Live Streaming

अन्नपूर्ण दिनभर : प्रदेशमा मुख्यमन्त्री चयनको बढ्या दौडधूपे, सरकारमा जाने बिषयमा एकीकृत समाजवादीमा किचलो

सात सचिवको सरुवा 

काठमाडौँ । सरकारले अर्थसहित ७ सचिवको एकैपटक सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायका सचिवको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मनिन्त्रपरिषद् कार्यालय स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव तोयम रायको अर्थ मन्त्रालयमा सरुवा भएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासिनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिवमा सरुवा भएको छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ भने कानून मन्त्रालयका सचिव उदयराज सापकोटाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानून सचिवमा सरुवा भएको छ ।

अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा.रामप्रसाद घिमिरेको अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा भएको छ भने राजश्व सचिव रामेश्वर दंगालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको बताइएको छ । 

यस्तै बैठकले राष्ट्रिय सभाको रिक्त १ सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिनुभएपछि १ पद रिक्त भएको थियो । 

प्रचण्डलाई विश्वासको मतबारे समाजवादीमा दुई धार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ । यसअघि चार दिनसम्म चलेकोस्थायी समिति र पोलिटब्युरो बैठक निष्कर्षविहीन भएको अवस्थामा आज सचिवालय बैठक बसेको थियो ।

बैठकमा सरकारलाई समर्थन गर्ने विषयमा शीर्ष नेताहरुबीच मत बाझिएको हो । समाजवादीभित्र सम्मानित नेता झलनाथ खनालले सात दलीय गठबन्धन सरकारलाई अहिले मत दिनु नहुने धारणा राख्दा अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई मत दिनुपर्ने पक्षमा आफ्नो अडान राख्नुभएको छ । 

यस्तै पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले आफ्नो पार्टीको अस्तित्व अझै स्वीकार नगरेको टिप्पणी गरेको छ । आज बसेको सचिवालय बैठकपछि प्रवत्ता जगन्नाथ खतिवडाले सरकारको नेतृत्वमा प्रचण्डले गरेपछि संयोजन समितीको नेतृत्व ओलीले गरेकाले सहकार्यका लागि असहज भएको बताउनुभयो ।

पार्टीले वाम एकताका लागि चार सदस्यीय कार्यदल गठन गरेको छ । महासचिव वेदुराम भुसालको संयोजकत्वमा ४ सदस्यीय वाम एकतासम्बन्धी कार्यदल गठन गरेको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । कार्यदलमा भुसालसहित गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य हुनुहुन्छ  ।

इन्धनको मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशन तत्काल कार्यान्वयन नहुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्धनको मूल्य घटाउन दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको छ । नेपाल आयल निगमका अध्यक्ष समेत रहेका आपूर्ति तथा वाणिज्य सचिव तोयम रायलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले मूल्य घटाउन निर्देशन दिनुभएको थियो ।

तर रायले आजका लागि बोलाईएको निगमको बोर्ड बैठक नै रद्द गरेर प्रधानमन्त्रीको निर्देशन टार्नुभएको हो । रायलाई आजै बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिवमा सरुवा गर्ने निर्णय गरेको थियो । जाँदाजाँदै निगममा प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्दा विवादमा पर्ने भएपछि उहाँले गत मंगलबार नै बोर्डसदस्यलाई जानकारी गराइएको आजको बैठक रद्द गर्नुभएको हो ।

योसँगै मूल्य समायोजन गर्न प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन तत्काल कार्यान्वयन नहुने भएको हो । आज ४ बजेर १५ मिनेटमा मन्त्रालयमा बोर्ड बैठक बस्ने भनिएको थियो । तर तोयम रायले आजको बैठक स्थगित गरिएको भनेर ३ बजेर ४५ मिनेटमा जानकारी गराउनुभएको थियो । 

गृहमन्त्रीविरुद्धको रिट खारेज होस्

काठमाडौँ । गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले  सर्वोच्च अदालतलाई पठाइएको छुट्टाछुट्टै लिखित जवाफमा तीन वटै निकायले लामिछानेविरुद्धको रिट खारेज गर्न माग गरेका हुन् ।

युवराज पौडेल र रविराज बासुलाले दायर गरेको रिटमा लामिछाने गएको आम निर्वाचनमा उम्मेद्वार बन्न नै अयोग्य रहेको जिकिर गरिएको छ । लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः बदर भएको र नेपाल फर्केपछि उनले पुरानै नागरिकता प्रयोग गरी दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेद्वार बनेको भन्दै सर्वोच्च अदालतमा रिट परेको थियो । 

ती निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । साथै, अन्तरिम आदेशमार्फत् लामिछानेलाई सांसद्का रूपमा कामकाजमा रोक लगाउन माग गरिएको सन्दर्भमा भोलि दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । संवैधानिक इजलासको त्यही आदेश बमोजिम तीन वटै निकायले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका हुन् ।

प्रदेशमा सरगर्मी

काठमाडौँ । मधेश प्रदेशबाहेक सबै प्रदेशमा नयाँ सरकारका लागि आह्वान भएको छ । आज मात्रै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश १ मा यसअघि नै नयाँ सरकार गठनका लागि आगामी पुस २४ गते आइतबार साँझ ५ बजेसम्मका लागि समयसीमा दिईएको छ ।

मधेश प्रदेशमा भने सरकार गठनका लागि अँझै आह्वान भएको छैन । कुनैपनि प्रदेशमा एकमात्रै दलले स्पष्ट बहुमत नल्याएको अवस्थामा सबै प्रदेशहरुमा नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न भनिएको छ ।  

बागमती प्रदेशमा पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको छ । ११० सदस्य रहेको प्रदेशसभामा सरकार गठनका लागि राप्रपा निर्णयक देखिएको छ ।

पार्टीले मुख्यमन्त्री दावी गरिरहदा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले भने आफुहरुको गठबन्धनमा सामेल गराएर सरकार बनाउनका लागि पहल सुरु गरेका छन् । बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँग ३७ र समाजवादीसँग ७ सांसद छन् । १३ सिट रहेको राप्रपाको समर्थन पाउदा बागमती प्रदेशमा नयाँ समीकरणअनुसार सहजै सरकार बन्न सक्ने अवस्था छ । 

यस्तै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले २७ पुससम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको छ  । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि पर्याप्त वहुमत अर्थात ५२ सांसद रहेका छन् । 

कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशको नयाँ सरकार गठनका लागि पुस २७ गते साँझ ५ बजेसम्मको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गर्नुभएको छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसद आवश्यक रहेको छ । यस्तै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री नियुक्ति गर्न पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्मको समय निर्धारण गर्नुभएको छ । 

प्रदेशमा सरकार गठनको सरगर्मीका बीच मुख्यमन्त्रीका आकांक्षीहरुले आफ्ना केन्द्रिय नेताको निवास धाउन थालेका छन् । नयाँ समीकरणका कारण प्रदेशमा पनि सरकार गठन गर्न केन्द्रकै मुख ताकिरहेका नेताहरुको दौडधूप बढेको हो ।

आजमात्रै सुदूरपश्चिममा माओवादी केन्द्रकै नेतृत्वमासरकार बनाउन नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेका छन् । मुुख्यमन्त्रीका आकांक्षी खगराज भट्ट सहित नेताहरु आज प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसक्रमा प्रचण्डले सुदूरपश्चिम माओवादीकै भागमा पर्नेगरि गठबन्धनमा कुरा गर्ने आश्वासन दिएका थिए ।

यस्तै कर्णाली प्रदेशमा यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने माग लिएर एमालेका नेताहरु बालकोट पुगेका छन् । बालकोटमा सहभागी नेताहरुका अनुसार अध्यक्ष ओलीलाई कर्णाली प्रदेशको नेतृत्व कुनै पनि हालतमा नछोड्ने अडान लिईएको छ । 

देशभर प्रदुषण बढ्यो

काठमाडौँ । चिसोसँगै काठमाडौं लगायत देशैभर प्रदुषण पनि बढेको छ । पानी नपरेका कारण तराईमा हुस्सु लाग्न थालेको र वायू प्रदूषण दिनहुँ बढिरहेको हो । काठमाडौँ, भक्तपुर, दाङको तुलसीपुर र धनकुटाको हावा अस्वस्थकर बन्दै गएको छ । आज दिउँसो काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ६४ पुगेको थियो ।

यस्तै भक्तपुरको एक सय ६१, तुलसीपुरको एक सय आठ र धनकुटाको एक सय छ रहेको थियो । एक्यूआई सूचकाङ्क सयदेखि एक सय ५० सम्म पुग्दा बालबालिका तथा वृद्ध र श्वासप्रश्वाससम्बन्धी रोगीलाई अस्वस्थकर तथा एक सय ५० भन्दामाथि एक्युआइ पुग्नु सबैका लागि अस्वस्थकर मानिन्छ ।

सामान्यतया शून्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ । सबै उमेर समूहका मानिसको स्वास्थ्यमा जोखिम बढेको र विशेषगरी बालबालिका र ज्येष्ठ नागरिकलाई थप जोखिम हुने भएकाले सतर्कता अपनाउन विज्ञले आग्रह गरेका छन् । 

वातावरण विभागले पौष १ गतेदेखि पूदूषण जाँचपास नगरी सवारी साधन चलाएको पाईए १ लाख रुपैयाँ कारवाहीसम्मको व्यवस्था ग¥यो । तर सरकारकै कमजोरीले सवारीसाधनबाट हुने प्रदूषणमा कमि आएको छैन ।

मौसमविद् धर्मराज उप्रेतीले प्रदूषण जाँच्नका लागि विभागमा सर्वसाधारणको लाईन लग्नुलाई उहाँले सरकारको पूर्वतयारी बिनाको निर्णय भन्नुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै उप्रेतीले प्रदूशण जाँचपासका लागि सरकारले सहजीकरण नगरिदिदा साविककै समस्या दोहोरिरहेको बताउनुभयो । देशकै सबै भू–भागमा बिहान र बेलुकी अत्याधिक चिसो बढेकाले सर्तकता अपनाउन पनि उहाँले आग्रह गर्नुभयो । 

उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

काठमाडौँ । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सेनाको टोलीले छापा मारेको छ । आर्थिक अनुशासन उल्लंघनको आरोपमा छानबिन गरिरहेको सेनाले आर्थिक अनियमिततासँग सम्बन्धित कागजात रहेको शंकामा शाहीको बूढानीलकण्ठस्थित घरमा छापा मारेको हो ।

कोर्ट अफ इन्क्वायरीको निर्देशनमा सैनिक प्रहरीको टोली उनको घरमा पुगेको सैनिक श्रोतले पुष्टि गरेको छ । सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने आवश्यक छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन भइसकेकाले अब आवश्यक सबै प्रक्रिया उतैबाट हुने बताउनुभयो ।

उपरथी शाहीलाई सेनाले विभिन्न युनिटमा रहँदा आर्थिक अनियमितता गरेको आरोप लगाइएको छ । चारित्रिक प्रमाण पत्र र नागरिकतामा एक वर्ष उमेर फरक परेपछि उपरथी शाहीको अवकास मिति विवादमा परेको थियो । 

गृहमन्त्री रविले फिर्ता गरेका सुरक्षाकर्मी फेरि मागे प्रधानमन्त्रीले

काठमाडौँ । कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी गृह मन्त्रालयले फिर्ता गरेको एक साता नबित्दै प्रधानमन्त्री कार्यालयले पुनः लगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई पुस १९ गते पत्र पठाउँदै ती सुरक्षकर्मी फिर्ता गर्न भनेको हो।

यसअघि गृह मन्त्रालयले पुस १२ गते विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्रमा फिर्ता गर्न निर्देशन दिएको थियो। गृह मन्त्रालयको निर्देशनपछि २२१ जना सुरक्षाकर्मी ४८ घण्टाभित्रैमा फिर्ता भएका थिए।

नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरीका ११८ जना सुरक्षाकर्मी फिर्ता भएका थिए। तर यसरी फिर्ता गरिएका सुरक्षाकर्मी पुनः पहिलेकै स्थानमा माग हुन थालेको हो। 

राष्ट्रपति विद्या भण्डारी 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको १६ औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली श्रम, सीप र कच्चा पदार्थबाट नेपालमै उत्पादित सामग्रीहरुको निकासी प्रवद्र्धन गर्नसके मात्र हाल मुलुकले व्यहोरिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई सहज र सुलभ बनाउनका लागि नेपाल सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

फेरी बल्झियो ईम्बोस्ड नम्बरको विवाद

काठमाडौँ । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्म सरकारी सवारीसाधनमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ । त्यसपछि क्रमश यो नियम नीजि सवारीसाधनमा पनि लागु गर्ने विभागको तयारी छ । भाषाको चौतर्फी विरोध कायमै रहेको बेला अंग्रेजी भाषाको ईम्बोस्ड नम्बर प्लेट नै अनिवार्य गर्दा धेरैले यसको विरोध पनि गरीरहेका छन् । 

काठमाडौं जिल्ला प्रशासनमा टाइम कार्ड लागू 

काठमाडौँ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले चार वटा सेवामा टाइम कार्ड लागू गरेको छ । सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने समस्यालाई समाधानको लागि प्रशासन कार्यालयले आजदेखि टाइम कार्ड लागू गरेको हो । प्रशासन कार्यालयले अहिले परीक्षणको रूपमा यो सेवा सुरू गरेको काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो । यसरी लागू गरेसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि प्रशासन कार्यालयको निरीक्षण गर्नुभएको छ । 

प्रशासनले सुरूआती चरणमा चार सेवामा टाइम कार्ड लागू गरेको हो । संस्था नविकरण, नयाँ नागरिकता वितरण, नाबालिग परिचयपत्र र मुद्दाको पेशी र तारिख दिनेमा टाइम कार्ड लागू प्रशासनले जनाएको छ । निर्धारित समयभित्रमा प्रशासन कार्यालयले सेवा दिइसक्ने गरी यो परीक्षण सुरू गरेको खत्रीले बताउनुभयो ।

सेवाग्राहीले सेवा लिन आउँदा कागजातहरू पूरा भए नभएको आधारमा टाइम कार्ड पाउने उहाँको भनाइ छ । कागजात अपुग भएमा, मापदण्ड पूरा नगरिएको भएमा टाइम कार्ड नपाउने बताइएको छ । संस्था नविकरण र मुद्दाको पेशी तारेखको लागि आधा घण्टाको समय दिइएको छ । यस्तै नागरिकता प्रमाणपत्र र नाबालिग परिचयपत्रको लागि एक–एक घण्टाको समय दिइएको छ । 

पोखरामा करेन्ट लागेर एकको मृत्यु

काठमाडौँ । पोखरामा बिजुलीको प्रसारण लाइन (हाइटेन्सन) को तारबाट करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ माथिल्लो दिप बस्ने १९ वर्षीय श्रम गुरुङको आफ्नै दुई तले घरको छतमा गएको बेला प्रसारण लाइनबाट करेन्ट लागेको थियो । आज बिहान करेन्ट लागेर घाइते भएका गुरुङको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । 

सेयर बजारमा चमक 

काठमाडौँ । नयाँ सरकार बनेदेखि सेयर बजार निरन्तर बढेको छ । पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसँगै दोस्रो बजारका लगानीकर्ताहरुको मनोबल बढाएको हो । नयाँ अर्थमन्त्रीका रुपमा विष्णु पौडेलले वित्त तथा पूँजी बजारमा सकारात्मक परिवर्तन ल्याउन गरेको प्रयाससँगै शेयर बजारका लगानीकर्ताहरुको मनोबल उच्च देखिएको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १७.९२ अंक बढेर २१ सय ४३ दशमवल ७६ विन्दुमा पुगेको हो ।  

यस दिन सेन्सेटिभ इण्डेक्स २.६१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०८ अंकले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ । आज २५९ कम्पनीको ७१ हजार ८१६ पटकको कारोबारमा ५ अर्ब ४ करोड ७ लाख ४० हजार रुपैयाँ बराबरको १ करोड २५ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । 

कारोबार रकम करिब ११ महिना यताकै उच्च हो ।  यसअघि २०७८ फागुन १ गते नेप्सेमा ५ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो । यस दिन १३ उपसमूहमध्ये बैंकिङ्ग र अन्य उपसमूहको परिसूचक घटेको छ भने बाँकी उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५.७५ प्रतिशत बढेको छ ।  त्यसैगरी, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन ३ प्रतिशत बढीले उकालो लागेको नेप्सेले जनाएको छ ।

सगरमाथा क्षेत्रमा पर्यटक ७०प्रतिशत बढे

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवगमन ७० प्रतिशतले बढेको छ । गत  आर्थिक वर्ष २०७८÷०७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७९÷०८० को त्यही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले बढेको हो । गएको आर्थिक वर्षको पहिलो पाँच महिनामा सात हजार चार सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए । चालु आर्थिक वर्षको त्यही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कमा उल्लेख छ । 

चालु आर्थिक वर्षको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा छ हजार सात सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ जना खुम्बु पुगेका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच महिनामा २१ हजार आठ सय ५३ जना विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । 

विदेशका खबर
विदेशी श्रमिक भर्ती गर्ने प्रक्रिया छोट्याउँदै मलेसिया 

काठमाडौँ । मलेसियाले विदेशी श्रमिक भर्ती गर्ने समयावधि छोट्याउने घोषणा गरेको छ । विदेशी श्रमिक भर्ना गर्न दुई महिना भन्दा पनि लामो समय लाग्ने गरेको भन्दै यसलाई छोट्याएर ३० दिनभित्रै श्रमिक भर्ना गर्ने गरी काम सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन ।

मलेसियाका गृहमन्त्री दातुक सेरी साइफुद्धिनले श्रमिक भर्तीको सम्पूर्ण प्रक्रियालाई घटाउने बताउनुभयो । अब रोजगारदाताले निवेदन पेस गर्नेदेखि स्वीकृति, भिसा जारी गर्ने, स्वास्थ्य परीक्षण लगायत सबै काम एक महिनाभित्रै सकिने बताइएको छ । मलेसियाका मानव संसाधन मन्त्री वी शीवकुमारसँगको संयुक्त बैठकमा गृहमन्त्रीले यो लामो प्रक्रियालाई छोट्याउने धेरै ठाउँहरु रहेका पनि उल्लेख गर्नुभएको छ । ‘श्रमिक भर्नाको लागि विज्ञापन गर्नमै रोजगारदाताले पहिले एक महिना लगाउँथे, अबका दिनमा त्यो काम एक दिन मात्रै हुने बताइएको छ । 
खेल खबर

नेपाल टी—ट्वान्टी

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्स प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली भएको छ । टियु मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६६ बल अगाबै ६ विकेटले पराजित गरेको हो । पोखराबाट जितको लागि ६९ रनको सामान्य लक्ष्य जनकपुरले ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गरेको हो । यो लिगको ईतिहासमा धेरै बल बाँकी रहँदै भएको यो पहिलो जित हो । 

पोखराका लागि कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन जोडेको थियो । पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट हुँदा आसिफ शेख र कुशल मल्लले समान १६÷१६ रन बनाए ।

पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।यस अघि लुम्बिनी अल स्टार प्लेअफ पुगि सकेको छ । ९ खेलमा १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । 

आजै भएको दोस्रो खेलमा काठमाडौं नाईट्सलाई पराजित गरेको फार वेस्ट युनाईटेडको प्लेअफ सम्भाबना कायमै रहेको छ । टियु मैदान किर्तिपुरमा फार वेस्टले काठमाडौंसँग ८४ रनको जित निकालेको हो । फार वेस्टले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनायो । 

काठमाडौंका लागि कमलसिंह ऐरीले २१ बलमा २० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप रजालीले समान १७-१७ रन बनाउँदा सुनाम गौतम १६ रनमा आउट भए । फार वेस्टका लागि करण केसी,दुर्गेश गुप्ता र कप्तान हसमतुल्लाह शाहिदीले समान २-२ तथा मिलण्डा सिरिबद्र्धने,प्रकाश जैशी र शेर मल्लले समान १-१ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो । 

भुटनीज युथ फाइनलमा

काठमाडौँ । भुटनीज युथ सकर क्लब युएसएले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान पक्का गरेको हो ।

भुटनीजको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गरेका हुन् । रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । अब भुटनीजले उपाधिका लागि फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ । संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ । जारी प्रतियोगितामा १० टोलीले 

सहभागिता जनाएका थिए । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।