Live Streaming

अन्नपूर्ण दिनभर : छिट्टै खेलमा फर्किने सन्दीप लामिछानेको प्रतिक्रिया, संघीय सरकारको मन्त्रिपरिषद विस्तारमा अलमल


मन्त्रिपरिषद विस्तारमा सकस 

काठमाडौँ । संघीय सरकारको मन्त्रिपरिषद विस्तारमा सकस देखिएको छ । गत पुस २६ गते विश्वासको मत लिएपनि पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्नुभएको हो ।  मन्त्रिमण्डललाई पुर्णता दिन सत्ता साझेदार दलहरु गृहकार्यमा जुटेका छन्। अहिले सत्ता साझेदार दलका शीर्ष नेता शक्ति बाँडफाँट मिलाउने कसरतमा भइरहेको छ । आठ जनाको मन्त्रिमण्डल गठन गरी शपथ लिनुभएका प्रचण्डले विश्वासको मत लिएर मन्त्रिमण्डललाई पूर्णता दिने बताउनुभएको थियो । 

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच दुई घण्टा छलफल भएको थियो । दुई नेताबीच मन्त्रिमण्डलको विस्तार र दलहरूबीच शक्ति बाँडफाँटबारे छलफल भएको भएको थियो । अहिले सरकारमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी मात्रै सरकारमा छन् । सत्ता साझेदार बाँकी दललाई पनि मिलाएर मन्त्रिमण्डल विस्तारको तयारीमा प्रधानमन्त्री रहेको बुझिएको छ । 

संविधानतः २५ सदस्यीय मन्त्रिपरिषद् रहने व्यवस्था छ ।  नेकपा एमालेले सात, माओवादी केन्द्रले ५, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाले ४÷४, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले २÷२ मन्त्रालय दावी गरेका छन् । सरकारलाई समर्थन गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि आफ्ना माग सम्बोधन नभएसम्म सरकारमा नजाने अडान नागरिक उन्मुक्ति पार्टीको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ मन्त्रालयसहित सरकारमा सहभागी हुने तयारी गरेको छ । 

२० लाख रुपैयाँ धरौटी बुझाएर क्रिकेटर सन्दीप लामिछाने रिहा

काठमाडौँ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी बुझाएर रिहा हुनुभएको छ  । केन्द्रीय कारागार सुन्धारामा रहनुभएका लामिछाने उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश दिएबमोजिम धरौटी तिरेर रिहा हुनुभएको हो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले हिजो सन्दीपलाई २० लाख धरौटी माग गरेका थियो । 

सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले अदालतले दिएको सर्तहरुको बारेमा सन्दीपलाई जानकारी गराइसकेको बताउनुभयो । नाबालिग बालिका बलात्कार गरेको आरोपमा गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ पर्नुभएको थियो । सन्दीप बाहिर निस्कँदा उनका समर्थकहरुले उनको पक्षमा नारा लगाएका थिए ।

सन्दीपलाई धरौटीमा छाड्ने आदेश गर्दा अदालतले उनलाई विदेश जान रोक लगाएको छ भने पीडित र मुद्दाबारे कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय,सार्वजनिक सञ्चारमाध्यम, सामाजिक सञ्जालमा कुनै टिकाटिप्पणी गर्न पनि निषेध गरेको छ । उच्च अदालतले लामिछानेलाई पीडितको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्न बन्देज लगाएको छ ।

रिहा भएसंगै लामिछानेले आफू छिट्टै नै खेलमा फर्किने बताउनुभएको छ । यस्तै सन्दीपका वकिल सरोजकुमार घिमिरेले पनि सन्दीपको मुद्दा क्रिकेटसंग सम्बन्धित नभएकाले अब निर्वाध रुपमा खेलमा सहभागि हुनसक्ने बताउनभयो ।

क्यानका प्रवक्ता प्रशान्तविक्रम मल्लले पनि सन्दीपलाई भित्र्याउन क्यान आतुर रहेको बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम रडियो पावरमा कुराकानी गर्दै मल्ले अदालतको पूर्णपाठ सहित अन्र्तराष्ट्रिय अभ्यासका बारेमा आईसीसीसंग पनि सल्लाह गर्ने र सम्पूर्ण रुपले खेल्न योग्य भने उहाँलाई खेलमा फर्काउन आतुर रहेको बताउनुभएको हो । क्याप्टेन नै नहुँदा नेपाली क्रिकेट नै डामाडोल भएको बिषयमा क्यान पनि चिन्तित बनेको उहाँको भनाई छ । 

माधव नेपाल र घनश्याम भुसाल 

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ ढंगबाट पुनर्गठन गर्ने बताउनुभएको छ । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले इमानदार कम्युनिष्टहरुलाई एकताबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताउनुभएको हो । नेकपा एमाले अब सुध्रिनेवाला नभएको उहाँको टिप्पणी छ । 

नेकपा एमाले छाडेको तीन महिनापछि एकीकृत समाजवादीमा प्रवेश गर्नुभएका नेता भुसालले एमाले अध्यक्ष केपी ओलीमाथि निर्मम आरोप लगाउनुभएको छ । भुसालले नेकपा एस असाध्यै राम्रो ठाउँमा रहेको र ओलीवादविरुद्ध विद्रोह गरेको हुनाले आफूले नेकपाको खास उत्तराधिकारीका रुपमा ग्रहण गरेका बताउनुभयो । 

भुसालले केपी ओलीका कारण मुलुकले दुःख पाएको भन्दै अब नेकपा एस कसैको विशेषाधिकार नभएको लोकतान्त्रिक पार्टी बन्ने समेत उल्लेख गर्नुभयो । 

वामपन्थी नेता राधाकृष्ण मैनालीले पनि घनश्यामको आगमनले कम्यूनिष्ट आन्दोलन एकीकृत गर्ने अभियानलाई सघाउनेमा विश्वासव्यक्त गर्नुभएको छ। रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे माकुराकानी गर्दै मैनालीले वैचारिक वहशका शिसाबले एमालेभन्दा बौद्धिक नेताहरु समाजवादीमा भएकाले पनि घनश्यामले सो पार्टी रोजेको हुनसक्ने बताउनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालमा खासै फरक नभएको बताउदै उहाँले समाजवादीको दोश्रो पुस्ताले कम्यूनिष्ट आन्दालतलाई खिदशा दिनसक्ने बताउनुभयो । 

राष्ट्रियसभा बैठक

काठमाडौँ । राष्ट्रियसभा सदस्य बामदेव गौतमले देशमा कहिल्यै नभएको राजनीतक महाभूकम्प गएको बताउनुभएको छ । आज बसेको सभाको बैठकमा गौतमले गत निर्वाचनमा पनि गठबन्धन बनाएर जाने प्रवृति देखिएको र अहिलेपनि गठबन्धनकै सरकार बनेको बताउदै उहाँले जनताले राजनीतिक पार्टी स्वतन्त्रतापूर्वक रोज्न पाउने अधिकार खोसिएको टिप्पाी गर्नुभएको हो ।

जसका कारण महाभूकम्प गएको र आफूहरु सम्हालिएको उहाँको भनाई छ । राष्ट्रियसभाको आजको बठकमा बोल्दै गौतमले यदि गठबन्धन गरेरै चुनावमा जाने भए एकै पार्टी बनाएर जान पनि सुझाउनुभएको छ । यसरी राजनीतिक अस्थीरताको रचनाकार एमाले अध्यक्ष केपी शर्मा ओली र मुख्य पात्र माओवादी अध्यक्ष प्रचण्ड बनेको उहाँको टिप्पणी छ । 

बैठकमा स्वतन्त्र सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाले गरेका निर्णयमा मन्त्रीपरिषद्ले उल्ट्याएकोमा आपत्ति जनाउनुभएको छ । चालू आर्थिक बर्षको बजेटको बुँदा नम्बर ३४७मा खानेपानी, पर्यटन, शहरी विकासमा र नदी नियन्त्रणमा ५० लाख र ५ करोडकायोजनाहरु प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिएपनि पछि मन्त्रीपरिषद्ले खोसेको उहाँको भनाई छ ।

२२ अर्बका ती आयोजना प्रदेश र स्थानीय तहले कार्यान्वयनका निर्णय समेत गरिसकेका थिए । यो निर्णयले संसदको अपमान भएको तथा संविधान र संघीयतको बर्खिलाप भएकाले अर्थमन्त्री र सम्बद्ध निकायको जवाफ माग्नुभयो । संघीयता र गणतन्त्रलाई प्रचण्ड नेतृत्वको सरकारले मलजल गर्ने र अभिभावकत्व लिनेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । 

संघीयता कार्यान्वयन अध्ययन समितिको प्रतिवेदन राष्ट्रिय सभामा

काठमाडौँ । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’ गठन गर्न सरकारलाई सिफारिस गरेको छ । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा सिंगो प्रशासन संयन्त्रलाई संघीय लोकतान्त्रिक शासन प्रणालीको तादाम्यता कायम गराउन आयोग गठन गर्नुपर्ने विषय मुख्य सुझावको रुपमा राखिएको हो । विशेष समितिको प्रतिवेदन आज राष्ट्रिय सभाको बैठकमा पेश गरिएको छ ।  

प्रतिवेदनमा स्थानीय तहको प्रमुख पदाधिकारी पदमा महिलाको सहभागिता सुनिश्चित हुनेगरी कानून संशोधन गर्न पनि सरकारलाई सिफारिस गरिएको छ ।

सरकारले संघीयता कार्यान्वयनसम्बन्धि आवश्यक कानून, संगठन संरचनन निर्माण र परिमार्जन, कर्मचारी व्यवस्थापनलगायत नेपाल सरकारले गर्न बाँकी कामको लागत बनाई कार्यान्वयनको निमित्त समयावधिसहितको कार्ययोजना निर्माण गर्नुपर्ने, महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक, सिमान्तकृत, अपांगता, लैंगिक तथा यौनिक अल्पसख्यक, पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस–आर्यको सहभागिता सुनिश्चित गर्न सरकारलाई सुझाव दिइएको छ । 

सुदूरपश्चिममा सभामुखको निर्वाचन अनिश्चित, कानूनी परामर्श गर्ने सहमति

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चित बनेको छ । हिजो भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि आज बिहान ११ बजे पुनः मतदान गर्ने समय तोकिएको थियो ।

तर बिहान बसेको सर्वदलीय बैठकमा पुनः मतदानको विषयमा सहमति हुन नसकेपछि प्रदेशसभा सचिवालयले अनिश्चितकालका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले सर्वदलीय बैठकमा सहमति नभएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिनुुभयो । उहाँकाअनुसार सर्वदलीय बैठकमा सभामुखको पुनः निर्वाचन र संवैधानिक अड्चनका विषयमा कानूनी परामर्श गर्ने मौखिक समझदारी बनेको छ ।

संविधानअनुसार प्रदेशसभा सदस्यहरूले सपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने हुन्छ ।सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूले पुस१५ मा पद तथा गोपनियताको सपथ लिएका थिए । 

उक्त समयअनुसार  पुस३०मा सभामुख चयन गरिसक्नुपर्ने हुन्छ । त्यहाँ सभामुखमा सत्तारूढ गठबन्धनबाट माओवादीका भीम भण्डारी र कांग्रेस गठबन्धनबाट मानबहादुर रावलले उम्मेदवारी दिनुभएको छ । तर, मतदानमा कुनै पनि उम्मेदवारले बहुमतका आवश्यक पर्ने मत ल्याउन सकेका थिएनन् । 

वागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवन पाठकले सपथग्रहण गर्नुभएको छ । आज मात्र सभामुखमा निर्वाचित हुनुभएका  पाठकले सपथग्रहण गर्नुभएको हो । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा भएको कार्यक्रममा पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको हो । राप्रपाका केन्द्रीय महामन्त्री समेत रहनुभएका  पाठकले ६२ मत ल्याउँदै प्रदेशको दोश्रो सभामुखमा निर्वाचित हुनुभयो । 

पाठकलाई सत्तारुढ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा सत्ता समर्थक हाम्रो नेपाली पार्टीका सांसदहरुले सभामुखमा समर्थन गरेका थिए । सभामुखका अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी सृजना सायजूले ३ मत ल्याउनुभएको छ । नेकपा एकीकृत समाजवादीले भने कसैलाई भोट हालेन । वागमती प्रदेशमा कुल ११० सांसदमध्ये ज्येष्ठ सदस्यबाहेक १०८ जनाले मतदानमा सहभागिता जनाएका थिए । 

मन्त्रीपरिषद् विस्तार 

काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गर्नु भएको छ । मुख्यमन्त्री कार्कीले माओवादी केन्द्रका दुई र नेकपा एमालेका एकजना मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्नु भएको हो । उहाँले आज विश्वासको मत लिनुअघि माओवादी केन्द्रका जीवन आचार्य र दुर्गा चापागाईं तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्रीमा नियुक्त गर्नुभएको हो । 

तीनै जना नवनियुक्त मन्त्रीले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । तर नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । यसअघि सोमबार मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो । अब ७ सदस्यीय मन्त्रिपरिषद् भएको र विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री कार्कीको तयारी छ ।

यस्तैमुख्यमन्त्री कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्नु भएको छ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने तयारी गर्नुभएको हो । आइतबार ६० सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुु भएका कार्कीले कम्तिमा ४७ सांसदको मत पाउनुपर्नेछ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । ६० प्रदेशसभा सांसदमध्ये ३१ जनाले विश्वासको मत दिएका हुन् । उहाँलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना सांसदहरूले विश्वासको मत दिएका हुन् ।

आज मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गर्नुभएको थियो । मतदानमा ५८ जना सांसदहरू सहभागी भएका थिए । अधिकारीको विपक्षमा नेपाली काँग्रेसका २७ जनाले मत हालेका थिए । सांसद दिपक मनाङ्गे भने अनुपस्थित रहेको बताइएको छ । 

यसैबीच,मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनियताको शपथ लिनभएको छ । आज मुख्यमन्त्रीमा नियुक्त यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । उहाँले भोजपुरी भाषामा शपथ लिनुभयो ।

उहाँसँगै बिना विभागीय मन्त्रीको रुपमा तीनजाले सपथ लिएका छन् । नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टीका संजय यादव र जनमत पार्टीका वसन्त कुशवाहाले मन्त्री पदको शपथ लिनुभएको हो । यादवलाई हालसम्म ७२ सांसदको समर्थन छ । 

माओवादी मधेश संसदीय दलको नेतामा साह 

काठमाडौँ । नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित हुनुभएको छ । माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका युवराज भट्टराईले मात्र ३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

महोत्तरी क्षेत्र नम्वर १(२) बाट निर्वाचित साह यसअघि पनि दलका नेता रहनुभएको थियो । साह प्रदेशका निवर्तमान गृह तथा सञ्चारमन्त्री समेत हुनुहुन्छ । मधेशमा प्रदेशमा माओवादीका ९ सांसद छन् । तर अदालतमा मुद्दा परेकाले दुई सांसद अझै पद तथा गोपनीयताको शपथ लिन पाएका छैनन् । 

बानेश्वरका अवैध संरचनामा महानगरको डोजर 

काठमाडौँ । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्र वरपर बनाइएका अवैध तथा अनधिकृत संरचना हटाएको छ । महानगरले आज  डोजर लगाएर अवैध संरचनाहरू भत्काएको हो ।  महानगरले अवैध संरचना हटाउन यसअघि ३५ दिने सूचना जारी गरी हटाउन निर्देशन दिएको थियो ।  

डोजर चलाउनुअघि पनि पटक–पटक माइकिङ गर्दा पनि नहटाइएकाले आफैंले हटाएको महानगरले जनाएको हो ।  पछिल्लो समय महानगरपालिकाले अवैध संरचना  हटाउने अभियानलाई तिव्रता दिएको छ । 

यसैबीच, काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चोकमा निर्मित अनधिकृत संरचना भत्काउने क्रममा सञ्चारकर्मीमाथि हातपात भएको छ । समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकारहरुमाथि स्थानीय व्यापारीहरुले हातपात गरेका हुन् । महानगरले आफ्नो संरचना भत्काएको आक्रोशमा स्थानीय व्यापारीले पत्रकार कृष्ण कट्टेलमाथि आक्रमण गरेका थिए । उहाँले आफूमाथि गम्भीर प्रहार भएको जानकारी दिँदै प्रहरीमाथि उजुरी दिएको बताउनुभयो । 

आर्थिक खबर
महँगी घट्यो

काठमाडौँ । मंसिर महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.३८ प्रतिशतमा झरेको छ । असोज महिनामा ८.५० प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति कात्तिकमा ८.०८ प्रतिशतमा झरेको थियो । मंसिरमा ७.३८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको हो । अघिल्लो वर्षको मंसिर महिनामा यस्तो मुद्रास्फीति ७.११ प्रतिशत रहेको थियो ।

मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.८५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५९ प्रतिशत रहेको छ । 

खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.३९ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.०७ प्रतिशत र पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ ।

गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप समूहको मूल्य सूचकाङ्क १७.३३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ८.२९ प्रतिशत र फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.२९ प्रतिशतले बढेको छ । मंसिर महिनामा काठमाडौं उपत्यकामा ६.५६ प्रतिशत, तराईमा ८.०० प्रतिशत, पहाडमा ७.३२ प्रतिशत र हिमालमा ६.४८ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७८ मंसिर महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.९१ प्रतिशत, ७.५२ प्रतिशत, ६.९५ प्रतिशत र ४.९१ प्रतिशत मुद्रास्फीति रहेको थियो । २०७९ मंसिर महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने ९.१५ प्रतिशत रहेको छ । 

निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ ।परिसङ्घले विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायत कारणले निजी क्षेत्रको मनोबल खस्किएको बेलामा निक्षेपको ब्याजदर घटाउने नेपाल बैंकर्स एसोसिएशनको सहमति सकारात्मक भएको जनाएको हो ।

मागमा आएको सङ्कुचन, उच्च ब्याजदरका कारण लगानी महँगो हुँदा नयाँ लगानीका योजना स्थगन भइरहेको अवस्थामा उक्त सहमति हुनु खुसीको कुरा भएको परिसङ्घले उल्लेख गरेको छ । कर्जाको ब्याजदर घट्दा उद्योग व्यवसायमा लगानी विस्तार हुने र उद्योगी व्यवसायीको खस्किएको मनोबल उकास्न सहयोगी हुने परिसङ्घको विश्वास छ । 

विदेशका खबर
विश्वभर आर्थिक मन्दीको त्रास 

काठमाडौँ । विश्वभर आर्थिक मन्दी आउन सक्ने आंकलन गरिरहँदा भारतीय अर्थतन्त्र भने सुधार उन्मुख भएको विश्लेषण गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैंक जस्ता संस्थाहरूका साथै अर्थविज्ञहरूले समेत भारतको अर्थतन्त्र सुधारउन्मुख भएको बताएका हुन् ।

कोरोनाका कारण अनेकौं देशको स्थिति कमजोर बनेको छ । तर भारतीय अर्थतन्त्रको आकार  आगामी सात वर्षमा ७० खर्ब डलर पुग्न सक्ने विश्लेषण गरिएको हो । सन् २०४७ सम्म भारतको अर्थतन्त्र ४०० खर्ब डलर पुग्ने सम्भावना छ । मोदी सरकार स्वयंले सन् २०२५ सम्म भारतको अर्थतन्त्र ५० खर्ब डलर पु¥याउने लक्ष्य लिएको छ । आईएमएफले यो वर्ष भारतको आर्थिक वृद्धि ६.८ प्रतिशत रहने अनुमान गरेको छ । 

खेल खबर
एन्फाको आपतकालिन बैठक 

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालीन कार्यसमितिको बैठकले विभिन्न आठ निर्णय गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार बसेको बैठकले विभिन्न ८ निर्णय गरेको हो । बैठकले पहिलो निर्णयको रुपमा फुटबलका महान खेलाडी पेलेको निधनप्रति शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

आपतकालीन बैठकले अखिल भारतीय फुटबल महासंघको प्रस्ताव अनुसार नेपाली राष्ट्रिय महिला टोलीलाई यहि फेब्रुअरी १३ देखि २५ सम्ममा भारतमा हुने अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलको प्रस्ताव स्वीकार गर्ने निर्णय गरेको छ । 

त्यस्तै सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ फागुन १९ र सहिद स्मारक ’बी’ डिभिजन लिग २०७९ चैत्र १५ बाट सुरु गर्ने निर्णय गरेको छ ।  बैठकले ’ए’ डिभिजन लिग २०७९ आयोजना गर्न अध्यक्ष पंकज विक्रम नेम्बाङको संयोजकत्वमा सम्पुर्ण कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु सदस्य रहनेगरि लिग संचालन समिति गठन गरेको छ ।

’ए’ डिभिजन लिगको टिकेटिङ्ग अधिकारकोलागि न्युनतम एक करोड पचास लाख र शीर्षक प्रायोजक बाहेकका कर्मसियल र मार्केटिङ्ग अधिकारको लागि न्युनतम एक करोड पचास लाख तोकेर टेन्डर आह्वान गर्ने निर्णय समेत बैठकले गरेको छ । 

प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र प्रदेश १ ले विजयी सुरुवात गरेका छन् । सुनसरीको इटहरीमा आज भएको दोस्रो खेलमा सुदूरपश्चिमले बागमतीलाई ३३ रनले पराजित गरेको हो । सुरुवाती ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन बनायो ।

सुदूरपश्चिमका लागि कबिता कुँवरले ५० रनको अर्धशतकिय इनिङ्स खेलिन् । रितु कनोजिया २७ रनमा नटआउट रहदाँ बिन्दु रावल र सम्झना खड्काले समान १० रन बनाए । रुबि पोदार ८, सोभा रोकाया २ र कबिता जोशी ७ रनमा नटआउट रहिन् ।

बागमतीकी अश्मिना बज्राचार्य २ तथा याशु पाण्डेले समान दुई तथा खुसी डंगोल र मनिषा उपाध्यायले समान एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको बामगतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९४ रन मात्र जोडेको हो । 

आजै भएको पहिलो खेलमा प्रदेश नं १ ले विजयी सुरुवात गरेको छ । सुनसरीको इटहरीमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नं १ ले मधेस प्रदेशमाथि ९ विकेटको जित निकाल्दै शानदार सुरुवात गरेको हो । मधेसले दिएको ५० रनको झिनो लक्ष्य प्रदेश १ ले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।