Live Streaming

सांसदहरु निरन्तर जनताको निगरानीमा छाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि सुरु भएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइएको छ ।

गत मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट बनेको संघीय संसद्को पहिलो अधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुले सम्बोधन गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उहाँले सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताउनुभएको हो । 

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा आएका नयाँ दल र सांसदहरु संसदको पुँजी भएको बताउनुभयो  । राष्ट्रका आवश्यकताका बारेमा विवेकपूर्ण निर्णय लिन आफुहरु सक्षम हुनुपर्ने बताउदै प्रचण्डले सहमतिमा मात्र नभई मतभेदमा पनि मर्यादा हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गर्नुभयो ।प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिंदै देउवाले संसदको ठूलो दल कांग्रेस रचनात्मक रुपमा प्रस्तुत हुने र जनताको मुद्दासँग जोडिरहने बताउनुभयो । 

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । ओलीले धेरै वर्षपछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउदै देशलाई पछाडी जानबाट रोक्न सबैको दायीत्व भएको बताउनुभयो ।

बैठकमा धेरै राजनीतिक बिषयमा टिप्पणी नगर्ने बताउनुभएका अध्यक्ष ओलीले प्रतिनिधिसभा विगठन भएर चुनाव घोषणा हुन प्रतिगमन नभएको समेत जिकीर गर्नुभयो । 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो दलले पाएको मत निराशाको मत नभइ आशाको मत भएको दाबी गर्नुभएको छ । लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्ट्राचारको विषयमा सरकार निर्मम हुने समेत बताउनुभएको छ । भ्रष्टा्रचार छानबिनमा सरकार कटिवद्ध रहेको उहाँले स्पष्ट पार्दै कसैका आसेपासे छुटाउनका लागि आफूलाई दवाव सृजना नगरिदिन आग्रह गर्नुभयो ।