Live Streaming

अन्नपूर्ण दिनभर : संसदमा शिर्ष नेताहरुको समान्य घोचपेच, पृथ्वी जयन्तीमा सार्वजनिक विदा

सांसदहरु जनताको निरन्तर निगरानीमा छन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताउनुभयो  । राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिन आफुहरु सक्षम हुनुपर्ने बताउदै प्रचण्डले सहमतिमा मात्र नभई मतभेदमा पनि मर्यादा हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिंदै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताउनुभयो । 

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । ओलीले धेरै वर्षपछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउदै देशलाई पछाडी जानबाट रोक्न सबैको दायीत्व भएको बताउनुभयो ।

बैठकमा धेरै राजनीतिक बिषयमा टिप्पणी नगर्ने बताउनुभएका अध्यक्ष ओलीले प्रतिनिधिसभा विगठन भएर चुनाव घोषणा हुन प्रतिगमन नभएको समेत जिकीर गर्नुभयो । 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशाको मत नभइ आशाको मत भएको दाबी गर्नुभएको छ । लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने समेत बताउनुभएको छ । भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको उहाँले स्पष्ट पार्दै कसैका आसेपासे छुटाउनका लागि आफूलाई दवाव सृजना नगरिदिन आग्रह गर्नुभयो । 

छेडियो संसद विघटनको वहश

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा २०७६ पुष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको वहश छेडिएको छ । बैठकमा एमाले अध्यक्ष ओलीले जनतामाझ जानु प्रतिगमन नभएको बताउदै प्रतिगमन भन्नेहरु प्रतिगामी भएको बताउनुभएको थियो ।

उहाँको त्यो संकेत नेकपा माओवादी र काग्रेसतर्फ थियो । त्यसलाई कतिपय नेताहरुले ओली र प्रधानमन्त्री प्रचण्डबीच विग्रह सुरु भएको दाबी गरेका छन् । प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसंग बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले ओलीले संसद विघटन सही भनेर दाबी गर्दै गर्दा प्रधानमन्त्री प्रचण्ड अल्मलिएका देखेर दुई नेताबीच विग्रहको बिजारोपण भएको जिकीर गर्नुभयो । 

यसैबीचमा सरकारको स्थिरताको चुनौतीमाथि थप चुनौती थपिनसक्ने उहाँको बुझाई छ । प्रतिनिधिसभा विघटन गरेकै कारणले अलग भएका नेताहरू अहिले एकपटक समीक्षा नगरी एकजुट भएकाले लामो समय टिक्नेमा गगनको आशंका थियो ।

विश्लेषकहरुले पनि अहिलेको सरकार ५ बर्ष टिक्नेमा आशंका ब्यक्त गरेका छन् । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै राजनीतिक विश्लेषक जगदीश दाहाले १–२ बर्षभन्दा बढि सरकार टिक्नेमा आशंका व्यक्त गर्नुभयो । दाहालले प्रतिनिधिसभा विघटनका बेला समेत प्रचण्ड प्रतिगमन र अग्रगमनका कारण नभई भाग नपाउदा बाहिरिएको बताउदै संसदमा अग्रगमन र प्रतिगमनको वहश हुनुलाई पनि स्वभाविक भन्नुभएको छ । 

देउवा प्रचण्ड भेट 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास धुम्बाराही जानुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत लिने अघिल्लो दिन प्रचण्ड ठूलो दल कांग्रेसका सभापतिलाई भेट्न जानुभएको हो । प्रचण्डले देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गर्नुभएको बताइएको छ ।

सभापति देउवाले सोमबार साँझ नै पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको थियो । यद्यपि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गरिसकेको छैन ।

‘प्रचण्ड’ले भने आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भोलि बस्ने बैठकमा आफूले विश्वासको मत प्राप्त गर्नेमा कुनै आशंका नरहेको बताउनुभएको हो । यस्तै नेकपा एमालेले विश्वासका मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ । 

पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णय 

काठमाडौँ । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई आजको मन्त्रिपरिषद बैठकले पारित गरेको छ ।गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको भौगोलिक रुपमा एकीकरण गर्नुभएको थियो ।

उहाँको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहे पनि २०६२÷०६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो । यसवर्ष सरकार निर्माणका लागि महत्वपूर्ण घटक राप्रपाले सरकारलाई समर्थन दिन र सरकारमा सहभागी हुन २७ पुसमा सार्वजनिक विदा दिनुपर्ने अडान नै राखेको थियो । जसलाई सरकारले स्वीकार गरेको हो ।

कांग्रेस र राप्रपाको समिकरण

काठमाडौँ । सरकारले पुष २६ गते विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सक्रियता बढाएका छन । कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि नेपाली राजनीति तरंगीत भएको छ । कांग्रेसको उक्त प्रस्तावले प्रधानमन्त्री दाहाललाई विश्वासको मत पाउन समेत चुतौती थपिएको छ । 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक 

काठमाडौँ । सत्ता साझेदार दलले २१ बुँदे सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेका छन् । आज उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार गरेको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्ता साझेदार दलको उपस्थितिमा अर्थमन्त्री पौडेलले बाचन गरेर नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम बाचन गरेर घोषणा गर्नुभएको हो । 

२१ बुँदामा प्रमुखताका साथ नीतिगत तथा संरचनागत सुधारका केही बुँदा प्रस्तुत गरिएको छ । जसअनुसार अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी त्यसको सुझाव तथा सिफारिस अनुरूप न्यायपालिकाको शुद्धीकरण र सुधार गर्ने उल्लेख गरिएको छ ।यस्तै आम नागरिकले सहज, छरितो र निष्पक्ष न्याय पाउने सुनिश्चितता गर्ने उल्लेख गरिएको छ ।

यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता नियामक निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाइ भ्रष्टाचार नियन्त्रण र सदाचारको प्रत्याभूति गर्ने, सार्वजनिक खरिद अनुगमन कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रलाई परिणाममुखी र प्रभावकारी बनाउन आवश्यक सुधार गर्ने जनाइएको छ ।

संसद्को अधिवेशनबाट सार्वजनिक खरिद ऐन, राष्ट्रिय महत्त्वका पूर्वाधार आयोजनको शीघ्र कार्यान्वयन सम्बन्धी ऐन, नागरिकता सम्बन्धी ऐन, नेपाल प्रहरी तथा प्रदेश प्रहरी ऐन, सार्वजनिक यातायात सेवा ऐन, स्थानीय प्रशासन ऐन, संघीय निजामती सेवा ऐन, छाता विश्वविद्यालय ऐन लगायत ऐन तर्जुमा या विद्यमान ऐनमा समयानुकूल परिमार्जन गर्ने पनि जनाइएको छ ।

बाग्मतीको मुख्यमन्त्रीमा जम्मकट्टेल नियुक्त 

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रको संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जम्मकट्टेलले माओवादीका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरी ७० प्रदेश सांसदको समर्थनमा प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुभएको थियो । 

उतागण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त हुनुभएको छ । उहाँले ३३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा खगराजले मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्नुभएको हो । 

प्रदेश १ मा मुख्यमन्त्री कार्कीसँगै ३ मन्त्रीले शपथ लिने

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।  मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उहाँले सानो आकारको मन्त्रिपरिषद गठन गर्नुभएको हो । मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १÷१ जना सरकारमा सहभागी भएका छन्।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएका हुन् । मुख्यमन्त्रीको शपथ पश्चात प्रदेश प्रमुख पर्शुराम खापुङले नै अन्य मन्त्रीहरूलाई पनि पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो ।

मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेपनि हाल उनीहरूलाई कुनै जिम्मेवारी हस्तान्तरण गरिएको छैन् । मुख्यमन्त्री कार्कीले प्रदेशका १३ वटै मन्त्रालय आफैसँग राख्नुभएको छ । शपथ ग्रहण पश्चात अन्नपूर्णसँग छोटो कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँड भने केहीदिनमै हुने बताउनुभयो ।  

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सङ्कलन र अद्यावधिको काम बन्द गरेको थियो ।

गत साउन १९ गतेदेखि मतदाता नामावली सङ्कलन र अद्यावधिकको काम स्थगित भएको थियो । आगामी माघ २ गतेदेखि ३७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि इनरोलमेन्ट प्रणाली अनलाइनबाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ ।

मलेसियामा बन्धक बनेका नेपाल फर्किँदै  

काठमाडौँ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपाल फर्किने भएका छन् । जसमध्ये ६ जना नेपाली भोलि स्वदेश फर्किन लागेका हुन् । श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग सम्पर्क भएको थियो । राजदूतावासले उनीहरूको उद्धार गरेको हो। मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको छ ।

दूतावासको पहलमा उनीहरूमध्ये ६ जना भोलि, १० जनवरीमा ६ जना र १३ जनवरीमा ७ जना नेपाल फर्कने भएका हुन्।मलेसियाका एक अन्य कम्पनीमा समस्यामा परेका २८ जना नेपाली श्रमिकहरूको समस्या हल गर्न समेत पहल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

आर्थिक खबर

२२ सय विन्दुबाट माथि लाग्यो सेयर बजार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गरेपछि सकारात्मक बनेको सेयर बजार लामो समयपछि २२ सयको विन्दुबाट माथि पुगेको छ। साताको दोस्रो कारोबार दिन आजसेयर बजार परिसूचक (नेप्से) ४७.१५ अंकले बढेर २२११.७६ विन्दुमा पुगेको छ।

आज सेन्सिटिभ इन्डेक्स ८.६८ अंकले बढेर ४१९.९१ विन्दुमा पुग्यो। आज कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । हिजो ५ अर्ब ४५ करोड मूल्य बराबरको सेयर किनबेच हुँदा आज भने २५७ कम्पनीको १ करोड ४७ लाख ७६ हजार २०६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८५३ रुपैयाँ बराबरको कारोबार भएको छ । 

अब बिदेशका खबर
काठमाडौँ । पाकिस्तानमा बस र ट्रक एक आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको किला सैफुल्लाह जिल्लामा दुर्घटना भएको हो ।  

राजमार्गमा मध्यरातमा बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो । मृतक र घाइतेहरूलाई अस्पतालमा लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने अस्पतालका कर्मचारीले सञ्चारमाध्यमलाई बताएका छन्।पाकिस्तानमा प्रायः सडक मुख्य कारण जीर्ण सडक र सडक सुरक्षाका उपायको अवलम्वनको कमी नै हुने गरेको अनुसन्धानले देखाएको छ । 

खेल खबर
विराटनगर दोस्रो क्वालिफायरमा प्रवेश 

काठमाडौँ । काठमाडौं नाइट्समाथि सानदार जित निकाल्दै विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको इलिमिनेटर खेलमा विराटनगरले काठमाडौंलाई ९९ रनले पराजित गरेको हो । जितका लागि विराटनगरले दिएको एक सय ८३ रनको लक्ष्य पछ्याएको काठमाडौं १२.४ ओभरमा सबै विकेटको क्षतिमा ८३ रनमा समेटिएको थियो ।

विराटनगरका लागि अविनाश बोहोराले १६ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले १५, ओपनर लोकेश बमले १३ र कमल ऐरीले १० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न विराटनगरका सूर्य तामाङले चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८२ रन जोडेको थियो ।

अब विराटनगरले फाइनलमा स्थान बनाउँनका लागि जनकपुर रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।