Live Streaming

विश्व भुटानी हिन्दु संगठनद्वारा शरणार्थीहरूको व्यवस्थापनका लागि गृहमन्त्रीसँग अपील

 काठमाडौं। विश्व भुटानी हिन्दु सङ्गठनले भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागी सरकारसँग आग्रह गरेको छ । मंगलबार उप-प्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भेटेर विश्व भुटानी हिन्दु सङ्गठनका अध्यक्ष कमल धिमालले झापा र मोरङ्ग जिल्लामा बसोबास गर्ने करिब सात हजार भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागि आग्रह गरेका हुन्। भेटमा सङ्गठनका अध्यक्ष धिमालले मन्त्री लामिछानेलाई तीन सुझाव दिएका थिए । 

भुटानी शरणार्थीहरूको व्यवस्थापनका लागि सरकारले आफ्नो साझा कार्यक्रममा समावेश गरी भुटानसँग वा अन्तराष्ट्रिय निकायसँग छलफल गरेर उचित समाधान निकाल्न, बाँकी रहेका शरणार्थीहरूलाई पुनर्वास पुनः शुरु गरी उचित व्यवस्थापन गर्न र शरणार्थीहरूको पुनर्वास अरु व्यवस्था नभएसम्मका लागि मानवीय सहयोग कायम राख्न माग गरिएको छ।  गृहमन्त्री रवि लामिछानेले आफूलाई प्राप्त सुझाबहरूलाई अध्ययन गरि उचित निणर्य गर्ने प्रतिक्रिया दिए।

शरणार्थीहरूको व्यवस्थापन गर्न नेपाल स  रकार कटिबद्ध रहेको उनको भनाई थियो । सन् १९५० को दशकमा तत्कालीन भुटानी सरकारले भारत सरकारको समेत सहयोगमा भुटानमा पुस्तौं बसेका नेपाली भाषाभाषीलाई चरम यातना दिई, देश निकाला गरे पश्चात एक लाख नेपाली मूलका भुटानी नेपाल प्रवेश गरेका थिए। 

नेपाल सरकारले झापा र मोरङ्ग जिल्लाका सात विभिन्न स्थानमा शरणार्थीहरूको बसोवासको व्यवस्था मिलाएको थियो। शरणार्थीहरूले करिब दुई दशक अत्यन्तै कष्टकर जीवन बिताएका थिए। नेपाल सरकार र भुटानी सरकार बिच शरणार्थीहरूको व्यवस्थापनको लागी पटक-पटक वार्ता भएपनि  भुटानी सरकारको उदासिनताको कारण शरणार्थीहरू घर फर्कन पाएका थिएनन् । 

सन् २००८ मा अमेरिका, युरोपका केहि राष्ट्र, न्युजिल्यान्ड, अष्ट्रेलिया लगायतका राष्ट्रहरूले शरणार्थीहरूलाई आफ्नो भूमिमा पुनर्वासको व्यवस्था मिलाएपछि करिब १ लाख शरणार्थीहरू विश्वका विभिन्न राष्ट्रमा बसोबास गर्दै आएका छन्।