Live Streaming

अन्नपूर्ण दिनभर : चाडैँ मन्त्रीपरिषद् वस्तार गर्ने प्रचण्डको भनाई, सभामुख निर्वाचनका लागि दलहरु कसरतमा

मन्त्रिपरिषद विस्तारमा ओलीजी र म सहमतिनजिक छौं : प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र आफू सहमति नजिक रहेको बताउनुभएको छ । आज सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उहाँले संघीय सरकार र प्रदेश सरकारको मन्त्री भागवण्डा सहमति नजिक रहेको बताउनुभएको हो ।

आज विहान पनि एमाले अध्यक्ष ओलीसाग भेट भएको र सहमतिको नजिक पुगेको उहाँको भनाइ छ । सत्तारुढ दलहरुबीच मन्त्रालय बाँडफाँटमा विवाद हुँदा संघीय सरकार र प्रदेश सरकारहरुमा मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । नियुक्त भइसकेका कतिपय मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छैन ।

यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । आज साँझ प्रधानमन्त्रीलाई भेट्न उपप्रधानमन्त्री लामिछाने बालुवाटार पुग्नुभएको हो । दुई नेताबीच मन्त्रिपरिषद विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । 

यता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जान तयार भएको छ । सरकारलाई विश्वासको मत दिएपछि आफूहरु पनि सत्तापक्षकै भएकाले सरकारमा जान तयार भएको लोसपाले बताएको छ ।

सरकारमा सहभागी हुने बिषयमा पार्टी अध्यक्ष अहिले छलफलमा रहेको लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिनुभयो । गठबन्धन एक मन्त्री दिन तयार भएको बुझिएपनि पार्टीले भने २ मन्त्रालयको अपेक्षा राखेको छ । 

सभामुख निर्वाचनका लागि चटारो

काठमाडौँ । केन्द्रीय मन्त्रीपरिषद् बिस्तारमा सकस भईरहेकै बेला प्रतिनिधिसभाको सभामुख चयनका लागि पनि कसरत सुरु भएको छ । सभामुख निर्वाचनका लागि माग ५ गतेको समय तोकिएको छ । त्यसअगाबै दलहरुले उम्मेदवार टुंग्याउन तथा एकअर्का पार्टीको साथ  माग्नका लागि आ–आफ्नै रणनीति अनुसारको तयारीमा जुटेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुँदा एमाले सँग प्रतिनिधिसभाको सभामुखमा आधाआधा कार्यकालको सहमति भएको थियो । जसअन्र्तगत पहिलो कार्यकालको नेतृत्व नेकपा एमालेले गर्ने सहमति बनेको थियो । नेकपा एमालेबाट समाभुखका लागि पृथ्वीसुब्बा गुरुङ, छबिलाल विश्वकर्मा, रघुजी पन्त लगायत आधा दर्जन बढि आकांक्षी देखिएका छन् ।

यहि बिचमा नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठकले पनि सभामुख र उप–सभामुखको निर्वाचनमा उम्मेदवार उठाउने निर्णय मात्रै गरेको छैन । सरकारलाई विश्वासको मत दिएको बदलामा सभामुख वा राष्ट्रपतिमा माओवादीको साथ खोज्ने आन्तरिक रणनीति पनि बनाएको छ  । यसले भागवण्डा र उम्मेदवार उठाउने बिषयमा पनि सकस पर्ने देखिएको छ । 

प्रधानमन्त्री प्रचण्डले पनि राष्ट्रपति, सभामुखलगायतका संवैधानिक पदका विषयमा नेपाली कांग्रेससँग पनि छलफल हुने बताउनुभएको छ । आज सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उहाँले माघ ३ गते राष्ट्रपति, सभामुखलगायतका पदका विषयमा छलफल गर्न प्रतिनिधिसभामा रहेका राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो ।  

उहाँले कांग्रेसले विश्वासको मत दिएपछि राष्ट्रपति, सभामुखलगायतका पदमा के गर्ने भनेर ऊसँग पनि छलफल गर्नुपर्ने आफ्नो दायित्व भएको पनि बताउनुभयो । 

नेकपा एमालेले भने सरकारलाई विश्वासको मत दिएकै अवस्थामा कुनैपनि भाग नदिने बताउदै आएको छ । पौष २६ गते बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसको सर्मथन कुनै जाल भए, त्यसमा माछा नफस्ने बताउनुभएको थियो ।

एमालेका सचिव रघुवीर महासेठले पनि सरकालाई सर्मथन गरेकै आधारमा कांग्रेसलाई संवैधानिक पद छाड्न सम्भव नहुने बताउनुभएको छ । रेडियो अन्नपूर्ण नेपालको ईन्टरभ्यू अफ द डे मा कुराकानी गर्दै महासेठले ती पदका बारेमा गठबन्धनमा आबद्ध सबै दलहरुबीच छलफल हुने बताउनुभयो ।

सत्ता साझेदार दलका शिर्ष नेताहरु काठमाडौं बाहिर गएकाले मन्त्रीमण्डल बिस्तारमा ढिलाई भएको सुनाउँदै उहाँले १ हप्ताभित्रै मन्त्रीमण्डलले पूर्णता पाउने समेत बताउनुभयो । 

राष्ट्रिय सहमतिको सरकार बन्ने प्रधानमन्त्रीको भनाई 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेतृत्वको गरेको सरकार राष्ट्रिय सहमतिको बन्नेतर्फ गएको बताउनुभएको छ ।

कम्युनिस्ट आन्दोलनका पूराना नेता, नेकपा माओवादी केन्द्र) को जेष्ठ नागरिक सल्लाहकार मञ्चका केन्द्रीय सदस्य भुवनप्रसाद श्रेष्ठद्वारा लिखित ‘कम्युनिस्ट आन्दोलनका प्रेरक भुवन दाइ’ पुस्तकको लोकार्पण गर्दै उहाँले पुस २६ गते बसेको प्रतिनिधिसभाको बैठकले आफूलाई अभूतपूर्व विश्वासको मत दिएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मुलुकको विकास र समृद्धिका निम्ति डटेर काम गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । 

गृहमन्त्री लामिछानेको चेतावनी 

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीको घटनामा संलग्नसहित अपराधीलाई आरक्षण दिनेलाई समेत कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।विगत १५ दिनेदेखि माइतीघरमा कुर्मीको न्यायका लागि आन्दोलनरत व्यक्तिहरूलाई भेट्न पुग्नुभएका उहाँले  कुर्मीमाथि भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको बताउनुभयो ।

नेपाली जनताले आफूमाथि विश्वास गरेर जिताएर पठाएको हुनाले आफ्नो स्वार्थअनुसार काम नगर्ने बताउँदै लामिछानेले जनताको अपेक्षालाई मर्न नदिने बताउनुभयो । 

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि भन्दै महिला अधिकार मञ्च बाँकेले पुस १४ गतेदेखि माइतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन जारी राखेको छ । बाँके प्रहरीले निर्मला कुर्मी अपहरण, बेपत्ता, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फितलो अनुसन्धान गरेपछि मञ्च र पीडित परिवारले पुनः आन्दोलन सुरु गरेको हो ।

गतवर्ष ४३ दिनको लामो धर्ना र आन्दोलनपछि वार्तामार्फत सरकारले उक्त मुद्दामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले पनि उक्त मुद्दाका आरोपितलाई पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएपछि प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

एकजना वृद्धलाई तारेखमा राखिएको छ । तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ ।

गण्डकी प्रदेशको सभामुखमा सत्ता गठबन्धनबाट माओवादीका धिताल निर्वाचित

काठमाडौँ । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्ण धिताल निर्वाचित हुनुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा धितालले ३२ संसदले मतसहित सभामुखमा निर्वाचित हुनुभएको हो । सभामा ५८ संसद उपस्थित थिए । एमालेका जेष्ठ सदस्य मित्रलाल बस्यालले सभा सञ्चालन गर्नुभएको थियो ।

धिताललाई स्वतन्त्र सांसद दीपक मनाङेले पनि मतदान गरेपछि ३२ संसदको मत सहित सभामुखमा निर्वाचित हुनुभएको हो । बैठकको सुरूमै सांसद फणीन्द्र देवकोटाले धिताललाई सभामुखमा चयन गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियोभने अर्का सांसद रोशन गाह्रा मगरले सो प्रस्तावमा समर्थन गर्नुभएको थियो । सभामुखमा कांग्रेसबाट सरस्वती अर्याल तिवारीको उम्मेदारी दिनुभएको थियो । 

सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचनका लागि दोश्रो प्रयास पनि असफल भएको छ । आज भएको निर्वाचनमा नागरिक उन्मुक्तिपार्टीका सांसदहरु तटस्थ बसेपछि सभामुख चयन प्रकृया फेरी धकेलिएको हो । आजको प्रदेशसभा बैठकमा कुल ४४ सांसलदे मत दिएका छन्।

जसमध्ये कांग्रेसका मानबहादुर रावल र माओवादीका भीम भण्डारीले समान २२–२२ मत प्राप्त गरेका छन् । निर्वाचनका क्रममा ७ सांसद भने तटस्थ बसेको थिए । ती सांसद नागरिक उन्मुक्ति पार्टीका हुन् ।  

यसअघि पनि २ पटक प्रदेशसभामा सभामुख निर्वाचन भएको थियो तर कसैले पनि बहुमत पा्रप्त नगर्दा प्रयास असफल भएको थियो । ५३ सदस्य रहेको प्रदेशसभामा निर्वाचित हुनका लागि २७ मत आवश्यक पर्छ । योसंगै सभाको अर्को बैठक माघ २ गते बिहान ९ बजे बस्नेछ । 

कर्णाली र मधेशमा सभामुखका लागि मनोनयन

काठमाडौँ । कर्णाली र मधेश प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी मनोनयन गरिएको छ । कर्णालीमा सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट  नेपाली कांग्रेसबाट खड्ग पोखरेलले  र नेकपा एमालेबाट सुर्खेतकी नन्दा गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

सभामुखमा एमालेबाट जीतबहादुर मल्ल र कलबहादुर हमालको पनि चर्चा थियो । यद्यपि ०७४ मा पुरुष सांसदलाई सभामुख बनाइसकेको एमालेले यो पटक महिलालाई अघि सारेको हो ।

नन्दा गुरुङ अब सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ । उहाँको पक्षमा एमालेको १०, माओवादीको १३, राप्रपाको १ र एकीकृत समाजवादीको १ मत रहेको छ । प्रदेशमा सभामुखका लागि भोलि बिहान ११ बजे निर्वाचन तोकिएको छ । 

यस्तै मधेश प्रदेशमा सभामुखकालागि नेकपा एमालेका सांसद रामचन्द्र मण्डल उम्मेदवारी दर्ता गराउनुभएको छ । सत्ता साझेदार दलहरुबीच बनेको सहमति अनुसार सांसद मण्डलले प्रदेशसभा सचिवालय पुगेर सभामुखका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यस्तै कांग्रेसबाट भने जंगिलाल यादवले उम्मेदवारी दिनुभएको छ । सभामुख र उपसभामुखको उम्मेदवारी दर्ताका लागि प्रदेशसभा सचिवालयले बिहान ११ बजेदेखि दिउसो ३ बजेका लागि समय दिएको थियो । निर्वाचनका लागि भने माघ २ गतेको समय तोकिएको छ । 
माधव र रामचन्द्रबीच भेट

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ। आज अध्यक्ष नेपाललाई भेट्न नेता पौडेलले नेकपा एसको कार्यालय आलोकनगरमा पुग्नुभएको थियो । दुई नेताहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसको पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय गरेको थियो।सभामुख र उपसभामुखसहित राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर नेता नेपाल भेटवार्तामा सक्रिय बन्नुभएको छ ।

घनश्याम भुसाल एसको सचिवालय सदस्य 

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले घनश्याम भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । आज बसेको सो पार्टीको बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको हो । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । भुसाल हिजो मात्रै एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो ।

एमालेमा छँदा लामो समय माधवकुमार नेपाललाई साथ दिनुभएका उहाँ विभाजनको बेला एमालेमै रहनुभएको थियो ।  तर प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा टिकट वितरणमा एमाले अध्यक्ष ओलीले अपनाएको कार्यशैलीप्रति रुष्ट बन्दै रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । गठबन्धन दलले समर्थन गरे पनि उनी एमालेका छविलाल विश्वकर्मासँग भुसाल पराजित हुनुभएको थियो ।

बाग्मती प्रदेश : तीन मन्त्रालय गाभेर ११ वटामा कायम गरिने

काठमाडौँ । बाग्मती प्रदेशमा १४ वटा मन्त्रालयलाई घटाएर ११ वटा मन्त्रालयमा कायम गरिने भएको छ । निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारले १४ वटा मन्त्रालय बनाए पनि त्यसअनुसार काम नभएकाले ११ वटा मन्त्रालय कायम गर्न लागिएको हो ।

अब छिट्टै तीन वटा मन्त्रालयलाई गाभेर ११ वटा कायम गरिने  प्रदेशका मुख्यमन्त्री शालिकराज जम्मकट्टेलले बताउनुभयो। मन्त्रालयको सङ्ख्या घटाएर राज्यमन्त्री समेत नराखिने उहाँको भनाई छ ।

पहिलेको सरकारले १४ वटा मन्त्रालयमा मन्त्री र राज्यमन्त्री समेत गरेर १८ जना मन्त्री रहेका थिए ।बजेट कम र काम पनि कम भएको सहकारी मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, उद्योग मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय गाभिन सक्ने जम्मकट्टेलले बताउनुभयो।

यस्तै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएपछि मात्रै मन्त्रीपरिषद् बिस्तारको तयारी गर्नुभएको छ । प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री जम्मकट्टेलले आउँदो माघ ३ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल निर्माणको महाअभियानमा आफ्नो राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्न सक्नुपर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ उग्रचण्डी नालास्थित ब्रम्हायणी क्षेत्रमा निर्मित विष्णुका दश अवतारसहित परम्पिता चतुरानन् ब्रम्हाजीको प्रतिमा अनावरण तथा पञ्चामृत स्नात र ब्रम्हपार्कको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय क्षमताको पहिचान र उपयोग गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नुपर्ने बताउनुभएको हो ।

आर्थिक परनिर्भरता घटाई स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने कार्यमा पर्यटन क्षेत्रको विकास एउटा मुख्य आधार हुनसक्ने उहाँको भनाइ छ ।  राष्ट्रपति भण्डारीले कृषि, वनपैदावार र जलविद्युत्लाई नेपालकोे आर्थिक विकासको मेरुदण्डका रुपमा लिन सकिने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले दैनिक क्रियाकलाप र वातावरणमैत्री सामग्रीको प्रयोगसँगै वातावरणमैत्री विकास र जलवायु अनुकूलनका कार्यबाट थप हरियाली प्रवद्र्धन गर्दै मानव र प्रकृतिका बीचमा निरन्तर सन्तुलन कायम राख्नसकिने उल्लेख गर्नुभयो ।

नारायणकाजी श्रेष्ठ 

काठमाडौँ । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले युवाहरुलाई नेपालमै रोजगारी दिन सक्नु नै अहिलेको राजनीतिक परिवर्तनको लक्ष्य भएको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तनमार्फत् जनताको जीवनमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभएको हो ।

जनतालाई सहज सेवा दिने काममा अहिले आफूहरु केन्द्रित भएको मन्त्री श्रेष्ठले बताउनुभयो । उहाँले सिंगो देशलाई समृद्धिको दिशामा फड्को मार्ने कार्यभार पुरा गर्नु अहिलेको सरकारको कर्तव्य भएको समेत उल्लेख गर्नुभयो । 

वर्षमान पुन अस्पताल भर्ना 

काठमाडौँ । पूर्वअर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रममा गृह जिल्ला पुगेका पुनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याई अस्पातल भर्ना गरिएको हो ।

पुनलाई आज दिउँसो नै ललितपुरको सुमेरु अस्पताल भर्ना गरिएको हो । वंशाणुगत जन्डिसपीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन जानुभएको थियो । यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्यान्ड र पछि चीनमा उपचार गरिएको थियो ।

लप्सीफेदीका आन्दोलनरत पक्षसँग तीन बुँदे सहमति

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीन बुँदे सहमति भएको छ ।

काठमाडौं–२ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित, प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वडाध्यक्षहरुको उपस्थितिमा आन्दोलनरत पक्षसँग शुक्रबार झण्डै पाँच घण्टा भएको वार्तामा केही दिनदेखि भइरहेको आन्दोलन स्थगित गर्ने निर्णय भएको छ ।

वातावरणलाई सहजीकरण गर्न सबस्टेसन निर्माणस्थलमा स्थानीयहरूबाट भइरहेको अवरोध तत्काल स्थगित गर्ने र स्थानीय प्रशासनबाट शान्ति सुरक्षाका लागि परिचालन गरिएका प्रहरीलाई फिर्ता पठाउने निर्णय भएको हो ।मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गर्न दैनिक रुपमा त्यस क्षेत्रमा प्रदर्शन हुँदै आएको थियो ।

आर्थिक खबर

जहाज खरिदका लागि लिएको ऋणको किस्ता भुक्तानी गर्दै निगम

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको ३३ करोडभन्दा बढी भुक्तानी गरेको छ।निगमले पछिल्लो पटक शुक्रबार ३३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको हो।  कर्मचारी सञ्चय कोषबाट जहाज खरिदका निम्ति ऋण लिएकोमा न्यारोवडी जहाज खरिदको सावाँ र ब्याज वापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ ।

विगतमा विविध कारणले संचयकोष तथा नागरिक लगानी कोषको ऋण दायित्व भुक्तानी नभई रहेकोमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि गत असार ३० गते १ अर्ब ३५ करोड रुपैयाँ र गत कात्तिक १ गते ७३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरिसकेको छ। 

विदेशका खबर

रुस युक्रेनबारे चीन 

काठमाडौँ । चीनले रुस–युक्रेन युद्ध चाडोभन्दा चाँडो अन्त्य होस् भन्ने कामना गरेको छ । वार्ताको वातावरण बनाउन अन्तर्राष्ट्रिय समुदायबाट पहल हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका लागि चीनका राजदूत झाङ जुनले बताउनुभएको हो । राष्ट्रङ्घीय सुरक्षा परिषद्मा चिनियाँ राजदूतले आपसी मतभेद मिलाउन सरकारवाला पक्ष वार्तामा बस्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले जारी द्वन्द्व अन्त्य गर्न तथा युरोपेली सुरक्षा संरचना सुदृढ तुल्याउन वार्ताको प्रयत्न हुन जरुरी भएको विचार समेत ब्यक्त गर्नुभएको छ । विशेष गरी वर्तमान परिस्थितिमा ठुलो प्रभाव पार्ने देश तथा अन्तर्राष्ट्रिय समुदायले रुस र युक्रेनलाई वार्तामा संलग्न हुन र सङ्कटको राजनीतिक समाधानको मार्ग पहिल्याउन मद्दत गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले नाकाबन्दीको अवधि बढाउने तथा हातहतियारको आपूर्तिलाई निरन्तरता दिँदा परिस्थिति अझ जटिल हुने चेतावनी दिँदै चिनियाँ कूटनीतिज्ञले द्वन्द्व घटाउनेतर्फ लाग्नु अपरिहार्य भएको बताउनुुभयो । 

खेल खबर
प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट 

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय टी—ट्वान्टी महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । इटहरीमा आज भएको दोस्रो खेलमा  कर्णाली प्रदेशलाई ९८ रनले हराउँदै लुम्बिनीले सुखद सुरुआत गरेको हो । लुम्बिनीले दिएको १ सय ४८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली १८ ओभर १ बलमा अलआउट हुँदै ४९ रनमा समेटियो । कर्णालीका यमुना थारुले १३ रन जोडिन ।

किरण कुवँरले १० रन जोडिन भने अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । कर्णालीका ६ खेलाडीले कुनै रन जोडेनन् । लुम्बिनीका कृतिका मरासिनी र मधु डिसीले ३÷३ विकेट हात पारिन् । सुस्मिता भुसालले २ विकेट लिईन् ।त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो ।जितसँगै लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ ।लुम्बिनी समूह ’बी’ को शीर्ष स्थानमा रहेको छ ।

आजै भएको पहिलो खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गर्दै शानदार सुुरुवात गरेको हो । ५२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको एपीएफले ८ ओभर ४ बलमा तीन विकेटको क्षतिमा लक्ष्य भेटाएको हो ।