Live Streaming

अन्नपूर्ण दिनभर : कांग्रेस नेता भन्छन्, सत्तामा जाने लोभ छैन, सरकार बनाएपछि बाह्य शक्ति अत्तालिएको ओलीको टिप्पणी

कांग्रेसका सांसदलाई सक्रिय भूमिका खेल्न देउवाको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै संसद्मा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ । कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिनुभएको हो ।

आज दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठक सम्पन्न भएको छ । बैठकमा संसदीय प्रक्रिया र मर्यादाका विषयमा प्रमुख सचेतक रमेश लेखकले बोल्नुुभएको थियो  । अर्को बैठक २६ गते बिहान ९ बजे बस्ने बताइएको छ । सो बैठकले सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने लेखकले बताउनुभयो । 

प्रचण्डलाई विश्वासको मत लिनबाटै रोकेर नयाँ समीकरण निर्माणको प्रयासमा कांग्रेसका केही नेता लागेको बिषय बाहिरिदा पार्टीका उप–सभापति धनराज गुरुङले भने कांग्रेस सरकारमै बस्नुपर्छ भन्ने मनशायमा नभएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै गुरुङले प्रमुख प्रतिपक्षीको रुपमा शशक्त भूमिका निर्वाह गर्दै सरकारलाई सहयोग गर्ने बताउनुभयो । आफुहरुले संसदमा अहिले देशमा देखिएको आर्थिक मन्दीका बिषयमा आवाज उठाउने र सरकारलाई सहयोग गर्ने पनि बताउनुभएको छ । 

देउवाजीले खुद्रा खेल खेलिरहनुभएको छ, प्रचण्डलाई विश्वासको मत दिनुहोलाः ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताउनुभएको छ । पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै ओलीले यो सरकारलाई सफल बनाउन सबै लाग्नुपर्ने बताउनुभएको हो । अहिलेको सरकारलाई उपयुक्त मार्गदर्शन गर्न आफुहरु तयार रहेको बताउदै ओलीले शुन्य भ्रष्टाचारको नीतिलाई अबल्म्बन गर्दै सुशासन र समृद्धिलाई जोड दिनुपर्ने बताउनुभयो । 

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले खुद्रा खेल खेलिरहेको आरोप पनि लगाउनुभएको छे । देउवाले अरु पार्टीका अध्यक्षलाई प्रधानमन्त्री प्रस्ताव गरेको प्रशंग निकाल्दै ओलीले ठुलो दलका हैसियतले सरकार बनाउन पाउने भएपनि अन्तरविरोध स्वीकार्य नहुने बताउनुभयो ।

संसदलाई फोहोरी खेल खेल्ने र दाउपेचको अखडा बनाउन नहुने ओलीको भनाइ छ । यस्तै ओलीले बाह्य शक्तिको इच्छाविपरीत नेपाली आफैँले सरकार बनाएको बताउनुभएको छ । ओलीले बाह्य हस्तक्षेपविरुद्ध उठेर सरकार गठन भएको बताउदै नेपालीले सरकार बनाएपछि बाहिरी शक्ति अत्तालिएको दाबी गर्नुभयो । उनले प्रचण्डको नेतृत्वमा सरकार बनाएपछि जनता खुसी भएको बताउनुभएको छ । 

यस्तै ओलीले पार्टीका नवनिर्वाचित सांसदहरुलाई जनताले मन पराउने काम र व्यवहारमात्र गर्न निर्देशन दिनुभयो । संसदमा प्रस्तुत हुँदा उद्दण्ड र रिसाहा भएर नभई तर्क तथा तथ्यसहित बोल्न निर्देशन दिनुभयो । 

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा कांग्रेस जिम्मेवार : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताउनुभएको छ । पार्टी निकट नेवा राष्ट्रिय सङ्घको आज राजधानीमा आयोजित अधिवेशनको उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताउनुभयो ।

संवैधानिक तथा राजकीय पद बाँडफाँडमा कांग्रेसले गठबन्धनका सहयात्री दलको भूमिका र योगदानलाई महत्व नदिएर सबैमा दाबी गर्ने गैरराजनीतिक चरित्र प्रस्तुत गको र केही नेताको अहङ्कारले नयाँ ध्रुवीकरण भएको बताउनुभयो । नेपालले निर्वाचनमा प्राप्त जनमतबाट राजनीतिक दलले पाएको शक्तिका आधारमा मुलुकको राष्ट्रिय राजनीतिमा जिम्मेवारी र भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीको शक्ति केही कमजोर भएकाले अब देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुुभएको छ । 

यो सरकार खिचडी भयो : राजेन्द्र पाण्डे

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष एवं संसदीय दलको उपनेता राजेन्द्र पाण्डेले अहिले खिचडी सरकार भएको बताउनुभएको छ । उहाँले संघीयता रुचाउने र संघीयता नरुचाउने, राजा ल्याउने र राजा फ्याक्ने विचारधाराका दलहरू एक साथ रहेकाले अहिलेको सरकार खिचडी सरकार रहेको बताउनुभएको हो ।

पत्रकारको प्रश्नको जवाफमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने अथवा नदिने विषयमा पुस २६ मा मात्र निर्णय गरिने बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले पार्टीको मान्यता दिएर चिठ्ठी लेख्ने काम नभएको भन्दै उहाँले प्रचण्डले व्यक्तिगत रूपमा मागेकै आधारमा हामीले विश्वासको मत दिन सहज नहुने बताउनुभयो । 

स्वार्थ पूरा गरेपछि ओलीले प्रचण्डलाई धोका दिन्छन् : दीपकुमार उपाध्याय

काठमाडौँ । नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्यायले एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिने दावी गर्नुभएको छ । आज बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपाध्यायले एमालेले राष्ट्रपति र सभामुख लगायतका महत्वपूर्ण पद प्राप्त गर्न विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गर्नुभयो । उहाँले भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरू कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । 

शुन्य कमजोरीका साथ काम गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले शुन्य कमजोरीका साथ काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिनुभएको छ । आज सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेले संगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाएर म्याण्डेट अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले विगतमा भएका कमजोरीलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । जागिर गर्नु भनेको मातृभूमिको सेवा गर्ने अवसर समेत रहेको तथा युद्ध गरेर वा शहीद भएर मात्र देशभक्ति नहुने भन्दै गृहमन्त्री लामिछानेले अधिकतम गर्मी वा चिसो ठाउँमा खटिएर अनवरत गर्ने खबरदारी र ड्यूटि वास्तवमा देशप्रतिको सेवा र राष्ट्रभक्ति भएको बताएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताउनुुभएको छ । 

प्रदेशले विपद् व्यवस्थापन समितिलाई ८ लाख उपलब्ध गराउने

काठमाडौँ । मधेस सरकारले शीतलहरबाट हुनसक्ने सम्भावित जोखिम व्यवस्थापनका लागि ८ जिल्लाका विपद् व्यवस्थापन समितिलाई ८ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ । चिसोको जोखिम न्यूनीकरणका साथै विपन्न वर्गलाई राहत स्वरूप कम्बल वितरणका लागि प्रदेश विपद् पिडित उद्दार तथा राहत कोषबाट प्रदेशका सबै जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराइने निर्णय गरिएको हो ।

सो रकम अपुग भएमा मागका आधारमा मन्त्रालयको निर्णयबाट थप रकम उपलब्ध गराउन सकिने जनाइएको छ ।  विपद् जोखिम न्यूनीकरणका लागि हालसम्म भएका गतिविधिको समीक्षा गर्दा सन्तोषजनक रहेको मूल्यांकन गर्दै आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरू बीच समन्वय अभिवृद्धि गरी विपद् जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरिएको गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।

प्रधानमन्त्री 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको बताउनुभएको छ । आज बिहान काठमाडौंको महेन्द्र माविमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताउनुभएको हो ।

अघिल्लो सरकारको कार्यकालमा पनि संघीय शिक्षा ऐनका केही काम भएका तर, ऐन जारी हुन नसकेको भन्दै उहाँले यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा राखेको बताउनुभयो ।

ऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्बोधन हुने उहाँको भनाई छ । देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिका भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

एक अर्को प्रसंगमा प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाललाई चुनौतीपूर्ण अवसरका रूपमा लिएको बताउनुभयो । तेस्रो कार्यकाल आफ्नो निम्ति चुनौतीपूर्ण अवसर भएको र यसलाई पूराका पूरा सदुपयोग गर्न प्रयास गर्ने भन्दै प्रधानमन्त्री दाहालले एउटा पनि नराम्रो काम नगर्ने र गर्न नदिनेमा सचेत रहेको दाबी गर्नुभयो ।

भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको  सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा पार्टी एकता लगायतका विषयमा कुराकानी भएको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्र–नेसपाबीच पार्टी एकताको प्रयास चुनावअगावै गरिएको भएपनि विभिन्न राजनीतिक एवम् प्राविधिक कारणले थाँती रहेको थियो । अब भने पार्टी एकता–प्रक्रियालाई तीव्रता दिने सहअध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसका लागि भोलि नेसपा राजनीतिक समितिको बैठक बोलाइएको छ । 

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतगणना सुरू

काठमाडौँ । सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलले मतगणना सुरू भएको जानकारी दिनुभयो । नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको थियोे ।

निर्वाचनमा दुई वटा समूहले प्यानलसहित मनोनयन दर्ता गरेका थिए । निर्वाचनमा बृहत् लोकतान्त्रिक समूह र प्रगतिशील, पेसागत तथा गणतान्त्रिक समूह चुनावी प्रतिस्पर्धामा छन् । लोकतान्त्रिक समूहबाट वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौला र प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता तुलसी भट्टले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । 

यस्तै उपाध्यक्षमा लोकतान्त्रिकबाट जगदीशप्रसाद पाण्डे र प्रगतिशीलबाट रामकृष्ण काफ्ले उम्मेदवारी दिनुभएको छ । सचिवमा लोकतान्त्रिकबाट कल्याण पोखरेल र प्रगतिशीलबाट श्यामकुमार खत्री प्रतिस्पर्धामा हुनुहुन्छ । पाँच पदाधिकारी र १० सदस्य गरी १५ जनाको नयाँ पदाधिकारीका लागि भएको निर्वाचनबाट विजयीको कार्यकाल दुई वर्ष हुनेछ । सर्वोच्च बारमा छ सय २१ मतदाता रहेकामा पाँच सय ७३ मत खसेको छ । 

विराटनगर र जनकपुरबाट संस्थागत श्रम स्वीकृति सुरु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानका लागि भोलिबाट विराटनगर र जनकपुरस्थित श्रम तथा रोजगार कार्यालयबाट संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सुरु गर्ने भएको छ । श्रम प्रवक्ता डण्डुराज घिमिरेका अनुसार काठमाडौं केन्द्रित सेवालाई विकेन्द्रित गर्दै लैजाने सरकारको नीति अनुसार विराटनगर र जनकपुरबाट श्रम स्वीकृति प्रदान गर्ने सेवा थप गरिएको हो ।

यसअघि संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति लगायत सेवाहरु पोखरा र बुटबलबाट सुरु गरिएको थियो । सुर्खेत र धनगढीबाट भने पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आइएको छ । घिमिरेले चार स्थानबाट संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति र दुई स्थानबाट पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान भएको बताउनुभयो । श्रम मन्त्रालयले समयमा नै श्रम स्वीकृतिको लागि अनलाइन मार्फत् आवेदन दिन आग्रह गरेको छ ।

‘लिभिङ विथ आइसीटी’ले वैदेशिक श्रम स्वीकृतिमा अनलाइन प्रणाली पूर्ण रुपमा लागू गरी सरकारी सेवा तथा सुविधालाई विद्युतीयकरण गरी नागरिकलाई प्रविधि मैत्री सेवा दिन सफल भएको भन्दै वैदेशिक रोजगार विभागलाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

सुस्मिता हत्याकाण्डमा सासुससुरा र नन्दसहित ५ जना जेल चलान

काठमाडौँ । हेटौडास्थित आफ्नै घरमा रहस्यमय तरिकाले हत्या गरिएकी सुस्मिता खड्काको हत्या आरोपमा सासुससुरा, नन्दसहित ५ जना जेल चलान भएका छन् । कपिलवस्तु बाणगंगा माइत भएकी सुस्मिता खड्काको २०७७ साल असार १ गते आफ्नै घरमा रहस्मय तरिकाले मृत्यु भएको थियो ।

सुस्मिताले त्यसअघि नै दुर्घटनामा श्रीमान गुमाएकी थिइन् । घटनामा संलग्न मृतकका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीय सासू तुलसा, नन्दहरू २७ वर्षीय दुर्गा, दुर्गाका श्रीमान अरुण कार्की र २३ वर्षीय नन्द सीता थापालाई दोषी ठहर भएका छन् । पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई बिहीबार मकवानपुर अदालतले दोषी ठहर गरेको हो ।

हत्यामा संलग्नमध्ये ससुरा प्रकाश र कान्छी नन्द सीतालाई सरकारी वकिलको कार्यालयले जीवन रहेसम्म कैद सजायको माग गर्दै आरोप पत्र दायर गरेको थियो । सुस्मिता हत्या सम्बन्धि मुद्दामा जिल्ला अदालत मकवानपुरले ५ जनालाई दोषी ठहर गर्दै जेल चलानको आदेश दिएपछि माइती पक्षलाई न्यायको अनुभूति भएको पीडितका ठूलो बुवा हेमबहादुर खड्काले बताउनुभयो । 

राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा

काठमाडौँ । मुलुकमा सङ्घीय संरचना सुरुआत भएपछि पहिलो पटक गरिएको राष्ट्रिय कृषि गणनाको परिणाम अन्तिम चरणमा पुगेको छ । गणनाअन्तर्गत देशभरमा उत्पादन हुने विभिन्न बालीनालीको अवस्था, कृषि क्षेत्रको विवरण, कृषि उत्पादनमा समेटिएको क्षेत्रफल, पशुपक्षीको सङ्ख्या, सिँचाइ, कृषि सामग्रीको प्रयोग, माछापालनलगायत विवरण सङ्कलन, प्रशोधन तथा प्रकाशन गर्ने कार्य अन्तिम अवस्थामा पुगेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

आगामी माघभित्रमा यसको प्रकाशन गरिने तयारी छ ।पहिलोपटक पालिकास्तरदेखि नै कृषकको अवस्था खेतीपाती गरिएका कित्ताको क्षेत्रफल, उत्पादनलगायत विषय सङ्कलन गरिएको हो । देशभरको कृषि क्षेत्रका समग्र विषयवस्तु सङ्कलन गर्ने कार्य नै राष्ट्रिय कृषि गणना हो । विसं २०१८ देखि प्रत्येक १०÷१० वर्षमा कृषि गणना हुँदै आएको छ । यस क्रमको यो सातौँ राष्ट्रिय कृषिगणना २०७८ को चैत, वैशाख र जेठमा सञ्चालन गरिएको तथ्याङ्क अधिकृत गणेश फुयाँलले जानकारी दिनुभयो ।

गोरखामा नियम विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

काठमाडौँ । नियम विपरीत सञ्चालनमा रहेका जिल्लाका क्रसर उद्योगहरु बन्द गर्न निर्देशन गरिएको छ । सार्वजनिक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो । बिना दर्ता र नवीकरण एवं अनुमति नलिई सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा वालुवा उत्खनन र प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरु शुक्रबारकै दिनबाट बन्द गर्न प्रशासनले निर्देशन गरेको छ । नियम विपरीत ढुंगा, गिट्टी, रोडा तथा वालुवा उत्खनन तथा दोहन गरेको पाइएमा कानुनी कारवाही गरिने चेतावनी दिइएको छ ।

ट्याक्टरको ठक्करबाट अर्घाखाँचीमा १ को मृत्यु

काठमाडौँ । अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–१ तुम्कोट निवासी ६७ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन् । सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकलचालक नेपालीको उपचारको क्रममा  मेडिकल कलेज भैरहवामा मुत्यु भएको हो । ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिनुभयो । 

आर्थिक खबर
लम्की–चुहा नहरमा छाडियो पानी

काठमाडौँ । राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणअन्तर्गत निर्माणाधीन लम्की–चुहा नहरमा पानी छाडिएको छ । आयोजनाले दोस्रो चरणअन्तर्गत लम्की–चुहा नगरपालिकाको ६ हजार हेक्टर जमिन सिञ्चित हुने गरी ६ वर्षपछि १४.६ किमि लम्बाइको नहर निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

नहर निर्माणको ९६ प्रतिशत काम पुगेका बेला नहरमा गत शुक्रबारदेखि पानी छाडेर परीक्षण गरिएको आयोजनाका इन्जिनियर तोपबहादुर खत्रीले बबताउनुभयो । बाँकी चार प्रतिशत काम नहरको सर्भिस रोडको ग्राभेलिङ र बायोग्यास इन्जिनियर मात्रै पूरा गर्न बाँकी रहेको उहाँको भनाइ छ ।

नहरको पानी पथरिया र वाणी सिँचाइ प्रणालीमा समेत पुग्ने गरी छाडिनेछ । आयोजनाको दोस्रो चरणअन्तर्गतको लम्की–चुहा नहरको ठेक्का सम्झौता ०७३ भदौमा कालिका–कुमार कम्पनीसंँग १ अर्ब ७९ करोड ३१ लाख १ हजार १६७ रुपैयाँमा गरिएको थियो । निर्माण कम्पनीलाई अहिलेसम्म एक अर्ब ६९ करोड २३ लाख रुपैयाँ भुक्तानी भएको छ । ठेक्का सम्झौतामा नहर निर्माण सक्ने म्याद ०७५ असारसम्म तोकिएको थियो ।

विभिन्न कारणले ठेकेदार कम्पनीबाट समयमा ठेक्का पूरा गर्न नसक्दा ६ पटक म्याद थप्दै अन्तिम म्याद गत पुस १५ सम्मको दिइएको थियो । अन्तिम पटक थपिएको म्यादभित्रै ठेकेदार कम्पनीले ९६ प्रतिशत काम पूरा गरेको इन्जिनियर खत्रीले बताउनुभयो । वनले नहर क्षेत्रभित्रका रुख कटानको अनुमति समयमै नदिदा समयमा नहरको काम नसकिएको इन्जिनियर खत्रीको भनाई छ । 

विदेशका खबर
१५औं चरणको मतदानमा अमेरिकी सभामुख चुनिए म्याककार्थी 

काठमाडौँ । अमेरिकी तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सको सभामुखमा केभिन म्याककार्थी निर्वाचित हुनुभएको छ । १४ पटकको मतदानमा हार बेहोरेका उहाँ १५औं पटकमा निर्वाचित हुनुभएको हो । सभामुख चयनका लागि ४२८ भोट खसेको थियो । जसमध्ये म्याककार्थीले २१६ मत प्राप्त गर्दा डेमोक्रेटिक उम्मेदवार हकीम जेफ्रिजले भने २१२ मत प्राप्त गर्नुभएको थियो ।

मतदानमा उपस्थित तर कतै पनि भोट नहाल्ने सांसद भने ६ जना थिए जसलाई पक्ष÷विपक्षमा नलिई ’प्रिजेन्ट’ मा गनिन्छ । नवनिर्वाचित सभामुख म्याककार्थीले नान्सी पेलोसीलाई प्रतिस्थापन गर्नुहुने छ । हाउस अफ रेप्रिजेन्टेटिभ्समामा रिपब्लिकनका २२२ र डेमोक्रेटिकका २१२ सांसद छन् ।

समाभुख चुनिनका लागि २१८ भोट चाहिए पनि केही रिपब्लिकन उम्मेदवार म्याककार्थीको विपक्षमा उभिएकाले १५औं चरणसम्म मतदान गर्नुपरेको हो । यसअघि रिपब्लिकन सांसद म्याट गेजलगायतका प्रभावशाली नेता म्याककार्थीको विपक्षमा उभिए पनि अन्तिममा उहाँलाई मत दिन तयार भएका हुन् ।

नाइजेरियामा डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

काठमाडौँ । उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन् । केब्बी राज्यको कोको÷बेस्से स्थानीय क्षेत्रस्थित नदीमा मङ्गलबार साँझ सो डुङ्गा पल्टिदा उक्त दुर्घटना भएको हो । उक्त डुङ्गामा करिब १०० जना किसान सवार थिए जसमध्ये ८० जनालाई सकुशल उद्धार गरिएको छ ।

विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ । साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसा समेत गर्नुभएको छ । राष्ट्रपतिले विशेषगरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई आग्रह गर्नुभएको छ । 

खेल खबर
संकटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि

काठमाडौँ । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बनेको हो । रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । 

संकटाले दोस्रो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको हो । खेल अतिरिक्त समयमा धकेलिनु अघि खेलको आठौं मिनेटमा सुरज ज्यु ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २–० को अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २–१ को स्थितिमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २–२ गोलको बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा दुबै टोलीले थप गोल गर्न सकेनन् र खेल २–२ को बराबरी हुँदा अतिरिक्त समयमा गएको थियो । 

अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले विजयी गोल गरे । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाखमा चित्त बुझायो । हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहारा क्लब पोखराले आयोजना गरेको प्रतियोगिताबाट वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

फारवेस्टसँग हार्दै बाहिरियो पोखरा, काठमाडौं प्लेअफमा

काठमाडौँ । लिग चरणको अन्तिम खेलमा फारवेस्टर्न यूनाइटेडसँग ४१ रनले पराजित हुँदै पोखरा एभेन्जर्स जारी नेपाल टी–२० लिगबाट बाहिरिएको छ । पोखरा बाहिरिएसँगै काठमाडौं नाइट्स हारका बाबजुद पनि प्लेअफ पुगेको छ । काठमाडौं लिग चरणको अन्तिम खेलमा आजै विराटनगर सुपर किङ्सँग पराजित भएको थियो ।

काठमाडौंले इलिमिनेटरमा सोमबार विराटनगरसँगै खेल्नेछ । पहिलो प्लेअफमा आइतबार लुम्बिनी अलस्टार्स र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्लेअफ पुग्न फारवेस्टले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको पोखरा १८.१ ओभरमा अलआउट हुँदै १ सय ४६ रनमा सीमित भयो । 

यसअघि, टस जितेर ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रनको योगफल तयार पारेको थियो । प्रतियोगितामा लिग चरणका खेल सकिँदा लुम्बिनी अलस्टार्स १० मध्य आठ खेलमा जित र २ हारको नतिजासहित १६ अंक जोडेर तालिकाको शिर्ष स्थानमा छ ।

लुम्बिनी लिग चरणका तीन खेल अगावै प्लेअफ पुगेको थियो । जनकपुर रोयल्स १० खेलमा ७ जित र तीन हारको नतिजासहित १४ अंक जोडेर दोस्रो स्थानमा छ । विराटनगर १० खेलमा समान ५ जित र हारसहित १० अंक जोडेर तेस्रो स्थानमा रहयो । काठमाडौं ८ अंकसहित चौथो स्थानमा रहँदा फारवेस्ट र पोखरा समान ६ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा रहेका छन् ।