Live Streaming

अन्नपूर्ण दिनभर : सातै प्रदेशमा नयाँ सरकार गठन, पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयाे

प्रदेशहरुमा नयाँ सरकार

काठमाडौँ । सातवटै प्रदेशले नयाँ सरकार पाएका छन् । आज मधेश, लुम्बिनी, कर्णाली र सुदूरपीश्चम प्रदेशमा नयाँ मुख्यमन्त्री बनेसंगै सातै प्रदेशले मख्यमन्त्री पाएको हो । यसअघि प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की, बागमती प्रदेशमा नेकपा माओवादीका शालिकराम जमरकट्टेल र गण्डकीको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भईसक्नुभएको छ ।

आज मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनभयो । प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । १०७ सिट रहेको प्रदेशसभाका ६३ सांसदले उहाँलाई सर्मथन गरेका छन् ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश संसदीय दलका नेता गिरीलाई ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा र जनमतका तीन–तीन, नागरिक उन्मुक्तिका चार, लोसपाका तीन र २ स्वतन्त्र सांसदले सर्मथन गरेका छन् ।

उताकर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शर्माले भोलि पद तथा गोपनीयताको शपथ लिनुहुनेछ । शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि माओवादी केन्द्र, एमाले, राप्रपा,  र नेकपा एस गरी २५ सांसदको समर्थन छ ।

सातदलीय गठबन्धनको शीर्ष तहमा कर्णालीको मुख्यमन्त्री माओवादीलाई एकलौटी दिने निर्णय भएपनि प्रदेशस्तरमा एमालेसँग आलोपालो गर्ने सहमति भएपछि शर्मालाई एमालेले समर्थन जनाएको हो । आलोपालो सहमतिअनुसार पहिलो चरणमा साढे २ वर्ष शर्मा र दोस्रोमा एमालेका यामलाल कँडेलले नेतृत्व गर्ने माओवादीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिनुभयो । 

यस्तैसुदूरपश्चिम प्रदेशमा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलमुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सांसदको आवश्यकता पर्छ । एमाले नेता रावलको समर्थनमा एमाले १०, माओवादी केन्द्र ११, नागरिक उन्मुक्ति ७ र राप्रपा एक गरी २९ सांसदको सर्मथन पाउनुभएको हो ।

सरकार गठनमा निर्णायक नागरिक उन्मुक्ति पार्टीले अन्तिम समयसम्म पनि आफूहरुका माग सम्बोधन नभएसम्म सरकार गठनमा सहभागि नहुने निर्णय गरेको थियो । तर, अन्तिम समयमा आएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले महिना दिनभित्र रेशम चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइ गर्ने आश्वासन दिएपछि गठबन्धन सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो । 

यस्तै पार्टीले ओली र प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता अनुरुप १ महिनाभित्र रेशमचौधरी रिहा हुनेमा विश्वस्त रहेको जनाएको छ । रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम इन्टरभ्यू अफ द डेमा कुरा गर्दै नागरिक उम्मुक्ति पार्टीका सुदुरपश्चिम संसदीय दलका नेता रामेश्वर चौधरीले सरकारले गरेको प्रतिबद्धतामा बिस्वस्त रहेको बताउनुुभयो ।

पार्टीले चौधरीसहित टीकापुरका घटनाका राजबन्दीहरूलाई रिहाइगर्ने आश्वासन पुरा नभए १ महिनाभित्रै सरकारलाई दिइएको समर्थन फिर्ता हुने चेतावनी पनि दिनुभएको छ । 

सुदूरपश्चिममा सभामुखका लागि उम्मेदवारी 

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभामा सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा माओवादी केन्द्रले भीम भण्डारीलाई उम्मेदवार बनाउदा कांग्रेसका मानबहादुर रावलले पनि सभामुखमा उम्मेदवारी दिनुभएको हो । माओवादीका भण्डारीको प्रस्तावकमा माओवादीकी गीतादेवी माल र समर्थकमा नेकपा एमालेकी जानकी बम ऐर रहनुभएको छ ।

नेकपा एमाले र माओवादीसहितका सत्ता गठबन्धनबीच सुदूरपश्चिमको सभामुख माओवादीले पाउने सहमति भएको छ । यस्तै कांग्रेसकी ऐरको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का हुनुहुन्छ । सभामुख चयनका लागि प्रदेशमा भोलि मतदान हुनेछ । प्रदेशमा उपसभामुख पद भने नागरिक उन्मुक्ति पार्टीलाई दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको छ । 

बागमती प्रदेशको सभामुखमा भुवन पाठकले उम्मेदवारी दिने

काठमाडौँ । बागमती प्रदेशसभाको सभामुख पदमा राप्रपाका भुवन पाठकले उम्मेदवारी दिनुहुने भएको छ । बागमती प्रदेशमा शक्ति बाँडफाँट गर्दा राप्रपाको भागमा सभामुख परेकाले पाठकले उम्मेदवारी दिनुहुने भएको हो । बागमती प्रदेशसभामा सभामुख चयनका लागि भालि निर्वाचन हुँदै छ ।

सरकारलाई पूर्णता दिनेबारे छलफल गर्न प्रधानमन्त्री दाहाल ओली निवासमा

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारको विषयमा गठबन्धन दलहरुको बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद् विस्तारसहितको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहाल गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष ओलीलाई भेट्न बुधबार साँझ बालकोटस्थित ओली निवास पुग्नुभएको हो । गोरखा महोत्सव उद्घाटन गरेर राजधानी फर्किए लगत्तै दाहाल ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।

उहाँहरुको साँझ साढे ६ बजेदेखि छलफल चलिरहेको छ । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरे लगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन दलहरुबीच यसअघि सहमति भएको थियो । हिजो दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरिसक्नुुभएको छ । 

प्रतिक्रियावादी घेराबन्दी तोडेर प्रधानमन्त्री बने : प्रचण्ड 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको बताउनुभएको छ । आज वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सजिलै प्रधानमन्त्री नबनेको बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले यो अवसरलाई त्यतिकै खेर जान नदिने समेत बताउनुभयो ।

त्यसका लागि सरकार र पार्टीलाई सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । आफूलाई इतिहासमा एकपटक चुनौतिपूर्ण अवसर प्राप्त भएको उहाँले स्पष्ट पार्नुभयो । 

यो पटक सरकार सफल हुने र पार्टी सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणीय परिघटना हुने उहाँले बताउनुभयो । प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अब संकल्पका साथ सबै कामलाई पुरा गर्ने दाबी समेत गर्नुभयो । 

यस्तै प्रधानमन्त्री प्रचण्डले आफूले नेतृत्व गरेको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएनुुभएको छ । पृथ्वीनारायण शाहको ३०१औं जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले संसदका सबै दलको समर्थनसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिएको बताउनुभयो । 

माधव नेपालको टिप्पणी 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोप्रति गल्ती नस्वीकारेको टिप्पणी गर्नुभएको छ ।

नवनिर्वाचित सांसदहरूलाई अनेरास्ववियूको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले नयाँ संसदमा पनि विघटनको चर्चा चलेको बताउनुभएको हो । प्रतिगमनका विरुद्धमा संघर्ष गरेर आम जनताको माझमा गएको स्मरण गर्दै सर्वोच्च अदालतले संविधानको सही व्याख्या गरेको उहाँको दाबी थियो । 

प्रतिनिधि सभा विघटनबारे वर्तमान सरकारमा प्रधानमन्त्रीलाई आफूले प्रश्न गरेको अध्यक्ष नेपालले बताउनुभयो ।

मनाईयो राष्ट्रिय एकता दिवस 

काठमाडौँ । आज देशभर पृथ्वी जयन्ती तथा एकता दिवस मनाईएको छ । नेपालका बाईसे चौविसे राज्यहरुको एकीकरण गरेर पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्नसफल हुनुभएका पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसर पारेर २०६३ देखि नै एकता दिवस मनाउने गरिएको छ । विसं १७७९ पुस २७ गते गोरखामा तत्कालीन राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो ।

आज ३०१औँ जन्म जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी आज भण्डारीले सिंहदरबार पुगेर पश्चिम गेटअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत राजसंस्था शुभेच्छुक संस्था तथा सर्वसाधारणले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीमा पृथ्वी जयन्ती एवम् राष्ट्रिय एकता दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायत अन्य पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । 

सरकारमा सहभागी हुनका लागि राप्रपाले एकीकरणका पिताका रुपमा चिनिएका बडामहाराजाधिराज पृथ्वीनारायण साह जयन्तीमा बिदा दिनुपर्ने माग अघि सारेको थियो । त्यही मागका आधारमा मन्त्रिपरिषदको पुस २५ गते बसेको बैठकले बिदा दिने निर्णय गरेको थियो । तर सरकारले गरेको बिदा दिने निर्णयले भने आलोचना र प्रशंसा दुबै बटुलेको छ । 

उपप्रधानमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको बताउनुभएको छ । आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको बताउनुभएको हो ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा सांसद महतो प्रतिनिधिसभा बैठकमा सहभागी भइ प्रधानमन्त्रीको पक्षमा मत दिनुभएको थियो । मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो पनि आरोपित छन्।

पर्सामा निसास्सिएर २ युवकको मृत्यु

काठमाडौँ । पर्सामा निसास्सिएर बुधबार राति दुई जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका–२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबै जना भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र भारत नै घर भएका सोही डिपोका म्यानेजर ३० वर्षका मिथिलेस यादव रहेका छन् ।

त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिनुभयो । आज विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको डीएसपी गिरीले बताउनभएको छ । 

बाँकेमा दादुरा संक्रमित बालबालिकाको संख्या ११० पुग्यो 

काठमाडौँ । बाँकेमा दादुरा महामारीबाट संक्रमित हुने बालबालिकाको संख्या १ सय १० पुगेको छ । नेपालगञ्ज उपमहानगरपालिकामा १ सय ८ र खजुरामा दुई जना गरी दादुरा संक्रमितको संख्या १ सय १० पुगेको हो । संक्रमित मध्ये दुई जनाको अवस्था गम्भीर छ ।दुवै जनाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ ।

दादुराको खोप ९ महिना र १५ महिनामा लगाउने गरिएको भएपनि नेपालगञ्जमा ६ महिनाको बालबालिकामा पनि संक्रमण देखिएको छ । संक्रमण फैलिएको उपमहानगरपालिकाका तीनवटा वडामा खोप अभियानलाई तीव्रता दिइएको छ । २३ वटै वडामा सञ्चालन गरिएको अभियान अनुसार अहिलेसम्म ३ हजार ९ सय ३२ जनाले खोप लगाएका छन् ।

एनओसी प्रभावकारी भएको दाबी 

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमतिपत्र शाखाले सेवा प्रवाहलाई चुस्त र छरितो बनाउदै लगेको दाबी गरेको छ । अहिले सेवाग्राही ४० मिनेट भन्दा बढी लाइन बस्न नपर्ने शाखाले दाबी जिकिर गरेको हो ।

तोकिएको समयभित्र वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) लिन बोलाइएका सेवाग्राहीलाई तोकिएको समयभित्र नै सेवा प्रवाह गरिएकाले ४० मिनेटभन्दा बढी लाइनमा बस्न नपर्ने शाखा प्रमुख बासुदेव वस्तीले जानकारी दिनुभयो । तोकिएको समयमा एनओसी लिन आएका सेवाग्राहीहरुलाई तोकिएकै समयभित्र सेवा प्रवाह भइरहेको शाखाले दाबी गरेको छ । 

अशक्त, अपांग, जेष्ठ नागरिक, गर्भवती तथा कलेज शुल्क भुक्तानी गर्नुपर्ने, प्लेन टिकट बुकिङका कारणले अविलम्ब सेवा प्रवाह गर्नुपर्ने सेवाग्राहीलाई अत्यावश्यक सेवा दिने कार्यलाई निरन्तरता दिइएको छ ।

शाखाले आइतबारदेखि सफ्टवेयरमा अपलोड गरिएका कागजातकै आधारमा रुजु गर्ने गरिएकाले एप्लिकेसन फारम बाहेक अफर लेटर, ट्रान्सक्रिप्ट, नागरिकता लगायतका कुनै पनि कागजातको प्रतिलिपि पेस गर्न नपर्ने, तोकिएको दिनमा सेवा लिन असमर्थ सेवाग्राहीलाई छुट्टै झ्यालबाट सेवा प्रवाह गर्ने कार्य शुरु गरेको जनाएको छ ।

४० हजार किलोभन्दा बढी रक्तचन्दन अलपत्र

काठमाडौँ । स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे छ । लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो ।

पटक–पटक गरी बरामद गरिएको यो परिमाणको रक्तचन्दन स्पष्ट कानुन नहुँदा के गर्ने भन्ने अन्योलका कारण सडेर खेर जाने अवस्थामा पुगेको छ । बरामद गरिएको रक्तचन्दन साबिक जिल्ला वन कार्यालयले संरक्षण गर्नुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा राखिएको छ । 

वन परिसरमा स्थान अभाव तथा हेरालु नहुँदा संरक्षण र सुरक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको सहायक जिल्ला वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

तस्करहरुले अवैधरुपमा लुकाईछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले यो परिमाणको रक्तचन्दन बरामद गरेको थियोे ।  रक्तचन्दनबारे  अझैसम्म पनि सम्बद्ध निकायले ठोस निर्णय नगरेकाले यस्तो अवस्थामा पुगेको हो ।साइटिस सन्धिले ओसारपसारमा रोक लगाएको रक्तचन्दन गैरकानुनी रुपमा आएकाले प्रहरीले बरामद गर्दै आएको छ । 

आर्थिक खबर 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार सुरु

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुई बैंकले ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु गरेका हुन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गर्नुभयो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहनुभएको छ । दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति रु चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै, कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ ।

विदेशका खबर

विश्व अर्थतन्त्रमा मन्दी आउने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले विश्व अर्थतन्त्रमा गहिरो मन्दी देखिने र यसको प्रभाव लामो समयसम्म रहने प्रक्षेपणगरेको छ । सन् २०२३ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै विश्व बैंकले यसबर्ष विश्वको आर्थिक वृद्धिदर १.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । यो विश्व बैंकले ६ महिना अगाडि गरेको प्रक्षेपणको तुलनामा धेरै कम हो ।

त्यसबेला अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशत रहने अनुमान थियो ।विश्व बैंकका अनुसार नेपालमा भने अहिलेसम्मको अवस्थाबाट अर्थतन्त्र स्थिर रहने अनुमान छ । नेपालले चालु आवमा ५.१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

दक्षिण एसियाली मुलुकमध्ये यस वर्ष नेपाल भन्दा माथि माल्दिभ्स, भारत र बंगलादेशको आर्थिक वृद्धि राम्रो रहने छ । श्रीलंकाको आर्थिक वृद्धिदर भने नकारात्मक नै रहने विश्व बैंकको अनुमान छ ।विश्व बैंकका अनुसार दक्षिण एसियाली भेगमा अहिले रुस–युक्रेन युद्धको प्रभाव बाँकी नै छ ।

यसले उर्जा र खाद्यान्नको मूल्यमा चर्को चाप परिरहेको विश्व बैंकले जनाएको छ । जसले गर्दा यस भेगका केन्द्रीय बैंकहरुले वित्तीय स्थितिलाई कडाई गर्नुपर्ने बाध्यता देखिएको छ । भारतलाई उत्पादन क्षेत्रका माध्यमबाट आर्थिक वृद्धिमा सहयोग पुग्ने विश्व बैंकले जनाएको छ । माल्दिभ्सलाई पर्यटनमा देखिएको पुनरुत्थानले सहयोग पुग्ने प्रक्षेपण रहेको छ ।

बंगलादेशमा उर्जा संकटका कारण समस्या गहिरिन सक्ने अनुमान गरिएको छ । अफगानिस्तानलाई विदेशी सहायता रोकिएका कारण समस्या गहिरिएको देखिएको छ । नेपाल, माल्दिभ्स र भारतको अर्थतन्त्र यस भेगमा केही हदसम्म स्थिर देखिएको छ ।विश्व अर्थतन्त्रको सन्दर्भमा भने अमेरिका, युरोपेली मुलुक र चीनको अर्थतन्त्र संकटमा जाँदा त्यसले विश्वभरकै अर्थतन्त्रमा मन्दी छाउने अवस्था देखिएको हो ।

खेल खबर 

नेपाल टि–२० लिगको उपाधि लुम्बिनीलाई

काठमाडौँ । पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगको उपाधि लुम्बिनी अल स्टारले जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि जितेको हो ।जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।विराटनगरका लागि अर्जुन साउदले ३४ रन बनाउँदा पृथु बास्कोटाले ३१ रन बनाए ।

हुसेन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंकको रन बनाउँन सकेनन् । लुम्बिनीका विपुल शर्मा, सागर ढकाल र किशोर १ तथा हरमीत सिंहले २ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा अलआउट भएर १ सय ३३ रन बनाएको थियो । लुम्बिनीका लागि लाहिरु मिलन्थाले २८ बलमा ४१ रन तथा हरमित सिंहले ३० रन बनाए ।

कप्तान दीपेन्द्र सिंह ऐरीले २० तथा इशान पाण्डेले १८ रन बनाए । नन्दन यादव र राज नान्ननले २–२ तथा हुसेन तालत, केओन जोशेफ, सूर्य तामाङ र रोहित पौडेलले एक एक विकेट लिए ।उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता विराटनगरले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ ।