Live Streaming

अन्नपूर्ण दिनभर  : प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त, सत्तारुढ दलका ६० प्रदेश सांसदको समर्थन

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त,

 

काठमाडाैँ । प्रदेश १ को मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले आज कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । 

कार्कीले ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेस गर्नुभएको थियो । प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री कार्कीको शपथग्रहणको कार्यक्रम भोलि राखेको छ ।

मुख्यमन्त्रीले भोलि नै सानो आकारको मन्त्रीमण्डल गठन गर्न प्रयास गरिरहेको बताइएको छ । हाल कायम रहेको १३ मन्त्रालयलाई ९ या ११ वटामा झार्ने कार्कीको प्रतिबद्धता छ । सरकारमा माओवादी केन्द्र र राप्रपा पनि जाने निश्चित छ । राप्रप संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारलाई समर्थन गरिसकेको हुनाले आफूहरु पनि मन्त्रीमण्डलमा सामेल हुने बताउनुभयो । 

बाम एकताको लागि माओवादी 

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले बृहत वाम एकताको लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार पारेको छ । वार्ता टोलीको पहिलो बैठकले एकताका लागि वार्ता गर्ने पार्टीहरुको सूची तयार गरेको उपाध्यक्ष एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

वार्ता टोलीका अन्य सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, जर्नादन शर्मा र शक्ति बस्नेत रहनुभएको छ । एकताका लागि पहिलो प्राथमिकता बाबुराम भट्टराई र माधव नेपालको पार्टीलाई राखेको वार्ता वार्ता टोली सदस्य पोखरेलले बताउनुभयो । 

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चुनावपछि एकता गर्ने सहमतिसहित माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको थियो । भट्टराईले समाजवादी केन्द्र बनाउनुपर्ने बताउँदै आउनुभएको छ ।

आजदेखि सुरु भएको नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठकले एकताबारे निर्णय लिने नेताहरुले बताएका छन् । माओवादीसँग एकताका लागि भन्दै एकीकृत समाजवादीले अध्यक्ष नेपालको नेतृत्वमा समिति नै बनाएको थियो ।चुनाव सकिएपछि पनि उसले वाम एकताको कुरा उठाएको छ । त्यसका लागि महासचिव बेदुराम भुसालको नेतृत्वमा समिति बनाएको छ ।

 नेपाल समाजवादी पार्टीसँग एकता हुने निश्चित जस्तै रहेको माओवादी नेताहरुको भनाइ छ ।  त्यस्तै प्रभु साहसँग पनि वार्ताका लागि छलफल हुने माओवादी नेताको भनाइ छ ।

माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द्र, धर्मेन्द्र बास्तोला, मोहन वैद्य लगायतका पार्टी संसद बाहिर छन् । वार्ता टोलीका संयोजक महराले एमालेसँग समेत आफूहरुले छलफल गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भेटे नेपाल र यादवलाई 

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको छ । माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान भएको भेटमा दाहालले नेपाल र यादवसँग विश्वासको मतबारे छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिने कार्यक्रम छ । एकीकृत समाजवादीका अध्यक्ष नेपालले विश्वासको मत दिनेबारे आफूहरू छलफलकै क्रममा रहेको जवाफ दिनुभएको थियो । एकीकृत समाजवादीले प्रचण्ड सरकार निर्माण हुँदा समर्थन गरेको थिएन । प्रचण्ड सरकारलाई विश्वासको मत दिने नदिनेबारे पार्टीमा दुई धार देखिएको छ ।

विश्वासको मत दिनुपर्छ भन्ने मत एकीकृत समाजवादीमा बलियो रहेको बताइएको छ । माओवादी केन्द्रसँग पार्टी एकताबारे भने कुनै छलफल नभएको अध्यक्ष नेपालले बताउनुभयो । यादव नेतृत्वको जसपाले भने सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।  

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोल

काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गर्नुभएको छ । सरकारले उक्त घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाउनुका साथै नेपाल प्रहीको केन्द्रीय अनुशन्धान ब्युरो सीआईबीले विशेष टोली परिचालन गरि घटनाबारे छानबिन गरिरहेकाले भन्दै गृहमन्त्रीले धर्ना र आन्दोलनका सबै गतिविधि छोडेर छानबिनका लागि सहयोग गर्न आग्रह गर्नुभएको हो । 

मन्त्री भएर आएपछि  मन्त्री लामिछानेले धर्नामा रहेकी रुबी खानलाई दुई पटक टेलिफोन गरि यो घटनामा सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गर्नुभएको थियो ।

यसअघि गत सोमबार लामिछानेले गृह मन्त्रालयमा गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीलाई सत्यतथ्य छानबिन गरि प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए ।

बाँकेको नेपालगञ्ज उपमहागरपालिका १७ कि निर्मला कुर्मीका श्रीमानको ०६२ मा मृत्यु भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनाको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन सरकारलाई पत्राचार गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्राचार गर्दै आयोगले २०७५ माघ १३ गते आयोगले बुझाएको सिफारिस एवं निर्देशनलाई समेत ध्यानमा राखेर निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनालाई निष्कर्षमा पु¥याउन आग्रह गरेको हो । 

कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको घटनाको मानव अधिकार आयोगबाट खटिएको विज्ञ टोलीले सुझावसहित २०७५ माघ १३ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ११ पुसमा पदभार ग्रहण गरेपछि निर्मला पन्तको घटनाको अनुसन्धान अघि बढाउने निर्णय गर्नुभएको थियो । आयोगले विगत केही वर्षदेखि बलात्कार तथा यौनजन्य हिंसाका घटनामा वृद्धि हुँदै गएको भन्दै बलात्कार तथा यौनजन्य हिंसालाई सम्बोधन गर्न द्रुत अनुसन्धान तथा अभियोजन प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेको छ । 

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच सहमति 

काठमाडाैँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आइतबार १२ बुँदे सहमतिमा हस्ताक्षर गर्नुभएको हो ।

दुई दलको सहमतिमा रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने र संविधान संशोधनलगायतका विषय समावेश  गरिएको छ ।

११ बुँदे साझा सहमति कार्यान्वयन गर्ने गरी एक भएर मात्र संघ र प्रदेश सरकारमा सहभागी हुने दुबै दलको सहमति छ ।

विस्वासको मतको अधिकार महन्थ ठाकुरलाई

काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’लाई विश्वासको मत दिने ÷नदिनेबारे निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।  लोसपाको आज बसेको कार्यकारिणी समिति बैठकले विश्वासको मत दिने नदिने निर्णयको अधिकार पार्टी अध्यक्ष ठाकुरलाई दिएको हो ।

लोसपामा चार सांसद् रहेका छन् । लोसपाले मंसिर ४ मा सम्पन्न निर्वाचनमा थ्रेसहोल्ड कटाउन सकेको थिएन् । लोसपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन समेत गरेको छैन । मधेशका अधिकार सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने आवाज लोसपाले उठाउँदै आएको छ ।

यस्तै बैठकले मधेश प्रदेशको संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ ।  संगठन विस्तारको कामलाई यथाशीघ्र अघि बढाउने निर्णय गरेको छ ।

राहदानी समस्या समाधान भएको दाबी 

काठमाडाैँ  । राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । विभागले आज सूचना निकालेर राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।

विभागले प्रधानमनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन विभागले आवश्यक प्रक्रिया अघि बढाउने समेत बताएको छ । प्रधानमन्त्री प्रचण्डले सरकारकार सचिव तथा विभागीय प्रमुखहरुलाई निर्देशन दिँदै एक महिना भित्र सेवाग्राहीले लाइनमा बस्नु पर्ने र झन्झट व्यहोर्नु पर्ने समस्या सधैंका लागि अन्त्य गर्न निर्देशन दिनुभएको थियो ।

विभागले भने प्राविधिक समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको सूचना निकालेको थियो । विभागले सर्भरमै समस्या आएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्राविधिकले समेत विभागको अनुगमन गरेका थिए ।  

राष्ट्रिय सभाले मन्त्रीसँग प्रश्नोत्तर गर्ने 

काठमाडाैँ । राष्ट्रिय सभाले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चालु अधिवेशनबाटै मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।

प्रतिनिधि सभामा भने मन्त्री र प्रधानमन्त्री दुबैसँग प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था छ । प्रतिनिधिसभामा पनि प्रश्नोत्तर कार्यक्रम प्रभवकारी रुपमा सञ्चालन हुन सकेको छैन् । 

चिनियाँ राजदूत काठमाडौंमा 

काठमाडाैँ । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ काठमाडौं आइपुग्नुभएको छ । नवनियुक्त राजदूत सोङ आज बिहान काठमाडौं आईपुग्नुभएको हो ।

सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए । होउ यान्छीलाई नेपालबाट फिर्ता गरेपछि चीन सरकारले गत डिसेम्बर २७ मा सोङलाई नयाँ राजदूत नियुक्त गरेको थियो । चीनको विदेश मन्त्रालयमा एशियाली मामिला हेर्ने सोङ दक्षिण एशिया विज्ञ मानिन्छन् । े 

उक्सिदैं पर्यटन क्षेत्र रिपोर्ट 

काठमाडाैँ । पछिल्लो समय नेपाल आउने पर्यटकको संख्या बढ्दै गएको छ । कोराना महामारीको असर कम भएसंगै निर्धक्क भएर घुम्ने वातावरण बन्दा विदेशी पर्यटकको नेपाल आगमन बढ्दै गएको हो । अहिले हवाई मार्ग र स्थल मार्ग भएर नेपाल भित्रिने पर्यटकको संख्या बढेको तथ्यांकले देखाएको छ । जसका कारण पर्यटन व्यवसायीसमेत हौसिएका छन् । 

उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा बैंकिङ तथा वित्तिय संस्थाहरुको भुमिका महत्त्वपूर्ण : राष्ट्रपति भण्डारी

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गर्न बैंकिङ तथा वित्तिय संस्थाहरुले सरकारसँगको समन्वयमा व्यवहारिक योजनाहरु बनाइ लागू गर्ने पर्ने खाँचो रहेको बताउनुभएको छ ।

आज राष्ट्रपति कार्यालयमा भएको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पुँजीको निर्माण र परिचालनका क्षेत्रमा सरकारका उद्देश्यहरु उपयुक्त हुँदा हुँदै पनि उद्यमशीलताको विकास र रोजगारी सिर्जनामा अपेक्षित सफलता हासिल गनै अझै धेरै कामहरु गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड छ । 

सिरहा घटना 

काठमाडाैँ । सिरहाको मिर्चैयास्थित सगरमाथा उच्च माविका एकजना विद्यार्थीले औषधि खान पानी माग्दा शिक्षिकाले स्प्रिटलाई पानी सम्झेर दिएपछि विद्यार्थीको मृत्यु भएको छ । पानी सम्झेर डिउको बोतलमा रहेको स्प्रिट खाएपछि कक्षा ८ मा अध्ययनरत छात्रा १५ वर्षीया सिर्जना कुमारी महराको मृत्यु भएको हो । उनी सिरहा नगरपालिका ११ भलुवाहीको रहेको प्रहरीले जनाएको छ । 

शिक्षिकाले पानीको सट्टा दिएको स्प्रिट खाएपछि छात्राको मृत्यु भएपछि सिरहाको सगरमाथा उच्च माविका विद्यार्थीहरु आन्दोलित बनेका छन् । महिनावारी भएर पेट दुखिरहेको बेलामा पुस २२ गते विद्यालयमा औषधि खानका लागि सिर्जनाले शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिइन् । शिक्षिका लम्सालले माउन्टेन डिउको बोतलमा रहेको स्प्रिट पानी ठानेर दिइन् । 

छात्रा सिर्जनाले उक्त बोतलमा रहेको स्प्रिट पानी सम्झेर खाएलगत्तै बेहोस् भएकी थिइन् । उनलाई उपचारका लागि तत्कालै कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनको हिजो साँझ मृत्यु भएको हो ।

लापरबाही गर्ने विद्यालय प्रशासन र शिक्षिकालाई कारबाही गर्नुपर्ने र मृतक छात्राको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आन्दोलित विद्यार्थीको माग छ । आन्दोलनकारीहरुलाई तितरवितर पार्न प्रहरीले ५ राउण्ड हवाई फायर र ३ सेल आश्रु ग्यास फायर गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

आर्थिक खबर
सेयर बजारमा उछाल 

काठमाडाैँ । सेयर बजारमा आज पनि उछाल देखिएको छ । तीव्र उतारचढावबीच साताको पहिलो दिन दोहोरो अंकले बढेको बजारमा साढे ५ अर्ब रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको हो । आज २०.५५ अंकले बढेर नप्से परिसूचक २१ सय ६४.४८ को बिन्दुमा पुगेको छ । २५९ कम्पनीको एक करोड ४१ लाख ९८७८ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख २५ रुपयाँ पुगेको छ । 

यस दिन १३३ कम्पनीको सेयर मूल्य बढेको छ भने  ७१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । खप्तड लघुवित्त र बाराही हाइड्रा पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा झण्डै आधा दर्जन कम्पनीको सेयर मूल्य ८ देखि ९ प्रतिशत हाराहारीले वृद्धि भएको छ ।

आज दोस्रो बजारमा सबै भन्दा धेरै २१ करोड रुपैयाँ भन्दा बढीको हिमालयन डिष्टिलरीको सेयर कारोबार भएको छ । बुद्धभूमि हाइड्रो पावर, वीन नेपाल लघुवित्त र सृजनशिल लघुवित्त कम्पानीको सेयर मूल्य भने  ४ प्रतिशत बढीले गिरावट आएको छ । 

एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएके घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपाय अपनाउन  सुझाव समेत दिएको छ ।

एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । 

बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ ।  एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ । 

विदेशका खबर
चीनमा दुर्घटना : १७ जनाको मृत्यु 

काठमाडाैँ । । पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आज बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २२ जना घाइते भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खेल खबर
लुम्बिनी फाइनलमा 

काठमाडाैँ । लुम्बिनी अल स्टार पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको फाइनलमा प्रवेश गरेको छ । टियु मैदान किर्तिपुरमा आज भएको पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई ६ रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो  । जनकपुरले भने अब दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ ।

भोलि हुने दोस्रो क्वालिफायरमा काठमाडौं नाईट्स र विराटनगर सुपर किंग्स खेल्नेछन् । लुम्बिनीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । 

जनकपुरका लागि शमिउल्लाह शिनवारीले ४५ रन बनाउँदा पवन सर्राफ ३० रनमा अविजित रहे । लुम्बिनीका लागि विपुल शर्मा,दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान २÷२ तथा श्याड्ली भानले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।

जनकपुरका लागि जितेन्द्र मुखिया,असन प्रियरन्जन र सोमपाल कामीले समान २÷२ तथा पवन सराफ र ट्राभोन ग्रिफिथले समान १÷१ विकेट लिए । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

नेपाल टी —२० मा फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष 

काठमाडाैँ । नेपाल टी – २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रारम्भिक निष्कर्ष निकालेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङ भएको सीआईबीले प्रारम्भिक निष्कर्ष निकाल्दै दाबी गरेको हो । ४० जना खेलाडीसँग सीआईबीले सोधपुछ गरेको छ । 

प्रतियोगितामा फिक्सिङ भएको आशंकामा सीआईबीले विदेशी र नेपाली खेलाडीसँग सोधपुछ गरेको थियो । सुरुमा कमेन्ट्री टिममा रहेका सचिन तिमल्सिनाले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै लिगमा आफूले स्पट फिक्सिङको अनुभव गरेको बताएका थिए । र, प्रतियोगिताबाट बाहिरिने घोषणा गरेका थिए । त्यसपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक सदस्यलाई फिक्सिङको प्रस्ताव आएको खुलासा गरेका थिए । गृह मन्त्रालयले हिजो मात्रै फिक्सिङको विषयमा छानबिन गर्न सीआईबीलाई निर्देशन दिएको थियो ।