Live Streaming

अन्नपूर्ण दिनभर : प्रधानमन्त्री 'प्रचण्ड'ले पाए दुई तिहाइ बढी बहुमत, प्रतिपक्ष बिहिन सत्ता बन्ने खतरा !

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभाको असाधारण समर्थन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा पचण्डले प्रचण्डले विश्वासको मत मागेकोसम्बन्धी प्रस्तावको पक्षमा प्रतिनिधिसभाको २७५ सदस्यमध्ये २६८ जनाले मतदान गर्नुभएको हो । आजको बैठकमा २७० जना उपस्थित भएका थिए ।

प्रधानमन्त्रीलाई उहाँको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

प्रधानमन्त्रीलाई नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने विश्वासको मत दिएनन् । योसंगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएको ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले घोषण गर्नुभयो । 

संसदीय व्यवस्थामाथि प्रश्न?

काठमाडौँ । संसदीय शासन व्यवस्थालाई बलियो प्रतिपक्षसहितको शासन प्रणालीको रुपमा पनि ब्याख्या गरिन्छ । बलियो प्रतिपक्ष भएमा सत्तापक्षमा भएकाले जथाभावी काम गर्न नपाउने, जवाफदेहिता रहने र प्रत्येक काममा खबरदारी रहने मान्यता छ ।

तर नेपालको संसदीय व्यवस्थाको ईतिहासमा संसदमा रहेका सबै दलले सरकारलाई सर्मथन गर्दा प्रतिपक्षी को भन्ने गम्भीर प्रश्न खडा भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एतिहासिक सर्मथन पाईरहदा प्रश्नबिहीन सत्ता बन्ने खतरा बढेको छ । 

सांसदहरुलाई गर्व गर्ने वातावण सृजना गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिवद्धता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई साझा प्रधानमन्त्रीका रुपमा राष्ट्र निर्माणको अवसर दिन सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले परिवर्तनको संकल्पलाई जगाई राष्ट्र निर्माणमा लग्न आफु प्रतिबद्ध रहेको बताउदै प्रचण्डले सम्भव छैन, सकिदैन भन्ने निराशा र नकारात्मक भावलाई यो सरकारमा ठाउँ नहुनेगरि देश र संसदलाई प्रमाणित गर्ने अठोट दिलाउनुभयो । 

यस्तै प्रधानमन्त्री प्रचण्डले आफू सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र तेश्रोपटक प्रधानमन्त्री नबनेको बताउदै हरेक पटक संसदमा उपलब्धिको डाटाका साथ उपस्थित हुने र सांसदहरुलाई गर्व गर्ने वातावण सृजना गर्ने बताउनभयो । 

पहिलो अधिवेशनको दोश्रो बैठकमै संसद विघटनका बिषयमा नेताहरुले पक्ष र विपक्षमा वहश गरिरहदा प्रधानमन्त्री प्रचण्डले भने संविधानको रक्षा गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनुभएको छ । सांसदले उठाएको प्रश्नहरुको जवाफ दिने क्रममा प्रतिनिधिसभा विघटन ठीक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै प्रचण्डले संविधानको कार्यान्वयन गर्ने आफूहरुको प्रतिवद्धता भएको बताउनुभयो । 

हिजो र आजको बैठकमा दुई ठुला दल कांग्रेस र एमालेले संसद विघटनको बहशलाई प्रशय दिएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो प्रतिनिधिसभा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले विघटन गरेको स्मरण गराउदा एमाले अध्यक्ष ओलीले देउवालाई गुरु मानेर विघटन गर्दा प्रतिगमन भनेको भन्दै कटाक्ष गर्नुभएको थियो । 

यस्तै आजको बैठकमा नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको गुण र दोषका आधारमा विश्लेषण गरेर सरकारलाई विरोध र समर्थन गर्ने बताउनुभयो । यस्तै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेसरकारलाई समर्थन गर्ने कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ ।

ओलीले सरकारलाई समर्थन गर्ने कुनै जालझेल होइन भने कांग्रेसको निर्णयलाई स्वागत गर्ने बताउदै यदि जाल मात्रै भए कांग्रेसले माछा नभएको खोलामा जाल फ्याँकेको ओलीको टिप्पणी छ । उहाँले कांग्रेसले केही नपाउने पनि दाबी गर्नुभएको छ । 

सभामुखको चुनाव माघ ५ गते हुने

काठमाडौँ । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि प्रतिनिधिसभाको बैठक माघ ५ गते बस्ने गरी सकिएको छ ।

बागमतिमा मुख्यमन्त्रीको सपथ  

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज पथ तथा गोपनीयताको शपथलिनुभएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज बिहान प्रदेश प्रमुखको कार्यालयमा जमकट्टेललाई शपथ खुवाउनु भएको हो ।

आजै मुख्यमन्त्रील सपथ लिए लगत्तै नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्री र राप्रपा संसदीय दलका नेता उद्धव थापाले विना विभागीय मन्त्रीको रूपमा शपथ लिनुभएको छ । मन्त्रालय बाँडफाँटको विषयमा सत्ता साझेदार दलहरूका विचमा छलफल गरेर टुंग्याइने मुख्यमन्त्री जमकट्टेलले बताउनु भयो । उहाँले बागमती प्रदेशमा बढीमा ११ वटा मन्त्रालय बनाइने बताउनु भएको छ । 

यसैबीच बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउन प्रमुख सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ । नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गर्नुभएको हो । कार्यदललाई बागमती प्रदेशमा उपयुक्त मन्त्रालयको संख्या सिफारिस गर्न १५ दिनको समय तोकिएको छ ।

पाँच सदस्यीय कार्यदलमा आर्थिक मामला तथा योजना सचिव, आन्तरिक मामिला तथा कानून सचिव, मुख्यमन्त्री कार्यालयका कानून सचिव र मुख्यमन्त्री कार्यालयका प्रशासन महाशाखा सचिव रहेका छन् । आवश्यकता अनुसार अन्य मन्त्रालयका सचिव र विशेषज्ञलाई आमन्त्रण गरिने प्रमुख सचिव निरौलाले जानकारी दिनुभयो । 

लुम्बिनीमा मुख्यमन्त्रीको दाबी पेश गर्ने समय सर्यो

काठमाडौँ । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले मुख्यमन्त्रीको लागि दाबी पेश गर्ने कार्यक्रम भोलिको लागि सरेको छ । सत्ता गठबन्धन दलहरूबीच आन्तरिक तयारी पूरा नभएपछि भोलिका लागि सारेको हो । एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले नेकपा माओवादीभित्रको आन्तरिक तयारी नपुग्दा सयम सारिएको जानकारी दिनुभयो ।

गठबन्धनले एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्रीको रुपमा अगाडि सार्दैछ । प्रदेश प्रमुख शेरचनले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न भोलि साँझ ५ बजेसम्मका लागि समय दिनुभएको थियो  ।

गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४ र नागरिक उन्मुक्ति ४, जनमत पार्टीका ३, जसपाका ३,  स्वतन्त्र २ सहित ५५ सांसदको हस्ताक्षर जुटाएर दावी पेश गर्ने तयारी छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ सांसद आवश्यक छ । 

उपेन्द्र यादवको विरोध 

काठमाडौँ । गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा पुस २७ गतेको दिन सार्वजनिक विदा दिने निर्णय भएको औपचारिक जानकारी गराएको छ । मन्त्रालयले आज सूचना जारी गरी पुस २७ गते देशभर र विदेशस्थित राजदूतावास तथा कूटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको हो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय हिजो गरेको थियो ।यसैबीच सरकारको उक्त निर्णयमा जनता समाजवादी पार्टी (जसपा) ले विरोध जनाएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले यो निर्णय जनआन्दोलनको मर्म र भावना विपरीत भएको र यसबाट विविधतामा एकता नभई एकतामा विभेद उत्पन्न गर्ने दावी गर्नुभयो ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले राजतन्त्रात्मक निरंकुश पञ्चायती व्यवस्थाले स्थापित गरेको पृथ्वी जयन्तीलाई प्रचण्ड सरकारले पुनर्स्थापित गर्नु जनआन्दोलनको मर्म र भावना विपरीत कार्य भएको बताउनु भएको छ । 

गृहले थापाथली वस्तीमा डोजर चलाउन सहयोग नगर्ने 

काठमाडौँ । संघीय सरकारले तत्कालकै अवस्थामा डोजर चलाएर थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना र वस्ती हटाउन नसघाउने निर्णय लिएको छ । वस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले घुमाउरो रुपमा प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको हो ।

१३ पुसमा महानगरपालिकाले सहयोग माग्दै लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म सहयोग नहुने बताएको छ । १९ पुसमा गृहले लेखेको जवाफी पत्रमा सिधा शब्दमा अस्वीकार नगरिए पनि महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल तोकिएको विधि, कानुन र प्रक्रियाअनुसार महानगरले चालेको कदममा गृह मन्त्रालयले सघाउने बताउनुभएको छ ।

भूमि आयोगले लगत संकलन र प्रमाणीकरणको नसकिएसम्मका लागि काठमाडौं महानगरपालिकासहित सबै स्थानीय तहहरु र सबै सरकारी तथा गैरसरकारी निकायहरुलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोवासीहरुका बस्ती हटाउने र उनीहरु असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न आग्रह गर्दै आएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म बस्ती छोड्न जारी गरेको सूचनालाई देखाएर महानगरपालिकाले तयारी विना नै सुकुम्बासी हटाउन खोजेको थियो । सो क्रममा झडप हुँदा ३६ नगर प्रहरी घाइते भएका थिए ।

निषेधित क्षेत्रमा हेलिकप्टर उडाएपछि नियन्त्रण 

काठमाडौँ । संखुवासभाको भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा हेलिकोप्टर उडान गरेको भन्दै प्रहरीले अल्टिच्युड एयरको हेलिकोप्टर नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले दिएको उडान अनुमति अनुसार उडान नभरी हेलिकोप्टर सिधैं निषेधित क्षेत्रमा गएपछि प्रहरीले अल्टिच्युड एयरको ९ एन एएमएक्स कल साइन भएको हेलिकोप्टर नियन्त्रणमा लिएको हो ।

भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको हेलिकोप्टरले निषेधित क्षेत्रमा जानुभन्दा पहिले जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर जाँच पछि मात्रै भोटखोलाको हटिया उडान गर्ने अनुमति लिएको थियो ।प्रहरीले हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताउनु भयो ।

उहाँका अनुसार हेलिकोप्टर मार्फत भोटखोला गाउँपालिकाको माक्पालुंगमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर लगिएको थियो । चौकीका प्रहरी, दुरसञ्चारका कर्मचारी लगायतको रोहवरमा जनेरेटर हेलिकोप्टरबाट निकालिएको उहाँले बताउनु भयो । गृह मन्त्रालयलाई पत्र लेखी पठाउने तयारी भएको र गृहकै निर्देशन अनुसारकामकारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

शिक्षक सेवा आयोग 

काठमाडौँ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको मध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी शिक्षकको माग  गरेको छ। आयोगले विषयगत शिक्षकको माग गरेको हो । जसअनुसार विभिन्न विषयका ६८४ शिक्षकको दरखास्त आह्वान गरिएको हो ।

प्रदेश अनुसारको मागमा नेपालीका लागि १११ अंग्रेजीमा ८४, गणितका लागि २०८ विज्ञानका लागि १९१ सामाजिक अध्ययनमा ५४ शिक्षकको माग गरिएको छ।त्यस्तै अर्थशास्त्रमा ८ शिक्षकको माग हुँदा लेखाका लागि १५ शिक्षा १ स्वास्थ्य शिक्षाका लागि एक शुक्लयजुर्वेद १ संस्कृत व्याकरण ३ संस्कृत भाषाका लागि ७ कम्प्युटर विज्ञानमा एक र संस्कृत साहित्यमा १ शिक्षकको माग गरिएको छ। यसको लिखित परीक्षा चैत्र १८ गते हुनेछ। दरखास्तको अन्तिम समय माघ २४ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर फागुन २ सम्म दरखास्त दिन सकिने छ। 

विहारबाट आयात रोकिएपछि साँझ–बिहान उद्योगमा विद्युत कटौती

काठमाडौँ । भारतबाट विद्युत आयात प्रभावित भएको भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका औद्योगिक क्षेत्रहरुमा दैनिक लाइन काट्न सुरु गरेको छ । विहारमा बिजुली उत्पादन कटौती भएका कारण बिजुलीको आयात पनि प्रभावित भएको प्राधिकरणको दाबी छ । यसैकारण प्राधिकरणले केही दिनका लागि भन्दै उद्योगहरुलाई जानकारी गराएरै साँझ र विहानको ‘पिक आवर’मा लाइन काट्न थालेको छ ।

प्राधिकरणले विद्युत कटौती थालेपछि उद्योगहरु मारमा परेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाका अनुसार दैनिक ९ घण्टासम्म अघोषित लोडसेडिङ हुन थालेको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विहारमा आकस्मिक रुपमा उत्पादन प्रणालीमा समस्या आएका कारण आयात रोकिन पुग्दा समस्या आएको बताउनुभयो ।  प्राविधिक कारण देखाएर ‘स्टेट इलेक्ट्रिसिटी’ले नेपालले आयात गरिरहेको बिजुली रोकेका कारण उद्योगहरुमा दैनिक ७ घण्टासम्म बिजुली आपूर्ति प्रभावित हुन पुगेको बताउनुभयो ।

करिब एक सय मेगावाटभन्दा बढी बिजुलीको आयात प्रभावित भएपछि उद्योगहरुलाई जानकारी दिएरै विद्युत काट्न थालिएको उहाँले बताउनुभएको छ । 

आर्थिक खबर
पेट्रोल पनि पाइपलाइनबाट ल्याउने तयारी गरेका छौं : निगम प्रमुख 

काठमाडौँ । नेपाल आयल निगमले २ वर्षभित्र भारतबाट पाइपलाइनमार्फत पेट्रोल ल्याउने तयारी भइरहेको जनाएको छ । निगमको ५२ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा निगमका कार्यकारी निर्देशक उमेश थानीले यस्तो जानकारी गराउनुभएको हो ।

हाल भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनमार्फत डिजेल मात्र आयात भइरहेको छ । यसले डिजेलमा निगमको ढुवानी खर्च घटाएको छ । यद्यपि पेट्रोल भने ट्यांकरमार्फत भारतका डिपोहरुमार्फत आयात भइरहेको छ ।

निगमले एलपी ग्यासको ढुवानीका लागि भारतीय आयल कर्पोरेसनको वितरण केन्द्रलाई नेपाली सीमानजिक व्यवस्था गर्न भनेअनुरुप काम अघि बढेको थानीले बताउनुभयो । भारतको दुर्गापुरबाट समेत ग्यास आयातको व्यवस्था मिलाइएको उहाँको भनाई छ । 

७ अर्ब ६५ करोडको सेयर कारोबार, परिसूचक भने ओर्लियो

काठमाडौँ । आज कुल ७ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । हिजो ५ अर्ब ३१ करोडको कारोबार भएको थियो । कारोबार रकम बढ्दा परिसूचक नेप्से भने २१.३४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१९० अंकमा कायम भएको छ । कुल ५३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ५ को स्थिर रहृयो ।

बैंकिङ ९ अंक बढ्यो । विकास बैंक ४१, फाइनान्स ८३, होटल तथा पर्यटन ११५, जलविद्युत् १६, जीवन बीमा २४३, उत्पादन ५५, माइक्रोफाइनान्स १००, निर्जीवन बीमा २७८, अन्य ४० र ब्यापार उपसमूह ७१ अंक घटेका छन् ।

विदेशका खबर
महिलामाथि नरम हुने तालिवानको संकेत

काठमाडौँ । महिलामाथिको प्रतिबन्धलाई लिएर अन्तर्राष्ट्रिय समुदायको विरोधको सामना गरिरहेको तालिबानले केही नरम हुने संकेत देखाएको छ । अफगानिस्तानमा काम गर्ने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सहायता एजेन्सीले कम्तिमा तीन तालिबान मन्त्रीहरूले महिलामाथिको प्रतिबन्ध हटाउन शीर्ष नेतृत्वले काम गरिरहेको जानकारी दिएको हो ।

काबुल भ्रमणमा रहेका नर्वेको शरणार्थी परिषद्का प्रमुख जान इगल्यान्डले तालिबानले महिलाको काम र बालिका शिक्षामा लगाइएको प्रतिबन्ध नहटाएमा अफगानिस्तानलाई अन्तर्राष्ट्रिय सहायता खर्च रोक्न सुरु हुने बताउनुभयो । अफगानिस्तानमा महिलालाई विश्वविद्यालय जान रोक लगाएको थियो । महिलामाथि तालिवान सरकारले कठोर नीति लिएको भन्दै विश्वब्यापी रुपमा विरोध हुँदै आएको छ ।

आर्थिक खबर

नेपाल टी–ट्वान्टी क्रिकेट लिग

काठमाडौँ । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदान किर्तिपुरमा आज भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।

विराटनगर सुपर किंग्सले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १  ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो । विराटनगरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकमा राज नाननको बलमा एलबीडब्लु आउट गराए । वाल्टनले ६ चौका प्रहार गरे ।  

पहिलो विकेट ४ रनमा गुमाएको जनकपुरका लागि दोस्रो विकेटका लागि कप्तान ट्राभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे । जनकपुरका लागि राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए । सुर्य तामाङले १ विकेट लिए ।

 त्यसअघि पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । अब विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ ।  पहिलो क्वालिफायरमा जित निकाल्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरिसकेको छ ।