Live Streaming

अन्नपूर्ण दिनभर : सन्दीप लामिछानेलाई रिहा गर्न अदालतको आदेश, अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर

सन्दीप लामिछाने रिहा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई बिहीबार २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएको सन्दीपको पक्षबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले जानकारी दिनभयो । उनलाई विदेश जान भने रोक लगाइएको छ । उनी गत भदौ २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए ।

लामिछानेले गत भदौ ५ को राति तिलगंगाको एक होटलमा लगेर जबर्जस्ती करणी गरेको भन्दै नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछाने विरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो ।

जाहेरी पर्दा लामिछाने केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृंखला सकेर क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिज पुगेका थिए। त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका थिए । लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएसँगै उनी भोलि छुट्ने भएका हुन् ।

अख्तियारका पूर्वआयुक्त पाठक र घूस दिने न्यौपाने भ्रष्टाचारी ठहर

काठमाडौँ । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठकलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा आज उनी दोषी ठहर भएका हुन् ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष तीन महिना कैद तोकिएको छ । उनीसँग घुस काण्डमा जोडिएका लम्बोदर न्यौपानेलाई पनि अदालतले दोषी ठहर गर्दै ३९ लाख जरिवाना र तीन वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका प्रमुख श्रीकान्त पौडेल, न्यायाधीसहरु यमुना भट्टराई, बलभद्र बाँस्तोलाको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो ।नेपाल सरकारको जग्गा भोगचलन गरेर सञ्चालन भएको नेपाल इन्जिनियरिङ कलेजमा भएको अनियमितताबारे सुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो ।

उजुरी छानबिनको साटो अख्तियारका आयुक्त राजनारायण पाठकले न्यौपानेसँग सम्पर्क अघि बढाए र अनियमितताको फाइल बन्द गरिदिने प्रलोभनमा ७८ लाख रुपैयाँ घूस लिएका थिए । घूस लिएर फाइल बन्द नगरेपछि विवाद बढ्दै जाँदा रकम लिएको भिडियो बाहिरियो र पाठकले पदबाट राजीनामा दिए ।

त्यसको केही महिनामा अख्तियारले पूर्वआयुक्त पाठक र घूस खुवाउने न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो  । विशेष अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा न्यौपाने र पाठक दुवै ७८÷७८ लाख रुपैयाँ धरौटी तिरेर थुनामुक्त भएका थिए ।

सभामुख–उपसभामुख चुनावबारे कांग्रेसले अन्य दलसँग छलफल गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनको लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख चुनावबारे सत्ताभित्र र बाहिरका दलसँग छलफल गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले रेडियो अन्नपूर्ण नेपाललाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा सभामुख चयनका लागि माघ ५ गते निर्वाचन मिति तय गरिसकिएको छ । सातदलीय गठबन्धनमा सभामुख एमालेलाई दिने सहमति भइसकेको छ । कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमै माओवादीको साथ माग्ने रणनीति लिएको छ ।

सत्ता लोभमा परेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको आलोचना खेपिरहेका देउवाले सभामुख र उपसभामुखको निर्वाचनमै माओवादी केन्द्रको साथ खोज्नुभएको हो ।  सभापति देउवाले माओवादी केन्द्रले सभामुखमा असहयोग गरे पनि राष्ट्रपति निर्वाचनका लागि सहकार्यको वातावरण बनाउन चाहेको देखिएको छ ।

मन्त्रालय संख्या घटाउने लुम्बिनी सरकारको पहिलो निर्णय

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालय घटाउने निर्णय गरेको हो ।

मुख्यमन्त्री गिरीले आफ्नो शपथग्रहणपछि आजै दुई मन्त्रीलाई नियुक्त गर्नुभएको थियो । मन्त्रिपरिषद बैठकले प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको प्रवक्ता मन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभयो । उहाँलाई मन्त्रिपरिषद बैठकले प्रवक्ता तोकेको हो ।

यसअघि नेपाली कांग्रेसको समर्थनमा माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री रहँदा ९ मन्त्रालयबाट बढाएर १३ र ४ राज्यमन्त्रीसहित १७ सदस्यीय मन्त्रिपरिषद बनाइएको थियो । अहिले गठबन्धन दलमा नै मुख्यमन्त्री गिरीले मन्त्रालय घटाएर लैजाने पूर्वसहमति गराएका छन् ।

अघिल्लो सरकारमा ५ दलको सहभागीता थियो भने अहिले ७ दलको सहभागिता रहेको छ । यसअघि मुख्यमन्त्री गिरीले शपथग्रहणसँगै लीला गिरीले पदभार ग्रहण गर्नुभएको थियो ।

कर्णालीका मुख्यमन्त्री शर्माको पहिलो निर्णय

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आफ्नो पदभार ग्रहण गर्नुचभएको छ ।

पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले प्रतिवर्ष १० हजारलाई रोजगारी दिने कार्यविधि बनाउने पहिलो निर्णय गर्नुभएको छ । यसले गरिबी र विकटता रहेको कर्णालीका २ वटा उत्तरदायित्व पूरा हुने पदभार ग्रहणपछि उनले सञ्चारकर्मीहरुलाई बताउनुभयो ।  यी २ वटा उत्तरदायित्व पूरा गर्न गरिबी पहिलो बाधा देखेको उहाँको भनाइ छ ।

यस्तै आजै सुदूरपश्चिममा पनि नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शपथ लिनुभएको छ । प्रदेश प्रमुख देवराज जोशीले रावललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । सँगै माओवादीका माओवादी खगराज भट्ट र एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिनुभएको छ । उहाँहरुको पनि मन्त्रालय भने तोकिएको छैन । 

बागमतीमा सभामुखका लागि ३ जनाको दाबी

काठमाडौँ । बागमती प्रदेशको सभामुखको लागि ३ जनाको उम्मेदवारी परेको छ । आज प्रदेशसभा सचिवालयमा पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठक, कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो ।

जस अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार बन्नुभएको हो । पाठकलाई नेकपा एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रस्ताव र नेकपा माओवादी केन्द्रका युवराज दुलालले समर्थन गर्नुभएको छ । प्रदेशमा सत्ता साझेदार पाँच दलसँग ७० सांसद छन् ।

सबैभन्दा ठूलो दल भएर पनि सत्ताबाहिर रहेको नेपाली कांग्रेससँग ३७ सांसद छन् । तर पनि उसले अधिकारीलाई उम्मेद्वार बनाएको छ । उहाँको प्रस्तावकमा कुन्दनराज काफ्ले र रामकृष्ण चित्रकार समर्थक हुनुहुन्छ । यस्तै प्रदेशसभामा ३ जना मात्रै सांसद रहेको नेमकिपाले पनि सृजना सायजुले सुरेन्द्रराज गोसाईंको प्रस्ताव र गीता काफ्लेको समर्थनमा उम्मेदवार बन्नुभएको हो । 

सडक अलपत्र पार्ने शारदा अधिकारीसहित १५ आयोजनाका ठेकेदारलाई ’अल्टिमेटम’ 

काठमाडौँ । समयमा काम पूरा नगर्ने प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी शारदाप्रसाद अधिकारीसहितका ठेकेदार कम्पनीहरूलाई काठमाडौं उपत्यकाका १५ सडक आयोजना निर्माण पूरा गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशनसहित लिखित प्रतिबद्धता गराउनुभएको छ ।

काठमाडौं उपत्यकामा सडक निर्माण लगायतको सरकारी ठेक्का पाएको लामो समयसम्म काम पूरा नगर्ने ठेकेदार कम्पनीका प्रतिनिधिलाई मन्त्रालयमै बोलाई समयसीमा निर्धारण गरी काम सम्पन्न गर्न भनिएको हो ।

आज सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर उपप्रधानमन्त्री श्रेष्ठले काम लिएर समयमा सम्पन्न नगर्ने ठेकेदारहरूबाट निश्चित समयमा पूरा गर्ने लिखित प्रतिबद्धता लिनुभएको हो । काठमाडौंका ६, भक्तपुरका ४ र ललितपुरका ५ ठेक्का अलपत्र पार्ने निर्माण व्यवसायीका प्रतिनिधिलाई बोलाएर अल्टिमेटम दिइएको हो ।

घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौँ । नेकपा एमाले छाड्नुभएका नेता घनश्याम भुसाल भोलि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुहुने भएको छ । भुसाललाई पार्टी अध्यक्ष माधव कुमार नेपाललगायतले स्वागत गर्ने तयारी भएको छ ।

अध्यक्ष नेपालले भुसाललाई पार्टी प्रवेशका लागि सम्बाद गर्दै आउनुभएको थियो । आज बिहान अध्यक्ष नेपाल, उपमहासचिव प्रकाश ज्वाला र भुसालबीच यस विषयमा छलफल भएको स्रोतले जनाएको छ । 

एकीकृत समाजवादीका महासचिव बेदुराम भुषालले छिटोभन्दा छिटो पार्टीमा सामेल हुन भन्दै घनश्याम भुसाललाई पत्रसमेत पठाएको छ। मंसिर ४ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले रुपन्देही क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । पछि भुसाललाई माओवादीले समर्थन गरेपनि पराजित हुनुभएको थियो । 

 प्रतिपक्षी दलबारे निर्क्योल गर्दै संसद् सचिवालय

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिपक्षी दलको नेताबारे निर्क्योल गर्न परामर्श थालेको छ ।  संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएपछि प्रतिपक्षी को ? भन्ने प्रश्न उब्जिएको छ।

संसद् सचिवालयले प्रतिपक्षी दलको नेताबारे अझै निर्क्योल नभएको र त्यसबारे परामर्श थालिएको जवाफ दिएको छ। नेपाली कांग्रेसले हालको सरकारलाई विश्वासको मत दिएपनि प्रतिपक्षकै बेञ्चमा बस्ने बताउँदै आएको छ । 

यस्तै, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी सहितका दलका नेताहरूले पनि विश्वासको मत दिएपनि प्रतिपक्षको बेञ्चमा बस्ने प्रतिक्रिया दिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नेमकिपाबाहेक सबै राजनीतिक दलहरूले प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ अनुसार विपक्षी दल भन्नाले मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा १० प्रतिशत वा सोभन्दा बढी सदस्यहरू भएको दलहरूमध्ये सबैभन्दा बढी सदस्य भएको दल हो ।

यो व्यवस्था अनुसार संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा र नेमकिपाबाहेक सबै राजनीतिक दलहरूले प्रधानमन्त्रीमा विश्वासको मत दिएका छन् । राष्ट्रिय जनमोर्चा र नेमकिपाले थ्रेसहोल्ड कटाउन सकेका छैनन् । यो व्यवस्थाअनुसार सभामुखले तोकेमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमध्ये एक जना प्रमुख प्रतिपक्षी दलको नेता बन्न सक्ने अवस्था आउँछ । 

गैरन्यायिक हत्याको छानबिनमा नेपाल गम्भीर देखिएन

काठमाडौँ । विश्वभरको मानवअधिकार अवस्था विश्लेषण गरिएको एक प्रतिवेदनले नेपाल  गैरन्यायिक हत्याको घटनामा गम्भीर नभएको जनाएको छ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले बिहीबार सार्वजनिक गरेको मानवअधिकारको विश्वव्यापी अवस्थासम्बन्धी प्रतिवेदनमा सुरक्षाकर्मीद्वारा नै दुर्व्यवहारका घटना हुने गरेको बताइएको छ ।

ह्युमन राइट्स वाचको प्रतिवेदनमा कुनै पनि विषयमा विरोध प्रदर्शन हुँदा अत्यधिक वा अनावश्यक शक्ति प्रयोग भएको उल्लेख छ । प्रतिवेदनमा नेपालको संक्रमणकालीन न्याय, विधिको शासन, महिला तथा बालिकाका अधिकार, बालअधिकार तथा यौनिक झुकाव तथा लैङ्गिक पहिचानका बारेमा उल्लेख गरिएको छ ।

यस्तै, प्रतिवेदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गर्दा हजारौँ नेपाली नागरिकताविहीन भएको बताएको छ । संघीय संसद्ले नागरिकता ऐन पारित गरे पनि राष्ट्रपतिले अस्वीकार गरेको उल्लेख छ ।

नागरिक अभियान्ता चरण प्रसाईंले पनि सरकार गैरन्यायिक हत्याको घटनामा गम्भीर नभएको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै प्रसाईंले बिभिन्न घटनामा सरकारले छानविन प्रकृया समेत अगाडी नबढाएको भन्दै पिडीतले न्याय पाउन नसकेको तथा पीडकहरुले उन्मुक्ति पाईरहने गम्भीर अवस्था आएको बताउनुभयो ।

सत्तामा रहनेहरुले नै दण्डहीनतालाई प्रशय दिएको पनि उहाँको भनाई छ । यस्तै भएका घटनाहरु पनि गुपचुप राख्ने र छानविन नगर्ने परिपाटीले माधवअधिकार आयोगमाथि पनि प्रश्न उठ्ने गरेको उहाँको भनाई छ । 

नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ : सिआईबी

काठमाडौँ । हालै सम्पन्न नेपाल टी२० क्रिकेट लिगमा स्पट फिक्सिङसँग सम्बन्धित समाचारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई उदृद्ध गर्दे विभिन्न सञ्चारमाध्यमले समाचार लेखेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सिआइबीसँग कुराकानी नै नगरी समाचार लेखेकोमा ती सञ्चारमाध्यमको कामप्रति ध्यानाकर्षण भएको उल्लेख छ । सिआइबीले आज विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ ।

समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।केही पूर्व खेलाडी, तथा अन्य व्यक्तिका नाम उल्लेख गरी समाचार प्रकाशित गरेको पाइएकोले यस किसिमका तथ्यहीन र दिग्भ्रमित हुने किसिमका समाचारले ब्यूरोप्रतिको आम नागरिकको विश्वास टुट्ने उल्लेख छ ।

श्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित भारतीय पक्राउ

काठमाडौँ । धनुषाबाट श्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको विदेह नगरपालिका–२ स्थित इलाका प्रहरी कार्यालय दुहवीबाट चेकिङमा खटेको प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा भारतीय नम्बर प्लेटको स्कुटरलाई चेकजाँच गर्दा श्रोत नखुलेको रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भारतको विहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने ४२ वर्षीय राजेश कुमार साहलाई १६ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरीले स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा राखेको १ हजार दरको नोट ७ सय ४८ वटा, ५ सय दरको नोट १ हजार ६ सय ४४ वटा, एकसय दरको नोट २ सय ६० वटा, ५० दरको नोट ८० वटा गरि १६ लाख बरामद भएको प्रहरीले जनाएको छ।पक्राउ परेको मानिस र पैसा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

आर्थिक खबर
सेयर बजारमा ४१ अंकको करेक्सन

काठमाडौँ । साताको अन्तिम सेयर कारोबार दिन आज दोहोरो अंकको करेक्सन आएर  बजार बन्द भएको छ।आज नेप्से परिसूचक नेप्से परिसूचक ४१.०२ अंकले ओरालो लागेको छ । यसदिन नेप्से २१९४.४१ विन्दुमा अडिएको छ। आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर  ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँमा खरिदबिक्री भयो ।

आज ८३ हजार ११३ पटक सेयर कारोबार भयो।कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्यो। फाइनान्स र  इन्भेस्टमेन्ट समूहको सूचक ३ प्रतिशत बढिले घट्यो। १२ समूहको सूचक ओरालो लाग्दा ट्रेडिङ समूहको सूचक ०.६६ प्रतिशतले बढ्यो।

विदेशका खबर

एलन मस्कले एक वर्षमै गुमाए १ खर्ब ६५ अर्ब डलर

काठमाडौँ । केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् । गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म एलन मस्कले १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाएको बताएको छ । यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् ।

गिनिज वर्ल्ड रेकर्ड्सले मस्कले गुमाएको सम्पत्तिको मात्रा योभन्दा धेरै हुन सक्ने पनि जनाएको छ ।गएको वर्ष ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । ट्विटर खरिद गरेपछि मस्कले टेस्लामा खासै ध्यान नदिएको लगानीकर्ताले गुनासो गरेका छन् ।

मस्कभन्दा पहिले सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा झन्डै ५९ अर्ब डलर गुमाएका थिए ।

खेल खबर
एपीएफ सेमिफाइनलमा

काठमाडौँ । विभागीय टोली एपीएफ क्लब सातौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको खेलमा कृष्ण एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपीएफले अन्तिम चारको यात्रा पक्का गरेको हो ।

एपीएफले कृष्ण एकेडेमीलाई २५–४, २५–६ र २५–३ ले पराजित गरेको हो । जितसँगै समूह ’बी’ को एपीएफले २ खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा एपीएफले गण्डकीलाई पराजित गरेको थियो ।च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको छ ।

च्याम्पियनसिपको महिला र पुरुष विजेताले ४ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख हात पार्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् । त्यस्तै च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष ८ टोली र महिलातर्फ शीर्ष ६ टोली सातौं आरबीबी–एनभीए क्लब लिगका लागि छनोट हुनेछन् ।