Live Streaming

अन्नपूर्ण दिनभर : गृहमन्त्री लामिछानेले तत्काल काम गर्न पाउने, अमेरिकाबाट करौडौं शंकास्पद मुद्रा भित्र्याउने पृथ्वी शाहसहित ६ जना पक्राउ

अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउन

काठमाडौँ । अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्र्याउने अछामका पृथ्वी शाहसहित ६ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोले शाहसहित ६ जनालाई पक्राउ गरी अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद समेत दिएको छ । ब्युरोका प्रमुख एआईजी उत्तमराज सुवेदीले शाहसहितका व्यक्तिमाथि अमेरिकाबाट भित्र्याइएको शंकास्पद रकमको अनुसन्धान गर्न पक्राउ गरिएको जानकारी दिनुभयो । 

शाहसहित पक्राउ पर्नेमा अछाम बन्निगढी गाउँपालिका–६ घर भई हाल काठमाडौंको चावहिल बस्ने विजयविक्रम शाह, जाजरकोटका चक्रबहादुर खत्री, दोलखाका अनुप खड्का, पश्चिमनवरपराससीका रुक्मांगत काफ्ले र अछामका रंगबहादुर साउद छन् ।

आरोपितविरुद्ध ’हन्टिङ रिजर्भ अफ नेपाल प्राईभेट लिमिटेड’ लगायत दर्जनौं कम्पनीका नाममा विदेशबाट शंकास्पद रुपमा रकम भित्रिएको भेटिएपछि अनुसन्धान अघि बढेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शाहले ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर अर्थात ६१ करोड ३३ लाख ७९ हजार २८४ रुपैयाँ, १२ हजार ८२५ पाउण्ड स्टर्लिङ डलर अर्थात २० लाख ४३ हजार ५३५ रुपैयाँ र ३ करोड २२ लाख २८ हजार ६८० रुपैयाँ शंकास्पद कारोबार गरेका हुन् । 

नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धानमा परेका पृथ्वीबहादुर शाहको शंकास्पद कारोबारको रकम फुकुवा गर्न निवर्तमान अर्थमन्त्री जर्नादन शर्माले सो निकायहरुलाई हस्तक्षेप गर्नुभएको थियो । राष्ट्र बैंकले पटक–पटक गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पठाएको विवरणअनुसार शाह, भाइ विजयविक्रम शाह, साझेदार देवेन्द्र ढुंगाना तथा आफन्त र कर्मचारीका नाममा ११ बैंकमा खाता खोलिएको छ ।

तर शर्माले शाहका सबै खाता खुला गरिदिन राष्ट्र बैंकलाई अनधिकृत निर्देशन दिनुभएको थियो । सञ्चारमाध्यममा यससम्बन्धि समाचार सार्वजनिक भएपछि त्यसपछि अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न प्रक्रिया अघि बढाउनुभएको थियो । यस बिषयमा छानविन समिति गठन गरिएपनि समिति नै विवादमा परेको थियो ।

गभर्नरमाथि अन्यायपूर्वक कदम चालिएको भन्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले कारबाही अघि नबढाउन अन्तरिम आदेश जारी गरी उनलाई काम कारबाहीमा फर्काइदिएको थियो । सर्वोच्चकै आदेशमा गभर्नर अधिकारी राष्ट्र बैंकको कामकाजमा हुनुहुन्छ । 

रवि लामिछानेको नागरिकता 

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको नागरिकता विवादको मुद्दामा माघ ११ गतेदेखि पूर्ण सुनुवाइ सुरु हुने भएको छ । आजको  संवैधानिक इजलासले गृहमन्त्री लामिछानेको  नागरिकता र राहदानीबारे परेका मुद्दामा सुनुवाइ गर्दै अन्तरिम आदेश नहुने निर्णय गरेको सर्वोच्च अदालतले जनाएको हो । संवैधानिक इजलासले माघ गतेबाट पूर्ण सुनुवाइ सुरु गरी मुद्दाको किनारा गर्न आदेश दिएको छ । 

लामिछानेले दोहोरो नागरिकता लिएको र विदेशको नागरिकता त्याग नगरी नेपाली नागरिकता प्रयोगमा ल्याएको तथा स्वतः खारेज भइसकेको नेपाली नागरिकता प्रयोग गरी दल दर्ता गरी उम्मेदवार बनेको लगायतको आरोप लगाएर ती सबै कार्य अवैध घोषित गर्न मागदावी लिइएको थियो ।  

अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले दायर गरेको रिटमा लामिछानेको सांसद पद समेत निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेशको मागदावी गरेका थिए । संवैधानिक ईजलासले माघ ११ गते इजलास सुरु हुनुभन्दा अगावैबाट बहस नोटसमेत पेश गर्न आदेश दिएको छ ।  

आदेशमा उक्त मुद्दालाई अग्राधिकार दिई छिटो छरितोरुपमा निरुपण गर्नु उचित देखिएको भन्दै  ११ गते पूर्ण सुनुवाईका लागि पेश गर्न भनिएको वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले जानकारी दिनुभयो ।संवैधानिक इजलासको आदेशमा रवि लामिछानेको उम्मेदवारीको सम्बन्धमा निर्वाचन आयोगबाट गत मंसिर १३ मा भएको निर्णयको सक्कल प्रति र कागजात ७ दिनभित्र झिकाई मिसिलमा समावेश गर्न पनि आदेश दिइएको छ ।

अहिले प्रयोगमा रहेको नागरिकता बैध नरहेको अदालतले ठहर गरेमा रविको सांसद पद गुम्ने उनको भनाई छ । यति रविको नागरिकता बैध देखिएमा भने उनको सांसद र मन्त्री पद नगुम्ने वरिष्ठ अधिवक्ता महतोले बताउनुभयो । 

संसद बैठक, र प्राथमिकता

काठमाडौँ । निर्वाचित संघीय संसद्को पहिलो अधिवेशन आगामी सोमबार बस्दैछ । त्यसका लागि संसदमका ज्येष्ठ सदस्य पशुपचिशमशेर जबराले अधिवेशनको तयारीस्वरुप आज सर्वदलीय बैठक पनि बोलाउनुभएको थियो । यो बैठक नयाँ नियमावली नबनेकाले पूरानै नियमावली अनुसार बस्ने भएको छ । आज बसेको बैठकले पहिलो दिन दिउँसो १ बजे बस्ने बैठकमा दलका शीर्ष नेताहरुले बोल्ने कार्यतालिका तय गरेको छ ।

यस्तै बैठकले पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तय गरेको छ । त्यसका लागि बिहान ११ बजे बैठक बस्नेछ । यस्तै सभामुख र उप–सभामुखको निर्वाचन पनि माघ ९ गतेभित्र गर्न दलहरु सहमत भएका छन् । संसदको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने संविधानले गरेको छ ।

त्यसअनुसार माघ ७ मा निर्वाचन गर्नेगरि प्रस्ताव गरिएको र त्यसमा सबैजना सकारात्मक रहेको कांग्रेस सांसद रमेश लेखकले जानकारी दिनुभयो । सबै औपचारिक प्रकृया सकेपछि संसद्ले लामो समयदेखि थाती रहेका केही पेचिला मुद्दालाई किनारा लगाउनुपर्ने बाध्यता छ । अघिल्लो संसद्को कार्यकाल सकिँदा २७ वटा महत्त्वपूर्ण विधेयक पारित हुन बाँकी थिए ।

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार राष्ट्रिय सभामा दर्ता भएर प्रतिनिधिसभामा पुगेका ५, प्रतिनिधिसभामा दर्ता भएर राष्ट्रिय सभामा रहेका १ र प्रतिनिधिसभामा दर्ता भएर प्रतिनिधिसभामै रहेका २१ वटा विधेयक गत असोज १ मा संसद्को कार्यकाल सकिँदासम्म पारित हुन सकेका थिएनन् । संसद् सकिएपछि ती सबै शून्य अवस्थामा पुगेका छन्, जसलाई सरकारले तत्कालसंसद्मा पेस गर्न जरुरी रहेको विज्ञहरु बताउछन् । 

पूर्वसभामुख तारानाथ रानाभाटले पनि थाति रहेका विधेयक र अध्यादेशहरुलाई अघि बढाउनु संसदको पहिलो दायीत्व हुने बताउनुभयो  रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै रानाभाटले मुकुकको आर्थिक, समाजिक, तथा विदेश नीतिका गम्भीर प्रश्नमा काम गर्दै नवनिर्वाचित सांसदहरुको राष्ट्र उत्थानका लागि सामूहिक प्रयास आवस्यक रहेको बताउनुभयो । संसदमा सभामुखको तटस्थ भूमीका महत्वपूर्ण बिषय हुने उहाँको भनाई छ । 

एमाले–माओवादी गठबन्धन भत्काउन कांग्रेसका केही नेताको दौडधुप

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुले एमाले–माओवादी बाहेकको अर्को गठबन्धन बनाउने प्रयास थालेका छन् । पुस १० मा प्रधानमन्त्री नियुक्त हुनुभएका पुष्पकमल दाहाल प्रचण्डले पुस २६मा विश्वासको मत लिने तयारी गर्नुभएको छ । कांग्रेस नेताहरुले प्रचण्डलाई विश्वासको मत पाउनबाटै रोक्ने र आफुहरु सरकारमा जानेसम्मको प्रयास गरिररहेका छन् । 

राप्रपाले साथ दिएको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने र नयाँ समीकरण बन्नसक्ने सम्भावना पनि रहेको यसमा संलग्न नेताहरुको दाबी छ । प्रधानमन्त्री प्रचण्डले शपथ लिएकै दिन पुस११ मा कांग्रेसका केही केन्द्रीय सदस्यहरुबीच लोकतान्त्रिक शक्तिहरुलाई एक ठाउँमा ल्याउन पहल गर्ने छलफल भएको थियो ।

त्यही छलफलका क्रममा गैरवामपन्थी सरकार बन्न सक्ने हिसाब देखाएपछि नेताहरुले त्यो सन्देश देउवासम्म पनि पुर्याएका छन् । यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको खुलासा भएको छ । राप्रपाका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले आज संसद् भवनमा आयोजित सर्वदलीय बैठकबाट बाहिरिने क्रममा कांग्रेसतर्फ संकेत गर्दै आफ्नो पार्टीलाई प्रधानमन्त्रीको अफर आएको बताउनुभएको हो । 

यता नेपाली कांग्रेस भने वर्तमान गठबन्धन सरकार भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ । आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताउनुभएको हो । 

न्यूनतम साझा कार्यक्रमलाई भोलि पेश गरिने

काठमाडौँ । न्यूनमत साझा कार्यक्रम तयार पार्न बसेको कार्यदलले न्यूनमत साझा कार्यक्रमलाई अन्तिम रुप दिएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलले उक्त कार्यक्रम भोलि शीर्ष नेताहरु समक्ष पेश गर्ने तयारी गरेको छ । सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रतिवेदनमा पुस २७ गते पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने विषय पनि समावेश गरिएको छ । 

कार्यदल सदस्य रहेका राप्रपा महामन्त्री धवलशम्शेर राणाले पृथ्वी जयन्तीमा बिदा दिने विषय न्यूनतम साझा कार्यक्रममा समेटिएको जानकारी दिनुभयो । राप्रपाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने र पुस २७ मा बिदा दिनुपर्ने अडान राखेको छ ।

कार्यदलका अर्का सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले सुशासन र सेवा प्रवाहलाई केन्द्रित गरेर सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउने र त्यसले जनतालाई खुसी बनाउने बताउनुभयो । 

प्रधानमन्त्री र मन्त्रीको फण्डा

काठमाडौँ । नयाँ सरकारका मन्त्रीदेखि प्रधानमन्त्रीसम्मअहिले सरकारी कर्मचारीलाई निर्देशन दिनेदेखि कार्यालयमा छड्के हान्नमा व्यस्त छन् । नीति निर्माण गरि आम नागरिकलाई परिवर्तनको अनुभूति गराउनुको साटो नयाँ सरकारका मन्त्रीदेखि प्रधानमन्त्री समेत सस्तो लोकप्रियताका लागि निर्देशन दिएकै भरमा सेवा सुर्धिने सोचमा छन् । तर उनीहरुको निर्देशनका बावजुद केहि कार्यालयको सेवा सुध्रिएन भने केहिको सेवा नै बन्द भएको छ । 

नयाँ चिनियाँ राजदूत छन् सोङ आइतबार आउँदै

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन् सोङ पुस २४ गते आइतबार काठमाडौं आउनुहुने भएको छ । स्वास्थ्यमा समस्या आएपछि उहाँ निर्धारित मितिभन्दा करिब दुई हप्ता ढिला नेपाल आउन लाग्नुभएको हो । यसअघि उहाँ  पुस १२ मा काठमाडौं आउने तालिका थियो ।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नयाँ चिनियाँ राजदूत पर्सी आइतबार नेपाल आउने पुष्टि गरेका छन् । उनका अनुसार नेपाल आएपछि नयाँ चिनियाँ राजदूत केही दिन क्वारेन्टाईनमा बस्नुहुनेछ । चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा छन् सोङलाई नियुक्त गरेको थियो । 

मधेश प्रदेशमा २८ पुससम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान

काठमाडौँ । मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनको आह्वान गर्नुभएको  छ । उहाँले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको हो ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।१०७ सदस्यीय मधेश प्रदेशसभामा नेकपा एमाले २३, नेपाली कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्र ९–९, एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र नेपाल संघीय समाजवादी १–१ र पाँच स्वतन्त्र सांसद छन् ।

दाइजोविरुद्धको कसूरमा डा. पंकज चौधरी पुर्पक्षका लागि कारागार चलान

काठमाडौँ । दाइजोसम्बन्धी कसूरमा डा. पंकज चौधरी जेल चलान भएका छन् । पत्नी नेहा चौधरीले हालेको मुद्दामा भएको थुनछेक बहसपछि महोत्तरी जिल्ला अदालतले रामगोपालपुर नगरपालिका ५ का पंकजलाई पुर्पक्षका लागि कारागार पठाएको हो ।

इजलास नं. २ का न्यायाधीशद्वय हरिप्रसाद उपाध्याय र श्रवण पंगेनीको संयुक्त इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अदालतका श्रेस्तदार मदन प्रसाद जयसवालले जानकारी दिए । हिजो अदालतमा दर्ता भएको सो मुद्दामा शुक्रबार थुनछेक बहस भएको थियो । दाइजोका कारण घरेलु हिंसामा परेको भन्दै पंकजकी पत्नी औरही–१ माइत भएकी २१ वर्षीया नेहा चौधरीले दाइजोसम्बन्धी कसूर मुद्दा दायर गरेकी थिइन् ।

आर्थिक खबर

आन्दोलनको चेतावनी 
काठमाडौँ । देशभरका लघुवित्त संस्थाहरूबाट पीडितहरूको संगठन लघुवित्तविरुद्ध संघर्ष समितिले आन्दोलनको चेतावनी दिएका छन् ।बुटवलमा भएको लघुवित्तका ऋणीहरुको भेलाले आन्दोलन थाल्ने चेतावनी दिएको हो । लघुवित्तहरुले मनपरी ब्याज लिएर ठगी गरेको भन्दै संगठित भएका लघुवित्त पीडितहरुले लामो समयदेखि संघर्ष गर्दै आएका छन् ।

लघुवित्त पीडित संघर्ष समितिले ऋण मिनाहा हुनुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, आवश्यकता र क्षमताको आधारमा काम र दामको व्यवस्था हुनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग राखेका छन् ।समितिका अध्यक्ष मनिराम ज्ञवालीले मागको सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।लघुवित्त कम्पनीहरुले भने केही ब्यक्तिहरुले ऋण नतिर्ने नियतले हल्ला गरेको बताउँदै आएका छन् ।

विदेशका खबर

६ चरणमा मतदान हुँदा पनि सभामुख चयन हुन सकेन

काठमाडौँ । अमेरिकी तल्लो सदन प्रतिनिधिसभा (हाउस अफ रेप्रिजेन्टेटिभ्स)मा ६ चरणमा मतदान हुँदा पनि सभामुख चयन हुन सकेका छैनन् । अमेरिकामा तीन दिनमा लगातार ११ पटक मतदान गर्दा पनि कसैले पनि बहुमत प्राप्त गर्न सकेनन् । यसअघि हिजो भएको  मतदानमा रिपब्लिकन सांसद केभिन म्याकक्याथी सभामुखमा पुनः निर्वाचित हुन नसकेका हुन् ।

बीबीसीका अनुसार उनले आफ्नै दलका सांसदको समर्थन पाउन सकेनन् । नोभेम्बरमा भएको निर्वाचनको परिणामपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो । 

क्यालिफोर्नियाका सांसद रहेका केभिन म्याकाथीलाई जित्नका लागि २१८ मत चाहिनेमा उनी आबद्ध रिपब्लिकन पार्टीसँग २२२ सिट छ । तर पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनको विपक्षमा उभिएका छन् । रिपब्लिकन सांसद राल्फ नर्मनले केभिन म्याकक्याथीलाई विश्वास गर्न नसक्ने भएकोले मत नदिएको बताए ।

लगातारको मतदानबाट पनि सभामुख चयन हुन नसकेपछि सदन शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । सन् १८६० पछि अमेरिकी संसदको तल्लो सदनले सभामुख पदका लागि यति धेरै पटक मतदान गरेको यो पहिलो पटक हो । यो अवधिमा राष्ट्रपति पदका लागि ४४ पटक मतदान भएको थियो ।

खेल खबर
जनकपुर रोयल्स क्वालिफायरमा

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले क्वालिफायरमा स्थान बनाएको छ । टियु मैदान किर्तिपुरमा भएको खेलमा लुम्बिनी अल स्टारलाई २३ रनले पराजित गरि जनकपुर क्वालिफायरमा प्रवेश गरेको हो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाउँदा १ सय ६० रनको लक्ष्य दिएको हो ।

जवाफी ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनायो । जनकपुरका खेलाडी मैदान आउन ढिला गरेपछि खेल १७ ओभरमा छोट्याईएको थियो ।१० खेलमा १६ अंक सहित लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । अब लुम्बिनी र जनकपुरले आईतबार हुने पहिलो क्वालिफायर खेल्ने छन् ।

लिग अन्तरगत आजै भएको दोस्रो खेलमा  विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरि प्लेअफ सम्भावना कायमै राखेको छ । फार वेस्टलाई विराटनगरले ३ रनले पराजित गरेको हो । विराटनगरले दिएको १ सय ४८ रनको लक्ष्य  पछ्याएको फार वेस्टले २० ओभरमा ९ विकेट १ सय ४४ रन बनायो ।

फार वेस्टका लागि कप्तान हशमतुल्लाह शाहिदीले ४६ बलमा ५८ रनको अर्धशतकीय ईनिङ खेले । त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।