Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेसको जिकीर, गठबन्धन तोडिनुमा हाम्रो दोष छैन, साझा कार्यक्रमलाई अन्तिम रुप दिन दलहरु छलफलमा 

यो अवसर केन्द्रित गठबन्धन हो, यसको आयु छोटो छ : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । नेपाली कांग्रेसले यसअघिको गठबन्ध तोडिनुमा आफुहरु दोषी नभएको जिकीर गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जिकीर गर्नुुभएको हो । कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको दावी पनि उहाँले गर्नुभएको छ ।

पार्टीहरुबीच नीतिगत र सैद्धान्तिक प्रतिवद्धताका बाबजुत प्रचण्डले किन गठबन्धन छाडे भन्ने बिषयमा भविश्यमा समिक्षा हुदै जाने पनि बताउनुभएको छ । 

महतले अहिलेको सत्तारुढ गठबन्धन अवसर केन्द्रित गठबन्धन भएको बताउनुभयो । सरकारमा अवसर पाउने उद्देश्यले एक अर्कामा विपरीत धारणा राख्ने दलहरु पनि एक ठाउँमा आएको बताउर्दै उहाँले गठबन्धनका दलहरुमा कसले ठूलो जिम्मेवारी पाउने भन्ने विषयमा प्रतिस्पर्धा चलेकाले यो गठबन्धन आफ्नै बोझबाट थिचिएको उल्लेख गर्नुभयो । अवसर केन्द्रीत गठबन्धनको आयू धेरै नभएको पनि उहाँको भनाई छ । 

त्यस्तै सभापति शेर बहादुर देउवाको भनाइ उद्धृत गर्दै महतले नसोचेको परिणाम आए पनि आफूहरु विचलित नहुने बताउनुभएको छ । प्रचण्ड नेतृत्वको सरकारको विश्वासको मत पाउनमै आशंका गरेको कांग्रेसले आफ्नो कमब्याक हुने तर ५ वर्षपछि कि अघि भन्ने हेर्दै जान आग्रह गर्नुभएको छ ।  

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २८ मा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस २८ गते बस्ने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २३ गते पार्टीको संसदीय दल बैठक र २८ गते केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।

प्रतिनिधिसभाको अधिवेशन पुस  २५ गते सुरु हुने भएकालाई त्यसलाई केन्द्रित गर्दै संसदीय दलको बैठक डाकिएको हो । केन्द्रीय कार्यसमिति बैठक पुस २८ गते १ बजे बस्नेछ ।

यसअघि पुस २२ गते केन्द्रीय कार्यसमिति बैठक तय गरेपनि ६ दिन पर सारिएको हो ।कांग्रेसको इतर समूहको बैठक भने भोलिको लागि बोलाइएको छ । आजै बैठक बस्ने भनिए पनि पदाधिकारीसहित शीर्ष नेता काठमाडौं बाहिर भएकाले बैठक भोलिलाई सारिएको कांग्रेस नेतृ प्रतिमा गौतमले जानकारी दिनुभयो । आसन्न केन्द्रीय कार्यसमिति बैठकमा उठाउने एजेन्डाबारे छलफल गर्न बैठक डाकिएको उहाँले जानकारी दिनुभयो । 

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । साढे ५ बजे सुरु भएको बैठकमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको छ  । बैठकमा न्यूनतम साझा कार्यक्रम निर्माण, मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

सत्ता साझेदार दलको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले चाँडै नै सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नेगरि तयारी गरिरहेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै न्यूनतम साझा कार्यक्रम ल्याउने गरि तयारी भइरहेको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या, रोजगारी सिर्जना, पूर्वाधार विकास लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखेर न्यूनतम साझा कार्यक्रम ल्याइने तयारी भएको बताइएको छ । फरक विचारधारा बोकेका सात राजनीतिक दलको सरकार भएकोले सरकार सञ्चालनमा कुनै व्यवधान नहोस् र सबै दलले अपनत्व लिन सकुन भनेर न्यूनतम साझा कार्यक्रम बनाउन लागिएको हो ।

प्रधानमन्त्री प्रचण्डले माधव नेपालसँग मागे विश्वासको मत

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गर्नुुभएको थियो ।

अहिलेको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बिषयमा एकीकृत समाजवादी अर्निणित छ । आज मात्रै एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने बिषमा २६ गतेसम्ममा निर्णय लिने बताउनुभएको थियो । सरकारमा सहभागि हुने बिषयमा भने पार्टीको पोलिटब्यूरो बैठकले निचोड निकाल्न नसकेपछि निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिईएको छ । 

राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज बिहान महाराजगन्जस्थित शीतल निवास पुग्नुभएको थियो । उहाँहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले करिब दुई घन्टा राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्नुभएको थियो । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ । राष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सुदूरपश्चिममा २७ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान

काठमाडौँ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको छ । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले जानकारी दिनुभयो । संविधानको धारा १६८ को (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । 

सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत नहँुदा बहुमत पु¥याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ । यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

सत्ता गठबन्धन र ठुलो दल कांग्रेसलाई सरकार गठनका लागि नागरिक उन्मुक्ती पार्टी निर्णयक मानिएको छ । तर उन्मुक्ति पार्टीले सरकार गठनमा सघाउन संरक्षक रेशम चोधरीलाई रिहा गर्नु पर्ने शर्त राखेको छ । 

सुदूरपश्चिममा २८ पुसमा सभामुखको निर्वाचन, २७ गते उम्मेदवारी दर्ता

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा सचिवालयले सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।सचिवालयले आज सूचना जारी गर्दै पुस १८ मा सभामुखको निर्वाचन हुने जानकारी दिएको छ ।

सचिवालयले २७ गते बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म प्रदेशसभाको कुनै सदस्यले सभामुखमा मनोनयन दर्ता गराउन सक्ने बताएको छ । दिउँसो ३ बजेसम्म दर्ता भएको प्रस्तावअनुसारको नामावली प्रकाशन गर्ने, दिउँसो ४ बजेसम्म प्रस्तावमाथि दाबी विरोधको समय तोकिएको छ ।

४ देखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनसक्ने समय राखिएको छ भने २८ गते दिउँसो १ बजे प्रदेशसभा भवनमा सभामुख चयनका लागि मतदान हुनेछ । निर्वाचन घोषण भएको दुई दिन बित्दा समेत सभामुख उम्मेदावरको टुंगो भने लागेको छैन । दलहरूबिच अहिलेसम्म सभामुखका विषयलाई लिएर छलफल सुरु हुन नसकेको बताइएको छ ।

सुदूरपश्चिम प्रदेशमा एमाले,माओवादी र नागरिक उन्मुक्ति तीनै पार्टीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कुन दलले मुख्यमन्त्री पाउने भन्ने बारे नै दलहरू बिच सहमति हुन सकेको छैन् । 

भारतका कारण अड्कियो २ नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

काठमाडौँ । पोखरा अन्र्तराष्ट्रिय विमानस्थालको उद्घाटन भएसंगै मुलुकमा तीनओटा अन्तराष्ट्रिय विमानस्थल तयार भएका छन् । तर चाप भने काठमाडौंस्तिथत त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलले मात्रै खेप्नुपरेको छ । भैरहवा स्थित गौतमबुद्ध विमानस्थलसँगै पोखरा विमानस्थल समेत सञ्चालनमा आएसँगै अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा त्रिभुवन विमानस्थलको ३० प्रतिशत क्राउड लोड घट्ने नागरिक उड्डयन प्राधिकरणको अपेक्षा छ ।  

तर, तामझामका साथ ७ महिनाअघि उद्घाटन गरिएको गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा अहिले अन्र्तराष्ट्रिय उडान नै हुन सकिरहेको छैन् । मौसम खराबी हुँदा भिजिविलिटी नपुग्ने समस्या देखाउँदै जजिरा एयरवेजले डिसेम्बर २० गतेबाट उडान बन्द गरेको छ । यस्तै मौसमसँगै यात्रु अभावको कारण देखाउँदै हिमालय एयरलाइन्सले पनि डिसेम्बर १६ बाट उडान बन्द गरेको छ । यसो हुँदा विमानस्थललाई सञ्चालन खर्च पनि उठाउन समेत समस्या भएको छ । 

यस्तै भारतले सहजीकरण नगर्दा नेपालका गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनसकेका सकेका छैनन् । भारतले मुख्य गरि हवाइ प्रवेश विन्दु नदिदा तथा  भैरहवामा मौसमसम्बन्धी आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) उपकरण सञ्चालनमा आउन नसक्दा उडानमा समस्या आएको हो ।

हाल भारतबाट आउन सिमराको हवाइ प्रवेश विन्दु पाए पनि नेपालले भैरहवा र नेपालगञ्जबाट पनि थप प्रवेश विन्दुको माग गरिरहेको छ । तर भारतले दिन मानेको छैन । सिधा हवाइमार्ग नहुँदा जहाजहरु सिमरा घुमेर पोखरा आउनुपर्ने बाध्यता छ । 

नागरिक उड्डयन प्राधिकरणका पूर्व–महानिर्देशक राजकुमार क्षेत्रीले भने रुटको समस्या समाधानका लागि भारतसंग कुटनीतिक पहल थाल्न आग्रह गर्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै क्षेत्रीले अहिले नै पूनः निर्माण गरेर सर्कल उत्तरतिर सार्ने अवस्था नभएकाले कुटीतिक संवादमो जोड दिन आग्रह गर्नुभएको हो ।

नेपालबाट वैदेशिक रोजगारीमा जने यात्रुहरुको संख्या धेरै हुने भएकाले श्रमिकका लागि आवश्यक सबै पूर्वाधार निर्माण गर्न सरकारसंग आग्रह गर्नुभयो । वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने राहदानी बनाउनेदेखि म्यानपावर खोज्न, प्रहरी रिपोर्ट बनाउन लगायत सबै कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता भएकाले विदेश प्रस्थान गर्न मात्रै यात्रुहरु भैरहवा आउन सक्ने अवस्था नभएको बताउनुभयो । 

अवैधानिक क्रसर उद्योग बन्द गराउन गृह मन्त्रालयको परिपत्र 

काठमाडौँ । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न गृहले निर्देशन दिएको छ ।

त्यस्तै विभिन्न आयोजना, विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिणाममा ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यावसायीले आयोजना समाप्त भएपश्चात पनि त्यस्तो उत्खनन् कार्य गरिरहेको भए सो समेत छानबिन गरी तत्काल बन्द गर्न गृहले भनेको छ ।

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा आउने

काठमाडौँ । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिनुभयो ।

यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । 

उहाँका अनुसार अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ ।सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुस्टर डोज नलगाएका सबैलाई खोप लगाउन आग्रह गरेको छ । सरकारले बुस्टर डोजका लागि मात्र प्रयोग हुने फाइजर खोप ल्याउन लागेको हो ।

छिमेकीमूलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा सेनिटाइजर नियमित प्रयोग गर्न समेत आग्रह गरेको छ ।

‘एक्टिभ’ नरहेको सिमकार्ड अर्को व्यक्तिलाई बेच्न रोक

काठमाडौँ । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ ।अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् ।

बिक्री वितरण भएर लगातार ६ महिनासम्म प्रयोग नआएको सिमकार्ड सम्बन्धित व्यक्तिको नामबाट हटाएर अर्को व्यक्तिको नाममा जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाएर सपना भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै १४ पुसमा सर्वोच्च अदालतले सुविधा सन्तुलनको दृष्टिले अन्तिम टुंगो नलागिन्जेलसम्म प्राधिरकणको उक्त व्यवस्था कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

नेपालगञ्जमा एकै घरका चार बालबालिकामा दादुरा देखियो

काठमाडौँ । नेपालगञ्जमा बालबालिकामा दादुरा रोग देखापरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रामा एकै घरका चार बालबालिकामा दादुरा देखिएको हो । पाँचदेखि १२ वर्ष उमेरका तीन बालिका र एक बालकमा दादुरा पुष्टि भएको हो । त्यहाँ अरू १७ बालबालिकामा पनि दादुराको आशंका गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताउनुभयो ।

लामो समयपछि नेपालगञ्जमा दादुरा देखिएपछि विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य कार्यालय बाँकेको टोली घटनास्थलमा खटिएको उहाँले बताउनुभएको छ । नेपालले सन् २०२३ सम्ममा दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ । दादुराको खोप नलगाएका या खोप पूरा नगरेका व्यक्तिमा दादुरा देखिने खोप सुपरभाइजर श्रेष्ठले बताउनुभयो । 

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मार्गनिर्देशनमा संसोधन भएको हो । बैंकले १ करोडसम्मको चालुपूँजी कर्जामा चालुपूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ ले तोकेको सीमा कार्यान्वयन नहुने व्यवस्था गरेको छ । 

१ कात्तिकदेखि कार्यान्वयनमा आएको मार्गदर्शनमा ५० लाख रुपैयाँसम्मको कर्जामा उक्त सीमा लागु नहुने व्यवस्थालाई संशोधन गर्दै उक्त सीमा बढाएर १ करोड पुर्याएको हो । यस मार्गदर्शनअनुसार तोकिएको सीमाभन्दा बढी ऋण लिएकाले अब २०८२ असार मसान्तसम्म भुक्तानी गरे हुने व्यवस्था कायम गरिएको छ ।

त्यस्तो रकमलाई अर्धवार्षिक रुपमा भुक्तानी हुनेगरी आवधिक कर्जा शिर्षकमा मिलान गर्न पाउने व्यवस्था गरिएको छ । तोकिएको सीमाभन्दा बढी भएको कर्जा ५ किस्तामा तिर्न पाउने व्यवस्था गरिएको छ । कर्जाको अवधि, भुक्तानी तालिका तथा किस्ता रकम परिवर्तन गर्न भने नपाइने व्यवस्था छ ।

यस्तो आवधिक कर्जा समयअगावै चुक्ता गर्न चाहेमा पनि बैंक तथा वित्तीय संस्थाले उद्योगी व्यवसायीसित अग्रिम भुक्तानी शुल्क लिन पाउने छैनन् । 

सेयर बजारले २१ सय नाघ्यो, १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २१ सय अंक नाघेको छ । आज राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई संशोधन गर्ने चर्चासँगै लगानीकर्तामा सकारात्मक मनोबल बढ्दा यस दिन बजार ६४.८७ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २१२५ अंकमा कायम भएको छ ।

परिसूचक बढ्दा कारोबार रकम समेत बढेको छ । दिनभर कुल ३ अर्ब ५० करोडको कारोबार भयो । यसअघि हिजो मंगलबार ३ अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । कुल २०७ कम्पनीको मूल्य बढ्दा ५ को घट्यो । १ दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । कालिका लघुवित्त, साल्ट ट्रेडिङ, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढ्यो ।

संकटोन्मुख अर्थतन्त्र

काठमाडौँ ।  पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशको अर्थतन्त्रमा सुधार्ने भन्दै निजी क्षेत्रसँगको छलफललाई तिब्रता दिएको छ । मुलुकको अर्थतन्त्र सुधार गर्ने भन्दै सरकार र निजी क्षेत्र बीचको छलफल तीब्र बनेको छ । तर, देश संकटोन्मुख बन्दै गएको बेला सरकारलाई अर्थतन्त्र सुधार गर्न निकै ठुलो चुनौती रहने अर्थविद्हरुको तर्क छ । 

विदेशका खबर
सन् २०२३ मा युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुको प्राथमिकता तोक्नुभएको छ । उहाँले युक्रेनले आगमी वर्षमा गर्ने कामहरुका १० ओटा प्राथमिकता तोक्नुभएको समाचारमा जनाइएको छ ।

ती प्राथमिकतामध्ये प्रधानमन्त्री सामियलले युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म रहेको बताइएको छ । उहाँले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतमा जनाउनुभएको छ ।

डेनिसले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिनुभएको छ । उहाँले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुद बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताउनुभयो । 

गृहयुद्धको संघारमा लेबनन

काठमाडौँ । डेढ दशकसम्म गृहयुद्धको चपेटामा परी थिलथिलो बनेर पुनरुत्थान भएको लेबनन पुनः एकपटक धार्मिक विभाजनले निम्त्याएको कलहका कारण गृहयुद्धमा फस्ने खतरा बढेको छ । क्रिस्चियन धर्मावलम्बीहरूको अतिवादी समूह सोल्जर्स अफ गडले गृहयुद्धका लागि वातावरण बनाइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्ययमका रिपोर्टहरुले उल्लेख गरेका छन् ।

ती अतिवादीहरूको सम्बन्ध युद्धसरदार, लडाकू तथा विगतको गृहयुद्धमा सहभागी पक्षहरूसँग रहेको हुँदा त्यसले खतरनाक परिदृश्य निर्माण गरिरहेको बताइएको छ । राजधानी बेरुतको पूर्वी भागमा रहेको अशरफियेमा आफूलाई गार्डियन एन्जल्स भनी चिनाउने क्रिस्चियन युवकहरूले हातहतियारका साथ गश्ती गर्ने गरेका छन् । 

उनीहरुले समलिंगी तथा तेस्रोलिंगीहरूलाई दमन गर्ने गरेका छन् । विगतको गृहयुद्धमा लडेका समूहहरूले नै सोल्जर्स अफ गडलाई समर्थन गरेकाले भविष्यमा पुनः धार्मिक विभाजन चर्किएर गृहयुद्धको रूप लिने हो कि भनी लेबननीहरूले चिन्ता लिएका छन् । देशको अर्थतन्त्र जर्जर भएर बेरोजगारीको समस्या भयावह बनिरहेको अवस्थामा युवालाई अतिवादमा लाग्न मलिलो जमीन समेत तयार भएको अवस्थाले चिन्ता बढाएको हो । 

खेल खबर
टी–२० लिगमा फिक्सिङको भ्रम फैलाएको क्यानको भनाइ, प्रमाणसहित उजुरीको आग्रह

काठमाडौँ । जारी नेपाल टी–२० लिगमा ‘म्याच फिक्सिङ’÷‘स्पोट फिक्सिङ’ का बारेमा प्रमाणसहित उजुरी गर्न नेपाल क्रिकेट संघ क्यानले आग्रह गरेको छ । केहीदिन यता विभिन्न समाचार आएपछि आज क्यानले विज्ञप्ति जारी गर्दै फिक्सिङको बारेमा भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी–२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन आग्रह गरेको छ । नेपाल टी–२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले हिजो फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो ।

यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरुले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।

फार वेस्टको प्लेअफ सम्भावना कठिन

काठमाडौँ । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्र्तगत आजको खेलमा विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले जित हात पालेका छन् । 

आज भएको पहिलो खेलमा लुम्बिनीले काठमाडौं नाईट्सलाई १ सय २ रनले पराजित गरेको थियो । टियु क्रिकेट मैदानमा काठमाडौंका खेलाडी मैदानमा आउन ढिला गरे पछि खेल १७ ओभरमा छोट्याईएको थियो । लुम्बिनीले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौंले १५.४ ओभरमा अलआउट भएर ८१ रन बनाएको हो ।

यस्तै आजै भएको दोश्रो खेलमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई ६ विकेटले पराजित गरेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । 

त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो । फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए ।

आठ खेलमा तीन जित पाँच हार सहित विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । सात खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

एपीएफ बाहिरियो, संकटा फाइनलमा

काठमाडौँ । संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । एपीएफका हरि कार्कीले एक गोल फर्काए ।

खेलको पाँचौं मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । मेसुकेले ४३ औं मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए । खेलको ६१ औं मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता ३–० को बनाए ।

७४ औं मिनेटमा हरिले गोल गर्दै एपीएफलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई ४–१ को जित दिलाए । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।