो ।

स्थानीय तहले शून्य लागतमा मौसमी कामदार विदेश पठाउने बाटो खुल्यो

काठमाडौँ । सरकारले शून्य लागतमा स्थानीय तहमार्फत वैदेशिक रोजगारीमा मौसमी कामदार पठाउने बाटो खुला गरेको छ । मौसमी कामदार व्यवस्थापन निर्देशिका २०७९ स्वीकृत भएसँगै स्थानीय तहमार्फत वैदेशिक रोजगारीमा मौसमी कामदार पठाउने बाटो खुलेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा प्राप्त हुन सक्ने मौसमी प्रकृतिका छोटो अवधिको वैदेशिक रोजगारलाई सुरक्षित, कम खर्चिलो, मर्यादित र व्यवस्थित बनाउन निर्देशिका ल्याएको हो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको पहलमा पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका स्वीकृत गरेको थियो ।

निर्देशिका स्वीकृत भएसँगै मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई कार्यान्वयन गर्न परिपत्र गरेको छ ।

आर्थिक खबर

 डेरी उद्योगीले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौँ । डेरी उद्योग संघले बढाएको दूधको मूल्य अन्ततः फिर्ता लिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, पशुसेवा विभाग, दुग्ध विकास बोर्ड र डेरी उद्योग संघबीच आज भएको छलफलमा बढेको मूल्य फिर्ता लिन उद्योगीहरु सहमत भएका हुन् ।पुस १६ गतेबाट डेरी उद्योग संघले प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएको थियो । त्यसको चौतर्फी विरोधका बीच आज भएको छलफलबाट मूल्य फिर्ता गर्न उद्योगी सहमत भएका छन् ।

साथै डेरी उद्योग संघले यसअघि बढेको मूल्य तिरेका उपभोक्तालाई रकम फिर्ता गर्न पनि सम्बन्धित उद्योगीलाई आग्रह गरेको संघका अध्यक्ष राजकुमार दाहालले बताउनुभयो । वैज्ञानिक रुपमा दुग्ध बजारको अध्ययन गर्ने र आवश्यकताअनुसार मूल्य समायोजन गर्न विज्ञ टोली बनाउने सहमति पनि भएको बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिनुभयो । 

सेयर बजार घट्दा कारोबार रकम बढ्यो 

काठमाडौँ । सेयर बजार परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा आज सामान्य घटे पनि कारोबार रकम भने बढेको छ । नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१ अंकमा कायम भयो । कुल ३ अर्ब ४५ करोडको कारोबार भयो । हिँजो २ अर्ब ९६ करोडको कारोबार भएको थियो । कुल १०७ कम्पनीको मूल्य बढ्दा १०२ को घटेको छ भने ३ को स्थिर रह्यो । ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । स्वेतगंगा हाइड्रोपावर, खप्तड, धौलागिरि लघुवित्त र अजोड इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो ।

विदेशका खबर 
श्रीलङ्काको अर्थतन्त्रमा क्रमिक सुधार, फस्टाउँदै पर्यटन

काठमाडौँ । आर्थिक अनुशासन कायम गर्न नसक्दा टाट पल्टिएको श्रीलङ्काको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान गरेको छ । सात लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ ।

गत महिना ९२ हजार पर्यटकले श्रीलङ्का भ्रमण गरेका थिए भने सन् २०२२ मा छ लाख ७८ हजार तीन सय ९२ जना आमोदप्रमोदका निम्ति आएका थिए । कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक सङ्कटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रा्उने लक्ष्य लिएको प्राधिकरणले जनाएको छ । 

फिलिपिन्समा बाढीका कारण विस्थापित ३३ हजारभन्दा बढी व्यक्ति अस्थायी शिविरमा

काठमाडौँ । फिलिपिन्समा गत साता ५१ जनाको ज्यान जानेगरी आएको बाढीका कारण विस्थापित भएका ३३ हजार भन्दा बढी मानिस अझै पनि अस्थायी आश्रयस्थलमा रहेका छन् ।  समाज कल्याण तथा विकास विभागले क्रिसमसको पूर्वसन्ध्यामा बाढीबाट गम्भीर रूपमा प्रभावित पाँच क्षेत्रका ८ हजार ९३० परिवारलाई उद्धार गरेको जनाएको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मङ्गलबारको अद्यावधिक प्रतिवेदनमा मृतकको सङ्ख्या ५१ पुगेको र थप १९ बेपत्ताको खोजी भइरहेको जनाएको छ । बाढीले दक्षिणपूर्वी एसियाली देशका १० क्षेत्रका करिब छ लाख मानिसहरूलाई सुरक्षित स्थानमा सार्न बाध्य बनाएको थियो । फिलिपिन्स विश्वव्यापी रूपमा सबैभन्दा प्रकोपबाट प्रभावित हुने देशहरू मध्ये एक हो ।

औसतमा वार्षिक २० भन्दा बढी टाइफुनहरू आउँने र तीमध्ये केही  अत्यन्त तीव्र गतिमा आउँने हुँदा विनाशकारी पनि हुने जनाइएको छ ।  

खेल खबर 
म्याच फिक्सिङबारे सीआईबीले थाल्यो छानबिन

काठमाडौँ । खेलाडीहरुलाई म्याच फिक्सिङ्को प्रस्ताव आएको पुष्टि भएपछि नेपाल टी–२० लिग विवादमा तानिएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग प्रायोजन अधिकार किनेको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको आयोजनामा जारी प्रतियोगिताका खेलमा फिक्सिङ भइरहेको चर्चाले अहिले क्रिकेट वृत्त तरिङ्गित बन्दा प्रतियोगित नै विवादित बनेको हो ।

सीआईबीले केही दिन अघिबाटै म्याच फिक्सिङको आशंकामा छानबिन थालेको थियो । सीआईबीले अनुसन्धान गरिरहेकै अवस्थामा आज घटना सार्वजनिक भएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका खेलाडीलाई पनि म्याच फिक्सिङको प्रस्ताव आएको सार्वजनिक गरिसकेका छन् । मंगलबार विराटनगर सुपर किंग्ससँगको खेलपछि प्रेस कन्फ्रेन्समा उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

राष्ट्रिय खेलकुद परिषद (राखेप)को स्वीकृतिविना नै पहिलो दिनदेखि प्रतियोगितामा विदेशी खेलाडी खेलिरहेका छन् । दुई टिममा त विदेशी खेलाडीले कप्तानीसमेत गरेका छन् ।

उनीहरुको श्रम स्वीकृतिको प्रक्रिया राखेपबाट अगाडि बढेको छैन । आज खेलाडीहरुले पारिश्रमिक नपाएको भन्दै खेल खेल्न अस्वीकार गरेका थिए । क्यानले उनीहरुलाई पारिश्रमिकको ग्यारेन्टी गर्ने बताएपछि २ घण्टा ढिला गरी टस भएको थियो । 

खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिनुभएको छ । मन्त्रालयको निर्देशनअनुसार सीआईबीले आजदेखि नै आफ्नो जिम्मेवारी सुरु गरिसकेको छ ।

आजै म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो । तर ती सोधपुछ गरिएका व्यक्तिबारे भने सीआईबीका प्रवक्ता एसपी कमल थापाले बताउन चाहनुभएन ।

मनाङलाई हराउँदै भुटनीज सेमिफाइनलमा

काठमाडौँ । अमेरिकाको भुटनीज युथ सकर क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।पोखरा रंगशालामा आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै भुटनीजले अन्तिम चारको यात्रा तय गरेको हो ।

भुटनीजको जितमा प्रविन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।